पछिल्लो समय विरोध प्रदर्शन र आन्दोलनले विश्व तातिरहेको छ । मानिसहरु स्वतन्त्रताका लागि सडकमा आएर नारा-जुलुस गरिरहेका छन् ।
इरानको धार्मिक सत्ताले गोली ठोकेर आफ्ना नागरिकको हत्या गरिरहेको छ । इरानी शासकहरुले इन्टरनेटमाथि प्रतिबन्ध लगाएका छन् । तर प्रदर्शनकारीले ‘खमेनी मुर्दावाद’ भनेर नारा लगाउन छोडेका छैनन् । हङकङ, वार्सा, बुडापेस्ट, इस्तानबुल र मस्कोमा लोकतान्त्रिक अधिकार रक्षा गर्न भन्दै मानिसहरु सडकमा नारा-जुलुस गरिरहेका छन् । पाकिस्तान, इन्डोनेसिया र साउदी अरबका नागरिकहरु सरकारसँग आक्रोशित छन् । यता लेबनान र बोलिभियाका नेताहरु विरोध प्रदर्शन बढ्दै गएपछि सत्ता छोड्न बाध्य भए ।
सन् १९८९ पछि पहिलो पटक यति ठूलो, व्यापक र विश्वव्यापी प्रदर्शन भएको हो । यो महाअभियोगभन्दा १० गुणा ठूलो समाचार हो । यद्यपि, आम प्रदर्शन र महाअभियोग अन्तरसम्बन्धित छन् ।
हाल जारी प्रदर्शनको बीजारोपण ३० वर्ष पहिला नै भएको थियो । अर्थात् यतिबेला भइरहेका प्रदर्शनका पछाडि रुसी महासंघको पतन र विश्वव्यापीकरणको विस्तार जस्ता घटना रहेका छन् । त्यतिबेला उदारवादी लोकतान्त्रिक पुँजीवाद, खुला अर्थतन्त्रभित्रको अतिवाद र इतिहासको अन्त्य जस्ता घटनाहरु उत्कर्षमा पुगेका थिए ।
सन् १९८९ मा नै हामीमध्ये धेरैले माथि उल्लिखित कुराको आलोचना गरेका थियौं । भूमण्डलीकृत लोकतान्त्रिक पुँजीवादले आम असन्तुष्टि निम्त्याउने छ भनेर हामीलाई थाहा थियो । यिनै कुराले गर्दा शक्तिशाली र सम्पन्न भन्दै गएको शिक्षित सहरियाहरु र पछाडि परिरहेको ग्रामीण समुदायबीच आर्थिक तथा सांस्कृतिक द्धन्द्ध बढेको हो । उदारवाद आध्यात्मिक रुपमा निकै सतही छ, अति विश्ववादी छ र जरादेखि नै कमजोर हुँदै छ । उदारवादका कारण मानिसहरुले आफ्नो मौलिक संस्कृति छिन्नभिन्न परेको महसुस गर्न थालेका छन् ।
फलस्वरुप, विश्वका विभिन्न मुलुकमा पपुलिस्ट आक्रोश/विद्रोह विभिन्न रुपमा व्यक्त भइरहेको छ । मध्य तथा पूर्वी युरोपमा भिक्टर ओर्बान, भ्लादिमिर पुटिन र पोल्याण्डको जस्टिस पार्टी जस्ता राष्ट्रवादी नेता र राजनीतिमार्फत् प्रकट भएको छ । ल्याटिन अमेरिकामा गुलाफी आन्दोलन (Pink tide) को नाममा ह्युगो चाभेज र निकोलास मदुरो जस्ता बामपन्थी नेताहरु देखा परे । बेलायतामा ब्रेक्सिट र अमेरिकामा डोनाल्ड ट्रम्पमार्फत् गोरा जातिको राष्ट्रवादबारे वकालत हुन थालेको छ । मध्यपूर्वमा मुस्लिम अतिवाद प्रखर बन्दै गइरहेको छ । चीनमा सी जिङफिङको नयाँ अधिनायकवादी नीति लागू भइरहेको छ । भारतमा पपुलिज्म नरेन्द्र मोदीमार्फत् हिन्दू राष्ट्रवादको रुपमा प्रकट भइरहेको छ ।
अन्य मुलुकमा समेत पपुलिस्ट रुझान बढिरहेको देखिन्छ । फ्रान्सको एलो भेस्ट र चिलीको विरोध प्रदर्शनलाई आर्थिक रुपमा पछाडि पारिएका/परेका समूह/वर्गले नेतृत्व गरिरहेका छन् । तर सत्तामा पुगेपछि पपुलिस्टहरुले जन असन्तुष्टि सम्बोधन गर्न सक्दैनन् भनेर प्रस्ट भइसकेको छ । त्यस्तै केही मुलुकमा पपुलिस्ट राजनीतिविरुद्ध नै मानिसहरुले आवाज उठाउन थालेका छन् । कतिपय मुलुकमा पपुलिस्ट नेताविरुद्ध नै सहरिया मध्यम वर्गीय मानिसहरु आन्दोलित भएका छन् ।
विश्वव्यापी आक्रोश र असन्तुष्टिको मूल कारण आर्थिक नै हो । बामपन्थी र दक्षिणपन्थी दुबै पपुलिस्ट नीतिले गर्दा आर्थिक वृद्धि धरापमा परिरहेको छ । पपुलिस्ट नीतिले भेनेजुएलामा आर्थिक विपत निम्त्यायो । मेक्सिकोमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडरको बामपन्थी नीतिले आर्थिक वृद्धि ठप्प हुन पुगेको छ । यही भएर अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याटिन अमेरिकाको वृद्धिदर ०.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरिसकेको छ ।
लेबनानमा हरेक वर्ष २० हजार रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ तर त्यहाँको सरकारले वर्षेनी केबल ३ हजार रोजगारी सिर्जना गर्न सकेको छ । त्यस्तै कर्जाको मात्रा ह्वात्तै बढेको छ । ट्रम्पको व्यापार युद्धले अमेरिकाको आर्थिक क्रियाकलाप सुस्त हुन पुगेको छ । चिनियाँ राष्ट्रपति सीले बजार सुधार गर्नुपर्ने कुरालाई बेवास्ता गरिरहेका छन् जसले गर्दा चीनको आर्थिक वृद्धिदर ओरालो लागिरहेको छ । पाकिस्तानका पपुलिस्ट प्रधानमन्त्री इमरान खानको कर बढाउने नीतिले पछिल्लो ३ महिनामा कार खरिदबिक्रीमा ३९ प्रतिशतले गिरावट आएको छ ।
संसारभर नयाँ मध्यम वर्गले आफूहरु चपेटामा परेको र आफूहरुलाई राज्यले बेवास्ता गरेको महसुस गरिरहेका छन् । केही समयअघि फरीद जाकारियाले अन्तर्राष्ट्रिय मुद्राकोषलाई उदृत गर्दै विश्व अर्थतन्त्रमा ‘क्रमिक रुपमा गिरावट’ आइरहेको र हालको आर्थिक वृद्धिदर ‘विश्वव्यापी आर्थिकमन्दीपछि कै कम भएको’ बताएका थिए ।
पपुलिस्ट राजनीतिका कारण निम्तिएको दोस्रो समस्या भ्रष्टाचार हो । आफ्ना प्रतिद्धन्द्धीविरुद्ध अनुसन्धान गरेपछि मात्रै युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने ट्रम्पको सर्तबाट विश्वका पपुलिस्टहरुले कसरी भ्रष्ट अभ्यास गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ । सबै पपुलिस्ट नेताहरु परम्परागत नियम तोड्ने प्रतिबद्धतासहित सत्तामा आएका हुन् । तर निजी स्वार्थ र सुरक्षाका लागि मात्रै उनीहरुले यस्तो कुरा गरेको प्रस्ट हुँदैछ ।
बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसमाथि निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । अधिकांश लेबनानी नागरिकहरुसँग अत्यावश्यक वस्तु किन्ने पैसा छैन तर त्यँहाका पूर्व प्रधानमन्त्री साद हरारीले बिकिनी मोडेललाई १६ मिलियन अमेरिकी डलर दिन्छन् । ह्वाइटहाउसका मुख्य अधिकारीहरुले ट्रम्पको अराजतकतालाई सीमित पार्न एकजुट भएर आवाज उठाउँदै छन् । भ्रप्टाचारबारे विश्वव्यापी रुपमा अनुसन्धान गर्ने करप्सन परसेप्शन इनडेक्सको तथ्याङ्क अनुसार विश्वभर भ्रष्टाचार बढेको आम मानिसले महसुस गरेका छन् ।
पपुलिस्ट र अधिनायकवादी सत्ताले आफ्नो वैधानिकता गुमाउँदै गएको छ । हङकङ र इन्डोनेसियाका सहरिया मध्यम वर्गले राजनीतिक र सामाजिक स्वतन्त्रताका लागि आवाज उठाइरहेका छन् ।
आजभोलि जनविरोध सुरु हुन समय लाग्दैन । लेबनानमा ह्वाट्सएपमाथि कर लगाउने प्रस्तावका कारण आम प्रदर्शन भएको छ । साउदी अरबको सरकारले हुक्का रेष्टुरेन्टमाथि कर बढाएपछि आम मानिसहरु रुष्ट बनेका छन् । फ्रान्स, जिम्बाम्वे, इक्वेडर र इरानमा इन्धन/तेलको मूल्य बढेपछि प्रदर्शन चर्किएको छ । चिलीमा त्यँहाको सरकारले सबवेको भाडादर ४ प्रतिशत बढाउने भनेपछि मानिसहरु सडकमा उत्रिएका छन् ।
अहिले विश्व निकै अस्थिर बनेको छ र कुनै पनि बेला विस्फोट हुन सक्छ । उदारवादी पुँजीवाद/विश्वव्यापीकरणभित्र कमजोरी छन् तर वैकल्पिक रुपमा उदाएको पपुलिस्ट राजनीतिले कमजोरी हटाउन सकिरहेको छैन । पछिल्ला विरोध प्रदर्शन र आन्दोलन दिने प्रमुख सन्देश यही हो ।
त्यस्तै पपुलिस्टविरुद्धको विद्रोह र आन्दोलन नेतृत्वविहीन छ । त्यसैले यस्तो आन्दोलनभित्र एजेण्डा खोज्नु सही होइन । अब के गर्ने ? पपुलिज्म असफल भएपछि के होला ? भन्ने प्रश्न नै महत्वपूर्ण हो ।
सहरिया संभ्रान्त वर्ग र पछाडि परेका श्रमिक/किसान वर्ग दुबैका अपेक्षा पुरा गर्न सक्ने नयाँ सामाजिक सम्झौताका लागि सबै तयार हुन जरुरी छ । विश्वका नेताहरुको अबको मुख्य कार्यभार नै यही हो ।
पपुलिस्ट नेतहरुलाई समर्थन गरेका श्रमिक/किसानलाई आधुनिक अर्थतन्त्रमा उन्नति गर्ने अवसर सिर्जना गर्नुपर्छ । उनीहरुभित्र आफू पनि राष्ट्रिय परियोजनालाई योगदान गर्ने सम्मानित नागरिक हुँ भन्ने भावना विकास गर्न सक्ने योजना ल्याउनुपर्छ । शिक्षित संभ्रान्तहरुले उनीहरुको लोकतान्त्रिक स्वतन्त्रता सुरक्षित होस् भन्ने चाहन्छन् । उनीहरु जातीय रुपमा विविधतापूर्ण र बहुलवादी समाजमा शान्तसँग बस्न चाहन्छन् ।
जसले नयाँ सामाजिक सम्झौता तयार गर्न सक्छ, त्यही शक्ति नै भविष्यमा विजयी हुनेछ ।
( द न्यूयोर्क टाइम्समा प्रकाशित अमेरिकी राजनीतिज्ञ तथा टिप्पणीकार डेभिड ब्रुक्सको आलेख ‘रिभोल्ट अगेन्स्ट पपुलिज्म’ को भावानुवाद )
The post विश्वभर आन्दोलन र विरोध प्रदर्शन किन भइरहेको छ ? appeared first on Sajha Post.