कुनै पनि राजनीतिक व्यवस्था आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । राजनीतिक पात्रहरु कस्ता छन् ? उनीहरुको प्रवृत्ति कस्तो छ ? भन्ने कुराले विद्यमान व्यवस्थालाई खराब वा असल बनाउँछ ।
पात्र र प्रवृत्ति असल छ भने सापेक्षरुपमा खराब शासन व्यवस्थाभित्र पनि समाज र मुलुकले सकारात्मक दिशा लिन सक्छ । नागरिकले राहतको महसुस गर्न सक्छन् । यदि पात्र र प्रवृत्ति खराब छ भने असल शासन व्यवस्थाभित्रै पनि नागरिकले सास्ती भोग्छन् । यो नियम संसदीय व्यवस्थामा पनि लागू हुन्छ ।
संसदीय व्यवस्था अंगालेका कैयौं मुलुकहरु निकै सम्पन्न र सभ्य भइसके । त्यहाँका नागरिकहरु संसार कै खुसी र समृद्ध नागरिकमा गनिन्छन् । तर नेपाल भने संसदीय व्यवस्थाकै कारण झनझन दलदलमा फँस्दै गइरहेको छ ।
नेपालमा संसदीय व्यवस्था वैचारिक विकृत्ति, नैतिक विचलन, आर्थिक चलखेल र भ्रष्टाचारको पर्याय बन्न पुगेको छ । संसदीय व्यवस्था लागू भएपछि घटेका आर्थिक काण्ड, सांसद किनमेल, पदका लागि हुने बार्गेनिङ, चुनावका बेला हुने अनुचित चलखेल कसैबाट लुकेको छैन ।
नेपालको निर्वाचन प्रणाली नै त्रुटिपूर्ण छ र त्यसैले समाज थप भ्रष्ट बनेको हो भन्ने एकखाले बुझाइ पनि छ । यो एकहदसम्म सत्य पनि हो । नेपालको विद्यमान आर्थिक सम्बन्ध, राजनीतिक संरचना र सांस्कृतिक मूल्यमान्यताले पनि असल प्रवृत्ति रातारात खराब भएको हो । यसमा दुईमत छैन ।
यद्यपि, राजनीतिक पात्रको नियत र प्रवृत्तिमा सुधार नआएसम्म निर्वाचन प्रणाली फेर्दैमा सबै कुरा ठीकठाक भइहाल्छ भनेर सोच्नु पूर्ण रुपमा सही भने होइन । खराब पात्र र प्रवृत्तिले निरन्तरता पाउँदा आर्थिक अनियमितता र भ्रष्टाचारले पनि निरन्तरता पाउँछ । किनकि खराब पात्र, चरित्र र प्रवृत्तिले कुनै पनि शासन व्यवस्थाभित्र अपनाइने निर्वाचन प्रणालीलाई विकृत बनाउने संभावना हुन्छ ।
सत्ताको केन्द्रमा रहेकाहरु वैचारिक र नैतिक रुपमा विचलित हुँदा युवा पुस्तामा विद्यमान शासन व्यवस्था र राजनीतिप्रति नै वितृष्णा जागिरहेको छ । तर मुलुक वैचारिक विकृत्ति, नैतिक विचलन र भ्रष्टाचारमा चुर्लुम्म डुब्बुको दोष राजनीतिज्ञलाई मात्रै दिनु उचित नहोला ।
शासन व्यवस्थामा मतदान गरेर आफ्नो सहभागिता जनाउने आम नागरिक पनि उत्तिकै दोषी छन् । तर सचेत नागरिक र मतदाताहरुले खराब राजनीतिक प्रवृत्तिलाई चुनावमार्फत् किनारा लगाउन सक्छन् ।
क्यानाडेली लेखिका नाओमी क्लेनको विचारमा ‘लोकतन्त्र भनेको भोट हाल्ने अधिकार मात्रै होइन, आत्म सम्मानका साथ बाँच्ने अधिकार पनि हो’ । क्लेनको उक्त भनाइबाट निर्वाचनका बेला मतदाताहरु सचेत हुनुपर्छ भन्ने प्रस्ट हुन्छ । साथै उक्त भनाइको आशय प्रभाव र दबाबमा भोट हाल्ने नागरिक आत्म सम्मानका साथ बाँच्न सक्दैन भन्ने पनि हो । किनभने प्रभाव र दबाबमा परेर भोट हाल्दा खराब नियत भएकाहरुको हातमा शासनसत्ता पुग्छ र नागरिकको अवस्था थप बिग्रन जान्छ ।
निर्वाचन भनेको लोकतन्त्रलाई सुदृढ र परिकृष्त बनाउने महत्वपूर्ण माध्यम हो । नेपालमा राजनीतिक दललाई मात्रै होइन, आम नागरिकलाई समेत चुनाव मज्जैले लाग्ने गर्छ । नेताका लागि चुनाव भनेको जीवन मरणको कुरा हो । नेताहरु एक पटक चुनाव हारेपछि राजनीति नै सकिएको जस्तो प्रतिक्रिया दिन्छन् । आमनागरिकलाई चुनाव भनेको एउटा उत्सव जस्तो लाग्छ । भोजभतेर, र्याली, फूलमाला, अबिर जात्राले चुनावलाई एउटा रमिता नै बनाइदिन्छ ।
हामी सबैले बुझ्नुपर्छ- हरेक नागरिकसँग भएको मताधिकारले राजनीतिक दल र नेतालाई सजाय वा पुरस्कृत गर्ने हैसियत राख्छ । निर्वाचनबाट नै आमनागरिकले आफ्नो मत जाहेर गर्छन् र राजनीतिक दललाई मुलुक र सर्वसाधारणप्रति जवाफदेही बनाउन सक्छन् । सचेत रुपमा हालिने भोटबाट दल र दलका नेताले आफूलाई सुधार्ने मौका पाउँछन् । मुलुकले सही दिशा लिन सक्छ । त्यसैले पनि मतदाताहरु हरेक प्रभावबाट मुक्त हुनुपर्छ भनिएको हो ।
तर हामी नेपाली मतदाताहरु न प्रभावबाट मुक्त हुन सकेका छौं, न दबाबबाट मुक्त छौं, न अभावबाट नै । हामीलाई राजनीतिक विकृतिले यसरी गाँजेको छ कि निर्वाचनका बेला कुन उम्मेदवार राम्रो ? कुन उम्मेदवार नराम्रो ? भनेर छुट्याउनै सक्दैनौं । अर्थात् हामी ‘हाम्रोलाई जति नराम्रो भएपनि राम्रै देख्छौं र विपक्षी जति राम्रो भएपनि खराबै देख्छौं’ ।
चुनावताका हुने पैसा र पावरको खेलले राजनीति नै फोहोरी बनाउँछ । पैसा र पावरको प्रभावमा भोट हाल्ने नागरिकका कारण पनि फोहोरी राजनीतिले प्रश्रय पाएको हो ।
राजनीति दूषित हुनुमा हामी मतदाता पनि उत्तिकै दोषी छौं । हामी मतदाताले चुनावलाई गम्भीर रुपमा लिएका नै हुन्नौं । मतदानमार्फत् राजनीतिक दललाई पाठ सिकाउन सकिन्छ भनेर बुझेका हुन्नौं । हरेक चुनाव हाम्रा लागि चाडपर्व जस्तो बन्छ ।
हामीले आफ्नो भोटलाई चुनावका बेला दाउमा राख्छौं । हामीले आफ्नो भोटलाई कहिले नोटसँग साट्छौं । कहिले रक्सी र भोड्कामा डुबाउँछौं । कहिले भोजभतेरसँग बार्गेनिङ गर्छौं । तर यसरी चुनाव जितेकाहरु आफ्नो कार्यकाल भर चुनावताका भएको खर्च उठाउनतिर लाग्छन् । निर्वाचित प्रतिनिधिलाई नोट, भोड्का र भोजभतेरबाट प्रभावित नागरिकप्रति जवाफदेही हुनुपर्छ भन्ने बोध हुँदैन ।
हामीले चुनावमा भोजभतेर, रक्सी र भोड्काका लागि खर्च भएको पैसाले भ्रष्टाचारलाई बढावा दिन्छ भनेर बुझ्दैनौं । राजनीतिक दलको अनुचित प्रभाव र दबाबमा मतदाता पर्दा मुलुकको शासन व्यवस्था थप विकृत बनाउँछ । अन्ततः यसको शिकार हामी आफै बन्छौं ।
यतिबेला पुनः मुलुकमा चुनावी माहौल छाएको छ । उपनिर्वाचनको मिति नजिकिँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचन आउन केबल एक हप्ता मात्रै बाँकी छ । राजनीतिक दलहरु उपनिर्वाचनलाई आ-आफ्नो पक्षमा पार्ने दाउमा छन् । सत्तारुढ नेकपाको लोकप्रियता ह्वात्तै घटेको छ । त्यसैले पनि उपनिर्वाचनलाई सत्ताधारीको परीक्षाको रुपमा समेत हेरिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका अन्य दलहरु अलोकप्रिय बन्दै गएको नेकपा सरकारबाट चुनावमा फाइदा दिने तयारीमा छन् ।
उपनिर्वाचन हुने स्थानमा चुनावी सक्रियतासँगै सत्ता र शक्तिको दुरुपयोग भएको खबर समेत बाहिर आएको छ । सत्तारुढ दलले नै सत्ता र शक्तिको दुरुपयोग गरी मतदानालाई प्रभावित गर्न खोज्नु विडम्बना हो । यस्ता क्रियाकलाप लोकतन्त्रका लागि मात्रै घातक हुँदैनन्, स्वयं नेकपाका लागि समेत प्रतिउत्पादक बन्न सक्छन् ।
राजनीतिलाई दूषित बनाउने काममा नेताहरु मात्रै दोषी छैनन् । हामी मतदाता पनि दोषी छौं । दूषित राजनीतिलाई सफा गर्ने जिम्मेवारी दल र नेताहरुको मात्रै होइन, मतदाताको पनि हो । त्यसैले बेलैमा आँखा खोलौं । मतदाताहरु मासु, रक्सी र भोजभतेरमा डुब्दा जनप्रतिनिधिले मुलुकलाई भ्रष्टाचारमा डुबाउँछन् । हाम्रो होइन, राम्रोलाई रोजौं । र भोटमार्फत् राजनीति सफा गर्ने तर्फ लागौं ।
The post चुनावमा भोजभतेर गर्नेले मुलुकलाई भ्रष्टाचारमा डुबाउँछन् appeared first on Sajha Post.