मंसिर २०७२ मा राष्ट्रिय भेला गरी अगाडी बढेको नयाँ शक्ति आज आम नेपालीको जनजिब्रोमा झुन्डिँदै पार्टी निर्माणको दिशामा अगाडी बढेको छ। माओवादी आन्दोलनका एक सुत्राधार बाबुराम भट्टराई यसका पर्यायजस्ता बनेका छन् । एमाओवादीबाट छुट्टिएर नयाँ माओवादी पसल खोलेका मोहन वैद्य आज घर न घाटको भएर दोबाटोमा उभिएका छन् र अझै क्रान्तिको तुफानी गफ बेच्ने दाउमा छन् भने एकथरी प्रचण्ड मोर्चामा (बादल, मणि, मात्रिकालगायत) बिलय हुन आईपुगेका छन् ।
अर्को एक धारका नेता विप्लव काम भन्दा बढी क्रान्तिकारी रुमानीमा रमाईरहेका छन् । पछिल्लो चरणसम्म आउँदा फेरि प्रचण्डको मध्यपन्थी उपयोगितावादको शिकारमा केही थान माओवादी घटकहरु फस्दैछन् । तर तिनीहरु मध्येकै एक बाबुराम भट्टराई नेपाली बिशेषताको जनवादी क्रान्तिका आधारभूत पक्षहरु प्राप्त भईसकेकाले उत्पादनका साधन र शक्तिहरुको विकासद्वारा आर्थिक समृद्धिको मार्गबाट सामाजिक क्रान्ति (समाजवाद) लाई व्यवस्थित गर्ने ध्येयका साथ अगाडी बढ्न खोजेको देखिन्छ । यद्यपि बाबुरामको अगाडी केही गम्भीर सवालहरु खडा छन् ।
Clik here to view.

१. माओवादी फुट र एकताले सिर्जित सवाल
भट्टराईको राजनैतिक कार्यदिशा, किरणको शास्त्रीय मार्क्सवाद र प्रचन्डको मध्यपन्थी नेतृत्वको त्रिपक्षीय संयोजनकारी भूमिकाबाट माओवादीले जनयुद्धमा अभुतपूर्व ढंगले अगाडि बढायो । यो आधुनिक नेपालको ईतिहासमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण पछाडिको सबैभन्दा शक्तिशाली राज्य विद्रोह थियो । जसले काँग्रेस, एमालेले २ दशक अगाडि गरेको प्रक्षेपण, नेपालमा सशस्त्र क्रान्ति सम्भव छैन भन्ने मान्यतालाई झूठो सावित गर्दै जनयुद्धको सान्दर्भिकता पुष्टि गर्यो । यो तत्कालिन माओवादी नेतृत्वको बलियो एकताबाट मात्र सम्भव बन्यो । तर जब मुल नेतृत्वमा फुट र आन्तरिक संघर्ष शुरु भयो, माओवादी आन्दोलन विघटन नै भयो । नेपाली राजनीतिले जन्माएको यक्ष सवाल के हो भने राजनैतिक नेतृत्व र विचार फरक-फरक व्यक्तिमा निहित हुँदा कुनै पनि पार्टीले प्रजातान्त्रिक भनिएको शासन ब्यवस्थामा गति लिन सकेनन् ।
ईतिहासका अनुभवहरुले पनि यही पाठ सिकाएको छ की संस्थागत भई नसकेका पार्टीले गति लिन सक्दैनन् । आज नयाँ शक्तिको रथ हाँकिरहेका भट्टराईले नीति र नेतृत्वको द्वन्दात्मक सम्बन्धबारे वस्तुनिष्ठ उत्तर दिनु पर्नेछ । केही समय टुटफुटमा अल्झेका माओवादी घटकहरु पुन: अहिले आएर एकजुट बनेका छन् । समकालीन राजनीतिमा प्रचण्ड सबैभन्दा बढी आतंकित बनेको बाबुरामबाट नै हो भन्ने कुरा उनका अभिव्यक्तिबाट नै थाहा हुन्थ्यो र त उनले भनेका थिए कि बाबुराम चानचुने मान्छे होईनन् । आजको प्रचण्ड नेतृत्वको माओवादी एकता बाबुरामको नयाँ शक्तिको तिव्र विकास र बिस्तारको परिणाम हो भन्दा अतियुक्ति हुँदैन । बाबरामलाई प्रचण्डले फेरि एकपटक सबक दिने दाउमा छन् र नयाँ शक्तिलाई रोक्न साम, दाम, दण्ड भेदको रणनीति अपनाउने छन् किन कि बाबुरामलाई सबै भन्दा नजिकबाट उनले नै चिनेका छन् । योबारे नयाँ शक्तिले समयमै आफ्नो रणनीति बनाउन जरुरी देखिन्छ ।
२. विभिन्न विचारको ब्यवस्थापन गर्ने चुनौति
नयाँ शक्ति उँट आकारको बन्ने सबैभन्दा टड्कारो खतरा देखिँदैछ । काँग्रेसदेखि एमाले, राप्रपा, कर्मचारी, योगाविद, आईएनजिओ.कर्मीहरुको भीड आजको नयाँ शक्तिको सांगठनिक स्रोतजस्तो देखिन्छ । यिनीहरुका आफ्नै दर्शन-शास्त्र, मनोविज्ञान र सामाजिक प्रवर्गहरु छन् । राजनीतिमा सबै भन्दा अहम् चुनौति नै बिरोधी विचारको व्यवस्थापन हो । त्यसो हुन नसक्दा पार्टीहरु सामान्य मतभेद समेत सहन गर्न नसकी विभाजन भईहाल्ने अनुभव हामीसँग छ । अझै अचम्मको कुरा के छ भने काँग्रेस, एमाले, माओवादीलगायत पार्टीहरु समान किसिमको (Homogeneous) विचारबाट बनेका पार्टी थिए र हुन् ।
बहसको हिसाबले यो ठिकै कुरा हो तर कतिपय प्राज्ञिक बहसका बिषय राजनैतिक कार्यक्रम बन्दा आमजनसमुदाय दिगभ्रमित हुने खतरा रहन्छ र अकल्पनिय परिणाम उत्पन्न हुन्छ
यस्ता पार्टीमा वैचारिकरुपमा एकमत हुँदाहुँदै समेत टुटफुट भयो र यसको पछिल्लो कडी माओवादी र मधेशी दलहरु हुन् । तर नयाँ शक्तिमा आज नेपाली समाजमा अस्तित्वमा रहेका सबै पार्टीको मिल्ने ठाउँ (Melting Pot) जस्तो बनेको छ । पुँजीवाद, उदारवाद, अध्यात्मवाद, समाजवाद, उत्तर-मार्क्सवाद, खुशीवाद जस्ता मूल्य-मान्यता र वैचारिक दर्शन बोकेका मानिस तथा समूहहरुको सहवरण कसरी हुन्छ वा कसरी सँगै अगाडि बढ्न सक्छन् ? यिनीहरुको सहवरणबाट पैदा हुने विचार कस्तो होला ? आर्थिक विकासको एउटा चरणमा व्यक्ति, समाज, राज्य र अन्तर्राष्ट्रिय समुदायको बीचमा जरुर हुने टकरावमा यिनीहरुले के कस्तो भूमिका खेल्न सक्छन् ? यो निकै गम्भीर र महत्वपूर्ण प्रश्न हो । संगै माओवादीका पुराना तथा स्रोत-साधनविहिन नेता-कार्यकर्ता र नवआगन्तुक सम्पन्न नेता-कार्यकर्ताहरुबीचको अन्तरविरोध अहिले नै सतहमा देखिएको छ र यो भोलिको प्रधान अन्तरविरोध बन्न सक्छ, यसको यथोचित व्यवस्थापनबारे समयमै बाबुरामले ध्यान दिन जरुरी छ
३. क्लस्टरको नयाँ बहस
माओवादी आन्दोलनको स्खलनपछि जातिय राज्यको (आम मानिसको बुझाई पनि) मुद्दाले निकै प्रभाव पारेको विश्लेषकहरुको दावी छ। पहिलो संविधानसभा विघटनमा पनि यो मुद्दाले धेरथोर प्रभाव पार्यो । दोस्रो संविधानसभाको मत परिणाम हेर्दा पनि जातिय पहिचान पक्षधरको खास पार्टी संघीय समाजवादीले एक स्थान पनि नजित्नु र यसको ठीक उल्टो संघियताविरोधी जनमोर्चा र अखण्ड नेपालले पनि एक स्थान नजित्नुले अतिवादी पार्टीहरु जनताको बीचमा स्थापित हुन सक्दैनन् भन्ने संकेत दिन्छ । नयाँ शक्तिमा पनि आज पुन: त्यहि प्रवृतिको तर भिन्न रुपमा बहस हुँदैछ । खस-आर्य, आदिवासी-जनजाती, मधेसी र दलित तथा उत्पीडित वर्ग क्षेत्रका जनसमुदायलाई प्रतिशतको आधारमा प्रतिनिधि छनौट र राज्य सञ्चालनमा सहभागिता तथा समानुपातिक तवरबाट प्रतिनिधिको सुनिश्चितता गरिने छ । बहसको हिसाबले यो ठिकै कुरा हो तर कतिपय प्राज्ञिक बहसका बिषय राजनैतिक कार्यक्रम बन्दा आमजनसमुदाय दिगभ्रमित हुने खतरा रहन्छ र अकल्पनिय परिणाम उत्पन्न हुन्छ । यस्ता संवेदनशील मुद्दाहरुमा छिमेकीहरु पनि खेल्ने र राष्ट्रिय राजनीतिमा अनावश्यक हस्तक्षेप निम्त्याउने गम्भीर सम्भावनालाई नयाँ शक्तिले नजर अन्दाज पक्कै गरेको छैन होला ।
बाबुरामले यसबारे वकालत त गरेका छन् तर त्यो भन्दा अगाडि आगामी चुनावी प्रक्रियामा यसले कस्तो प्रभाव पार्न सक्छ त्यसबारे पनि समयमै हेक्का राख्नु पर्छ ।
४. बिपी र मदन भण्डारीपछि नेतृत्वको अभाव
काँग्रेस र एमाले किन आज नेपाली राजनीतिमा जबरजस्त उपस्थित छन् ? यसको मुख्य कारण खोतल्ने प्रयत्न गरौं । काँग्रेसको प्रजातान्त्रिक समाजवाद र सांगठनिक नेतृत्व दुवै बिपी कोइरालाले गरे र काँग्रेसलाई मजबुत शक्तिको रुपमा विकास गरे । आजको कांग्रेस त्यही बिपीको ब्याजमा चलिरहेको छ । प्रजातान्त्रिक समाजवादको विकासमा एक शब्द थपिएको छैन बरु रामशरण महत ब्रान्डले भुमण्डलीकरणको ब्यापार गरिरहेको छ ।
नेपाली राजनीतिमा बाबुराम ठीक यहिँनेर उभिएका छन् । लामो समयदेखि नेपाली राजनीतिमा खड्किएको नेतृत्वको अभाव के बाबुरामले पूरा गर्न सक्छन् ?
जनताको बहुदलीय जनवाद र आजको एमाले पार्टीको मुख्य हर्ताकर्ता मदन भण्डारी हुन् । छोटो समयमा नेपाली राजनीतिमा सनसनि मच्चाउने भण्डारीले गाडेको जगमा एमाले बलशाली बनिरहेको मात्र होईन सांगठनिक हिसाबले आजको नेपालको सबै भन्दा मजबुत पार्टी हो भन्दा फरक नपर्ला । भण्डारीको हत्यापछि एमालेमा पनि उनको विचारलाई चुनौती दिने व्यक्ति देखिएको छैन ।
नेपाली राजनीतिमा बाबुराम ठीक यहिँनेर उभिएका छन् । लामो समयदेखि नेपाली राजनीतिमा खड्किएको नेतृत्वको अभाव के बाबुरामले पूरा गर्न सक्छन् ? पुरानो पार्टीमा छँदा उनले भने जस्तो एउटै व्यक्तिले नीति र संगठनको नेतृत्व गर्दा पार्टीले जीवन प्राप्त गर्न सक्छ भन्ने आफ्नो मूल अभिमत साकार पार्न सक्लान् ? के बिपी कोइराला र मदन भण्डारीपछिको नेतृत्वको रिक्तता सम्हाल्दै साँच्चिकै आर्थिक समृद्धिको नेतृत्व गर्लान् ? केहि समयको पर्खाईमा पक्कै यसको सही उत्तर आउनेछ र इतिहासले बाबुरामको वास्तविक मुल्याङ्कन गर्नेछ ।
The post बाबुरामका चार चुनौतीहरु appeared first on Sajha Post.