आधुनिक संचारको तीव्र उपयोगमा नेपालीहरुको पनि पहुँच दिनप्रतिदिन बढ्दै गएको छ । पक्कै पनि संचारमा सर्वसाधरण जनताको पहुँच पुग्नुले सचेतनाको स्तरमा वृद्धि ल्याउन मद्दत गर्दछ । यद्यपी नेपालको अधिकांश ग्रामिण क्षेत्रमा अझै पनि आधुनिक संचारको साधनहरु पुग्न सकिरहेको छैन । अझै यो भन्दा पनि सामान्य दैनिक जीवनका सामान्य आधारभूत आवश्यकताहरु पूरा हुन सकिरहेको छैन । बिहान/बेलुका हात मुख जोर्ने समस्या छँदैछ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाईजस्ता आधारभूत सेवा सुविधाहरुबाट ग्रामिण भेगका जनताहरु बञ्चित छन् ।
गाउँघरमा परम्परागत अन्धविश्वासले महिलाहरुमाथि चरम घरेलु हिंसा र शोषण अझै कायमनै छ । छोरा र छोरीमाथि गरिने विभेदकारी व्यवहार, छुवाछुत, उचोनिचो, जातपात, बालविवाह, बहुविवाह, रुढावादी संस्कार, कुरिती, झारफुक, धार्मिक अंधविश्वास र भ्रमहरु यथावत नै रहेको छ । गाउँको निश्चित घेरा बाहेक अन्य बाहिरी जगत र संसार बारे उनीहरु अनविज्ञ छन् । आफ्नै देश भित्र भईरहेको राजनैतिक परिवर्तन र राजनितिक, आर्थिक, सामाजिक क्षेत्रका अवयवहरुबारे त्यति जानकार छैनन् ।
यसरी नेपालभित्रै दुईवटा संसार रहेको छ, एउटा सचेत संसार र अर्को अनविज्ञ/अचेत संसार । भन्नुको अर्थ एउटा वर्ग, जो देशको राजनीतिक क्षेत्र र अन्य पक्षहरुबारे जानकार छ, जसमा आफ्नो भूमिका खोज्न सक्छ । त्यस्तै देशका हरेक गतिविधिमा ध्यान दिन सक्छ । आफ्नो अभिमत राख्न सक्छ र अर्को पक्ष जुन अति दुरदराजमा रहन्छ । जसलाई देशको राजनीतिक उथलपुथलबारे विभिन्न परिघटनाहरु बारे, परिवर्तनहरु बारे, राज्यका निकाय र तिनका गतिविधि बारे त्यति जानकार पनि छैन र चासो पनि राख्दैनन् । त्यस्तै आफ्नो अभिमत जाहेर गर्ने कुनै माध्यम पनि उनीहरुसँग छैन । जसले अहिले पनि पहिले देखिको परम्परागत तवरबाट दैनिकी गुजारा गरिरहेका छन् । जहाँ राज्यका निकाय र अंगहरु सही ढंगबाट परिचालनको हुन सकिरहेका छैनन् । उनीहरुको चेतनाको स्तर निकै कमजोर छ । पठनपाठनको अवसरबाट वञ्चित छन् । यसरी नेपालमा दुई तहका जनताहरु विद्यमान छन् । तर ति वर्गहरुको सही पहिचान गरेर राज्यले कमजोर वर्गलाई पनि राज्यको मूलधारमा ल्याउन खासै प्रभावकारी कार्यक्रम तय गरेको पाउन सकिँदैन ।
वर्तमान समयमा केही टाठाबाठाहरुको पहुँचमा नै राज्यको संयन्त्र चलिरहेको छ । साथै केही शहरोन्मुख ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरु, शहरी क्षेत्रका नागरिकहरु, विदेशमा बस्ने नेपालीहरु केही जानेबुझेका र आधुनिक संचारमा पहुँच भएकोले नै बढी राजनैतिक गतिविधिमा चासो राख्ने गर्दछन् । त्यस्तै राजनीतिक आस्था र बहसमा पनि यो वर्गनै सक्रिय देखिने गरेको पाईन्छ । आफ्नोजस्तो अवस्था छ, त्यस्तै अवस्था सबैको भएको अड्कलबाजीमा नै तमाम बहस र स्वार्थहरुलाई विश्लेषण गरेको पाईन्छ ।
सरकारले व्यक्त गरेका नयाँ-नयाँ सपनाहरुलाई घ्युको लड्डु सम्झेर सरकारको सफलता र असफलताको स्तर मापन गर्ने, आस्थागत भक्तहरुले समर्थनको पसल थाप्ने काम जुनरुपमा डिजिटल मिडियाहरुमा आजकल चलिरहेको छ, यसले ति दुरदराजका जनताहरुको वास्तविक समस्या र अवस्थालाई छायामा पारिरहेको छ । सपनाहरु जसले जे देखे त्यसमा भन्नु केही छैन । तर गरीब जनताको सधैँ भजन गाएर सत्तामा पुग्ने तमाम राजनैतिक दलहरुमा न्युनतम राजनैतिक धर्म बाँकी छ, भने कम्तिमा पनि दुरदराजमा बस्ने नागिरकहरुलाई अहिलेको मान्छे भएर बाँच्न चाहिने सामान्य सुविधाहरु उपलव्ध गराई दिने काम गर ।
आफूलाई वुद्धिजिवी र विज्ञ मान्ने आदरणीय, सम्माननीयहरु सरकारको भजनमात्र गाउनुभन्दा पिछडिएको ठाउँहरुको जनताहरुकोबारे सरकारलाई जानकारी गराएर तिनीहरुकोलागि उचित कार्यक्रम ल्याउनकोलागि सरकारको ढोका घच्घच्याउने कार्यमा लाग । सरकारको समर्थन र विरोध गर्ने आ-आफ्नो रोजाई र दृष्टिकोण होलान् त्यसमा कसैलाई जवर्जस्ती गर्न सकिने कुरा होईन । सबैलाई एउटै रंगको कपडा र एकै थरी भोजन मन पर्छ भन्ने छैन । त्यसैगरी सरकारका गतिविधीलाई समर्थन र विरोध गर्ने पनि त्यही हुन सक्ला । तर राष्ट्रिय हित हुने कुरामा कसैलाई कुनै राजनिती रंग मन परे पनि नपरे पनि देशको सरकारले तत्सम्बन्धी राष्ट्रिय हितका सन्धि-सम्झौता मित्र राष्ट्रसँग गर्दा समर्थन गर्नुपर्छ । यदि गलत किसिमको सन्धि-सम्झौता गरेको भए आफ्नै आस्थाको राजनीतिक दलले गरेको भएपनि खुलेर प्रतिकार गर्नैपर्छ ।
यसो भनिरहँदा हामीले अत्यान्त राजनीतिक अन्धभक्त भएर एउटा राजनैतिक दललाई समर्थन र अन्य पार्टीलाई अत्यान्तै विरोध गर्ने जुन शैली आजकल देखा परेको छ, यसले राजनैतिक दलहरुबीचमा झन् दुरी बढाउने, कार्यकर्ताहरुबीच वाकयुद्ध चलिरहने देखिन्छ । तसर्थ एउटा हदसम्म समर्थन र विरोध गर्ने परम्पराको विकास हुनु जरुरी देखिन्छ । सरकारले आफूलाई प्रचारमुखी शैली अपनाउन लालयित हुनु र त्यसै अनुरुप संचारका साधनहरु परिचालित गर्नु भन्दा वास्तविक जनताको यथार्थ दैनिक जीवनका समस्या समाधानतर्फ लाग्नु जरुरी छ ।
देशमा विद्यमान स्रोत साधनहरुको समुचित प्रयोगमा ध्यान दिनु पर्ने, जल, वन, खनिज, कृषि, पर्यटन, विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ । युगअनुरुप परिवर्तन र विकास गर्न सोचको विकास र दुरदर्सिताको प्रयोग हुनै पर्छ । त्यसको साथसाथै आवश्यक आधारस्तम्भहरु पनि खडा गर्नेतर्फ उचित कदम चालिनुपर्छ । एउटा गरीबले महलमा बस्ने सपना देख्न उसलाई कसैले रोक्न सक्दैन । तर त्यो सपना पूरा गर्ने क्रममा उसले आफ्ना आवश्यक कदमहरु अगाडि बढाउनु आवश्यक छ ।
त्यस्तै सरकारले विश्व जगतमा भएका परिवर्तनलाई पहिचान गरि अाफ्नो मुलुकलाईसमेत त्यस अवस्थामा पुर्याउने ईच्छा र चाहना देखाउनु कुनै गलत काम हुनै सक्दैन । तर आफ्नो वास्तविक धरातलबाट त्यो सम्पन्नतासम्म पुग्न तय गरिने यात्राकोलागि आवश्यक आधारभुत व्यवस्था के कति कसरी गर्न सकिन्छ । त्यसको सम्भावनाहरु के कति छ, त्यसलाईसमेत संवेदनशील ढंगबाट सोच्नै पर्छ । वास्तवमा गरे नहुने केही छैन, अहिलेका सम्पन मुलुकहरु पनि रातरात धनि र मजवुत बनेका हैनन् । तर उनीहरुको काम गर्ने तौर तरिका फरक र सुसंगठित पक्कै थियो ।
तर, नेपालमा विगत देखि नै राजनैतिक खिचातानी र सुझवुझको अभाव, धैर्यता एवं राजनैतिक निष्ठाको कमि, आपसी विश्वासको कमि, विदेशी शक्तिकेन्द्रहरुको प्रभाव, राजनैतिक अडानको कमि, सत्तालुप्त कार्यशैली, पार्टी फुट र जुटको खेलको पुनरावृत्तिको प्रभाव, धेरै राजनैतिक दलहरुका कारण देश सधैँ अस्थिरतामा धेकेलियो । जसका कारण देशले विकासको गति लिन सकेन । अबका दिनहरुमा देशलाई अनिर्णयको बन्दी नबनाई पूरा हुन सक्ने सपना जनतालाई देखाएर राजनैतिक दल र सरकार अगाडि बढ्नु पर्ने देखिन्छ । युवाहरुलाई वैदेशिक रोजगारीमा जवर्जस्ती धकेल्ने नीति राज्यले लिन बन्द गर्नुपर्छ । किनकी वैदेशिक रोजगारी कामचलाऊ व्यवस्था मात्रै हो । यसले दीर्घकालीनरुपमा देश विकासमा सकारात्मक प्रभाव पार्न सक्दैन ।
देश निर्माण गर्ने युवाहरु जबसम्म विदेशीभुमिमा रगत र पसिना बगाउने परिस्थिति चलिरहन्छ तबसम्म सरकारले जतिसुकै लोकप्रिय नीति तथा कार्यक्रम ल्याएपनि त्यसले देश विकासमा उल्लेखनीय प्रभाव पार्न सक्दैन । जसरी जन्मघर छोडेर कुनै चेली पराई घर जान्छे, त्यसपछि उसले पराई घरमै आफ्नो जिवन चलाउनुपर्ने बाध्यता रहन्छ र उसले जन्मघरमा खासै उल्लेखनीय सेवा गर्ने मौका पाउँदिन । त्यस्तैगरि विदेशिएका युवाले पनि देशमा आवश्यक पर्दा वा समस्या पर्दा तत्कालै सेवा पुर्याउन सक्दैन । त्यसकोलागि त देशभित्रै युवाहरु अट्न सक्नुपर्छ अर्थात् रोजगारीमा रहनुपर्छ ।
कुनै पनि उत्पादन वा औद्योगिक कार्यसम्पादन गर्न नभई नहुने साधनहरु Man, Machine, Material, Money, Management हो । यसमा सबैभन्दा महत्वपूर्ण Man र Management हो अर्थात् मानव संसाधन हो । मानव संसाधनको नै अन्य साधनहरुलाई उपयुक्त ढंगबाट परिचालन गरेर न्युनतम लागतमा अधिकतम उत्पादन गर्न सकेमात्र उत्पादकत्व क्षमता वृद्धि भएको मान्न सकिन्छ । हरेक क्षेत्रमा दक्ष, सीपमूलक मानवसंसाधनको आवश्यकता परिरहेको हुन्छ । यस्तो जनशक्ति खासगरि १८-४० बर्षको उमेर समुह वैदेशिक रोजगारीमा नै ४०/५० लाखको हाराहारीमा विदेशमा रहनु भनेको पक्कै पनि नेपालमा कुनै पनि विकासका गतिविधि, औद्योगिक गतिविधि तीव्ररुपमा संचालन गर्नकोलागि मानव संसाधनको पर्याप्त उपलब्लता आवश्यक पर्दा आउँदा दिनहरुमा कम पर्न सक्ने सम्भावना हो ।
यसैले यसरी विदेशिएका युवाहरुलाई विदेशबाट फर्कने वा अब देशमै भएका युवाहरुलाई विदेश जानु पर्ने बाध्यतालाई अन्त्य गर्न सक्नुपर्दछ । यसतर्फ तमाम राजनैतिक दलहरु र सरकारको ध्यान पुग्न सक्नु पर्दछ । परिणामगत यथार्थ निकाल्ने किसिमका सरकारका कार्यक्रम हुनु पर्दछ । मात्र प्रचारमुखी सस्तो लोकप्रियता कमाउने कार्यक्रम र धारणा पेश गरेर खासै दीर्घकालीन हित र उपलब्धि हुन सक्दैन ।
The post प्रचारमुखी सरकार र निरीह ग्रामिण जनता appeared first on Sajha Post.