Quantcast
Viewing all articles
Browse latest Browse all 942

नयाँ शताब्दीमा लोकतन्त्रको नयाँ व्याकरण चाहिन्छ

Image may be NSFW.
Clik here to view.

आजको लोकतन्त्रको बहस निश्चय नै ‘उत्तर–लोकतान्त्रिक’ युगको बहस हो । लोकतन्त्र आज गैरलोकतन्त्रसँग संघर्षको अवस्थामा छैन । निरंकुश राजतन्त्र, सैनिक तानाशाही, एकदलीय साम्यवाद वा फासीवाद आजको विश्वका मूल प्रवृति हैनन् । संसारका अधिकांश मुलुकमा ‘उदार लोकतन्त्र’ स्थापित भइसकेको छ । लोकतन्त्र छ तर पनि हामीलाई लोकतन्त्र अपुग, अधुरो र केही नमिलेकोजस्तो लागिरहेको छ । यो समस्यालाई ‘आधुनिक लोकतन्त्रको विरोधाभाष’ भन्न सकिन्छ ।

आधुनिक लोकतन्त्रका अनेक नाम छन् । यसलाई उदार लोकतन्त्र, प्रतिनिधिमूलक लोकतन्त्र, संवैधानिक लोकतन्त्र, संसदीय लोकतन्त्र, परम्परागत बहुदलीय लोकतन्त्र वा बहुलवादी लोकतन्त्र भन्न सकिन्छ । नामले जे भनिए पनि यस्तो लोकतन्त्रमा मुख्य दुईवटा पक्ष हुन्छन् । नागरिकमा निहित सार्वभौमसत्ता र यसको अभ्यास गर्ने निश्चित वैधानिक विधि । यी दुई पक्ष एकअर्कासँग अविभाज्य र संगतिपूर्ण हुनुपर्दछ । त्यसो हुन नसक्नु चाहिँ विरोधाभाष हो । यसलाई लोकतान्त्रिक बिरोधाभाष पनि भन्न सकिन्छ । यदि हाम्रो लोकतन्त्रमा कुनै समस्या छ भने त्यो यही विरोधाभाषको कारणले हुनु पर्दछ ।

लोकतन्त्रले व्यक्तिगत स्वतन्त्रता, विधिको शासन र आधारभूत मानव अधिकारको प्रश्नलाई कहिल्यै छोड्न सक्दैन । सिद्धान्ततः यो सर्वस्वीकार्य यथार्थ हो । तर, जब दोस्रो पक्ष क्रियाशील हुन्छ– लोकतन्त्रको मर्मलाई वैधानिक विधिमा अभिव्यक्त गर्नुपर्ने हुन्छ, त्यहाँ कमजोरी हुन सक्दछन् । यो कमजोरीले हामीलाई लोकतन्त्र लोकतन्त्र नै हैन कि जस्तो लाग्दछ । लोकतन्त्र हो तर नागरिकलाई लोकतन्त्र जस्तो लागिरहेको छैन । कस्तो विरोधाभाष त ? यो प्रश्न नै उत्तर-लोकतान्त्रिक बहसको केन्द्रीय प्रश्न हो ।

उत्तरलोकतान्त्रिक राजनीतिका समस्या के-के हुन् ? तिनीहरुलाई हटाउनुपूर्व समस्या पहिचान गर्न आवश्यक हुन्छ । पहिलो समस्या भनेको आर्थिक नीतिमा देखिएको नवउदारवादी भूमण्डलीकरण नै हो । जसले अनेक समस्याबीच उदार लोकतन्त्रको विश्व व्यवस्थालाई वैधानिकता दिने प्रयास गर्दछ ।

यो प्रयासबाट दोस्रो समस्या जन्मन्छ । दोस्रो समस्या भनेको लोकतान्त्रिक संस्थाहरुको संकुचन हो । बाहिरबाट हेर्दा लोकतन्त्र छ, लोकतान्त्रिक संस्थाहरु सहीसलामत छन् जस्तो लाग्छ । तर, ती संस्था भित्रभित्रै खोक्रो र पंगु हुँदै गइरहेका हुन्छन् । यसको प्रमुख कारण नवउदारवादी शक्ति संम्भ्रान्तहरुको वृत्तमा सीमित हुनु हो । यो वृत्तभित्र लोकतान्त्रिक संस्थाहरु आफ्नो वास्तविक लोकतान्त्रिक वैधता गुमाउँछन् र नवउदारवादको सेवामा तल्लीन हुन पुग्छन् ।

तेस्रो समस्या व्यवहारवाद हो । पार्टीहरुले आफूलाई औपचारिकरुपमा मध्य वामपन्थी (सेन्टर लेफ्ट) भनून् वा मध्य दक्षिणपन्थी (सेन्टर राइट), त्यसले कुनै फरकपना ल्याउन सक्दैन । लोकतन्त्रमा राजनीतिक दल रुपान्तरणकारी शक्ति हुन् वा व्यवहारिक यथार्थलाई स्वीकार गर्ने संस्था ? व्यवहारवादले राजनीतिक दलको चरित्रलाई दोस्रो प्रकारको बनाउँदछ । फलतः वामपन्थी र दक्षिणपन्थी पार्टीबीचको भिन्नता समाप्त भएर जान्छ ।

चौथो समस्या निर्वाचनको प्रक्रिया मात्र छ कि सार पनि उपस्थित छ भन्ने हो । सामान्यतया उत्तरलोकतान्त्रिक बहसमा निर्वाचनहरु शक्तिशालीहरुलाई वैधानिकता दिने प्रक्रियाको रुपमा चित्रित हुन्छन् । निर्वाचनको सार नागरिकले चाहेजस्तो सरकार बन्नका लागि माध्यम बन्नु हो तर निर्वाचनले त्यो सामर्थ्य गुमाउँछ ।

पाँचौ समस्या भनेको आम नागरिक चेतनाको अराजनीतिकरण हो । नवउदारवादले प्रवर्द्धन गर्ने उपभोक्तावादी सोच र जीवनशैलीसँगै नागरिक अराजनीतिक हुँदै जान्छन् । परम्परागत राजनीतिक संयन्त्रहरु उनीहरुको पहुँचभन्दा बाहिर हुँदै जान्छ । नागरिकको ‘आवाज’ हराउँछ, उनीहरु ‘भोट’को रुपमा मात्रै बाँकी रहन्छन् । भोट दिन सक्ने तर आवाज ठाउँमा पुर्‍याउन नसक्ने नागरिक लोकतन्त्रले कल्पना गरेको हुँदैन ।

तर यी समस्याहरु उदार लोकतन्त्रका मात्र समस्या हुन् भनेर सोच्नु हुँदैन । स्वतन्त्रता कि समानता भन्ने बहसमा मार्क्सवादी वामपन्थले पनि लोकतन्त्रप्रति सधैं उदासीनता मात्र देखाएको पाइन्छ । सामाजिक जनवादी वामपन्थका आफ्नै समस्या छन् । उनीहरु स्वतन्त्रता र समानताको अन्तर्सम्बन्धलाई त बुझ्छन् तर उदारवादी वर्चश्वको विरुद्धमा नयाँ वर्चश्व निर्माण गर्न चाहदैनन् । एकाधीकारको लडाइँमा दलहरु एकअर्काका शत्रु बन्न पुग्छन् । जबकी लोकतन्त्रले दलहरुलाई शत्रुका रुपमा हैन, मित्रवत् प्रतिस्पर्धीका रुपमा कल्पना गरेको हुन्छ । उत्तरलोकतान्त्रिक बहसको अर्को महत्वपूर्ण पक्ष भनेको लोकतन्त्रमा दलहरु एकअर्काका शत्रु होइनन्,  मित्रवत् प्रतिस्पर्धी हुन् भनेर बुझ्नुपर्छ ।

त्यसैले, हामीलाई उदार लोकतान्त्रिक संस्थाहरुको अन्त्य हैन, तिनीहरुको जनमुखी रुपान्तरण चाहिएको हो । अर्थात् यस्ता संस्थाको निधेष गर्नुभन्दा आमूल रुपान्तरणमा जोड दिनुपर्छ । लोकतन्त्रको एक नयाँ रुप परम्परागत उदारवादी वा प्रतिनिधिमूलक लोकतन्त्रलाई नयाँ लोकतन्त्रमा (र्‍याडिकल डेमोक्रेसी) मा रुपान्तरण गर्न जरुरी छ ।

आज लोकतन्त्रको नयाँ रुपका लागि ५ वटा पक्ष महत्वपूर्ण भएर आएका छन् । ती हुन्– १. पर्याप्त छनौटको विकल्प, २. निष्पक्ष र स्वच्छ प्रक्रिया ३. समता ४. समावेशिता ५. समतामूलक राज्यव्यवस्था । बजार, मुनाफा, व्यक्तिगत स्वतन्त्रता र सामाजिक जीवनको निजीकरणलाई मात्र मूल मन्त्र मान्नेहरुलाई यी शब्द अनौठा लाग्न सक्छन् । अर्कोतिर वामपन्थले उदार लोकतान्त्रिक संस्थाहरुको ध्वंश वा विघटनको माग गर्न सक्दछ । तर, हामीलाई उदार लोकतान्त्रिक संस्थाहरुको अन्त्य हैन, तिनीहरुको जनमुखी रुपान्तरण चाहिएको हो । परम्परागत उदारवादी वा प्रतिनिधिमूलक लोकतन्त्रलाई ‘र्‍याडिकल डेमोक्रेसी’ मा रुपान्तरण गरेर मात्रै लोकतन्त्रको नयाँ रुप विकास गर्न सकिन्छ ।

त्यो कसरी सम्भव छ ? यसलाई मैले लोकतन्त्रको आलोचनात्मक आयाम (एगोनिष्टिक एप्रोच अफ डेमोक्रेसी) भन्ने गरेको छु । हिजो लोकतन्त्रभन्दा आपसी वैमनस्यता वा विरोधी पार्टीहरुबीचको निर्मम संघर्ष भनेर बुझिन्थ्यो । तर हामीले के बुझ्नुपर्छ भने ‘द्वन्द्व’ कहिल्यै अन्त्य हुँदैन । ‘द्वन्द्व’ अन्त्य हुन्छ, निषेध हुन्छ, विरोधीलाई हराउन सकिन्छ भन्ने सोचबाट अनेक गल्तीहरु भएका छन । चुनावमा क्षणिक हार हुनु विरोधी हार्नु हैन । ‘राजनीति’ले त्यसलाई हार भन्न सक्छ तर ‘राजनीतिक दृष्टिकोण’बाट हेर्दा यो हार हैन । जब ‘द्वन्द्व’लाई अन्त्य गर्न सकिन्न भन्ने बुझिन्छ, तब ‘द्वन्द्व’का नियमहरुलाई ‘नैतिकीकरण’ गर्न जरुरी पर्दछ । जस्तै, यसलाई खेलसंग सरल तुलना गर्न सकिन्छ । ‘द्वन्द्व’ बिना खेल हुँदैन । ‘द्वन्द्व’ कुनै पनि खेलको अनिवार्य शर्त हो । तर, खेललाई नियममा बाँध्नु भनेको ‘द्वन्द्वलाई नैतिकीकरण’ गर्नु हो, ‘द्वन्द्वको अन्त्य’ गर्नु होइन ।

दोस्रो कुरा– अराजनीतिकरण भइरहेको नागरिकलाई पुनर्राजनीतिकरण गर्नु हो । लोकतन्त्रको जीवन्तताका लागि राज्यभन्दा बाहिर वा राज्यप्राप्तिको आकांक्षाभन्दा बाहिर पनि नागरिक सक्रियता र सहभागिता चाहिन्छ । नागरिकको कर्तव्य भोट दिनु र भोट दिएका प्रतिनिधिहरुलाई निगरानी गर्नु मात्र हैन, मुद्दाका आधारमा बृहत् सहभागिता र संलग्नता निर्माण गर्नु पनि हो । नागरिक समाजका रुपमा देखा पर्ने विभिन्न संस्थाहरुका अतिरिक्त नागरिकको सिधा सहभागिता आवश्यक छ ।

तेस्रो– ‘मल्टिपल एक्टिभिज्म’ वा बहुआयामिक अभियानकर्म । प्रतिनिधित्वले नागरिक अस्तित्वको प्रतिस्थापन गर्दैन । परम्परागत लोकतन्त्रमा राजनीति, निर्वाचन र प्रतिनिधित्व एक पेशा जस्तो बनेको हुन्छ । प्रतिनिधिका आफ्नै स्वार्थ छन् । उसले मतदाताका स्वार्थलाई सधैं आफ्नो सम्झिरहेको हुँदैन । यहाँनेर निजी स्वार्थ र सामूहिक स्वार्थबीच विरोधाभाष देखा पर्दछ । चुनाव जितेपछि प्रतिनिधिलाई लाग्छ कि उसको सोच र स्वार्थ नै मतदाताको सोच र स्वार्थ हो । तर यथार्थमा त्यस्तो भइरहेको हुँदैन । प्रतिनिधिले निर्वाचनमा गरिएका वाचा र मतदाताका स्वार्थ विपरीत अनेक कामहरु गरिरहेको हुन सक्दछ ।

चौथो– एकाधीकार (हेजिमोनी) को प्रतिवाद र सामाजिक सम्बन्धको पुर्व्याख्या गर्नुपर्छ । नयाँ लोकतान्त्रिक अभियानको एउटा उद्देश्य‍ मानव सम्बन्धलाई एकाधीकारको दुश्चक्रबाट बाहिर निकाल्नु र नयाँ रुपको सामाजिक सम्बन्ध निर्माण गर्नु हो । यस क्रममा पुराना दलहरु मात्र पर्याप्त हुँदैनन् । नयाँ-नयाँ दलहरु जन्मिनु उत्तर-लोकतान्त्रिक युगको लागि स्वभाविक आवश्यकता हो ।

अन्तिम कुरा– परम्परागत लोकतन्त्रले अनेक खालका ‘कमजोर पहिचान समूह’हरु निर्माण गर्दछ । तिनीहरुले नवउदारवादी शक्ति र सम्भ्रान्तहरुसँग एक्लाएक्लै प्रतिरोध गर्न सक्दैनन् । तसर्थ कमजोर पहिचान समूहहरु राजनीतिकरुपले एक ‘सामूहिक पहिचान’ मा आवद्ध हुनुपर्दछ । नवउदारवादी भूमण्डलीकरणको विरोध गरेर मात्र हुँदैन, भूमण्डलीकरणको नयाँ रुप, प्रगतिशील भूमण्डलीकरणको नयाँ प्रस्ताव पनि अगाडि सार्न सक्नु पर्दछ ।

समग्रमा, एक्काइशौं शताब्दीमा लोकतन्त्रको बहसलाई पुनर्ताजगी गर्न जरुरी छ । नयाँ शताब्दीमा लोकतन्त्रको नयाँ परिभाषा पर्याप्त हुँदैन । लोकतन्त्रको व्याकरण नै फेर्नुपर्छ जस्तो लाग्छ ।

(लेखिका मुफ बेल्जियन राजनीतिशास्त्री हुन् । यो आलेख उनको एक प्रवचनको संक्षेपीकरण हो)

The post नयाँ शताब्दीमा लोकतन्त्रको नयाँ व्याकरण चाहिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles