यो देशको सत्ता र र शक्तिको बागडोर तत्कालीन एमाले र तत्कालीन माओवादी हाल नेकपा अनि रहेलपहेल कांग्रेस र मधेशमा मधेशवादी दलको हातमा नै छ । अहिलेसम्म हेर्दा कम्युनिष्ट पछि सांगठनिकरुपले कांग्रेस नै हो शक्तिशाली यो देशमा । कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्ष हो भने रुकुमको बाँफिकोटलगायत केही स्थानीय तह बाहेक सबैजसो स्थानीय तहमा प्रतिनिधित्व गर्ने पार्टी पनि हो ।
त्यसकारण अहिले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक निकायको भूमिकामाथिको टिप्पणीमा राम्रो नराम्रो सबै गुण दोषको भागीदार सबैभन्दा बढी सत्तारुढ दल नेकपा हुने नै भयो । दोस्रो नम्बरमा कांग्रेस र तेस्रो नम्बरमा मधेशमा राज गरिरहेका मधेशवादी दल नै हुन ।
यिनले यो देशमा के गरे ? के गरिरहेका छन ? के गर्नुपर्थ्यो ? सबैका सामू छर्लङ्ग छ । अहिले संघीयता ठीक भएन भन्नेहरु हिजो पार्टीका आधिकारीक कार्यक्रममा नेताका सामू बोले बोलेनन् ? संविधानको मस्यौदा बोकेर सबै दलका प्रतिनिधि सुझाव संकलनको लागि आउँदा खुल्लमखुल्ला यो संविधान र संघीय खाका ठीक छैन । यसको सट्टा यस्तो गराऔँ भनेर विकल्पसहित बोल्नेहरु कति जना थियौँ हामी ? जब अन्तरमनका भावना र विचारको सुनुवाई भएन, प्रतिनिधिबाट आफ्नो प्रतिनिधित्व नहुने निश्चित भयो पार्टी, संगठनलाई च्वाट्टै छोडेर विकल्प खोज्नेहरु कति भयौं हामी ?
संघीयताको वर्तमान वर्णशंकर खाकाले देश ऊँभो लाग्दैन भनेर हिजो कुर्लदा पार्टीका हनुमानहरुले अराजकताको बिल्ला भिराएको हो कि होइन ? संगठनका आन्तरिक कार्यक्रममा संघीय खाकाको विपक्षमा बोल्दा केपी ओलीको एजेन्टको आरोप खेपिएको हो कि होइन ? आज उनै केपी ओली संघीयताका प्रवक्ता भएका छन् जसले हिजो संघीयता ठीक छैन भन्थे । जसले संघीयताको लागि लड्यौँ भन्थे तिनै आज संघीयता खत्तम भनिरहेका छन् । जसले हिजो संघीयता आइसकेपछि जिल्लाको औचित्य हुँदैन, जिल्ला चाहिँदैन भनेर कुर्लिए उनै आज जिल्ला टिकाउनतिर मरिहत्ते गरिरहेका छन् !
स्पष्ट भइसकेको छ यो देशमा नयाँ संविधानले राज्यको कुनै वस्तुवादी खाका कोरेको छैन । शक्तिको संघर्ष र सत्ताको छिनाझपडीलाई वैधानिकता मात्र दिएको छ । शक्तिको तानातानलाई कानूनी मन्यता प्रदान गरेको छ ।
यो दोधारमा देश कता जाँदैछ ? पहिलेका सबै निकाय पनि राख्ने अनि राज्य पुनर्संरचनाको नयाँ संघीय खाका पनि भन्ने ! आफू जता उतै अधिकार तान्न खोज्ने मानसिकताले देश पुरानो ठाउँमा नरहने नयाँ ठाउँमा पनि नपुग्ने निश्चितै थियो ! निश्चित छ । जो अहिले भइरहेको छ ।
हिजो चुनाव ताका संघीयताको लागि पार्टीको लागि भन्दै फर्जि मत समेत खसाल्न तम्सिने उनै हनुमानहरु अहिले दो हात बित्ता उफ्रेर संघीयता खत्तम, स्थानीय सरकार खत्तम, प्रदेश खत्तम, संघ खत्तम, संविधान खत्तम भन्नुको के अर्थ छ ?
त्यसैले गत निर्वाचनमा यी तीन ठूला दललाई भोट हालेका “बचेरा”हरु अहिले कराउनु, कुक्काउनुको कुनै अर्थ छैन । तिनले भोट हालेर जिताएपछि अर्को चुनावसम्म चुप्प लागेर बसे हुन्छ । अर्को चुनावमा होस खुलेर विकल्प रोज्न सकिन्छ । खोला तर्ने पुलको आधी भागमा पुगेर उफ्रिँदा खोलामै खसिएला । कि वारी फर्केर कराउँ । कि पारी पुगेरै चिच्याउँ । बीचमा पुगेर आधी बाटोमा चिल्लाएर के काम ?! कसले सुन्ने हो ? तिनले स्वयम् भोट हालेर जिताएका तिनका प्रतिनिधिले सुन्दैनन्, आफ्ना भोटरहरुको आवाज उठाउँदैनन, प्रतिनिधित्व गर्दैनन् भने हिजो किन दिए त भोट ? अहिले कसलाई सुनाउने ? हिजो भोट दिएर पठाएका सत्तापक्ष, प्रतिपक्षको भूमिकामा रहेका प्रतिनिधिलाई कठालो समाएर यी यी कुरा उठाउनोस भन्न नसक्नेहरु भुक्नुको कुनै औचित्य छैन ।
पार्टीका अन्धभक्त मनुवाहरु सामु अव केही उपाय छैन अर्को निर्वाचनसम्म । अर्को चुनावसम्म बोल्नु र नबोल्नुमा कुनै फरक छैन । कि विप्लवसँग मिलेर सत्ता उल्टाउनु पर्यो ! कि बहुमत जुटाएर सरकार पल्टाउनु पर्यो ! कि राजासंग मिलेर व्यवस्थै फाल्नु पर्यो ! कि चित्रबहादुरको पार्टीमा समाहित भएर संघीयता विरोधी उभार ल्याउनु पर्यो ! कि वर्तमान संविधानको खिलाफमा अर्को संविधान जारी गर्ने हिक्मत गर्नुपर्यो । कि दुई तिहाइले संविधान संशोधन गरेर संघीय खाकामै पुनर्विचार गर्नुपर्यो । कि इन्डियासंग मिलेर सीमानाकामा ढुङ्गा हान्नुपर्यो ! कि सेनासंग मिलेर अर्कै अभ्यास थाल्नुपर्यो ! उही पार्टीमा टाँसिएर उही पार्टीको विरोध गर्नुभन्दा तीव्र असन्तुष्टि प्रकट गर्नेहरु आफुलाई मन नपर्ने पार्टी संगठन तत्काल छोडेर खिर्लिप्पै वैकल्पिक शक्ति निर्माणतिर लाग्नुपर्यो ! अरु के छ उपाय ?
। यो स्वतन्त्र विचार अलग पहिचानवाला स्वतन्त्र नागरिकको स्वतन्त्र धारणा ।
The post यो देशका ‘खाँटी’ कम्युनिष्ट र ‘होनहार’ कांग्रेसीजनहरुको नाममा appeared first on Sajha Post.