भाषा र प्रविधिको सम्मिश्रणबाट बनेको एकीकृत विधा भाषाप्रविधि वैश्विक समुदायमा शिक्षाको नयाँ विधि वा विषय बनेको छ । कम्प्युटर विज्ञानको भाषामा एनएलपी अर्थात् प्राकृतिक भाषा अध्याहारलाई मानव भाषासँग जोडेर मानिसका भाषिक गतिविधिलाई कम्प्युटरीकृत गर्ने काममा धेरै देशले सफलता हासिल गरिसकेका छन् । प्राकृतिक भाषाविज्ञान वा अर्को शब्दमा भाषाप्रविधि भनेको कम्प्युटर विज्ञान र सामान्य भाषाविज्ञानसँग जोडिएको विधा भएकाले प्रविधि स्थानीयकरण र वैश्वीकरण वा ग्लोबललाईजेशनका माध्यमबाट स्थानीय भाषा, संस्कृति र सामाजिक ज्ञानलाई संरक्षण गर्न भाषाप्रविधिले सहयोग पुर्याएको छ । भाषाप्रविधिको प्रयोग गरेर सामाजिक, सांस्कृतिक ज्ञानलाई विद्युतीय ज्ञानभण्डारको रुपमा संरक्षण गर्न थालिएको छ ।
कृत्रिम बुद्धिका सहायताले भाषालाई सूचना प्रविधिसँग एकीकरण गरेर काम गर्न ढिलो भइसक्यो तर हामीकहाँ भने सरोकारवाला निकायका व्यक्ति एवं नीति निर्मातालाई विदेशी आइएनजिओले कम्प्युटर चलाउन तालिम दिँदै गरेको अवस्था छ । आमसञ्चार, सञ्जाल मिडियाका सञ्चारकर्मी समेत कम्प्युटरको यस्तो भाषा बुझिएन अलि सरल तरिकाले कसरी बुझ्नेहोला भनेर गुनासो गर्छन् ।
इन्टरनेट वा डब्लुडब्लुडब्लुको तीब्र विकासले सञ्जाल विज्ञानको उदय हुँदै गरेको वर्तमान परिवेशमा भाषाप्रविधिमा पनि धेरै चुनौतीहरु देखा परेका छन् । ध्वनि, आवाज, ग्राफिक्स, चलचित्रहरूलाई अर्थतात्विक सञ्जाल (सिमान्टिक वेभ) सँग जोड्न भाषा नै चाहिन्छ । कम्प्युटर त धातुको प्लेटबाट बनेको साधन हो । यसले आफै केही पनि गर्न सक्दैन । आजको कम्प्युटर विज्ञानको विकास अङ्ग्रेजी भाषालाई प्रविधि सक्षम बनाएर कृत्रिम बुद्धिका सहायताले कम्प्युटरलाई भाषा बुझाउन सकेकै कारणले सम्भव भएको हो भन्नेमा कसैको दुइमत हुन सक्दैन । वेबमा जानकारी ब्राउज गर्न, फिल्टर वा प्रशोधन गर्नको लागी कम्प्युटर सफ्टवेयर चाहिन्छ । भाषा प्रविधिले यस्तो सफ्टवेयर बनाउन सहजीकरण गर्दछ । अबको वेबपेज बहुभाषी ज्ञान भण्डारको रुपमा विकसित भइरहेको छ । बहुभाषिक विश्वव्यापी वेबपेज भाषाप्रविधिको सहायताबिना व्यवस्थित हुन सक्दैन । त्यसैले मानव भाषाप्रविधि एउटा विकासशील अन्तरविषयक शिक्षाको विधा अर्थात् कम्प्युटर विज्ञान, भाषाविज्ञान, कृत्रिम ज्ञान, मनोविज्ञान, दर्शन, गणित, र तथ्याङ्कशास्त्र आदि विषयको सम्निश्रणको रुपमा विकास भएको हो ।
संसारको कुनै पनि भाषालाई सूचना प्रविधिसँग सम्पर्कमा ल्याउन सकिन्छ । अर्थात् मानिसलाई कम्प्युटरका सहायताले काममा सहजता ल्याउन वा कम्प्युटरसँग कुराकानी गर्ने बनाउन प्रयोगकर्ताकै भाषालाई व्यवस्थित गर्न सकिन्छ । नेपाली भाषाका केन्द्रीय विभाग र कम्प्युटर विषयका विभागहरुमा भाषाप्रविधि अध्ययन एकाइ खोलेर भाषाप्रविधिको शिक्षण प्रशिक्षण, सम्वर्द्धन गर्न सके आर्थिक कारोबारमा त सहज हुन्छ नै साथसाथै सरकारी कामकाजको भाषाको क्षमता विकास हुने, राष्ट्रभाषाहरूमा काम गर्न हौसला मिल्ने र सामाजिक, सांस्कृतिक विकासमा समेत सकारात्मक प्रभाव ल्याउने हुन्छ ।
भाषाप्रविधिका समसामयिक विषयहरूमा खोजयन्त्र (सर्च इन्जिन) प्रविधि, पुन प्रयोजनका लागि सूचना भण्डारण, भाषण संश्लेषण, अप्टिकल वर्ण पहिचान (ओसीआर), मेसिन अनुवाद, इलेक्ट्रोनिक शब्दकोशहरू, हिज्जे जाँच, व्याकरण जाँच, शब्द निर्माण विधि, कम्प्युटर समर्थित भाषा शिक्षण, मिडियामा श्रव्यदृष्य वा घटना टीका (स्वतन्त्र क्याप्सन) जस्ता क्षेत्र पर्दछन् । भाषा प्रविधि कम्प्युटेसनल भाषाविज्ञानको इन्जिनियरिङ शाखाअन्तर्गत पर्दछ । भाषा प्रविधिमा कम्प्युटरले वर्ण पहिचान, वर्णको विभाजन, संयुक्ताक्षरको पहिचान, वर्णविन्यास, शब्द र वाक्यांशमा दिइएको वाक्य पार्सिंग, मेसिन पठनीय शब्दकोश, व्याकरण पहिचान, मानव भाषा विश्लेषण, विद्युतीय सामग्री उत्पादन गर्न सक्षम हुनुपर्दछ । वर्ण पहिचान डिजिटल सामग्री विश्लेषणको महत्वपूर्ण अङ्ग हो ।
भाषा र सूचना प्रविधिको संयुक्त प्रयासबाट यस्ता अनुप्रयोगको निर्माण गरेर प्रयोगकर्ता अनुकुल सफ्टवेयरको आपूर्ति गर्नसके सन्सार भरि विकास हुँदै गरेको पेपरलेस लेखन पद्धतिमा अन्य भाषा र समाजसँग नेपाल र नेपालीले प्रतिस्पर्धा गर्नसक्छ नत्र निकट भविष्यमा भाषा क्षमताको सफल प्रयोग हुन सक्दैन । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
भाषाप्रविधि वा कम्प्युटर भाषाविज्ञान प्राविधिक विषयमात्र होइन । मानविकी विषयमा पनि कम्प्युटर भाषाविज्ञान चलाउन सके भाषा शिक्षण, अनुवाद, कोश निर्माण, वाकदोष चिकित्सा (स्पिच थेरापी) जस्ता कुराको अध्ययन अध्यापनमा सहयोग पुग्छ । भाषाप्रविधि वा कम्प्युटर भाषाविज्ञानका क्षेत्रमा शोधकर्ताहरूसँग बसेर यथार्थमा आधारित प्रणालीहरू विकास गर्न सकिन्छ जसले रोजगारीलाई पनि सहज बनाउँछ ।
भाषा स्थानीयकरण एउटा महत्वपूर्ण विधाका रुपमा विकास भइरहेको वर्तमान परिप्रेक्षलाई ध्यान दिनसके सांस्कृतिक अनुकूलनमा महत्वपूर्ण काम गर्न सकिन्छ । संस्कृतिका आधारभूत तत्वहरु;
१ जीविका, खाना, लुगा, सुरक्षा, आवास
२ मौखिक भाषा, लिखित भाषा, सञ्चार
३ शिक्षा, चेतना, पढाइ, लेखाइ, बुझाइ, अवधारणा
४ घर, परिवार, सामाजिक संस्था, परिवार, बिबाह, मृत्यु, सामाजिकीकरण प्रक्रियामा आउने सबै व्यवहार
५ सामाजिक मूल्यमान्यता, सामाजिक चालचलन, आदर, सम्मान, सोमत, पूर्खादेखि चलिआएका मान्यता
६ धर्म, विश्वास, सान्सारिक ज्ञान
७ परम्परागत ज्ञान, जडीबुटी, औषधी, धामीझाँक्री, प्राकृतिक एवम् मानवीय सम्पदा, भीर, खोला, ढुङ्गा, वनस्पति
८ कला र सिर्जना, सौन्दर्यशास्त्र, नृत्य, रङ्ग, मूर्ति, आदि जस्ता कुराको विद्युतीय संरक्षण गर्न सजिलो हुन्छ ।
भाषा स्थानीयकरण वा लोकलाईजेसन प्रक्रियाले सांस्कृतिक अनुकूलन र स्थानीय भाषामा सफ्टवेयर निर्माण, वेभसाइटको अनुवाद, आफ्नै भाषामा भिडियो खेलहरूको निर्माण, सञ्जाल पृष्ट (वेबसाइट) हरूको व्यवस्थापन र अन्य मल्टिमिडिया सामग्री निर्माण गर्न सकिन्छ । भाषा स्थानीयकरणले स्वदेशी भाषा, संस्कृति र क्षेत्रीय जानकारीमा समान पहुँचको अवसर प्रदान गर्दछ । यसले डिजिटल विभाजन निवारण गर्ने पुलको काम गर्दछ । भाषा स्थानीयकरणले इसरकारमा महत्वपूर्ण भूमिका खेल्दछ । किनभने प्रविधि स्थानीयकरण ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रवाह गर्ने प्रमुख साधन हो ।
नेपालको ठूलो जनसंख्या आइसीटीको लाभबाट टाढा छ । यसको मुख्य कारण भनेको नेपाली भाषामा प्रशस्त डिजिटल सामग्री छैन । प्राकृतिक भाषा प्रशोधनको महत्त्वपूर्ण अनुप्रयोग मध्ये भाषा इन्जिनियरिङ एउटा महत्वपूर्ण विधा हो । भाषा इन्जिनियरिङले वैज्ञानिक सिद्धान्तहरू अवलम्बन गरेर वेब अनुप्रयोगहरूमा शब्दहरू, औपचारिक अनौपचारिक सञ्चार, स्थानीय भाषाहरूमा इन्टरफेस, मानव अन्तरक्रिया, डिजिटल सामग्री व्यवस्थापन, ज्ञान व्यवस्थापन, नेट ब्राउजिङ, नेविगेटिङ, लिखित मौखिक पाठ फिल्टर गर्ने र प्रशोधन गर्ने जस्ता सशक्तिकरणका काममा मार्गदर्शन गर्दछ ।
राष्ट्रिय सूचना प्रविधि नीतिले आइसीटी क्षेत्रहरू जस्तै सूचना प्रविधि, भाषाप्रविधि, इशासन, इवाणिज्य, स्थानीय निकायमा इन्टरनेट सुविधा, सरकारी कार्यालयहरूको कामको कम्प्युटरीकरण र सूचना प्रवाहको लागि स्थानीय भाषामा वेबसाइटहरू निर्माण गर्न प्राथमिकता दिनुपर्ने हो तर विद्यालय र कलेजमा स्थानीयकरण कम्प्युटर शिक्षा र राष्ट्रिय भाषा डिजिजलाईजेसन नीति अहिले सम्म बन्न सकेको छैन । नेपाल सरकारले आइसीटी नीति त बनाएको छ । तर आइसीटी विकासलाई एकीकृत गर्ने रणनीति समावेश गर्न सकेको देखिदैन ।
मदन पुरस्कार पुस्तकालयले नाश नहुने अक्षर वा युनिकोड फन्टको विकास गरेर सुरु गरेको भाषाप्रविधिको काम काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान विभागले कम्प्युटर भाषामा स्नातकोत्तरको पढाइ सञ्चालनमा ल्याए पनि प्रभावकारी बन्न सकेको छैन ।
स्थानीय भाषामा कम्प्युटर प्रदत्त सिर्जना र स्थानीय भाषाको ज्ञान भण्डार, कार्यालयीय लगत एवम् डेटाबेस आदि माथि जनताको सहज पहुँच पुर्याउन र यस्तो लगत एवम् डेटाबेस लाई चाहिएको अवस्थामा स्वतः प्रशोधन गर्न सक्ने व्यवस्थाको चाँजोपाँजो मिलाउने कामलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न सकेको छैन । भाषा प्रविधि नीति सुनिश्चित गरेर विद्यालय, विश्वविद्यालयमा भाषाप्रविधिको अध्ययन अध्यापन, स्थानीय भाषामा प्रविधिको पहुँच, विद्युतीय सामग्री निर्माण, स्थानीय सामग्रीको अन्तर परिवर्तनीय क्षमता आदिका लागि पहुँच योग्य बनाउनु पर्दछ ।
आजको युग इन्टरनेटको समाजशास्त्रको युग बन्न पुगेको छ । इन्टरनेटको समीक्षाबाट प्रविधिको सामाजिक प्रभावलाई हेर्न बुझ्न सकिने यस युगमा सामाजिक सञ्जालहरू, भर्चुअल समुदायहरू परिचालित भएका हुन्छन । साइबर अपराधसँग सम्बन्धित समस्याहरू पनि भाषा स्थानीयकरणका माध्यमबाट सम्बोधन गर्न सकिन्छ । कागजको सट्टा अनलाईन प्रश्नपत्रहरू प्रयोग गरेर, छलफलका लागि अनलाईन प्लेटफर्मको प्रयोग गरेर भर्चुअल समुदायहरूले इन्टरनेटबाट ल्याउने सामाजिक परिवर्तनमा चिन्ता गर्न थालिसके भने हामीकहाँ चाहिँ सञ्जाल विश्लेषणको माध्यमबाट अध्ययन गर्न सकिने अवस्था छैन ।
हरेक विषयवस्तुको विशिष्ट ज्ञान क्षेत्र (डोमेन) निश्चित हुन्छ । सफ्टवेयर इन्जिनियरिङ पनि एउटा ज्ञानको डोमेन हो । सामाजिक, सांस्कृतिक, व्यापार नीतिहरूमा सफ्टवेयरको बढ्दो प्रयोगलाई हेर्दा स्थानीय भाषामा सफ्टवेयर अनुप्रयोगको विकास ज्यादै महत्त्वपूर्ण हुन्छ । भाषा अध्याहार (प्रोसेसिङ) का लागि मेसिन सक्षम अल्गोरिदममा सन्सारका धेरै भाषाहरुले ठूलो फड्को मारिसके । नेपालको अवस्था निकै कमजोर छ ।
अबको समय पेपरबेस लेखन नभएर पेपरलेस लेखनको समय हो । अब विद्युतीय लेखाइले भाषाको प्रतिनिधित्व गर्नु पर्ने हुन्छ । प्रविधि चलाउन भाषा चाहिन्छ । सूचना, प्रविधि र भाषाको अन्तरनिर्भरतालाई छुट्याएर नेपाली भाषाको मानक निर्धारण हुन सक्दैन । नेपाली भाषाको लगत एवम् डाटा सङ्कलन गरेर विश्लेषण गर्ने प्रविधिको विकास हुन सकेको छैन । महङ्गो प्रविधि किनेर सीमित चुनौतीहरूको सामना गर्न त सकिएला तर भाषा इन्जिनियरिङको आवश्यक ज्ञानबिना विकासशील देशहरूसँग प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना हुन सक्दैन ।
नेपालका नीतिनिर्माताहरूमा भाषा, सम्पदा एवम् प्रविधिबारे चासो देखिँदैन । आम सञ्चारजगतले पनि यसबारे चासो राखेको पाइँदैन । भाषा, प्रविधि एवम् सम्पदाको मानक निर्माण गर्ने र त्यसको अनुगमन गर्ने निकाय हालसम्म नेपाल सरकारसँग छैन । प्रविधि स्थानीयकरण नीति अवलम्वन गर्न सके प्रविधि ग्रहण, हस्तान्तरण, सम्पदा संरक्षण, मानकीकरणको विकास, वर्ण, अङ्क, चिह्न, रूपैयाँ, पात्रो, सम्बोधन, अनलाईन विद्युतीय लेखन, अदालतमा दूर तारेख लिने प्रविधि आदिको विकास सम्भव हुने थियो ।
आजको भाषा मानिसले अर्थ लगाउन सक्नेमात्र भएर पुग्दैन । मेसिनले प्रशोधन गर्न सक्ने हुनु पर्दछ । आजको लेखाइ पाठ सङ्ग्रह विश्लेषण प्रक्रियामा भाषिक लगत (डाटा), भाषाको घटकीय विश्लेषण र कम्प्युटरले प्रशोधन गर्न सक्ने वाक्य संरचना भएको हुनु पर्दछ । सङ्घीय सरकारको काम कारवाहीमा प्रयोग भएको अङ्ग्रेजी भाषा सरल सहज र मेसिनले प्रशोधन गर्न सजिलो होस भनेर अमेरिकाले सादा लेखन ऐनको समेत व्यवस्था गरेको छ ।
नेपालका नीति निर्मातालाई भाषाप्रविधिबारे पटक्कै ज्ञान छैन । कम्प्युटरको मातृभाषा अङ्ग्रेजी हो भन्छन् । कानुन पढेका तर भाषाशास्त्र नपढेका वकिलले आधिकारिक अनुवाद गर्छन् । भाषाविज्ञान र भाषाप्रविधिमा विद्यावारिधि गरेका डाक्टरहरु हात बाँधेर बस्न बाध्य छन् । के गरुन् विचरा कानुनले भाषा हेर्ने अधिकार वकिललाई दिएको छ । आइएनजीओका राष्ट्रिय कार्यशालाका प्रस्तोताहरु टुटे फुटेको अङ्ग्रेजीमा पेपर प्रस्तुत गर्छन् । बोली फुटेदेखि नेपाली बोल्ने प्रस्तोताहरु मलाई अङ्ग्रेजी मात्र आउँछ मिलाएर बुझिदिनुहोला भन्छन् ।
भाषाप्रविधि मानकको व्यापक स्वीकृतिले आइसीटी उत्पादनमा सहयोग गर्छ । सूचना ढाँचाको अन्तर परिवर्तनीयता (इन्टरअपरेबिलिटी) लाई सजिलो बनाउछ । राष्ट्रिय मानकले प्राविधिक नियमहरू उत्पन्न गर्दछ जसले कम्प्युटरमा काम गर्ने सामान्य सहमति (एकरुपता) को विकास गर्दछ । अहिलेको समाज बहुभाषी वैश्विक व्यापारको सुविधाका लागि रणनीतिक पहुँच खोजिरहेको छ । गुगल, माइक्रोसफ्ट जस्ता कम्पनी बजार बिस्तार गर्न र आफ्नो देशको सरकारलाई बहुभाषिक तथ्याङ्क दिन भनेर भाषाप्रविधिमा लागेका छन् । उनीहरूले नेपाली भाषामा गरेको काम नेपालीको दया मायाले होइन । बजार बिस्तार गर्न हो । गुगलले गरिदिएला र हामी मजाले चलाउँला भन्ने सोचले नेपाललाई विश्व बजारको गुलामी बनाउँछ । हामीले भाषाप्रविधिबारे केही कुरा सुन्नु, बुझ्नु पर्छ । बुझ्नैपर्ने कुराहरु यस्ता छन् । यी कुरा बुझ्न नसके प्रविधिमा अर्काको गुलामी बन्नुको विकल्प छैन ।
१. प्रविधि चलाउन भाषा चाहिन्छ । सूचना, प्रविधि र भाषाको अन्तरनिर्भरतालाई छुट्याएर नेपाली एवम् नेपालका अन्य भाषाको मानक निर्धारण हुन सक्दैन ।
२. महङ्गो प्रविधि किनेर सीमित चुनौतीहरूको सामना गर्न त सकिएला तर भाषा इन्जिनियरिङको प्रयोगबिना विकासशील देशहरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन ।
३. सरोकारवाला निकाय एवम् नेपाल सरकारले राष्ट्रियस्तरको मानकीकरण व्यवस्था गर्न ध्यान दिएको छैन वा सकेको छैन । किन यस्तो भएको हो ?
४. सरकारी कामकाजको भाषाकै बेहाल अवस्था छ भने अन्य राष्ट्रभाषाको हालत झन कमजोर छ ।
५. परम्परागत ज्ञानसँग जोडिएको ज्ञानलाई त्यहीँको भाषामा स्थानीयकरण गर्नुपर्छ अनिमात्र सरकारी कामकाजको सम्पर्क भाषामा मापन गर्नुपर्छ ।
६. यस्तो प्रणालीको विकास गर्नका लागि प्रविधि स्थानीयकरण (टेक्नोलोजी लोकलाइजेसन) गरेर तत् तत् भाषामा भाषाप्रविधिको काम थाल्नुपर्छ ।
७. नेपालमा हालसम्म राष्ट्रिय सूचना सङ्केतन पद्धति (नेसनल इन्फरमेसन कोडिङ सिस्टम) को विकास गर्न सकेको छैन । नेपालमा कम्प्युटरको कामको आइएसओ प्रमाणीकरण गर्ने निकाय छैन ।
८. भाषा, सम्पदा एवम् परम्परागत ज्ञान आदिको अभिलेख पुस्तिकासमेत मानकीकरण गरी आइएसओमा सूचीकृत गर्न सकेको छैन ।
९. नेपालका जनतामात्र होइन नेपाल सरकार पनि पश्चिमी देशको प्रविधिको ग्राहक हो । प्रविधिको ग्राहक प्रविधिमा परजीवी हुन्छ । सधैँ अर्काको ग्राहक बनेर हाम्रो भाषा, संस्कृति, सम्पदामाथिको स्वामित्व बचाउन सकिँदैन ।
The post भाषाप्रविधिमा अर्काको गुलामी: नबुझिएको कि बुझ पचाइएको ? appeared first on Sajha Post.