मार्क्सवाद जडसुत्रवाद होइन, सिर्जनशील विज्ञान हो । स्थान विशेष, समय सापेक्ष रुपमा यो सिद्धान्त लागू हुने गर्दछ । मार्क्सवादी विज्ञानको रक्षा, प्रयोग र विकासको विभिन्न रुपमा नयाँ शक्तिले त्यो सिद्धान्तलाई प्रयोग गरिरहेको छ । मानिसले मानिसमाथि गरिने सबै प्रकारका दमन, शोषण, उत्पीडन र विभेदबाट उन्मुक्ति पाउने मुक्तिको सिद्धान्त नै मार्क्सवादी सिद्धान्त हो । नेपाली समाजमा देखापरेका विद्यमान दमन, शोषण, उत्पीडन र विभेदको अन्त्यको उद्घोष गर्दै अगाडी बढिरहेको छ नयाँ शक्ति । नयाँ शक्ति नेपाललाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण र आलोचना गर्नेहरु यसका निम्ति स्वतन्त्र छन् । तर नयाँ शक्ति नेपाल राष्ट्र र जनताका लागि आफ्नो जिम्मेवारीबोध प्रति निष्ठावान छ । आफ्नो लक्षित गन्तव्य चुम्न मार्क्सवादको नयाँ व्याख्या र परिभाषासहित अगाडि आएको छ ।
रुप पक्षलाई लिएर जे जस्तो टिकाटिप्पणी हुने गरेको भए पनि नयाँ शक्ति, नेपालको वैचारिक पथप्रदर्शक सिद्धान्त भनेको मार्क्सवाद नै हो । अझ भन्नु पर्दा मालेमावादको उच्चतम विकास र नयाँ वैज्ञानिक प्रयोग पनि हो । जसले राज्यलाई विखण्डन भन्दा मजबुत बनाउने ज्ञान चेतना प्रदान गर्छ । नयाँ शक्ति, नेपाल ठीक त्यही दिशा र दृष्टिकोणबाट अगाडि बढिरहेको छ । यसले मुठीभरका विजातीय शासक वर्गको निजी स्वार्थमा पहिरो ल्याउने कुरा निश्चित छ ।
अब पुराना राजनीतिक शक्तिहरुको जग भत्केर नयाँ शक्तिको आधार बन्नेछ । आफ्नो जीवनकालमा हुनसक्ने सकारात्मक परिवर्तनको सपना नयाँ शक्तिले पुरा गर्नेछ । यसका निम्ति प्राप्त उपलब्धिको जगमा टेकेर बाँकी कार्य पुरा गर्न समावेशी समानुपातिक र सहभागीतामूलक लोकतन्त्रको वैज्ञानिक प्रयोग/अभ्यास र आर्थिक समृद्धिसहितको नयाँ नेपालको नयाँ परिकल्पना पुरा गर्नेछ । यो समकालीन नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक धार हो । सही विचार र दृष्टिकोणकै कारण अहिले विश्वभर छरिएर रहेका नेपालीहरुमा नयाँ शक्ति आकर्षणको केन्द्र बनेको छ ।
मार्क्सवादको गुदी कुरा भनेको दुनियाँलाई बुझ्नु र बदल्नु हो । अर्थात् नेपाली समाजमा विद्यमान समस्याहरुको सही पहिचान गर्नु र त्यसको समाधानको सही उपाय पत्ता लगाउनु । नेपाली समाजमा विद्यमान चार अन्तरविरोध छन्- वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक । उत्पीडनका यी चार रुपको सही समाधान भनोको नै सहभागितामूलक लोकतन्त्र हो । अन्य कुनै पनि व्यवस्थाले नेपाली समाजको विद्यमान समस्याको सही समाधान दिन सक्दैन ।
मार्क्सवादलाई कम्युनिष्टहरुले विकृत बनाए । उनीहरुले यो विचार दर्शनलाई पेवा ठाने । वैचारिक आदर्शभन्दा ठीक उल्टो यसको व्याख्या र प्रयोग गर्न खोजे । र, मार्क्सवादी सिद्धान्तलाई बद्नाम बनाइदिए । आज मार्क्सवादको जामा पहिरिएर मार्क्सवादको नै गला रेट्ने थुप्रै पाखण्डी कम्युनिष्टहरु हामीले देखेका छौं । आ–आफ्नो निहित स्वार्थअनुसार मार्क्सवादलाई व्याख्या गरियो । र, नाङ्ले पसल थापेर व्यापार र व्यवसाय चलाउन थालियो । देश र जनताको नाममा खुल्लेआम लुट मच्चाइयो । मुठ्ठिभर मठाधिशहरु अभिजात वर्गमा रुपान्तरित भए । उनीहरुको भनाइ र गराइमा अकाश पातलको फरक देखियो । त्यसैले अहिले कम्युनिष्टहरुप्रति वितृष्णा र विकर्षण तीव्र रुपले बढ्दो छ ।
उल्लेखित पृष्ठभूमिकै बीचबाट नयाँ शक्ति नेपाल जन्मिएको छ । नयाँ शक्ति एनजिओकरण र विचारविहिन राजनीतिक अभियान नभएर मार्क्सवादको नयाँ वैज्ञानिक प्रयोग र विकास हो । जसले उत्पीडनमा परेका र पर्दै आएका वास्तविक उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको राज्यसत्तामा समान हकअधिकार र पहुँचलाई ग्यारेण्टी गरेको छ । यसबाट नक्कली मार्क्सवादी र गैरमार्क्सवादीहरु अतालिएका छन् । र, नयाँ शक्ति नेपाललाई विभिन्न लान्छना लगाएर जनतामा भ्रम पैदा गर्ने काम गरिरहेका छन् ।
मार्क्सवाद जस्तै नयाँ शक्ति सार्वभौम विचार हो । यसका अनुयायी भ्रष्ट र दलालहरु बाहेक जोकोही पनि हुन सक्छन् । र त नयाँ शक्ति नेपालमा मार्क्सवादी तथा गैर मार्क्सवादीलगायत अन्य सबै क्षेत्रका प्रतिभाहरु अटाएका छन् । त्यसैले यसको संस्थापक सदस्य बन्न जनलहर उर्लिएको छ । यो जनलहरले प्रतिक्रियावादीहरुको मुटुमा ढ्याङग्रो ठोकेको छ । उनीहरुको आँखामा निद्रा छैन । नयाँ शक्ति नेपालको युग सापेक्ष समावेशी, समानुपातिक र सहभागीता मूलक लोकतन्त्र तथा आर्थिक समृद्धि विकास लगायतको परिवर्तनमूलक रुपान्तरणको राष्ट्रिय नारा/अभियानले कालोबजारी र भ्रष्टाचारीहरुमा चाहनेहरुको छटपटी बढीरहेको छ । यसखाले विकृति र विसंगतीजन्य आवरणबाट नयाँ शक्ति विचलित हुने छैन । अर्कोतिर उत्पीडनमा परेका वर्ग जाती र समुदाय पनि वाहियात भ्रमको पछाडी नलाग्ने निश्चित छ ।
गाउँदेखि शहर बजार र प्रवासमा समेत यसको बहुआयमीक महत्व यतिबेला बढेर गएको छ । गलत राजनीतिक चरित्रबाट आक्रान्तदेखि सकारात्मक राजनीतिज्ञ तथा बौद्धिक वर्ग, युवा यो अभियानलाई कोसेढुङ्गा सावित गर्न लालायित छन् । नयाँ शक्ति वरिपरि उनीहरुले आफ्नो ध्रुविकरण बढाएका छन् । नेपाली समाजको काँचुली फेर्न स्पष्ट खाकासहित नयाँ शक्ति अगाडि आएको छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंडजस्तै बनेको छ नयाँ शक्ति । भनाइ र गराइबीचको तादाम्यता नै नयाँ शक्तिको विशेषता हो । जे हो त्यही नै हो मार्क्सवाद । मार्क्सवादले हामीलाई यही नै सिकाउँछ । नयाँ शक्ति मार्क्सवादको सच्चा र जीवन्त अनुयायी हो । सबैलाई चेतना भया ।
(लेखक नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य हुन् )
The post नयाँ शक्तिमा ‘नयाँ मार्क्सवाद’को बहस ! appeared first on Sajha Post.