अमेरिकालाई कल्पनामा र सपनामा स्वर्ग भन्ने गर्छन् नेपालमा बस्ने अधिकांश मानिसहरु । एक हदसम्म सही पनि होला भौतिक सुख र सुविधाको चाहना राख्नेहरुकोलागि एवम् यथार्थता नभोग्नेहरुका लागि । तर, वास्तविकता त्यतिबेला थाहा हुन्छ, जतिबेला अमेरिका टेकिन्छ । संसारकै शक्तिशाली मानिने देशलाई स्वर्ग मान्नु नाम र प्रचारबाजीको कारण पनि हुनसक्छ । तर स्वर्ग के अर्थमा मान्ने ? भौतिक संरचना र सुविधाहरु देखेर कि आत्मसम्मानको आधारमा ! यो व्यक्तिपिच्छेको बुझाईमा भर पर्ने कुरा हो ।
पक्कै हो टेक्नोलोजीमा भएको प्रगतिलाई आत्मसाथ गरि अमेरिकामा आधुनिक सुविधा सम्पन्न भौतिक संरचना र विकासका पूर्वाधारहरु ‘सडक, रेल, जल, हवाई यातायात, संचार, व्यवस्थित आवास, सरसफाई, विजुली, खानेपानीदेखि कलकारखाना, मनोरम आधुनिक शहरी विकास देख्न सकिन्छ । झट्ट हेर्दा झिलीमिली शहर देख्दा र सबैको व्यस्तता देख्दा पहिलो चोटी देख्नेलाई लाग्न सक्छ, साँच्चिकै अमेरिका सपनामा देखिने स्वर्ग नै रहेछ । तर लामो समय काम गर्दै जाँदा र अमेरिकी व्यस्त जीवन अनि बाँच्नका लागि गर्नु पर्ने संघर्षपूर्ण चुनौतीयुक्त यान्त्रिक दैनिकीसँग साक्षात्कार हुँदै जाँदा बल्ल थाहा हुन्छ, अमेरिकन जीवन ठिक की बरु खोले-सिस्नो खाएर बिताएको गाउँले जीवन ठिक भन्ने कुरा ।
जतिबेला हामी सपनाको वायुपंखी चढेर अनेक उपाय लगाएर अमेरिका आउँछौ, त्यतिबेला हामी सोच्छौँ कि ठूलो युद्ध जितेर महान बनियो र गाउँका अरु व्यक्तिहरुभन्दा अब्बल दर्जामा दहरियाे । तर, जब दिन बित्दै जान्छ, पाखुरीमा ताकत र उमेरले नेटो काट्न थाल्छ, तब घरगाउँको डाँडा-पाखा, चौतारी, सल्लाघारी, खोलानाला, वन-जंगल , भिरपाखा, खेतबारी, बाल्यकाल बिताएको टोल छिमेक, पढेको स्कूल -कलेज, साथीभाई, ईष्टमित्र, नातेदार सबैको यादहरु हरपल आँखा वरिपरि टिलिपिली टेलिभिजनको पर्दामा आएको दृश्य झै आईरहन्छ र हरपल ती अतितहरुले सताईरहन्छ ।
जब आफ्ना सन्ततिहरु अमेरिकाको रहनसहन, संस्कारमा रुपान्तरित भईसकेका हुन्छन्, तब आफू भने चंगा झै उडेको मन लिएर दिनहरु गन्ति गर्दै बस्नु पर्ने हुन्छ । अमेरिका प्रवेश गरेदेखि रात दिन नभनी साहुको काममा लरीघसी गरेर डलरको पछि लाग्दा न समयमा आहारबिहारमा ध्यान दिन सकिन्छ, न त आफ्नो स्वास्थमा उचित ध्यान, जसले गर्दा उमेर ढल्किदै जाँदा अनेकथरी रोगहरु एकैचोटी देखिन थाल्छन् र बिस्तारै काम गर्ने सामार्थ्य घट्दै जानु एवं आम्दानीको स्रोत घट्दै जाँदा सन्ततिहरुको माया-ममतामा पनि कमी आएको महसुस हुन थाल्छ ।
दुनियाँमा जतिसुकै आदर्शका कुरा गरे पनि मान्छेको माया अन्तिममा पैसा वा सम्पत्तिमानै गएर ठोक्किने गर्छ । यदी तपाईंको कमाई घट्दै गयो भने न त तपाईंको श्रीमान् वा श्रीमतीबीच गहिरो प्रेम सम्बन्ध नै कायम हुन सक्छ, न त छोराछोरीहरु र आफन्तहरुबीच किनकी संसारको श्रृष्टी नै यस्तै स्वार्थयुक्त हुन्छ । सम्पूर्ण परिवार त्यागेर तपस्यामा बसेको तपस्बीको पनि केही न केही स्वार्थ हुन्छ, भने सांसारिक मायाममतामा आवद्ध व्यक्ति एवं परिवारमा स्वार्थ नहुने कुरै भएन ।
यसरी ढल्किँदो उमेरमा अमेरिका बसाईलाई गहनरुपमा हेर्ने हो भने व्यक्तिहरुले चाहेरभन्दा पनि बाध्यताले र परिवारबाट अलग भएर बस्न सक्ने अवस्था हुन नसक्ने स्थितिले गर्दा मनलाई थामेर बलजफ्ति बसिरहेका हुन्छन् । वास्तवमा बुढेसकालमा नेपाली परिवेश, संस्कारमा गाउँघरमा दैनिक जीवन बिताउन पाएमा मनमा आनन्द अवश्य आउँछ । सधैँजसो यान्त्रिकतवरबाट काम गर्नु पर्ने, चाहेको बेला विश्राम गर्न पनि समय नमिल्ने, सबै परिवारका सदस्यहरुको काम र कामको समय नमिल्ने, फरक परिवेश, रहन-सहन, संस्कारमा काम गर्नु पर्ने, हरपल विभिन्न मानसिक तनावहरु झेलिरहनु पर्ने, विभिन्न कानुनी औपचारिकताहरु हरेक काम र व्यवहारमा अवलम्बन गरिरहनु पर्नेजस्ता विविध कारणले पनि नेपालकोजस्तो तनावरहित जीवन अमेरिकामा बिताउँन पाईंदैन ।
यति भनिरहँदा अहिलेका युवा जेनेरेशनको लागि भने अमेरिकामा पढ्ने र पढिसकेपछि योग्यता र रुची अनुसारको काम गरि जीवनलाई आधुनिक युग सापेक्ष अगाडि बढाउन सकिने अवसर मिल्न सक्छ । जो केही परिपक्क जीवन नेपालमै बिताएर आएको हुन्छ, त्यसकोलागि भने अमेरिका वास्तवमै ‘दिनभरीको सिकार, कान्छो बाउको अनुहार’ भनेजस्तै हुन्छ । जीवनको आधा उमेर नेपालमै बिताएका व्यक्तिहरुमा यस्तो अनुभव प्रायः देखिएको पाईन्छ, तापनि अपवादकोरुपमा केही उमेर ढल्केकाहरुसमेत यतैको तामझाम र भौतिक सुविधाहरुमा आफूलाई भूलाइरहेको उदाहरण पनि नपाइने भने होइन । सामान्यतः जतिसुकै देखावटी हाँसो हाँसे पनि जन्मेको घरआगन झुपडी र गाउँघर विकट नै भएपनि त्यसलाई भुल्न सकिँदैन । तर विविध बाध्यताले गर्दा विदेशी भुमिमा ‘तातो दूध निल्नु न ओकल्नु’ भएर बाँचिरहनु पर्ने देखिन्छ ।
यदि देश भित्रै उचित रोजगारीको अवस्था आउन सके नेपाल नै प्राकृतिक र भौतिकरुपमा स्वर्ग बन्न सक्थ्यो । अझै सामान्य जीवन निर्वाह निर्वाधरुपमा गर्न पाउने अवस्था श्रृजना हुन सके अन्य मुलुकमा चाहेर पनि नेपालीहरु सदाकोलागि जीवन बिताउन लालयित हुने थिएनन् । यसकोलागि सबै नेपाली र नेपालका राजनेताहरुले बेलैमा सोच्नु जरुरी छ । बिडम्वनानै मान्नुपर्छ कि राजनितिक खिचातानी र असमझदारीले गर्दा नेपालले अझै विकासको गति लिन सक्ने कुनै आधार देखिएकाे छैन । तसर्थ दैनिकजसो खुकुरीको धारमा जीवनलाई राखेर कठोर यात्रामा लाखौँ खर्च गरेर नेपाली युवाहरु अमेरिका आउन बाध्य छन् ।
यस्तै युरोपका विभिन्न देशहरुमासमेत त्यसरी नै दैनिक युवाहरु जानेक्रम बढ्दो छ । केही वर्ष पहिलादेखि दक्षिण कोरियामा कामदारकोरुपमा सरकारी कोटामा जानकोलागि नेपाली पढे लेखेका दक्ष युवाहरु पनि मरिहत्ते गरेको देखिन्छ, यसले पनि युवाहरुको भौतिक शरीर नेपालमा रहेर पनि मन र मस्तिष्क जति विदेशकै भुमिमा रहेको स्वत: सावित हुन्छ ।
यसरी दिनप्रतिदिन युवाहरु नेपाल छोडी रोजगारी एवं स्थायी बसोबासकोलागि विदेशिनु कुनै पनि हालतमा देशकोलागि दीर्घकालीन हित हुन सक्दैन । तसर्थ युवा जनशक्तिलाई देश भित्रै काम गर्ने अवसर सृजना जबसम्म हुँदैन, तबसम्म नेपालले आर्थिक प्रगति र सम्पन्नताको मार्गतर्फ आफूलाई अगाडि बढाएको ठान्न सकिँदैन । अत: वैदेशिक रोजगारी अल्पकालीन समस्या समाधानको आधार बन्न सक्छ, तर दीर्घकालीनरुपमा वैदेशिक रोजगारीले सकारात्मक प्रभाव पार्न सक्दैन । त्यसैले वैदेशिक रोजगारी तासको घर जस्तै हो, जतिबेला पनि भत्किन सक्छ । तसर्थ डिभी परेन भनेर नआत्तिनुस्, आफ्नै देश स्वर्ग समान छ ।
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका
The post अमेरिका: ‘तातो दूध, निल्नु न ओकल्नु’ appeared first on Sajha Post.