नयाँ शक्ति नेपालले आफनो प्रचार र संगठनात्मक अभियानलाई तीव्रता दिंदै आएको छ । यसका संयोजक डा बाबुराम भटटराईलगायत सबै केन्द्रीय नेताहरु विभिन्न कार्य क्षेत्रमा अहोरात्र खटिरहेछन् । नयाँ शक्तिप्रति जनताको उर्लंदो आकर्षणलाई संगठनात्मक ढाँचामा ढाल्न यो अभियान अत्यन्त फलदायी भएको छ । अभियानले हिजोका कट्टर आलोचकलाई मौनतातिर धकेलिदिएको छ भने हिजो शंकाको नजरले हेर्नेहरु आज आशाको नजरले हेर्न थालेका छन् । यसो हुनुको पछाडि प्रसस्त कारण छन् ।
क) पुरानो सोचाई खारेज
नयाँ शक्तिमा पूर्व एमाओवादीको एउटा समूह र विभिन्न पार्टी, संस्था र व्यक्ति समाहित भएका छन् । निसन्देह सबैले आफ्नो पुरानै डम्फू बजाई रहँदा टिम स्पिरिट पैदा गर्न सकिदैन । त्यसकारण सबैले आ–आफ्ना पुराना सोचाई र मान्यताहरु ‘डिलिट’ गरेर नयाँ शुरुवात गर्ने दृढ संकल्प गरेका छन् । वादै वादले लत्पतिएको नेपालको राजनीतिबाट बाहिर आएर नयाँ चिन्तनधारा शुरु गर्न सक्नु चानचुने विषय होइन । पाँच ‘स’ को प्रस्थावना त अन्तिम होइन किनभने नयाँ शक्ति नेपालको प्रथम महाधिवेशनसम्म पुग्दा त्यसमा आमूल सुधार गर्नु पर्ने हुन सक्दछ । आर्थिक सम्वृद्धि र वातावरणीय सुन्दरताको रक्षामात्र अबको नेपालका सबभन्दा महत्वपूर्ण एजेण्डा हुन् । त्यस्तै हाल अघि सारिएको क्लस्टर समावेशीकरण अर्को बहसको विषय हो । नेपाल अब सबै नेपालीको समान स्वामित्व भएको घर हो न कि जातीय भागवण्डा र टकरावको थलो । नेतृत्वले आफ्नो देशको जातीय मामिलाको राम्रो सम्बोधन गर्न नसक्दा बर्बाद भएका र हुदै गरेका देशको सूची लामो छ । त्यसको हेक्का नयाँ शक्तिलाई नहुने कुरा भएन ।
ख) अनावश्यक परम्परा खारेज
नेपालको राजनीति सामन्ती राज्यसत्ता र संस्कारसंग लडेर अगाडि आएको हो । लड्ने क्रममा पुरानो सत्ताको फोहोरी छिटा अझै धोइ पखाली हुन बाँकी छ । नेताहरु अगाडि पर्दा गरिने धनुष्टंकार दण्डवत, नेताहरुलाई गरिने भारी भरकम स्वागत, जय जयकार र अति आदरार्थी शब्दको प्रयोग, आशन ग्रहण गराउने भद्दा शैली र बरियताको लागि गरिने झगडा यसका केही उदाहरण हुन् । खुसीको कुरा हो, नयाँ शक्तिले यस्ता सबै गलत परम्पराको अन्त्य गरिदिएको छ । घण्टौं लगाएर आफूले जानेजति बोल्ने नेताहरुलाई २१ मिनेट र १५ मिनेटको समय सिमा लगाइएको छ । भ्रष्टाचारले भरिएका भूँडी देखाएर कांग्रेसीजनले विपिको सपना बाँड्ने वा सरकारी ढुकुटीको दुरुपयोग गरेर मोटाएका एमालेजनले ‘उठ जाग हे संसारका दुःखी’ भन्ने युजे पोतरको गीत गाएजस्तो वा सहिद बेपत्ताको नाममा आएको रकम हिनामिना गरेर कार्यक्रममा उनीहरुको नाममा मुठ्ठी उठाउने एमाओवादी आडम्बर नयाँ शक्तिले किन गर्नु पर्यो र ?
ग) पारदर्शी आर्थिक नीति
नयाँ शक्ति सुशासनको पक्षमा छ । आर्थिक इमान्दारीको पक्षमा छ । थर्काएर पार्टीको नाउमा चन्दा उठाएर आफ्नो पेट पाल्ने कार्यकर्ता उत्पादन गर्ने पक्षमा छैन नयाँ शक्ति । पार्टी निर्माणको दौरानमा मापदण्डको आधारमा प्राप्त भएको सहयोगका पाइ पाइ हिसाब जनताले थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
घ) मेरो मान्छे होइन, राम्रो मान्छे
नेपाली राजनीतिमा अझै सामन्तवादको अवशेष बाँकी छ । चाकडी चाप्लुसी र गणेश प्रवृति यसका ज्वलन्त उदाहरण हुन् । तर चाकडी चाप्लुसी कै भरमा योग्यता क्षमता नभएका मान्छे नेता बनाउने परिपाटी नयाँ शक्तिले अवलम्बन गर्ने छैन । यसो गर्दा नयाँ शक्तिमा राम्रा मानिसहरुको आगमन र भूमिका बढ्ने छ । र, आफ्नो पुरानो गीत गाएर ब्याज खोज्नेहरु हावी हुने छैनन् ।
ङ) जनतामुखी कार्यशैली
नेपाली जनता विविध समस्याबाट ग्रस्त छन् । विनाशकारी भूकम्पले अथाह पीडा थपिदिएको छ । राज्यबाट उनीहरुलाई राहत र पुनस्र्थापनामा व्यापक अनियमितता ढिलासुस्ती भएको छ । अन्य क्षेत्रमा पनि त्यस्तै समस्या छन् । यो बेला जनतालाई सहयोगी हातहरुको सक्त खाँचो छ । नयाँ शक्तिका केन्द्रीय अभियन्ताले जनताको हितको लागि स्थानीय तहमा ईमान्दार सहयोग गर्न सक्नु पर्दछ । नेताको वरिपरि घुम्नुभन्दा संगठन निर्माण गर्न र आफू स्थापित हुन तलै जानुपर्छ भन्ने मान्यता नयाँ शक्तिले बोकेको छ ।
च) संगठन निर्माणमा प्रविधिको प्रयोग
हिजो जनताको पार्टीप्रतिको चाहना बुझ्न घन्टौं हिडेर घरघर पुग्नु पर्थ्यो । आज नयाँ शक्तिले अपनाएको अनलाइन प्रविधिले देशभरिका हज्जारौं फेसबुक प्रयोगकर्ता व्यक्तिले नयाँ शक्तिमा सक्रिय राजनीति गर्ने ईच्छा जाहेर गरेका छन् । यो नेपालको राजनीतिमा गरिएको नविनतम प्रयोग हो । आज नयाँ शक्तिले उनैलाई भेटने र संगठित गर्ने अभियान चलाएको छ ।
छ) सामाजिक अभियान
सामन्ती व्यवस्थाबाट पार पाउन कैयौं दशक नेपाली राजनीतिले ध्वंसात्मक चरण पार गरेर आयो । अब नयाँ युग शुरु भएको सन्दर्भमा विगतका सबै खाले ध्वंसात्मक सोचाईबाट आफूलाई मुक्त पार्दै रचनात्मक कामहरु शुरु गरेको छ । क्लिन काठमाण्डौ ग्रीन काठमाण्डौ अभियान यसैको एउटा स्वरुप हो । आगामी दिनमा यस्ता थुप्रै सामाजिक अभियान चलाईने छन् । यसबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नेमात्र होइन, माओवादी पृष्ठभूमिबाट नयाँ शक्तिमा आएका अभियन्ताले विस्तारै आफ्नो विगतको ध्वसांत्मक र निषेधात्मक चिन्तनमा समेत रुपान्तरण पाउनेछन् ।
The post कता जाँदैछ नयाँ शक्ति ? appeared first on Sajha Post.