Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यसरी सम्भव छ चामत्कारिक विकास

$
0
0

विकास एक निरन्तर चलिरहने प्रक्रिया हो । वर्तमान अवस्थामा आमुल रुपान्तरण गरी सहज, सरल, पूर्ण रोजाइका अवसरहरुको सिर्जना नै विकासका लक्ष्य हुन । कुनै पनि ठाउँ जति धेरै विकसित हुन्छ त्यहाँ त्यति नै धेरै रोजाइका अवसरहरु उपलब्ध हुन्छन् । सकारात्मक दूरदृष्टिमा आधारित दिर्घकालीन, अल्पकालीन तथा वार्षिक नीति तथा कार्यक्रमहरुले विकासलाइ मार्ग निर्देशन गर्दछन् । संसारका सबै भन्दा विकसित देशहरुका इतिहास र वर्तमानलाई नियाल्ने हो भने योजनबद्ध सोच नै आधुनिक विकासको प्रमुख माध्यम हो । यदि विकासका प्रमुख प्रथामिकताहरुलाई सहि तबरले पहिचान गर्न सकियो र ती अवसरहरुलाई प्रष्फुटन गर्न सक्ने गरी विकासका रणनीति एवम् नीतिहरुमा आधारित रहेर कार्यक्रम तर्जुमा गर्न सक्दा नै विकासको सोचलाई व्यवहारमा रुपान्तरण गर्न सकिन्छ ।

Rc Lamichhane
डा. रामचन्द्र लामिछाने

नेपालको सन्दर्भमा कुरा गर्दा वि. सं. २०१२ देखि योजनाबद्ध विकासको सुरुवात भएता पनि हालसम्म पनि विकासको प्रमुख प्राथमिकता पहिचान गर्न नसकिएको र देशको सबै बजेट, जनशक्ति र ध्यान सहायक प्राथमिकताहरुमा केन्द्रित गर्दा आजसम्म पनि देशले आशातित विकास गर्न सकेको छैन । जबकि हामीभन्दा धेरै पछाडि विकास गतिविधि सुरु गरेका राष्ट्रहरु दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भियतनामजस्ता देशहरुले छोटो समयमा नै चमत्कारिक फड्को मारेका छन् ।

एकछिन विचार गरौं त के कारण होला ती देशरु त्यति धेरै विकसित हुँदा हामी पछौटे र अविकसित देशकै रुपमा रह्यौं ? के नेपालीहरु कम काम गर्दछन् ? अल्छी छन् ? प्राकृतिक श्रोत र साधन वा भनौं आर्थिक अभाव हो ? निश्चित रुपमा होइन । दुनियाँका कुनै पनि देशका नागरिकभन्दा हामी धेरै मिहिनेती छौं, हामी अधिक काम गर्दछौं तर पनि हाम्रो मिहिनेत किन खेर गइरहेको छ ? प्रत्येक वर्ष बजेट भाषणमार्फत अरबौं रुपैयाँको बजेट सरकारले ल्याउँदछ र लोक सेवा उत्तीर्ण गरेका एकदम सक्षम भनिएका र नियुक्तिसँगै देश र जनताको नाममा सपथ खाएको कर्मचारी प्रशासन र लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध भएको भनिएका देश र जनता प्रति एकदम चिन्तीत राजनीतिक दलहरु हुदा हुदै पनि किन देश विकास भएन ? सबै राजनीतिक पार्टीहरु, कर्मचारीहरु, व्यापारीहरु देशलाई समृद्ध बनाउन चाहन्छन्, जनता पनि देश समृद्ध होस भन्ने चाहन्छन् तर सबैको चाहनाका बावजुद देश किन विकसित हुन सकेको छैन ?

योजना निर्माणको क्रममा योजनाविदहरु स्पष्ट हुन जरुरी छ कि विगतका सफलताहरुको लेखाजोखा गरेर योजना निर्माण गर्ने की विगतका असफलताहरुको समिक्षा गरेर योजना निर्माण गर्ने ? असफलताको लेखाजोखाले नयाँ भविष्य निर्माण हुँदैन यो केवल यथास्थितीको निरन्तरता मात्रै हो ।

विकासको नेतृत्व सरकारले गर्ने हो तर के हाम्रो सरकारले ल्याउने यस्तै कार्यक्रमहरुले देश विकासको नेतृत्व सफल हुन्छ ? राजनीतिक पार्टीहरुको अहिल्यकै प्राथमिकता र कर्मचारीतन्त्रको यही कार्यशैलीले देशमा विकास हुन्छ ? वास्तवमा प्रश्न गम्भीर छ । वास्तविकता के हो भने विकासको नेतृत्व सरकारले गर्ने हो तर विकास आम जनताले गर्ने हो त्यसकारण सोही अनुसारको नीति तथा कार्यक्रम हुनु आवश्यक हुन्छ । विकास भनेको विगतबाट निर्देशित हुने हैन यो विगतका सफल अनुभवहरु, सकरात्मक परिणाम र तिनका कारणहरु, वर्तमानका सवल पक्षहरुको विश्लेषण र भविष्यको सम्भावना, चाहना र इच्छाहरुको प्रष्फुटन गराउने रणनीतिको परिणाम होे । जबसम्म भविष्यका संभावनाहरु, ती संभावनाहरु प्रस्फुटन गर्ने रणनीति तथा नीतिहरुको मार्गचित्र स्पष्ट रुपमा कोरिँदैन तबसम्म अग्रगामी विकासको बाटो खुल्दैन ।

विशेषत सरकारले बनाउने नीति तथा कार्यक्रमहरुमा विकासका प्रfथमिकताहरु सहिरुपले पहिचान गरी सोहीमुताविक योजना, नीति तथा कार्यक्रमहरु निर्माण गर्न आवश्यक छ । योजना निर्माणको क्रममा योजनाविदहरु स्पष्ट हुन जरुरी छ कि विगतका सफलताहरुको लेखाजोखा गरेर योजना निर्माण गर्ने की विगतका असफलताहरुको समिक्षा गरेर योजना निर्माण गर्ने ? असफलताको लेखाजोखाले नयाँ भविष्य निर्माण हुँदैन यो केवल यथास्थितीको निरन्तरता मात्रै हो र दुःखका साथ भन्नु पर्दछ हाम्रो योजना आयोगले सदैव विगतका असफलताको समीक्षा गरेर नै योजना बनाउने भएको कारण नै यो देश यथास्थिती भन्दामाथि उठन नसकेको हो र यदि वर्तमान सरकारले पनि त्यस्तै कार्य गर्यो भने यसपटकको बजेटमा पनि कुनै नयाँपन आउने छैन ।

यदि हामीले हाम्रा सवल पक्षहरु र संभावनालाई आधार मानेर योजना तर्जुमा गर्ने हो भने हाम्रा सवल पक्षहरु र सम्भावनाहरु र ती कुराहरुको विश्लेषण गर्न जरुरी हुन्छ । हाम्रो पहिलो सवल पक्ष र सम्भावना भनेको मानव संसाधन हो । नेपालको सबैभन्दा ठूलो शक्ति भनेको हाम्रो जनशक्ति हो । हालको व्यवस्थापन प्रणालीमा यसलाई अचुक श्रोत (सोर्स)को रुपमा लिइन्छ र यो नै विकासको पहिलो आधार हो । जुन देशले आफ्नो जनशक्तिलाई पर्याप्त मात्रामा विकास गर्न सक्दछ त्यो देशले नै चमत्कारिक विकास गर्न सक्दछ । छोटो समयमा धेरै विकास गरेका लोकतान्त्रिक मुलुकहरुको विकासको सफलताबाट पनि यही कुरा प्रमाणित भएको छ । यदि नेपालको अहिलेसम्मको विकासको इतिहासलाइ हेर्ने हो भने जनशक्ति विकासलाई न्यून प्राथमिता दिइएको छ ।

जनशक्ति विकासका औपचारिक माध्यम भनेको विद्यालय, कलेज र विश्वविद्यालय हुन । के यहाँ पर्याप्त मात्रामा विश्वविद्यालय, कलेज र विद्यालयहरु छन् ? के ति सुविधा सम्पन्न छन् ? गुणस्तरीय छन् ? विकास भनेको संस्कृति हो र शैक्षिक संघसंस्थाहरुले विकास र सुशासनको संस्कृति निर्माण गर्दछन् । के हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयहरुले विकास, सुशासन, पारदर्शिताको संस्कृति निर्माण गर्दछन् ? आजकै मितिमा हेर्ने हो भने प्राथमिक विद्यालयमा दशौं हजार शिक्षकको दरबन्दी खाली छ । विश्व विद्यालय सम्बन्धी विधेयकहरु संसदमा थन्किएर रहेका छन् । हजारौको संख्यामा अध्ययन अध्ययापन गराइने शिक्षालयहरुमा न्यूनतम आधारभूत पूर्वाधार छैन ।

देशमा प्राविधिक शिक्षालय एकदमै नगन्य छन् जबकि हाम्रो जस्तो देशमा प्राथामिक विद्यालयकै हाराहारीमा प्राविधिक शिक्षालयको आवश्यकता छ । जबसम्म हर नेपाली प्राविधिकरुपमा सक्षम हुदैन तबसम्म यहाँका विकासका संभावनाहरुको सदुपयोग हुन सक्दैन । प्राविधिक शिक्षाले नै निर्माण र आविष्कारको ढोका खोल्छ जब हामी हर क्षेत्रमा नयाँ आविष्कार गर्न थाल्दछौं तब हाम्रो विकासको गति सोचे भन्दा छिटो हुन थाल्दछ । बढो दुःखका साथ भन्नुपर्दछ यहाँका योजना विज्ञ, सरकार र राजनीतिक पार्टीहरु विकासको कुरा त जोड जोडले गर्दछन् तर विकास हुने नीति र कार्यक्रम बनाउँदैनन् । चाहना नै नभएर हो वा क्षमता नभएर हो ? प्रश्न अनुत्तरित छ ।

दोस्रो, हाम्रो प्राथमिकता भनेको प्राकृतिक स्रोतहरु हुन् । विशेषत हामीसँग नेपाललाई पुग्ने र निर्यात समेत गर्न हुने उर्वर भूमि छ । सानो देश भएर पनि प्रयाप्त जलवायु विविधता भएको कारण हामीलाई पुग्ने सबै प्रकारका खाद्यान्न, फलफूल, जडीबुटी, औषधी हामी आफैं उत्पादन गर्न सक्दछौं तर दुर्भाग्य जीन्दगिभरी जंगलको नजिक बसेर वन र वन्यजन्तुसँग सामिप्यता गर्नेहरु न त हामीलाई जडीबुटीको खेती गर्ने शिक्षा दिइन्छ न त प्रशोधन गर्ने सिप सिकाइन्छ । आजसम्मको विकासले यो संभावनालाई पहिचान नै गरेन । त्यस्तै नविकरणिय स्रोतको रुपमा रहेको वन क्षेत्रको समुचित व्यवस्थापन नहुँदा वार्षिक अरबौंको वन्य पैदावार माटो भएर गएको छ । अनावश्यक कानूनी बाधा अड्चन, चरम राजनीतिकरणले यो क्षेत्रको संभावना प्रष्फुटन नै भएको छैन भने ठूलो संख्यामा आवद्ध सामुदायिक वन उपभोक्ताहरुको वन व्यवस्थापन क्षमता अत्यन्तै न्यून छ । उनीहरुलाई आवश्यक ज्ञान सीप र दक्षता वृद्धि गर्ने संगठित र आधिकारिक क्षमतावान निकाय नै छैन । अरबौंको संभावना भएको यो क्षेत्रको उचित व्यावस्थापनको अभावमा नेपाल विदेशी निर्माण सामग्रीहरु, फर्निचरहरुको क्रिडास्थल बनेको छ भने आफ्ना पैदावरहरु सडेर गएका छन् । जलविद्युतको क्षेत्रमा केही व्यापारीहरुको आकर्षण भए पनि राष्ट्रिय दृष्टिकोणको अभावमा सरकारपिच्छे परिवर्तन हुने नीति नियमहरुले यस क्षेत्रको पनि विकास हुन सकेको छैन भने देशमा प्रयाप्त प्राविधिक जनशक्ति नहुँदा यस क्षेत्रको उचित विकास हुन सकेको छैन ।

तेस्रो, प्राथामिकता हो पूँजी निर्माण । गरिब देश भनेर चित्रण गरिए पनि प्रत्येक वर्ष विकास बजेटको ५० प्रतिशत रकम पनि खर्च हुन सकेको छैन । झन यस वर्ष त विकास बजेटको ८० प्रतिशत रकम खर्च नै हुन सकेको छैन । एकातिर भइ रहेको बजेट पनि खर्च गर्ने सामर्थ्य यो सरकार र कर्मचारीतन्त्रमा छैन भने देशभित्र प्रचुर सम्भावना रहेको लघु उद्यम निर्माणमा र सूक्ष्म आर्थिक अवसरहरुको प्रष्फुटनमा सरकार एकदम मौन रहेको छ । नेपाल हावापानी, प्राकृतिक एवम सांस्कृतिक सौन्दर्य र धार्मिक गन्त्वयका आधारमा एक अनुपम पर्यटकीय गन्तव्य हो । यहाँ विश्व स्तरका शैक्षिक संस्था, पूर्विय दर्शनको ज्ञानको गन्तव्य, पर्यटन उद्योगहरुको लागि वातावरण निर्माण गर्ने हो भने पूँजी निर्माणमा अकल्पनिय फड्को मार्ने संभावना छ । पर्यटन संभावना प्रचुर भएको यस देशमा जम्मा जम्मी १/२ वटा कलेजमा मात्रै पर्यटन सम्बन्धी पढाई हुनेहुँदा देशले कसरी पर्यटनमा फड्को मार्न सक्छ ? अदक्ष पर्यटन कर्मी भएकै कारण यहाँ आउने पर्यटकहरुको औसत खर्च एकदमै कम छ ।

देशको उत्पादनशील ३५ प्रतिशत युवा शक्तिको हातमा कुनै सिप छैन । के बिना प्रविधि देश विकास संभव छ ? युवाहरुको हातमा सीप नहुँदा मध्यपूर्व होस् वा मलेसियामा कठिन शारीरिक श्रममा नै निर्भर रहनु परेको छ ।

चौथो, हाम्रो प्राथामिकता भनेको प्रविधि विकास हो । आज ६५ वर्षको योजनाबद्ध विकासको इतिहासलाई फर्केर हेर्दा बढो दुःखका साथ भन्नु पर्दछ कृषिप्रधान देशमा एउटा पनि मलखाद कम्पनी छैन। प्राङ्गारिक मल बनाउने सीप स्कूल, विद्यालय, र विश्वविद्यालयमा पढाइ हुँदैन । खेती प्रणाली, त्यसको मूल्य श्रृंखला, लघु उद्योग स्थापना, कच्चा पदार्थलाई बजारयोग्य वस्तुमा परिणत गर्ने तरिका सिकाउने विद्यालय, विश्वविद्यालय वा कलेज दलित जनजाती, मधेशी, मुस्लिम वा भनौं बाहुन क्षेत्री कसैको पहुँचमा छैनन् । देशका युवाहरु विदेशी प्रविधि आश्रित छन् भने राष्ट्रको सम्पत्ति लुट्न पल्केकाहरु सरकारी सम्पतिमा विदेशी प्रविधिको हाली मुहाली गरेका छन् । देशको उत्पादनशील ३५ प्रतिशत युवा शक्तिको हातमा कुनै सिप छैन । के बिना प्रविधि देश विकास संभव छ ? युवाहरुको हातमा सीप नहुँदा मध्यपूर्व होस् वा मलेसियामा कठिन शारीरिक श्रममा नै निर्भर रहनु परेको छ ।

पाँचौं प्राथामिकता भनेको सामाजिक र राजनीतिक क्षेत्र हो । समाजका राम्रा चालचलन, रितीरिवाजहरुलाई संस्थागतरुपमा परिचालन गर्न स्थानीयस्तरमा नै समावेशी सामाजिक सेवा समितिहरुद्वारा सामाजिक कार्य गर्ने प्रचलन, दाइजो प्रथा उन्मुलन, बोक्सी प्रथा उन्मुलन, छोराछोरी बराबर जस्ता सामाजिक अभियानहरु सञ्चालन गर्ने संयन्त्रहरुको निर्माणले सबैको आत्मसम्मानमा वृद्धि हुन गइ परमपरागत पेशा सम्मानित हुने वातावरण निर्माण हुन्छ भने एकअर्काप्रति मानसम्मानसहितको समावेशी समाजको निर्माण हुने आधारशिला तयार हुन्छ । त्यसैगरी राजनीतिमा निश्चित मापदण्डसहितको नेतृत्व, राजनीतिक मर्यादा निर्माण, राजनीतिको औचित्य र आवश्यकता सम्बन्धी नियमित जनजागरण कार्यक्रमहरु, देशका निमय कानूनहरुको बारेमा नियमित छलफल, कानूनी राज्य, दण्डहिनतको अन्त जस्ता कुराहरु फैलाउने स्थायी र नियमित संरचनाले योग्यताको सम्मान र योग्यता मुताविकको जिम्मेवारी भन्ने नयाँ सामाजिक र राजनीतिक संस्कारको विकास हुन जान्छ जसले गर्दा आर्थिक विकासको आधारशिला निर्माण हुन्छ ।

यी कुराहरु वास्तवमा नयाँ हैनन् तर विगतका सरकारका प्राथामिकता यी कुनै कुराले पनि स्थान पाएनन् । प्रभावकारी र पहुँचवाला नेता र उच्च पदस्थहरुले नै आफ्ना प्रभावका क्षेत्रमा भौतिक विकासका योजनाहरु राख्ने जोड गरे । कार्यान्वयन भन्दा पनि हिसाब मिलान गरेर काम तामेली गर्ने र तीनै व्यक्तिहरुलाई पुरस्कृत गर्ने परमपराले काम गर्नेहरुलाइ पनि निरुत्साहित बनायो र देश दुर्गती तर्फ धकेलीयो । धेरैका आशा र भरोसा भएको यो सरकारले दूर दराजका गरिव, हेपिएका, पछाडी पारीएका जनताको लागि शुलभ प्राविधीक शिक्षा उपलव्ध हुने आधारशिला तयार गर्ने साहस र हिम्मत देखायो भने प्राकृतिक श्रोत र साधनको समुचित सदुपयोग, स्थानीय स्तरमा पूँजी निर्माणको अवसर, प्रविधि विकासको आधारशिला र सामाजिक तथा राजनीतिक संस्कारसहितको समृद्ध एवम समावेशी समाज निर्माणतर्फ देश उन्मुख हुनेछ ।

(लामिछाने अकोराबका कार्यकारी निर्देशक हुन्)
Email : rc@acorab.org.np

The post यसरी सम्भव छ चामत्कारिक विकास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles