एकीकृत माओवादीका पूर्व उपाध्यक्ष तथा वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति सम्बन्धमा नेपाली राजनीतिक वृत्तमा व्यापक बहस चलिरहेको छ । बहस दुई ध्रुवमा बाँडिएको छ । एउटा ध्रुवले उनको र उनले नेतृत्व गरेको नयाँ शक्तिको कटु आलोचना गरिरहेको छ । आलोचक ध्रुवमा उनले त्याग गरेको पार्टी एकीकृत माओवादीका नेता तथा कार्यकर्ताहरु पर्दछन् । त्यसमा वैद्य नेतृत्वको माओवादी र चन्द नेतृत्वको माओवादीले साथ दिइरहेका छन् । समर्थक ध्रुवमा चाहीँ समकालिन विश्व राजनीतिसँग जोडिनुपर्छ भन्नेहरु देखिन्छन् । अझ अर्को तरिकाले भन्नु पर्दा खाँट्टी कम्युनिष्ट हुँ भन्नेहरु भन्दा समाजवादी धारमा शान्तिपूर्ण राजनीति गर्नेहरुको आकर्षण र समर्थन देखिन्छ ।
डा. भट्टराईले नेपाली राजनीतिमा नयाँ पार्टी निर्माण गर्न नयाँ तरिका अबलम्बन गरेका छन् । पार्टी निर्माणमा विगतको विरासतलाई उनले किन तोडे भन्ने कुरा चासोको विषय हो । ३० औँ वर्ष राजनीति गरेको पार्टी परित्याग गर्दा उक्त पार्टीप्रति कुनै गुनासो किन गरेनन् भन्ने कोणबाट हेर्नु आवश्यक छ । अझ उक्त पार्टीलाई धन्यवाद पो दिए । यो उनको पार्टी परित्याग गर्ने नयाँ तरिका हो । विगतमा पार्टी परित्याग गर्दा आरोप लगाउने गरिन्थ्यो । परित्यागसँगै ठूला–ठूला आमसभा र अड्ताल जस्ता कार्यक्रमहरु आयोजना हुने गर्थे । पार्टीका नेताहरुबीच भनाभन र कार्यकर्ताहरुमा कुटाकुट हुने गर्थ्यो । भट्टराईले त्यसलाई निरन्तरता दिएनन् । खुला र खाली दिमाग लिएर पार्टी छोडेको छु भने ।
पार्टी परित्यागसँगै पार्टी सम्पत्तिको स्वामित्व सम्बन्धी विवाद हुने गर्थ्यो । यो विवाद पनि देखिएन । आफैँले निर्माण गरेको पार्टीबाट रित्तो हात बाहिरिए । त्यही भएर होला उनका शुभचिन्तकहरुले बाबुरामले बाटो बिरायो भनेका होलान । उनले बाटो बिराएकै हुन त ? भनेर सोच्नु आवश्यक छ । उनी रित्तै बाहिरिएका हुन त ? भनेर पनि हेर्नु जरुरी छ । मलाई लाग्छ उनले बाटो बिराएका पनि होइनन् र खाली हात बाहिरिएका पनि होइनन् । बाटो यो मानेमा बिराएनन् की पुराना दलहरुबाट दिक्क भएका जनतालाई नयाँ स्वाद सहितको राजनीतिक शक्ति दिने योजनामा छन् । रित्तो हात लिएर यस मानेमा निस्केनन् की नयाँ शक्तिको बीज लिएर पार्टी परित्याग गरे ।
डा. भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा विचारको बहसलाई समृद्धि र सुशानको बहस जितेको देखिन्छ । माओवादी पार्टी निर्माण गर्दाको विचारको बहसको तुलना गर्दा यो बहस त्यस हदसम्म भएको पाईँदैन । यो उनको कमजोरी हो की नयाँ राजनीतिक दल निर्माण गर्ने नयाँ तरिका हो भनेर पनि ख्याल गर्नु जरुरी छ । नेपाली राजनीतिमा मुद्दाको बहसले स्थान लिन थालेको केही दशक भएको छ । मुद्दा जनताको दैनिक जीवनमा ठाडै र प्रत्यक्ष रुपमा जोडिने भएकाले मुद्दा आधिारीत राजनीति नेपाली राजनीतिक वृत्तमा हाबी भएको हुनु पर्छ । त्यसैको नक्कल गरेका त होइनन् भनेर पनि हेर्नुपर्छ । मौलिक विशिष्टताको गुञ्जायसको पनि खोजी गरिनु आवश्यक छ ।
नेपालका प्रमुख सबै दलहरुको निर्माण फरक–फरक आधारबाट भएको देखिन्छ । कांग्रेस राणाबिरोधी आन्दोलनबाट स्थापित भएको देखिन्छ । प्रजातान्त्रिक समाजवाद भन्दै खुला बजार अर्थतन्त्रलाई आत्मसाथ गर्यो र गरिरहेको छ । एमाले झापा आन्दोलन हुँदै साम्यवादी व्यवस्था निर्माण गर्ने भन्दै उदायो । आज उक्त पार्टी खुला राजनीतिको अभ्यास गरिरहेको छ । एकीकृत माओवादी पनि आज उही अभ्यास गरिरहेको छ । अन्य दलहरुको पनि हालत उस्तै छ । पार्टी दस्तावेजमा सबै पार्टी फरक देखिन्छन । व्यवहारमा सबै खुला राजनीतिमा समान अभ्यास गरिरहेका छन् । दलहरुको उत्पति र विकास फरक-फरक हुने तर अभ्यास एकै ठाउँमा उस्तै हुनु आजको वास्तविकता हो । भट्टराईले यो यथार्थलाई गहिरिएर ख्याल गरेको जस्तो देखिन्छ ।
नयाँ शक्तिको नाममा निर्माण गरिने नयाँ राजनीतिक दलको वैचारिक तथा दार्शनिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो भनेका छन् । यसलाई भन्दा समृद्धि र सुशासनलाई बढी देखाउन खोजेको देखिन्छ । अझ अर्को नयाँपन भनेको योजनाकार आफू बन्ने तर कर्ताको जिम्मा अर्कोलाई दिन खोजेको आभास हुन्छ । नयाँ पार्टी निर्माणसँगै निरन्तर प्रमुख कर्ता बन्ने विगतको विरासतलाई पनि भङ्ग गर्न खोजेको देखिन्छ । प्रमुख योजनाकार आफू र प्रमुख कर्ता अर्कोलाई बनाएर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने यो नयाँ अभ्यास हुनु पर्छ । नेपाली राजनीतिमा विगतमा यस प्रकारको अभ्यास भएको पाइँदैन । आफ्नो जीवनकालमा देश र जनताका लागि केही गर्न आगामि निर्वाचनमा प्रमुख शक्ति बनाउने भन्ने सोच देखिन्छ ।
४० वर्षको राजनीतिक अनुभव सङ्गालेका उनले निर्माण गर्ने राजनीतिक दलप्रति जनताले झिनो आशा राख्दा हुन्छ भन्ने मेरो बुझाइ छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार लगायतका समस्याले नेपाली जनता आहात छन् । उर्जावान युवाशक्ति विदेशमा दयनीय अवस्थामा श्रम बेचिरहेका छन् । आफ्नै देशभित्र केही गर्न खोज्नेको हालत खराब अवस्थामा छ । कतिपयले यो देश चिहानको देश हुने भयो भनेको सुनिन्छ । मेरो विचारमा त त्यो पनि सम्भव छैन् । विदेश जानेहरु सम्भव भएसम्म सम्बन्धित देशको नागरिक बन्न खोज्ने लहर चलेको छ । आफ्नो देशमा अवसर नहुँदा नेपालले युवाको उर्जाशील श्रम मात्र नभइ नागरिक नै गुमाउन परिरहेको छ । यो तितो वास्तविकतालाई सम्बोधन गर्ने राजनीतिक दलको निर्माण गर्ने उनको अभिष्ट देखिन्छ ।
सही विचार लिनु राम्रो कुरा हो, आवश्यक पनि हुन्छ । सही र सुन्दर कुराको अपेक्षा गरेर मात्रै त्यसको प्राप्ति सम्भव छैन । त्यसका लागि कर्ता प्रबृत्ति कस्तो छ वा हुन्छ भन्ने प्रमुख कुरा हो । नेपालका आजका राजनीतिक दलहरु सबैलाई नराम्रा छन् भनेर आरोपित गर्नु त्यति ठिक हुँदैन । सबै वा केही राम्रा छन् भनेर पनि भन्न सकिँदैन् । किनकी देश र जनताको बेहालत अवस्था छ । के भन्न सकिन्छ भने आ-आफ्नै गुण, दोष र कमजोरी भएका दलहरु छन् । किटान गरेर के भन्न सकिन्छ भने ति दलका पात्रहरुको तौर तरिका भने सबै ठिक छैनन् । नयाँ शक्तिमार्फत बन्ने नयाँ राजनीतिक दलको नियती पनि उस्तै हुन सक्ने हो की भनि आशंका गर्नु जरुरी छ ।
कर्ता ठिक नभए राम्रो विचार, दर्शन र मुद्दाको कुनै सार्थकता हुँदैन । डा. भट्टराईको नयाँ शक्ति अभियानले पात्र चयन कसरी गर्छ त्यसैमा हुनेवाला नयाँ राजनीतिक दलको दैनिकी सञ्चालन हुन्छ । नेपाली जनताले खोजेको अर्को टड्कारो विषय भनेको असल र विषयविज्ञ राजनीतिज्ञहरु हो । खराब राजनीतिकर्मीहरुलाई राम्रा र भिजनवालाहरुले विस्थापित गरुन भन्ने जनताको चाहना छ । योग्यता, क्षमता र दक्षता नभएकाहरुलाई योग्य, दक्ष र क्षमतावालाले विस्थापित गरुन भन्ने पनि छ । योग्य राजनीतिकर्मीहरुले देशको शासन व्यवस्था सञ्चालन गरुन भन्ने जनताको चाहना छ । यो विषयलाई नयाँ शक्तिका अभियान्ताहरुले ख्याल गरेको खण्डमा जनताले खोजेको राजनीतिक दलको जन्म हुन सक्छ । नत्र कल्पना यथार्थमा परिणत हुन सक्दैन ।
डा. बाबुराम भट्टराई र नयाँ शक्तिको बारेमा नेपाली राजनीतिक वृत्तमा चलेको बहसलाई आधार मान्ने हो भने मत विभाजन उत्कर्षमा छ । विरोध गर्नेहरुले चर्को ढङ्गले विरोध गरेको देखिन्छ भने समर्थन गर्नेहरुले पनि दह्रो ढङ्गले समर्थन गरेको पाइन्छ । विरोध गर्ने र बाटो बिरायो भन्नेहरुको सङ्ख्या नै बढी भएको जस्तो देखिन्छ । विरोध र समर्थन भनेको स्थायी हुँदैन विभिन्न परिस्थिति र कालखण्डमा फरक हुन सक्छ । यो त्यति प्रमुख कुरा होइन प्रमुख कुरा त कसरी अगाडि बढ्छ भन्ने नै हो । भाषण र आश्वासनका भरमा आजका जनताले पत्याउनेवाला छैनन् । नयाँ शक्ति हुँदै बन्ने नयाँ राजनीतिक दलप्रतिको दृष्टिकोण आजको दिनमा हाइपोथेसिस मात्रै हो । थेसिस कस्तो बन्छ भन्ने कुरा भोलीका दिनमा थाहा हुने कुरा हो ।
The post नयाँ शक्ति : हाइपोथेसिस की थेसिस ? appeared first on Sajha Post.