गठबन्धन संस्कारको सुरुवात
यो गठबन्धनबाट नेपालको राजनीतिमा गठबन्धन संस्कृतिको प्रारम्भ भएको छ । जस्तो भारतमा पनि धेरै पार्टीहरु छन् । कुनै पनि पार्टीको बहुमत आउँदैन । त्यहाँ युपिए र एनपिए भन्ने गठबन्धन १९९० को दशकदेखि यता चलिरहेको छ । अब नेपालमा पनि धेरैवटा पार्टीहरु भए र जुनखालको समानुपातिक प्रणाली अपनाइएको छ, त्यसले प्रादेशिक र केन्द्रीय संसदमा बहुमत नपुग्ने देखिएपछि प्रि–इलेक्सन गठबन्धनको रुपमा यो सहकार्य प्रारम्भ भएको छ । मलाई लाग्छ, यसको प्रतिक्रियास्वरुप कांग्रेस, फोरम लोकतान्त्रिक, राजपा, राप्रपा आदिको प्रजातान्त्रिक गठबन्धन पनि बन्न सक्छ । यसरी दुई गठबन्धनहरु चुनावमा जान सक्छन् ।
अलि विभाजित भएका राजनीतिक शक्तिमध्ये अलि प्रगतिशील शक्तिहरुको गठबन्धन पनि हो यो । यो बाहेक बाहिर राप्रपा रहन्छ, जुन कन्जरभेटिभ पोल भयो । कांग्रेस बाँकी रहन्छ, जुन बजार अर्थतन्त्र र उदारवादी पोल भयो । यसर्थ, अस्तित्वमा भएका ध्रुवहरुमध्ये हाम्रो गठबन्धन नै प्रगतिशील गठबन्धन हो । यसर्थ, प्रगतिशीलहरुले यही गठबन्धनलाई साथ दिन्छन् भन्ने हाम्रो विश्वास हो ।
गठबन्धनको गणित
संविधानमा व्यवस्था गरिएको थ्रेस होल्डको प्रावधानले पार्टीहरुको अस्तित्वलाई सहज बनाउँदैन । विगतको चुनावमा राप्रपाले २३/२४ सिट पुग्ने समानुपातिक मत ल्यायो तर, एउटा पनि सिट प्रत्यक्षमा जितेन । अहिलेको प्रावधान भएको भए त उसको २४ सिट पाउने भोट त खेर जाने रहेछ । यसर्थ, यो कानुनी अप्ठेरोले पनि पार्टीहरुलाई नयाँ ढंगले सोच्ने वातावरण बनायो ।
अन्तिम तर महत्वपूर्ण कुरा अर्को छ । त्यो भनेको हामीले नेपालमा नयाँ शक्ति चाहिन्छ र त्यो बन्ने विधि दुईवटा हुनसक्छन् भनेका थियौं । कि त जगैदेखि नयाँ भएर आउँछ । कि त पुरानै शक्तिहरुले आफूलाई रुपान्तरण गर्छन् भने नयाँ पार्टी नै बनाउनुपर्छ र अर्को १५–२० वर्ष मेहनत गर्नुपर्छ भन्ने पनि छैन । पुराना पार्टीहरुले यथास्थितिमा नयाँ शक्तिको आवश्यकता पूरा गर्न सक्दैनन् । उनीहरु नै रुपान्तरण हुन तयार भए भने पुरानो शक्तिको गर्भबाट पनि नयाँ शक्ति जन्मन सक्छ । त्यो प्रक्रिया झन छिटो हुन्छ । किनभने विकास, सुशासन, समृद्धि भनेको त सरकारमै गएर लागू गर्ने हो । नयाँ पार्टी बनाउने र त्यसैले यो लागू गर्ने भन्ने त हुँदैन । अहिले एमाले र माओवादीले नयाँ बन्ने प्रक्रियामा आफूलाई एक कदम अगाडि सारेको देखिन्छ ।
रातारात कसरी सम्भव भयो ?
हामीलाई यो कसरी रातारात सम्भव भयो भन्ने लाग्न सक्छ । तर, धेरै अगाडिदेखि यसको गृहकार्य हुँदै आएको थियो । तर, यसका अनेकौं कर्नरहरु थिए । विभिन्न जोडकोणहरु मिलिरहेका थिएनन् । यसरी नमिलेका कुराहरुलाई खासखास घटनाक्रमहरुले उद्वेलित गर्यो भन्ने लाग्छ । त्यो भनेको दुई नम्बर प्रदेशको निर्वाचन परिणाम पनि हो । दोस्रो कुरा, कांग्रेस–माओवादी गठबन्धनले निरन्तरता पायो भने वा एन्टी–एमाले गठबन्धन बन्यो भने एमाले सबैभन्दा ठूलो पार्टी भएर पनि लामो समयसम्म सत्तामा पुग्न सक्दैन । पाँच वर्षभरी नै प्रतिपक्षी भएर बस्नुपर्छ भन्ने एमालेलाई परेको हुनसक्छ ।
अझ महत्वपूर्ण कुरा के हो भने नेपालमा कम्युनिष्ट आन्दोलनमा लागेकाहरुबीच कम्युनिष्ट आन्दोलन र विचारबारे जुन बहस भइरहेको थियो र केही नयाँ तर्क र तथ्य आइरहेका थिए, नयाँ शक्तिको बहसपछि उनीहरुको मष्तिष्क हुडल्न थाल्यो । तर्कको हिसाबले उनीहरुले पुरानै अवस्थाको रक्षा गर्न सक्ने अवस्थामा थिएनन् तर ब्रान्ड छाड्ने अवस्थामा पनि थिएनन् । त्यसर्थ, यो एउटा उत्कर्षमा पुग्यो । संसारले र नेपालीले पनि नयाँ चिज खोजेको हो भने हामी मात्र किन पुरानै अवस्था अथवा यथास्थितिमा अल्झिइरहने ? एकपटक नयाँ बन्ने आँट गरौं भन्ने भावना पलाएको हुनसक्छ ।
वैकल्पिक राजनीतिको भविष्य
मलाई लाग्छ, यो गठबन्धनले दर्शनको दृष्टिले वैकल्पिक राजनीतिलाई मान्दैन । तर, एजेन्डा चाहिँ वैकल्पिक राजनीतिले उठाएकै बोकेको छ भन्ने मेरो बुझाई छ । दार्शनिक तहमा चाहिँ अझै बहसको आवश्यकता छ । त्यसो भए वैकल्पिक राजनीतिको एजेन्डा के हो भन्ने प्रश्न आउला । नेपालको नयाँ जनवादी क्रान्ति र बहुदलीय जनवादी क्रान्तिको जुन राजनीतिक भाष्य थियो, त्यो अब सिद्धियो । अब देशलाई विकास, सुशासन र समृद्धिमा लैजानुपर्छ । यसलाई आर्थिक क्रान्तिको रुपमा अगाडि बढाउनुपर्छ भन्ने नयाँ शक्तिको भाष्य हो । त्यो कुरा यो गठबन्धनले बोक्छ ।
दोस्रो कुरा, अब हामी समाजवादको पुरानो मोडेल जस्तै चिनियाँ मोडेल वा रुसी मोडेलमा जान सक्दैनौं । सर्वहारा अधिनायकत्वको युगमा हामी जान सक्दैनौं । त्यसैले नेपाली विशिष्टतामा समाजवादको एउटा नयाँ भाष्य निर्माण हुनुपर्छ भन्ने पनि हाम्रो बुझाई हो । यो एजेन्डा पनि यो गठबन्धनले बोक्छ भन्ने मलाई लाग्छ ।
तेस्रो, वैकल्पिक राजनीतिको एजेन्डा भनेका प्रत्यक्ष लोकतन्त्र हो राज्यमा पनि पार्टीभित्र पनि । राज्यमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको कुरा हामीले गरेका छौं । यो एजेन्डा पनि यो गठबन्धनले बोक्छ भन्ने हाम्रो ठम्याई छ ।
यसर्थ, यसलाई झट्ट हेर्दा र दर्शनका आधारले कम्युनिष्ट पोलजस्तो देखिए पनि एजेन्डाको हिसाबले यो वैकल्पिक ध्रुवतिर नै ढल्किएको छ । यसर्थ, वैकल्पिक राजनीतिको एजेन्डालाई अझ गहिरो बहसमा हामीले लिएर जानुपर्छ । यसले अझ बलियो वैकल्पिक ध्रुव बनाउन मद्दत गर्दछ ।
फेरि कम्युनिष्ट ?
मलाई लाग्छ, ब्रान्ड र रुपको हिसाबले यो गठबन्धनले कम्युनिष्ट शब्द प्रयोग गर्नुभएको छ । तर, अन्तरवस्तुका हिसाबले यो वैकल्पिक राजनीतिक एजेन्डातिर ढल्किएको छ । यो अन्तरविरोधलाई हामीले बुझ्नुपर्छ । जस्तो– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख कस्को एजेन्डा ? समानुपातिक संसद कसको एजेन्डा ? विकास, सुशासन र समृद्धि कसको एजेन्डा ? समाजवादको नयाँ ढाँचा अर्थात् समुन्नत समाजवाद भनेको कसको एजेन्डा ? यसैगरी सहभागितामुलक, समानुपातिक र समावेशी लोकतन्त्र कसको एजेन्डा हो ? कम्युनिष्ट एजेन्डा कि वैकल्पिक राजनीतिको ? यसरी हेर्दा एजेन्डाहरु वैकल्पिक राजनीतिको एजेन्डासँग प्रभावित छन् । तर, दार्शनिक र ब्रान्डको रुपमा उहाँहरुले कम्युनिज्म छाड्नुभएको छैन ।
फेर्ने कि फेरिने ?
नयाँको पुरानोतिर संक्रमण हुन्छ कि पुरानोको नयाँतिर ? अहिले नै ग्यारेन्टी दिएर भन्न सकिन्न । तर, चुनावसम्म गठबन्धन सँगै जान्छ । चुनावपछिको बहस ६ बुँदाले खुल्ला गरिदिएको छ । नयाँ पार्टी बनाउँदा कस्तो बनाउने ? वैचारिक बहस गर्न पाइनेछ भन्ने एउटा बुँदा राखिएको छ । यसर्थ, त्यतिबेला वैकल्पिक राजनीतिको मान्यतामाथि गहिरो बहस चलाउनुपर्छ । यसर्थ, त्यतिबेलाको शक्ति सन्तुलन, हाम्रो प्रभावकारी उपस्थितिसहित साथीहरुलाई सहमत गराउन सकियो भने त्यो वैकल्पिक शक्तिमा रुपान्तरण हुन पनि सक्छ । हामीले सकेनौं भने नजान पनि सक्छ ।
गठबन्धनमा नयाँ शक्तिको सहभागितालाई यसरी पनि बुझ्न सकिन्छ– नयाँ शक्ति उज्यालोको हिसाबले पहिला पनि शक्तिशाली नै थियो तर त्यो साँघुरो कोठाभित्र बालिएको थियो । यसर्थ, ठूलो लाइट बाले पनि सानो कोठामात्रै उज्यालो भयो । अब त्यही ठूलो लाइटलाई ठूलै कोठामा बाल्नुभयो भने ठूलो कोठाभरी नै उज्यालो पुग्छ । यसर्थ, प्रकाश उही हो तर सानो कोठाबाट ठूलो कोठामा आयो ।
प्रगतिशील शक्तिहरुले यसलाई सकरात्मकरुपमा लिनुपर्छ । चुनावसम्म हामीसँगै जानुपर्छ । गठबन्धनको भावनालाई सम्मान गरेर यो गठबन्धनलाई जिताउन अधिकतम् प्रयास पनि गर्नुपर्छ । पार्टी एकीकरणको सवालमा अहिले नै तरंगित हँदै नकरात्मक सोच राखेर प्रतिक्रिया दिन आवश्यक छैन । त्यतिबेलाको कोर्षलाई अगाडि कसरी लैजाने भन्नेबारेमा त्यतिबेला नै गहन र गम्भीर छलफल र बहस गरौंला ।
यो पनि पढ्नुहोस्
अब समृद्धि सुनिन्छ
The post ‘पुरानो शक्तिको गर्भबाट पनि नयाँ शक्ति जन्मन सक्छ’ appeared first on Sajha Post.