दसैंले सहर रित्तिएको बेला पनि असोजको तेस्रो मंगलबार काठमाडौंको सभागृह उत्साहित मानिसको भीडले नअटाउनेगरी भरियो । इतिहासमा आवश्यकता र आकस्मिकताको स्वप्निल सम्भोगलाई धेरै मानिसहरुले प्रत्यक्ष नियाले । युद्धको लागि आकस्मिक योजना हुनुपर्छ तर, शान्तिको लागि यस्तो हुँदैन भन्ने थिओडोर सोरेन्सेनलाई पनि चुनौती दिइयो । नयाँ शक्ति पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले निकट भविष्यमा नै समृद्धिको लक्ष्य हासिल गर्न एउटा शक्तिशाली समाजवादी केन्द्र बनाउने लक्ष्यसहित आगामी निर्वाचनमा तालमेल गर्ने उद्घोष गरे । शान्ति, स्थायित्व र समृद्धिका लागि यो आकस्मिकता दुनियाँलाई चक्मा दिने प्रकृतिको थियो ।
यो घोषणासँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् । खासगरी नेपालीहरु हरेक घटनाक्रमलाई कुनै अलौकिक शक्तिको योजनामा भएको ‘सुनियोजित घटना’ भनेर अथ्र्याउने गर्छौं । हाम्रो रणनीतिक अवस्थिति र राजनीतिक अस्थिरताले कमजोर बनेका हाम्रा नेतृत्व र बलिया छिमेकीको सक्रिय उपस्थितिले पनि यस्तो धारणा बनाउन सघाइरहेको छ । तर, यसको अर्थ यो होइन कि नेपालले स्वतन्त्ररुपमा केही गर्नै सक्दैन ! गरिहाल्यो भने पनि हामीले विश्वास गर्नै हुँदैन ! नेपालीको इच्छाले मात्र यहाँ केही हुँदैन ! समाज फेर्न समय मात्र फेरिएर हुँदैन, त्यहाँका नागरिक पनि फेरिनुपर्छ भन्ने यो दरिलो उदाहरण हो । अन्ततः हामीले हाम्रै शक्तिलाई विश्वास गर्नुपर्छ । कम्तिमा विश्वास गर्न थाल्नुपर्छ । ‘हामी केही गर्न सक्दैनौं’ र ‘हाम्राले गरेकै होइनन्, हाम्रो लागि भएकै होइन’ भनेर बुझ्ने मानिसकतालाई षड्यन्त्रको सिद्धान्तले शासन गरिरहेको हुन्छ । यो सिद्धान्तभन्दा बाहिरबाट संसारै नदेख्ने अतिबाट अब हामी मुक्त हुनैपर्दछ ।
व्यवस्था परिवर्तन र सिन्डिकेटको सञ्जाल
देशको यावत अंग र आयामहरुमा जस्तै राजनीतिमा पनि सिन्डिकेट छ । त्यो पनि टोल-टोलदेखि घर-घरसम्म । यहाँ नागरिक भेटिन मुस्किल छ । प्रायः सबै कार्यकर्ता । दलहरुको आदेशपालक कार्यकर्ता, जसले आफ्नो मष्तिष्कको प्रयोग गर्ने अधिकार बन्दक बनाएका छन् । दलको थाक्रो चढ्न मान्नु भएन भने तपाईं माथि उक्लनै सक्नुहुन्न । तपाईं सुनिन दलको मान्छे भएर बोल्नुपर्छ । नत्र भने जति चिच्याएर सत्य बोल्नुस्, त्यो सुनिँदैन । दलमा लाग्नुस्, झुट नै बोल्नुस् तर त्यो राम्ररी सुनिन्छ ।
यो अस्वभाविक पनि होइन । हामीले व्यवस्था परिवर्तनको लागि जति लामो समय बितायौं, त्यहाँ सबै संगठित हुनुपर्ने थियो । जेलनेल जानुपर्ने थियो । जीवनकै बलिदान दिनुपर्ने अवस्था थियो । जति धेरै दल, त्यति धेरै मानिस संगठित । जति धेरै भातृ संगठन, त्यति धेरै मानिस संगठित । जतिधेरै कार्यकर्ता, त्यति छिटो र सहज आन्दोलनको सफलता । यसले वडा, टोलदेखि घरघरसम्म राजनीतिक दलहरुको सञ्जालीकरण भयो ।
तर, अब समय फेरियो । केही असन्तुष्टिका बावजुद पनि हामीले राजनीतिक व्यवस्था परिवर्तनको लडाईं जितिसकेका छौं । जनताको प्रतिनिधिले संघीय गणतन्त्र नेपालको संविधान बनाइसकेका छन् । अधिकारसहित स्थानीय सरकारको अभ्यास शहरदेखि छिट्टै गाउँसम्म हुँदैछ । यसलाई ‘गाउँघरमा सिंहदरबार’ पनि भनिएको छ । संविधानमा समानुपातिक, समावेशी र सहभागितामुलक प्रतिनिधित्वमार्फत नेपालको विविधता र असमानतालाई सम्बोधन गरिएको छ । रोजगारी, राजनीति, छात्रवृत्तिलगायत सबै क्षेत्रमा अवसरको लागि एकजना ब्राम्हण पुरुषसँग ५५ प्रतिशत अधिकार हुँदा अन्यसँग १०० प्रतिशत अधिकार सुरक्षित छ । यसले बिस्तारै समानहरुबीचको समान प्रतिष्पर्धाको वातावरण पनि बनाएको छ । जातिय, क्षेत्रीय, लिंगीयलगायतका अधिकार सुनिश्चित गरिएका छन् । यसर्थ, राजनीतिक सिन्डिकेटलाई व्यवस्था परिवर्तनको ‘बायो–प्रोडक्ट’ भन्ने कि ?
सरसर्ती अहिलेको समाज पढौं । एकजना पहिचानवादीको आदि पनि पहिचानवाद र अन्त्य पनि पहिचानवाद नै हो । यस्तो पहिचानवाद, जसले आफ्नो पहिचानको अस्तित्वको लागि अर्काको पहिचानको निषेध खोजिरहेको हुन्छ । स्वीकारे पनि नस्वीकारे पनि । तामाङ नेता भएको पार्टी, सबै तामाङ मात्रै नेता र कार्यकर्ता । जनजातिको पार्टी सबै जनजाति मात्रै नेता र कार्यकर्ता । बाहुनको त्यस्तै । यादव नेता छ, उसले ड्राइभर पनि यादव नै राख्छ ।
यहाँ कोही माओवादी भएरै जन्मन चाहन्छन् र माओवादी भएरै मर्न चाहन्छन् । कम्युनिष्ट बन्ने भन्दा भन्नेहरुको भीड छ । जीवनशैली हेर्दा लाज लाग्छ, तर कम्युनिष्टको तक्मा थपिरहन मन पराउँछ । यी सबै कुरा मानवताको सेवा गर्ने र समानता प्राप्ति गर्ने भन्दा धर्मको रुपमा धारण गरिएको छ । त्यो पनि कट्टरपन्थीभन्दा बढी जब्बर । हामी यति साँघुरा बनाइए छौं कि आफ्नो कुवाभन्दा बाहिरको संसार स्वीकार गर्नै नसक्ने । आफू अग्लिन अरुलाई होच्याउनै पर्ने । अझ यसो भनौं, अरुको मृत्यूमा आफ्नो जीवन देख्ने । सबै मिलेर बस्न र बाँच्न पनि सकिन्न र ?
अवश्य सकिन्छ । व्यवस्था फेर्ने लडाईंमा लाग्दा बनेका मर्यादाका भौतिक/अभौतिक पर्खालहरु तोड्नुपर्छ । वादले साँघुर्याएका मनको दैलो उघार्नुपर्छ । आ–आफ्ना सानातिना ताउलो बसालेर सबैको भोक मेट्न सकिन्न । यो यथार्थ हामीले पढेर होइन, गरेर/भोगेर नै बुझिसक्यौं । त्यसो भए विकल्प के हो त ? हामीलाई थाहै छ, सहकार्यले जोड्छ । संकिर्णताले तोड्छ । यसर्थ, ‘समृद्धिका लागि सहकार्य’ आवश्यक छ ।
कम्युनिष्ट केन्द्र कि समाजवादी केन्द्र ?
तीन दलको यो घोषणासँगै ती दलहरुभित्रका कट्टरपन्थी कार्यकर्ता झस्किएका छन् । कोही इमान्दारिताका कारण झस्किएका छन् कोही व्यक्तिगत स्वार्थले । ‘सानो पार्टी ठूलो भाग’को आदर्शबाट प्रेरित स्वार्थीहरुको झस्काई सबैले बुझेकै कुरा हो । तर, इमान्दारितापूर्ण झस्काई झण्डा र आस्थासँग जोडिएको छ । इतिहास र विरासतसँग जोडिएको छ । कट्टरपन्थी प्रवृत्तिले ‘भाँडमा जाओस् भविष्य’ भन्दै गन्हाउने वर्तमानमा इतिहासका सीमित पवित्रताको आदर्शलाई शिरानी हालेर सुत्न खोज्छ । यस्तो जमातमा झण्डाप्रतिको लगाव यतिधेरै हुन्छ कि उनीहरु कार्यकर्ताबाट कट्टरपन्थी कार्यकर्तामा फेरिएका हुन्छन्, जसलाई धर्मान्धतासँग तुलना गर्न सकिन्छ । बिग्रिएको व्यवहारलाई सिद्धान्तको जलपले सिगार्ने नक्कली अभ्यासबाट जनता मात्र होइन, नेता पनि वाक्क–दिक्क भइसके । यसर्थ, विकल्प खोज्ने हुटहुटीले नै नयाँ बाटो हिँड्न उप्रेरित गराएको हो ।
सबैलाई थाहा भएकै कुरा हो, संसारमा त्यस्तो धर्म मात्रै टिकेको छ जसले समयानुकूल परिवर्तनलाई ग्रहण गर्न सकेको छ । यसो हुँदाहुँदै पनि हरेक धर्ममा यस्ता कट्टरपन्थीहरु जन्मिने रहेछन् कि उनीहरु बुद्धकै मूर्ति पूजा गरिरहेका हुन्छन् । धर्मको युगीन अभिभारा र अन्तर्य बिर्सिएको धर्मान्धता नै उक्त धर्मको विनाशको कारक बन्न सक्छ भन्ने यथार्थ उनीहरुले कि बिर्सिएका छन् कि बिर्सिएजस्तो गरिरहेका छन् ।
राजनीति र सिद्धान्तका कुरा गरौं । बरमझियाको बजारमा ‘बाजेको पेडा’को ब्रान्डलाई ‘असली बाजेको असली पेडा’ देखि अनेक विशेषण झुन्ड्याइएको भेटिन्छ । नेपालको राजनीतिक बजारमा पनि यस्तै छ । बिपीको समाजवाद भजाउनेहरुको मकुन्डो च्यात्यो भने नवउदारवाद नांगै देखिन्छ । जबजका अनुयायीहरु शिक्षा र स्वास्थ्यको नांगो व्यापार गरिरहेका छन् । माओवादी क्रान्तिकारीहरुको स्खलन पनि क्रान्तिकारी नै रह्यो । देख्न भोग्न धेरै कुर्नु परेन । यहाँ नेता कार्यकर्ताहरु पार्टी फेरिरहन्छन् । फरक पार्टीको फरक कार्यकर्ता छुट्याउनै मुस्किल छ । कम्युनिष्टको प्रमाणपत्र बाँड्ने र खोस्ने उदेकलाग्दो प्रहसन निशुल्क हेर्न पाइरहेकै छौं । पसलको नाम फरक राखिएका छन् तर एउटै सामानको बिक्री भइरहेको छ ।
तैपनि केही कार्यकर्ताहरु झन्डाकै कुरा गर्छन् । राजनीतिक विसुद्धताकै कुरा गर्छन् । झण्डाले आदर्शको पवित्रता मात्रै बोकिरहेको हुँदैन, अभ्यासक्रमको नकरात्मकता पनि बोकिरहेको हुन्छ । सफल भएको समाजवाद मात्रै होइन, विफल हुँदै निर्मम निरंकुशतामा पतन भएको समाजवादको पनि प्रतिनिधित्व गर्दछ । अब झण्डालाई परिवर्तनको साधक बनाउने कि बाधक ? यो बहसबाट नेताहरु मुक्त भइसके र उनीहरुले यो निर्णय गर्न सफल भए । तर, आस्थालाई विश्वासमा बदल्दै धर्मभिरु बनेका कार्यकर्ताहरुमा अझै यो समस्या देखिन्छ । लाग्छ, उनीहरु परिवर्तन कै विरोध गरेर परिवर्तन चाहन्छन् ।
अब कुरा आउँछ तीन वा त्यो भन्दा बढी पार्टी मिलेर कम्युनिष्ट केन्द्र बनाउने कि समाजवादी केन्द्र ? समृद्धिको लागि सहकार्य आवश्यक छ । यसको लागि घेरा सकेसम्म फराकिलो बनाउनुपर्छ । एमाले जबजको कुरा गर्छ, माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद ।
नयाँ शक्तिले पाँच ‘स’को व्याख्या गरेको छ । यो भनेको स्वाधीनता, समतामुलक समृद्धि, समावेशी/समानुपातिक/सहभागितामुलक लोकतन्त्र, सुशासन र सदाचार र समुन्नत समाजवाद हो । यहाँ अहिलेसम्मका राजनीतिक, सामाजिक र आर्थिक आन्दोलनको सफलता र असफलताबाट सिक्ने प्रयास गरिएका छन् । यसले द्वन्द्वात्मक भौतिकवादलाई विज्ञान र प्रविधिको पछिल्ला आविस्कारसँगै अद्यावधिक गरेर हिँडाउनु पर्छ भनेको छ । यसले समाजवादी आन्दोलनका सफलता असफलताबाट सिक्दै सम्मुनत समाजवादसम्म पुग्नुपर्छ भनेको छ । १९३० को आर्थिक मन्दीपछि पुँजीवादी विश्वले कसरी समाजवादका कल्याणकारी चरित्र ग्रहण गर्यो र विकसित राष्ट्रहरुले प्रगतिशील करमार्फत सामाजिक सुरक्षालाई प्रोत्साहन गरिरहेका छन् ? यसको उत्तर खोज्ने प्रयास गरिरहेको छ । यो केवल छलफलको लागि हो । सबैले यो महान बहसमा भाग लिएर यसलाई समृद्ध बनाउँदै अगाडि बढ्नुपर्छ ।
विगतको अन्तर्राष्ट्रिय अभ्यास र नेपाली मौलिक अभ्यास हेर्दा कम्युनिष्ट भन्ने शब्द यसरी ब्रान्डिङ भयो/गरियो कि संसारका दिमाग सफा नगरी यसले विश्वलाई जोड्न मुस्किल छ । सत्य सापेक्ष हुन्छ । राजनीति अन्तरिक्षमा गएर गर्ने होइन । यही पृथ्वीका मान्छेहरुका लागि उनीहरुकै बीचमा राजनीति गर्ने हो भने शब्दले बोक्ने अर्थ र अभ्यासले बनाएको प्रभावलाई नजरअन्दाज गर्न मिल्दैन । यसरी हेर्दा, समतामुलक समृद्धिमार्फत समुन्नत समाजवादमा पुग्न सम्भवतः समाजवादी केन्द्र नै बहुसंख्यकलाई जोड्ने साझा चौतारी बन्न सक्छ कि ?
नेता भनेको अग्रचेतना हो । बाटो देखाउने । ऊ दूरदर्शी हुनुपर्छ ताकि सही भविष्यवाणी गर्न सकोस् । हाम्रो नेताहरु भीडद्वारा निर्देशित छन् र उनीहरु कुरा बुझे पनि ताली नबज्ने कुरा बोल्नै जान्दैनन् । नेताहरुले जुत्ता खाएर पनि सत्य बोल्ने हिम्मत गर्नुपर्छ । अहिले उनीहरुले यो हिम्मत गरेका छन् । जुन बाबुरामले धेरै अघि नै हिम्मत गरिसकेका थिए । विस्तारै नेताहरुले समाजवादी केन्द्र बनाउने दिशामा कार्यकर्तालाई कुरा बुझाउने विश्वास गर्न सकिन्छ ।
सुरुमा संविधानसभा स्वीकारिएन । पछि स्वीकारियो । गणतन्त्र स्वीकारिएन । पछि स्वीकारियो । समृद्धिका लागि सहकार्य पनि यसै गरी स्वीकारिनेछ र केही समय अगाडि कोरिएको गोरेटोमा जसरी यी नेताहरु हिंड्न तयार भए, विश्वास गरौं यही बाटोमा सिंगो मुलुक हिंड्ने छ र यही नै मुलबाटो बन्नेछ ।
विकल्प ब्युँझाउने वैकल्पिक बाटो
घोषणा गरिएअनुसार कुनै दिन नयाँ पार्टी बन्यो भने त्यो पुरानो एमाले हुने छैन, पुरानो माओवादी हुनेछैन र विशुद्ध नयाँ शक्ति पार्टी पनि हुनेछैन । त्यो अर्को कुनै नयाँ पार्टी हुनेछ जसले नयाँ पुस्ताको चाहना र आवश्यकताको सम्बोधन मात्र गर्नेछैन, अपितु विगतबाट सिक्दै इतिहासको जिम्मा पनि लिनेछ र भविष्यको बाटो पनि देखाउनेछ ।
त्यसो त, विशुद्ध वैकल्पिक शक्ति वा जगैदेखि वैकल्पिक शक्ति भन्ने समूह पनि अझै हुनुहुन्छ । तर, नेता भनेको आयात निर्यात गर्ने विषय होइन रहेछ । यो कुरा वैकल्पिक राजनीतिक अभियानको दुई वर्षमा राम्रैसँग सिकिएको छ ।
साझा पार्टी र विवेकशील पार्टीको एकता घोषणा कार्यक्रममा रविन्द्र मिश्रलाई एक पत्रकारले सोधे– अब बाबुरामसँगको एकता के हुन्छ ?
मिश्रले हाँसोमा उडाउँदै भने, ‘के भन्नु भयो ? बाबुरामसँग एकता ?’
उनले एक अर्को अन्तरर्वार्तामा ‘बाबुरामसँग एकता नभएर जोगिएछौं ।’ यहाँनेर, राजनीतिभन्दा बाहिरबाट आएका मानिसहरुमा पनि चानचुने जडता र घमण्ड छैन भन्ने कुरा उनको व्यवहारले पुष्टि गरेको थियो । हामीले भुल्नु हुँदैन, यसरी शिर्ष नेताहरुलाई होच्याउन मिल्नेगरी ल्याइएको लोकतन्त्रका लागि यिनै नेताहरुले जेलनेल र जीवनको ऊर्जाशील समय खर्चिएका छन् ।
सभागृहको एकतालक्षित कार्यक्रममा कुनै पनि नेताहरुमा त्यस्तो घमण्ड देखिएन । उनीहरुलाई समयले सिकाएको गुण हो । म शंका गर्दिनँ समयको सिकाउने क्षमताप्रति । अहिले नयाँ शक्तिले विकल्प ब्युँझाउने नयाँ बाटो लिएको छ । यो अभियानमा राजनीति बाहिरका प्रतिभाहरुलाई पनि मौका दिन सक्नुपर्छ । किनकी अहिलेको विश्वले नै विकल्प खोजिरहेको छ । कहिले त्यो दक्षिणपन्थी विकल्प बनेको छ कहिले प्रगतिशील । विकल्प मेरो मात्र होइन, नयाँ पुस्ताको चाहना हो । यसलाई ढोका बन्द गर्नु हुँदैन । अहिलेको युगले नै विकल्प खोजिरहेछ, विश्वले नै विकल्प खोजिरहेको छ । अझ यसो भनौं, विकल्प आजको वैश्विक चेतना हो । यसैमा मैले नयाँ र भावी पुस्ताको उज्ज्वल भविष्य देखेको छु । तर दक्षिणपन्थीभन्दा प्रगतिशील विकल्प नै मानवताको स्वास्थ्यका लागि फाइदाजनक छ ।
समृद्धि अब सुनिन्छ
हामीलाई थाहा छ, डा. बाबुराम भट्टराईले चिच्याइचिच्याई भने, ‘भूगोल एकीकरणको चरण र राजनीतिक व्यवस्था स्थापनाको चरण सकियो । अब भौतिक सभ्यता निर्माणमा लागौं । अब समृद्धिलाई अर्जुनदृष्टि बनाऔं ।’ अहँ पटक्कै सुनिएन । कतिपयले खिस्युटिरीको हाँसो हाँसे । उनले भने, ‘यो समाजको रणनीतिक परिवर्तन (प्याराडाइम सिफ्ट)को समय हो । यसलाई बुझौं । अब सडकमा फलानो व्यवस्था ल्याउँछु भनेर झन्डा बोकेर निस्कने अवस्था छैन । अब त समृद्धिका लागि सहकार्य गरिनु आवश्यक छ । वाद र विचारका साँघुरा पर्खालहरु भत्काऔं । व्यवस्था परिवर्तनको औजारले अवस्था परिवर्तन गर्न सकिन्न । औजार फेरौं ।’ अहँ उनी अझै सुनिएनन् । तर सत्य सुनिनै पर्छ । सत्य ढिलो चाँडो सुनिन्छ ।
यहाँ अर्थर सोफेन्हावरलाई सम्झन मन लाग्छ । उनी भन्छन्, ‘सबै सत्यहरु तीन चरणबाट गुज्रन्छन् । सबैभन्दा पहिला यसको उपहास हुन्छ । दोस्रो, यसको हिंसात्मक विरोध गरिन्छ । तेस्रो, यसलाई स्वयम्सिद्ध तथ्यको रुपमा स्वीकार गरिन्छ ।’ त्यतिबेला तपाईंलाई झुट पनि सुन्न मन पर्छ जतिबेला तपाईंलाई सत्य पनि थाहा छ । बितेको दुई/तीन वर्ष यसरी नै बिते ।
मंगलबार साँझ जब प्रचण्डले आफ्नो प्रभावकारी शैलीमा र ओलीले उखानटुक्कासहित समृद्धिको व्याख्या गरिरहेका थिए, मञ्चमा बाबुराम मुस्कुराई रहेका थिए । क्रान्तिकारिता र राष्ट्रवाद सुनाउन र सुन्न बानी परेकाहरुले समृद्धिको कुरा गर्दा कस्तो गब्बज सुनिनेरहेछ, यो पंक्तिकार पनि सुनिरहेको थियो ।
सबैले महसुस गर्नैपर्छ, अहिलेको विश्वमा योग्य सामान उत्पादन गरेर मात्र हुँदैन, त्यसको बजारीकरण गर्ने क्षमता पनि हुनुपर्छ । ‘बोल्नेको पिठो बिक्छ, नबोल्ने चामल पनि बिक्दैन’ भन्ने उखान राजनीतिक बजारमा दलीय सिन्डिकेटका कारण फेर्नुपर्ने अवस्था छ । अब भन्न सकिन्छ, ‘कार्यकर्ता हुनेको पिठो पनि बिक्छ, कार्यकर्ता नहुनेको चामल पनि बिक्दैन ।’ यो अवस्थामा केही क्रमभंग गर्नै पर्ने थियो । हो, अब समृद्धिको सपना बिक्छ । यो सुनिन्छ । गज्जबले सुनिन्छ ।
पुरानो शक्तिमा वैकल्पिक राजनीतिको संक्रमण
एकजना अधिवक्ता भेटेको थिएँ । चिया गफमा उनले भने, ‘अबको लाइन समृद्धि नै हो । यसको लागि दलहरु विगतको वादको साँघुरो पर्खालबाट बाहिर निस्कनुपर्छ । यो भनेको विकल्प खोज्ने बेला हो । तर, नेपालमा राजनीतिक सिन्डिकेट यस्तो छ कि मैले मेरो दल छाडेँ भने मेरो हातमुख नै बन्द हुने अवस्था छ । म सोच्नै सक्दिन । मेरो मन एकातिर छ, शरीर एकातिर ।’ अब यस्ता समस्या भएका लाखौं नेपालीका समस्या समाधान भएको छ । उनीहरुले समृद्धिको कुरा सुन्न सक्छन् । समृद्धिको सपना देख्न सक्छन् । तदनुरुप जीवनशैली फेर्न सक्छन् । मानिसभित्रको विरता जगाउने होइन, उद्यमशीलता जगाउने राजनीति अब फैलँदैछ ।
नागरिक हराएको कार्यकर्ताको देशमा जगैदेखि नयाँ वैकल्पिक पार्टी बनाउने काम कष्टसाध्य र लम्बे अभियान रहेछ । नेपालीसँग समृद्धिका लागि पर्खने त्यति लामो समय छैन । किनकी हामी विश्वबाट धेरै पछाडि छुटिसकेका छौं । हामीले हाम्रा छिमेकीलाई उछिन्नु छ हाम्रो रणनीतिक अवस्था र प्राकृतिक स्रोतको उपलब्धताको फाइदा उठाएर । यसको लागि राजनीतिक स्थिरता तत्काल आवश्यक छ । १० वर्षमा ११ प्रधानमन्त्री फेरिने लोकतन्त्रसँग नागरिक अघाइरहेका छन् ।
यसर्थ, यी सबै कुराको लागि सजिलो बाटो हो, पुराना दलहरुमा वैकल्पिक राजनीतिको संक्रमण । यस्तो संक्रमण जसले रातारात मानिसहरुलाई फेर्न सकोस् । अब एमाले र माओवादीभित्र शक्तिशाली लोकपाल स्थापनाको नारा लागे अनौठो नमाने हुन्छ । राइट टु रिजेक्ट, राइट टु रिकल, पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने पार्टी अध्यक्ष लगायतको नारा लाग्न थाल्यो भने अनौठो नमाने हुन्छ । समानुपातिक संसद र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको नारा लाग्यो भने अनौठो नमाने हुन्छ । पारदर्शिता र सुशासनको नारा लाग्यो भने अनौठो नमाने हुन्छ ।
हो, खतरा छ । सुंगुरको खोर सफा गर्न गएकाहरु नै सुंगुर बनेर निस्कन पनि सक्छन् । वैकल्पिक राजनीतिक अभियन्ताकै विचार र हैसियत रहेनछ भने नयाँको पुरानोमा पनि संक्रमण हुनसक्छ । तर, खतरा नउठाइ संसार फेर्ने सपना देख्नुको कुनै तुक छैन । एमालेको व्यवस्थित र बलियो संगठनात्मक संरचना, माओवादीको प्रगतिशीलता र नयाँ शक्तिको समृद्धिको भिजनको त्रिवेणी इतिहासको आवश्यकता र आकस्मिकताले जन्माइदिएको छ । नकरात्मकता त तपाईं भित्र पनि छ, म भित्र पनि छ । त्यसको सहाराले अगाडि बढ्न सकिन्न । आउनुहोस्, सबैको गुणहरुको समष्टिबाट प्रज्ज्वलित उज्यालोमा अवगुणको अँध्यारो लखेटौं ।
The post अब सुनिन्छ समृद्धि appeared first on Sajha Post.