हिजो दलमाथि राजनीतिक प्रतिबन्ध थियो । दलले स्वतन्त्रपूर्वक आफ्ना विचारहरु अभिव्यक्त गर्न सक्दैनथे । यसर्थ, हिजोका दिनमा राजनीतिक परिवर्तनका लागि शिक्षक, विद्यार्थी, अविभावक र विभिन्न किसिमका पेशाकर्मीहरुले योगदान दिनु अत्यन्त जरुरी थियो । तर, अब दलमाथि प्रतिबन्ध खुला भइसकेको छ । अब राजनीतिक आन्दोलन लड्ने दिनहरु गइसके । अब पनि विभिन्न किसिमका पेशाकर्मीहरु यी राजनीतिक दलकै भातृ संगठनको रुपमा रहिराख्नु मैले आवश्यक देख्दिनँ ।
शिक्षक, कर्मचारी, पत्रकार र अन्य पेशाकर्मीहरु राजनीतिक दलको भातृ संगठनहरुमा बस्दा दलहरुमाथि अंकुश कसले लगाउने ? प्रश्न कसले गर्ने ? कसै न कसैले दलहरुलाई प्रश्न त गर्नुपर्यो । नागरिक त अब सार्वभौम भइसके । नागरिकले अब दललाई अंकुश लगाउनुपर्छ । दलको गुण र दोषका आधारमा नागरिकले आफ्नो अभिमत जायर गर्नुपर्छ । अझै पनि समाज विभाजित छ र भातृ संगठनको रुपमा कुनै न कुनै दलको छातामुनि रहिरहेको छ । त्यहाँ बस्नुपर्ने बाध्यात्मक स्थिति पार्टीहरुले सिर्जना गरेका छन् । नागरिक सार्वभौम भइसकेको र दलहरुले स्वतन्त्ररुपमा विचार अभिव्यक्त गर्न पाउने र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था छ र यसमा कहिँकतैबाट बाधा व्यवधान छैन ।
नागरिक होइन दलको आदेशपालक मात्र
अब जनताले आफ्नो जनजीविका र आर्थिक उपलब्धिका लागि राजनीतिक परिवर्तनबाट यी कुराहरु पायौं भनेर उपलब्धि संस्थागत गर्नुपर्छ । दलहरुको पछि लागि राख्ने हो भने यो उपलब्धि ढिलो प्राप्त हुन्छ र ढिलो संस्थागत गर्न सकिन्छ । यसर्थ, अब नागरिक राजनीतिक दलको भातृ संगठनहरुमा भन्दा नागरिकको रुपमा आफ्नो अधिकारका लागि संगठित हुनुपर्छ । स्वतन्त्र नागरिकको रुपमा विवेकको प्रयोग गर्दै निर्णय गर्नुपर्छ । भातृ संगठनमा बस्दा दलहरुको आदेशपालक भइन्छ । स्वतन्त्र नागरिक आदेशपालक होइन, अनुशासित हुन्छन् अथवा आफ्नो मष्तिष्कको प्रयोग गर्न सक्छन् । यसो गर्दा, दलहरुलाई जहिलेसुकै खबरदारी गर्न सक्छन् ।तपाईंहरुले नागरिकको लागि देशको लागि के गर्नुभयो ? विकास र समृद्धिको अवस्था के छ ? जस्ता प्रश्नहरु गर्ने र स्वतन्त्र नागरिकै रुपमा संगठितरुपमा आवाज बुलन्द गर्न नसक्ने हो भने देशको विकास हुन सक्दैन ।
त्यसो त, नेपालका राजनीतिक परिवर्तनपछि जनताले अभिव्यक्त गरेको जनमत हेर्दा उनीहरु सचेत देखिन्छन् । तर पनि नागरिक नागरिकको रुपमा संगठित छैन । ऊ कुनै पनि दलको भातृ संगठनको सदस्यको रुपमा संगठित भएको नागरिकले आफ्नो अधिकारको लागि आवाज उठाउन सकेनन् । नागरिकको आवाज कमजोर भयो । सबै दलका कार्यकर्ता र भातृ संगठनका सदस्य छन् । अनि नागरिक कहाँ खोज्ने ? दलका कार्यकर्ताहरुले दलकै आदेश मान्ने भए नि । सार्वभौम नागरिकले आफूसँग भएको सार्वभौमसत्ता महसुस गर्नुपर्यो र दलहरुलाई खबरदारी गर्नुपर्यो । तिमीहरुको गुण र दोषको आधारमा मात्रै हामी मतदान गर्छौं । हाम्रो भन्दा राम्रो नेतृत्व चयन गर्दछौं । यसो गर्यो भने मात्र दलहरु सच्चिन्छन् र सच्चिनैपर्दछ ।
दलको भरिया होइन, नागरिक बनौं
दलहरुले हिजोदेखि भारी बोकाइरहने प्रवृत्ति हुर्काए । आफ्नो भारी अरुले बोकिदिन्छ भने त कसले बोकाउँदैन र ? यसर्थ, दलहरुले आफ्नो स्वार्थका लागि विभिन्न किसिमका भातृ संगठनहरु बनाएका छन् । यो क्रममा केही व्यक्तिहरुलाई प्रलोभन पनि देखाएका छन् । यसो गर्दा सीमित मानिसहरुको प्रगति पनि भएको छ । तर, समाजको सामूहित हित चाहिँ अब यसबाट सम्भव छैन । मुलुक भनेको त भिजन र नीतिले सञ्चालन हुनुपर्ने हो । जनताले देशको हितका लागि उपयुक्त नीतिहरु लिएर आउ भनेर दलहरुलाई निर्देश गर्नुपर्छ । यसले नागरिक भर्सेस राजनीतिक दलको अवस्था सिर्जना हुन्छ, जसले भ्रष्टाचार रोक्दै सुशासनको सुनिश्चितता गर्दछ र राम्रा र योग्यले अवसर पाउने अवस्था हुन्छ ।
अहिले त देश नागरिकविहिन भयो । कार्यकर्ताहरुको देश भयो । नागरिक त कुनै न कुनै दलको कुनै न कुनै भातृ संगठनको एउटा सदस्य भएका छन् । ऊ पार्टीकै निर्देशनअनुसार चलिरहेको छ । म नागरिकको हकहितको लागि संगठित हुनुपर्छ र दलले गरेका खराब क्रियाकलापहरु प्नि मैले औंल्याउनुपर्छ भन्ने सोचमा जनता पुगेका छैनन् ।
असल सरकारका लागि असल जनता
मुलुक चलाउने राजनीतिले नै हो र राजनीतिलाई सच्याउने काम नागरिकले गर्ने हो । असल सरकारको लागि असल जनता चाहिन्छ । कुनै दल अनुकूल अथवा समूह अनुकूलभन्दा समग्र राज्यको हितअनुकूल नीतिका लागि त नागरिक समाज बलियो हुनुपर्छ । नागरिक सचेत भए र दलहरुलाई खबरदारी गर्न सक्ने भए भने राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरु नागरिक तहसम्म पुग्न सक्छ । तर, नागरिक हिजो राजनीतिक व्यवस्था परिवर्तनको बेलामा जस्तै जनवर्गीय संगठनका सदस्यहरु अर्थात् कार्यकर्ताको भूमिकामा मात्र रहे भने राजनीतिक परिवर्तनपछि जनताले अनुभूत गर्नेगरी उपलब्धिहरु जनस्तरसम्म पुग्न सक्दैन ।
दलहरु नाम फरक, ब्रान्ड फरक तर काम एउटै
मैले देखिराखेको छु, कांग्रेसको समाजवाद, राप्रपाको उदारवाद, एमाले र माओवादीको जनवादलगायत विभिन्न दलहरुको विभिन्न वादहरु सुन्दा असाध्यै राम्रा छन् । वादप्रतिको दृष्टिकोण असाध्यै राम्रा लाग्छन् । सैद्धान्तिक कुरा असाध्यै राम्रा छन् तर व्यवहारमा जसरी पनि सत्तामा कसरी पुग्ने भन्ने मात्र कुरा हुन्छ । सिद्धान्त र विचारका कुराहरु अहिले ओझेलमा परिरहेका छन् । दलहरुको नाम फरक छ, वाद फरक छ, तर काम हेर्दा हुबहु उस्तै छन् ।
निर्वाचन हो कि व्यापार ?
चुनाव जित्न सकिन्छ, चुनाव हार्न सकिन्छ । चुनावमा हारजित महत्वपूर्ण कुरा होइन । कहिले एउटा दल जित्छ, कहिले अर्को दल जित्छ । एउटा नागरिकको रुपमा त्यो पनि महत्वपूर्ण कुरा होइन । तर, मुलुकले जित्ने खालको चुनाव हुनुपर्यो । मुलुकले हार्यो भने दलले जितेर केही हुनेवाला छैन । देशले जित्ने निर्वाचन हुनको लागि नागरिक सचेत हुनुपर्यो । नागरिकले मेरो उम्मेदवार यस्तो हुनुपर्छ भनेर आउनुपर्यो नि । नागरिकको उम्मेदवार जित्ने वातावरण हुनुपर्यो ।
यहाँ त जुन दलको जनवर्गीय संगठन बलियो छ, भोट ब्यांक बलियो छ, जसले अकूत पैसा खर्च गर्न सक्छ, चुनाव उसले जित्छ । आन्दोलनमा त्याग तपस्या गरेका र योग्यता भएका भन्दा कालो धन खेलाउन सक्ने मानिसले चुनाव जित्ने भयो र उसकै काबुमा उम्मेदवार रहने अवस्था भयो । यसमा पनि प्रतिष्पर्धा मतको लागि भन्दा पैसामा हुने भयो । पैसा खर्च गरेर चुनाव लड्ने र पदमा गएपछि त्यही लगानी उठाउने । यो त निर्वाचन हो कि व्यापार ? चुनावमा हुने गरेको अस्वस्थ प्रतिष्पर्धालाई हेर्दा त योग्य र इमान्दारले टिकट पनि पाउँदैन, टिकट पाए पनि जित्न सक्दैन ।
यतिधेरै दलहरु छन् । एकले अर्कोलाई दोषारोपण गर्ने प्रचलन पनि छ । तर, समग्ररुपमा यो देश चलाउने नीति कस्तो हुनुपर्छ ? शैक्षिक नीति कस्तो हुनुपर्छ ? स्वास्थ्य नीति कस्तो हुनुपर्छ ? औद्योगिक नीति कस्तो हुनुपर्छ ? राष्ट्रिय सुरक्षाको नीति हुनुपर्छ ? वैदेशिक नीति कस्तो हुनुपर्छ ? यी सबै दलहरु एकठाउँमा बसेर एउटा राष्ट्रिय नीति बनाउन जरुरी छ । जुनसुकै दल चुनाव जितेर आएपनि त्यही नीति वरिपरि बसेर अथवा त्यसैलाई एउटा मियो मानेर मुलुकलाई अगाडि बढाउन सकियो भने छिटोभन्दा छिटो मुलुकको विकास हुनसक्छ ।
यसरी दलहरु लुटिल्याउने र बाँडी खाने कुरामा चाहिँ सहमत हुन सक्नुहुन्छ तर, सँगै बसेर काम गर्नुपर्ने कुरामा चाहिँ सहमत हुन सक्नुहुन्न । यो कुरामा मुलुकमा स्थापित राष्ट्रिय दलहरु किन एक हुन सक्दैनन् ? यसैबाट प्रष्ट हुन्छ कि वहाँहरु मुलुकको हितप्रति कति संवेशनशील हुनुहुन्छ ? जस्तो भारतको प्रसंगमा कुरा गरौं । सरकार परिवर्तन भइरहन्छ तर, भारतले नेपाललाई हेर्ने दृष्टिकोण त एउटै रहन्छ । सधै एउटै हुन्छ । तर हाम्रो सरकार फेरिनासाथ दृष्टिकोण फरक पर्न थाल्छ ।
विकल्प के ?
लामो समय राजनीतिक व्यवस्था परिवर्तनमा अभ्यस्त जनताले बिस्तारै कार्यकर्ताबाट नागरिक बन्नेबारे सोच्छन् कि ? आवश्यकता नै आविस्कारको जननी हो भनिन्छ । दलको बानी व्यवहारबाट वाक्कदिक्क भएपछि नागरिकले विकल्प खोज्छन् । त्यसको लागि उनीहरु नागरिकको रुपमा संगठित हुनथाल्छन् । यसरी नागरिक सचेत भए पनि कुनै पनि दलको केही लाग्नेवाला छैन । त्यसपछि जनताको चाहनाअनुसार मुलुक सञ्चालन हुने र तदनुरुप फेरिएको वा जनताको चाहना सम्बोधन गर्न सक्नेगरी आउने दल शक्तिशाली दलको रुपमा उदाउँछ ।
तर अहिलेसम्म यी दलहरुको गतिविधि हेर्दा उनीहरु त्यति सजिलै सच्चिएलान् जस्तो लाग्दैन । यिनीहरुलाई त आगामी निर्वाचनको मात्र चिन्ता छ । राजनीति भनेको त विचारको लडाईं हो नि । निष्ठाको लडाईं हो । नीति र कार्यक्रमको लडाईं हो । जब निर्वाचन आउँछ, यहाँ कुकुर र बिरालोबीच पनि कार्यगत एकता हुन्छ । यो कुकुर र बिरालोबीच भएको कार्यगत एकताले कस्तो नीति आउला ? जनताले के आशा गर्ने ? यसर्थ, यी पुराना दलहरुबाट अब त नागरिकले राम्रो नतिजाको अपेक्षा नै गर्न थालिसके । समयक्रममा पात्रहरु फेरिए तर, प्रवृत्ति त हिजोजस्तै भयो ।
The post नेपाल नागरिकविहिन राज्य अर्थात् कार्यकर्ताको देश भयो appeared first on Sajha Post.