स्थानीय निकायको निर्वाचनपछि कतिपयले भन्छन्– नेपाली मतदाताले देशमा वैकल्पिक राजनीतिक शक्ति चाहिँदैन भन्ने सन्देश दिए । यो हल्काफुल्का विश्लेषण हो । मलाई लाग्छ, जनता वैकल्पिक शक्ति खोजिरहेका छन् । उनीहरु पुराना राजनीतिक शक्तिहरुसंग सन्तुष्ट छैनन् । अझ रोचक कुरा पुराना पार्टीका नेता कार्यकर्ताहरु पनि विकल्पको कुरा गरिरहेका छन् । हाम्रो बौद्धिक वर्ग पनि त्यसै भन्छ । त्यसैले वैकल्पिक शक्ति नेपाली राजनीतिको ऐतिहासिक आवश्यकता हो । तर विरोधाभाष के हो कि जनता विकल्प देखिरहेका छैनन् । पुराना पार्टीहरु आफु नै विकल्प बन्नसक्ने आत्मरति र भ्रममा छन् । आफुभित्र कुनैपनि बदलाव बिना विकल्प बन्ने सपना देख्नु उनीहरुको अहंकार हो ।
यता हामी साँच्चै वैकल्पिक पार्टी हौं तर, हामीले आफ्नो कुरा जनताबीच पुर्याउन सकेकै छैनौं । यसर्थ नै स्थानीय निर्वाचनमा वैकल्पिक पार्टीहरुले आशातित सफलता पाउन सकेनन् । यसको अर्थ हामीले अझै धेरै काम गर्नुपर्छ भन्ने हो । हामीले भुल्नु हुँदैन कि एक वर्षमा कुनैपनि पार्टीले बहुमत ल्याउन सक्दैन । एमाले, कांग्रेसजस्ता पार्टी पनि एक वर्षमा बनेका होईनन् । न त उनीहरुले एकै वर्षमा चुनाव जिते ।
जनताबीच जान र कुरा बुझाउन एक वर्ष लामो समय होईन । एउटा चुनावको कमजोर परिणामको अर्थ न त खेल खतम् भयो भन्ने हुन्छ न त हतारमा वैकल्पिक बाटोलाई नै छोड्न मिल्छ । यो पटक सगरमाथा चढ्न सकिएन भन्नुको अर्थ कहिल्यै सगरमाथा चढ्न सकिंदैन भन्ने होईन । पटक पटकको प्रयत्नमा सगरमाथा चढ्न सकिन्छ । राजनीतिमा यो सत्य स्थापित हुन्छ । तर वैकल्पिक शक्तिका अभियन्ताहरुले दुईवटा प्रश्नको स्पष्ट जवाफ दिन सकिरहेका छैनन् । त्यो जवाफ भने दिनैपर्छ ।

दुई सवाल, दुई जवाफ
पहिलो प्रश्न– वैकल्पिक शक्ति भनेको को हो ? हामीले दावी त गरिरहेका छौं । तर, जनतासम्म स्पष्ट सन्देश पुर्याउन सकेका छैनौं । हामीले मात्र होइन, अरुले पनि दावी गरिरहेका छन् । हाँसउठ्दो कुरा पुरानाहरुले पनि आफूले आफूलाई वैकल्पिक भनेर दावी गर्दछन् । यसले जनतामा भ्रम पर्दछ । अतः हामीले जनतालाई आफू वैकल्पिक शक्ति भएको प्रभावकारी सन्देश तथ्यहरुसहित दिनुपर्छ । हामी किन, कसरी वैकल्पिक शक्ति हौं ? पुराना पार्टीहरु र हामीमा के फरक छ ? हामी राजनीतिमा के परिवर्तन चाहन्छौं ? यस्ता प्रश्नहरुमा हामीले जनतालाई प्रभावकारी ढंगले भन्नसक्नुपर्छ । हामीले भन्नुपर्छ कि जनताले चाहेको विकल्प हामीनै हौं । तर कहिलेकाँहि भनेर मात्र हुँदैन । जनताले हाम्रो कुरा पत्याउने आधारहरुपनि बनाउनु पर्छ । यहिनेर वैकल्पिक पार्टी बनेर देखाउने चुनौति हाम्रो सामु छ ।
दोस्रो प्रश्न– समय पनि महत्वपूर्ण कुरा हो । साधना पनि चाहिन्छ । वैकल्पिक शक्ति बन्नेकुरा यो रातारात हुँदैन । वैकल्पिक राजनीतिक शक्ति बनाउन समय त लाग्छ नै । किनभने पुरानो कुरा छोड्न पर्दछ । त्यसमा समय लाग्छ । पुराना शैली र संस्कारहरुमाथि निर्मम प्रश्न गर्न सक्नुपर्छ । एक्लै हिड्नुपर्ला । अरुले समाएको भन्दा भिन्नबाटो हिंड्नु सजिलो हुँदैन । अतः यो अलिअलि पागलपन हो । पुरानाहरुसंग भिड्नुपर्ला । त्यसैले यो अलिक छुचो काम हो ।
तर यदि प्रश्नहरु सहि छन् भने ईतिहासले जवाफ दिनै पर्छ । ईतिहासले बुझ पचाउने छैन । नेपालमा पनि त्यहि हुनेछ ।
राजनीति साधना हो
नयाँ बाटो खन्ने, राजनीतिमा नयाँ मान्यता स्थापित गर्नु सजिलो काम होइन । यसर्थ, राजनीति साधना पनि हो । जस्तो, एउटा कविले म कवि हो भनेर स्थापित हुन पनि समय चाहिन्छ । एउटा कविता लेखेर मात्रै कोहि पनि कवि हुँदैन । पहिलो कुरा त राम्रो कविता लेख्नुपर्यो नि ! राम्रो कविता एकै दिनमा क्लिक हुँदैन । राम्रो कविता लेख्नु त आफैंमा एउटा साधना हो । एउटा स्थापित संगीतकार बन्नु पनि साधना हो ।
राजनीतिक पार्टी स्थापना गर्नु पनि साधना हो । साधनाले नै हामीलाई अझ रचनात्मक बनाउँछ र अब्बल परिचय दिन्छ । यसर्थ, हामी वैकल्पिक राजनीतिक शक्ति हो भन्ने स्थापित हुनु पहिला वैकल्पिक पार्टी बन्नु पर्यो । यसको लागि यथोचित साधना चाहियो । त्यही तहको लगाव र गृहकार्य चाहियो । जब यी काम कसैले तपस्याकै रुपमा गर्छ तब विकल्प बन्छ । त्यसपछि यो विकल्प हो भन्नेकुरा प्रभावकारी ढंगले भन्नुपर्छ । साधना गर्ने, विकल्प बनाउने र जनतालाई भन्ने काम चलिरहन्छ । अनि मात्र जनताले पत्याउँछन् । यसरी मात्र पार्टी बन्छ ।
साधनाको कुरा गर्दा, नेपालको कम्युनिष्ट आन्दोलन हेरौं या लोकतान्त्रिक आन्दोलन । कम्युनिष्ट पार्टी हेरौं वा कांग्रेस वा अन्य पार्टी । कुनै बला कम्युनिष्ट पार्टी स्थापना पनि एउटा साधना नै थियो । नेपालमा माले, एमाले वा माओवादी पनि रातारात बनेका हैनन् । यी सबैको उतारचढावसहितको लामो इतिहास छ । कांग्रेसको पनि लामो ईतिहास, फुट र विभाजनको सिलसिला छ । कुन पार्टी सजिलै बनेका छन् र ?
आफ्नै कुरा
व्यक्तिगत रुपमा वैकल्पिक राजनीतिक शक्ति निर्माणमा मैले कति गर्न सकेँ भन्ने पनि आउँछ । अहिलेसम्म जेजति काम गर्दै आएँ । म सन्तुष्ट नै छु । विचार निर्माणमा मैले केहि योगदान गरेको छु । पार्टीका रणनीतिक कामहरुमा मैले भाग लिएको छु । विचार, सिद्धान्तको दृष्टिले कस्तो वैकल्पिक शक्ति बनाउने ? संगठन प्रणाली कस्तो बनाउने ? नीति, कार्यक्रम र नेपाललाई रुपान्तरण गर्ने योजना कस्तो हुन्छ ? हामी लामो समयदेखि छलफलमा थियौं र छौं । नेपालमा वैकल्पिक राजनीतिको प्रारम्भिक बहस गर्ने थोरै मान्छेहरुमा म पनि थिएँ । झण्डै १० वर्ष अगाडि देखिनै ईटहरीबाटै हामीले यो बहसलाई चलाएका थियौं । गत साल नयाँ शक्ति पार्टी घोषणा गर्दा मात्र हामीले सुरु गरेको भन्ने होइन । यद्यपि तिनै अनेकौं कोणबाट भएका बहसहरुको संगठित स्वरुप नयाँ शक्ति पार्टी हो । हामीले पार्टी बनायौं । यो खुसीको कुरा हो । तर सन्तुष्टि सतप्रतिशत छ भन्ने होइन । अलिक धेरै परिणामको अपेक्षा स्वभाविक हुन्छ ।
तर मन बुझाउने ठाउँ छ कि नेपालमा वैकल्पिक राजनीतिको बहस त सुरु भयो । विकल्पको पार्टी पनि त बन्यो । यसलाई खास साधनाबाट बलियो बनाउदै लैजाने हो । तर काम त सुरु भयो । यत्रा ठूला, वर्चश्वशाली र घमण्डले भरिएका पार्टीहरुको दबदवा भएको बेला तिमीहरु पुराना भयौ भन्नु चानचुने कुरा होईन ।
हामी यसकारण जित्दैछौं
हामीले भन्यौं- तिमीहरुको युग सकियो । हामीले पुरानो प्रजातन्त्रमाथि औलो उठायौं । हामीले शास्त्रीय मार्क्सवादमाथि प्रश्न गर्यौं । हामीले औंलो ठड्याएर सोध्यौं- हामी किन गरीब छौं ? हामी किन कमजोर छौं ? यतिधेरै राजनीतिको भ्रष्टिकरण कसरले गर्यो ? विकास र सम्बृद्धिको हाम्रो सपनामाथी किन पटक पटक हामी मलामीजान बाध्य छौं ? पटक-पटक तिनै कांग्रेस र कम्युनिष्टहरुले सरकार बनाए र पटक-पटक बेथिती उपहार दिए किन ? हामीले राजनीतिक तथा वैचारिक तथ्यहरुसहित उनीहरुलाई प्रश्न गरेका छौं । हाम्रा प्रश्नहरुसँग उनीहरु पानी-पानी छन् । हुन त हो, तपाईहरुले भनेको ठिकै हो भन्ने स्विकारोक्ति छ । यसको अर्थ उनीहरु हार्दैछन् र हामी जित्दैछौं । राजनीतिमा ठूलो वैचारिक लडाई हामीले सुरु गर्यौं । यो सत्य हो र यहि सत्यले हामीलाई सफल बनाउने छ । तर राजनीतिमा परिणाम देखिन समय त लाग्छ । साधना पूरा हुन समय लाग्छ ।
उहाँहरुको त आवरणमा वैकल्पिक शक्ति, भित्रभित्र रातारात कसैसँग मिलेर राजनीतिक अवसर बटुल्ने चाहना रहेछ । यसरी राजनीतिक फाइदा लुट्न चाहने मनोविज्ञान भएकाहरुलाई हामीले ल्याएछौं । के गर्नु मान्छेको मनको कुरा पढ्न नसकिने रहेछ !
मुख्यकुरा समयलाई प्रश्न गर्ने कुरा हो । हिजो कम्युनिष्टहरुले प्रश्न गरे । कांग्रेसहरुले प्रश्न गरे । आज उनीहरु जवाफ दिनुपर्ने ठाउँमा छन् र हामी प्रश्न गरिरहेका छौं । उनीहरुका प्रश्न गर्ने दिन सकिए । हाम्रा दिन अब सुरु भए । जब ईतिहासलाई हल्लाउने प्रश्न गरिन्छ, सुन्न करैलाग्छ । त्यसैले अबको युगले हामीलाई सुन्ने पक्का छ । कुनैपनि पार्टी र उसले उठाएका प्रश्नहरु छ महिना वा एक वर्षमा स्थापित हुँदैनन् ? तर यदि प्रश्नहरु सहि छन् भने ईतिहासले जवाफ दिनै पर्छ । ईतिहसले बुझ पचाउने छैन । नेपालमा पनि त्यहि हुनेछ ।
आफ्नै चिरफार
हाम्रो आफ्नै एक बर्षको समीक्षा पनि गर्नुपर्छ । यहिनेर जनताको चेतनाको पनि कुरा आउँछ । चुनावसंग जनताको चेतना जोडिन्छ । निश्चयनै यो प्रक्रियामा जनताको परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमता पनि एउटा पक्ष होला । तर उनीहरुको अवस्थानुसार सन्देशलाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसक्नु हाम्रो कमजोर पक्ष हो । यो बीचमा सन्देश प्रवाहमा, संगठनको व्यवस्थापनमा, राजनीतिक पहलकदमीमा थोरै भुलचुक भएकै हो । निश्चयनै सोचेजस्तो भएन ।
पहिलो कुरा, पार्टीभित्रै वैकल्पिक शक्तिबारे साझा र स्पष्ट धारणा बनाउनुपर्थ्यो । कस्तो वैकल्पिक शक्ति ? केहि अलग अभ्यास गर्नुपथ्र्यो र त्यसलाई प्रभावकारी सञ्चार गर्नुपर्थ्यो । यो प्रयास गरेजस्तो मात्र भयो । केहि साथीहरु खै हुन्छ कि हुँदैन भन्ने आशंकामा देखिनु भयो । पुरा शक्तिका साथ, शतप्रतिशत गर्नुपर्थ्यो । कसैले १० प्रतिशत, २० प्रतिशत वा ३० प्रतिशत प्रयास गरेर पुग्दैनथ्यो । पुरापुर प्रयास आवश्यक थियो । तर, यहाँनेर प्रयास नै भएन कि भन्ने लाग्छ । केहि साथीहरु खुट्टा कमाउँदै दौडन निस्कनुभयो । अन्यथा हामी अझै अगाडि पुग्ने पक्का थियो ।
मनमा सत्ताको भोक, मुखमा ‘विकल्प’ !
पार्टीबाट केही साथीहरु बाहिर निस्कनु भयो । ठूला ठूला पद र जिम्मेवारीमा हुने साथीहरुमा पनि सुझबुझ रहेनछ । साथीहरुको वैकल्पिक पार्टी आँखा नेदेख्नेले हात्ती छामेजस्तो पो रहेछ । यसले पनि हाम्रो एक बर्षको यात्रालाई केहि अलमल बनायो । साथीहरुको मनमा सत्ताको भोक र मुखमा विकल्प रहेछ । ओठले जतिसुकै शब्दहरु खिपेर व्याख्या गर्नुहोस् त्यो जीवन्त हुँदैन । शब्दहरु नमिलेपनि मनले कुरा गर्नुभयो भने सुन्दर लाग्छ । यस्तै भयो । केहि साथीहरुले छलछाम गर्नुभयो । हाम्रो पार्टीका लागि त्यो पनि समस्यै बन्यो ।
यसको अर्थ हाम्रोमा डिलर्न अर्थात् निर्दिक्षामा समस्या भयो । वैकल्पिक शक्ति बनाउन त ठिक छ, तर यति महान मार्क्सवाद, माओवाद छाडेर पनि कहाँ वैकल्पिक शक्ति बनाउने भन्ने केहि साथीहरुमा संशय देखियो । केहि साथीहरुले आ-आफ्नै पृष्ठभूमिलाई समातेको देखियो । ईतिहासलाई समाएर नयाँ बन्दैन । ईतिहसबाट सिक्ने र नयाँ ईतिहास रचना गर्ने कुरा पो गर्नुपर्छ । पार्टी निर्माणको एक बर्षमा केहि नेता साथीहरुमै यस्ता समस्याहरु देखिए । तर ति समाधान भै सके । अब वैकल्पिक पार्टी बनाउन अलिक सजिलो हुँदै गएको छ ।
हामीले केहि साथीहरुमा बाहिर एउटा कुरा र भित्र अर्कैकुरा देख्यौं । आउदा वैकल्पिक राजनीतिक शक्ति बनाउने भनेर आए । तर, भनेका मात्रै रहेछन् । मैले सुरुमै भनेको थिएँ, नयाँ शक्तिमा वैकल्पिक राजनीतिक शक्ति बनाउने भनेर जोजो आउनुहुन्छ, कम्तिमा हामी पुराना चिजलाई छाडेर नयाँ काम सुरु गरौं । नयाँ बन्ने हिम्मत गरौं । तर, साथीहरु कसरी आए भने डा. बाबुराम भनेका पूर्वप्रधानमन्त्री रातारात ठूलो पार्टी बन्छ र भाग पाइएला ! उहाँहरुले एक वर्षमै सबैभन्दा ठूलो पार्टी बन्छ भनेर भाषण गर्दै पनि हिंड्नुभयो । उहाँहरुको त आवरणमा वैकल्पिक शक्ति, भित्रभित्र रातारात कसैसँग मिलेर राजनीतिक अवसर बटुल्ने चाहना रहेछ । यसरी राजनीतिक फाइदा लुट्न चाहने मनोविज्ञान भएकाहरुलाई हामीले ल्याएछौं । के गर्नु मान्छेको मनको कुरा पढ्न नसकिने रहेछ !
कतिपयले भन्ने गरेका छन्, दुई वर्षसम्म नयाँ शक्तिमा बसेका मानिसहरु त्यहाँबाट बाहिर निस्कँदा झन् अराजनीतिक बनेर निस्किरहेका छन् । यसको अर्थ पार्टी अर्थात् प्रोसेसिङ गर्ने मेसिनमै समस्या छ कि भन्ने तर्क उहाँहरुको रहने गरेको छ । तर, मलाई पार्टीलाई मसिन भन्नु नै बेठिक जस्तो लाग्छ । पहिलो कुरा त पार्टी मेसिन होईन । योसंग मान्छेहरु हुन्छन् र मन हुन्छ । अतः पार्टीको व्यवस्थापन भनेको मनहरुको व्यवस्थापन हो । पार्टी भनेको त जीवन्त मेकानिज्म हो । मेसिन र मान्छेमा यही समस्या छ । मान्छेले इमान्दार हुन सकेन र रुपान्तरित भएको अभिनय मात्रै गर्यो भने त्यस्ता मानिसलाई रुपान्तरण गर्न नसकिने रहेछ । मेसिन कम्तिमा इमान्दार हुन्छ । मान्छे र मेसिनमा यही फरक छ । रेडियो बजाउनुस्, बज्छ । मान्छेलाई बजाउन खोज्नु, ऊ इमान्दार भएन भने नबज्न पनि सक्छ । अब के गर्नुहुन्छ ? पार्टी अथवा जीवन्त संयन्त्रमा यस्तो हुनेरहेछ ।
अत केहि साथीहरुमा केहि अराजनीतिक समस्या देखियो । मलाई लाग्छ, साथीहरु ईमान्दार थिएनन् । सायद यस्तै कारणहरुले त्यस्ता साथीहरु नयाँ शक्तिमा अटाउने स्थिति पनि भएन । हामीले त्यस्ता साथीहरुलाई हटायौं । वैकल्पिक बन्न नखोज्ने तर बहाना मात्र गर्ने अराजनीतिक मान्छेहरुका लागि नयाँ शक्ति उपयुक्त ठाउँ होईन ।
सत्ताको शक्ति कि निष्ठाको शक्ति ?
तर पार्टीमा जे भयो राम्रो नराम्रो त्यसको जस अपजस दुवै हामी नेताहरुले लिनुपर्छ । जिम्मेवारी अनुसार धेरथोर आफ्नो ठाँउमा छ । राजनीतिक इमान्दारिताको हिसाबले मलाई लाग्छ केही यस्ता निर्णयहरु भए, त्यस्तो नगरेको भए हुन्थ्यो । तर निर्णयमा मेरो पनि स्वामित्व छ त्यसैले एउटा नेतृत्वको हिसाबले हरेक निर्णयहरुको मैले पनि जिम्मा लिनुपर्छ । जस्तो, कार्यविभाजनको सन्दर्भमा जेजस्ता मानिसहरुलाई जुन तहको जिम्मेवारी दियौं, त्यो नदिएको भए ठिक हुन्थ्यो । परिषद सदस्यहरु यति धेरैलाई नबनाएको भए राम्रो हुन्थ्यो । पार्टी ठूलो बनाउने नाममा कतिपय विजातीय तत्वहरुलाई भित्र्याउनु पनि गलत भएकै हो । हामी पार्टीलाई रातारात ठुलो बनाउने तिर गयौं । व्यक्तिगतरुपमा म पार्टी ठूलो भन्दा राम्रो बनाउने पक्षमा थिएँ । सकिन्छ त ठूलो र राम्रो दुवै बनाउने हो तर, एउटा छान्नुपर्यो भने पार्टी राम्रो बनाऊँ ।
मेरो भनाई हो कि सत्ताको शक्ति होइन, निष्ठाको शक्तिबाट जानुपर्छ । वैकल्पिक शक्ति निष्ठाको शक्तिबाट बन्ने कुरा हो । तर रातारात सत्ताको शक्तिको मोहले निष्ठाको पक्षलाई सधैं ओझेलमा पार्न थाल्यो भने के हुन्छ ? रातारात ठूलो बन्ने र शक्तिमा पुग्ने नाउँमा आँखा चिम्लिएर टिको लगाउने कुराले हामी गञ्जागोलमा फसेकै हो । यो जे भयो त्यसमा मेरो पनि सहभागिता छ । अतः राजनीतिक रुपमा यो सबै गर्नुहुँदैन भन्ने मेरो मत भएपनि पार्टीको सचिवालय सदस्यको हिसाबले निर्णयमा मेरो सहमति भयो । त्यो गल्ति भयो । त्यसलाई हामीले सुधार्ने प्रयत्न सुरु गरेका छौं । अब वास्तविक निष्ठा साथ वैकल्पिक शक्ति बनाउन प्रक्रिया सुरु भएको छ ।
अबको बाटो
अब हामीले प्लस टु पुस्ता र गाउँमा बसेका बुवाआमाहरु दुवैले बुझ्न सक्नेगरी नयाँ शक्ति बनाउनुपर्छ । हामीले तीनवटा कुरामा वैकल्पिक बन्न अभ्यास गर्नुपर्छ । पहिलो विचार वा सिद्धान्त । नेपालमा आमरुपमा विचार प्रधान पक्ष हो नि त भन्ने प्रचलन पनि छ । विचार भन्ने सबैले त बुझ्दैनन् । यो त खास पढालेखा वर्गले मात्र बुझ्न सक्छ । उनीहरुले मात्र यिनीहरु विचारको आधारमा वैकल्पिक हुन् भनेर बुझ्न सक्छन् । तर त्यसले पार्टीलाई दिशानिर्देश गर्दछ । यो मानेमा नेपालको खास वर्गलाई हामीले आफु वैकल्पिक हो भनेर स्पष्ट बुझाउन सक्नुपर्छ । कार्यकर्तालाई विचारले निर्देशित गर्नुपर्छ । तथ्यसहित वैकल्पिक विचार के हो बुझाउनुपर्छ । बहस गर्नुपर्छ । विचारमा हामीले नयाँ प्रस्ताव गरेका छौं । त्यसलाई स्थापित गर्नुपर्छ ।
हामीले आम नागरिकमा राजनीतिप्रति गुमेको विश्वास फिर्ता गर्ने एक मात्र तरिका हामीले भनेको र बहस गरेको सैद्धान्तिक मान्यता अनुसारको व्यवहार, व्यवहार र फेरि पनि व्यवहार नै हो ।
अब विचारलाई व्यवहारमा लागू गर्ने वा अभ्यास गर्ने संगठन प्रणालीले हो । हामीले कार्यकर्ता नियन्त्रित पार्टी, प्रत्यक्ष लोकतन्त्र र सुशासन भन्यौं । हामीले सदाचार भन्यौं । हामीले नदिजस्तै चलायमान र गतिशील संगठन भन्यौं । हामीले एक व्यक्ति एक पद भन्यौं । हामीले राजनीतिमा रिटायर्ड हुने कुरा गर्यौं । हामीले चलायमान राजनीतिको कुरा भन्यौं । यो गतिशिलताले ४० वर्षभन्दा तलका साथीहरुलाई पनि नेतृत्वमा ल्याउँछ । यसो गर्न सकियो भने युवाहरुमा उत्साह, जोश, जाँगर पैदा हुन्छ । यसलाई अभ्यास गरेर देखाउनुपर्छ । यसले वैकल्पिक बनाउँछ ।
जहाँसम्म गाउँकी आमाले बुझ्ने राजनीतिको कुरा छ, हामीले हाम्रो राजनीतिको उपादेयता स्पष्ट पार्नैपर्दछ । हामीले भन्नुपर्दछ कि वैकल्पिक राजनीतिले तपाईंलाई यो दिन्छ । भन्नुपर्छ कि समृद्धिसहितको सुन्दर दिन तपाईंको जीवनको अन्तिम दिनसम्ममा हामी सम्भव बनाउछौं । बा, आमाहरुलाई सचित्र व्याख्या गर्नुपर्दछ कि तपाईं बिरामी हुँदा स्वास्थ्यउपचार राज्यले हेर्दछ । तपाईंको नातिनातिनाले राम्रो शिक्षा हासिल गर्ने अवसर पाउँछन् । गाउँमा सडक, पानी, स्कुल, खेलमैदान, पार्क सबै हुनेछन् र तपाईले भोकै बस्नुपर्ने छैन । हाम्रा युवाहरुले आफ्नै देशमा काम पाउने छन् । हामी यो देशलाई सुन्दर र समृद्ध बनाउने छौं ।
राम्रो कुरा राम्रो कामसँग जोडिनुपर्छ
हामीले भनेको कुरा किन विश्वास गर्ने ? भन्ने प्रश्न उठ्न सक्छ । यो जायज छ । हामीले नागरिकलाई शंकाको सुविधा दिनैपर्छ । राम्रो बन्छु भन्ने कुरा राम्रो गर्ने कुरासँग जोडिन्छ । हाम्रा कुराहरुलाई हामीले व्यवहारबाटै पुष्टि गर्दै जानुपर्दछ । निश्चयनै, हाम्रो समस्या भनेको यी सबै राम्रा कुराहरुलाई जीवन व्यवहारमा कसरी उतार्ने भन्ने हो । पार्टी जीवनमा के कति लागू गर्ने भन्ने हो । भनिन्छ, निरन्तरताको सतर्कताबाट नै स्वतन्त्रताको मूल्य प्राप्त गर्न सकिन्छ । आम नागरिकलाई लाग्न सक्छ, पारदर्शिता भनिन्छ तर, वेबसाइटमा पार्टीको हिसाब किताब सार्वजनिक गर्ने कुरा छैन । संगठनात्मक पद्धतिका ठूला कुरा गरिएकै छ, तर मान्छेलाई टिका लगाउन छाडिएको छैन । टिका पनि व्यक्तिले लगाउने प्रचलन झनै बलियो हुँदै गएको छ । यस्ता कुराहरुलाई हामीले सुधार्ने छौं । त्यसको सुरुवात भै सक्यो । हामी प्रक्रियामा नै छौं तर माथिका आशंकाहरुलाई दृढतापूर्वक नछिचोलिकन हामीले वैकल्पिक राजनीतिक शक्ति बनाउन सक्दैनौं । छिचल्न नचाहने र नसक्ने साथीहरु फर्किइसक्नुभएको छ । अब हामी रहेका साथीहरुको काँधमा यो अभिभारा छ ।
अब यी कुरा लागू गर्न हामीले भोलि भन्नु हुँदैन । हामीले तत्काल सुरु गर्नुपर्छ । रुपान्तरणलाई जीवनशैली बनाउनु पर्छ । केही कुरा अवश्य सुरु भएका छन् । तर, ती आम नागरिकमा एउटा तरंग पैदा गर्ने तहमा लागू भएका छैनन् । हामीले स्थानीय तहदेखि अधिवेशन सुरु गरेका छौं । त्यहाँ प्रत्यक्ष लोकतन्त्रको मर्मलाई आत्मसाथ गरिएको छ । हरेक कार्यक्रमहरुमा हामीले खर्च विवरण सार्वजनिक गर्ने गरेका छौं । तर, अपेक्षा धेरै छन् । अतः बाँकी कामहरु गर्न हामीले ढिला गर्नुहुँदैन । किनकी इतिहासले हामीलाई लामो समय नकुर्न सक्छ । हामीले आम नागरिकमा राजनीतिप्रति गुमेको विश्वास फिर्ता गर्ने एक मात्र तरिका हामीले भनेको र बहस गरेको सैद्धान्तिक मान्यता अनुसारको व्यवहार, व्यवहार र फेरि पनि व्यवहार नै हो ।
The post ढिला नगरौं, इतिहासले हामीलाई लामो समय नकुर्न सक्छ appeared first on Sajha Post.