केही नेताहरुले भनिरहेका छन्, ‘बाबुराम बेकारमा वैकल्पिक राजनीति भनेर बरालिइरहेका छन् ।’ उनीहरुको तर्क छ, ‘निर्वाचनको परिणाम हेर्दा कांग्रेस र एमाले धेरै ठूला दल भए । यसरी त मुलुक दुई दलीय प्रणालीमा जाने भयो । हिजो जनयुद्ध, मधेस र जनजाति आन्दोलन गर्नेहरु ध्रुवीकृत भएर नयाँ शक्ति बनाऔं ।’ उनीहरुले सिधासिधा भनिरहेका छन्, ‘नयाँ शक्तिले निर्वाचनमा चमत्कार गर्छ भनेको । सकेन । तीन/चार दशक संघर्ष गरियो । बुढेसकालमा अर्को ५-१० वर्ष केका लागि दुःख गर्नु । पुरानैलाई टालटुल बनाएर चलाऔं । तेस्रै शक्ति भए पनि नेपालमा झन् फलिफाप हुन्छ । छिट्टै अवसर पनि पाइन्छ । दुःख गर्ने, नयाँ बाटो बनाउने हाम्रो मात्रै ठेक्का त होइन नि ।’
तर ६० वर्ष नाघेका एक वृद्ध व्यवस्था फेर्न बनेका पार्टीहरुले अवस्था फेर्न सक्दैनन् भन्दै पुरानो टालटुल बनाएर राजनीतिक विकल्प दिने होइन, जगैबाट नयाँ शक्ति बनाउँदै वैकल्पिक राजनीति गर्नुपर्छ भनेर कम्मर कसेर लागेका छन् । उनी अर्थात् डा.बाबुराम भट्टराई । उनको तर्क छ, ‘अब नयाँ आधारमा नयाँ पार्टी बनाउनुपर्छ, जसले राजनीतिको चरित्र फेर्न सकोस् र मुलुकलाई भौतिक सभ्यता निर्माणको चरणमा लैजान सकोस् ।’
विकृत वर्तमान
नेपाल पत्रकार महासंघको निर्वाचन नियालिरहेको छु । संसदीय निर्वाचनभन्दा कम भएन यो निर्वाचन । यहाँ पनि जित्न पनि साम, दाम, दण्ड र भेदको प्रयोग गर्नुपर्यो । एकजना पत्रकार साथीले भने, ‘केन्द्रीय सदस्य उठ्छु भनेको । गाउँपालिका अध्यक्षभन्दा महंगो भइसकेछ । सकिनँ । छाडिदिएँ ।’
निर्वाचन प्रक्रिया मात्र होइन, निर्वाचनमा सहभागी हुन पनि विकृत हुनै पर्ने देखिन्छ । विचार बोक्ने पत्रकार होइन, झण्डा बोक्नेहरुको डण्डा चल्छ यहाँ । मलाई भन्न मन लाग्छ, हामी ‘काँक्रो’ पत्रकार हौं । दलको थाँक्रो पाए झाँगिन्छौं, फल्छौं र फुल्छौं पनि । थाँक्रो नपाए भुईतिरै बराल्लिएर चिचिल्लामै कुहिन्छौं । दलीय सिण्डिकेटको यस्तो विकृत वास्तविकताबाट राष्ट्रिय जीवनमा यावत अंगहरु प्रताडित छन् ।
डा.गोविन्द केसी ११औं पटक अनसन बस्दै मलिन अनुहारमा मृत्यू कुरिरहँदा चुडामणिहरु न्यायलयबाट मुस्कुराउँदै बाहिर निस्कन्छन् । सिण्डिकेटका थाँक्रो चढेका कर्मचारीका खरिदारले मुख्य सचिव थर्कांइरहेछन् कर्मचारी भातृ संगठनको अध्यक्ष बनेर । झण्डा बोक्ने शिक्षकहरुले भविष्यका कर्णधार विद्यार्थीहरुलाई दीक्षित गरिरहेछन् । अनि विद्यार्थीहरु पढ्न छाडेर झण्डा बोकिरहेका छन् । नेता व्यापारीजस्ता छन् व्यापारी चाहिँ नेताजस्ता । अपराध राजनीति जस्तो छ अनि राजनीति चाहिँ अपराधजस्तो । पार्टीभन्दा गुट बलिया छन् र संस्थाभन्दा व्यक्तिहरु । विडम्बनापूर्ण विकृत वर्तमानको बयान हजार मुख भएका शेषनागले पनि गर्न सक्दैनन् !
भकारीमा जे-जे छ, बाँडीचुँडी खाउँ भन्ने सामान्य जीवनशैलीलाई पछ्याउनेहरुका लागि यो ठिकै कुरा हो तर, माटोमा मिल्न तयार भएर बिउ बन्नेहरुका लागि यो स्वीकार्य हुनै सक्दैन ।
दलभित्र नेताभन्दा दलालहरुको बोलवाला छ । माओवादी नेता मणि थापा भन्छन्, ‘माओवादी अभिजात वर्ग, ठेकेदार र डनहरुको जस्तो पार्टी भएछ ।’ यो कुनै अमूक पार्टीको मात्र कुरा होइन, हरेक पार्टीहरु प्राणविहिन बुख्याचाजस्ता लाग्छन् । नक्कली मकुन्डोधारीजस्ता । जनता लुट्ने र तर्साउने मात्र । बिपीको समाजवाद भन्ने कांग्रेस बेरोकतोक नवउदारवादको पक्षपोषण गरिरहेछ । ०४७ पछि बिपीको भावनालाई बलात्कृत गर्दै रोपिएको निजीकरणको बिरुवाले डा.गोविन्द केसीहरुलाई सडकमा सुताइरहेको मात्र छैन, लाखौं लाख युवाहरुलाई खाडीतिर निर्वासित बनाइरहेको छ । नारायण गोपाल गाउँछन्, ‘संसारमा जन्म दिएर ईश्वर वैंशमा नमार ।’ तर हाम्रा नेताहरुको असक्षमताले प्रवासिएका वैंशालु युवायुवतीहरु पलपल मरिरहेका छन् । प्रतिदिन बाकसमा पोको परेर फर्कने ३/४ जना युवाहरुको वियोगान्त कथा त यहाँ लेखिएकै छैन । ‘४० कटेपछि रमाउँला’ भन्ने गीत गाउँदै रोइरहेका लाखौं युवाहरुले पठाएको रेमिट्यान्सबाट तलब खाएर शिक्षा र स्वास्थ्यलाई व्यापार गर्ने माध्यम बनाइरहेका छन् शासकहरु ।
साम्यवादको सपना बेच्दै समाजवादी आदर्श मान्छु भन्ने एमालेको पहिचान मनमोहन अस्पतालमा खुम्चिएको छ । १९३० को आर्थिक मन्दीपछि पुँजीवादी विश्वले समाजवादका असल गुणहरु आफूमा ग्रहण गरिसकेका छन् । पहिलो विश्वका राष्ट्रहरुले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको उपस्थिति बलियो बनाएर बाँचिरहेका छन् । यहाँ मार्क्स र बिपीका चेलाहरु तस्बिर उनीहरुकै पूजा गर्छन् तर आदर्श अर्कै पछ्याइरहेका छन् । मार्क्सको मूर्ति पूजा गर्ने यी मार्क्सवादीहरु कर्मचारी संगठनमा ७५ प्रतिशतभन्दा बढी आफ्नो पार्टीले जित्यो भनेर अट्टहास गर्छन् तर ब्यूरोक्रेसीमा हुने ७५ प्रतिशत भ्रष्टाचारको जिम्मा लिन तयार हुँदैनन् । भर्खरै एउटा भेटमा पंक्तिकारले एमालेका युवा नेता योगेश भट्टराईलाई प्रश्न गर्यो, ‘तपाईंहरु समाजवादी अझ कम्युनिष्ट । पुँजीवादी राष्ट्रहरुले लोककल्याणकारी राज्यको अवधारणा अंगालिरहेका छन् तर, तपाईहरु शिक्षा र स्वास्थ्यमा निजीकरण गर्ने नेता र नीतिकै संरक्षण गर्नुहुन्छ ? भनिदिनुस् न एमाले शिक्षा र स्वास्थ्यमा सरकारले जिम्मा लिनुपर्छ भन्ने पक्षमा छ भनेर ।’ उनले जवाफ दिए, ‘यो ठिक छ तर रणनीतिक कुरा हो ।’ आखिर रणनीति भनेको त कार्यनीतिहरुको योगफल नै त होला । युवा नेताहरुकै उदासिनताले च्वास्स घोच्यो ।
बिउ बन्ने कि बाली ?
यही हिले मैदानमा एक वृद्धको नेतृत्वमा फोहोर राजनीति सफा गर्न सकिएला त ? सम्भव नै नहुने विकल्पमा बरालिनुभन्दा पुरानैमा ध्रुवीकरण हुनु नै वेश भन्ने तर्क पनि त्यति कमजोर देखिन्न । भकारीमा जे-जे छ, बाँडीचुँडी खाउँ भन्ने सामान्य जीवनशैलीलाई पछ्याउनेहरुका लागि यो ठिकै कुरा हो तर, माटोमा मिल्न तयार भएर बिउ बन्नेहरुका लागि यो स्वीकार्य हुनै सक्दैन । हिजो संविधानसभा असम्भव थियो र गणतन्त्र पनि । आज सबै सम्भव भएका छन् । नेपालजस्तो अथाह सम्भावना भएको देशमा समृद्धि असम्भव नै लाग्छ कतिपयलाई । तर बाबुराम भन्छन्, ‘सुनको थाल बोकेर कति मागिरहने ? व्यवस्था फेर्यौं । अब अवस्था फेरौं । व्यवस्था फेर्ने हतियारले अवस्था फेर्न सकिन्न । अब हतियार फेरौं । विचारको हतियार, संगठनको हतियार, कार्यशैली र नेतृत्वको हतियार ।’
सोमरसमा सलबलाइरहेकाहरुको अगाडि यी वृद्ध गोरसको बखान गरिरहेछन् । सोमरसले झ्याप्पै लाग्छ, गोरस लाग्ने कहिले हो कहिले ! यो होहल्लामा उनी राम्ररी सुनिएकै छैनन् । तर, विकृत वर्तमानको यही दुरावस्थाको निरन्तरता केही समय मात्रै अगाडि बढ्ने हो भने पनि दलहरुले कमजोर धागोले बाँधेर कार्यकर्ता बनाइएका नागरिकहरु चुप रहने छैनन् । उनीहरु कार्यकर्ताबाट नागरिक बन्न थाल्नेछन् र कालोलाई कालै भन्न थाल्नेछन् । नागरिक तहमा यस्तो ‘आम निराशा’ बढ्ने छ कि विकल्प त्यतिबेला रहर होइन, बाध्यता बन्नेछ । नैतिकता सडकमा लिलाम भइरहँदा, भविष्यको आकाशमा कालो बादल मडारिइरहँदा पनि कार्यकर्ताहरुको भीडले आफ्नो पुरानो आवद्धताको आडमा चुपचाप सहेको इतिहास कतै छैन । नागरिकहरुको मौन समर्थन पनि अवाक भएर चित्कार्न थाल्नेछ । त्यतिबेला भिडको नेतृत्व कसले गर्ला ? कुनै पुरानै दल रातारात रुपान्तरण भएर, पूर्वराजा वा सैनिक शासन कि वैकल्पिक राजनीतिक शक्तिले ? यो प्रश्नको उत्तर समयले निकट भविष्यमै माग्नेछ ।
नयाँ शक्तिका पुराना व्यथाहरु
अहिलेसम्म राजनीति सफा गर्नुपर्छ भनेर उनका पछाडि लाग्नेहरुको पनि रमाइलो कथा छ । पाँच वर्षमै देशको ठूलो पार्टी बनाउँछु भन्नेहरु धमाधम पुरानै घर फर्किरहेका छन् उनीहरु । तीन दशक लामो सम्बन्ध हुनेदेखि एक वर्ष लामो संगत हुनेहरुसम्म । चुनाव चिन्ह माग्दा प्रचण्डद्वारा बाबुराम हिरासतमा पुर्याइएकै बेला सह-संयोजकको जिम्मेवारी पाएका महेश कर्मोचाले पार्टी फेरे । बाबुरामले नै दिएको सह-संयोजकको सर्टिफिकेट बेचेर । जब बाबुराम अस्पतालमा अपरेशन थियटरमा थिए, उनले त्यहीबाट सलाइन लगाएका हातहरुले सन्देश लेखे, ‘मलाई व्यक्तिगतरुपमा आवश्यक केही पनि छैन । मेरो अबको बाँकी जिन्दगी तपाईंहरु र देशका लागि नै दिने हो । मैले खालि म मर्नुअघि ५ ‘स’ कार्यान्वयनको दिशामा गएको हेर्न चाहेको छु । आशा छ, तपाईंहरु सबैको साथ मैले अन्तिमसम्म नै पाउनेछु ।’ तर, तीन दशकभन्दा बढी सम्बन्ध भएका अरु सहसंयोजकहरुले फेरि पार्टी बदले । कृतज्ञताको अवतारमा कृतघ्नताको व्यापार गर्नेहरुको यो भिडमा अझै पनि बाबुराम बरालिइरहेकै छन् वैकल्पिक राजनीति बरबराउँदै ।
मोहन वैद्यले महामन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्दा प्रचण्ड ३५ वर्षका थिए । म चाहन्छु डा. भट्टराई ३० वर्षमा झरुन् र बिर्सिउन सबै सम्बन्ध, मान्यता, परिस्थिति र बन्धनहरु ।
जहाँ भावनाकै व्यापार हुन्छ र सम्बन्धहरु नाफा-घाटामा आधारित छन्, त्यहाँ भावनाको कुरा गर्नुको कुनै अर्थ हुँदैन । मलाई लाग्छ, समस्या न आउनेहरुको हो, समस्या न छाडेर जानेहरुको हो । समस्या त यहाँ बस्नेहरुको हो, जसले मान्छे ल्याउन जान्दैन र ल्याएपछि मान्छे फेर्न जान्दैन र केवल भागदौड गर्नेहरुको प्रसंशा र आलोचनामा समय खेर फालिरहन्छ । अब जड मानसिकता भएकाहरु वा विकल्पलाई बुझ्न नचाहने/नसक्नेहरु लगभग बाहिरिएका छन् । बाबुरामसँग उमेरका कारण पनि धेरै समय छैन । यसर्थ, उनले केही रणनीतिक महत्वका निर्णयहरु गर्न सक्नुपर्छ अथवा क्रमभंग गर्नुपर्छ ।
मर्यादाक्रमको पर्खाल भत्काऔं
यसको लागि बाबुराम फेरि एकपटक तन्नेरी भएर निर्णय गर्नु आवश्यक छ । संस्कृतमा एउटा श्लोक छ-
नहि जन्मनि जेष्ठत्वं जेष्ठत्वं गुण उच्यते ।
गुणात्गुरुत्वमायाति दधि दुग्धं घृतं यथा ।।
व्यवस्था परिवर्तनको लामो अभियानले स्थापित गरेको जेठो नै वरिष्ठ भन्ने मान्यता वैकल्पिक राजनीतिको बाधक हो । दूधबाट दही बन्छ र दहीबाट घिउ । पछि बने पनि घिउ नै सबैभन्दा विशेष हुन्छ । माथिको श्लोकले पनि यही संकेत गर्दछ होला । यसको अर्थ ‘मर्यादाक्रमको पर्खालहरु भत्काउ’ भन्ने हो । जिम्मेवारी दिनेक्रममा पेरिसडाँडाको सिसिएम वा ‘इकुभ्यालेन्ट’ खोज्ने सोचले आज पनि नयाँ शक्तिलाई जिस्काइरहेको छ । मोहन वैद्यले महामन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्दा प्रचण्ड ३५ वर्षका थिए । म चाहन्छु डा. भट्टराई ३० वर्षमा झरुन् र बिर्सिउन सबै सम्बन्ध, मान्यता, परिस्थिति र बन्धनहरु ।
कहिलेकाँही लाग्छ उनको जीवन टालाटुली बटुलेर बरालिँदा बरालिँदै बित्छ । नेतृत्व गर्ने अग्रचेतनाले हो, जो असाधारण पनि हुन सक्छन् तर नतिजा निकाल्ने साधारण मानिसहरुले हो । तथाकथित असाधारणहरु अर्थात् ठूला भन्नेहरुको केन्द्रीकरणले महत्वाकांक्षीहरुको सपना बाँड्ने चौतारी बन्ला, पार्टी बन्दैन । यसर्थ, अझै पनि पार्टी एकीकरण र ध्रुवीकरणको गोलचक्करमा रुमल्लिएर झर्ला र खाउँलाको भाग्यवादी भएर बस्नुहुँदैन । जसरी उनले एक्लै माओवादी छाडे र जगैदेखि नयाँ बनाउने प्रतिज्ञा गरे, त्यो मान्यतालाई कुनै पनि मूल्यमा सम्झौता गर्नुहुँदैन । भएका मानिसहरुलाई शिक्षित-दीक्षित गर्नुपर्छ । यति धेरै काम दिनुपर्छ कि हरेक अभियन्ताहरुको क्षमता उद्घाटित हुन सकोस् । केवल परिचालनविहिन स्वार्थी र अवसरवादीहरुको भिड जम्मा पार्ने र त्यही भिडको घेरालाई संसार मानेर वैकल्पिक राजनीतिको क्षितिझ पुग्न होइन, नियाल्न पनि सकिन्न । केही समय लाग्ला तर, जगैदेखि बनेको पार्टी सानै भएपनि प्रतिवद्ध र प्रभावकारी हुन्छ । अवसरको खोजीमा दैलो चहारी हिड्नेहरुको थुप्रो लगाएर बन्ने ठूलो पार्टीको परिणाम हामीले भोगिसकेका छौं ।
आवश्यकता क्रमभंगको
भनिन्छ- संसार प्रतिवद्ध मानिसहरुको सानो समूहले फेर्न सक्छ । बाबुरामले आफ्नो बाटो र शक्तिप्रति आत्मविश्वसा गुमाउँदै जाँदा भिडमाथि भरपर्ने अवस्थाको सिर्जना हुँदैगयो । यसर्थ, यो निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ र टालटुले सुधारभन्दा पनि बोल्ड डिसिजनहरु लिन आवश्यक छ । जसले कार्यकर्तामा नयाँ रक्तसञ्चार गर्न सकोस् भने नागरिक तहमा शक्तिशाली झंकार । अहिले बाबुराम संकटमा छन् र नयाँ शक्ति पनि । तर म यी संकटहरुबाट रोमाञ्चित छु किनकी यो वैकल्पिक राजनीतिको नयाँ गोरेटो खन्ने अभियानको पहलकदमी लिने विन्दू बन्न सक्छ । मलाई विश्वास छ, खराब समय कहिल्यै सकिँदैन केवल खराब मानिसहरु सकिन्छन् । यसर्थ, बाबुराम अझै पुराना टालाटुली बटुलेर पुरानै तरिकाले विकल्प दिने भनेर बरालिनु हुन्न । चुनौतीलाई अवसरमा बदल्ने ‘फिनिक्स चरा’ बन्न आवश्यक छ, जसले आफैं जलेर बनेको खरानीमा नयाँ जीवन खोज्ने साहस गर्न सक्छ । मैदान खाली छ, नवजवानहरु तयार छन्, के तपाईं तयार हुनुहुन्छ ?
The post अझै बरालिने कि बाटो लाग्ने बाबुराम ? appeared first on Sajha Post.