Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कोरियाली प्रायद्धीपमा रूस र चीनबीच प्रतिस्पर्धा कि सहकार्य ?

$
0
0

काठमाडौं । रूसले गत हप्ता कोरियाली प्रायद्धीपमा बमवर्षक विमान उडाएर आफू पनि उक्त क्षेत्रको महत्वपूर्ण पात्र भएको सन्देश दिन खोजेको छ । अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै गएको बेलामा कोरियाली प्रायद्धीपमाथि रुसी बम वर्षक विमान उडाउने कार्यले उक्त क्षेत्रको भू–राजनीतिमा नयाँ आयाम थपेको विश्लेषण पनि हुन थालेको छ ।

तर कोरियाली प्रायद्धीपमा रूसको शक्ति प्रदर्शनबारे चीनले औपचारिक प्रतिक्रिया दिएको छैन । एसिया प्यासिफिक क्षेत्रको शान्ति तथा स्थिरताका लागि रूस महत्वपूर्ण पात्र रहेको चिनियाँ धारणा रहेको छ । उत्तर कोरियाको आणविक मुद्दालाई समाधान गर्न चीन र रूसबीच सहकार्य हुनुपर्ने कुरालाई चीनले जोड दिएको छ । क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि रूससँगको सहकार्य र संयोजन महत्वपूर्ण रहेको बेइजिङले बताउँदै आएको छ ।

केही विश्वव्यापी मुद्दामा रूस र चीनले फरक–फरक अडान राख्दै आएका छन् । तर कोरियाली प्रायदीपसम्बन्धी विषयमा उनीहरूको समान धारणा रहेका पाइन्छ । मस्को र बेजिङले अमेरिका (विशेषगरी ह्वाइट हाउसका अधिकारीहरू) नै समस्याको मुख्य कारक ठान्छन् । उत्तर कोरियाको आक्रामक कदमको कारक नै अमेरिका भएको मस्को र बेजिङको बुझाइ छ ।

सुनिल बराल

बिहीबार मात्रै रुसी राष्ट्रपति पुटिनले आक्रामक, दबाबपूर्ण, अपमानपूर्ण र सैन्य शैली अर्थहीन हुने बताएका थिए । यस्तो नीतिले संकट झन गहिरिने पुटिनको धारणा रहेको छ । यसभन्दा अघि चिनियाँ राष्ट्रपति सि जिङ पिङले पनि समान विचार राख्दै आएका छन् ।

चीन र रूस उत्तर कोरियाका महत्वपूर्ण सहयोगी मुलुक हुन् । तर उत्तर कोरियामा प्रभाव बढाउने कार्यमा भने रूस र चीन लामोले विगतदेखि नै होडबाजी गर्दै आएका छन् । यस प्रकारको प्रतिस्पर्धा शीत युद्धबाट सुरू भएको थियो । रूसको सहयोगमा नै उत्तर कोरियामा कम्युनिष्ट शासन स्थापना भएकाले शीत युद्धभर उत्तर कोरियामा चीनको भन्दा रूसको प्रभाव बढी थियो । सोभियतसँगको विघटनपछि मात्रै चीनको प्रभाव बढ्न गएको थियो ।

उत्तर कोरिया र चीनबीचको सम्बन्धमा पछिल्लो पटक केही असमझदारी र दरार देखा पर्न थालेका छन् । चीनले उत्तर कोरियाली आणविक कार्यक्रमको आलोचना गर्दै कोइला आयातमा प्रतिबन्ध लगाएपछि दुबै मुलुकबीचको सम्बन्ध अझ बिग्रिन पुगेको छ । यस्तो परिवेशमा रूसले आफ्नो प्रभाव बढाउन खोजेका जस्तो देखिन्छ ।

यद्यपि कोरियाली प्रायदीपमा रूसको बढ्दो उपस्थितिले चीनको स्वार्थमा कुनै असर नपर्ने धेरैको बुझाई छ । तीव्रगतिमा आथिर्क तथा सैन्य विकास गरेको चीनसँग टकराव गर्नु रूसका लागि घातक हुने भएकाले रूसले चीनको स्वार्थमा असर पर्ने कुनै पनि कार्यमा संलग्न हुन नसक्ने विश्लेषक बताउँछन् ।

क्षेत्रीय शान्ति तथा स्थिरता कायम गर्न यी दुई शक्तिशाली मुलुकले प्रतिस्पर्धा भन्दा पनि सहकार्यमा विशेष जोड दिनुपर्ने देखिन्छ । यसले विश्वका अन्य क्षेत्रमा आपसी समझदारी कायम गर्नका लागि बल प्रदान गर्न सक्ने सम्भावना देखिन्छ ।

 

The post कोरियाली प्रायद्धीपमा रूस र चीनबीच प्रतिस्पर्धा कि सहकार्य ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles