यही श्रावण ११, १२ र १३ गते नयाँ शक्ति पार्टीको संघीय परिषद्को तेस्रो पूर्ण बैठक विभिन्न ऐतिहासिक निर्णयहरू गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । बैठकमा संयोजक डा. बाबुराम भट्टराईले ‘पार्टी स्थापनाको एक बर्ष : समीक्षा र आगामी कार्ययोजना’ शिर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा सहभागी सदस्यहरुले राखेका सुझावलाई समेटेर परिमार्जनसहित सर्वसम्मतरुपमा प्रतिवेदन पारित भएको छ ।
वैकल्पिक शक्तिको आवश्यकता :
अठारौं र उन्नाइसौं शताब्दीमा भएको औद्योगिक क्रान्तिको जगमा पुँजीवाद र साम्यवाद जस्ता दुई वैचारिक राजनीतिक धारहरू अगाडि आए । पुँजीवादले राष्ट्र-राज्य, खुल्ला बजार अर्थतन्त्र र उदार लोकतन्त्रलाई जोड दिएको थियो भने साम्यवादले नोकरशाही राज्य प्रणाली, स्वतन्त्रतामा अङ्कुश र राष्ट्रियकरणमा आधारित अर्थतन्त्रको ढाँचामा जोड दिएको थियो । यी दुवै विचारधारा र राजनीतिक प्रणालीले २१ औं शताब्दीको समाजको नेतृत्व गर्न नसक्ने प्रमाणित भैसकेको छ । तसर्थ, विश्वस्तरमा नै आज नयाँ विकल्पको खोज भइरहेको देखिन्छ । नेपाल पनि समृद्धिको युगमा प्रवेश गरेको छ । यस युगको नेतृत्व पुरानो विचार र शक्तिहरुबाट सम्भव नै छैन ।
तसर्थ, हामीले हाम्रो देशको सन्दर्भमा दर्शनशास्त्रीय हिसाबले द्वन्द्वात्मक भौतिकवादी पद्धतिमा थप विकास, अर्थशास्त्रीय हिसाबले समावेशी विकास र समृद्धिलाई सम्भव बनाउने गरी श्रम र पुँजीबीच गतिशील सन्तुलन कायम गर्दै समन्यायिक राष्ट्रिय पुँजीवादको विकास, राजनीतिशास्त्रीय हिसाबले समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्रको विकास र मनोबनोटशास्त्रीय दृष्टिकोणबाट मानवीय खुसीको वैचारिक सोच अघि सारेका छौं ।
केन्द्रमा महाधिवेशन आयोजक समिति, संक्षरक परिषद र विज्ञ परिषद गरी तीनवटा कमिटी रहने छन् । यी तीनवटै कमिटीको हैसियत बराबर हुनेछ । यी तीनवटै कमिटीको संयोजक बाबुराम भट्टराई स्वयं हुनेछन् ।
एक वर्षका महत्वपूर्ण अभियानहरू :
एक वर्षमा पार्टीले गरेका महत्वपूर्ण अभियानहरू बुँदागत रुपमा दस्तावेजमा सूचिबद्ध गरिएको छ । जस्तै : पार्टी स्थापना राष्ट्रिय भेला, क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियान, संगठन सुदृढीकरण अभियान, घर घरमा नयाँ शक्ति अभियान २०७३, पार्टी धुर्वीकरण अभियान, हिमाल पहाड, तराई-मधेश राष्ट्रिय अभियान, प्रत्यक्ष कार्यकारी राष्ट्रिपतिका लागि हस्ताक्षर संकलन अभियान, निर्वाचन चिन्ह प्राप्तिको लागि गरिएको संघर्ष, बृहत्तर जनकपुर विकासका लागि गरिएको ‘आमरण अनशन र भर्खरै बुढीगण्डकी बचाऊँ’ अभियान आदि रहेका छन ।
उपलब्धि र कमजोरीहरू :
दस्तावेजमा उपलब्धि र कमजोरीहरूको पनि गम्भीर समीक्षा गरिएको छ । परम्परागत शक्तिहरूका ठाउँमा नयाँ वैकल्पिक शक्तिको अपरिहार्यतालाई जनतासामु स्थापित गर्न, विकास, समृद्धि, सुशासन र समावेशी तथा सहभागितामूलक लोकतन्त्रको पक्षमा राष्ट्रिय बहस सिर्जना गर्न, सङ्गठनात्मक हिसाबले देशभित्र सबै जिल्लाहरूमा र देश बाहिर करिब दुई दर्जन देशहरूमा सङ्गठनको सञ्जाल निर्माण गर्न पार्टी सफल भएको छ । यहाँसम्म आइपुग्दा सबै पुराना पार्टीहरु समृद्धिको एजेण्डा बोक्न बाध्य भएका छन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा छाडेको माओवादी केन्द्रले पुनः त्यस एजेन्डालाई उठाउन पुगेका छन् । अरू ठूला पार्टीमा पनि बहसले तिव्रता पाएको छ ।
कमजोरीको समीक्षा गर्दा राष्ट्रिय जीवनका विभिन्न पक्ष र क्षेत्रबाट केन्द्रित भएका प्रतिभाहरुलाई अन्तरघुलन गरी जति मात्रामा नयाँ बनाउन सक्नु पर्थ्यो, त्यति हुन सकेन । प्रतिभाहरू पदार्थको थुप्रो जस्तो मात्र बन्न पुग्यो । संगठन तदर्थता र स्वस्फूर्ततामा चल्न पुग्यो । जसको कारण हरेक क्षेत्रमा अपेक्षित परिणाम प्राप्त हुन सकेन । हुन त नेपालको इतिहासमा यो नितान्त नौलो प्रयोग थियो । नयाँ वस्तुको आविस्कार जोखिम कै बीचबाट मात्र हुने गर्छ । यो एक बर्ष हाम्रो लागि नयाँ प्रयोग थियो ।
निर्वाचनको समीक्षा :
दुई चरणमा सम्पन्न स्थानीय निर्वाचनमा हाम्रो पार्टीलाई ९० सिट प्राप्त भएको छ । पार्टीको आकारको आधारमा अपेक्षित परिणाम प्राप्त नभएकै हो । तर जस्ता प्रतिकूलताका बीच पार्टीले निर्वाचन सामना गर्न पर्यो, त्यसको आधारमा ९० सिट धेरै नै हो । निर्वाचनका लागि हाम्रो पार्टीले ६ वटा पूर्वशर्त अघि सारेको थियो । हाम्रो पार्टी असहमतिका बीच निर्वाचनमा गएको हो । किनकि हामी लोकतन्त्रवादी हौं । निर्वाचन आयोगले चुनाव चिन्ह नदिनु, ठुला भनौदा दलहरूले पहाडी भूगोलमा चुनाव चिन्हलाई लिएर व्यापक भ्रम सिर्जना गर्नु, ठुला दलहरूको फजुल खर्च, सत्ताको दुरुपयोग आदि कारणले गर्दा पनि अपेक्षित परिणाम प्राप्त हुन सकेन। वास्तवमा हाम्रो पार्टी आत्मगत तथा वस्तुगत हिसाबले निर्वाचनको लागि तयार भैसकेको थिएन ।
कस्तो पार्टी ?
कस्तो पार्टी बनाउने भन्ने विषयमा बैठकमा घनिभूत छलफल भई आधारभूत निश्कर्षसमेत निकालेको छ । छलफलको निश्कर्ष छ- राम्रो बनाउने नाममा सीमित आदर्शवादी व्यक्तिहरूको बौद्धिक मञ्च र ठूलो बनाउने नाममा विचारहीनहरूको भीड बनाउनु हुन्न । राम्रो र ठुलो एकसाथ हुन सकिएन भने पहिले राम्रो हुने बाटो समात्नु पर्दछ । अन्ततः राम्रो चिज ठूलो हुन्छ भन्ने विश्वास राख्नु पर्दछ ।
पुराना पार्टीहरू जस्तो हामी कार्यकर्ता र मासमध्ये एउटा पक्षलाई मात्र समातेर पार्टी बनाउन चाहदैनौं । नेपालको आजको आवश्यकता भनेको जनसमुदायसँग अविछिन्नरूपले जोडिएको स्वैच्छिक स्वयंसेवी अभियन्ताहरूको पार्टी हो । कार्यबोझ हेरेर केहि पूर्णकालीन सदस्यहरू पनि बनाउन जरुरी छ । तर क्याडरवेस पूर्णकालीन पार्टी भने बनाउन हुँदैन ।
लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो । लोकतन्त्र गणितीय सूत्र वा सिद्धान्तको बिषय होइन; जीवनपद्धति हो । आन्तरिक लोकतन्त्र सुदृढ र सम्वर्द्धन गर्न नसक्ने पार्टीहरूले देशमा लोकतन्त्र किमार्थ सुदृढ र सम्बर्द्धन गर्न सक्दैन । यो हाम्रो पार्टी जीवनको स्थापनाकालीन प्रतिबद्धता हो ।
पुराना पार्टीहरूलाई बेरोजगार उत्पादन गर्ने कारखाना भने पनि हुन्छ । बेरोजगारलाई पाल्न चन्दा आतंक मच्चाउनु पुराना पार्टीहरूको बाध्यता हो । तर हामी पार्टी अभियन्ता र पार्टी वरिपरि गोल्बन्द भएका पङ्तिलाई उत्पादनमूलक क्रियाकलापमा जोड्दै लैजान्छौं । स्थानीय तहमा समृद्धि समूह गठन गठन गर्दै उनीहरुलाई अभिमुखिकरण तालिम दिँदै उत्पादनमा जोड्दै लगिने छ ।
नयाँ शक्ति पार्टीलाई वैकल्पिक शक्ति कसरी बनाउने ? ध्रुवीकरण, एकीकरणको विधिबाट वा एक्लै प्रयास गरेर । अर्थात् दुबै विधिबाट ? हाम्रो जस्तो शक्तिपूजक समाजमा जनताले शक्ति पनि हेर्ने गर्छ । वैकल्पिक बिनाको शक्ति र शक्ति बिनाको वैकल्पिक पार्टी बनाउनुको कुनै अर्थ छैन । तसर्थ वैकल्पिक राजनीतिको गुणतत्वसहित विचार र कार्यदिशा मिल्नेहरूसँग ध्रुवीकरण गर्दै जानुपर्छ । मौजुदा नेपाली राजनीतिमा रहेका पात्र, प्रवृत्ति र पार्टीहरूसित सहकार्य, संघर्ष र एकता गर्दै जानुपर्दछ ।
कतिपयले नयाँ शक्ति पार्टीलाई आन्दोलन नगर्ने शक्तिको रूपमा पनि बुझेका छन । हो, निश्चितरूपमा नयाँ शक्तिले हिजो लोकतान्त्रीकरणको लडाईंमा जस्तो ध्वंसात्मक र हिंसात्मक लडाईं गर्दैन । तर विभिन्न बिषयहरूमा सशक्त आन्दोलन भने पक्कै पनि गर्छ ।
आगामी कार्ययोजना :
बैठकले प्रदेश र संघको निर्वाचनसम्मका लागि विविध क्षेत्रको कामलाई समेटेर ठोस कार्ययोजना पनि बनाएको छ । जस्तै: वैचारिक राजनीतिक काम, संगठनात्मक काम, जनपरिचालन र आन्दोलन, चुनावी अभियान, उत्पादन/स्वरोजगार अभियान, संयुक्त मोर्चा र राजनीतिक ध्रुवीकरण आदि ।
२०७५ बैशाखमा पार्टीको प्रथम महाधिवेशन आयोजना हुँदैछ । वैकल्पिक विचार निर्माणका लागि बाहिर करोडौँ जनताको बीचमा बहस गरिने छ भने पार्टीभित्रको बहसलाई मर्यादित र व्यवस्थित गर्नको निम्ति एउटा सैद्धान्तिक बहस मञ्च निर्माण गरेर बहस गरिने छ ।
बैठकले केन्द्रीय कार्यकारी समिति विघटन गरी १५१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । साथै, डा. बाबुराम भट्टराईलाई संयोजक निर्वाचित गरेको छ । हालसम्म भर्टीकल संरचना मात्र रहेको हाम्रो पार्टीमा अबदेखि होराइजन्टल संरचना पनि रहने छ । र, त्यस अनुसार कमिटीहरु संचालन हुनेछन् । जस्तै: केन्द्रमा महाधिवेशन आयोजक समिति, संक्षरक परिषद र विज्ञ परिषद गरी तीनवटा कमिटी रहने छन् । यी तीनवटै कमिटीको हैसियत बराबर हुनेछ । यी तीनवटै कमिटीको संयोजक बाबुराम भट्टराई स्वयं हुनेछन् । व्यक्तिको क्षमता र अनुभवका आधारमा कार्यविभाजन गर्न मात्र यस्तो संरचना निर्माण गरिएको हो ।
बैठकले असौज मसान्तसम्म (दुई नम्बर प्रदेशबाहेक) सबै स्थानीय तहमा अधिवेशन गरी पूर्णाकारको कमिटी निर्माण गर्ने, निर्वाचन भएका स्थानीय तहमा स्थानीय सरकार निगरानी समिति बनाउने, विशेष अभियानहरू संचालन गर्न सामाजिक स्वयंसेवक समूहहरू बनाउने, भ्रष्टाचारविरोधी आन्दोलन सशक्त रूपमा अघि बढाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि व्यापक अभियानहरू सञ्चालन गने, विदेशमा रहेका मतदाताहरूले मतदान गर्न पाउनुपर्ने माग राखी आन्दोलन गर्ने, जनस्तरमा उत्पादनलाई जोडन स्थानीय तहमा समृद्धि समूहहरू गठन गर्ने, वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेशमा उत्पादनसँग जोड्न लगानीकोष/वित्तीय संस्था स्थापना गर्न पहल गर्ने, आसन्न चुनावलाई मध्यनजर गर्दै चुनावी गठबन्धन, संयुक्त मोर्चा र राजनीतिक ध्रुवीकरण्का लागि राजनीतिक सम्वाद समिति बनाई पहल गर्ने, सांस्कृतिक शहर काठमाडौंको सांस्कृतिक सम्पदा संरक्षणको लागि सम्बन्धित निकायलाई दवाब र जनचेतनामूलक कार्यक्रमहरू गर्ने आदि महत्वपूर्ण निर्णयहरू लिएको छ ।
(श्रेष्ठ नयाँ शक्ति पार्टी, नेपालको हालै गठन गरिएको महाधिवेशन आयोजक समिति सदस्य तथा संगठन समन्वयन तथा कार्यालय व्यवस्थापन विभागका संयोजक हुन्)
The post नयाँ शक्तिको बैठकमा के भयो ? appeared first on Sajha Post.