Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

पाँच सय मिटरको दूरीमा वैकल्पिक शक्तिहरु

$
0
0

काठमाडौं, ११ साउन । काठमाडौंको बुद्धनगर आसपास दुई स्थानमा मुलुकका तीन वैकल्पिक राजनीतिक शक्तिहरु भेला भइरहेका छन् । इन्द्रेणी फुडल्याण्डमा साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरणको घोषणा हुँदै गर्दा अर्को वैकल्पिक शक्ति डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल भने नजिकै रहेको क्वालिटी ब्यांकेटमा अबको नेपाली राजनीतिमा वैकल्पिक शक्तिको आवश्यकता र औचित्य खोजिरहेको छ ।

करिब ५ सय मिटरको दूरीमा एउटै राजनीतिक उद्देश्य बोकेर हिँडेका तर फरक पृष्ठभूमिका शक्तिहरु एकताबद्ध भएर अघि बढ्न खोजिरहेका छन् । साझा पार्टी र विवेकशील दल आजैदेखि एउटै राजनीतिक पार्टीका रुपमा अगाडि बढेका छन् भने नयाँ शक्ति नेपाल पनि वैकल्पिक राजनीतिका लागि समान विचार बोक्नेहरुसँग एकताको ढोका खुल्ला गर्दै आफ्नो केन्द्रीय परिषद सदस्यहरुबीच दुई दिने छलफलमा व्यस्त छ ।

इन्द्रेणी फुडल्याण्ड त्यही स्थान हो जहाँ पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमाओवादीका वरिष्ठ नेता भट्टराईले आफ्नो पुरानो राजनीतिक आवद्धता त्यागेर नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको नेतृत्व गर्ने घोषणा गरेका थिए । सोही फुडल्याण्डमा बाबुरामले घोषणा गरेको नयाँ शक्ति निर्माण अभियानको ३५ सदस्यीय कमिटीको एक सदस्य रहेको मुमाराम खनाल अहिले साझा पार्टीका तर्फबाट नयाँ बन्ने दलमा सहभागी हुँदैछन् । विगत दुईदिनदेखि बुद्धनगरकै क्वालिटी ब्यांकेटमा नयाँ शक्तिको केन्द्रीय कार्यकारी समितिको बैठक चलिरहँदा साझा पार्टी र विवेकशीलले बुद्धनगरकै इन्द्रेणी फुडल्याण्डमा उक्त एकता घोषणास्थल चयन गर्नु संयोग मात्रै हुनसक्छ तर स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेपछि साझा पार्टी र विवेकशील जसरी नजिकिए त्यसरी नै भविष्यमा वास्तवमै वैकल्पिक राजनीतिको भविष्य खोज्ने हो भने नयाँ शक्ति र नवगठित साझा विवेकशील दलहरु नजिकिनु पर्यो भने त्यो संयोग मात्रै हुने छैन, समयको आवश्यकता पनि हुन सक्छ । यो तर्क किन पनि गर्न आवश्यक छ भने यसअघि निर्वाचनमा असफल नहुँदासम्म साझा पार्टी र विवेकशील एकताको लागि तयार थिएनन् ।

साझा र विवेकशीलको एकताले वैकल्पिक राजनीतिको मैदानलाई बलियो बनाउने काम अवश्य गर्नेछ । वैकल्पिक राजनीतिले हस्तक्षेपकारी भूमिका खेल्दै अगाडि आउन सक्दैन कि भन्ठान्ने तर वैकल्पिक राजनीतिलाई माया गर्ने जमातलाई पनि यसको पक्षमा दह्रोसँग लाग्न बल पुग्नेछ ।

यो एकताले पैदा गर्ने भावले खासगरी उपत्यका र अन्य सहरहरुमा वैकल्पिक राजनीतिको जग बलियो बनाउँदै प्रगतिउन्मुख सामाजिक आन्दोलनको विकासमा टेवा पुर्याउने विश्वास लिन सकिन्छ ।

यद्यपी नेपालको राजनीतिको दुई आयाममध्ये ठूलो र महत्वपूर्ण भाग शहरबाहिरको राजनीतिमा भूमिका खेल्न यो एकता मात्र मनग्ये नहुन सक्छ । विभिन्न पेशा व्यवसाय र स्वतन्त्ररुपमा यी पार्टीहरुमा आवद्ध सदस्यहरुलाई राजनीतिकरण गर्दै समृद्धिको नेतृत्व गर्न अबको जोड नयाँ शक्तिसँग एकता गर्नु हुनेछ । नेपालमा वैकल्पिक राजनीतिक धारतिरै अगाडि बढाउन पर्छ भने साझा विवेकशील पार्टीले पनि नेपालको राजनीतिको रुलिङ टेरोटोरी भनेको मोफसल हो र मोफसलमा राजनीतिक हस्तक्षेप भएन भने यहाँको राजनीतिमा हस्तक्षेप गर्न सकिन्न भन्ने मान्यतालाई अंगीकार गरेर अबको एकता नयाँ शक्तिसँग गर्न हिच्किचाउन हुँदैन ।

सरोज गौतम

वैकल्पिक राजनीतिको कोर भ्यालू भनेको समृद्धि, पारदर्शिता, सुशासन, इमान्दारिता र इन्क्लुसिभ मेरिटोक्रेसी हो जुन नेपालका वैकल्पिक राजनीतिको वकालत गर्ने तीन वटै शक्ति साझा पार्टी, विवेकशील र नयाँ शक्तिले मूलभूत रुपमा अंगालेका छन् । भर्खरै फ्रान्समा राष्ट्रपति निर्वाचित इम्यानुअल म्याक्रोन भन्छन्, ‘हामीलाई त्यस्ता मान्छेहरुको समूह चाहिएको छ जसले असम्भव लाग्नेजस्ता सपना देख्न सकोस्, जो एक दुईपटक असफल भए पनि आफ्नो त्यो सपनाको महत्वाकांक्षा लिएर लक्ष्य पूरा गर्ने यात्रामा कटिबद्ध होस् ।’ उनको यो भनाइलाई मान्ने हो भने अबको नेपाली राजनीतिमा पुरानै सोच र पुरानै प्रवृत्तिबाट न त जनताले अपेक्षा गरेअनुसारको राजनीतिक परिवर्तन सम्भव छ, न त विश्व साम्राज्यमा देखिएको पुँजीवादी राज्यसत्ताका विरुद्ध जानका लागि समाजवादी आन्दोलनको आधार नै बन्दछ । किनभने असम्भव लाग्ने कुराहरुको सपना देखेर त्यसलाई सम्भव बनाउने कुरा मात्र होइन, अहिले नेपाली राजनीतिको परम्परागत ढर्रालाई हेर्ने हो भने सम्भव हुने कुरा पनि वर्तमान राजनीतिक दलहरुको कार्यशैली, नेतृत्व प्रणाली र विचारबाट असम्भव देखिन्छ ।

अबको राजनीतिमा कोरा राजनीतिक सिद्धान्त र परिवर्तनका कुरा मात्र नगरीकन आर्थिक समृद्धि र विकासका कुराहरुलाई पनि सँगै लैजान सक्ने सपना देख्नुपर्छ, जुन वैकल्पिक राजनीतिक शक्तिबाट मात्र सम्भव छ न कि राजनीतिक शक्तिहरुबाट । समृद्धिको लागि सहकार्य आवश्यक छ । यो सानातिना विमतिलाई बढोत्तरी दिने भन्दा सानातिना सहकार्यका सम्भावनालाई पनि बढोत्तरी दिने कार्यबाट सम्भव छ । विवेकशील र र साझा पार्टीको एकताले नयाँ ढंगको वैकल्पिक शक्ति निर्माण गर्न सक्यो भने यो नयाँ शक्तिलाई चुनौती हुनेछ तर सकरात्मक । विगतको कथा भनेर बस्ने अभ्यास त्यागेर राजनीतिमा वैकल्पिक स्वाद दिनेतिर नयाँ शक्ति लाग्ने हो भने एउटा सकरात्मक माहोल बन्न सक्नेछ ।

फ्रान्सजस्तो शक्तिशाली देशमा वैकल्पिक राजनीतिले हस्तक्षेपकारी स्थान बनाउनु र परम्परागत शक्तिहरु एकसाथ मुलधारबाट बाहिरिनुले वैकल्पिक राजनीति दोस्रो वा तेस्रो विश्वका मुलुकमा मात्रै होइन, पहिलो र शक्तिशाली मुलुकमा समेत हस्तक्षेपकारी तरिकाको विकास हुँदै गरेको पाइन्छ ।

यसले चम्किलो सूर्यको जस्तो आशाको झल्को देखाएको छ । नेपालमा पनि वैकल्पिक राजनीति गर्ने या शासन गर्ने नाममा राज्यका संरचनागत क्षमता कमजोर पार्नेदेखि नीतिगत भ्रष्टतादेखि भ्रष्टहरुको सञ्जाल बलियो पार्न जे गरिरहेका छन्, यसलाई तोड्दै समाजलाई पारदर्शी र राज्यका संस्थाहरुलाई बलियो र क्षमतावान् बनाउने असम्भव जस्तै लाग्ने महत्वकांक्षा पूरा गर्ने आँट गर्नुपर्छ ।

साझा पार्टी र विवेकशीलबीचको एकतामा नेपालको प्रत्येक राजनीतिको धार निमार्णमा रहेको युवाहरुको भूमिकालाई महत्व दिँदै नेतृत्वमा युवाहरुको बाहुल्यता सुनिश्चित गर्नु प्रशंंसनीय छ । तत्काल तीनवटै शक्तिहरु मिल्न नसकेपनि वैकल्पिक पार्टीबीच समाजमा तत्काल देखिने समस्याका बीचबाट सामाजिक र आर्थिक आन्दोलन सिर्जना गर्न भ्रष्टाचार विरोधी आन्दोनजस्तै गोविन्द केसीको आन्दोलन, बुढीगण्डकी काण्ड, चुडामणि शर्मा भ्रष्टाचार प्रकरणलगायतका आन्दोलनका साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको लागि एकसाथ कार्यक्रमिक हिसाबले एक भई कार्यक्रम गरेर नयाँ राजनीतिक संस्कार सुरुवात गर्न सक्नेछन् । यस्ता सहकार्यले पाँच सय मिटरको यो दूरीलाई घटाउँदै एउटै पार्टी बनाउन भूमिका खेल्ने विश्वास लिन सकिन्छ ।

The post पाँच सय मिटरको दूरीमा वैकल्पिक शक्तिहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles