झण्डै २ साताअघि नेपाल सरकारका एक बहालवाला मन्त्रीले अमेरिकाको न्युयोर्कमा नेपाली समुदायसंगको अन्तक्रियामा दिएको मन्तव्यले यो पंक्तिकारको मन प्रसन्न भयो । नेपाली राजनीतिले विस्तारै ब्यूटिफिकेशन पाईरहेको हो कि भनेर पंक्तिकार दंग भयो । मन्त्रीज्यूले बोलेका धेरैजसो कुराहरु स्पष्ट र सत्यको नजिक भएको ठहर गरेँ मैले । सोँचे, यस्तै मान्छे राजनीतिमा आउने हो भने त देश बदलिन धेरै लाग्ने छैन
मलाई सुध्रनै लागेको नेपाल छाडेर अमेरिका भासिएकोमा पश्चात्तापले पोल्न थाल्यो । माथिको कुराले खटपटी भएपछि हिजोमात्रै नेपालमा केही आफन्तहरुलाई फोन गरेँ । नेपालको सरकारी स्कूलमा उच्चमाध्यमिक तहमा पढाउनेदेखि निजामती सेवाका उच्चपदस्थ आफन्तहरुसंग कुरा भयो ।
सबैसंग भएको कुराको एउटै सार थियो, ‘देशको सबै क्षेत्र तहस-नहस छ, सकारात्मक कुरो केही छैन । अमेरिका भासिएर बडो राम्रो गरिस्, भनेर मैले वाहावाही पाएँ । अमेरिकाको सबै कुरो त छोटो भेटमा के सुनाउनु र मैले लाचारीले टाउको हल्लाएँ ।
कुरो अघि बढ्दै जाँदा सरकारी उच्च माध्यमिक तहसम्म पढाउने दाजुलाई सोधेँ, ‘दाजु छोरा-छोरी त हजुरले पढाउने स्कूलमै पढ्छन नि हैन ?’ दाजुले उत्तर दिए, ‘कहाँको पढ्नु र बाबु, छोरो काठमाडौंको महंगो स्कूलमा पढ्छ, छोरीले अमेरिकाको युनिभर्सिटीमा अप्लाई गर्दैछिन् ।’
‘ए त्यसो भए मासिक खर्च धेरै छ त तपाईंको ! खर्च कसरी चलाउनु भाछ ?’ मैले सहानुभूति दिँदै सोधेँ ।
दाजुले उत्तर दिए, ‘यसो प्राईभेट कलेजमा १-२ पिरियड लिन्छु, जसोतसो चलेकै छ ।’
दाजुलाई आफैँले पढाउने स्कूलमा किन नपढाएको त छोराछोरी भनेर सोधेको, छेवैकी भाउजू कड्किहालिन्, ‘कहाँको पढाउनु नि बाबु ! साथीभाइका छोरा-छोरी सबै बोर्डिंग स्कुलमा पढ्छन्, फेरि के राम्रो पढ़ाई हुन्छ र सरकारी स्कूलमा ? सबै गरीबका छोराछोरीहरुले पढ्छन्, न समयमा शिक्षक आउँछन्, न राम्रो पढाउँछन् । स्टयाण्डर्ड पनि त मेन्टेन गर्नुपर्यो नि !’
त्यतिबेलै मुखभरीको जवाफ दिउँ कि जस्तो लागेको थियो, तर आफैँले-आफैँलाई चुप लाग्न ख़बरदारी गरेँ । त्यसदिनको कुराकानी सकियो तर मेरो मनमा एउटा प्रश्नले जोडदार रुपमा घच्घच्याईरह्यो । आफू अमेरिका जाने अरुलाई खुब सम्झाउने भएछ भन्ने हुन् कि भनेर म सतर्क भएँ ।
अमेरिकामा शिक्षामा गरिएको लगानी र नागरिकले निभाएको कर्तव्य देख्दा कतै सपना त होईन भनेर झस्किन पुग्छु म । तर विपना नै हो । यहाँको शिक्षण/सिकाई क्रियाकलाप, विद्यालयको वातावरण, जिम्मेवारीपन र गुणस्तर देख्दा नेपालमा ५ वर्षे भाञ्जीले ढाड बाङ्गो हुनेगरी बोकेको किताबको भारी र सरकारी विद्यालयको पढाईको झलझली याद आउँछ ।
आख़िर समस्या कहाँनिर छ त ? कुरो बुझ्दै जाँदा थाहा भयो, ‘अस्ति न्युयोर्कमा ब्यूटिफिकेशनको कुरा गर्ने मन्त्रीज्यूका छोरा-छोरी पनि अमेरिकामै पढ्ने रहेछन् । शिक्षक त के बहालवाला मन्त्री, भू.पु. मन्त्री, निजामति कर्मचारी र व्यापारी सबैले आ-आफ्ना छोराछोरी या त महँगा निजी स्कूल या त विदेशमै पढाउँछन्, पढाएकै छन् । मेरो ति माननीय मन्त्रीप्रति र मेरा दाजुप्रतिको श्रद्धा त्यतिखेरै स्खलित भयो ।
देशका अंगअंग क्षत् विक्षत् छन् । सकारात्मक कुरा लेख्छु भन्छु, कलमले लेख्नै मान्दैन । खबरहरु सुखद् छैनन, अनि लेख्नु के !
मेरा आफन्त दाजु र अस्ति राजनीतिमा एकैपटक परिवर्तन त हैन तर विस्तारै ब्यूटिफिकेशन ल्याईछाड्ने प्रतिवद्धता व्यक्त गर्ने बहालवाला मन्त्री त प्रतिनिधि पात्रमात्र न हुन्, देशका सबैजसो लो-प्रोफ़ाईलदेखि हाईप्रोफ़ाईल व्यक्तिहरुको वास्तविकता माथि उल्लेख गरेजस्तै देखिएको तितोसत्य हो ।
आफैंले पढाउने विद्यालयमा आफ्ना छोराछोरी नपढाउनु भनेको आफ्नै योग्यतामा आफै विश्वस्त नहुनु हो ।
आफ्नै देशमा आफ्ना छोराछोरी नपढाएर विदेशमा छोराछोरी पढाउने राजनीतिज्ञले देशका शिक्षणसंस्था बलियो बनाउन कसरी सक्लान ? यो पनि देशप्रतिको चरम ग़द्धारी हो ।
सामान्य उपचार गर्न पनि राज्यको ढुकुटी दोहन गरि विदेश जाने नेतृत्वबाट हामीले के सिक्ने ? जुन देशमा नागरिकले सिटामोल नपाएर मर्छन्, त्यहि देशका नेता युरोप अमेरिका ज्वरो जचाउँन पुग्छन् ।
आज भने मैले घोरिएरै सोँचे ।
जनताको करबाट तलब खाने शिक्षकले राम्ररी पढाएको भए आज आमजनताका छोरा-छोरीहरु पनि महत्वपूर्ण ठाउँमा हुन्थे । मजस्ता कैयौँ युवक खाडी, युरोप र अमेरिका भासिने थिएनन् ।
आफ्ना छोराछोरी विदेश नपठाई स्वदेशमै पढाएको भए कमसेकम सुविधा सम्पन्न अस्पत्ताल तथा राम्रा नीति, योजना र कार्यक्रम बनाउन सक्थे । जसको फल हामी सबैले पाउँथ्यौं ।
उपरोक्त समस्या हुनुमा सबै दोष राजनीति र निजामती प्रशासनलईमात्र दिएर पनि हुँदैन । नागरिक खबरदारी पनि जरुरी थियो, त्यो हुन सकेन । झिनो तलब लिएर बोर्डिंग स्कूल पढाउने शिक्षकको अभिभावकद्वारा निरन्तर अनुगमन भईरहँदा राज्य कोषबाट तलब खाने सरकारी शिक्षकहरुलाई न त नागरिक अनुगमन गरियो न त सरकारले निगरानी नै गर्यो ।
बरु शिक्षकहरुलाई राजनैतिक पार्टीको झण्डा ओढाएपछि शैक्षिक गुणस्तर निरन्तर खस्किरह्यो, एस.एल.सी परीक्षामा सामुदायिक विद्यालयको नतिजा हास्यास्पद् भो, लाखौँ गरीबका छोरा-छोरीहरुलाई अयोग्य बनाईयो र अरबमा श्रम गर्न बाध्य बनाईयो ।
तिनै सरकारी शिक्षकहरुले निजी बोर्डिंग स्कूलमा लगानी गरे, राजनीतिबाट बचेखुचेको समय आफ्नै स्कूलमा लगाए, कुनै एउटा राजनैतिक दलको नेताको चाकरी गरेर विद्यालय पढाउन नगई गरीबका छोराछोरीहरुको भविश्य अन्धकार पारे ।
हुन त सरकारी विद्यालयमा शिक्षाको गुणस्तर ओरालो लाग्नुमा राजनीति मात्र जिम्मेवार छैन । तर सरकारको कमजोर अनुगमन प्रणाली र शिक्षकको अल्छीपना तथा नागरिक अनुगमन फितलो हुनु यसको मूख्य कारण हो । विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने मञ्च भएपछि कसको के लाग्नु र ?
अन्त्यमा,
सरकारी कोषबाट तलब खाने शिक्षक, कर्मचारी तथा नीति निर्माण तहमा हुने व्यक्तित्वहरुले कुराचाहिँ चिल्ला गर्ने तर व्यवहारमा केही लागु नगर्ने हो भने …, राजनीतिज्ञहरु उपचार गर्न विदेश जानै पर्ने र शिक्षकहरुले आफूले अध्यापन गर्ने संस्थामा नपढाई निजी स्कूलमामात्र छोराछोरी पढाउने हो भने …, सरकारी डाक्टरहरु क्लिनिक तिरमात्र झुकाव राख्ने र राष्ट्रको ढुकुटीबाट तलब भत्तामात्रै पचाउने हो भने …, अनि निर्णायक तहमा पुगेकाहरुले आफ्ना छोराछोरी विदेशमात्रै पढ्न पठाउने हो भने …, जनताका छोराछोरी खाडी जानुपर्ने दिन कहिल्यै रोकिने छैन ।
हामी एक अर्कालाई दोषारोपण त गरिरहौंला, तर भावी सन्ततिले हामीलाई धिक्कार्ने छन् । भोलि कुरो छर्लङ्ग हुनेछ, बिगार्ने को, तपाई या हामी ? तर कसले सुरु गर्ने सपार्न ? म त अलमल्ल छु ।
देश बनाउन कसले सुरु गरोस् र खै ? बरु आउनुस्, मिलेर अमेरिका छिरौं !
The post आउनुस्, मिलेर अमेरिका छिरौं ! appeared first on Sajha Post.