Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘यसरी आफ्नो गाउँ आफैँ बनाउन सकिन्छ’

$
0
0

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तिगतरुपमा यस्तो चाहना पूरा गर्न सक्दैनन् । हुन त राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो, तापनि हाम्रो जस्तो अन्योलग्रस्त राजनीतिबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पूरा हुने देखिँदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रैजस्तो भुपरिवेष्टित छिमेकी मुलुक भुटानले शिक्षा र स्वास्थ्यजस्तो जनसरोकार राख्ने सामाजिक सेवाको क्षेत्रमा जनताको समान पहुँच हुनेगरी दुवै क्षेत्र निःशुल्क गरेको छ ।

त्यस्तै ग्रामिण स्तरमा कृषि कार्यमा संलग्न किसानहरुलाई विद्युत सुविधासमेत निःशुल्क गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्न कुल भू-भागको ७२ प्रतिशत वन जंगल क्षेत्र विस्तार गरेको छ । त्यस्तै आफ्नो भाषा र परम्परागत भेष-भूषालाई जीवन्त बनाएको छ । यस्ता गतिविधिमा हाम्रो राज्य पनि जिम्मेवार बन्नुपर्ने हो । विडम्बना, त्यसो हुन सकिरहेको छैन ।

प्रकाश श्रेष्ठ
प्रकाश श्रेष्ठ

हामी आपसमै टिकाटिप्पणीहरु गर्न अभ्यस्त छौ । यसैले अब नागरिक तहबाटै केही गर्न जुट्नुपर्छ । स्वदेशमा बस्ने र रोजीरोटीको लागि विदेशिएका तमाम नागरिकले कम्तिमा आफू जन्मेको जन्मभूमिलाई सकेको सहयोग तन, मन र वचनले गर्नकोलागि तयार हुनुपर्छ । अब सरकारको भरमात्र नपरी आफ्नो गाउँ, शहरमा सबै निश्चित रुपमा जुटेर सरकारी क्षेत्र र अन्य सामाजिक संस्थाहरुसँग सहकार्य गरि समाजका हरेक सामाजिक सेवाहरुमा सबैको समान पहुँच दिलाउनकोलागि अघि बढ्नुपर्दछ । यो कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सानो विचार र धारणा प्रस्तुत गर्ने जमर्को यो छोटो आलेखमा मोटामोटीरुपमा गर्न खोजिएको छ ।

मुलत: कुनै न कुनै कामको सुरुवात गर्नकोलागि भित्री ईच्छा शक्ति र चाहना हुनु जरुरी छ । त्यसपश्चात त्यसलाई नेतृत्व गर्न सक्ने आँट र विश्वास अर्को पक्ष हुन आउँछ । तत्पश्चात सबैलाई समेटेर समान लक्ष्य प्राप्तिमा डोहो-याउन सक्ने र अरुलाई विश्वास दिलाउन सक्ने क्षमता र कलाको जरुरत पनि आवश्यक छ । कुनै काम सफल हुनकोलागि उपयुक्त सपना देख्नैपर्छ । सपनालाई साहाकार पार्नकोलागि भरपर्दो योजना र योजना पूरा गर्ने उपायहरु वा बाटोहरु उपयुक्त छान्नु पर्ने हुन्छ । त्यसपछि योजनाको सफल कार्यान्वयन भएपछि बल्ल तोकिएको लक्ष्य प्राप्त हुनसक्छ । अब कुरा गरौँ कसरी सामाजिक सेवाको लागि जनस्तरबाट सहयोग जुटाउन सकिन्छ र सहयोग जुटाउन सकिने आधार के के हुन सक्छन् ?

सबैभन्दा पहिला त अहिलेको आधुनिक संचारको विस्तार र पहुँचलाई ध्यानमा राख्दै संसारभरी छरिएका सबै जानपहिचान भएका साथीहरु र सबै व्यक्तिहरुसँग सामाजिक संजालमार्फत आपसमा कुराकानीलाई अगाडी बढाउने । यसरी कुराकानी र कामको लक्ष्य व्यापक भौगोलिक क्षेत्रलाई लक्षित गरेरभन्दा पनि आफू जन्मेको सानो गाउँ र सहरमा जन्मेकोले वडा तहमै भएको क्षेत्र छनोट गरेर कुराकानीलाई अगाडि बढाएर समाज सेवाबारे आफ्ना विचार र धारणाहरु प्रस्तुत गर्ने । यस किसिमको भावनामा साथीहरुको सहमति देखिएमा धेरै साथीहरु र आफ्नो नेराघेराका सबै व्यक्तिहरुलाई ग्रुप च्याटमा जोडेर संसारभरीका सबै गाउँले वा सहरी वडाको सवै व्यक्तिहरुबीच बहस अगाडि बढाउने । जुन बहसमा आफ्नो ठाउँमा के कसरी शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरुमा सहयोग जुटाएर संस्थागतरुपमा काम गर्ने त्यसतर्फ व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरि काम गर्नकोलागि आपसी सहमति जुटाउने र दीर्घकालीन रुपमा कसरी आर्थिक स्रोत जुटाउन सकिन्छ, त्यसबारे पनि छलफल गर्ने । कस्तो संस्था खोल्ने ? के कस्तो संरचना तयार गर्ने ? व्यवस्थापन कसरी गर्ने ? स्वदेश र विदेशमा बस्नेबीच कसरी सम्बन्ध स्थापित गर्ने ? संस्थाको कार्यक्षेत्र के कस्तो निर्धारण गर्ने ? दीर्घकालसम्म अविच्छिन्नरुपमा संस्था कसरी अगाडि बढाउन सकिन्छ ? आदिबारे व्यापक छलफल गर्ने र निश्चितरुपमा सबै कुरामा सहमति भएपछि संस्था दर्ता र विधी विधान बनाउन स्वदेश र विदेशमा बस्नेहरु सबैको प्रतिनिधित्व हुने गरि कार्यसमिति गठन गरि आवश्यक प्रक्रियाअगाडि बढाउने गर्नुपर्छ ।

यो प्रयासबाट यस्तो संस्था निर्माण हुन सकोस्, कम्तिमा पनि संस्थामाआबद्ध सदस्यहरुले प्रत्येक वर्ष कमसेकम एकपटक एक दिनको कमाई र अरु बढी सहयोग गर्न चाहेमा अरु थप सहयोग पनि गर्न सकिने हुनुपर्यो । त्यस्तै संस्था विशुद्ध राजनीतिक प्रभावबाटमुक्त संस्था बन्नु पर्यो, जसले मुख्यरुपमा सामाजिक सेवामा काम गर्न सदस्यबाट संकलित आर्थिक सहयोगको साथै अन्य दातृ संस्था, सरकारी निकाय र व्यक्तिहरुबाट प्राप्त आर्थिक एवम् भौतिक सहयोगको उपयोग गर्दै समाजमा पु-याउनु पर्ने अत्यावश्यक सामाजिक सेवाहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सडक, खेलकुदलगायत क्षेत्रमा सहयोग गर्ने र त्यस्तो सहयोग गर्दा निश्चित लक्ष्यसहित परियोजना निर्माण गरि प्रत्यक्ष संस्थाको निगरानीमा काम गर्नुपर्ने हुन्छ । त्यस्तै संकलित कोषको केही प्रतिशत अक्षय कोष स्थापना गरि उक्त कोषको रकमलाई भरपर्दो बैंकमा खाता खोली निश्चित ब्याज आउने गरि लगानी गर्नुपर्छ । त्यस्तै आवश्यकताअनुसार सामाजिक चेतना फैलाउने कामका अतिरिक्त व्यवसायिक अल्पकालीन सीपमूलक तालिम, स्वरोज़गार सिजना गर्ने तालिम र वर्कसप तथा अभिमुखीकरण कक्षा संचालन गर्नेसमेत गर्नुपर्दछ । त्यस्तै संस्था आर्थिकरुपमा सबल हुँदै गएमा थप आर्थिक आय-आर्जन र कोषको विस्तार गर्नकोलागि अन्य आयआर्जन हुने कामहरु, जस्तै बैक तथा विक्तिय संस्था, व्यवसायिक संस्था , आयआर्जनसम्बन्धी व्यवसायिक कृषि कार्यसमेत गर्न सकिन्छ, जसबाट थप हुन आएको आम्दानीलाई पुन: सामाजिक सेवाको क्षेत्रमै प्रवाहित गर्न सकिन्छ ।

यसै सन्दर्भमा यस्तै प्रयासस्वरुप छलफलमा जुटिएको एक संस्थाको भविश्यमा गरिने कामको मार्गचित्र र प्राम्भिक कार्य जुन संस्था स्थापनार्थ गर्नुपर्ने हुन्छ त्यसबारे मोटामोटी तय गरिएको खाँका यहाँ प्रस्तुत गरिएको छ । जुन उदाहरणकोरुपमा व्यक्त गरिएको छ, जसलाई अन्य क्षेत्र वा स्थानका व्यक्तिहरुले पनि अनुसरण गर्न सक्नेछन् ।

खाका:

यस नारायण स्थान, बलेवा बाग्लुङ स्थायी घर भई स्वदेश तथा विदेशमा रहने आम महानुभावहरुलाई यस गाउँको हरेक सामाजिक सेवाहरुलाई सुविधायुक्त र स्तरीय बनाउनकोलागि सबैलाई एक सूत्रमा बाँधेर अगाडि बढ्नकोलागि एउटा अविच्छिन्न उत्तराधिकारी गैरसरकारी समाजिक संस्था स्थापना गर्न खोजिएको छ । जसले मुलत: शैक्षिक क्षेत्रको आधुनिक विकासलाई प्राथामिकता दिने साथै जनस्तरमा भरपर्दो स्वास्थ्य सेवा पु-याउन र अन्य सामाजिक सेवाहरुलाई पनि सबै गाउँबासीहरुको पहुँच र सर्वसुलभता कायम गराउन ठोस प्रयास गर्ने, जुन कामलाई सबैले देख्नेगरी परिमाण र परिणाममुखी बनाउनकोलागि प्रयत्नशील रहने ।

यसरी निर्माण हुने संस्थामा सकभर सबै नारायणस्थानवासीको घरधुरी र व्यक्तिहरु नछुटाई सबैलाई साधारण सदस्य वितरण गरेर निश्चित संजालमाआवद्ध गर्दै संस्थामा समाहित गर्ने र सबैलाई सामाजिक उत्तरदायित्व र आपनत्वको भावना अभिवृद्धि गर्ने । यसलाई मुलरुपमा आफैँमा समर्थ्यवान संस्था बनाएर यही संस्थाको मातहतमा र अनुगमनमा सामाजिक सेवाहरुमा सहयोग र परियोजनाहरु सञ्चालन गर्ने यहाँ कुनै पनि निश्चित कार्य पक्षलाई परियोजना भन्ने बुझिने छ ।

यस्तो काम गर्दा सदस्यहरुबाट उठाईने वार्षिक सहयोग र सरकारी अनुदान, अन्य दातृसंस्थाहरु, सामाजिक संस्थाहरु र व्यक्तिहरुबाट प्राप्त हुन आउने सहयोगलाईसमेत परिचालन गरिने छ । संस्थाको आर्थिक आम्दानी र आर्थिक गतिविधीलाई दीगो राख्न वार्षिकरुपमा कम्तिमा पनि एक दिनको कमाईलाई अनिवार्य गरिनेछ र थप सहयोग गर्न चाहनेहरुबाट प्राप्त थप रकम सहर्ष स्वीकार गरिनेछ । यसरी जम्मा हुन आएको आर्थिक सहयोगको रकमबाट बनेको कोषमध्ये निश्चित प्रतिशत अक्षयकोषकोरुपमा विकास गरिँदै लगिने छ ।

 

मुलभूतरुपमा यस संस्थाबाट यस प्रकार कार्य अगाडी बढाउने सोच बनाईएको छ:

१. स्वदेश तथा विदेशमा रहने सबै व्यक्तिहरु (स्वरोजगार वा रोजगारमा संलग्न व्यक्तिहरु, व्यवसायीहरु, व्यापारीहरु, किसानहरु, मजदुरहरु, विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलगायत सबै व्यक्तिहरुलाई सुरुमा निश्चित सञ्जालमा जोडिने वा समूहमाआबद्ध गरिनेछ ।

२. यसरी सहभागी व्यक्तिहरुमध्ये निश्चित व्यक्तिहरुलाई सबैलाई समेट्नेगरी संस्था स्थापना र संचालानार्थ कार्यसमिति गठन गरिने छ । जसमा स्वदेश तथा विदेशमा रहने नेपालीहरुको संलग्नता रहनेछ र त्यसमध्ये पनि स्वदेशमा रहनेलाई संस्था दर्तालगायतका काम गर्न विधान बनाउनेदेखि कानुनी प्रकृया पूरा गरी संस्थाको दर्ता गराउने जिम्मा दिईनेछ ।

३. यस संस्थामा सबैलाई सुरुमा सहभागी बनाउन सदस्यता शुल्कसहित संस्थाको साधारण सदस्य बनाईने र आवश्यकताअनुसार विधानले तोकेअनुसार सदस्यहरुका प्रकारहरु पनि तय गरिने छ ।

४. यो संस्था विशुद्ध सामाजिक संस्था र राजनीतिबाट कुनै प्रभाव नपर्ने संस्थाको रुपमा विकसित गरिने छ ।

५. यो संस्थामा आबद्ध सदस्यहरुले जीवनकाल र आयआर्जन गर्न सक्ने बेलासम्म कम्तिमा वर्षको एकपटक कम्तिमा पनि एकदिनको आम्दानी संस्थाको कोषमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने छ ।

६. यो संस्थाले शैक्षिक विकासविना समाज परिवर्तन गर्न सकिँदैन भन्ने मान्यता राखी पहिलो प्राथमिकतामा शिक्षालाई जोड दिएर काम गर्ने छ, जसअन्तर्गत गाउँमा रहेको सबै स्कूलहरुलाई समान हैसियतको शिक्षाकोस्तर र भौतिक सुविधाहरु एवं शैक्षिक गुणस्तर कायम गर्न निश्चित योजना बनाएर कार्यान्वयन गर्नेछ र यसै संस्थाको पूर्ण निगरानीमा काम सञ्चालन गरी आवश्यक काम सम्पादनपश्चात स्कूललाई हस्तान्तरण गरिनेछ र स्कूलले उपलब्ध सेवा-सुविधालाई उचितरुपमा सञ्चालन नगरेको ठहर गरिएमा आउँदा दिनहरुमा त्यस्तै कामकालागि आवश्यक आर्थिक सहयोग पाउनबाट बञ्चित गरिनेछ । साथै उच्च शिक्षा र कलेज तहको शिक्षालाईसमेत विकास गर्न आवश्यक सहयोग गरिनेछ । त्यस्तै एउटा सार्वजनिक पुस्तकालय गाविसमा पायक पर्ने स्थानमा स्थापना गर्न सक्दो पहल गर्ने र त्यसलाई अध्ययन र खोज केन्द्रकोरुपमा विकास गर्न सकिनेछ । यसकालागि दातृ संस्थाहरुको सहयोग र स्वयम् संस्थाको पनि लगानीबाट निर्माण गरिनेछ ।

७. शैक्षिक क्षेत्रपछि अर्को महत्वपूर्ण क्षेत्र स्वास्थ्य सेवालाई भरपर्दो र सबैको सर्वसुलभता र सामान्य स्वास्थ्य सेवा गाउँमै उपलव्ध हुने वातावरण सृजना गर्न अस्पतालको निर्माण र एम्बुलेन्स सेवाहरु साथै सामान्य चिरफार, एक्स रे र हातखुट्टा फ्याक्चर हुँदा प्लास्टरसम्म गर्ने सुविधा गाउँकै स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरि सरकारी निकाय र अन्य सहयोगी संस्था र व्यक्तिको सहयोग जुटाउन सक्रियरुपमा लागिने छ र कार्यान्वयन गरिने छ ।

८. अन्य सामाजिक सेवाहरुजस्तै (खानेपानी , सरसफाई , पोषण कार्यक्रम , सडक, विद्युत-टेलिफोन सेवा साथै खेलकुद विकास, असहाय बालबालिका, असहाय वृद्धहरुको संरक्षणमा सहयोग गरिने छ । त्यस्तै स्वरोजगार र व्यवसायिक आयआर्जनसम्बन्धी तालिमहरु संचालन गरि युवाहरुलाई मुलुकभित्रै जिविका उपार्जनको बाटो देखाउन सहयोग पुर्याईने छ ।

९. समग्र गाउँको गुरुयोजना बनाएर काम गर्न पहल गरिने छ, जसकालागि गाविस कार्यालय वा गाउँ परिषदमा उक्त योजना पास गराएर आपसमा समन्वय गरेर कार्यक्रम गरिने छ । आपसमा कार्यक्रमहरु नजुधाई सम्पादन गर्न समन्वयकारी भूमिका खेलिने छ ।

१०. गुरुयोजनाअन्तर्गत नै सबै क्षेत्रका क्षेत्रगत योजना तर्जुमा गरेर कार्यान्वयन गरिने छ ।

११. यस संस्थालाई यस्तो सामाजिक संस्थाकोरुपमा विकास गरिने छ, जसलाई सरकारी निकाय, योजना आयोग, अन्य ग़ैरसरकारी संस्था, दातृ संस्थाहरु, व्यक्तिगत दाताहरुलेसमेत सहयोग गर्न सकुन् र सहयोग माग्न सकियोस् । यस किसिमको सामाजिक अभियान्ता संस्थाकोरुपमा विकास गरिने छ ।

१२. धवलागिरी अञ्चलको पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण टेवा पुर्याउने वर्षौदेखिको वेवारिसे बलेवा एयरपोर्टलाई पुन: सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवाज पुर्याउन र आवश्यक प्रक्रिया थालनीमा यो संस्थाले अगुवाको काम गर्ने छ ।

१३. यो संस्थाको कार्यक्रम र आम्दानी, खर्च र योजना कार्यान्वयन र उपलब्धिलाई सबैले हेर्न मिल्ने गरि सामाजिक सञ्जालको पेज वा वेबसाईटमा राख्ने व्यवस्था गरिनेछ ।

१४. विदेशमा बस्नेहरुको सहयोगलाई छिटो-छरितो र कम खर्चमा नेपाल गाउँमा पु-याउन अर्थात् संस्थाको खातामा जम्मा गर्न सजिलो बनाउन आवश्यक विद्युतिय माध्यमजस्तै PayPal लगायत सुविधा उपलब्ध गराउने व्यवस्थालाईसमेत लागु गरिने छ ।

१५. व्यापाकरुपमा काम गर्न सकिने र व्यापक सहभागिता गराउन मिल्ने विधान तर्जुमा गरेर, संस्थालाई स्थापना र सञ्चालन गरिने छ ।

१६. तत्कालै संस्था स्थापनाकोलागि कार्यसमिति गठन गर्ने र सोही कार्यसमितिले तोकिएको समयसम्म संस्थालाई व्यवस्थापनको काम गर्ने जिम्मेवारी तोकिने छ ।

१७. संस्थाको दैनिक कागजी काम कारबाही र लेखासम्बन्धी काम गर्न कार्यालय स्थापना गरेर कर्मचारीहरुको व्यवस्था समेत गर्न सकिने छ ।

१८. यदि भविश्यमा कोषको प्रचुर विकास हुन सकेमा कुनै आर्थिक लाभ गर्न सकिने बैंक वित्तिय संस्था, सहकारीलगायत संस्थाहरु स्थापना गरि नियमित आम्दानी गरि उक्त आम्दानीलाईसमेत सामाजिक सेवाकै काममा लगाउन सकिने छ ।

१९. कार्यसमितिले नै आवश्यक काम-कारबाही अगाडी बढाएर काम गर्नेछ ।

यो माथि उल्लेखित बुँदाहरु एउटा सामाजिक अभियान सञ्चालन गर्ने सन्दर्भमा सञ्चालन गरिएको ग्रुप च्याटमा प्रस्तुत ड्राफ्ट हो । यो कुराकानीले संस्थागतरुप छिट्टै लिँदै पनि छ । यस्तै किसिमबाट र अरु तरिकाहरुबाटसमेत सबैलाई आपसमा सम्बन्ध स्थापित गरेर जनस्तरबाट सामाजिक सेवासम्बन्धी काम गर्न सकिन्छ । आफू जहाँजस्तो अवस्थामा रहेपनि आफू जन्मेको माटोलाई सम्झनु पर्दछ भन्ने अभिप्रायबाट नै यस्ता सामाजिक कामहरु गर्न सकिन्छ । सानै तहबाट आ-आफ्नो ठाउँमा यस किसिमको अभियान चलाउन सके समग्ररुपमा गाउँ, सहरहरुमा सामाजिक सेवाहरुको विकास गर्न सरकारकै मुख ताक्नु पर्दैन ।

अन्तमा, यस्ता सामाजिक क्षेत्रको विकास गर्न सबैले आफ्नो स्तरबाट अभियान चलाउनु अवश्यक छ । जन्मभूमिको विकासलाई टेवा नपु-याई आफ्नो व्यक्तिगत विकासलाईमात्र ध्यान दिनु पनि कति हदसम्म ठिक-बेठिक आफैँ मूल्यांकन गरौँ । तर एउटा कुरा याद राखौँ, आफ्नो माटोको सुगन्ध सधैँ उत्तम हुन्छ । यसको संरक्षण र विकासमा सबै जुटौँ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

The post ‘यसरी आफ्नो गाउँ आफैँ बनाउन सकिन्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles