नयाँ शक्तिको परिभाषा पुराना अनुहारहरुको पुनरावृत्ति होइन । यो नयाँको परिचय हो । नयाँको खोजी हो । पुरानाको पुनः शुद्धिकरण हो । यो शक्ति प्रौढको शक्ति हो । युवाको शक्ति हो । महिलाको शक्ति हो । वैचारिक विविधताको शक्ति हो । हुन त भनाइ र गराइमा निकै फरक हुन्छ । यसको नयाँपनमा गराइकै महत्वपूर्ण भूमिका हुनु पर्दछ । आजको समय भाषणको समय होइन । व्यवहारको समय हो । व्यवहारको परिपक्वता नै सफलताको पहिलो सिंढी हो । नयाँ शक्तिले यो सूत्रको सही हिसाब निकाल्नै पर्ने हुन्छ ।
यसको सांगठनिक स्वरुप राजनीतिक भएपनि चुनावी मुद्दा आर्थिक समृद्धि नै हो । यसमा कुनै दुईमत भने छैन । यो शक्तिले गरेको केही कमजोरीलाई घचघचाउनु, राम्रा कामको बखान गर्नु र नयाँ बाटो सिकाउनु यसप्रति आस्था राख्ने युवा, बूढा, महिला आम शुभेच्छुकहरुको कर्तव्य हो । यसपटक यस शक्तिको शुभेच्छुकका नाताले केही कुराहरु राख्ने प्रयत्न गरेको छु ।
सांगठनिक हतारो किन ?
हुन त नयाँ शक्तिलाई जुन बाटोबाट अर्थ लगाए पनि यो एउटा राजनीतिक संगठन नै हो । यसले गर्ने पहिलो काम राजनीतक प्रतिस्पर्धा हो । राजनीतिक प्रतिस्पर्धाको विजयपछि यो जोडिने भनेको जनजीविकासँग हो वा आर्थिक सम्मृद्धितर्फ हो । यो कुरालाई सिधासिधा बताउन यो शक्तिले कञ्जुस्याइँ गर्नु हुँदैन । आजका जनता लाटा कोही पनि छैनन् । यसका संयोजकले आफ्नो जिम्मेवारी त्याग्दा बोलेको कुरा साक्षी सम्झनामा राखेर बसेका छन् । यसको अर्थ जनता बाबुराम भूकम्पपछिको पुनर्निर्माणमा लागून् भन्ने चाहन्थे । आफ्ना मर्का बुझ्न घरसम्म आऊन भन्ने चाहन्थे । गाँस, बास र कपासको पहिलो सर्त बनाउन भन्न चाहन्थे । त्यसपछि मात्र पार्टी निर्माण गरुन र उनलाई सहयोग गर्न पाऊँ भन्ने चाहन्थे ।
यहाँ भन्न खोजेको बृहत् छलफल भन्दा पनि पार्टी निर्माणको हतारो बढी गरियो । मैले यो नढाँटेर भन्दा नयाँ शक्तिले जुन उचाइ लिने परिकल्पना गरिएको थियो त्यो भएको छैन । यसको एउटा कारण हो– छलफल र बहसको अभ्यास कम हुनु । यस्तो किन भयो– नेपाल भौगोलिक विविधतायुक्त देश हो, जहाँ निर्धारित सीमाभित्र जनसम्पर्क बढिहाल्छ र वर्तमान मान्छे त्यति सजिलै आफ्नो मुद्दामा जोडिहाल्छन् भनेर पत्याउनु हाम्रो मूर्खता हो । तराईमा नभएपनि पहाडी र हिमाली क्षेत्रमा एउटा वार्डसम्म पुग्न दिनभर लाग्छ भने पुरै गाविस भ्याउन कयौं दिन लाग्छ ।
यतातिर ध्यान दिइएन एकोहोरो डा.भट्टराईले जिम्मेवारी परित्यागपछि अन्तरक्रियाको पाटो भन्दा पार्टी निर्माणतिर होमियो नयाँ शक्ति । तत्पश्चात् दुईमहिनाको अवधि वा मंसिर ६ गते उद्घाटन गरियो र पुनः दुई महिनाको सीमा तोकी प्रारम्भिक आवेदन वितरण गरियो । जुन समय नेपालको भूगोल सुहाउँदो, व्यवहारिक र वैज्ञानिक पक्कै थिएन ।
तेस्रो चरणमा नयाँ वर्षमा पार्टी घोषणाको हतारो गरी पुनः ५२ दिनको छोटो समय दिएर निश्चित संख्याको किटान गरी आवेदन वितरणमै जोड दिइएको छ । यो पनि स्थानीयताको अध्ययन बिनाको अभियान हो । जो पनि भूगोल सुहाउँदो, व्यवहारिक र वैज्ञानिक पक्कै थिएन । यो पनि निर्देशनात्मक, आदेशनात्मक शैली तथा पुरानो संरचनाको पुनरावृत्ति हो । गुणात्मकताको खोजी नभइ संख्यात्मताको कुण्ठित मनोकांक्षा हो । यहाँ डाक्टर साबको उद्घोष विपरित परिपाटीको विकास भएको अर्थमा बुझेका जनताको बहुमूल्य तर्कलाई मनन गरिनुपर्छ । मेरो ४ महिनाको अनुभवीय तर्क यही हो ।
सांगठनिक आकार/अनुहारको चित्रः
आजका जनता कोयली नभइ काग हुन् । जसले शुभ र अशुभ समाचारको संकेत तत्काल थाह पाउने गर्दछन् । यहाँका प्रत्येक जनतालाई एक अर्काको अनुहारको चित्र प्रष्ट थाह छ । अढाइ करोड अनुहारको पूर्ण वायोडाटा उनीहरुसँग छ । आजकल गाउँमा, दोबाटोमा, चिया पसलमा अन्य स्थानमा नयाँ शक्तिको बहस चलाउँदा जनताले हामीलाई देखाइदिने सांगठनिक आकार र अनुहारको चित्र हो । जसको फिता डासाबको परिकल्पना भन्दा बाहिर पुगेको छ । उनले यो फिता आफै तन्काएका त पक्कै होइनन् । आँखा छलेर तन्काउन चाहनेहरुलाई रोक्न किन सकेनन् ? आम चासोको विषय यो हो । साँच्चै हाम्रा आँखाको ऐनामा फिता तन्किएको छ– विवादित अनुहारको ।
विषम विचार भन्दा समविचारको चित्र उस्तै छ । विविधताबीचको एकता देखाउने नाउमा नयाँ र वास्तविक क्षेत्रफल नभेटाउनहरुलाई टाउकोमा टेक्न लगाएर फिता तन्काइरहनुको अर्थ रहदैन । किनकि टाउकोमा चढ्न सिकेको मान्छेले भूइँको धुलोमा खेल्न अवश्य मन गर्दैन । त्यहीबाट शुरु हुन्छ उसको नयाँ उचाइको खोजी । प्रारम्भिक, अन्तरिमको रुमाल हल्लाएर पुरानो परिपाटी र चाकरीवादको विकास नगरौं । बरु हुने बिरुवाको चिल्लो पातको भनाई अक्षरसः पालन गरौं ।
राजनीति वितृष्णाप्रतिको जागरणः
वर्तमान नेपालमा कुनैपनि दलले जनमत भोल्टाभारी बनाउन नसक्नुको मुख्य कारण हो राजनीतिप्रतिको वितृष्णा । आजभोलि कुनैपनि राजनीति शक्तिप्रति जनताको विश्वास छैन । राजनीति शक्तिको मनोकांक्षा र जनकांक्षाको दूरी बीचमा नितान्त फरक छ । उनीहरु पहिला जीवनयापनको सर्त अगाडि सार्ने गर्छन् । नयाँ शक्तिलाई यसको जागरण फैलाउने मूख्य अभिभारा हुने छ । जनमत जम्मा गर्न हिँड्ने शक्तिहरुसँग जनताले फर्काउने उखान हो–‘जुन जोगी आएपनि कानै चिरेको’ । आज नयाँ शक्तिलाई पनि जनताले यही रुपमा बुझेका छन् ।
जनतालाई कुन नयाँ, कुन पुरानो यो सँग कुर्नै मतलब छैन । यद्यपि नयाँ शक्तिका सम्भावना र चुनौति दुवै छन् । सम्भावना यो अर्थमा छ– नयाँ शक्तिमा बाबुरामको अनुहार छ । चुनौति यो अर्थमा छ– उनको शक्ति राम्रा नराम्रा सबैको मिलनचोक बनेको छ । आजका जनता गतिशील छन् नयाँ परिपाटीको समर्थन गर्न चाहन्छन् ।
अर्कोतिर महत्वकांक्षी पनि उस्तै छन्–जसले अरुलाई होइन बाबुरामलाई मात्र पत्याउँछन् उनीसँग केहीरात सँगै सुत्न, कोखामासँगै बस्न, सँगै आटो खान र त्यसपछि मात्र निर्णय लिन चाहन्छन् । त्यसैले राजनीति बलियो बनाउन शहरबाट गाउँ हेर्ने होइन । गाउँबाट शहर हेर्न जरुरी छ । आदेशात्मक र निर्देशात्मक होइन स्थलगत अध्ययन, भ्रमण तथा अवलोकन विधिको प्रयोग गरिनु आवश्यक छ । नयाँ शक्तिले सोँचेजस्तो उचाइ त्यतिबेला लिन्छ जतिबेला गाउँ–गाउँका दैलो–दैलोमा अचानक बास खोज्दै–खोज्दै बाबुराम पुग्नेछन् । त्यही खानेछन् । त्यही सुत्नेछन् । जन गुनासो सुन्नेछन् । आम जनता बाबुराम भरोसामा छन् । नयाँ शक्तिको सुन्दर भविष्य यसैमा छ ।
आर्थिक अपार्जनको खोजी
नयाँ शक्तिसँग जोडिएको अर्को महत्वपूर्ण कुरा आर्थिक मुद्दा हो । यसलाई कसरी व्यवस्थापन गर्ने ? आजभोलि अधिकांश जनताको घरमा पैसो छैन । भएकाहरुमा सहयोगको भावना हराएर गएकोे छ । अधिकांश नेता, कार्यकर्ताहरुलाई पेट धान्न समेत धौ धौ छ । कार्यक्रम लिएर देश दौडाहमा निस्किदा बाटो देखाउने माध्यम पैसा हो । जनतासँग पैसा उठाउने परिपाटी पुरानो हो । नयाँले यस्तो गर्नु पनि भएन । जसको पार्टीमा भौतिक र नैतिक लगाानी बढी छ आर्थिक हिसाबले कमजोर छ तर पार्टीको कुनै भूमिकामा जोडिएको छ भने उसलाई अभियान हाक्न त्यति सहज भने छैन ।
अहिले नयाँ शक्तिमा देखा परेको अर्को समस्या हो यो । जस कारण उक्त नेता, कार्यकर्तालाई सक्रिय राजनीतिबाट कतै पन्छिने हो कि भन्ने मनाशाय बनेको उस्तै देखिन्छ । यसको पुनर्ताजकिकरण गर्न कुनै श्रोतको खोजी गरिनु नितान्त आवश्यक रहन्छ । जोसँग पार्टीको काममा लाग्दा–लाग्दा अर्को आर्यआर्जनको श्रोत नै छैन त्यस्तो नेता कार्यकर्ता सधै खल्तीमा भएको दुईचार पैसा पनि पार्टीमा सिद्धाएर कतिदिन आफ्नो भूमिकामा निरन्तर खटिरहन सक्ला ? यसमा आर्थिक अपार्जनको खोजी गरिनु पर्छ ।
युवा तथा महिलाको सवाल
नयाँ शक्तिको प्रारम्भिक नतिजा हेर्दा युवाहरुको आकर्षण निकै बढ्दो छ । यसमा पनि २० देखि ३० वर्ष उमेरका युवाहरुको संलग्ताको आधिक्यता नै छ भने ३० देखि ४० वर्ष उमेर समूहका युवाहरुको आबद्धताको पनि कमी भने छैन । प्रौढहरुमा इतिहासको छाप हट्न सकेको छैन । महिलाहरुमा अभियानको प्रचार निकै कम छ । २० देखि ३० वर्ष उमेर समूहका युवा बाबुरामप्रति लगाइने कुनै पनि लाञ्छना मान्न तयार छैनन् । यस विषयमा उसले प्रौढहरुसँग वैचारिक विद्रोह नै गर्न चाहन्छन् । यसो भएपनि यी युवाहरु कामसँग जोडिन चाहन्छन् । जीवनको व्यवस्थापन कसरी गर्ने ? यिनीहरुको चिन्ता यो छ । जसलाई पुराना शक्तिहरुले बारम्बार उपयोग गर्दै आइरहे । नयाँ शक्तिबाट यस्तो नहोस् यो चाहन्छन् युवाहरु । उनीहरु नयाँ शक्तिमा जोडिनुको एउटा मात्र कुरा बाबुराम विकासे व्यक्ति हुन् । उनमा समृद्धिको प्रष्ट खाका छ । युवा स्वरोजगारको मुद्दामा बाबुराम प्रष्ट छन् ।
नेतृत्वको सन्दर्भमा युवाहरु ६० प्रतिशत हिस्सा हुनुपर्ने माग राख्छन् । यहीँनिर नयाँ शक्ति अलि चुकेको छ । जहाँ प्रौढ अनुहारहरुले ठाउँ ओगटेका छन् । यस विषयमा नयाँ शक्तिले गम्भीर रुपमा सोेच्नुपर्ने हुन्छ । त्यस्तै महिला जो घरगृहस्थीमै अल्झिरहेका छन् उनीहरुको चौकोसम्म पुग्न नया शक्ति सकेको छैन । चुनावी प्रतिस्पर्धामा ती महिलाहरुकै मत बढी निर्णायक हुने गर्दछ । उनीहरुलाई स्पष्ट प्रशिक्षण गर्न सकिएकोे छैन । ती महिलाहरुको भूमिका के हुने ? यस विषयमा खासै बोल्न सकेको देखिदैन । यसको प्रष्ट खाका तयार पार्नु पनि जरुरी छ । किनकि चुनावी प्रतिस्पर्धामा नेता, कार्यकर्ताको होइन संलग्न वा असंलग्न अभिमतकै बढी आवश्यकता हुने गर्दछ । त्यसैले पुरानो विरासतको अन्त्य गरौं । नयाँ परिस्थितिको विश्लेषण गरौं । भन्ने होइन गर्ने गरौं ।
दाङ
The post यसो गरे मात्र नयाँ शक्ति appeared first on Sajha Post.