नयाँ शक्ति पार्टी, नेपाल अहिले आफ्नो आन्तरिक सांगठनिक व्यवस्थापनमा व्यस्त छ । सदस्य संख्यालाई दोब्बर बनाउन देशव्यापी अभियान सञ्चालन हेतु राष्ट्रव्यापी अभियान चलाइँदैछ । प्रत्यक्ष कार्यकारी प्रमुखको लागि दवाव सिर्जना गर्ने उदेश्यले देशभरि हस्ताक्षर अभियान पनि जारी छ । नयाँ शक्ति बन्दै गर्दा यसमा देखिएका असङ्गति तीखो वैचारिक संघर्षबाट हटाउनु त्यतिकै टड्कारो आवश्यकता छ । केही समस्याहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
१. पदीय व्यवस्थापन
व्यवस्थापनको भाषामा ‘ठीक मान्छे ठीक ठाउँमा’ भन्ने गरिन्छ । तर राजनीतिमा यो नियम लाग्दैन । व्यक्तिको पहुँच, चाप्लुसी, पद बाँडफाँट गर्ने शीर्ष नेताहरुसँग व्यक्तिको सामिप्यता आदिको कारण उसको पदीय हैसियत तय हुन्छ । राजनीतिको यो परम्पराबाट नयाँ शक्ति अहिल्यै मुक्त हुने कुरा भएन । अझ कहिले कहीं त माओवादीमा हुँदाको बरियताको विवाद झिकेर पाखुरा खैँचने चलनको समेत पुनरावृति देखिन्छ यहाँ । यो त लामो एवम् सकारात्मक संघर्षबिना हटाउन सकिँदैन । केन्द्रमा क्लस्टरल समावेशीकरणको अभ्यास शुरु गरिए पनि यो शुरुवात एकातिर आफै विवादमुक्त हुन सकेको छैन भने यसको अभ्यास तृणमूल तहमा कसरी आइपुग्ला भन्ने कौतुहलता सर्वत्र पाइन्छ ।
प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने विधान लागू भए पनि विभिन्न तहमा मनोनयन गर्ने प्रक्रिया रोकिएको छैन । हरेक पार्टी युनिटहरु पार्टी सदस्यबाट निर्वाचित वा अनुमोदित हुनुपर्ने वैधानिक प्रावधान रहेकोले मनोनयन प्रक्रियामा सापेक्ष नियन्त्रण आवश्यक छ । अन्यथा माओवादी केन्द्रजस्तै नयाँ शक्ति पनि असीमित मनोनयनको शिकार भइरहने निस्चित छ ।
निर्वाचनको प्रक्रियाबाट राम्रा मानिस नेतृत्वमा आउनुपर्नेमा मनोनयनले ‘हाम्रा मान्छे’ को छनोट गरिरहने हो भने यो कसरी नयाँ शक्ति होला र ? व्यक्तिको लागि जिम्मेवारी छनौट गर्दा उसको पृष्ठभूमि, विधि, प्रक्रिया र तर्कको आधारमा मात्र गर्ने परिपाटी उपयुक्त हुन सक्दछ ।
२. आन्तरिक लोकतन्त्र र निषेधको राजनीति
नयाँ शक्ति नेपालले उच्चतम लोकतन्त्रको महायात्रा शुरु गरेको छ । पार्टी केन्द्रमा विधिवत् निर्वाचन आयोग गठन गरेर कार्य शुरु भईसकेको छ । नयाँ शक्तिका एक नेताले माओवादी आन्दोलन र नयाँ शक्ति एउटै सिक्काका दुई पाटा हुन भन्ने केटौले तर्क अघि सारे पनि माओवादीभित्र आन्तरिक जनवादको विषय उठाएर जीवनकै जोखिम उठाउँने डा बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति नेपाल एउटा नमूना लोकतान्त्रिक पार्टी बन्ने निश्चित छ ।
माओवाद त नयाँ शक्तिका लागि केवल एक नकारात्मक ईतिहास मात्र हो । हो, हिजो आफूलाई मन नपर्ने वा सुराकी गरेको ठानिएको व्यक्तिलाई सय प्रतिसत निषेध गर्ने (मार्ने) माओवादी शैली देखेर भोगेर आएका नेता कार्यकर्ताहरु सानै संख्यामा भए पनि नयाँ शक्तिमा छन् । त्यो बेला त्यस्तै थियो । तर अब यस्तो निषेध त परै जाओस् कसैलाई चुनावमा हराउनु बाहेक अन्यथा निषेध गर्न सकिँदैन । लोकतन्त्रको सुन्दरता सायद यहीं खोज्नुपर्दछ ।
हरेक फरक विचारलाई उत्तिकै सम्मानपूर्वक पार्टीभित्र रमाउने वातावरण सिर्जना नगरी लोकतान्त्रिक पार्टी निर्माणको कल्पना समेत गर्न सकिँदैन । एकमनावादी माओवादी संगठनात्मक शैलीबाट नयाँ शक्तिले गम्भीर नकारात्मक पाठ सिक्नै पर्दछ । नयाँ शक्तिमा प्रत्यक्ष लोकतन्त्र भाषणको विषय होइन, हरेक नेता कार्यकर्ताको जीवन पद्धति हो ।
३. वरियता विवाद
सांगठनिक व्यवस्थापनको क्रममा नयाँ शक्तिमा पनि को सिनियर को जुनियर भन्ने बहस यदाकदा देखिन्छ । सैनिक पार्टीमात्र सिनियर जुनियरको प्रस्ट व्यवस्था नगरी चल्न सक्दैन । त्यहाँ त फुली (दर्ज्यानी चिन्ह) अनुसार कमान्डरले आदेश फर्मान गर्ने हो । त्यस्तै आदेश फर्मान गर्ने रहर नयाँ शक्तिमा सम्भव छैन । अरु त अरु डा. बाबुराम भट्टराई एक्लै कुनै निर्णय एक्लै गर्न सक्दैनन् । उनले पनि संस्थागत र विधिसम्मत चल्नै पर्दछ । व्यक्तिको अधिनस्थ पार्टी हुन सक्दैन, पार्टीको अधिनस्थ व्यक्ति हुने हो । संभवतः यो विषयमा डा. भट्टराईलाई कुनै द्विविधा छैन । कसैलाई द्विविधा छैन ।
हिजो माओवादीमा हुँदाको वरियता वा अन्य पार्टीको वरियता नयाँ शक्तिमा खोजेर पदीय लडाईं गर्नुभन्दा आफ्नो राजनीतिक योग्यता विकास गर्नु श्रेयस्कर हुन्छ । लोकतान्त्रिक पार्टीमा त्यसबारे धेरै टाउको दुखाउनु पर्दैन किनभने त्यहाँ यसको फैसला व्यक्तिले होईन विधिले गर्दछ । विधानले दिएको व्यवस्थाबमोजिम गरिएको नयाँ शक्ति नेपालका सह–संयोजकहरुको चयन गरिए पनि भूमिका र जिम्मेवारीको राम्रो व्यवस्थापन हुन सकेको छैन । अर्कातिर नयाँ शक्तिको सबै आकाश थाम्ने मै हुँ भन्ने एकाध नेताहरुको घमण्डको पारो घटेको छैन । संयोजक भट्टराईको हवाला दिएर जिल्ला जिल्लामा हुकुम चलाउनेहरुको वैधानिक नियन्त्रण हुन सकेको छैन । अझै केही नेतामा माओवादको भूत सवार हुन छोडेको छैन । सचेत नेता कार्यकर्ताले ढ्याङ्ग्रो ठोकेर यो भूत नभगाई हुँदैन ।
४. लोकतान्त्रिक चरित्रः साझा चरित्र
नयाँ शक्ति ईन्द्रेणी मिश्रणको रुपमा अगाडि आएको छ । जसरी ईन्द्रेणीको कुनै एक रङको प्रभुत्व वा स्वतन्त्र अस्तित्व हुँदैन त्यसरी नै नयाँ शक्ति नेपालमा मिसिएको कुनै विचार समूहको प्रभुत्व वा स्वतन्त्र अस्तित्व हुँदैन । चारतिरबाट आएका मानिसहरु मिलेर कसरी नयाँ शक्ति बन्छ भन्ने प्रश्न उठिरहँदा ईन्द्रेणीको अविभाज्य सुन्दरताको उदाहरण पछ्याएर अगाडि बढ्ने तागत नयाँ शक्तिले आर्जन गर्ने नै छ । कुनै क्लस्टर, कुनै स्कुलिङ् वा कुनै समूहले नयाँ शक्तिमा प्रभुत्व जमाउनै सक्दैन । लोकतान्त्रिक चरित्र नै नयाँ शक्तिवालाको साझा चरित्र हुनेछ ।
५. अबको अभिभारा
नयाँ शक्ति नेपालभित्र र बाहिरका केही मानिसहरु ‘बाबुरामको नयाँ शक्ति’ भन्ने शब्दावली प्रयोग गरिरहेछन् । ‘म बाबुरामको नयाँ शक्तिमा आउन तयार छु’ जस्ता फेसबुके भित्ता देखिँदैछन् । स्वयम् भट्टराईले चिच्याई-चिच्याई यो शक्ति मेरोमात्र शक्ति होइन, सबैले मिलेर सबैका लागि बन्ने शक्ति हो भन्दा पनि उपर्युक्त शब्दावली प्रयोग हुन छोडेको छैन । यसले अरु सयौं नेता कार्यकर्ताले नयाँ शक्ति निर्माणमा खेलेको भूमिकालाई न्यूनीकरणकात्र भएको छैन, कतिपय अभियन्ताहरुमा ‘जे गर्छन बाबुरामले गर्छन्’ भन्ने गैर जिम्मेवार चिन्तन समेत हावी हुने खतरा पैदा भएको छ । तर सत्य त के हो भने डा भट्टराईको वरिपरि घुमेर साष्ट्रङ्ग दण्डवत् गरेर तत्काल केही पद खोज्नुभन्दा देशको शहर, बस्ती, कुना कन्दरा पुगेर आगामी केही महिनाभित्र तृणमूल तहमा संगठन विस्तार अभियान शुरु गर्नु नयाँ शक्तिका सम्पूर्ण अभियन्ताका लागि श्रेयस्कर हुनेछ । पार्टीको भविष्य पनि त्यसैमा निहित छ ।
६. निरन्तरता कि क्रमभङ्गता ?
नयाँ शक्ति एक वैकल्पिक राजनीतिक शक्ति भएकोले यसको विचारमा, संगठनमा, नेता कार्यकर्ताको कार्यशैली र आचरणमा र जनसेवामा जनताले फरक खोजिरहेछन् । केही न केही नयाँपन खोजिरहेछन् । नयाँ शक्तिमा विभिन्न चिन्तन प्रवृत्तिबाट सामेल भएका नेता कार्यकर्ताले आफ्नो पुरानो डम्फू बजाउन छोडेर नयाँ शक्ति नेपालले हालसम्म घोषणा गरेका विषयमात्र पनि लागू गर्न सबैको ईमान्दार प्रयत्न भए स्वभाविक रुपमा नेपाली राजनीतिको पट्यारलाग्दो घनचक्करमा क्रमभङ्गता हुनेछ । सबैतिरबाट आएका राम्रा कुराको सिर्जनात्मक उपयोग र नराम्रा कुराको तिलान्जलि नै नयाँ शक्तिको अग्रगतिको एक मात्र आधार हो ।
The post यी हुन् नयाँ शक्तिका ६ समस्याहरु appeared first on Sajha Post.