डियर प्रिन्स ह्यारी,
नमस्ते,
हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे !

म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँसुहरु निरन्तर झरिरहून्, त्यसको एउटा खहरे बनोस् र हाम्रा दु:खहरु बगाओस् । मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकी यो तिमीलेमात्रै होइन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामीमध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।
ह्यारी,
तिमी त युवराज मान्छे, त्यो पनि संसारकै शक्तिशाली देशमध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपालीभन्दा पनि सामान्य छौँ, हामीलेभन्दा बढी शिर निहुराएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के-के गर्छन् यो सानो चिट्ठीमा के लेख्नु र ? बि.बि.सी.लाई सोध न है ।
प्यारो राजकुमार, तिमी त लडाईंको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीकोजस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ, भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढी श्रद्धा अरु के हुन सक्थ्यो र ? तिमीले मलाई मात्रै होइन धेरै भूकम्पपीडितलाई धुरुक्कै रुवायौ ह्यारी ।
हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन् तर तिमी त लुटिएको देशमा मलमपट्टी लगाउँदैमा व्यस्त छौ । तिमी भत्किएका बस्तिमा पीडा सुन्दैछौ रे, तर त्यहिँका भूकम्पपीडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन्, हाम्रा नवयुवराजहरु ।
प्यारो ह्यारी,
तिमीलाई चिट्ठी लेख्दा श्रद्धाका अाँसु झरिरहेछन्, तिमी ईशाई भएर टिका लगाईरहेछौ, मन्दिर धाईरहेछौ, होली खेलिरहेछौ । तर यहाँ मान्छेहरु धर्म र स्वाभिमान बेचिरहेका छन्, तिमी गल्ति गरेकोमा प्रायश्चित गर्छौ, तर यहाँ घुस्याहाहरु घुस खाएकोमै गर्व गर्छन् । पटक-पटक गल्ति गर्छन् तर कहिल्यै सुध्रँदैनन् । विडम्बना ह्यारी, बिडम्वना यहाँ त भ्रष्टाचारीहरु हाई-हाई हुन्छन् । सदाचारीहरुले आत्महत्या गर्छन् ।
ह्यारी तिमी गंगा-जमुनासंग नाच्यौ, तर यहाँ राजकुमारहरु भट्टीमा नाच्छन्, नवयुवराजहरु रिसोर्टमा नाँच्छन् तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन् । भन म के सुखद समाचार लेखूँ ?
मैले अचेल सबैलाई चिट्ठी लेखिरहेछु आगो ओकल्ने गरि । तर तिमीलाई लेख्दा माया र सद्भावबाहेक केही झरेन किनकी तिमी ह्यारी होईन हरि बनेर नेपाल आयौ, साँच्चै ह्यारी ! तिमी किन हरि बनेर नेपालमै जन्मिएनौ ?
ह्यारी,
तिमी त संसारकै प्रिय राजकुमार । तिमी त जनताको ढुकढुकीमा बस्ने मान्छे, प्लिज हाम्रा नेताहरुलाई पनि यो यस्तै बन्न सिकाईदेऊ न है ! यहाँ जनतालाई जाति, धर्म र क्षेत्रको नाममा लडाईएको छ ।हार्दिकता र भाइचारा हराएको छ । जनताको मन फुटाएर यहाँ मस्ति गरिँदै छ ।
तिमी भूकम्पपीडत मंगली तामाङको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारेसहित सुकिलो ओछ्यानमा कृडा गरिरहेछन् ह्यारी ! भन म कसरी सुखद् समाचार लेखुँ ? तिमी जनतासंग होली खेलिरहँदा यहाँका भारदारहरुले सोमरसको चुस्की लिएको खबर कति लेखिरहनु !
तिम्रो देशमा पाँच वर्षसम्म बस्दा मैले देखेको विकास र शालीनता सम्झेर म द्रविभूत छु । तर के गर्नु यहाँ त राजनीति र प्रकृति दुवै प्रत्युत्पादक भएपछि । आधा करोड नेपाली युवाहरु आज विदेशिएका छन्, देख्यौ होला नि हैन गाउँमा सुनसान भएको ? देख्यौ होला नि एयरपोर्टमा युवाहरु विदेशिन लाम लागेको ? यस्तै छ हाम्रो हाल ।
अन्त्यमा,
तिम्रो आदर्शले हाम्रा नवयुवराजहरुको तन्द्रा भंग होस् भन्ने कामना गर्दछु । यसैगरी नेपाल र नेपालीको ढुकढुकीमा बसिरहनु है । यस जुनिलाई यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू तिमी ! तिमी हाम्रो नेता भएको हेर्ने मन छ ।
तिम्रो डाईंग फ्यान,
सरगम भट्टराई
भृकुटी -६ कपिलवस्तु (हाल अमेरिका)
The post बेलायती राजकुमारलाई मनछुने चिठ्ठी: ‘ह्यारी तिमी किन हरि बनेर नेपालमा जन्मिएनौ ?’ appeared first on Sajha Post.