Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

राजनीति र पेशाकर्मीको अन्तरसम्बन्ध : अलग्याउने कि एकाकार गर्ने ?

$
0
0

राजनीति मानव मात्रको जन्मसिद्ध अधिकार हो । मानव चेतनाको उच्चतम र एकीकृत अभिव्यक्ति हो । यो मानव जीवनको अपरिहार्य पक्ष हो । राजनीतिलाई मानव व्यवहारको साना-साना अंशदेखि समाज व्यवस्थाका परिपाटी परिष्कृत गर्ने माध्यमको रुपमा लिइनुपर्छ । कसैको झण्डा बोक्दैमा, सदस्यता लिंदैमा, पदीय हैसियतका व्यक्ति विशेषलाई चिन्दैमा, हात मिलाउँदैमा, उनीहरुको पछिपछि आँखा चिम्लिएर लुरुलुरु लाग्दैमा, विवेकको बिर्को बन्ध गरेर पटेपटे थपडी बजाउँदैमा, राजनैतिक दस्तावेजको भारी बोक्दैमा, सिद्धान्तमा, भाषणमा, चर्का, चर्का कुरा गर्दैमा सही राजनीति हुँदैन ।

सही राजनीति त जीवन पद्धतिमा हुन्छ । जीवनका प्रत्येक पलपलसँग, कणकणसँग अभिन्न रुपले गाँसिएको हुन्छ । जीवनलाई कता कता लिनु उचित छ, कताकता लिँदा अनुचित छ ? कर्तव्य केहो ? अकर्तव्य के हो ? आदिको बारेमा बोध गराउने दृष्टिकोण वा दर्शन नै राजनीति हुनुपर्दछ । जो जीवनदेखि कहिल्यै छुट्टिन सक्तैन । मुखबाट खाना खानु, नाकबाट श्वास फेर्नु राजनीति हो । दाहिने हातले खाना खानु र देब्रे हातले दिशा धुनु राजनीति हो । किनकी त्यहाँ पनि चेतनाको प्रभाव छ । दर्शनको प्रभाव छ । बस्दा, उठ्दा, खाँदा, हिँड्दा जीवनका कुनै पनि साना, ठूला क्रियाकलाप गर्दा राजनीति हरदम मार्गदर्शनको रुपमा रहनुपर्दछ । जीवनबाट अलग्गिएको, जीवनका समस्याप्रति बेमत्लवी राजनीति वास्तवमा राजनीति नै होइन । यसरी राजनीति समाज विकासको विहङ्गम दृष्टिकोण हो ।

लेखक : बिनाराम खड्का

पेशाकर्मी पनि समाजकै एक भाग भएको हुँदा वस्तुतः राजनीतिबाट कहिल्यै अलग हुन सक्तैन । अलग हुन सम्भव पनि छैन । यसको मतलब कुनै दल विशेषको पिछलग्गु बन्नुपर्दछ भन्ने होइन । राजनीतिमा निष्ठाको अभाव रहेको वर्तमान सन्दर्भमा पेशाकर्मीको राजनैतिक पक्षधरता दलीय संकिर्णताको दायराभन्दा फराकिलो हुनुपर्ने देखिन्छ । सिद्धान्त, दर्शन, विचारधारा, मुद्दा, नीति, कार्यक्रमअनुरुप समर्थन वा आलोचना गर्नुभन्दा वंशसुत्रको आधारमा, व्यक्तिगत सम्पर्क र चिनजानको आधारमा, रुप पक्षलाई जोड दिएर सार पक्षलाई ओझेलमा पारेर गरिने राजनीति निःसन्देह अराजनीति नै हो । यस्तोखाले अराजनीतिबाट भने पेशाकर्मीले आफुलाई मुक्त राख्नैपर्दछ ।

चेतनशील समाजमा निश्चित विचारधाराको आधारमा गोलबन्द र एकाकार हुने राजनीतिबाट पेशाकर्मी पृथक रहन सक्तैन । कुनै पनि विचारधारा जो पेशाकर्मीको चिन्तन निकट छ, चरित्र अनुरुप छ । जीवनपद्धति अनुकूल छ । त्यस्तो राजनीति अंगाल्नु पेशाकर्मीको दायित्व नै हो । वैचारिक रुपले गोलबन्द हुनुको मतलब कुनै दल विशेषको संगठित सदस्य र कार्यकारिणी निकायमा हुनुपर्दछ भन्ने अनिवार्यता छैन । दलीय सदस्यता भनेको प्राविधिक कुरा हो । विचार र दृष्टिकोण प्रधान राजनीति हुने अवस्थामा प्राविधिक पक्ष गौण हुनुपर्दछ । कुनै पेशाकर्मी आफ्नो ईच्छाले पदीय आचरण प्रतिकुल नहुने गरी प्राविधिक पक्षतिर पनि लाग्न सहज हुनुपर्दछ । यद्यपि प्रमुख कुरा त विचार नै हो । विचार भनेको भावनात्मक पक्षबाट अंगिकार हुँदै जीवनपद्धतिका अभ्यास र आचरणहरुमा अभिव्यक्त हुने कुरा हो । त्यहाँ राजनीतिजस्तो पवित्र कार्यमा कसैले बन्देज लगाउनु पर्ने र कसैले प्रोत्साहित गर्ने कुरा होइन ।

कुनै पनि राजनीतिक विचार जसले समाज परिवर्तन गरी अग्रगमण र समृद्धिको रथ हाँक्ने अभिलाषा राखेको छ । त्यसबाट समाजकै एकभाग पेशाकर्मीलाइ छुटाउनु पर्ने, अलग्याउनुपर्ने, अछुतो बनाउनुपर्ने कुनै कारण छैन । समाजका प्रत्येक सदस्य चाहे त्यो जुनसुकै पेशा, व्यवसायमा आवद्ध होस आफ्नै राष्ट्र निर्माण, समृद्धि र समुन्नतिको अभियानमा लामबद्ध हुन पाउनु उसको नैसर्गिक अधिकार हो । किनकी उसको जन्म, मरण समाजमै हुन्छ । व्यक्तिगत, पारिवारीक र अन्ततोगत्वा समाजकै खातिर उ पेशामा आवद्ध छ भने जीवन अवधिका ६० औँ बर्षसम्म उसलाई समाजका सबै सकारात्मक परिवर्तनका गतिविधिबाट किन र कसरी अलग राख्न सकिन्छ ? यो कुनै सम्भव कुरा होइन ।

सक्रिय उमेर समूहका सबै जनसंख्या विभिन्न पेशा व्यवसायमा आवद्ध हुनुपर्ने वाध्यता छ । यसरी पेसा व्यवसायमा आवद्ध सबैलाई राजनीतिबाट विमुख गरेर के बालबालिका, वृद्धवृद्धा, अस्पतालको सैयामा पल्टिएका बिरामी, समाजमा कुनै पनि रोजीरोटीको माध्यम नअपनाइने फ्रेस बेरोजगारले मात्रै राजनीतिक अधिकार पाउने हो त ? यो सोच संविधानप्रदत्त अधिकार प्रतिकूल सोच हो र पुर्वाग्रहग्रस्त निकृष्टतम चिन्तन पनि । चेतनशील तप्कालाई राजनीतिबाट अलग राख्नुपर्छ भन्ने मान्यता कुनै वस्तुवादी मान्यता पनि होइन । यो संकिर्णताको पराकाष्टा हो । राजनीतिलाई समाज विकासको बृहत्तर सामाजिक अभियानबाट अलग्याएर अपारदर्शीरुपमा सीमित कोटरी केन्द्रित व्यक्तिमा दशकौंसम्म केन्द्रित गर्न चाहनेहरुको निम्न स्तरीय चेतनाको उपज पनि । यो राजनेताहरुको दृष्टिकोण हुनसक्दैन । राजनीतिलाई आम जनमनको सेवा होइन ‘गुपचुप’ को पेवा बनाउन चाहने ‘व्यावसायिक’ राजनीतिज्ञहरुको निहित स्वार्थको अभिव्यक्ति हो ।

सार्वजनिक प्रशासनको केन्द्रभागमा राजनीति छ । उपरीतहमा राजनीति नै छ । तर जानी वा नजानी, नियतवश वा अज्ञानतावश पेशाकर्मी र राजनीतिको सवाललाई जहिले पनि विवादको भुमरीमा परिएको हुन्छ । यसबाट घुमाउरो रुपमा पेशाकर्मीलाई विवेकशून्य प्राणीको रुपमा दर्ज गर्ने प्रयत्न गरिएको छ । हिजोको दास प्रथा जहाँ मानवको बेचबिखन, मोलमोलाई हुन्थ्यो । चरम पुँजीवादी समाज जहाँ मान्छे र मेसिनलाई समदुरीमा राखिन्छ । त्यसैगरी मानवको सबैभन्दा ठूलो गहना र समाज विकासक्रमको सबैभन्दा ठूलो पुँजी आफ्नो विवेक र चेतनालाई बन्धक राखेर भित्रैदेखि कुनै पनि चेतनशील मानव आफ्नो कर्ममा दतचित्त हुनैसक्दैन । यस्तो सोच राखियो भने यो दासप्रथाको परिमार्जित संस्करण नै हो । किनकी विभिन्न परिवन्द र वाध्यताले छोपिएता पनि मानव चेतनाको केन्द्रभागमा जहिले पनि ‘बरु भोकै मरुँला अर्काको दास बन्दिन’ भन्ने भाव नै रहेको हुन्छ । विभिन्न वहानामा दासताको अर्को रुप चाहे त्यो व्यक्तिले गरोस्, सँगठित संघ, संस्थाले गरोस् वा राज्यले नै किन गरोस् त्यो मानव मनको अन्तरभागबाट सदासर्वदा अस्वीकार्य नै हुन्छ ।

जीवनमा सही राजनीतिक दृष्टिकोण वा दर्शन प्राप्ति कसरी हुन्छ ? यो पनि पेशाकर्मीको लागि अहम् सवाल हो । दर्शनको प्राप्ति जहिले र जहाँपनि आश्चर्य, शंका, कौतुहल र छट्पटीबाट हुनेगर्दछ । र, त्यसको खोजी स्वयं नगर्दासम्म सत्य पत्ता लाग्न असम्भव छ । पेशाकर्मीको सवालमा पनि त्यो कुरा अपवाद हुनसक्तैन ।

अहिले सही राजनीतिक दृष्टिकोण विकासको लागि वैयक्तिक, सांगठनिक खोज, अध्ययन, अनुसन्धान गर्ने काम भइरहेको छैन । कुनै पनि राजनैतिक पक्षबाट पेशाकर्मीलाई योजनाबद्धरुपले प्रशिक्षित गर्ने, पेशाकर्मीको भावनासँग राजनैतिक दर्शनलाई, राज्य दर्शनलाई एकाकार गर्ने काम भइरहेको छैन । अध्ययन, अनुसन्धानको पक्ष त यसरी ओझेलमा परेको छ कि त्यसलाई राजनीतिक संरचनाबाट करिब करिब समाप्तै पारिएको अवस्था छ । यसरी सिंगो राज्य संयन्त्र संचालनको सर्वव्यापी माध्यम पेशाकर्मीलाई राज्यदर्शनबाट अलग गरेर, ज्ञानको संसारबाट ओझेलमा पारेर समृद्ध राज्य प्रणालीको विकास हुनै सक्दैन । त्यसैले समाज परिवर्तनमा समाजका सबै चेतनशील नागरिकहरुलाई स्वतस्फुर्त रुपमा लामवद्ध हुनको लागि, नीतिहरुको श्रेष्ठतम नीति राजनीतिमा लाग्नको लागि बन्द गरिएका, बन्द गर्ने प्रयास गरिएका संकुचित द्वारहरु खोलिनुपर्छ । राजनीति कुनै गुपचुपमा गरिने ‘पोर्नो’ व्यापार होइन । यो खुल्लमखुल्ला हुनुपर्दछ ।

अहिले संविधानमै बहुलवाद स्वीकारिएको परिवेश हो । सानो र कुखुराको जत्रो चित्त पालेर अत्यन्तै जटिल र गाँजिएको बहुल विशेषतायुक्त समाज व्यवस्थालाई समृद्ध बनाउन सकिँदैन । कानूनमा लेख्दैमा, विधान र दस्तावेजमा टाँस्दैमा, अक्षरका फुलबुट्टा र बान्की मिलाएर मात्रै समृद्धिको सपना साकार हुँदैन । सही विचार, दृष्टिकोण र अभियान समाजका अङ्गप्रत्यङ्ग, नशानशामा रक्तसंचार प्रणालीझैँ प्रवाहित हुनुपर्छ । विश्वमा भएका कुनै पनि सामाजिक परिवर्तनहरु समाजका एकल पक्षबाट मात्र सफल भएका छैनन् । त्यसैले पेशाकर्मीका लागि राजनैतिक दर्शनको व्यावहारिक र सैद्धान्तिक अनुभव र ज्ञानआर्जनका बन्द गरिएका ढोका तुरुन्तै खोल्नुपर्छ ।

राजनीतिलाई दल वा व्यक्ति विशेषको वंशज र पैत्रिक जायजेथा ठान्ने संस्कारबाट मुक्त हुनै पर्दछ । मानव जातिको जन्मसिद्ध अधिकार राजनीतिको प्राप्ति र उपभोग समस्त मानव जातिले जतिखेर, जहाँ पनि गर्न पाउनुपर्दछ । समाजको एक पक्ष पेशाकर्मी राजनीतिबाट पृथक हुनै सक्तैन तर राजनीतिको नाममा हुने दलगत अराजनीतिबाट भने पेशाकर्मी पृथक रहनैपर्छ । इत्यादि ।
(मुसिकोट न.पा.-५, सोलाबाङ्ग रुकुम)

The post राजनीति र पेशाकर्मीको अन्तरसम्बन्ध : अलग्याउने कि एकाकार गर्ने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles