प्रजातान्त्रको कुरा गर्दा विश्व भरी नै अमेरिकाको नाम लिईने गरिन्छ । तर विश्वमा सबैभन्दा बढी युद्धको सुरुवात भने अमेरिकाले नै गरेको छ । भियतनामको युद्ध, अफगानिस्तानको युद्ध, इराकको युद्ध तथा आईएसआईको उदय, सिरिया तथा मध्यपुर्वको अस्थिरताजस्ता सबै अस्थिरता तथा द्वन्द्वमा अमेरिका प्रमुखरुपमा सम्लग्न भएको छ । अरुलाई सधैं अप्रजातान्त्रिक देख्ने तथा आफुले गरेका सबै काम प्रजातान्त्रिक हुने नयाँ परिभाषा अमेरिकाले स्थापना गरिदिएको छ ।
अमेरिकाले भन्ने गर्छ कि उसको मुलुकमा कहिल्यै रंगभेद हुँदैन, त्यसैले त मार्टिन लुथर किँग जस्ता महान नेता यहि मुलुकले पायो । तर, यथार्थता भने पृथक छ । आज अमेरिकामा सबै भन्दा बढी अश्वेतहरु आतङ्कित छन् । कहि कुनै उपद्रो हुने बित्तिकै सबैभन्दा पहिले उनीहरु प्रशासनको बिशेष निगरानीमा पर्ने गर्दछन् । जुलाई ७, २०१६ को ग्लोबल न्युज संस्करणले भन्छ- सन् २०१६ को ६ महिनामा मात्र कुल १३६ अश्वेत अमेरिकनहरुको अमेरिकामै बिना कारण हत्या भएको थियो । (हेर्नुहोस्, सन्दर्भ सामाग्रीको लिङ्क नं. १)
सन् १९९२ मै न्युयोर्क टाइम्स भनेको थियो कि एसियन मुलका अमेरिकनहरु अमेरिकी कार्यक्षेत्रमा सबैभन्दा बढी पिल्सिएका र विभेदमा पारिएका छन् । यो कुरा कुनै एसियन मुलुकबाट प्रकाशित सामग्रीमा भनिएको होनन । अमेरिकाबाटै प्रकासित हुने न्यूयोर्क टाईम्स पत्रिकाले नै लामो अनुसन्धानपछि स्वीकार गरेको कुरा हो । आज पर्यन्त त्यो समस्या कायमै छ र कम हुनुको सट्टा झन् झन् बढ्दै गएको देखिन्छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. २.)
२०१६ जनवरीमा द एटलान्टिक नामक पत्रिकामा एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको छ । जसले भन्छ- अमेरिकी कार्यक्षेत्रमा एसियनहरु सबैभन्दा बढी रंगभेदको सिकार भएका छन् । तर अमेरिका भन्छ- उसको भूमिमा ‘रेसिज्म’ भन्ने कुरा अहिले कुनै पनि स्वरुपमा विद्यमान छैन । रंगको आधारमा हुने विभेद त अब्राहम लिङ्कनको पालादेखि नै निर्मुल भैसकेको छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ३)
खैरो कपाल र सेतो छालाले काम नपाई अरु एसियनहरुले भने जस्तो काम नपाउने यथार्थता अमेरिकामा करिब-करिब घाम जत्तिकै छर्लङ्ग छ । अधिकांश क्षमतावान एसियनहरु, एसियनद्वारा नै सञ्चालित व्यवसाय तथा कार्यालयमा मै काम गर्न बाध्य छन् र उनीहरु त्यहिँ काम गर्दा मात्र आफु सुरक्षित भएको महसुस गर्छन् । यहि हो अमेरिकाको रंगभेदी समाज जो देख्न एक प्रकारको छ तर व्यहोर्नमा भने नितान्त अर्कै प्रकृतिको ।
माईकल जोर्डन, मोहम्मद अलि, टाईगर उड, सेरेना विलियम्स जस्ता खेलकुद जगतका हस्तीहरु अमेरिकालाई दिएको अश्वेत समुदाय आज अमेरिका मै रंगभेदी अवस्थाको सिकार भएको छ । स्थानीय श्वेत अमेरिकनका आँखामा उनीहरु आप्रवासी अमेरिकीहरु हुन् जसले उनीहरुको रोजीरोटी खाईदिएको छ । १२ अगष्ट, २०१२ को हफिङ्टनपोष्ट भन्छ- अमेरिकाको खेलकुद क्षेत्रमा अश्वेतहरुले दिएको योगदान अन्य श्वेत अमेरिकन खेलाडीहरुको भन्दा कैयन गुणा बढी छ जसलाई कसैले नकार्न सक्तैन । तर अमेरिका त्यस सत्यलाई लाजै नमानी अस्वीकार गर्दछ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ४)
आज अमेरिकामा बस्ने सबैले महसुस गरेकै कुरा हो कि रंगभेद अमेरिकाको चरम यथार्थता हो । यो कुरा त्यहाँ काम गर्न जाने र जागिरको लागि अन्तवार्ता दिन जानेले महसुस गरेका हुन्छन् । बाँकी मानिसले त पत्रिका पढेर अनि होमाहो मिलाएर गफ गर्ने गफको एउटा पाटो मात्र हो ।
अमेरिका खुल्ला अर्थनीति तथा व्यापारको वकालत गर्छ । तर अमेरिका आफ्नो देशमा चीनको उपस्थितिप्रति घृणा गर्छ । मेक्सिको र अमेरिकाको बीचमा पर्खाल लगाउने कुरालाई जोड दिन्छ । बाह्य मुलुकमा स्थापित उद्योगबाट अमेरिकामा समान आयात गर्दा प्रत्येक समानमा २० प्रतिशत भन्दा बढी भन्सार कर लगाउने कुराको वकालत गर्छ अनि चीनले अमेरिकी बजार पूर्णरुपले ध्वस्त बनायो भन्दै क्रन्दन गर्छ । हालसालै क्यानाडाबाट प्रकाशित चर्चित पत्रिका टोरोन्टोस्टार, २६ जनवरी २०१७ ले यहि कुराको खुलासा गरेको छ तर अमेरिका यी सबै कुराबाट आफुलाई केहि फरक नपर्ने कुरा सगर्व बताउँछ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ५)
अमेरिका विश्वव्यापीरुपमा शरणार्थीहरुको हक र हितका लागि अन्य मुलुकहरुलाई दवाब दिदै हिड्छ । नेपालकै हकमा पनि तिब्बती र भुटानी शरणार्थीलाई नेपालबाट पश्चिमा मुलुकहरुमा लैजान हानथापझैं गर्यो तर, सिरियामा आफैंले गोला बारुद पड्काउँदा बनेका शरणार्थीलाई भने अमेरिका आफ्नो मुलुक प्रवेशमा रोक लगाउँछ । अनि आफु र आफ्ना सहयोगी मुलुकको साथ लिएर मध्यपूर्वी मुलुक सिरियामा बसर अल असदको सरकार गिराउन उद्यत रहन्छ ।
अमेरिका चीनमा कसैलाई मृत्युदण्ड दिएमा मानवअधिकारको उल्लंघन भयो भनेर वकालत गर्छ तर इजरायलले पेलिस्तानी समुदायमा माथि गरेको चरम मानव अधिकार उल्ल्ङघनका विरुद्ध भने चुईक्क एउटा शब्द पनि बोल्दैन । यस्तो लाग्दैछ कि प्यालिस्तानी नागरिकहरु यत्तिकैमा इजरायली समुदायलाई दोष लगाई रहेका छन् । अमेरिका त्यहि मुलुक हो जो अरब लिगविरुद्ध इजरायललाई सधै काखी च्यापी राख्छ । तर सिरियामा भने उही अरब लिगको सहयोगमा असद सरकारको विरुद्ध ज्यान छोडेर लागिपर्छ । सन् २०१३ मा प्रकाशित ह्युमनराईट वाचको रिपोर्ट जुन ६६५ पेज लामो छ । उसले भन्छ- कि युद्धका क्रममा मानव अधिकार हननका अनगिन्ति घटनाहरुमा अमेरिका स्वयं जिम्मेवार छ । रिपोर्टले भन्छ- मानव अधिकार हननका विश्वव्यापी घटनाहरुमा अमेरिका अन्य मुलुक भन्दा कुनै पनि कोणबाट कम छैन बरु तुलनात्मक रुपमा बढी देखिन्छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ६)
अमेरिका आप्रवासीले आफ्नो मुलुकलाई ध्वस्त बनाए भन्छ तर ४ करोड (४० मिलियन) अमेरिकीहरु अन्य मुलुकमा जन्मेर पनि परिश्रम गर्ने उमेरमा चाँहि अमेरिका आएका हुन् भन्ने कुरा चाँहि बिर्सन्छ अनि उनीहरुको रगत र पसिनाले अमेरिका बनेको हो भन्ने कुरा चाँहि अमेरिका सम्झन सक्तैन । अझ हिजो आज त मेलिनिया ट्रम्प स्वयं स्लोभेनीयाकी हुन र डोनाल्ड ट्रम्पकी आमा समेत स्कटल्याण्डबाट अमेरिका आएका आप्रवासीहरु हुन् भन्ने कुरा समेत अमेरिकाले हेक्का राखेको जस्तो देखिदैन । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ७ र ८)
अमेरिकामा आफ्नै भनिएका गोराहरुको जनसंख्या वृद्धिदर घट्दो छ अनि आप्रवासीहरु ल्याईएन भने अहिलेका अमेरिकनहरुलाई अबको बीस बर्षपछि कर तिरेर केयर होममा पाल्ने पुस्ता नै हुँदैन भन्ने कुरा थाहा पाएर पनि अमेरिका बुझ पचाउँछ । लाग्दैछ, उसलाई त्यसको कुनै पर्वाह नै छैन । अमेरिकी पपुलेसन रिफ्रन्स ब्युरो २०१२ ले घट्दो जनसंख्यालाई सन्तुलनमा राख्न आप्रवासीलाई अमेरिका ल्याउनुका अलावा अन्य कुनै समाधान देख्दैन तर दोष भने फेरि पनि आप्रवासीहरुलाई नै लगाउँछ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ९)
आतंकवादलाई प्रश्रय दिएको भनेर, इराक, इरान, लिविया, सोमालिया, सुडान, सिरिया र यमनलाई अमेरिका प्रवेशमा रोक लगाउँछ तर सेप्टेम्बर ११ का १९ आतंकवादी मध्ये १६ आतंकवादीहरु साउदी अरेबियाका थिए र बाँकी तीनजना समेत इजिप्ट, युएई तथा लेबननका थिए भन्ने कुरा कुरा चाँहि ऊ बिर्सन्छ । अमेरिकाले अहिले प्रतिबन्ध लगायतका मुलुकहरुमा सेप्टेम्वर ११ घटाउने मुलुक-मुलुकका मानिस परेका छैनन् भन्ने कुरा अमेरिकालाई अरुले सम्झाई दिनुपर्छ । सेप्टेम्वर ११ का प्रमुख योजनाकारहरु कुन-कुन मुलुकका थिए भन्दै अमेरिकी प्रसारण गृह सिएनएनले एकाथरी प्रतिवेदन सार्वजनिक गर्छ तर अमेरिकी प्रशासन भने अमेरिका प्रबेशमा अरु नै मुलुकलाई प्रतिबन्ध लगाउँछ जुन देशका मानिसले उक्त घटना नै गराएका हुँदैनन् ।
(हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. १०)
अमेरिका भन्ने गर्छ कि विश्वमा शान्ति स्थापना हुनुपर्छ र हामी त्यसको वकालत गर्छौं भनेर । तर सन् २०१६ मा मात्र संसारका ४० बिलियन डलर बराबरको हतियार तथा अन्य बन्दोबस्तीका समान अमेरिकाले अन्य मुलुकहरुलाई बेचेको थियो भन्ने कुरा चाँहि अरुले थाहा नपाए जस्तो गरी कानमा तेल हालेर बस्ने गर्छ । अमेरिकाले गतवर्ष जति हतियारको कारोबार गर्यो त्यो परिमाण तथा रकम संसारका अन्य कुनै पनि देशले गरेको हतियार कारोबार भन्दा धेरै गुणा बढी हो भन्ने कुरा चाँहि फेरि पनि अमेरिका बिर्सन्छ । अनि अमेरिकाले जता जता हतियार बेच्यो ती ठाउँहरुमा युद्ध कै कारण अरबौं डलरको भौतिक तथा मानवीय क्षती भएको छ भन्ने कुरा चाँहि उसलाई अरु कसैले भनिदिनुपर्छ । यति हुँदाहुँदै अमेरिका अझ पनि आफै मात्र शान्तिको पहरेदार हो भनेर एकोहोरो भनिरहन्छ । जुन कुरा हामीहरुले लाजै नमानी सुनिदिनुपर्छ । डिसेम्बर २६, २०१६ मा प्रकाशित न्युयोर्क टाईम्सले भन्छ- अमेरिकाले सन् २०१६ मा मात्र ईजिप्टलाई १२ बिलियन डलर अनि साउदी अरेबियालाई ८ बिलियन डलर बराबरको हतियार बेचेको छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. ११)
तर कुल १९ जनामध्ये, साउदी अरब र ईजिप्ट कै मात्र १७ जाना मानिसहरु सेप्टेम्बर ११ को घटना गराउने प्रमुख व्यक्तिहरु थिए भन्ने भन्ने कुरा चाँहि अमेरिका बिर्सन्छ । उक्त घटना उक्त घटनाको सम्पूर्ण विवरण सिएनएनले पटक पटक सार्वजनिक गरिसकेको छ । तर अमेरिका यस कुरामा आफु बेखबर भए जस्तो गरिरहन्छ ।
(हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. १२)
अमेरिका चीनको एक चीन नीतिमा प्रश्न चिन्ह उठाउँछ, तिब्बतीय शरणार्थीहरुलाई आफ्नो मुलुकमा शरण दिन्छ, ताईवानसँग कुम मिलाउँछ तर रसियाले भर्खर आफूमा गाभेको क्रिमिया तथा भारत पाकिस्तानबीच विवादित जम्मु काश्मिरको मामिला भने आँखा चिम्लन्छ । संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्चयुक्तको नोभेम्वर २०१५ को प्रतिवेदनले भन्छ कि अमेरिकाले सन् २०१५ सम्ममा कुल ८४,८१९ भुटानीलाई तथा १०००० भन्दा बढी तिब्बतीहरुलाई आफ्नो मुलुकमा पुनर्स्थापना गरिसकेको छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. १३) ।
यसबाट यस्तो देखिन्छ कि एउटा बलियो मुलुकलाई तह लगाउन अमेरिका अन्य धेरै कमजोर मुलुकहरुको कमजोरीहरुलाई भने आँखा चिम्लन्छ । मानौं कि शरणार्थी समस्या, मानव अधिकार तथा स्वतन्त्रता भन्ने कुरामा देशै पिच्छेको लागि फरक-फरक परिभाषा छ अमेरिकी शब्दकोषमा ।
अमेरिका सबैभन्दा बढी आणविक हतियार आफूसँग सुरक्षित राख्छ तर अरुलाई भने हतियार राख्न हुन्न भन्छ । हतियार नै नराखेको इराकलाई अनाहकमा ध्वस्त बनाउँछ । अनि लाखौको संख्यामा रहेका निर्दोष इराकी नागरिकहरुको हत्याको कारण भने उही सद्दाम हुसेन र अहिले उत्कर्षमा रहेको अतिबादी समूहहरुलाई लगाउँछ । आज उसैको लहड र गलत नीतिको कारण मेसोपोटामीयाको सभ्यता खरानी भएको छ । लाखौं निर्दोषहरुको अनाहकमा ज्यान गएको छ । इराक तथा मध्यपूर्व युद्धको अनन्त चपेटामा पिल्सिएको छ । यसैको असर सम्पूर्ण विश्वले भोग्दैछ । तर यो कुरा अमेरिका थाहा पाएर बुझ पचाउँछ अनि पनि गलत काम चाँही अरु कसैले गरेको हो हामीले गरेको हैन भनेर झुठको खेती गरिरहन्छ । हामीहरुले त्यो कुरा पत्याई दिनु पर्ने हुन्छ ।
आज अमेरिका बेलायत, फ्रान्स रसिया तथा चीनसँग आणविक हतियारको भण्डारण सबैभन्दा धेरै छ जसको नष्ट गर्ने कुराको उठान कहि कतै भएको पाईंदैन । यदि कथम् कदाचित उठान भएछ भने पनि पहिला अरु मुलुकले यस्ता हतियार नष्ट गर्नुपर्नेछ त्यसपछि मात्र अमेरिकाले नष्ट गर्नेछ । यी ठूला भनिएका मुलुक बाहेक भारत, पाकिस्तान इजरायल र उत्तर कोरियासँग पनि आणविक हतियार छ । यिनीहरु कसैले पनि आणविक हतियार निर्माण तथा प्रसारप्रसार विरुद्ध सहि गरेका छैनन् तर अमेरिका उत्तर कोरियालाई मात्र आणविक हतियार बनाएको भनेर आर्थिक नाकाबन्दी गर्छ । अन्य मुलुकले गरेको आणविक हतियारको होडबाढीबाट चाँहि संसारलाई हानी नोक्सानी नहुने जस्तो गरी कुम्भकर्ण निद्रामा परेको स्वाङ गर्छ ।
त्यस्तै करिब २०० भन्दा बढी आणविक हतियार भएर पनि आफूसँग आणविक हतियार भएको घोषणा नै नगरेको इजरायललाई सहयोग गर्छ तर हतियार नै नबनाएको ईरानलाई भने अन्तर्राष्ट्रिय अनुगमन गर्न लगाएर अनि अर्थिक नाकाबन्दीको त्रास देखाएर आणविक कार्य रोक्न लगाउँछ । बेलायतबाट प्रकाशित हुने चर्चित पत्रिका ईन्डिपेन्डेन्टले सन् २०१६ मा निकालेको तथ्याङ्कले भन्छ, आणविक हतियारको प्रतिस्पर्धाका कारण उत्तर कोरियाबाट मात्र हैन यी माथी उल्लेख गरिएका सबै ९ वटै मुलुकबाट उत्तिकै खतरा छ । (हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. १४)
अफगानिस्तानमा भएको रसियाली आक्रमाणको बिरुद्व जेहाद छोड्ने ओसामा बिन लादेनलाई १९७९ मै तीन बिलियन डलर सहयोग गर्छ, तलिम दिन्छ अनि हतियारले सुसज्जित बनाउँछ । उसैलाई पालन पोषण गर्छ । जबसम्म सोभियत संघ टुक्रन्न उसलाई भगवान सरह बनाई राख्छ । तर अन्य मुस्लिम राष्ट्रहरु माथि अमेरिकाले गरेको हस्तक्षेपका विरुद्ध आफैबाट पालित पोषित ओसामा बिन लादेन लागे पछि भने आफैले त्यसको इहलिला समाप्त पारिदिन्छ । अमेरिका आफैं लादेनको सृष्टिकटर्ता पनि बन्छ अनि आफै संहारकर्ता पनि बन्छ । यो कुरा हामीले बुझेर पनि बुचपचाई दिनुपर्छ । अमेरिकाले कसरी लादेनलाई जन्मदियो अनि हुर्कायो भनेर बीबीसीको भनाईलाई सापट लिँदै द ईन्साईडर पत्रिकाले सन् २०११ मै खोजमुलक सामग्री प्रकाशन गरेको छ । जसले भन्छ- अल काईदाको सृष्टिकर्ता स्वयं अमेरिकी जासुसी संस्था सिआईए हो । यसैको कारणबाट अलकाइदाले विश्वलाई तहसनहस बनाएको छ ।
(हेर्नुहोस् सन्दर्भ सामग्रीको लिङ्क नं. १५)
यसरी यी सबै घटनाहरुका अलावा अमेरिका अहिले घृणाको खेतीमा रमाएको छ । घृणाको व्यापार सर्बत्र छरप्रष्ट भएको देख्न सकिन्छ । एकले अर्कालाई गर्ने घृणा नै अमेरिकाको असली पहिचान बन्दै गएको छ । जसले आप्रवासीलाई जति बढी घृणा गर्न सक्यो त्यो त्यति नै बढी खाँटी राष्ट्रवादी ठहरिदै गएको छ अमेरिकामा । यो नै अमेरिकाको अहिलेको वास्तविकता बन्दै गएको छ । अब त यस्तो लाग्दैछ कि कपडा नलगाएको कुनै मान्छेले दुई हातले आफ्नो जनेन्द्रिय छोपेर आफु नाङ्गो नभएको बताए जस्तै अमेरिका अहिले यसरी आफ्नो लाज ढाक्न व्यस्त देखिन्छ जसलाई हामीहरुले कपडा लगाएकै स्बरुपमा रुपमा देख्नुपर्दछ । किनभने उ त अमेरिका न पर्यो जसको सबै बैध/अबैध कुराहरुमा निर्विकल्प सहि थाप्नु नै हामी जस्ता अल्पविकसित मुलुकहरुको नियति बन्दै गएको छ ।
सन्दर्भ सामग्रीहरु
१. The Global News. (July 7, 2016). Retrieved from http://globalnews.ca/news/2810639/how-many-black-people-have-been-killed-by-police-in-the-u-s-depends-whos-counting/
२. The New York Times. (Feb 29, 1992). Retrieved from: http://www.nytimes.com/1992/02/29/us/us-study-says-asian-americans-face-widespread-discrimination.html
३. The Atlantic.(Jan 26, 2016). Retrieved from: http://www.theatlantic.com/politics/archive/2016/01/asian-americans-feel-held-back-at-work-by-stereotypes/458874/
४. The Huffington Post. (Aug. 12, 2012). Retrieved from: http://www.huffingtonpost.com/2012/08/12/greatest-black-athletes-of-all-time_n_1770057.html?slideshow=true#gallery/244314/3
५. The Toronto Star. (Jan 26, 2017). Retrieved from: https://www.thestar.com/news/world/2017/01/26/5-reasons-trumps-border-wall-will-be-nowhere-near-as-easy-to-build-as-he-makes-it-sound.html
६. The International Business Times. (Jan. 2, 2013). Retrieved from: http://www.ibtimes.com/us-guilty-several-human-rights-violations-2012-human-rights-watch-1056702
७. The United State Census Bureau Report. (2010). Retrieved from: https://www.census.gov/newsroom/pdf/cspan_fb_slides.pdf
८. The Biography. (2016). Retrieved from: http://www.biography.com/people/melania-trump-812016
९. The New Yorker. (June 24, 2016). Retrieved from: http://www.newyorker.com/news/news-desk/donald-trumps-immigrant-mother
१०. Population Reference Bureau, USA (May 2012). Retrieved from: http://www.prb.org/Publications/Articles/2012/us-population-growth-decline.aspx
११. The CNN. (July 27, 2013). Retrieved from: http://www.cnn.com/2013/07/27/us/september-11th-hijackers-fast-facts/
१२. The New York Times. (Dec 26, 2016). Retrieved from: https://www.nytimes.com/2016/12/26/us/politics/united-states-global-weapons-sales.html?_r=0
१३. The CNN. (July 27, 2016). Retrieved from: http://www.cnn.com/2013/07/27/us/september-11th-hijackers-fast-facts/
१४. The United Nations High Commission for Refugee Report. (Nov. 2015). Retrieved from: http://www.unhcr.org/news/latest/2015/11/564dded46/resettlement-bhutanese-refugees-surpasses-100000-mark.html
१५. The Tibetian Americans. Retrieved on Jan 31, 2017 from: ttps://en.wikipedia.org/wiki/Tibetan_Americans
१६. The Independent. (Jan. 6, 2016). Retrieved from: http://www.independent.co.uk/news/world/politics/the-nine-countries-that-have-nuclear-weapons-a6798756.html
१७. The Insider. (2011). Retrieved from: http://www.theinsider.org/news/article.asp?id=0228
The post अमेरिका अर्थात् भनाई र गराईबीचको खाडल appeared first on Sajha Post.