Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

मृत्यू जितेर आएका नेताहरु भ्रष्टाचारसँग हारे

$
0
0

नयाँ शक्तिमा ध्रुवीकरणको तिव्र प्रक्रियाले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानको सार्थकता पुष्टि भइरहेको छ । हामी नेपालमा वैकल्पिक राजनीति शक्ति निर्माण गर्ने सपना बोकेर केही साथी निस्किएका थियौं । अहिले बिस्तारै खोलाबाट नदी, नदीबाट सागर सागरबाट महासागरजस्तै समुद्रतर्फको यात्रा अगाडि बढ्दै गइरहेको छ । यसले हामी सबैलाई अत्यन्त उत्साहित बनाइरहेको छ ।

नयाँ युग : नयाँ कार्यभार
हामीले नयाँ सपना देखिरहेका छौं । प्रत्येक युगको एउटा नयाँ कार्यभार हुन्छ र सपना हुन्छ । नेपाल विभिन्न जाति, क्षेत्र र समुदाय मिलेर बनेको छ । नेपालको अहिलेको सपना हाम्रो देशको राष्ट्रिय एकता कायम गरेर हामीले प्राप्त गरेका लोकतान्त्रिक, गणतान्त्रिक संघीयतालगायतका उपलब्धिहरु छन्, त्यसको जगमा टेकेर हाम्रो पालामा समृद्धि नेपाल स्थापना गर्नु हो । गरिबी र बेरोजगारीको अन्त्य गर्नु आजको हाम्रो सपना हो । त्यसैले हामीले ‘अबको निकास, आर्थिक विकास,’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मूल नारा र पाँच ‘स’को कार्यक्रम अनुसार नयाँ शक्ति चलाएका छौं । त्यो नै आजको नेपालीहरुको सपना हो । तपाईं हाम्रो सपना हो । यसलाई पूरा गर्नु नयाँ शक्ति नेपालको मुख्य अभिभारा हो । यसर्थ, यो अभियानमा उच्च मनोबल र दृढ अठोटका साथ अगाडि बढ्नुपर्छ ।

डा. बाबुराम भट्टराई

नेपालको राजनीति यतिबेला गम्भीर अवस्थामा पुगेको छ । हाम्रो पुस्ताले पुरानो व्यवस्था बदल्नको निम्ति ठूलो त्याग र बलिदान गर्‍यो । पहिले नेपाली कांग्रेस, त्यसपछि एमाले र त्यसपछि माओवादी, मधेसवादीलगायतका नेतृत्वमा अत्यन्तै युगान्तकारी आन्दोलनहरु भए । त्यसले अहिले जुन उपलब्धिहरु पाएका छौं, त्यसमा हामीले गर्व गर्नुपर्छ ।

क्रान्ति भनेको निरन्तर अगाडि बढ्ने श्रृंखला हो । कहिले राजनीतिक क्रान्ति अगाडि आउँछ, त्यसपछि आर्थिक क्रान्ति आउँछ, सामाजिक क्रान्ति आउँछ । यसले नयाँ प्रकारको आर्थिक रुपान्तरण हुन्छ र फेरि नयाँ प्रकारको राजनीतिक परिवर्तन हुन्छ र यो निरन्तर श्रृंखलामा अगाडि बढ्छ । नेपालमा हामीले झण्डै ८० वर्ष लगाएर राजनीतिक परिवर्तन त अगाडि बढायौं तर, त्यसलाई पूर्णता दिएर आर्थिक र सांस्कृतिक रुपान्तरण र समृद्धिको दिसामा जुन तिव्रताका साथ अगाडि जानुपर्दथ्यो, त्यसमा पूरानो राजनीतिक नेतृत्व चुक्यो । जसरी पुरानै बाटोमा घुमेर कहिँ पनि पुगिँदैन, त्यसरी नै त्यस्तै गोलचक्करमा कांग्रेस, एमाले र माओवादीहरु त्यहीँ घुम्न थाले । त्यसैले कयौं वर्ष भइसक्यो, देश निकासहिन अवस्थामा गुज्रिरहेको छ ।

मृत्यूलाई जितेर आएका साथीहरु अत्यन्तै फोहोरको आहालमा, भ्रष्टाचारको दलदलमा मुछिन पुग्नुभयो । यसले अहिले सम्पूर्ण राजनीति नै बदनाम छ । हाम्रो नयाँ पुस्ता वा युवा पुस्ता राजनीतिप्रति पटक्कै आकर्षित छैन ।

पुरानो पुस्ता र बदनाम राजनीति
यति मात्र होइन, त्यति ठूलो त्याग, तपस्या र बलिदानी गरेको नेतृत्वले एउटा स्पष्ट भिजनका साथ देशलाई नयाँ उचाईमा लिएर जानुपर्ने कार्यभार पूरा गर्नुपर्दथ्यो तर, उल्टै त्याग, तपस्या र बलिदानी दिएका, दसौं वर्ष जेलमा बसेका, भूमिगत जीवन बिताएका, मृत्यूलाई जितेर आएका साथीहरु अत्यन्तै फोहोरको आहालमा, भ्रष्टाचारको दलदलमा मुछिन पुग्नुभयो । यसले अहिले सम्पूर्ण राजनीति नै बदनाम छ । हाम्रो नयाँ पुस्ता वा युवा पुस्ता राजनीतिप्रति पटक्कै आकर्षित छैन । यसर्थ, भ्रष्टाचार र कुशासनको दलदलमा फसेको राजनीतिलाई पुनः सदाचार र सुशासनको दिशामा अगाडि बढाउनुपर्छ र राजनीतिलाई पुनः देशको केन्द्रमा पुर्‍याएर नयाँ प्रकारको शैलीको राजनीतिको सुरुवात गर्नुपर्ने आजको मुख्य कार्यभार छ ।

म नयाँ शक्तिमा लाग्नुभएका साथीहरुलाई विशेष अनुरोध गर्न चाहन्छु– हामी हिजोकै राजनीतिमा छैनौं । विकासको प्रक्रिया एउटा क्रमसम्म निरन्तरतामा अगाडि बढ्छ, मात्रात्मक ढंगले वस्तु अगाडि बढ्छ । तर अर्को विन्दूमा पुगेपछि त्यसले गुणात्मक फड्को हान्छ र गुणात्मक नयाँ परिवर्तन आउँछ । यसर्थ, वैकल्पिक राजनीतिमार्फत हामीले नेपालको राजनीतिमा एउटा गुणात्मक र युगान्तकारी परिवर्तन दिँदैछौं । यही हो वैकल्पिक राजनीति भनेको । यसर्थ, हिजोकै राजनीतिको निरन्तरतामा सोचिनु हुँदैन । हामीले आफैं पुरानै बाटोमा हिडेर पनि पुगिहालिन्छ भन्ने सोचियो भने नयाँ र वैकल्पिक राजनीति बन्दैन । यसर्थ, सबभन्दा पहिले वैकल्पिक राजनीतिमा लागेका अभियन्ताहरुको दिमागमा, क्रमभंगता, छलाङ र परिवर्तन ल्याउन म आग्रह गर्न चाहन्छु ।

पिछडिएको संस्कार र दुश्चक्र
हामीले यतिबेला वैकल्पिक राजनीतिको खोजी गरिरहेका छौं । विश्वमा नै अहिले वैचारिक संकट छ । परम्परागत पुँजीवादी उदारवादी धार पनि तिव्र संकटमा छ । अमेरिकामा डोनाल्ड ट्रम्पको विजय लगायतका घटनाहरुले यही कुराको संकेत गर्दछ । यसैगरी परम्परागत कम्युनिष्ट धार पनि तिव्र संकटबाट गुज्रिइरहेको छ । शोभियत संघको पतनदेखि अहिलेका पछिल्ला अभ्यासहरुले पनि त्यो धार सही ढंगले अगाडि जान सकिरहेको छैन । यस्तो अवस्थामा विश्वमा नयाँ विचारको श्रृंखला र नयाँ राजनीतिक कार्यक्रमको खोजी भइरहेको छ । यस्तो अवस्थामा वैकल्पिक राजनीति भनेको आजको विकसित २१औं शताब्दीको युगमा नयाँ विचारको खोजीको एउटा कडी हो । नेपालमा हामी त्यही वैकल्पिक राजनीतिको एउटा अंग हौं । यसर्थ, हामीले हिजोकै राजनीतिको निरन्तरतामा यसलाई बुझ्नुहुँदैन ।

हिजोकै कम्युनिष्ट र कांग्रेसको झगडामा वा वाम र दक्षिणको झगडामा मात्र अल्झियौं भने हामी कहीँ पनि पुग्दैनौं । हामीले समग्र विचारलाई नयाँ उचाईमा उठाउनु छ । हाम्रा नीति र कार्यक्रमलाई नयाँ उचाईमा उठाउनु छ । मुख्य कुरा हामीले चिन्तन शैली र संस्कारलाई बदल्नु छ ।

यदि नयाँ भन्ने तर यी कुरालाई पचाउन सकेनौं र पुरानै सोच, शैली, लोभ, लालच, संकीर्णता बोकेर आयौं भने फेरि हामी पनि त्यही पुरानो दुश्चक्रमा फस्छौं । यस्ता गलत सोचाई वा भ्रम पालेर आएका छौं भने सुरुमै उक्त भ्रमबाट मुक्त हुनुपर्दछ ।

जतिसुकै त्याग र बलिदानको विरासत भए पनि हाम्रो संस्कार असाध्यै पिछडिएको छ । यसर्थ, सानो तिनो कुरामा पनि लोप गर्ने, पदलोलुप बन्न खोज्ने, पदको आकांक्षा राख्ने र पद नपाए संसार नै डुब्योजस्तो गर्न खोज्ने र थोरै पनि मौका पाउँदा लामो हात गरिहाल्ने हाम्रो प्रवृत्ति छ । यो भन्दा माथि उठ्न सकेनौं भने वैकल्पिक राजनीतिक शक्ति बन्दैन ।

हामी राजनीतिलाई पेशा र व्यवसाय होइन, देश र जनताको सेवा गर्ने एउटा स्वयंसेवी अभियानको रुपमा अगाडि बढाउन चाहन्छौं । हामी व्यक्तिगतरुपमा वा परिवारले आर्थिक उपार्जनको लागि व्यवसाय सञ्चालन गर्न सक्छौं । यसको लागि हामी छुट्टै उत्पादनको योजना बनाउँछौं । तर राजनीतिलाई हामीले व्यवसाय बनाउँदैनौं, यसलाई हामी स्वच्छ स्वयंसेवा बनाउँछौं । यो हाम्रो पहिलो प्रतिवद्धता हो । यसर्थ, वैकल्पिक राजनीतिक शक्ति निर्माणमा आवद्ध अभियन्ताहरुले हिजोको सोचबाट मुक्त हुनैपर्दछ । यो नयाँ र वैकल्पिक राजनीतिक अभियान हो र त्यसको म एउटा अभियन्ता हुँ र नयाँ मान्छे हुँ भन्ने धारणा बनाउनै पर्दछ । यो प्रस्थानविन्दूलाई आधार मानेर अगाडि बढ्नुपर्दछ । यदि नयाँ भन्ने तर यी कुरालाई पचाउन सकेनौं र पुरानै सोच, शैली, लोभ, लालच, संकीर्णता बोकेर आयौं भने फेरि हामी पनि त्यही पुरानो दुश्चक्रमा फस्छौं । यस्ता गलत सोचाई वा भ्रम पालेर आएका छौं भने सुरुमै उक्त भ्रमबाट मुक्त हुनुपर्दछ । हामी नयाँ बन्ने हो देशलाई नयाँ विकल्प दिने हो, विश्वलाई नयाँ सन्देश दिने हो । यो सोचका साथ अगाडि बढेर मात्र वैकल्पिक शक्ति बन्छ ।

निर्वाचनपछि साँच्चै नयाँ …
यसैगरी अर्को महत्वपूर्ण कुरा नीति तथा कार्यक्रम हो । यो सही भएन र प्रक्रिया पद्धतिअनुसार पार्टी चलेन भने भावनाले मात्र काम गर्न सकिँदैन । हामीले छलफलका निम्ति नयाँ शक्तिका आधारतत्व भन्ने राजनीतिक प्रस्ताव बनाएका छौं । संगठनात्मक सिद्धान्त र विधान पारित गरेका छौं । त्यो अत्यन्त लोकतान्त्रिक र उन्नत छ भन्ने हामीले ठानेको छौं । यो अन्य पुराना पार्टीहरुको प्रबन्धभन्दा नितान्त फरक र उन्नत छ । हामीले तीनवटै जातीय क्लस्टरहरु (मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्य), महिला, दलित, मुस्लिमलगायत सम्पूर्ण समुदायलाई पार्टीका सबै अंगमा समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था पार्टीमा हामीले गरेका छौं । पार्टीका सबै कमिटीहरु प्रत्यक्ष निर्वाचित हुने प्रावधानले नितान्त नयाँ ढंगको समावेशी र प्रत्यक्ष लोकतन्त्र र सहभागितामुलक लोकतन्त्रमा आधारित नयाँ पार्टी बन्छ भन्ने निश्चित त्यसले गर्दछ ।

सुरुमा हामीले आयोजक समितिहरु बनाएका छौं । मनोनित कमिटीहरु बनाउँदा केही भद्दा र नमिलेको जस्तो त भएको छ । तर अब छिट्टै पार्टीको संगठन बिस्तार अभियान पूरा गरेर निर्वाचनको प्रक्रियामा हामी प्रवेश गर्दछौं । त्यसपछि हाम्रो सबै कमिटीहरु समानुपातिक र सहभागितामुलक लोकतन्त्रमा आधारित भएर बन्छन् । त्यसपछि नयाँ शक्ति विल्कुल नयाँ ढंगको पार्टी बन्छ । यसलाई पनि यही ढंगले बुझ्न र आत्मसाथ गर्न म आह्वान गर्न चाहन्छु ।

हामी मंसिरदेखि जेठसम्मको छ महिना ‘घरघरमा नयाँ शक्ति’ भन्ने विशेष अभियान लिएर जाँदैछौं । यसले नेपालका हिमालदेखि तराई र मेचीदेखि महाकालीसम्मका कुनै पनि घर नयाँ शक्तिबाट बेखबर रहनु हुँदैन । हाम्रा अभियन्ताहरु स्वयम्सेवक र सांस्कृतिक टिमसहित प्रचार सामग्री बोकेर प्रत्येक घरमा पुग्नुपर्छ र त्यहाँ नयाँ शक्तिको सन्देश हामीले दिनुपर्छ । यहीक्रममा जनताको समस्या बुझ्नेदेखि जनतालाई पार्टीको स्वयंसेवी अभियानमा लगाउछौं । यो क्रममा नयाँ शक्तिको सदस्यता प्रारम्भिक चरणमा मतदाता संख्याको कम्तिमा पाँच प्रतिशत पुर्‍याउनुपर्छ । प्रत्येक जिल्लामा त्यहाँको मतदाता संख्याको कम्तिमा पाँच प्रतिशत नागरिक नयाँ शक्तिको सदस्य बनाउनै पर्दछ ।

जसरी संकटको क्रममा यूरोपमा हिट्लर जन्मिएका थिए र महाविनाशकारी युद्ध निम्त्याएको थियो, अहिले अमेरिकामा डोनाल्ड ट्रम्पजस्ता मानिस अगाडि आइरहेका छन् । नेपालमा सन्दर्भमा पनि को आउँछ भन्न सकिँदैन, तिव्र प्रतिस्पर्धा देखिन्छ । अहिले केपी ओली अरुभन्दा अलि अगाडि उट्पट्याङ कुरा गर्दै आफ्ना हिजोका कुकर्म र कुकृत्यलाई ढाकछोप गरेर पूरै एकल जातीय अहंकारवादको नारा लिएर अगाडि आइरहेका छन् ।

यो छ महिनामा हामी व्यापक ध्रुवीकरण अभियान पनि अगाडि बढाउँछौं । छ महिनामा १० वटा भनेको अहिले नै पुगिसक्यो । केन्द्रमा १० वटा र प्रत्येक जिल्लामा कम्तिमा दुईवटा ध्रुवीकरण गर्ने भन्ने कार्ययोजना छ । यसमा हरेक पार्टी र समाजमा रहेका असल मानिसलाई नयाँ शक्तिमा ध्रुवीकृत गर्ने उद्देश्य लिएका छौं । जनतासँग कटेर वैकल्पिक राजनीतिक शक्ति बन्दैनौं । नाम मात्रको पार्टी बन्छ । जनताको सेवा गर्ने र समकालीन मुद्दाहरु हल गर्ने पार्टीको रुपमा विकास गर्न चाहन्छौं । यसर्थ अहिलेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरु के के हुन् ? केन्द्रमा के हो ? जिल्लामा के हो र प्रदेशमा के हो ? आफ्नो गाउँपालिका/नगरपालिका र वडामा के हो ? त्यसलाई पहिचान गरेर त्यसैको आधारमा जनपरिचालन र आवश्यक पर्दा जनआन्दोलन पनि गर्नुपर्छ ।

तिव्र ध्रुवीकरण र पुरानाहरुको मरणासन्न छटपट्टी
अहिले केन्द्रमा संविधान संशोधन गरेर त्यसलाई सबैले मान्ने बनाउँदै कार्यान्वयन गर्ने काम अगाडि बढिरहेको छैन । संविधान बनेको एक वर्ष पनि नाघिसक्यो । अब क्रियान्वयनमा ढिला गर्नुहुँदैन । देशमा संविधान कार्यान्वयन भएन भने राजनीतिक स्थिरता आउँदैन र राजनीतिक स्थिरताबिना हामीले कल्पना गरेको आर्थिक विकास र समृद्धि हुँदैन । राजनीतिक स्थिरताको निम्ति देशका सबै वर्ग, जाति, क्षेत्र र लिंगहरुको बीचमा एकता कायम गर्नु आजको महत्वपूर्ण कार्यभार हो ।

यो बीचमा नयाँ राजनीतिक दृश्यहरु देखिरहेका छन् । हामीले अग्रगामी ध्रुवीकरणको पहल गरिरहेका छौं । त्यसको प्रतिध्रुवको रुपमा असक्षम बन्दै गइरहेका पुराना शक्तिहरुको बीचमा त्यस्ता पात्रहरुको खोजी भइरहेको छ । जसरी संकटको क्रममा यूरोपमा हिट्लर जन्मिएका थिए र महाविनाशकारी युद्ध निम्त्याएको थियो, अहिले अमेरिकामा डोनाल्ड ट्रम्पजस्ता मानिस अगाडि आइरहेका छन् । नेपालमा सन्दर्भमा पनि को आउँछ भन्न सकिँदैन, तिव्र प्रतिस्पर्धा देखिन्छ । अहिले केपी ओली अरुभन्दा अलि अगाडि उट्पट्याङ कुरा गर्दै आफ्ना हिजोका कुकर्म र कुकृत्यलाई ढाकछोप गरेर पूरै एकल जातीय अहंकारवादको नारा लिएर अगाडि आइरहेका छन् ।

राष्ट्रियताको नाममा एकल जातीय अहंकारवादको नारा लगाउने र आफ्नै देशका दाजुभाइहरुलाई पराईको रुपमा घचेट्ने र एउटा वर्ग र जातिलाई मात्र ध्रुवीकृत गरेर देशलाई पुनः अलमलमा पार्ने प्रयत्न भइरहेको छ । यो अग्रगमनको बाटो र देशको समृद्धि र प्रगतिको बाटो छेक्ने पश्चगामी शक्तिहरुको मरणासन्न प्रयत्न मात्रै हो । यसर्थ, हामीले संविधान संशोधनलाई अग्रगामी ढंगले अगाडि बढाउँदै मधेसी, थारु, आदिवासी, जनजाति लगायतको माग सम्बोधन गरेर देशको समस्यालाई हल गर्नुपर्छ भनेर विभिन्न पक्षसँग परामर्श गरिरहेका छौं । यो राजनीतिक अन्यौल लामो समयसम्म राख्नु हुँदैन हाम्रो स्पष्ट मान्यता छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि दश लाख हस्ताक्षर
आर्थिक विकास र समृद्धिका निम्ति र राजनीतिक स्थिरता र विकासका निम्ति सबैभन्दा चाहिने विषय भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हो । यसमा नगई नेपालमा राजनीतिक स्थिरता आउँदैन । राजनीतिक स्थिरताबिना देशको विकास र समृद्धि हुँदैन । त्यसैले हामीले छिट्टै देशव्यापीरुपमा हस्ताक्षर अभियान चलाउँछौं । कमसेकम दश लाख हस्ताक्षर गरेर राष्ट्रपतीय प्रणालीमा जानको निम्ति एउटा अभियान अगाडि बढाउँदैछौं । यो अभियानलाई आन्दोलनको रुपमा अगाडि बढाएर जनदबाव बढाउँदै अन्ततः संविधान संशोधन गरेर राष्ट्रपतीय प्रणालीमा जान बाध्य पार्ने महत्वपूर्ण हामीले उठाएका छौं ।

गरिबी र बेरोगारीका मुद्दा, महिला हिंसा र छुवाछुतजस्ता मुद्दाहरुलाई समातेर सामाजिक जागरणको अभियानहरु प्नि सञ्चालन गर्ने लक्ष्य राखेका छौं । पार्टी बिस्तारको क्रममा ध्रुवीकरणसँगसँगै जनताका मुद्दाहरुलाई लिएर अभियान सञ्चालन गर्दैै त्यसैको बलमा पार्टीलाई स्थापित गर्न हाम्रो जोड दिनुपर्छ ।

हामी निर्वाचनको तयारीलाई पनि त्यत्तिकै प्राथमिकतामा राखिरहेका छौं । किनकी हाम्रो लक्ष्य निर्वाचन जितेर यो देशको नेतृत्व गर्दै समृद्ध राष्ट्र बनाउने सपना देखेको पार्टी हो । एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुनै पर्ने अवस्था छ । त्यसो नहुँदा ठूलो संवैधानिक संकट आउँछ । कुनै पनि बेला निर्वाचन हुँदा दुई तिहाई मत ल्याएर जित्ने तयारी गर्नुपर्छ ।
(राजधानीमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा शनिबार डा.भट्टराईद्वारा व्यक्त विचारको सम्पादित अंश)

यो पनि …
भन्ने नयाँ कि बन्ने नयाँ ?

The post मृत्यू जितेर आएका नेताहरु भ्रष्टाचारसँग हारे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles