Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

शंखेकिरा, जेलिफिस र भ्रष्टाचार

$
0
0

समुद्रमा पाइने जेलिफिसले कहिलेकाही शंखेकिरालाई आहारा बनाउँछ । कवचभित्र बस्ने हुदा शंखेकिरा पेटभित्र पनि बाँचिरहेको हुन्छ । पेटभित्र शंखबाट मुख बाहिर निकालेर शंखेकिराले जेलिफिसको सम्पूर्ण शरीरलाई भित्रभित्रै खाएर आफू भने हुर्कंदै जान्छ । मुलुकका आन्तरिक शत्रुहरुले पनि शंखेकिरालेझै यसरी नै समाज र राष्ट्रलाई खादै जान्छन् र समाप्त पार्छन् ।

भारतका दार्शनिक पूर्वराष्ट्रपति डा सर्वोपल्ली राधाकृष्णन् भन्छन्, ‘राष्ट्र बाह्य आक्रमणबाट हैन, आन्तरिक चरित्रको स्खलनले समाप्त हुने गर्छ ।’ सानो गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले सैनिक शक्तिका बलले मात्र शक्तिशाली एवं समृद्ध काठमाडौं राज्यलाई अधिनस्त गरेका होइनन् । शक्तिशाली भएता पनि उपत्यकाका राज्यहरुमा आपसी कलह, घोर भ्रष्टाचार एवं अराजकता व्याप्त थियो । किर्तिपुरबाहेक कसैले बाह्य आक्रमणको बेला प्रतिकार गर्ने आत्मबल र चाहना पनि प्रदर्शित गरेनन् । फलतः शक्तिशाली उपत्यकाका राज्यहरु त्यतिवेला तुच्छ गोरखाबाट पराजित हुनुपर्‍यो । यसमा भक्तपुरे राजपरिवारको देशद्रोही चरित्रको योगदान पनि कम थिएन । उपत्यका राजपरिवारका देशद्रोही सदस्यहरुले राज्यसमेत समर्पण गरेर शत्रु पृथ्वीनारायण शाहसँग भरपूर सहयोगीको भूमिका खेलेका थिए । तर ती राष्ट्रद्रोहीहरुलाई पृथ्वीनारायणले पछि कडा सजायँ दिएर देश निकाला गरेका थिए । देशद्रोही कुनै पनि राष्ट्रको नागरिक हुन लायक हुदैनन् भन्ने पृथ्वीनारायणले बेस्सरी बुझेका थिए । भ्रष्टहरु जति सहयोगी होउन् ती राष्ट्रद्रोही नै हुन् ।

भीम उपाध्याय
भीम उपाध्याय

सुप्रसिद्ध लेखक शिव खेराले आफ्नो लोकप्रिय फ्रिडम इज नट फ्रि पुस्तकको आरम्भमै भनेका छन्, ‘यदि तपाईकी आमालाई क्यान्सर भएको हुन्थ्यो भने, के तपाई उनलाई मर्न छाडिदिनु हुन्थ्यो ? हाम्रो मातृभूमि पनि भ्रष्टाचारको क्यान्सरबाट पीडित छिन् । हामी कसलाई पर्खिबसेका छौ ?’

मातृभूमि नेपाल पनि भयानक भ्रष्टाचार एवं तस्करीको दुखदायी अर्थतन्त्रबाट लामो समयदेखि संचालित हुदै आएको छ । त्यसैले कसैले त्यसमा प्रहार गर्यो कि ठूलो कोकोहल मच्चिन थाल्छ । भ्रष्ट र तस्करहरु देशद्रोही हुन् । यिनलाई नियन्त्रण गर्न नसक्ने मुलुक सहजै आतंकवादको धरापमा फस्न पुग्छ । अहिले आतंकवादबाट पीडित मुलुकहरु निश्चितरुपमा भ्रष्टाचार र तस्करीबाट पनि ग्रस्त भएका नै हुन् । ती गरिबी र बेरोजगारीमा डुबेको हुन्छन् । गरिब नेपाल भ्रष्ट र तस्करको बिगबिगीका कारणले नै लामो समयदेखि भ्रष्टाचार र आतंकबादको चपेटामा परेको हो ।

देशद्रोही सक्रिय वा निस्क्रिय हुने गर्छन् । मातृभूमिलाई व्यक्तिगत लाभका निम्ति बेच्नेहरु सक्रिय देशद्रोही हुन् । बेचिएको टुलुटुलु हेरी केही नगरी हातबाधेर बस्ने निस्क्रिय देशद्रोही हुन् । पहिलो बेइमान हुन्, दोस्रो बेइमान र कायर हुन् । देशद्रोहीहरुको छ्यापछ्याप्ती चलखेल भएको मुलुक स्वतन्त्र रहँदैन ।

भारतका केन्द्रीय सतर्कता आयोगका पूर्वप्रमूख डा एन भित्तल भ्रष्टाचारविरुद्धका प्रख्यात एव सम्मानित योद्धा मानिन्छन् । डा भित्तलका अनुसार भ्रष्टाचारका पाँच खेलाडी हुन्छन् । नम्बर एक नेता अर्थात् भ्रष्ट राजनीतिककर्मी, दुई बाबु अर्थात् भ्रष्ट कर्मचारी, तीन लाला अर्थात् उद्योगी व्यापारी, चार झोला अर्थात् एनजीओ र पाँच दादा अर्थात् अपराधी ।

शासन व्यवस्थाको स्वच्छताका लागि यी पाँच भ्रष्टाचारका खेलाडीविरुद्ध एकैसाथ संयोजित युद्ध छेड्नुपर्छ । डा भित्तलकै अनुसार पाँच कारणबाट शासन व्यवस्थामा भ्रष्टाचारले मलजल पाउँछ । ती नम्बर एक सेवावस्तुको अपर्याप्तता, दुई लालफित्ताशाही एवं बिलम्वता, तीन पारदर्शिताको कमी, चार कानुनी कमजोरी, र पाँच भ्रष्टतत्वहरुबीच एकअर्कालाई जोगाउने आपसी साँठगाँठ हुन् । यस्ता चरित्र र पात्र भ्रष्टाचारविरुद्धको युद्धका विषय हुनुपर्छ ।

इमानको अभाव भ्रष्टाचार हो । भ्रष्टाचार र अन्यायको मूलस्रोत खराब शासन हो । सार्वजनिक स्रोतको व्यक्तिगत उपयोग भ्रष्टाचार हो । अयोग्यता एवं भ्रष्टाचार लुकाउने अनुकूल थैलो अपारदर्शिता हो । भ्रष्टाचार राष्ट्रविरोधी, विकासविरोधी र गरिबविरोधी हुन्छ । भ्रष्टाचार व्याप्त राष्ट्रमा राष्ट्रियता र राष्ट्रिय सुरक्षा थिलथिलो परेको हुन्छ । तस्करतन्त्र र अन्तराष्ट्रिय आतंकवादीहरुको सुरक्षित स्वर्गस्थल बन्न पुगेको हुन्छ । भ्रष्टाचार विकासविरोधी भएकोले नै खर्बौं रुपैयाँ वैदेशिक सहयोगको खोलो बगाए पनि नेपालको आर्थिक विकास भएन । यो गरिबविरोधी भएकोले जति बजेट खन्याएपनि नेपालमा गरिब र बेरोजगारको संख्या बर्सेनि घटेन बरु बढ्दै गयो । राजतन्त्र, गणतन्त्र, समाजवाद, साम्यवाद, लोकतन्त्र, जनगणतन्त्र, जनवादीतन्त्र वा जस्तोसुकै राजनीतिक प्रणालीमा पनि भ्रष्टाचारको संक्रमण समानरुपले हुन सक्छ । राजनीति प्रणाली र भ्रष्टाचारबीच प्रत्यक्ष सम्वन्ध छैन । भ्रष्टाचार निर्मूलनका निम्ति कुनै राजनीतिक व्यवस्था पर्खिरहनु पर्दैन ।

प्रतिबद्धतालाई प्रविधिको प्रयोगसाथ कार्यान्वयन गर्ने कला, विज्ञान, व्यवस्थापन सिप, उपयुक्त संस्था र सुयोग्य जनशक्तिको दरकार हुन्छ ।

समाजमा भ्रष्टाचारप्रतिको हेराइ व्यक्तिगत मूल्य, समाजमा स्थापित मूल्य प्रणाली, र मुलुकको शासनप्रणालीले निर्धारित गरेको हुन्छ । घरपरिवारको संस्कार, शिक्षादिक्षा, मातापिता र गुरुगुरुमाको प्रभावले व्यक्तिको मूल्यप्रणालीलाई रुप दिएको हुन्छ । असल संस्कारले युक्त व्यक्तिमा इमानको स्तर पनि उच्च हुन्छ ।

आदर्श समाज सुधारक, सच्चरित्र राजनीतिक वा धार्मिक नेताका आध्यात्मिक, सामाजिक वा धार्मिक व्यवहारको सकारात्मक प्रभाव, बुद्धिमत्ता, सिर्जनात्मकता, सामाजिक पूजीबाट समाजको मूल्यप्रणाली स्थापित भएको हुन्छ । सामाजिक पूजी पर्याप्त विद्यमान मुलुकमा भ्रष्टाचारको स्तर र परिमाण पनि स्वतः कम हुन्छ । राज्य र शासन व्यवस्थाका उच्चतहमा इमानदार व्यक्ति पुग्न सक्ने शासन प्रणाली भएको मुलुकमा भ्रष्टाचारको मात्रा कम हुन्छ । इमानदार व्यक्ति शासनको आशनमा पुग्न नसक्ने राजनीतिक प्रणालीमा कानुन, प्रक्रिया, नियन्त्रण प्रणाली स्वतः भ्रष्ट हुन्छ । भ्रष्टाचारतन्त्रबाट लाभान्वित वर्गको हातबाट शासनको बागडोर नहटेसम्म भ्रष्टाचार नियन्त्रण असंभव हुन्छ । भ्रष्टाचारीहरु आफै सच्चिदैनन् । तिनलाई शासनको मैदानबाट हुत्याउनु पर्छ । बोका आफैले मलाई बली चढा भन्दैन ।

सन् १९९३ मा बम्बईमा भएको भयानक विस्फोटनमा ३ सय निर्दोष मानिसको ज्यान गएको थियो । तस्करहरुले भारतीय भन्सार अधिकृतलाई २० लाख रुपैया घुस दिएर शक्तिशाली आरडीएक्स विष्फोटक भित्राएका थिए । नेपालमा पनि विभिन्न हतियार र विष्फोटक पदार्थ तस्करीबाट भित्रिँदै आएको छ । बर्सेनी हजारौ टन रक्तचन्दन तस्करीबाट अर्बौं खरंबौ रुपैयाँको कालो कारोबार निरन्तर र नियमित दशकौ भइसकेको रहेछ । यस्ता कालोधन कहाँ-कहाँ कसरी उपयोग भएका होलान् ? यसमा कहाँदेखि कहाँसम्मका मानिसहरु साझेदार वा मतियार भए होलान ? वर्षौदेखि कालोधन्दामा मतियार हुदै आएका तिनै व्यापारी, सुरक्षा अधिकारी, राजनीतिकर्मी, कर्मचारीकै हातमा शासनप्रशासन रहिरहे मुलुकको भविष्य सुरक्षित एवं निर्मल हुनसक्ला ?

भ्रष्टाचारको कारणले विश्व बैंककै एक अध्ययन अनुसार विकासशील मुलुक भित्रिने विदेशी सहयोगको १२ प्रतिशतमात्र प्राप्त मुलुकमा खर्च हुन्छ, बाँकी दातामा नै फर्कन्छ । सन् २००५ मा भ्रष्टाचार निमूलन गर्ने प्रमूख एजेन्डासाथ पद सम्हालेका विश्व बैंकका अध्यक्ष पाउन उल्फोवित्ज आफै भ्रष्टाचारका कारण पदमुक्त हुनुपर्‍यो । भ्रष्टाचारका कारणबाट पर्यावरण ध्वस्त हुन पुग्छ र यसले सबैभन्दा पहिलो सिकार गरिबलाई बनाउछ । जुन मुलुकमा स्रोतको अभाव भएको हुन्छ त्यहाका विकास आयोजनाको चयनमा भ्रष्टहरु नै निर्णायक बनेका हुन्छन् ।

कथित प्राविधिक वा आर्थिक संभाव्यता अध्ययनको बहाना गरेर ठेकेदार, कन्सल्ट्याण्ट, कमिसनखोर, नेता, उच्चप्रशासकहरुले आफूलाई लाभपुग्ने गरिबविरोधी योजना निर्माण गर्छन् । सामाजिक असन्तुलनको खाडल चौडा हुनपुग्दा शान्तिसुरक्षा जटिलबाट झन जटिल हुनपुग्छ र सामाजिक अमनचैन खराब हुन पुग्छ ।

नयाँ नेपाललाई समृद्ध नेपालमा परिणत गर्न भ्रष्टाचारप्रति निर्मम गर्नु प्रहार प्रथम महत्वपूर्ण कार्य हो । विगतका भ्रष्टाचारको आहालमा पौडी खेल्दैआएका तिनै नेता, कर्मचारी, उद्योगी व्यापारी, बुद्धिजीवी, पेशाधर्मीहरुले भरमा यो कार्य पुराहुने आश गर्नु महाभूल हुनेछ । यो काम ती राजनीतिक दल र कर्मचारी, जसले हिजोको भ्रष्ट आहालमा पौडी खेलेका छैनन्, ती युवावर्ग जो भ्रष्टाचारको ढलबाट अझै गुज्रिसकेका छैनन्, ती प्रतिवद्ध नैतिकवान राष्ट्रप्रेमी पत्रकार, बुद्धिजीवीहरु जो असंदिग्ध, स्वच्छ, निर्मल छन्, तिनका बीचको सक्रिय एवं समन्वयात्मक सहकार्यबाटमात्र सफल हुनेछ ।

राष्ट्र नागरिकको पहिचान हो, राष्ट्र छैन मानिसको पहिचान छैन । मानिसको पहिचानका लागि राष्ट्र जीवित, जीवन्त, समुन्नत र समृद्ध हुनुपर्छ । भ्रष्टाचारमुक्त मुलुकले मात्र अन्तर्राष्ट्रिय प्रतिष्ठा र पहिचान पाउन सकेको हुन्छ । भ्रष्टाचार वित्तिय एड्स रोग हो । एड्स रोगीमा छुद्र संकमणलाई पनि प्रतिकार गर्ने सामर्थ्य रहँदैन । नेपाल देशद्रोहीहरुको बदनाम मुलुक बन्दै जानुको कारण यही भ्रष्टाचार एवं तस्करीको एड्स रोगले गाजेकोले हो । त्यसको प्रतिकार हुन नसकेकोले हो ।

सित्तैमा केही पाइन्न, स्वतन्त्रता त झन के को सित्तैमा पाइन्छ र ? बितेको पुस्ताले थुपारेको भ्रष्टाचारको फोहरमैलाका कारण मौलाएको तस्करीको अर्थतन्त्रमा टिकेको यो मुलुक अहिले जति पराधीन बन्ने डीलमा पुगेको भएता पनि सुनौलो नयाँ नेपालको भविष्य निर्माणार्थ त्यस फोहरलाई सफागर्ने दायित्व र चुनौतीलाई वर्तमान नयाँ पुस्ताले बेहोर्नुको विकल्प छैन । जे हुनुथियो सो भयो । अहिले त नया नेपालको सपनालाई विपना बनाउने दायित्व इतिहासले अहिलेको नयाँ पुस्ताको काँधमा बिसाइसकेको छ । आगे जो नया पुस्ताको इच्छा । महान अमेरिकी वैज्ञानिक इन्जिनियर चार्ल्स किटरिंग भन्छन्, ‘मेरो रुचि भविष्यमा मात्र छ, किनभने, मैले मेरा बाँकी सारा जीवन त्यही व्यतीत गर्नुछ ।’ अब विगतलाई सरापेर समय खेर फाल्नु बुद्धिमानी होइन ।

The post शंखेकिरा, जेलिफिस र भ्रष्टाचार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles