Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्तिमा मुमाराम प्रकरण : भ्रम र यथार्थ

$
0
0

२१ असोज २०७३ अपरान्ह नयाँ शक्ति पार्टी नेपालका नेता मुमाराम खनालले एक प्रेस विज्ञप्ति जारी गरी नयाँ शक्ति पार्टी, नेपालको सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गरेपछि नयाँ शक्ति भित्र र बाहिर यसप्रति जिज्ञासा र चासो बढेको छ । यसको सन्दर्भमा आएका केही घटनाक्रमलाई विश्लेषण गर्नु र सत्यको अन्वेषण गर्नु उपयुक्त होला ।

घटना नं. १
मुमाराम खनालका सम्बन्धमा नयाँ शक्ति नेपालको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा भनिएको छ, ‘मुमाराम खनालले फेसबुक, इमेल, सार्वजनिक सन्जालमा पार्टी गतिविधि विरोधी स्टाटसहरु हालेकोले अनुशासनको उल्लंघन भएको महसुस गरी उक्त मुद्दा अनुशासन आयोगमा पठाएकोले छानबिनको अवधिको लागि केन्द्रीय परिषद सदस्य रहने गरी, केन्द्रीय कार्यकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक, विद्यार्थीको उत्प्रेरकको जिम्मेवारीबाट हटाइएको छ ।’

यो सूचनामा निम्नलिखित कुरा देख्न सकिन्छः
क) मुमाराम खनालबाट सामाजिक सञ्जालमा पार्टी विरोधी स्टाटस लेखिएको ।
ख) स्टाटस लेख्ने कामबाट अनुशासनको उल्लंघन भएको महसुस गरिएको ।
ग) अनुशासन उल्लंघन भए, नभएकोे सम्बन्धमा छानबिनका लागि अनुशासन आयोगमा पठाइएको ।
घ) छानबीन अवधिभरका लागि केही जिम्मेवारीबाट हटाइएको । यहाँ, ‘छानबिन अवधिभरको लागि’ भन्ने पदावलीबाट बुझिन्छ कि छानबिनपछि सफाइ पाई निर्दोष प्रमाणित भएमा पूर्व जिम्मेवारीमा स्वतः फर्कन सकिने ।
ङ) पार्टी सदस्यता र केन्द्रीय परिषद सदस्यको जिम्मेवारी यथावत रहेको ।
च) यस सूचनाका आधारमा मुमाराम खनाललाई कारबाही वा निष्काषण गरिएको कहीँकतै देखिँदैन ।

घटना नं. २
मुमाराम खनालका सम्बन्धमा नयाँ शक्ति पार्टीबाट उपरोक्त निर्णय गरिएपछि सोही दिन अपरान्ह उहाँबाट एक पृष्ठको विज्ञप्ति जारी गरिएको देखिन्छ । विज्ञप्तिमा पार्टी, नेता र केही समूहलाई विभिन्न आरोप लगाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग रहँदै स्वतन्त्र नागरिक भएको जानकारी गराइएको छ । प्रेषित विज्ञप्तिको पेटबोलीको विवेचना यस प्रकार छ–

एसके तिमल्सिना
एसके तिमल्सिना

१. घटना नं. २, घटना नं. १ को परिणामस्वरुप आएको देखिन्छ । पहिलो निर्णय गत असोज २१ गते मध्यान्हको समयमा भएको बुझिएको छ भने विज्ञप्ति सोही दिन अपरान्ध पाँच बजे प्रेषित भएको देखिन्छ । यसरी हेर्दा अन्यथा प्रमाणित नभएसम्म विज्ञप्ति प्रेषक छानबिनबाट जोगिनका लागि पार्टीबाट अलग भएको अनुमान लगाउन सकिन्छ ।

२. प्रेषित विज्ञप्तिको पहिलो अनुच्छेदमा नयाँ शक्तिमा आवद्ध हुनुको पृष्ठभूमि र नयाँ शक्ति एवम् वैकल्पिक राजनीीतको आवश्यकताका बारेमा उल्लेख गरिएको छ ।

३. दोस्रो अनुच्छेदमा २०७३ माघ १० गते घोषणा भएको ३५ सदस्यीय केन्द्रीय परिषदमा पूर्वमाओवादीबाट संयोजक एक जना र अन्य एकजना मात्र समावेश गरिएको कुरा लेखिएको छ । विज्ञप्ति प्रेषक ०५८ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भई सक्नु भएको व्यक्ति हो । तर वहाँले आफूलाई पूर्वमाओवादी मान्नु भएन । पूर्वमाओवादीबाट दुई जना मात्र समावेश गरिनुको कारण दिँदै लेखिएकोछ, ‘पूर्वमाओवादी समूहले नयाँ राजनीतिक समूहको खाँचो पूरा गर्न सक्तैन ।’ प्रश्न उत्पन्न हुन्छ कि माओवादी पृष्ठभूमिका कारण किन नयाँ राजनीतिक यात्रा तय गर्न नसकिने होला ? आक्षेप मात्र लगाइएको छ, आधार खुलाइएको छैन ।

पूर्वमाओवादी पृष्ठभूमि कै व्यक्तिले नेतृत्व गर्दा हुने तर त्यही पृष्ठभूमिका अरु समावेश हुनै नहुने कारण र आधार दिइएको भए दावीमा विश्वसनीयता देख्न सकिन्थ्यो । दावीमा आधार नदिइएकोले विश्वास गरी हाल्नु पर्ने देखिँदैन । यो त रीस उठ्ने बित्तिकै कसैलाई ‘बोक्सी’ भनी आरोपित गर्ने रुढीग्रस्त व्यवहारजस्तै देखिन्छ । आरोप लगाउनुमा नै आफूलाई बहादुर सम्झनु उपयुक्त होइन । आरोपको सँगसँगै आधार, कारण र विश्वसनीय प्रमाण दिनु आवश्यक पर्दछ । अर्को वाक्यमा लेखिएको छ, ‘त्यसको भोलिपल्ट माओवादीबाट अलग भएको संयोजकको पूरै टीम समावेश गरियो ।’ यो भनाइमा पनि विज्ञप्ति प्रेषकले सत्यता पस्कन सक्नु भएन । डा. बाबुराम भट्टराई एक्लै पार्टीबाट अलग हुनु भएको थियो । यस सम्बन्धमा डा. भट्टराईको भनाइ थियो, ‘नयाँ बनाउनका लागि नयाँ तरीका अपनाउनु पर्दछ, नयाँ तरीकाले नै जानु पर्दछ, टीमसहित वा समूहगतरुपमा अलग हुँदा यो पूर्वमाओवादीकै समूहजस्तो मात्र हुन्छ, त्यसो नगरौं र नहोस पनि ।’

नयाँ बन्छु भन्ने व्यक्तिले कुनै घटनालाई नयाँ दृष्टिले हेर्न सक्नुपर्दछ । पुरानै किसिमले सोचियो, पुरानै मानसिकतामा रहियो, पुरानै किसिमले व्याख्या गरियो वा लाञ्छित गरियो भने नयाँ हुन नसकिएला । विज्ञप्ति प्रेषकले आफूलाई नयाँ दावी गर्नु भएको छ र केही अरु चाहिँ नयाँ हुन नसक्ने दावी गर्नु हुन्छ तर वहाँको आफ्नै सोचाइमा नयाँपन पाउन सकिएन । त्यही वाक्यमा अगाडि लेखिएको छ, ‘अघिल्लो दिनको घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो ।’ नयाँ शक्ति नामक सानो संगठन निर्माण गर्नु मात्र डा. भट्टराई लगायतका अभियन्ताको मक्सद अवश्य नै थिएन होला । यो अभियानका विशिष्ट लक्ष्यहरु देखिन्छन् । विकसित र समृद्ध नेपाल बनाउने लक्ष्य भएकाहरुलाई सो पूरा गर्न विशाल संगठनको आवश्यकता अपरिहार्य छ । यसका लागि संगठनको विस्तार गर्नु कसरी नाटक हुन सक्छ । जब संगठन विस्तार नै तत्कालका लागि मूल कार्यक्रम हो भने त्यही कार्यलाई कसरी नाटक भन्न सकिएला । संगठनको निर्माण चरणबद्ध रुपमा हुन्छ । पहिलो चरण ३५ जनाको परिषद घोषण गरियो भने दोस्रो चरणमा २२ जना थप गरियो । यसै गरी तेस्रो, चौथो चरणमा पनि परिषद सदस्यहरु थप गरियो । संगठन बनाउने नै उद्देश्य भए पछि र त्यही कार्य गर्दा नकारात्मक रुपमा लिइन्छ भने सकारात्मक काम चाहिँ के हुन सक्ला ?

हिजोका भूमिगतकालमा आफूसँगै क्रियाशील सहकर्मीमध्ये आफू त्यहाँ रहनु हुने तर अर्को सहकर्मी रहनु नहुने भन्ने आशयका पछाडि के कारण हुन सक्छ ? सँगैका साथीमध्ये आफू चाहिँ योग्य तर अरु चाहिँ अयोग्य भनेर छुट्याउनका लागि कस्तो मापदण्डको प्रयोग गरियो ? वैकल्पिक र नयाँ शक्ति बनाउने अभियानमा हिडेका अभियन्तालाई यस्तो अभिव्यक्तिले शोभा देला कि नदेला ? यसै अनुच्छेदको अन्तिम वाक्यमा लेखिएको छ, ‘त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अबलम्वन नगरी संयोजक र संगठन विभागको एकजना व्यक्तिको निर्णयमा परिषद संख्या ७०० भन्दा बढी पुर्‍याइयो ।’ पार्टी भर्खर निर्माणको चरणमा छ, सबै विधिहरु तय भई सकेका हुँदैनन् । विधि विकासको क्रममा तय हुने हो, तय भई रहेका होलान् । यस्तो संक्रमणकालीन अवस्थामा कार्यकारीणी समितिले आफ्नो प्रक्रिया आफै तय गर्न सक्ने प्रचलन विधिशास्त्रमा छ । विधिशास्त्रको ऐतिहासिक सम्प्रदायका विधिशास्त्री फ्रेडरिक कार्ल भन सेभिग्नी लगायतले कानूनको विकासवादी चरित्रको समर्थन गर्दछन् र भन्दछन् कि विधिको विकास क्रमिक रुपमा हुन्छ । प्रारम्भिक एवम् संक्रमणकालीन अवस्थामा कुनै पनि निकायले आफ्नो प्रक्रिया आफैं तय गर्न सक्तछ । कार्यकारीणी समितिले कुनै कार्यको जिम्मेवारी कुनै व्यक्ति वा विभागलाई दिइने प्रचलन छ, र दिन सकिन्छ । विधिको विकास क्रमिक रुपमा हुन्छ भन्ने उदाहरणका रुपमा बेलायतलाई लिन सकिन्छ । त्यहा लिखित संविधानबिना नै सदियौंदेखि आज पर्यन्त शासन व्यवस्था चलिरहेको छ । जसले संसारभर साम्राज्य खडा गर्न सक्यो । हामीले बुझ्नु पर्दछ, हामी कुन धरातलमा छौं ।

प्रत्यायोजित अधिकारको प्रयोग गरेर केन्द्रीय परिषद विस्तार हुँदा पार्टीलाई के नोक्सान भएको छ । ठीक छ, सो कार्यले पार्टीलाई क्षति पुगेको छ भने आधारसहित सम्बन्धित निकायमा बहस सुरु गर्नुपर्ने हो । होइन भने, पार्टीका जिम्मेवार व्यक्तिले संगठन विस्तार हुँदा सन्तोष मान्नु पर्ने अवस्थामा दुःखी हुनु, निन्याउरो मुख लगाउनु र कुतर्क गर्नु उपयुक्त नहोला । अर्कोतर्फ फर्केर सोचौं त, जुन विधि र प्रक्रियाबाट आफू कुनै समितिमा पुग्दा चाँहि विधि र प्रक्रिया मिल्यो तर ठीक त्यही विधि र प्रक्रिया वा त्यो भन्दा उन्नत प्रक्रियाबाट अर्को साथी त्यही निकायमा पुग्दा विधि र प्रक्रिया नपुगेको कसरी हुनसक्छ ? प्रश्न राख्न सकिन्छ कि १० माघ २०७३ पछि मनोनयनमा परेकाहरुको त माघ १० मा घोषणा भएको केन्द्रीय परिषदले मनोनयन गर्‍यो, तर १० माघमा मनोनित हुनेहरुको वैधानिकता चाँहि के त ? ३५ सदस्यीय केन्द्रीय परिषद घोषणाको विधिशास्त्रीय आधार के हो ? तसर्थ विधिको निर्माण विकासको क्रममा आवश्यकताको आधारमा हुँदै जाने कुरा हो । सबै कुरामा प्रश्न नै प्रश्न खडा गरेर समाधान र प्रगतितिर जान सकिँदैन ।

४. नयाँ शक्ति पार्टी, नेपाल उन्नत लोकतन्त्रको अभ्यास गर्ने दलको रुपमा स्थापित हुँदैछ । तसर्थ यस दलले निकट भविष्यमा हुने सबै तहको निर्वाचनमा सहभागिता जनाउन र सम्मानजनक स्थान हासिल गर्न युद्धस्तरमा संगठन विस्तार गर्नुको विकल्प नै थिएन र छैन । यस सन्दर्भमा यस पार्टीमा आवद्ध हुन चाहने व्यक्ति वा समूहलाई यस संगठनमा आवद्ध गर्नु त नेतृत्वको तथा अभियन्ताको मूल कर्तव्य हो । यस सन्दर्भमा अन्य दल वा समूहबाट आउने व्यक्तिहरुलाई आवद्ध गर्ने सिलसिलामा वहाँहरुले सम्मानजनक स्थान र जिम्मेवारीको अपेक्षा राख्नुलाई अन्यथा मान्न सकिन्नँ । अब्राहम मस्लोले उल्लेख गर्नु भएअनुसार मानिसका आवश्यकता केवल गाँस, बास र कपासमा मात्र सिमित छैनन् । उसको आवश्यकता भित्र सम्मानको आवश्यकता पनि पर्दछ । वैज्ञानिक विधि प्रयोग गरेर निष्कर्ष निकालिएको कुरालाई अस्वीकार गर्न पनि सकिँदैन । होइन भने भन्नु पर्दछ कि मानिसको उत्प्रेरणाको स्रोत के हुन सक्छ ? कसैलाई सम्मानजनक स्थान नदिई, जिम्मेवारी नदिई संगठन निर्माण गर्न सकिने वैकल्पिक उपाय के छ ? विकल्प केही भए सुझाउनु पर्‍यो । थाहा दिनु पर्‍यो नत्र त स्वीकृत प्रचलनमाथि हिलो छ्यापेर मात्र त समस्याको समाधान नहोला । निकट भविष्यमा चुनावको सामना गर्नुपर्दछ । उम्मेदवार चाहियो । मतदाता चाहियो । कार्यकर्ता नहुँदा पनि संगठन हुन सक्ने साथै चुनाव जित्न सकिने विकल्प के छ त ?

५. अनुच्छेद तीनको पहिलो वाक्यमा लेखिएको छ, ‘नयाँ शक्तिको बहसलाई हतार–हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्णरुपमा पूर्व माओवादी समूहको रुपमा रुपान्तरण भयो ।’ यसमा पहिलो आशय देखिन्छ कि नयाँ शक्तिको बहसलाई पार्टीको स्वरुप दिनुहुन्नथ्यो । कुनै संगठन निर्माणका निश्चित मकसद हुन्छन् । अमुक संगठन लक्ष्यतर्फ अगाडि बढ्नु पर्नेहुन्छ । अन्य प्रतिस्पर्धी संगठनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । भनिन्छ कि समय र ज्वारभाटाले कसैलाई कुर्दैन । नेपालको संविधान (२०७२) लाई कार्यान्वयन गर्न स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनको तयारीमा सरकार र प्रमुख ठूला दलहरु जुटेको अवस्थामा लोकतान्त्रिक विधि र प्रक्रियामा नयाँ शक्तिले पनि सहभागिता जनाउनु पर्ने बाध्यात्मक अवस्था छ । लोकतान्त्रिक प्रक्रियाबाट पछि हट्न पनि सकिँदैन । तसर्थ यस पार्टीले राष्ट्रिय राजनीतिमा अन्य दलको समयसारीणी पालना गर्नुपर्ने अहिलेको बाध्यता हो । यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म पार्टीको संगठन तिव्र गतिमा निर्माण गर्नुको विकल्प नै थिएन र छैन । अर्कोतर्फ पार्टी घोषण गर्नका लागि वस्तुगत आधार तयार भईसकेपछि ढिलो गर्नुपर्ने कुनै कारण देखिदैन ।
एकलाख संस्थापक सदस्य भई सकेको, केन्द्र, प्रदेश र जिल्लामा संगठन तयार भई सकेको अवस्थामा र दस्तावेज पनि तयार भई सकेको हुनाले पार्टी घोषणा नगरी बस्नुको कुनै औचित्य पुष्टि हुँदैनथ्यो । यस्तो अवस्थामा कसलाई र कहिलेसम्म पर्खेर बस्ने ? साथै पार्टी घोषणा सम्बन्धी निर्णय केन्द्रीय सचिवालयको बैठकबाट गरिएको हुँदा यसलाई हतार–हतार गरिएको भन्ने कुरा पनि तर्क संगत देखिदैन । सो सचिवालयमा विज्ञप्ति प्रेषक पनि रहनुभएको कारणले यसमा असन्तुष्टि देखाउनु पर्ने आधार देखिँदैन । पार्टी घोषणा २०७३ बैशाख १ गते गर्ने भन्ने कुरा चर्चामा थियो । तर सोका लागि तयारी नपुगे पछि ‘हतार’ नगरी पूर्ण तयारीसहित जेठ ३० गते पार्टी घोषणा भएको कुरालाई ‘हतार–हतार’ भनी आरोप लगाउन नमिल्ला ।

६. ‘पार्टी घोषणापछि पार्टी सम्पूर्णरुपमा पूर्व माओवादी समूहमा रुपान्तरण भयो’ भन्ने कुरा पनि वस्तुगत र विश्वसनीय देखिँदैन । हाल भएको १४६ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा गैरमाओवादी पृष्ठभूमिका सदस्यहरुको संख्या बढी छ । तीन जना केन्द्रीय सहसंयोजकहरु नै माओवादी पृष्ठभूमिका हुनुहुन्न । रामचन्द्र झालाई पूर्वमाओवादी भनिएला । यसमा केही सत्यता हुन सक्छ र केही नहुन पनि सक्छ । यो सापेक्षित विषय हो । ०५८ सालको नेकपा माओवादीका केन्द्रीय सदस्य पूर्वमाओवादी नहुने तर ०७० सालको संविधानसभाको चुनाव भन्दा केही समयअगाडि एमाओवादी पार्टीमा आवद्ध भएका व्यक्ति कसरी पूर्व माओवादी हुने ? तसर्थ आरोपमा विश्वसनीय आधार देखिँदैन । यस अवस्थामा यो पार्टी पूर्व माओवादी समूहमा रुपान्तरण भयो भनी आक्षेप लगाउनु तर्क संगत देखिदैन ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘केही सिमित व्यक्तिको कोर समूह बन्यो ।’ नयाँ शक्तिको विधानमा कोर समूहको अस्तित्व देखिदैन । कार्य सम्पादनका लागि विभिन्न विभागहरु गठन भएका देखिन्छन् । छिटोछरितोरुपमा कार्यसम्पादनका लागि विभिन्न समूह बनाई काम गरिन्छ र गर्नुपर्ने हुन्छ । संगठनका हितमा काम भएको छ भने अनावश्यक टिप्पणी गरेर कसैको पनि मनोबल गिराउने काम उचित होइन । यदि यस्ता अवैधानिक वा अवाञ्छित समूह बनेका छन् र तिनले संगठनलाई हानी पुर्‍याइ रहेको देखिन्छ भने एक जिम्मेवार सदस्यका हैसियतले त्यसको प्रतिरोध गर्ने काम वहाँले गर्नु पथ्र्यो । कार्यकारिणी समितिको बैठकमा यस्ता गतिविधि उपर छलफल चलाउनु पथ्र्यो । कार्यकर्तालाई सुसूचित गराउनु पर्थ्यो । जिम्मेवार तहमा बसेको जिम्मेवार व्यक्तिले जिम्मेवारी वहन नगरी आरोप मात्र लगाउने काम गर्नु शोभनीय होइन ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त कोर समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दियो ।’ यहाँ ‘हिजो देखि’ भनेर कहिलेको समयलाई उल्लेख गर्न खोजिएको हो प्रष्ट छैन । हिजो भन्नुको सट्टा मिति तोकिएको भए आरोपमा विश्वसनीयता देखिन सक्थ्यो । के कस्ता अपारदर्शी काम भए ती पनि उल्लेख छैनन् । अपारदर्शी भनेर उल्लेख गरी सकेपछि केही उदाहरण दिनुभएको भए वहाँको लेखाइमा विश्वसनीयता पाउन सकिन्थ्यो । कसैले विधि, प्रक्रिया, नियम र अनुशासन मिचेको अवस्थामा अनुशासन आयोगमा किन गइएन । कि अनुशासन आयेगको प्रमुख आयुक्त (संयोजक) पनि पूर्वमाओवादी नै हुनुहुन्छ ? विधि र प्रक्रियाको आफू कत्ति पनि पालना नगर्ने तर अरुले नगरेको भनी आलोचना गर्नु विश्वसनीय होला कि नहोला ।

७. विधि प्रक्रिया नियम मिचियो भनी आरोप लगाइएको छ । यस पार्टीभित्र विधि, प्रक्रिया, नियमको तर्जुमा हुन नै बाँकी छ वा भई रहेको छ । नियम नै नभएको अवस्थामा हुँदै नभएको नियम मिचिने प्रश्नै उठ्दैन । यो भनाइ पनि आधारहीन देखिन्छ । अर्को वाक्यमा भनिएकोछ, ‘सम्पूर्ण पार्टीको ऊर्जा पूर्व माओवादीको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो ।’ यहाँ मनन गर्नुपर्ने कुरा यो हो कि पूर्व माओवादीहरु प्रायः सबै आ–आफ्ना स्थान र अवसर त्यागेर यस अभियानमा संलग्न भएका छन् । पार्टी निर्माण गर्न सकिएमा मात्र आफ्नो राजनीतिक भविष्य सुनिश्चित गराउन सकिन्छ भनी अहोरात्र चिन्तित रहँदै कार्य क्षेत्रमा क्रियाशील भएको देखिन्छ । नयाँ अभियान सञ्चालनका लागि जोखिम त सम्वद्ध सबैले लिएका छन्, तर जोखिमहरु फरक फरक किसिमका छन् । संघर्षपूर्ण राजनीतिक जीवन नै हत्केलामा राखेर अलिक बढी जोखिम लिने काम चाँहि पूर्वमाओवादीहरु बाटै भएको हो भनी मान्न हिचकिचाउँनु हुँदैन । विधायिकाको तेस्रो ठूलो दल, देशै भरी मजबुत संगठन, आफ्नो दल सरकारमा जान लागेको अवस्थामा सबै किसिमका सम्भावित अवसर, आगामी दिनमा चुनावमा जाँदा पनि बनिबनाउ संगठनमा रहेर प्रतिस्पधा गर्न अवसर पाइने लगायतका मुखैमा आएका अवसर छाडेर बाहिरिने साथीहरु पक्कै पनि भविष्य सुनिश्चित बनाउन चिन्तित थिए र छन् ।

संगठन मजबुत कसरी बनाउन सकिन्छ भनेर अहोरात्र छलफलमा सहभागी हुनु, संगठन निर्माणका लागि चिन्तित रहनुलाई कचिंगल भयो भनी अपब्याख्या गरिनु उचित विश्लेषण हुन नसक्ला । विज्ञप्तिमा भनिए जस्तै कचिंगल गरेर मात्र बसेका भए करीब छ महिना मात्रको छोटो अवधिमा देशव्यापी रुपमा गर्व गर्न लायक सांगठनिक संरचना तयार हुन सक्तैनथ्यो । जेठ ३० को पार्टी घोषणसभा त्यति भव्य हुन सक्तैनथ्यो । विज्ञप्तिमा अगाडि लेखिन्छ, ‘त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।’ कुनै संघ, संस्था, संगठनमा रहनु नरहनु निजको नैसर्गिक अधिकार हो । रहन पनि सकिन्छ, नरहन पनि सकिन्छ । संगठनमा इच्छुकलाई पस्ने र अनिच्छुकलाई निस्कने द्वार खुल्ला रहन्छ । तर आफू रहुन्जेल ठीक, आफू नरहँदा बेठीक, आफूलाई व्यक्तिगत लाभ भए राम्रो, आफूले व्यक्तिगत प्राप्ति नगरे नराम्रो भन्ने मानसिकतालाई राम्रो मान्न नसकिएला । जीवन संघर्षको यात्रा हो । राजनीतिमा त झन बढी संघर्ष झेल्नुपर्छ । चार्ल्स डार्बिनले सर्भाइभल अफ फिटेस्ट भनेका थिए । संघर्ष नगरी अस्तित्व जोगाउन सकिँदैन । अरुले संघर्ष गरी दिन्छन् दुःख गरी दिन्छन् अनि आफूलाई सर्लक्क श्रीपेच लगाई दिन्छन् भनी गमक्क परेर बस्दा राजनीतिमा अगाडि बढ्न नसकिएला । अस्तित्व रक्षाका लागि अरु लागेका छन् भने उनीहरुलाई पछि पार्न हिलो छ्याप्नु भन्दा आफू राम्रो देखिन संघर्ष गर्नु उत्तम होला ।

८. विभिन्न पृष्ठभूमिका व्यक्तिहरु नयाँ शक्तिमा रुपान्तरण हुने भन्ने अठोट लिएर आफ्ना पूर्वपार्टी मान्यता, विचार, दृष्टिकोण, र जिम्मेवारी त्यागेर शून्यबाट नयाँ राजनीतिको थालनी गरेको सन्दर्भमा उनीहरुलाई होच्याउने, ललकार्ने, निरुत्साहित गर्ने किसिमले ‘माओवादी’ वा अन्य भनेर हेयको दृष्टिकोणले अपमानित गर्न खोज्नु पनि उचित नहोला । माओवादी विद्रोहका उपलब्धिप्रति चाँहि गर्व गर्ने वा त्यही उपलब्धिका कारण फाइदा पनि लिने तर त्यही विद्रोहका योद्धाहरुप्रति चाहि अपमानजनक व्यवहार देखाउनु राम्रो होला र ? नेपालको नागरिक अधिकार प्राप्तिको इतिहासमा माओवादी विद्रोहले गरेको योगदानलाई अवमूल्यन गर्न सकिदैन भने यो विद्रोहमा कुर्वानी गरेका कार्यकर्तालाई सके सम्मानजनक व्यवहार गर्नु राम्रो होला तर अपमानजनक व्यवहार देखाउनु उचित नहोला । ठीकै छ, काम गर्ने सिलसिलामा केही व्यक्ति वा प्रवृतिसँग कुरा नमिल्न पनि सक्छ । यदि त्यसो हो भने ती व्यक्ति र प्रवृतिसँग लड्नु पर्ला तर सबका सब खराब भन्नु र सबैलाई आरोपित गर्नु उपयुक्त नहोला ।

९. विज्ञप्तिको चौथो अनुच्छेदको पहिलो वाक्यमा लेखिएको छ, ‘कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफूलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन ।’ यहाँ ‘अस्तित्व मात्र धान्ने’ भनेर के कुरालाई उल्लेख गर्न खोजिएको हो स्पष्ट भएन । केको अस्तित्व धान्ने, कसरी धान्ने, केका लागि धान्ने भन्ने कुरामा स्पष्ट पारिनु पर्थ्यो, तर गरिएन । यसरी गोलमटोल किसिमले शब्दको नक्कली खेती नगर्नु नै राम्रो मानिन्छ । विज्ञप्तिको अगाडि लेखिएकोछ, ‘वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्‍याउँदछ भन्ने मेरो मान्यता रही आएको थियो र छ ।’ यस वाक्यमा पनि अघिल्लोको जस्तै गोलमटोल शब्दावलीको प्रयोग गरिएको छ, ठोस अर्थ लाग्दैन । केवल जार्गन फालेर पाठकलाई अलमल्याउन र भ्रम छर्न मात्र खोजिएको देखिन्छ । यस्ता अमूर्त कुरा नगर्नु नै उचित हुन्थ्यो ।

अगाडि लेखिएकोछ, ‘तर नयाँ शक्तिको राजनीतिक संगठन, चरीत्र, र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरता बाहेक अरु केही बोकेन ।’ यसमा भनिए बमोजिम नयाँ शक्ति पार्टीको संगठन, चरीत्र र संस्कृति पूर्व माओवादी कै निरन्तरता नै हो । यो कसरी भयो त? पूर्व माओवादीको तत्कालीन संगठन र यस पार्टीको अन्तरीम विधान २०७३ ले तय गरेको संगठनमा तुलना नै हुन नसक्ने भिन्नता छन् । चरीत्रको कुरा गर्दा नयाँ शक्ति पार्टी विकास र संवृद्धि केन्द्रीत छ । शासकीय स्वरुपमा पनि परिवर्तन चाहन्छ । संस्कृतिको कुरा गर्दा सबै सदस्यहरु विस्तारै पुराना विचार मान्यता दृष्टिकोण कार्यशैलीबाट रुपान्तरण हुँदैछन् । परिवर्तन वा रुपान्तरणको कुरा शनैः शनैः हुँदै जाने कुरा हो र भई रहेको पनि देख्न सकिन्छ । एक अवस्थाबाट अर्को अवस्थामा जान समय लाग्दछ ।

यस अनुच्छेदको अन्तिम वाक्यमा लेखिएको छ, ‘जसले गर्दा सिमित मात्रामा प्रवेश गरेका गैर माओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।’ नयाँ शक्ति अहिले इन्द्रेणी जस्तै भएकोछ । वास्तवमा यो निकै रमाइलो समूह छ । इन्द्रेणी विशिष्ट अवस्थामा मात्र देख्न सकिन्छ । घाममा मात्र वा वर्षामा मात्र इन्देणी देख्न सकिदैन । घाम–पानीको विशिष्ट संगममा इन्द्रेणी देखिए जस्तै नेपाली इतिहासको यो विशिष्ट अवस्थामा नयाँ शक्तिमा इन्द्रेणीको महसुस गर्न सकिन्छ । यस्तो विशिष्ट अवस्थामा रमाई रहेका समृद्धि प्रेमी सदस्यहरुलाई माओवादी र गैर माओवादी भनी भड्काउने प्रयास गरिएको देखिन्छ । नियत सफा हुने पात्रबाट यस्तो अपेक्षा गरिदैन । महान् लक्ष्य लिएर अगाडि बढेको समूह यस्ता भड्काउमा लाग्दैनन् । कवि रोबर्ट फ्रोष्टले भन्नु भए जस्तै उनीहरुलाई कतै अलमलिने फुर्सद नै छैन । कवि भन्नुहुन्छ–
The woods are lovely, dark and deep,
But I have promises to keep,
And miles to go before I sleep,
And miles to go before I sleep.

अर्थातः यो सन्सार सुन्दर र बुझि नसक्नु प्रिय छ तर आफ्ना प्रतिज्ञा पुरा गर्न मर्नु भन्दा अगाडि लामो यात्रा गर्नुछ (यस कवितामा विम्वको प्रयोग गरिएकोछ) । यसरी ‘समृद्धि संभव छ हाम्रै पालामा’ भनेर मर्नु अगाडि नै नेपाललाई समृद्ध देश बनाउने महान् अभियान लिएर आर्थिक समृद्धि गर्ने मोर्चामा खटिएका अभियन्तालाई फुटाउन तानाबाना बुनिएको राम्रोसँग थाहा पाउँन सक्लान् र यस्ता भड्काउने खेलले यस भित्र कुनै भूमिका खेल्न सक्दैन भन्ने बुझ्न पनि कठिनाइ नहोला ।

तसर्थ यस्ता प्रकारका कच्चा खेल पाका खेलाडीबाट अपेक्षा गरिएको हुँदैन । अर्को कुरा, हजारौं संस्थापक सदस्य भएर नयाँ शक्ति पार्टी निर्माण भएको छ । पार्टीमा सबै सदस्यको समान स्वामित्व ग्रहण गरेका छन् । ‘पार्टी प्रवेश’ भन्ने शब्दावलीको प्रयोग नै यस पार्टीका हाल सम्मका सदस्यहरुको सन्दर्भमा उचित प्रयोग हुन सकेन । नयाँ शक्तिको विशाल माहौल देश विदेशमा श्रृजना भई रहेको देखिन्छ । नेपाल भित्र मात्र नभई विदेशमा पनि कमिटिहरु गठन भई रहेका सुनिन्छन् । सदस्यहरु अहोरात्र थपिइ रहेका देखिन्छन् । सबै सदस्य आ आफ्नो स्थानबाट नलागेका भए यस्तो द्रुत प्रगति संभव नहुन पनि सक्थ्यो । देश जनताको उज्ज्वल भविष्यको सुखद कल्पना गर्दै सबै सदस्यहरु आ आफ्नो फाँटमा क्रियाशील भई रहेका छन् । नत्र छोटो अवधिमा नै गर्व गर्न लायक संगठनको निर्माण कसरी संभव हुन सक्थ्यो ।

१०. विज्ञप्तिको पाचौं अनुच्छेदको पहिलो वाक्यमा लेखिएकोछ, ‘पार्टी विधिमा होइन, व्यक्तिमा आधारित रह्यो ।’ भनीरहनु नपर्ला कि नयाँ शक्ति पार्टी नव स्थापित हो । नव स्थापित भएपनि २०७२ फागुनमा नै पार्टीलाई विधि सम्मत रुपमा संचालन गर्नका लागि निर्देशिका जारी गरीएको र २०७३ जेठ ३० मा पार्टी घोषणा भए लगत्तै पार्टीको अन्तरीम विधान २०७३ जारी गरिएको देखिन्छ ।

अन्य दस्तावेज पनि पारित भएका पाइए । पार्टी स्थापनाको छोटो अवधिमा नै पार्टीलाई व्यक्तिमा नभई विधिमा आधारित भएर संचालन गर्ने दृढ अठोटमा नेतृत्व रहेको नांगो आँखाले नै देख्न सकियो । अतः नयाँ शक्ति पार्टी अझ पनि विधिमा संचालन भएको देखिदैन भने ती चर्मचक्षुमा दृष्टिदोष पो छ कि । दृष्टिदोषका विशेषता का सम्बन्धमा कवि शिरोमणि लेखनाथ पौड्याल भन्नुहुन्छ–
दोषी माता पिताका वचन, गुरुजनका देश निःशेष दोषी ।
सत्यमा मित्र देषी, गृह परिजनका चाल देखिन्छन् दोषी ।।
पत्नीको प्रेम दोषी, अमृतमय वेदका मीठा वाक्य दोषी ।
यो सारा सृष्टी दोषी, विधिवश छ भने आफ्नू दृष्टी दोषी ।।

अर्थातः आफूमा दृष्टी दोष हुने व्यक्तिले जन्मदाताका र गुरु जनका वचन वा अर्ति उपदेश, वेदका वाक्यमा पनि दोष देख्छ, मित्र र परिवारजनका व्यवहारमा पनि दोष देख्छ, आफूलाई सर्वस्व सुम्पने पत्नीको प्रेममा पनि दोष देख्छ, साथै उसले यो सारा सृष्टिमा पनि दोष नै दोष देख्छ । राम्रो भन्ने वस्तु केही पनि देख्न सक्तैन । यसै गरी यो प्रेस विज्ञप्ति प्रेषकमा पनि कतै दृष्टि दोष त छैन भन्ने प्रश्न उत्पन्न भएको छ ।
११. यसै गरी विज्ञप्तिमा अगाडि लेखिएकोछ, ‘आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य भएन ।’ पार्टी शैशवस्थामा छ । पार्टीको मूल कार्यक्रम पाँच ‘स’ हो । यस अन्तर्गत ‘सुशासन र सदाचार’ पनि पर्दछन् । देश भ्रष्टाचारले आक्रान्त भएको छ । यस पृष्ठभूमिमा अन्य पार्टीका प्रायः नेता कार्यकर्ता भ्रष्टाचारमा निर्लिप्त भएको अवस्थामा यस पार्टीका नेता कार्यकर्ताले प्रारम्भ देखि नै उत्पादनसँग जोडिएर व्यक्तिगत रुपमा पनि सुशासन र सदाचार कायम गर्नुपर्दछ भन्ने यस पार्टीको मूल आदर्श हो । सोही अनुरुप प्रत्येक कार्यक्रममा भएको आम्दानी र खर्चको विवरण तत्काल सार्वजनिक गरिदै आएको देखिन्छ । जेठ ३०, ३१ र ३२ गते भएका कार्यक्रमको र प्रचार प्रसारको खर्च र सो रकमको श्रोत समेत खुलाई तत्काल सार्वजनिक गरियो ।

यसैगरी पार्टी घोषणा भाव सम्प्रेषणका लागि प्रदेशमा आयोजित कार्यक्रमको पनि आम्दानी र खर्चको विवरण तत्काल सार्वजनिक गरिदै आएको, आर्थिक पक्षलाई पारदर्शी बनाउनका लागि निर्देशिका नै तयार गरिएको पाइयो । सबै आर्थिक कारोबारलाई चेक मार्फत गर्ने भनी संयुक्त बैंक खाता संचालन गरिएको, चन्दा पनि बैंक खातामा जम्मा गर्नका लागि चन्दादातालाई अनुरोधका साथै कार्यकर्ताहरुलाई निर्देशन दिइएको देखिन्छ । सम्बन्धित तह सोही तहमा आवद्ध पदाधिकारीहरुबाट प्राप्त लेवीबाट चलाउने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यालय केन्द्रीय कार्यकारीणी सदस्यहरु र केन्द्रीय परिषद सदस्यबाट प्राप्त हुने लेवी र सदस्यता बापत केन्द्रलाई प्राप्त हुने २० प्रतिशत रकमबाट चलाइएको छ । यसैगरी प्रदेश र जिल्लाका कार्यालयहरु पनि सोही अनुसार तत् तत् कमिटिबाट सन्चालन गरिँदै आएको छ । पार्टी कार्यालयहरु अभावमा चलिरहेको कुरा ती कार्यालयको निरीक्षण गर्दा थाहा हुन्छ । पार्टी कार्यकर्ताहरु अभावका बीचमा पनि अभियानमा सहभागीता जनाउँदै आएका देखिन्छन् । यसरी अभावका बीचमा पनि सदाचार कायम गर्दै विधिसम्मत रुपमा पार्टी सन्चालन भई रहेको कुरालाई आर्थिक अराजकताको आरोप लगाउनु विश्वसनीय होला कि नहोला ।

१२. यसैगरी पाँचौ अनुच्छेदको तेश्रो वाक्यमा लेखिएकोछ, ‘विकल्पको संभावनालाई खुम्च्याएर एउटा गुटमा सीमित गरियो ।’ सबैलाई चेतना हुनु पर्दछ कि विकल्पको अन्त्य कहिल्यै हुँदैन । विकल्प रबर जस्तै हो, यसलाई तन्काउन सकिन्छ । यो व्यक्ति वा संगठनको कौशलतामा भर पर्दछ । विकल्प खुम्चिएको देख्नु अदूरदृष्टीपन हो, निर्णय क्षमताको अभाव हो र आत्मविश्वास गुमाउँदै गइएको संकेत हो । जब दिल फराकिलो हुँदैन तब विकल्प सकिदै गएको महसुस हुन्छ । हाम्रा सामु विकल्पै विकल्प छन् तर कुन विकल्प उत्तम हो भन्ने मात्र हो ।

अगाडि लेखिएकोछ, ‘नयाँ शक्ति पार्टी अन्य पार्टीहरुको विकल्प बन्ने संभावना समाप्त भयो ।’ यहाँ विज्ञप्ति प्रेषक भ्रममा देखिनु हुन्छ । नयाँ शक्ति पार्टीले नेपाली राजनीतिक मञ्चमा वैकल्पिक चिन्तन स्थापित गरिसक्यो । एकलाख भन्दाबढी संस्थापक सदस्य बनाएर पार्टी घोषणा, फूलमाला, अबिर, खादाको भड्किलो कार्यशैलीको तथा मन्चमा बस्ने भद्दा शैलीको अन्त्य । कार्यक्रममा सडक अवरोध नगरिने, भित्तेलेखन, पोष्टरिंगको अन्त्य । प्रचार प्रसारमा विद्युतीय माध्यमको प्रयोग । पाँच ‘स’ को अवधारणा, विचारको दृष्टिकोणले अग्रगामी चिन्तन । पार्टी सदस्य सार्वभौम रहने व्यवस्था । यी विशेषताहरुले देखाउँदछ कि यो पार्टी वैकल्पिक चिन्तन अंगीकार गर्न सफल भई सकेको छ । विकल्प बन्ने संभावना नभएको होइन कि वैकल्पिक पार्टी त बनि पो सकेको देखिन्छ ।

१३. विज्ञप्तिको अन्तिम अनुच्छेदमा लेखिएको छ, ‘राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु ।’ प्रेषक अझ पनि भ्रममा नै रहनु भएको देखिन्छ । वहाले यो देख्न सक्नु भएन कि नेपालमा करीब छ महिनाको अबधिमा नै नेपालका सर्वाधिक लोकप्रिय राजनैतिक व्यक्तित्व डा. बाबुराम भट्टराईको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण भव्य रुपमा सम्पन्न भई सकेको छ । यो नेपालका लागि मात्र नभएर संसारका लागि नै अपूर्व नजिर हो । यस बीचमा केन्द्रीय कार्यकारीणी समिति, विधायिकी निकाय केन्द्रीय परिषदको गठन भएकोछ ।

सबै प्रदेश, जिल्ला, नगर र प्रायः गाविसहरुमा समितिहरु गठन भई सकेका छन् । राजनैतिक व्यक्तित्वको नेतृत्वमा नेपालमा वैकल्पिक शक्तिको निर्माण भई सकेको छ भन्ने अरु प्रमाण पेश गर्नु पर्ला र ?

१४. यसै गरी अगाडि लेखिएकोछ, ‘नबदलिएको नेताको नियत र चरीत्रले कुनै नयाँ विकल्प दिन सक्दैन ।’ हो, नयाँ हुनका लागि नियत, चरित्र, संस्कारमा परिवर्तन आवश्यक छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई बारम्बार विनयतापूर्वक भन्ने गर्नुुहुन्छ, ‘म स्वयं नयाँ बन्ने प्रक्रियामा छु । म नयाँ बन्न चाहन्छु । म रुपान्तरण हुन चाहन्छु । साथीहरु सबै नयाँ बन्नु पर्दछ । रुपान्तरण हुनु पर्दछ ।’ नयाँ शक्ति पार्टीमा विभिन्न पृष्ठभूमिका मानिसहरु आवद्ध भएका कारण एकै पटक सबैको सोच र स्वभावमा एक रुपता पाउन कठीन होला । तर विस्तारै सबै जना नयाँ विचार, व्यवहार उद्देश्य लक्ष्यमा केन्द्रीकृत हुनेछन् । दशकौंसम्म फरक राजनीतिक संस्कारमा अभ्यस्त भएका व्यक्तिहरु नयाँ राजनीतिक परिवेश निर्माण गर्दैछन् ।

यसलाई नै सकारात्मक रुपमा लिनु पर्दछ । कुनै पनि कुराको मापन गर्ने केही सूचकहरु हुन्छन्। यसै गरी नयाँ शक्ति पार्टीका नेताको नियतमा कुनै खोट छ कि छैन भन्नका लागि हामी केही सूचकहरु हेर्न सकिन्छ । नयाँ शक्ति पार्टीको विधान हेर्नेलाई जानकारी हुने छ कि यो विधान अत्यन्त्यै लोकतान्त्रिक छ । सदस्यहरु सार्वभौम छन् । सबै तहका कार्यसमितिका सदस्य तथा पदाधिकारीहरु सदस्यहरुले प्रत्यक्ष रुपमा चयन गर्न पाउने विधिको विकास गरिएको छ । नयाँ विचारको निर्माण भएको छ । नेपाली समाजका अन्तर्विरोधहरुको रौं चिरा विश्लेषण र त्यसको समाधानका उपायहरुको दिशा वोध गरिएकोछ । लोकपालको व्यवस्था, राइट टु रिजेक्ट र राइट टु रिकल जस्ता लोकतन्त्रका उन्नत मान्यताहरुको वैधानिक व्यवस्था गरिएको छ । तसर्थ भन्न सकिन्छ कि नयाँ शक्ति पार्टीका नेताको नियत नबदलिएको देखिदैन । नियत नबदलिएको त वहाँको देखिन्छ जसले अरुलाई नबदलिएको देखाउने दुष्प्रयास गरी रहनु भएको छ । sktimilsina@gmail.com

The post नयाँ शक्तिमा मुमाराम प्रकरण : भ्रम र यथार्थ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles