Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

गगन थापालाई खुल्ला पत्र : ‘बहादुर’सिरानी हालेर कायर नबन !

$
0
0

प्रिय गगन थापा,
मनमा चलिरहेको आँधिबेहरी र उथलपुथललाई माइक्रोसफ्टका पानाहरुमा रंग्याउँदै गर्दा सर्वप्रथम त परिचय दिन उचित ठानेँ । म तिम्रो एउटा शुभचिन्तक । आजसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको र परिवर्तनका पक्षधरहरुलाई एजेण्डाअनुसार समर्थन गर्दै आएको एक सचेत युवा । उमेरले तिमीभन्दा झण्डै डेढ दशक कच्चा छु ।

RC Bhandari
आरसी भण्डारी

अवश्य पनि म तिमीले ओढ्दै आएको चार तारे झण्डामूनि छैन । छु त केवल चन्द्र-सूर्य अंकित त्रिकोणात्मक झण्डामूनि । यसैलाई आफ्नो आदर्श मान्छु । देशको चिन्ता छ । साथीहरु विदेशिएका छन् । त्यहाँ सुख-दु:ख गरेर धेरथोर कमाईरहेका छन् । विदेशमा पसिना बगाएर रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई चलायमान राख्ने ति कर्मठ साथीहरुप्रति सम्मान अर्पण गर्दछु । तर, खै किन आफूलाई विदेशिने कत्ति पनि मन छैन । आमाको काख प्यारो लाग्छ । नेपाललाई पनि युरोप अमेरिकाजस्तै बनाउने कोही आए पनि हुन्थ्यो भन्छु । तर, छाँटकाट कतै देखिन्न । पारी-पारी क्षितिजसम्म पनि उही पूरानाहरुको भीड देख्छु । उनीहरुको आफ्नै ध्याउन्न छ, सरकार बनाउँछन्, जेनतेन १०० दिन काटेपछि ढाल्ने खेल सुरु हुन्छ । सांसदहरु किनबेच हुन्छन्, करोडौं खर्चिएर मन्त्री-प्रधानमन्त्री बनेकाहरुले लगानीको प्रतिफल उठाउँछन् र फर्किन्छन् । फेरि अर्को सरकार बन्छ, अनि उही कमाउने खेल, कार्यकर्ता भर्ति र भोट बैंकको सुरक्षाबाहेक अरु कुनै प्रगतिको आभास हुन्न ।

निरासा जताततै छन्, यसलाई जतिभएको थोपरेर पत्रलाई पट्यारलाग्दो बनाउन चाहन्न । विषयवस्तुतर्फ नै प्रवेश गरौँ, काँग्रेसको कार्यकर्ता नभए पनि देशकै सबैभन्दा ठूलो र पूरानो दल भएका नाताले यसको महाधिवेशनमा मेरो पनि चासो थियो । अन्य उम्मेद्वारहरुप्रति खासै आशा र अपेक्षा थिएन । काले आए पनि कालेका बा आए पनि मलाई कुनै सरोकार भएन । तर, तिम्रो जितको भने अवश्य कामना गरेको थिएँ । पूरातनवादी र कर्मकाण्डीहरुको पार्टीमा रहेर गणतन्त्र चाहिन्छ भन्दै सडकमा निस्किने साहसी गगनले जित्नुपर्छ भन्ने लागेको थियो । तर बिडम्बना ! तिम्रा काँग्रेसी सहकर्मीहरुले तिमीभित्रको साहस र केही गर्नुपर्छ भन्ने सोचलाई चिनेनन् ।

तिमी विचारमा बीपीको कुरा गर्थ्यौ, काँग्रेसीहरुले रगतमा बीपी खोजे । तिमीले गणतन्त्र र संघीयता भन्यौ, काँग्रेसीहरुले राजतन्त्र र एकात्मक राज्यव्यवस्था फर्काउनुपर्छ भन्नेलाई रोजे । सोचेँ, काँग्रेसीहरुको नेता बन्न तिम्रो योग्यता पुगेन । न त तिम्रो रगतमा बीपी बगेका थिए, न त अरु कुनै ‘बहादुर’ले जस्तै भ्रष्टाचार गरेर जेल नै बसेका थियौ, न त संविधानले संस्थागत गरिसकेका परिवर्तनलाई फेरि उट्याउनुपर्छ भनेका थियौ !

खैर केही छैन, जे हुनु भइसक्यो । चुनावी परिणामपछि गगनको मानसपटलमा के चलिरहेको छ भन्ने कुराको साह्रै खुल्दुली थियो । यसअवधिमा तिमीले दिएका अन्तर्वार्ता र अभिव्यक्तिहरुलाई भेटेसम्म खोजेर पढेँ । लाग्यो, तिमी चुनावी परिणामप्रति चुनावकै दिनदेखि जानकार थियौ । एउटा युवा हुनुको नाताले तिमी निरास छैनौ, अझै पनि केही बिग्रेको छैन भन्ने सकारात्मक सोँच देखेँ, खुसी नै लाग्यो ।
तर, तिमी अझै पनि काँग्रेसीहरुको नेता बन्न कपाल फुलाउने प्रतिक्षामा छौ भन्ने आभास पाउँदा निकै दु:ख लाग्यो । यो महाधिवेशन त सकियो, अझै ४ वर्ष अर्को महाधिवेशन हुनेछैन । त्यतिबेलासम्म फेरि तिमी थन्किने छौ । तिमीभित्रका उत्साह, जोस, जाँगरहरु थन्किनेछन् । त्यतिबेला पनि तिमी काँग्रेसीहरुको रोजाईमा पर्छौ भन्ने के ग्यारेन्टी ? गणतन्त्रको नारा लगाउँदा नेविसंघको सभापति बन्न चुकेको बिर्सियौ ? अब फेरि तिमी रोजाईमा पर्न त तिमीले गणतन्त्रविरुद्ध बोल्नुपर्यो, भ्रष्टाचार गर्नुपर्यो, कपाल फुल्नुपर्यो । यति सबै योग्यता पूरा गरेर काँग्रेसीहरुको नेता बन्यौ भने म र मजस्तै परिवर्तन चाहने र देशको विकास गर्न ढिला भइसक्यो भन्ने युवाहरुको नेता रहनेछैनौ ।
हो गगन, अब चुप लागेर बस्ने बेला छैन । २००७ सालदेखि नै जनताले चाहेको राजनीतिक परिवर्तन संस्थागत भएको छ । अब पनि हामी आर्थिक विकासमा लागेनौं भने निकै ढिला हुनेछ । पछिल्लो पुस्ताले हामीलाई धिक्कार्ने छ, जसरी हामी पूरानो पुस्तालाई अभिसाप ठानिरहेका छौं । तिमीले त अब छलाङ मार्नुपर्छ, हामीलाई युवा नेतृत्व चाहिएको छ । हामी तिमीजस्तै युवा प्रधानमन्त्री बनेको देख्न चाहन्छौं, जसले सिंहदरबारमा फोटो झुण्ड्याएर फर्किने काम मात्रै नगरोस्, जसले विदेशी शक्ति राष्ट्रहरुसँग घुँडा नटेकोस्, युवालाई आफ्नो शक्ति मानोस् र युवालाई नै परिचालित गरेर देशको भाग्य कोर्न सकोस् ।

अझै सम्झिराखेको छु, महाधिवेशनअघि तिमीले भनेका थियौ, ‘कि त महामन्त्री बन्छु र काँग्रेसलाई रुपान्तरित गर्छु, कि त मजस्तै युवा साथीहरुले बाटो देखाउनुस्,’ हो अब दोस्रो विकल्प रोज्न ढिला नगर । 

अब तिमीले विकल्प खोज्नै पर्छ । कुहिएका आलुहरुमा मिसिरह्यौ भने तिमी पनि एकदिन कुहिनेछौ, हामीजस्तै परिवर्तनका पक्षधर युवाहरुको सपना कुहिने छ । कर्मकाण्डीहरुलाई नेतृत्व गर्छु र उनीहरुलाई परिवर्तन गर्छु भन्ने सपना देखेका छौ भने त्यो तिम्रो भ्रममात्रै हो । तिमीले नयाँ बाटो खोज्नुपर्छ, तिमीलाई विश्वास गर्ने काँग्रेसी युवाहरुमात्रै नभएर सारा नेपाली युवा तिम्रो पछाडि लामबद्ध हुनेछन् । बाहिर तिम्रा लागि सम्भावना नै सम्भावना छ ।

अझै पनि यथास्थितिमा रह्यौ भने अर्को महाधिवेशनमा पनि महामन्त्री बन्न महाभारत कै लडाईं लड्नुपर्छ । महामन्त्री नै बन्यौ भने पनि काँग्रेसको सभापति बन्न र प्रधानमन्त्री बन्न तिमीले अर्को एक/डेढ दशक कुर्नुपर्छ, त्यतिबेला तिमी पनि उही ड्याङमा पुगिसकेको हुनेछौ अथवा तिनै ‘बहादुर’हरुकाे नयाँ संस्करण बनिसकेको हुनेछौ । त्यतिबेला तिमी कुर्सीमा त हुन्छौ तर सपनाविहिन अझ भनौं शालिकजस्तै । तर हामी तिमीलाई त्यो रुपमा देख्न चाहँदैनौं । किनकी ६० को दशक पार गरेपछि युवा पुस्ताले तिमीलाई अभिसाप ठान्न थाल्ने छ, अनि तिमी न युवाको नेता रहनेछौ, न त परिवर्तनकामीहरुको । त्यसैले बेलैमा सोच । तिमीले पहिल्यै विकल्पहरुमा काम गर्न सकेको भए रहरमा नयाँ र उदात्त बाटो रोजिसकेको हुनुपर्थ्यो, अब तिमीलाई अन्तरमनले रोजेको बाटो रोज्न रहर भन्दा बाध्यताहरुले बढी प्रेरित गर्नेछन् ।

तिम्रो हारको विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ । ‘गगनले किन हारे ? के महामन्त्री बन्न उनको योग्यता नपुगेको हो ? उनी नेपाली समाजकै लागि अयोग्य हुन् कि कांग्रेसभित्र मात्रै ? अथवा उनी कांग्रेस कार्यकर्ताबीचमा अलोकप्रिय छन् कि महाधिवेशन प्रतिनिधिहरुको बीचमा मात्र ? उनले रहरले कमजोर गुट समातेका हुन् कि अवसर नपाएपछिको बाध्यता ? के उनको उमेर नपुगेकै हो र ? गगनको उम्मेद्वारी साहस कि दुस्साहस ?’ तिमीले यी प्रश्नहरुको उत्तर दिन ढिला गर्नु हुँदैन । अब तिमीले एउटा निष्कर्ष निकाल्नै पर्छ । हामी युवाले त निष्कर्ष निकालिसक्यौं, तिमीले समयानुकूल कांग्रेस फेर्न सकेनौ । अब तिमी कांग्रेस अनुकूल बनेर फेरिनेछौ । के यो विकल्प तिमीलाई स्वीकार्य छ ?

Gagan Thapa

हामीले तिम्रो पराजयलाई एउटा व्यक्ति भन्दा युवाहरुको पराजयको रुपमा बुझेका छौं । किनकी कांग्रेस एउटा यस्तो जबरजस्त संरचना बनिसक्यो कि यहाँ विचार प्रधान हुनैसक्दैन । तिम्रै निष्कर्ष छ नि महाधिवेशनको मतदान अघिका पछिल्ला दुई दिन यो पार्टीमा निकृष्ट ढंगबाट क्याम्पियन भयो । दलाली राजनीतिक प्रवृत्ति देखियो । पैसामा प्रतिनिधिहरु किनिए । नैतिकता र वीपीको आदर्शलाई सडकमा कुच्चिइयो । अझ तिमीले भनेजस्तै महाधिवेशनमा पर्दा पछाडि भएका थुप्रै कथाहरु बाहिर आएपछि यदि स्वर्ग हुन्छ भने वीपी कसरी आँसुले रोलान् ।

हामीलाई थाहा छ, तिमीले जनता चिनेका छौं । तर अझै तिमीले कांग्रेस चिनेका छैनौ । अब जर्जर बनेको कांग्रेसी विरासतको भारी बोकेर निदाउँछौ कि गगनजस्तै विशाल जनतालाई चिनेर विश्वास गरेर उनीहरुको सपनाको सम्बोधन गर्न अगाडि बढ्छौ । मलाई थाहा छ, तिमीले समयमै यी कुराहरु बुझ्न सकिरहेका छैनौ । फेरि पनि यहाँ तिमी तिमीले भनेको जस्तै ‘कांग्रेस’ बनेर आफैंलाई घात गरिरहेका छौ जुन ‘कांग्रेस’ले मन परेको उम्मेदवार चुन्न सक्दैन । अथवा मन एउटालाई पराउँछ भोट अर्कोलाई हाल्छ । अझ भनौं मन नपर्नेलाई भोट भनेको त भावनात्मक एकताबिनाको सम्भोग हो, जसलाई राजनीतिक वेश्यावृत्ति नभनेर के भनौं । प्रिय गगन तिमीले मलाई उपयुक्त शब्द सुझाऊ ।

तिमी नै भन्छौ, ‘कांग्रेस पार्टी एकदमै कर्मकाण्डी ढंगले चल्ने, जनताको जीवनसँग युगको चाहनासँग बेसरोकार भएर आन्तरिक रुपमा चल्ने कुरालाई च्यालेन्ज गर्नुपर्छ ।’ तर के तिमी बोलेको कुरालाई लागू गर्न सक्छौ ? सकेनौ भने तिमी कांग्रेसभित्रै बसेर घैंटेहरुको मरेको लास च्यापेर आफ्नो उमेर, ऊर्जा र समयको पतन गर्दै दाह्री फुलाइरहेका हुनेछौ । त्यतिबेला कांग्रेसका लागि तिमी योग्य होलाउ तर नेपाली जनता र युवाहरु अनि समयको मागभन्दा तिमी धेरै पछाडि छुटिसकेका हुनेछौ र हामी आफैं नयाँ गगन भनेर खुला गगनमा विराट भविष्यको लागि नारा लगाइरहेका हुनेछौं- इन्कलाव जिन्दावाद !

म त्यतिबेला मेरो प्रिय नेतालाई कांग्रेसको सांसारिक मोहमा फसेर मृत्यू कुरिरहेको भूमिकाहीन गगन हामी समृद्धि र स्वतन्तत्राको नारा सुनिरहेको अवस्थामा देख्न चाहन्न । तिमी भन्छौ, म मनमा लागेको गर्नसक्ने कांग्रेस बनाउँछु । हामी भन्छौं तिमी मनमा लागेको गर्न सक्ने गगन बन । तर यो निश्चित छ, जबसम्म तिमी आफूलाई लागेको जस्तो गर्न सक्ने गगन बन्न सक्दैनौ तबसम्म तिमीले मनमा लागेको गर्न सक्ने कांग्रेस बनाउन सक्नेछैनौं ।

अन्त्यमा, तिमी र तिमीजस्ता तन्नेरी कांग्रेसहरु प्रवृत्तिगतरुपमा खुमबहादुर र पछाडि फर्कन चाहने सशांकको पछाडि लाग्न विवश भएजस्तै असफल नेताहरुको कारण निर्वासित गराइएका ५० लाख नेपाली युवाहरु तिम्रो पछि लाग्ने छैनन् । उनीहरु उन्नत विकल्प रोज्न बाध्य हुनेछन् ।

 

उही तिम्रो शुभचिन्तक
आरसी भण्डारी

The post गगन थापालाई खुल्ला पत्र : ‘बहादुर’ सिरानी हालेर कायर नबन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles