Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपाली राजनीतिमा खड्किएका विषय

$
0
0

नेपालको राजनीतिमा आजसम्म राजनीतिक अधिकारको लडाईँ भयो । परिणामतः देशले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षता जस्ता उपलब्धीहरु प्राप्त गर्‍यो । यो पनि हाम्रै जीवनकालमा, हाम्रै संघर्षमा । हाम्रो पुस्ताका लागि यो इतिहासमा अंकित हुने विषय हो । राजतन्त्रको आयु आकासमा चन्द्र सूर्य रहेसम्म भन्ने गरिन्थ्यो । तर, आज हामी गणतन्त्रको अभ्यास गरिरहेका छौँ । एकात्मक राज्य व्यवस्थाको अन्त्य भई संघीयताको अभ्यास प्रारम्भ गरेका छौँ । केन्द्रिकृत राज्य व्यवस्थालाई उल्टाउन सफल भयौँ । लगभग सात दशकको राजनीतिक लडाईँले दिएको यो उपलब्धी चानचुने होइन । विगतमा जनताको आन्दोलन सम्झौतमा टुंगिन्थे । आज जनताको आन्दोलनको जीत भएको छ । हाम्रा लागि गर्व र हर्षको विषय हो ।

Pariwartan Bhattarai Kriti
परिवर्तन भट्टराई कृति

देश गरिबी, बेरोजगारी र परनिर्भरताको चंगुलमा फसेको छ । यस विरुद्धको लडाईँ आज प्रधान भएर आएको छ । अधिकार प्राप्तिको आन्दोलनलाई अब विकास र समृद्धिको दिशामा रुपान्तरण गर्नु पर्ने आवश्यकता छ । जनता भोकै नाङ्गै हुँदासम्म अधिकार प्राप्तिले सार्थकता पाउँदैन । लाखौँ युवाका कर्मशील हातहरुले विदेशी माटोलाई सिंचित गरिरहेका छन् । आर्थिक रुपमा देश पूर्ण रुपले परनिर्भर रहेको छ । आजको राजनीतिको मूल विषय भनेको देशलाई गरिबी र पछौटेपनबाट मुक्ति हो । नेपालका सबै राजनीतिक दलहरुले यस विषयलाई गम्भीर रुपमा लिनपर्छ । आर्थिक रुपमा जर्जर देशले जनतालाई खुशियाली दिन सक्दैन । पुरातन शैलीको राजनीतिक संस्कारले जनतालाई राहत दिन सक्दैन । रुढीग्रस्त सामाजिक संस्कारले सामाजिक रुपान्तरण सम्भव छैन । अन्धविश्वास आधारित सांस्कृतिक परम्पराले सांस्कृतिक उच्चता प्राप्त हुन सक्दैन ।

आर्थिक विकास नहुनु विडम्बना हो । असमान आर्थिक विकास पनि आम जनताको पक्षमा हुँदैन । यी दुवै कुराले नेपाली जनता पीडित छन् । यसबाट निकास खोजिनु पर्छ । विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायका जनतामा पुर्‍याउनु पर्छ । अर्थात समतामूलक समृद्धि आजको आवश्यकता हो । यसको प्राप्तिका लागि लडाई लड्नु आजको पुस्ताको दायित्व हो । यसका लागि प्रथमतः ऊर्जाशील दिमाग र कर्मशील हात भएका युवाहरुलाई स्वदेशमै रोजगारीको सुनिश्चिता हुनुपर्छ । सबै वर्ग, क्षेत्र र समुदायका जनताको सहभागितामूलक साझेदारी हुनुपर्छ । देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ । समतामूलक आर्थिक विकासका लागि यो विषपान हो । राज्यका सबै अंगमा रगत संचारको रुपमा भ्रष्टाचार फैलिएको छ । आत्मनिर्भर र सबल अर्थतन्त्रका लागि भ्रष्टाचारजन्य मनोवृत्तिको अन्त्य गर्नुपर्छ ।

निष्ठावान व्यक्ति र आदर्शवान युवाहरु राजनीति बाहिर छन् । देशका लागि यो राम्रो कुरा होइन । राजनीतिमा अब्बल दर्जाका मान्छेको प्रबेश भएन भने त्यसले राजनीतिलाई फोहोरी खेलमा रुपान्तरण गर्छ । राजनीतिमा क्षमतावान मान्छे आकर्षित हुनैपर्छ । यो वातावरण नेपाली राजनीतिमा छैन । कतै फिट नभएका मान्छे राजनीतिमा आउनु भनेको दुर्भाग्य हो । योग्य, सक्षम र क्षमतावान मान्छेको पहिलो रोजाइ राजनीति हुनुपर्छ । राजनीतिमा भ्रष्टाचार र विकृति व्याप्त छ । भ्रष्टाचारमुक्त सुशासनको अन्त्य गर्नु आजको प्रमुख कार्यभार हो । आर्थिक कारोबारमा पारदर्शिता र विधिको शासनको पालना राजनीतिको पहिचान हुनुपर्छ । यसले धमिलो राजनीतिलाई सफा गर्छ । नेपाली राजनीतिमा लोकतन्त्रको अभ्यास औपचारिक र कर्मकाण्डी छ । यसलाई वास्तविक लोकतान्त्रिक अभ्यासमा ढाल्नु जरुरी छ ।

नेपाली राजनीति सक्नेका लागि मात्रै भएको छ । यो परम्परालाई अबका दिनबाट अन्त्य गर्नुपर्छ । त्यसका लागि सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई सबै राजनीतिक दलहरुले प्रयोगमा ल्याउनु पर्छ । मधेसी–थारु, आदिवासी जनजाति, महिला, दलित र अल्पसंख्यक समुदायका मानिसहरुले आजका दिनसम्म खर्स आर्य समुदायका मानिसहरुसँग ठाडो प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । नेपाली समाजको यही विशिष्टतालाई ख्याल गरेर नेपाली राजनीतिमा सहभागितामूलक लोकतान्त्रिक अभ्यासको सुरुवात गर्नुपर्छ । यसका लागि कुनै एक दल तयार भएर हुँदैन । सबै दलहरु यसका लागि तयार हुनुपर्छ । समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यासले मात्रै सबै वर्ग, क्षेत्र र समुदायका मानिसलाई राजनीतिको मूल धारमा आकर्षित गर्छ । मुख्यतः सहभागितामूलक लोकतन्त्र आजको आवश्यकता हो । नेपाली राजनीतिमा साझेदारी मार्फत अपनत्वको विकास गर्नु आवश्यक छ ।

नेपाली राजनीतिको अर्को कमजोरी भनेको विचार र दृष्टिकोणको प्रयोगमा रुढता हो । पुराना ज्ञान, विज्ञान र विचारलाई आजको सन्दर्भमा प्रयोग गर्न खोज्नु गल्ती हुन्छ । त्यही गल्ती नेपाली राजनीतिले गरिरहेको छ । पुराना कुरालाई ब्राण्ड बनाएर झनै अन्धभक्त हुँदा निकास अवरुद्ध भएको हो । ज्ञान, विज्ञान र विचार निरन्तर विकास हुने विषय हो । एक्काइसौँ शताब्दीको आवश्यकता र नेपाली समाजको विशिष्टताका आधारमा नेपाली राजनीतिलाई मौलिक बनाउनु पर्छ । पुराना दृष्टिकोणका आधारमा आजको जटिलता फुकाउन सकिँदैन । व्यवहारमा त्यही भइरहेको छ । नेपालका सबै राजीतिकर्मी र सम्बद्ध दलहरुले आफूलाई पूर्ण रुपमा फेर्न सक्नु देशको सर्वागिंण विकास गर्ने पूर्वाधार हो । एक्लो बलवान होइन साझेदारी र सहकार्य सहितको संस्कारको विकास गर्नुपर्छ ।

The post नेपाली राजनीतिमा खड्किएका विषय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles