Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

केपी शर्मा ओली र राष्ट्रवाद ?  

$
0
0

एउटा विषम परिस्थितीका बीचमा कामरेड केपी ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । एकातिर भरखरै भारतले अघोषित नाकाबन्दी लगाएको थियो भने अर्कोतिर मधेश आन्दोलनले जनजीवन ठप्प थियो । धेरै मधेसीलाई जातीय विखण्डकारीको आरोपमा गोलीले भुटिएको थियो भने मधेसवादी कार्यकर्ताहरुले मधेशमा जताततै पार्टी कार्यालयदेखि एम्बुलेन्ससम्म जलाइरहेका थिए । यसबीचमा धेरै अपेक्षा र भरोसाका साथ एमाले अध्यक्ष प्रधानमन्त्रीमा चुनिनु भएको थियो । बालकोटमा नीजिरुपमा अलिअलि भोज चल्दै आएका थिए तर बालुवाटार प्रवेशपछि जनताले तिरेको करमा ठूलैखालमा भोजभतेर चल्नथाले । पार्टी कार्यकर्ता भन्दा गुट र आफ्ना घेराका मानिसहरुको रंगरौश बढ्न थाल्यो । अनि तिनीहरु गर्जिन थाले, अबको १० वर्षसम्म देश, पार्टी, संगठनहरु जताततै केपी र केपी गुट ।

राजकुमार थापा
राजकुमार थापा

ओली कामरेडलाई मदन भण्डारीका नजिकका अनुयायी र जबजका संरक्षक भनेर भनिँदै आइएको छ । उनले सिँई गरेर सिंगान फाल्दासमेत सहकर्मी मित्रहरु विष्णु भगवानबाट महामणी निस्क्यो, विष्णु अवतारकी जय भन्दै आएका छन् । मदन भण्डारी बितेको २४ वर्ष भयो । ओलीले गिरिजा सरकारले भण्डारीको छानबीन गर्न दिएन भन्नुभयो । पछि शेरबहादुरलाई आरोप लगाउनुभयो । तर आफैले सरकारको नेतृत्व गर्दा किन पुनः छानबिन गनुभएन ? अथवा विगतमा भएका छानबिनलाई किन बाहिर ल्याउनु भएन ? अझ उहाँकी निकतम राजनीतिक सहकर्मी जो मदन भण्डारीकी अर्धांगिनी र यतिबेला आफै राष्ट्रप्रमुख हुनुहुन्छ ।

तर यो अनुकुल समयमा पनि सरकारले भण्डारीको हत्या छानबिन गरी दोषी यो हो भनि सार्वजनिक गर्नसकेन । दार्शनिक जननेतामाथि भएको जघन्य घटनाको फाइलसमेत खोल्न नमान्ने उहाँ नेतृत्वको सरकार पार्टी र कार्यकर्ताकै लागि कति फलदायी भयो ? अझ आफ्नै गुटका कार्यकर्ताहरु जो जननेताका हत्यारालाई चिन्न चाहन्छन्, तिनलाई समेत गुमराहमा राख्ने ओली सरकारले आम जनतालाई सुचनाको हकबाट समेत बञ्चित गर्दा उनी जनताका मौलिक हकको विरोधी पनि हुन भन्न मिल्दैन र ?

हामी सबैलाई थाहा छ– २०४६ मा पञ्चायती निरंकुशताको महारथी बनेर जनआन्दोलन दबाउने कमल थापाहरु नै थिए । राजनीतिमा देखिएको विचलनले लोकतन्त्रमा समेत यी पुनरउत्थानवादीहरु संसदमा छिरे । पछि लोकतान्त्रिकको आन्दोलनमा जनतालाई गोली हान्न आदेश दिनेहरु तिनै थिए । आफूलाई जबजको संरक्षक तथा राजतन्त्रलाई लल्कारने भण्डारीको अभिन्न अंग मान्ने तर राजतन्त्रका हिमायती यी पुनरउत्थानवादीहरुसंग सहकार्य गर्न तत्पर भई सत्ताका लागि राजनीतिक नैतिकता समेत बन्धक राख्नेलाई जबजको पालक भनेर कसरी विश्वास गर्ने ? यसैगरी ०६२/६३ को आन्दोलनमा जनआन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाउने दुर्जधन राईले नसियत पाउनुपर्छ भन्ने सबैको माग थियो । तर उनलाई सशस्त्रको प्रमुखमा बढुवा गरियो । यसले पनि उनले सोही जनआन्दोलनताका बोलेको ठेलागाडा चढेर अमेरिका पुगिन्छ ? भन्ने कटुतथ्यलाई पुष्टी गर्दैन र ?

सार्वजनिक सुरक्षा ऐन, जुन संविधान सरह मानिन्छ, यसलाई राज्यमा देखिएको विशेष परिस्थितीमा मात्रै प्रयोग गरिन्छ । तत्कालिन पञ्चायतमा यही ऐन लगाएर पञ्चायत विरोधी राजनीतिककर्मीलाई गोलीले भुटिन्थ्यो, समातेर जेल हालिन्थ्यो । बिपी, मनमोहन, स्वयं केपी कामरेडलाई यही ऐनले बाँधेर जेल हालिएको थियो । सुखानीमा हाम्रा लालसहिदहरुलाई यही ऐनको आधारमा गोलीले भुटिएको थियो । प्रजातन्त्रलाई निस्तेज बनाउन निरंकुश तानाशाहले प्रयोग गर्ने यो कानुन साच्चै जवजका पहरेदार मानिने खारेज गर्नुको साटो केपी ओली आफैले स्वीकृत गरी प्रत्येक्ष मधेश आन्दोलनविरुद्ध र अप्रत्येक्ष तवरले सार्वभौम नागरिकको विरोधलाई दवाउन प्रयोग गरे । यसले उनलाई लोकतन्त्रवादी नभई निरकुंशतावादको पक्षपोषक भनेर प्रष्ट पार्दैन र ?

ओली कमरेडलाई एउटा भजनमण्डलीहरुले गोयवल्स शैलीमा राष्ट्रवादी महानायक भनेर जवर्जस्त धुपवाती गर्दैछन् । राष्ट्रवादी त नाजी शासक हिटलर पनि हुन्, पोलपोट पनि थिए, सद्दाम हुसेन अमेरिकी साम्राज्यवादबिरुद्ध हाँसीहाँसी फासीमा लट्किए, मोहम्मद गद्दाफी नेटो सेनाको अगाडी झुक्दैनझुकी सहिद भए, युगोलास्भीया ध्वस्त बनाउदा पनि मिलोसोभिक अमेरिकासँग झुकेनन् ।

अहिले जिम्बाबेका राष्टपति रोवर्ट मुगावे आफ्ना देशका लागि सबैभन्दा ठूला राष्ट्रवादी महानायक हुन् । तर यिनको चरित्र र शासनलाई विश्लेषण गर्ने हो, शत्रुहरुको छातीबाट मुटु निकालेर आलै चपाउँथे, विरोधी र आलोचकहरुलाई वाघको खोरमा फालेर मार्थे । मुगावेको तानाशाही डन प्रवृतिलाई कुनै नागरिकले औलो उठाउनु भनेको उसले मृत्युलाई रोज्नु हो । यी सबै आफ्ना देशका हितमा थिए तर जनताका थिएनन्, छैनन् । केपी ओलीले जनताको लागि गरेको र देखिएको परिणाम केहो ? ती माथीका राष्ट्रवादीले दिएको भन्दा नयाँ के कुरा के थियो ? महंगी, कालावजारी, हिंसा, नाकाबन्दी बेरोजगारी, सास्तीका बीचमा कर्मचारीको तलबवृद्धि, आफ्ना भाइभरौटेहरुलाई गाडीघोडा र ठेक्कापट्टा बाहेक सर्वसाधारण जनताले ठोसरुपमा पाएको के छ ?

नौ महिने शासन त चल्यो । सम्माननीय पूर्वप्रधानमन्त्रीले ४ वटा मिठा सपनाहरु बाँड्नु भयो, घरघरमा ग्याँस पाईप, २ वर्षभित्र लोडसेडिंगको अन्त्य, पानी जहाज कुदाउने र चिनीया रेल ल्याउने । अझ उहाँका भनाइका ब्याख्याता विद्धानहरुले त आजै गर्ने, अहिले गर्ने, शुरु गरिहाल्यौं भनेर पनि जनतालाई दिगभ्रमित बनाए । तर न त कसैको घरमा ग्यास पाईप नै बिछाइयो, न त नारायणीमै वोट् भित्रिए, न चिनको रेल नै केरुंग आइपुग्यो । तर पनि २ वर्षका लागि अस्थायीरुपमा बनेको सरकारले सपनाहरु बाडिइरह्यो ।

हो, केही कदमहरु चालिए, इमाडोलको ग्यासलाईनको अध्ययन अघिल्लो सरकारका मन्त्री महेश बस्नेतको कार्यकालमा शुरु भएको थियो । त्यो लगायत केही अध्ययनका लागि चाइनिज र जापानीज टोली भने आएकै हो । सिगात्से–केरुंग रेलमार्ग चिनको वर्षौअघिको आफ्नै योजना हो । अतः केरुंग–काठमाडौं रेलमार्गको सपना देख्न त सकिन्छ तर हाम्रो उमेरको पुस्तासम्म असम्भव नै छ । किनकी मेलञ्ची कति वर्षपछि आउदैछ हामीले दशकहरु गनेका छौं । अनि मुग्लिन नारायणघाटको ३६ किमि राजमार्ग त सधै सूचारु नहुने भूगोलमा भोली नै रेल कु्द्छ भन्दा आफैं हासोको पात्र हुनेमात्र होइन र ? अझ लोडसेडिंगका विषयमा प्रदीप नेपालकै एउटा लेखबाट स्पष्ट हुन्छ, १० वर्षभन्दा अगाडि सम्भव नै हुन्न । वर्षेनी घाटा वजेट विनियोजन भइरहेको र ग्राहस्थ उत्पादन दर घटेर ०.७७ प्रतिशतमा सीमित रहेको अवस्था, वैदेशिक अनुदान घटेको, औधोगिक केन्द्रहरु धमाधम बन्दै हुदैगएको अनि खाडीमा रगत पसिना बगाउने युवा र आफैलाई समेत वेच्न बाध्य पारिएका युवतीहरुको रेमिटेन्सले चल्न बाध्य मुलुकमा टिपनटापन मन्त्रीहरु लिएर बनेको सरकारले आर्थिक फड्को मार्छु भन्नु चै भ्यागुताको धार्नी पुर्याउनु झैं भएन र ?

विशेष गुटका भाइसाथीहरु, जो ओली कमरेडलाई राजनेताको पगरी भिराइदिएर मनमोहनपछिको सवैभन्दा सफल प्रधानमन्त्री भन्दैछन् । तर यथार्थमा कमरेड ओलीलाई विशेन्द्र पासवान प्यारो भयो, विजय गच्छेदारहरु मित्र भए, कमल थापाहरुसंग गला जोडियो । तर पार्टीभित्रैका गुटका नेता कार्यकर्ताहरु दुश्मनका सिपाहीजस्ता भए, मधेसीहरु कसिंगर झै आँखामा बिझे, आफ्नै पार्टीका दलित–जनजातीहरु पनि गन्हाए । माओवादीका मन्त्रीले कम्तीमा ‘कमरेड’ भनेर सम्वोधन गर्थे, कालो भएपनि चिया खाऔं भन्थे । तर उनको विशेष समुह वाहिरका आफ्नै कार्यकर्ताहरुलाई भने सुद्धि न बुद्धि भएका मन्त्रीका भोकमरी पिएहरुले समेत हप्कीदप्की गरे ।

तिनीहरु मनमा इगो धरेर मुखमा बनावटी मुश्कानसहित मुश्किलले हात मिलाउथे । ती साथीहरुले सूचक भिडाएर जाँचुनू, ओली प्रधानमन्त्री हुँदा र हट्दाको दुरी : २५० प्रतिशतले मुल्यवृद्धि भएको छ । बेरोजगारी ७० प्रतिशतले बढेको छ, आज गरिव र धनीको दुरी ३२.८ बाट करिव ४२ गिनीकोफिसेन्टमा पुगेको छ भने नेपाल भ्रष्टचार हुने मुलुकमध्ये १२६ बाट ४ स्थान माथि गइ १३० औं स्थान पुगेको छ । प्रधानमन्त्रीले टेलिभिजनहरुमा सयौंपटक भूकम्पपीडितलाई तत्कालै राहत दिनेछौ भनेकै हो । तर केही अपवाद वाहेक भूकम्पपछिको १४ महिनासम्म पीडितले राहत पाएनन् । पीडितका लागि दिइएको अनुदानबाट प्राधिकरणका पदाधिकारीहरुले रोजीरोजी गाडी घोडा किने । कर्मचारीका लागि २ लाख ८० हजार रुपैयाका दरले १०० भन्दा बढी पल्सर मोटरसाईकल र १४ वटा भ्यान किनियो । तर कति पीडितलाई २।२ लाख दिइयो ? प्राधिकरणले ओली सरकारको अगष्ट ३, २०१६ सम्मको रिपोर्ट देओस् । यी सूचकांकलाई हेर्दा चित्र आफै बोल्छ, ओली सरकार सफल भयो या असफल ?

सरकार तथा कर्मचारी प्रशासन जसले जहाँ जेसुकै गरुन् त्यसको जिम्मेवारी सरकार प्रमुखले लिनुपर्छ । यस हिसावले म सरकार प्रमुखसंगै गुनासो गर्दछु । ओली सरकारले सर्लाही र कैलालीका सुकुम्वासी बस्ती हटायो, केहीलाई हटाउने समय दिएको छ । मनमोहन सरकारसंग तुलना गरिएको सरकारले पुनः आयोग गठन गरी सुकुम्वासी समस्या समाधान गर्ने अपेक्षा राखिरहेका जनतालाई अर्को ब्यवस्था नगरी डोजर लगाउँदा ओली सरकारलाई सुकुम्वासी या हुकुम्वासी पक्षधर भन्ने ??

भुक्ने कुकुरले टोक्दैन भन्ने नेपाली उखान केपी ओलीको शैलीमा सार्थक हुन्छ । कुराका कुराहरु मात्र गर्ने, उखान टुक्काले अरुलाई खुइल्याउने र तिनका भक्तजनहरुलाई आनन्दित तुल्याउने कलाले जोकरको काम त गर्ला तर जोकरले देशको लागि माखो मार्नसक्दैन । साच्चै भन्ने हो भने जोकर कलाकारितामा उच्चडिग्री हासिल गर्नुभएका ओली कामरेडले शक्तिसंचयका लागि नेता कार्यकर्ताहरुलाई हरियो घाँस देखाएर दाम्लो लगाउने र शक्ति प्राप्तीपछि तिनको घाँटी निमोठ्ने कौशल पनि उत्तिकै जान्नुभएको छ । यस्तो कला र अभ्यास उनको रगत समुहका सवै हनुमन्ते नेता कार्यकर्तामा स्पष्ट देखिन्छ । परिणामतः गएको ९।१० महिना वालुवाटारको महंगो खानपान र विलासिता, जोकिंग, सस्ता, सपना, महंगी, सास्ती तथा ब्यर्थ र अर्थहिनरुपमा बित्यो, जसको कारणले नेपाली जनताले थप भार बेहोरेका छन् । उनको नेतृत्वको सरकारले नाकावन्दी र महंगीमा धैर्यता नगुमाई सरकारको काँध थामेका जनतालाई समेत न्याय दिएन नै तर आफैलाई मृगौला दान गर्नेलाई समेत वालुवाटार छिर्न नदिइ बाहिरियो ।

किर्तीपुर–१०, काठमाडौं

The post केपी शर्मा ओली र राष्ट्रवाद ?   appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles