Quantcast
Channel: विचार – Sajha Post
Viewing all 942 articles
Browse latest View live

नयाँ दशकमा चीनको भविष्य

$
0
0

नयाँ बर्ष २०२० ले सबैको ढोकामा घण्टी बजाएको छ । यो बर्ष नयाँ बर्ष मात्र नभएर नयाँ दशकको शुरुवात पनि हो । नयाँ दशकबारे सबैको आआफ्ना अपेक्षाहरु होलान् । तर सन् २०१९ को उथलपुथलपूर्ण विश्व नियाल्दा आशावादी हुने ठाउँ कमै देखिन्छ । एकातिर अमेरिका र चीनबीचको व्यापार युद्धले सृजना गरेका अनिश्चितताहरु छन् । अर्कोतिर चिलीदेखि हङकङसम्म जताततै जनअसन्तुष्टि र विद्रोह चुलिदै गइरहेको छ ।

सन् २०२० को दशकमा चीनको भविष्यबारे अनुमान गर्नु मूर्खतापूर्ण प्रयासजस्तो लाग्दछ । यस विषयमा अनुमान गर्न सकिने कुरा कम र नसकिने कुरा धेरै छन् । यहाँ निश्चितताहरुको सीमा र अनिश्चितताहरुको गहिरो थुप्रो छ ।

उदाहरणका लागि विश्वको पहिलो ठूलो अर्थतन्त्र अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र चीनबीचको प्रतिद्वन्द्विता झनै जटिल र सघन बन्न सक्दछ ।

यो द्वन्द्वलाई सहिष्णुताको विन्दूमा कायम राख्न आउँदो जनवरीको मध्यतिर वासिङगटन र बेइजिङले एक सम्झौता गर्दैछन् । यी दुईबीचको बाँकी पक्ष आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसको परिणाममा पनि निर्भर गर्दछ । उपेक्षित हुँदै गएको हङकङलाई चीनले कसरी सान्त्वना दिन्छ, त्यो अझै स्पष्ट छैन ।

हङकङमा गत अप्रिल यता निरन्तर प्रदर्शन हुँदै आएका छन् । नयाँ वर्षको पहिलो दिन भएको प्रदर्शन उल्लेख्यरुपमा ठूलो थियो । यी प्रदर्शनहरु हङकङ प्रशासन विरोधी मात्र हैन, चीनकै कतिपय नीति विरुद्धमा छन् । यी प्रदर्शनको भविष्यबारे अनुमान गर्ने कुनै प्रष्ट आधार छैन । अर्कोतिर आउँदो हप्ता ताइवानमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा स्वतन्त्रता पक्षधर उम्मेद्वार ताई इङ इनको जित्ने सम्भावना निरन्तर बढ्दो छ । उनी विजयी भएमा चीनको लागि टाउको दुखाईको अर्को बिषय हुनेछ ।


चीन मूलभूमिमा भने यतिखेर आर्थिक मन्दी देखिन थालेको छ । सुस्त हुँदै गएको अर्थतन्त्रलाई गति दिनु बेइजिङ प्रशासनका लागि निक्कै भारी कुस्ती जित्नु सरह हुने देखिन्छ । जस्तो कि नयाँ वर्षको पहिलो दिन नै चिनियाँ केन्द्रीय बैंकले भनेको छ– सुस्त अर्थतन्त्रलाई गति दिन वाणिज्य बैंकहरुको जगेडा कोषको अनुपात ११५ विलियिन अमेरिकी डलर बराबरले कटौती गरिदैछ । आर्थिक सुस्तता चीनको मात्र हैन, विश्व बजारमै यस्ता अनिश्चितताहरु थुप्रिदै गएका छन् ।

यति हुँदाहुँदै पनि चीनमा केही निश्चितताहरु छन् । यसले बाँकी विश्वका लागि प्रष्ट सन्देश दिन र दीर्घकालीन प्रभाव पार्न सक्दछ । जस्तो कि– चीनको राजनीति यो दशक पनि स्थीर रहने छ । राष्ट्रपति सि जिङ पिङ जीवन पर्यान्त सत्तामा रहन सक्नेछन् । उनले चिनियाँ राजनीति र राज्यसत्तामा चुनौतिहीन प्राधिकार हासिल गरेका छन् ।

यसको संकेत विश्वले सन् २०१८ को मार्चमा नै पाइसकेको छ । त्यो बर्ष चीनको राष्ट्रिय कांग्रेसले राष्ट्रपतिको दुई कार्यकालको प्रावधान हटाएको थियो जुन सन् १९९० यता निर्वाध लागू हुँदै आएको थियो । सि जिङ पिङले ग्रहण गरेका बाँकी दुई पदहरु चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख र सैन्य आयोगको अध्यक्षमा कार्यकालको अवधिबारे कुनै प्रावधान छैन । यी घटनाले सिको मनसाय प्रष्ट पार्दिन्छन् ।

यदाकदा यस्तो अनुमान गरिन्छ कि राष्ट्रपति सीका लागि चिनियाँ कम्युनिष्ट पार्टीभित्रैबाट कुनै चुनौति सृजना हुन सक्दछन् । तर सन् २०१२ यताका घटनाक्रम हेर्दा यो कुरा पत्याउन सकिन्नँ । सन् १९४९ देखि सन् १९७६ सम्म चीनमा एकछत्त शासन गरेका माओत्से तुङले भन्दा बढी राजनीतिक शक्ति सिले आफूमा केन्द्रित गरेका छन् ।

वाङ सियाई बेई

कम्युनिष्ट पार्टीमा एउटा प्रचलन हुन्छ, आलोचना, आत्मआलोचना भन्ने । चिनियाँ कम्युनिष्ट पार्टीको २५ सदस्यीय उच्च कमिटीमा २४ जनाले यसक्रमा सि जिङ पिङको प्रसंशा गरेका थिए । कसैले कुनै आलोचना गर्ने साहस गरेन । यसले पार्टीको उपल्लो तहको उनीप्रति निष्ठा व्यक्त हुन्छ । लामो समय चलेको यो बैठकमा पार्टी नेताहरु प्रसंशा मात्र हैन, राष्ट्रपति सिको गुणगानमै उत्रिएका थिए । सिन्ह्वा समाचार समितिका अनुसार २४ जनाले नै ‘पार्टी र नेतृत्वप्रति आफूहरु बफादार रहेको’ बचनबद्धता गरेका थिए ।

जब विश्व समुदायले सिको सत्तामोहको आलोचना गरिरहेको हुन्छ, उनका समर्थक भने एक मुखले सिको प्रतिरक्षा गरिरहेका हुन्छन् । उनीहरुको विचारमा ‘समकालीन विश्व परिस्थितिमा चीनजस्तो राष्ट्रका लागि बलियो नेतृत्व र राजनीतिक स्थिरताको आवश्यता छ, त्यो आवश्यकतालाई सिले राम्ररी नै पुरा गरेका छन् ।’ यो राजनीतिक अनूकुलताले सिलाई भावी दुई दशकको योजना बनाउन प्रेरित गरेको छ । उनको योजना र रणनीति सन् २०३५ सम्मको छ । उनी आउँदा केही बर्षभित्र चिनलाई गरिबी मुक्त देश बनाएर विश्वलाई नयाँ प्रकारको समाजवादी राज्यको नमूना पेश गर्न चाहन्छन् ।

यस्तो स्थितिमा चीनको मुख्य चुनौति चाहिँ अर्थतन्त्रमा आएका मन्दी र अमेरिकासंगको व्यापार युद्ध नै हो । अमेरिका बाँकी विश्व विशेषतः युरोपसँग मिलेर चीनको उदयलाई रोक्न चाहन्छ । यसबारे चीनमा दुईवटा धारणा छन् । एकप्रकारका राष्ट्रवादीहरु अमेरिकासँग सिधा व्यापार भीडन्तमा जानुपर्ने धारणा राख्दछन् । तर, यस्तो धारणा राख्नेहरुको संख्या सानो छ । अधिकांश भने व्यापार र लगानीमा बिषयमा अमेरिकासँग कुनै न कुनै प्रकारको सम्झौता गर्नु नै उचित हुने धारणा राख्दछन् । यसो गर्नु अमेरिका वा पश्चिमाहरुसँग झुक्नु हैन, चीनको स्वार्थको रक्षा गर्नु हो भन्ने उनीहरुको बुझाई छ ।

यस सन्दर्भमा ताइवानको निर्वाचन र हङकङको प्रदर्शन चीनका लागि तगारो जस्तो बनेका छन् । अझ बढी राजनीतिक स्वतन्त्रता प्राप्त गर्ने हङकङको मागलाई चीनले स्वीकार गर्ने सम्भावना छैन भने हुन्छ । अर्कोतिर अमेरिकाले हङकङको प्रदर्शनप्रति सहानुभूति राखेको कुरा औपचारिकरुपमा नै प्रष्ट पारेको छ । यो घटनामा अमेरिकाको थप चाहना र चीनको नीतिबारे कुनै प्रष्टता छैन । ताइवानमा स्वतन्ता पक्षधरहरुले जितेमा त्यसले चीनका लागि चुनौति सृजना गर्ने छ तर यसबाट पार पाउने प्रष्ट उपाय पनि चीनसँग छैन ।

जनवरीको मध्यतिर हुने भनिएको वासिङ्टन बेइजिङ सम्झौतामा व्यापार र लगानीका शर्तबारे दुवैपक्षले लचतापूर्वक केही उपाय निकाल्लान् तर जटिल हुँदै गएको भूराजनीतिबारे सम्झौताका विन्दू फेला पार्न सजिलो छैन । त्यसो भए चीनका लागि एउटै बाटो बाँकी रहन्छ– लामो यात्राका लागि लामै रणनीति तय गर्नु । दीर्घकालीन राजनीतिक स्थिरताको खेलमा दीर्घकालीन चाल नै खेल्नु ।

(साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित बेईको विचारको साझापोस्टले गरेको भावानुवाद)

The post नयाँ दशकमा चीनको भविष्य appeared first on Sajha Post.


‘जिडिपी समृद्धिको पर्याप्त सूचक हैन’

$
0
0

सन् १६५२ र १६७४ बीच अंग्रेज र डचहरुले तीन पटक लडाइ गरे । त्यहाँका भूमीपतिहरुले आआफ्नो जिमिन्दारीको आयबाट युद्धकोषमा उच्च कर तिर्नु पर्‍यो । विलियम पेट्टीलाई यो बिल्कुलै अन्यायपूर्ण लाग्यो । उनले इङ्ग्ल्याण्ड र बेल्सका राष्ट्रिय खाताहरु समायोजित गर्ने निर्णय गरे । त्यसबाट उनले निकालेको निष्कर्ष थियो– राष्ट्रिय आम्दानीको सन्तुलन कुल खर्चको तुलनामा बढी हुनै पर्दछ ।

उनले राष्ट्रिय खर्चको मात्रात्मक मापन गरे । उनको हिसाबमा प्रतिदिन ४.५ पेन्स इङ्ग्ल्याण्ड र वेल्सका बासिन्दको खाना, आवास, लत्तापकडा र अन्य अत्यावश्यक खर्चका लागि पर्याप्त हुन्थ्यो । त्यतिखेरको जनसंख्याका लागि करिब ४० करोड स्टर्लिङ्ग पाउण्ड खर्च हुन्थ्यो । १५ करोड सम्पतिहरु जस्तै- घर, जग्गा, जानीजहाज, पशुधन आदिको मूल्य हुन्थ्यो । बाँकी २५ करोड ज्यालाका रुपमा मान्छेहरुको बाँडिन्थ्यो । पेट्टीले सोही बमोजिक करभार तय गर्न सरकारलाई सल्लाह दिएका थिए ।

यसरी कुल ग्राह्रस्थ उत्पादनको अवधारणा जन्म भयो । यसको आधुनिक सुत्र सन् १९३४ मा सिमोन कुज्नेतले तयार गरे, जुन अमेरिकी कांग्रेसको एक प्रतिावेदनका लागि बनाइएको थियो । यो सामाजिक प्रगति र कल्याण नाप्नका लागि उपयुक्त विधि थिएन तर आज पनि संसारका धेरै राष्ट्रहरुले यसैलाई पछ्याइरहेका छन् ।

यो कमजोरी शुरुवात देखि नै ज्ञात थियो । जिडिपी अवधारणाको आधुनिक शुत्रीकरणमा पनि बाह्य कारोबारहरु, गैरबजारीय लेनदेन, गैरमौद्रिक कारोबार, गुणस्तर सुधार वा सम्पतिको मूल्यमा आएको परिवर्तनको विवरण समावेश हुन सक्दैन । जिडिपीले लोककल्याणको बृद्धि वा गिरावटलाई भिन्नता नगरिकन आर्थिक वृद्धिको पाटोलाई देखाउँन सक्छ ।


सन् १९८४ मा भोपाल ग्याँस दुर्घटनापछि भएका पुनर्निर्माण कार्यहरुले जिडिपी बढाएको थियो । त्यसमा व्यक्तिको बीचमा आमदानीको न्यायपूर्ण वितरण र त्यसको सामाजिक प्रभावको मान्यता पनि संलग्न थियो । सन् १९८० को दशकदेखि नै वैकल्पिक दृष्टिकोण र उपक्रमहरु देखा परेका थिए । त्यस्तो विकल्पको पहिलो दृष्टिकोण मान्छेको उपभोग क्षमता केन्द्रित थियो भने दोस्रो स्वतन्त्रता अभिवृद्धि र त्यसको लागि संस्थाहरुको क्षमतासंग जोडिएको थियो । सन् १९८९ मा जोन बि कोब र हर्मन ड्यालेले दीगो आर्थिक समृद्धिको सूचक अगाडि सारे । यसको एउटा सूचक गैरनवीकरणीय स्रोतहरुको खपतलाई समेत गणना गरियो ।

सन् २००५ मा मेड जोडले कुल राष्ट्रिय खुशीयाली (जिएनएच) को अवधारणा र त्यसको रुपरेखा तयार गरे । विश्व बैंकले एक बृहत्त सम्पतिको धारणा अगाडि सार्‍यो जसअन्तर्गत आर्थिक प्रगतिको मार्ग, स्थिरता, आर्थिक उन्नतिको अन्तर्दृष्टि, गहिरो संस्थागत तादाम्यता र सम्भाव्य समृद्धिको कुल योग समावेश भयो । यसैबीच क्यानडाले जिडिपीसँगै केही शीर्ष तत्वहरु समावेश गर्न थालेको छ, त्यसमा प्रकृति, सामाजिक र मानवीय पुँजी छन् । सन् २००६ मा चीनले वातावरणीय गणनालाई उच्च महत्व दिँदै ‘हरित जिडिपी’ को धारणा अगाडि सार्‍यो । सन् २०१० मा बेलायतले जिडिपीको अतिरिक्त खुशीयाली सर्वेक्षण गर्‍यो भने सन् २०१९मा न्युजील्याण्डले कल्याणकारी बजेटको अवधारणा अपनायो ।

भारतका लागि हामीले खोजी गर्नुपर्ने मुख्य ३ वटा तत्व छन् । पहिलो– प्राकृतिक तथा सामाजिक पुँजीमाथि हुने व्यावधानहरुको गणना । दोस्रो– जिडिपी अवधारणमा गुणात्मक तत्वहरुको समायोजन र तेस्रो–आर्थिक क्रियाकलापहरुसंग प्राकृतिक तथा सामाजिक पुँजीको सम्बन्ध अर्थात् आर्थिक वृद्धिसँगै प्राकृतिक तथा मानवीय पुँजी बढेको वा घटेको गणना । हामीले वास्तविक प्रगति सूचकको मेट्रिक्स बनाउन जरुरी छ जसले असमानता, प्रदुषण र बेरोजगारीजस्ता सामाजिक तथा प्राकृतिक सुधारका विषयको लागत निर्धारण गर्न सक्दछ ।

यस्ता प्रयासले कम्तिमा हामीलाई जिडिपी अवधारणाका कमजोरीहरु सच्याउन मद्दत गर्नेछ । जिडिपीको आवरणभित्र लुकेका बजारका कमजोरीहरु अनावृत गर्नेछ । अति धेरै प्रदूषण उत्पन्न गर्ने प्रविधि र उद्योगहरुमा प्रतिबन्ध लगाउन सरकारलाई सजिलो हुनेछ । यस्ता प्रयासबाट कमजोरीहरु सुधार हुने र नयाँ परिणामहरु प्रकट हुनेछन् ।

वरुण गान्धी

सन् १९५० यता विश्वको जिडिपी तीन गुणाले बढेको छ । तर कुल राष्ट्रिय खुशीको मानकलाई प्रयोग गर्दा खुद प्रगति घटेको छ । यसलाई जनसंख्या अनुपातका आधारमा विभाजन गर्दा अझ प्रष्ट चित्र आउन सक्दछ । सन् १९७८ मा विश्वको जिपिआई उच्च थियो तर मानिसको जीवन धान्ने जैविक क्षमता भने घटेको थियो ।

हामीले अर्थतन्त्रमा कारोबारहरुको प्रकृतिलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । प्रत्येक मौद्रिक कारोबारलाई बराबर रुपैयाँको मूल्यका रुपमा बुझ्न जरुरी छैन । सामाजिक तथा प्राकृतिक पुँजीलाई सुधार गर्ने खालका आर्थिक क्रियाकलपालाई प्रोत्साहन गर्न अर्थतन्त्रको अनौपचारिक मूल्य समेत गणना हुनुपर्दछ । जस्तो कि– खादीको उत्पादन र खरिद बिक्रीले हाम्रो हस्तकलाको संस्कृतिलाई कायम राख्न मद्दत पुर्‍याउँछ । यसको मौद्रक मूल्य भन्दा सांस्कृतिक सामाजिक मूल्य बढी हुन्छ । आर्थिक गतिविधीहरुको वास्तविक तस्बिरले साना लगानीकर्ताहरुलाई सही निर्णय लिन सहयोग गर्दछ ।

विकास गतिविधिलाई बढी प्राथमिकता दिन नयाँ प्रकारका सूचकहरु खोजी गर्न सकिन्छ । सन् १९९० मा महबुब उल हकद्वारा विकसित मानवीय विकास सुचकांक (एचडिआई) जन्म, वयस्क साक्षरता दर, जीवन स्तर र जीवन प्रत्यासाको एकीकृत सूचकका रुपमा देखा पर्‍यो । आज यस्ता असंख्य सूचकहरुको संयुक्त एकाइ तयार गर्नुपर्ने हुन्छ जसभित्र असमानता, लैङ्गिक असमानता, लैङ्गिक असमानतामा भएको प्रगति सूचक आदिलाई समावेश गर्नुपर्ने हुन्छ । जिडिपी पुस्तामा आधारित आर्थिक नीतिहरुको साटो समग्र मानवीय विकासमा आधारित सुचकहरुको प्रयोग गर्न थालेको लामै समय बितेको छ ।

समग्रमा हामीले जिडिपी गणना गरिनै रहनु पर्दछ । यो आर्थिक वृद्धि गणना गर्ने एक महत्वपूर्ण औजारका रुपमा रहनेछ । तर दृष्टिकोणमा परिवर्तन अत्यावश्यक छ । जिडिपीसंगै बहुआयामिक सुचकहरु ध्यानमा दिनुपर्दछ । अर्थशास्त्री सिमोन कुट्नेजकै शब्दमा भन्दा ‘मात्रात्मक र गुणात्मक विकास, लागत र प्रतिफल, अल्पकालीन र दीघकालीन महत्व’ को भिन्नता गर्न जान्नु पर्दछ ।

यसो गर्न सकिएमा अधिक आर्थिक विकासका लक्ष्यहरु उत्तिकै प्रष्ट हुनेछन् । आदम स्मिथको अदृष्य हात झनै देखिने हुनेछ । हाम्रा यावत आर्थिक प्रयासहरु सर्वोत्तम मानवीय कल्याणको दिशातिर उन्मुख हुनेछन् ।

(लेखक भारतको गान्धी–नेहरु परिवारका सदस्य तथा भापजाबाट लोकसभा सदस्य हुन् । उनको यो आलेखलाई साझापोस्टले द इकोनोमिक टाइम्सबाट अनुवाद गरिएको हो ।)

The post ‘जिडिपी समृद्धिको पर्याप्त सूचक हैन’ appeared first on Sajha Post.

राजनीतिमा युवा हस्तक्षेपको प्रश्न

$
0
0

राजनीतिमा युवा शहभागिता र नेतृत्वदायि भुमिकाको प्रश्नमा अहिले विश्वभरीनै राजनीति प्रति एक खालको वितृष्णा रहेको पाउँछु । विशेषगरि एक किसिमले पुरा विश्वनै दक्षिपन्थतर्फ ढल्कदैं गएको छ । राष्ट्रवाद बलियो रुपमा अघि आएको छ । लोकतन्त्रमा कमजोरहरुको भुमिका, उनिहरुको सहभागिताका विषयहरु गौण हुँदै गएका छन् । यद्यपि, वितृष्णा र असन्तुष्टिहरु बढ्दै जाँदा त्यसले सृजना गर्ने सामाजिक, राजनीतिक आन्दोलनको पहलकदमी युवाहरुले नै लिने गरेका छन् । युवाहरुको सामुहिक हस्तक्षेपहरु नेपालमा पनि खास-खास अवस्थामा देखिएको हो । हालका दिनमा भने युवा भूमिका, नेतृत्व र सामूहिक हस्तक्षेप वृहत राजनीतिक कसीमा सुस्त देखिएको छ ।

राजनीतिमा सहभागिता भन्नेबित्तिकै कुनै राजनीतिक पार्टीको सदस्यता लिएर मात्रै, कुनै पार्टीको संगठनभित्रको प्रतिबद्ध सदस्य भएरै जानुपर्छ भन्ने होइन । सहभागिता सामाजिकरुपमा, विभिन्न मुद्दाहरुमा उनीहरुले कत्तिको बोल्न सक्ने अवस्था छ ? उनीहरु कत्तिको सुनिन्छन् ? उनीहरुले भनेको कुरा कत्तिको मानिन्छन् ? अथवा कार्यान्वयनको तहमा उनीहरुको नेतृत्व र सहभागिता कति छ ? यी कोणहरुबाट हेर्दा फरक-फरक देशमा फरक-फरक अवस्था र भूमिकाहरु छन् ।

विश्वले युवाहरुलाई पनि प्राथमिकता दिनु पर्‍यो है भन्ने दृष्टिबाट अलि गम्भीररुपमा सन् २०११ पछि जब अरब आन्दोलन सुरु भयो, त्यसपछि संयुक्त राष्ट्र संघ लगायत संस्थाहरुले युवाहरु विद्रोहमा किन सहभागी भइरहेका छन् भनेर अध्ययन गर्न थाल्यो । त्यसरी कारणहरु खोज्दै जाँदा दुईवटा विषय भेटिए । युवाहरु बेरोजगार भए र उनीहरुको ऊर्जाको सदुपयोग हुन सकेन । बेरोजगार र असंलग्न युवाहरुको संख्या धेरै भए भने राजनीतिमा सहभागी भएका युवाहरुमा पनि सत्ता र राजनीतिप्रति विकर्षण र वितृष्णा बढ्दै गयो । राजनीतिक दलको सदस्य नभएरै पनि सत्ताको चरित्र र शैलीसँग वितृष्णा भएपछि युवाहरु विद्रोहमा सहभागी भएको भेटियो ।

यसरी नीति निर्माणकै तहदेखि नै युवाहरुलाई लक्षित गरेर काम गर्नुपर्छ भनेर संयुक्त राष्ट्र संघ लगायतका संस्थाहरुले काम सुरु गरेको पाइन्छ । सहश्राब्दी विकास लक्ष्य लगायतका कार्यक्रमहरु तय गर्दा पनि युवालाई प्राथमिकता दिन थालियो ।

को हुन् युवा ?

मलाई युवा र राष्ट्रवादको अवधारणा उस्तै उस्तै लाग्छ । बाहिर चर्चा धेरै हुने तर त्यसको गुदी खासै नहुने । संसारमा युवा भनेका को हुन् भन्ने विषयमा नै मतैक्यता छैन । शहरका युवाका आफ्ना सवालहरु छन् भने गाउँका युवाहरुको फरक सवालहरु छन् । वैदेशिक रोजगारमा गएका युवाहरुको अन्य समस्या हुन सक्छन् । लैंगिक हिसाबले, जातीय हिसाबले, क्षेत्रीय हिसाबले फरकफरक सवालहरु हुन सक्छन् । यी सबैलाई एउटै डालोमा हालेर हेर्दा न्याय हुन्छ जस्तो लाग्दैन ।

ब्रबिम कुमार

उमेरको दृष्टिले पनि युवालाई फरक फरक उमेरसमूहमा राखेर परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई । नेपालको पनि आफ्नै परिभाषा छ । नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । यो परिभाषाअन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटि युवामा पर्न सक्छन् । भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर । यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन । खास खास उमेर समुहका किशोर किशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हुदैं आएका छौं ।

पार्टीअनुरुप भएपछि मात्र नेतृत्व

नेपालका राजनीतिक पार्टी्भित्रको संरचना र संस्कार पनि त्यस्तै छ । एकजना युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठुला भनिने पार्टीहरु जस्तो कि नेपाली कांग्रेस र नेकपामा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ । यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ । पार्टी भित्रका यि संरचनाहरु युवा मैत्री पटक्कै होइनन् ।

हाम्रो युवा नेताहरु भनेर छवि बनाएका गगन थापा, योगेश भट्टराईहरु युवा होइनन् । झण्डै ५० हाराहारी वा मध्य चालिकस कटिसकेकालाई वैज्ञानिकरुपमा पनि युवा भन्न मिल्दैन । दुई चार वर्षअघिसम्म शेरबहादुर देउवालाई युवा नेता भनिन्थ्यो । अब यसरी बुढा नेताहरुलाई युवा भनेर ट्याग लगारहँदा नयाँ आउने मानिसहरुले स्पेश पाउँदैनन् । पुरानाहरुले सकिनसकी ठाउँ ओगटिरहँदा नयाँ पुस्ताले चुनौतीको सामना गरेर अगाडि बढ्न पाइरहेका हुँदैनन् ।

युवालाई चिनाउने परिभाषामध्ये प्राध्यापक मार्क हेमल्टनको परिभाषा मलाई मनपर्छ । उहाँले युवा भनेको संक्रमणको उमेर हो भन्नुहुन्छ । बच्चापन पार गरिसकेको तर बयस्क भइसकेको छैन । यो संक्रमणको समय हो । शारिरिक, मनोसामाजिक, आर्थिक, शैक्षिक संकम्रणहरुले घेरिएको नेपाली नेपाली युवाहरु दोहोरो संक्रमणमा छन् । एउटा संक्रमण आफ्नै जीवनको भयो । के पढ्ने, को सँग विहे गर्ने, करिअर के बनाउने आदि प्रश्नहरुले घेरिएको हुन्छ । दोस्रो, हाम्रो देश संक्रमणमै छ । यो दोहोरो संक्रमणको चापमा नेपाली युवा छन् ।

सँगसँगै देशभित्र युवाको लागि उचित वातावरण छैन । पार्टीका कुरा गरिहाल्यौं । राज्यका संरचनाहरु पनि युवामैत्री छैनन् । उसको लागि अन्तिम र पहिलो विकल्प भनेकै वैदेशिक रोजगारीमा जानु हो । यी प्रमुख सवालहरुलाई हटाएर उसले देशको बारेमा, राजनीतिको बारेमा चिन्ता गर्ने भन्ने प्राथमिकता कम हुन्छ । युवा आफ्नै कुरा गर्दा ऊ यतिधेरै प्रश्नहरुले जेलिइरहेको छ कि उसलाई बृहद् राजनीतिक प्रश्नमा सोच्ने रुचि र फुर्सद नै छैन । गुनासोमा अल्झिने र भाग्यवादी प्रवृत्ति युवाहरुमा देखिनु दुःखद पक्ष हो ।

भोट हाल्ने उमेरको कुरा गर्दा प्रत्येक वर्ष नेपालमा झण्डै पाँच लाख युवाहरुको प्रवेश हुन्छ । पाँच वर्षमा चुनाव हुँदा २५ लाख नयाँ मतदाताको रुपमा युवाहरु आउँछन् । यसरी एउटा चुनावदेखि अर्को चुनावको बीचमा २५ लाख नयाँ मतदाता आउँछन् । राजनीति पार्टीहरुका लागि एउटा ठूलो अवसर र चुनौती दुवै हो यो ।

दलीयकरणको दलदलमा युवा
राजनीतिकरण हुनु राम्रो कुरा हो । गाउँ देखी जिल्ला, प्रदेश र देशका विकासका विविध मुद्दाहरुमा छलफल हुन्थ्यो भने । मतदानमा सहभागी हुने, विकास निर्माणको काममा सहभागी हुने, स्थानीय निकाय र संघसंस्थाहरुको कार्यक्रमहरूमा सहभागी भएर मत राख्ने, स्थानीय एजेन्डाबारे छलफल गर्ने, राष्ट्रिय राजनीतिका सवालहरुमा बहसमा सहभागी हुने कुरा राजनीतिकरणको कुरा हो । यो सकारात्मक पक्ष हो । तर, दलीयकरण हुनुभनेको लोकतन्त्रको लागि डरलाग्दो कुरा हो । प्राथमिक स्कूलदेखि नै कुनै पार्टीको सदस्य बनिहाल्ने, दलको टोपी र टिका लगाइहाल्ने अभ्यासमार्फत् आदेशपालक मानिसहरुको भिड बनाउने अभ्यास डरलाग्दो पक्ष हो । गाउँस्तरदेखि कुनै पनि पार्टीको सदस्यता भएन वा पार्टीसँग कुनै पनि हिसाबले जोडिएन भने वा अंकल, काका, मामा, भिजानु आदि लागेको पार्टीमा जोडिएन भने उसको जीविकोपार्जनलाई पनि समस्या हुन्छ । एकप्रकारको सिन्डिकेट नै हो यो । सामान्य कामदेखि विकास निर्माणको काम गर्न पनि दलसँग जोडिनुपर्ने अवस्था छ । एउटा सामान्य क्लब खोलेर आर्थिक जोहोको काम गर्न पनि दलसँग नजोडिकन सम्भव हुँदैन । एउटा युवा स्वतन्त्र र निर्भिक भएर बाँच्न सक्ने अवस्था कमजोर बन्दै गइरहेको छ । दलीयकरणको चंगुलमा ऊ जानीनजानी फस्दै पर्ने अवस्था सिर्जना गरिएको छ ।

अति दलीयकरणले सामान्य विकास निर्माणको कामहरुमा पनि असर पारिरहेको हुन्छ । हाम्रोमा दलहरुको निर्माण र सञ्चालन प्रक्रिया जस्तो छ त्यसकै स्थानीय स्तरसम्म विस्तारीकरण भइरहेको छ । जसले पैसा ल्याउन सक्छ उही शक्तिशाली हुने, नेताका नजिक हुनेले अवसर पाउने, आसेपासेहरुले सुविधा पाउने र आलोचकहरु दबाउने, अपारदर्शिता लगायतका केन्द्रीय प्रवृत्ति, संरचना र संस्कार दलीयकरणले स्थानीय स्तरसम्म विस्तार भइरहेको हुन्छ ।

हाम्रोमा अभ्यासको रहेको निर्वाचन प्रणाली जसबाट चुनिएर सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति चुनिन्नछन्, यो नै त्रुटिपूर्ण छ । पहिलो हुने सर्वस्व र दोस्रो हुने केही पनि होइन भनेजस्तो छ । यसले मानिसलाई पहिलो हुनका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छ । दलीयकरणले गाउँमा स्वतन्त्र मानिस बस्नै दिँदैन । शिक्षक, किसान, उद्योगी, पत्रकार र पेशाकर्मीहरु सबैलाई दलको छाताभित्र राख्नुपर्छ । किनकी चुनाव जित्नुछ । चुनाव किन जित्नु छ भने दोस्रो हुनेको त अस्तित्व नै छैन । दलीयकरणमा मानिसहरुबीच स्वार्थको सम्बन्ध हुन्छ । स्वार्थको सम्बन्धमा विवेकको प्रयोग हुँदैन । आर्थिक लाभ र अन्य लाभहरुलाई सुरक्षित गर्नेगरी मानिसलाई सोच्न बाध्य पारिन्छ । यसरी, दलीयकरणले लोकतन्त्रलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छ ।

दक्ष, व्यवसायिक र स्वाभिमानी युवाको खोजी

म क्याम्पस पढ्दा स्ववियूका दाईदिदीहरु पैसाको मुठो बोकेर हिंड्नुहुन्थ्यो । एउटा सामान्य विद्यार्थीसँग त्यत्रो पैसा कहाँबाट आउँछ ? हाम्रो राजनीतिमा वैचारिक स्खलनको दर तीव्र छ । युवा भनेको त विचार राजनीतिमा निरन्तर रचनात्मक छलफल बहस गर्ने नयाँ र उन्नत तरिकाहरुको खोजी गर्नुपर्ने पुस्ता हो, प्रश्न गर्ने पुस्ता हो र आफ्नो क्षमता र दक्षताका आधारमा विकल्प प्रस्तुत गर्नुपर्ने पुस्ता हो । गुण र दोषका आधारमा ठूला नेताले भनेका विषयहरुमा समर्थन वा विरोध गर्ने र रुपान्तरणको लागि निरन्तर संघर्ष गर्ने पुस्ता हो । तर हाम्रोमा त ठूला नेताहरुलाई कसरी खुसी बनाउन सक्छु, उनीहरुको सामिप्यमा कसरी रहन सक्छु र आफ्नो स्वार्थ पूरा गर्न सक्छु भन्ने कुरामा मात्रै अल्मलिएको पाइन्छ । यो दृश्य हेर्दा त अहिलेको नेताभन्दा बिग्रने अवस्था छ र भविष्य झन् डरलाग्दो छ ।

यसरी चरम दलीयकरण भएको देशको अवस्था अभ्यासमा रहेको व्यवस्था र राजनीतिक अभ्यासभित्रैबाट सुध्रन पहिला दलहरु लोकतान्त्रिक हुनुपर्दछ । दल लोकतान्त्रिक हुने र सुध्रने भनेको ऊ कति वैचारिक स्पष्टताका साथ अगाडि जान सक्छ, एजेण्डामा स्पष्ट छ भन्ने कुरामा भर पर्छ । पार्टी कति अनुशासित छ, कति पारदर्शी छ, कति लोकतान्त्रिक ढंगले चल्न सक्ने भन्ने कुरामा पनि भर पर्छ । वैचारिक स्पष्टता, नयाँ विचार, नयाँ कार्य्दिशा, नयाँ कार्यशैली, स्वस्थ बहस, स्वस्थ आलोचना, स्वस्थ प्रतिष्पर्धाका लागि युवाहरुले नयाँ तरिका ल्याउन सकेनन् भने सबै नामका पार्टीहरुको काम उस्तै हुन्छ । पार्टीको नाम र नेताहरु फरक हुनसक्छन् तर पार्टीको शैली, पार्टीको विचार, पार्टीको आन्तरिक लोकतन्त्र उस्तै भयो भने आगामी दिन झन् दुःखद, डरलाग्दो र भयानक बन्दै जानेछन् ।

युवाहरुले तत्कालको नाफाघाटा, तत्कालको स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नुपर्‍यो । युवामा कुनै पनि नेताको फेर नसमातिकन म आफ्नो तरिकाले मेरो निजी जिन्दगी बाँच्न सक्छु भन्ने क्षमता र आत्मविश्वासको विकास गर्नुपर्‍यो । त्यसरी बाँच्न सक्ने क्षमता र आत्मविश्वास हासिल गरिसकेपछि नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ । वैचारिकरुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ । यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउनसक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ । यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्टता, वैचारिक प्रष्टता हासिल गर्न सक्यौं भने बल्ल पार्टी्भित्र नयाँ संगठन र अभियान संगठित गर्न सकिन्छ । यसरी, दलको रुपान्तरण सम्भव हुन्छ र दल फेरिए देश फेरिन सक्छ ।

दलहरुको रुपान्तरणको लागि युवाहरुको अन्तरदलीय गठबन्धन वा साझा पहलकदमी असम्भव कुरा होइन । यसको लागि युवाहरुमा उन्नत राजनीतिक संस्कार आवश्यक पर्दछ । २०६२/६३ को आन्दोलनताका ठूला दलहरुका बीच वैचारिक दूरी हुँदा पनि युवा र विद्यार्थीहरु मिलेर काम गरेका थिए । उनीहरुले दलहरुलाई नजिक ल्याउन भूमिका खेले र राजतन्त्रसँग सम्झौता नगर्ने नेताहरुलाई निरन्तर खबरदारीको भूमिका खेलेका थिए । ती दृश्यहरु सम्झँदा आशा लाग्छ तर बर्तमान अवस्था भने बैराग लाग्दो नै छ । ठूला दलका युवा र विद्यार्थी संगठनका नेताहरु दलका नेताहरूसँग सामिप्यमा रहेर सत्तामा रहने, क्षणिक लाभ र आशिर्वाद पाउने भन्ने लिगलिगे दौडमा छन् ।

केही घटनाहरु स्मरण गरौं । पहिले पेट्रोल प्रतिलिटर एकरुपैयाँ भाउ बढ्दा विद्यार्थीहरु सडकमा आउँथे । अहिले प्रत्येक वर्ष हजारौं मानिसहरु सडक दुर्घटनामा परेर मर्छन् । घाइतेहरु समयमै उपचार नपाएर मर्छन् । बजार मूल्य तरकार-फलफूलदेखि हरेक कुराको आकाशिएको छ तर किसानहरुको अवस्था दर्दनाक छ । देशभित्र विकास निर्माणको कामको अवस्था यस्तो छ । भ्रष्टचार मौलाइरहेको छ । ठूला ठूला काण्डहरु घटिरहेका छन् । मेडिकल स्कूलले मनोमानी पैसा उठाईरहेका छन् । शिक्षा, स्वास्थय लगाएत आधारभुत विषयहरु नाफाखोरहरुको नियन्त्रणमा छ । तर, युवा र विद्यार्थीहरुले प्रश्न गरिरहेको देखिँदैन । ठूला नेतासँग युवा नेताहरुको निहित स्वार्थको सम्बन्ध नै दलहरुको रुपान्तरणको लागि बाधक देखिएको छ । नैतिकरुपमा प्रश्न गर्न नसक्ने पात्रहरु नै नेतृत्वमा पुगिरहेका छन् । उनीहरुले ठूला नेताहरुले गरेका निर्णयहरुप्रति प्रश्न उठाउनै सक्दैनन् । देशको स्वार्थलाई जोडेर बोल्न सक्ने अवस्थामा उनीहरु किन छैनन् । उनीहरु राजनीतिकरुपले जिउँदै छन् कि छैनन् भन्ने यस्तो अवस्थामा युवाहरुको नेतृत्वमा दलको रुपान्तरण हुन्छ भन्ने विषयमा सकरात्मक हुन सकिन्छ तर भर गर्ने गर्ने अवस्था छैन ।

कालो बादलभित्र चाँदीको घेरा …

हुनत संकटले नै नयाँ बाटोको खोजी गर्छ भनिन्छ । अवस्था नाजूक भएपनि म सकरात्मक हुने प्रयत्न गर्दै छु । हरेक पाँच वर्षमा नयाँ मतदाताको रुपमा प्रवेश गर्ने २५ लाख जनसंख्या छ । त्यसमा पनि २० लाख वैदेशिक रोजगारीमा होलान् । १० वर्षमा यो जनसंख्या ५० लाख हुन्छ । यो जनसंख्या राज्यसँग भर नपरिकन आफ्नोलागि आफैं दुःख गरेर बाँचिरहेका छन् । उनीहरुलाई राज्यले केही दिएको छैन । राज्यलाई शुल्क बुझाएर विदेश गएका छन् र परिवारबाट विछोडिएका छन् र रेमिटेन्स पठाईरहेका छन् । त्यो ठूलो संख्या कुनै न कुनै दिन ठूलो आवाजमा बोल्छ कि ? उनीहरु सबै पार्टीहरुसँग आवद्ध नहुन पनि सक्छन् । ०४८ सालदेखिको यो संख्या ठूलो छ । सबै दलीयकरणको जालोमा बेरिएका छैनन् । बेरिएकाहरु पनि सचेत हुँदैजालान् । ७० प्रतिशत घरबाट एकजना बाहिर छन् । त्यो जनसंख्याले जब कुनै दिन प्रश्न गर्छ त्यो निकै ठूलो आवाज हुनेछ । त्यतिबेला केही हुनेछ । म यही झिनो आशाप्रति सकरात्मक छु ।

त्यतिबेला नेतृत्व लिनको लागि कोही न कोही जन्मिएला । नेतृत्व कि संकटबाट आउँछ कि आन्दोलनबाट । अर्को निरन्तरको काम, मेहनत र लगावबाट पनि नेतृत्व जन्मन्छ । नेपालमा सामाजिक, आर्थिक संकट निम्तने र त्यसले नेतृत्व जन्माउने एउटा विकल्प हुनसक्छ । यी पार्टी्भित्रैबाट पनि नयाँ नेतृत्व जन्मन सक्ला । भनिन्छ धेरै टाढासम्म बगेपछि खोला पनि संग्लिन्छ । केही समय लिएपछि पार्टी्भित्र युवाहरुको कामले पार्टीहरु संग्लिन पनि सक्ला यदि त्यो पहलकदमी लिने मानिस रहेछन् भने । त्यस्तै, नयाँ सामाजिक संकटले निम्त्याउने सामाजिक आन्दोलनबाट पनि नेतृत्व जन्मिसक्छ ।

(प्रस्तुत विचार लेखकका निजी विचार हुन्, उनी कार्यरत संस्थासँग यसको कुनै सम्बन्ध छैन)

The post राजनीतिमा युवा हस्तक्षेपको प्रश्न appeared first on Sajha Post.

यसकारण परिमार्जन हुनैपर्छ सूचना प्रविधिसम्बन्धि विधेयक

$
0
0

प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना प्रविधि विधेयक सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताहरुलाई नियमन गर्न बनाइएको भन्ने सरकार पक्षको दावी भएपनि यसले सामाजिक सञ्जाल र यसको प्रयोगकर्ता तथा वाक स्वतन्त्रताको विरुद्धमा भएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । मानव अधिकार आयोग ऐन संशोधन विधेयकबाट राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्षेत्रलाई संकुचित गर्न खोजिएको, मिडिया विधेयकबाट मिडियामाथि अनावश्यक नियन्त्रण गर्न खोजिएको लगायत एकमाथि अर्को गर्दै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्दै लगिरहेको नेपाल सरकारको वर्तमान रणनीति अन्तर्गत यो ऐनलाई समेत वाक तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने कानुनको रुपमा विश्लेषण हुन थालेको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस विधेयकलाई परिमार्जन नगरी जारी गर्न नहुने सुझाव दिइसकेको छ ।

विद्युतीय कारोबार ऐनलाई प्रतिस्थापन गर्नेगरी बनेको यो सूचना तथा प्रविधि विधेयकमा भएका वृहत तथा अस्पष्ट परिभाषा तथा यसमा प्रयुक्त द्विअर्थि भाषाले नेपालका सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्नमा नियन्त्रण गर्न अत्यधिक अधिकार दिनेछ । यसले नेपालमा दर्ता नभएका कम्पनीका सामाजिक सञ्जाललाई बन्द गर्ने, सामाजिक सञ्जाललाई निगरानी गर्ने तथा व्यक्तिगत सूचनाहरुसमेत निगरानीमा राख्ने अधिकार दिन्छ ।

नेपालको संविधान तथा अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धि दस्तावेजहरु जसको नेपाल पक्ष राष्ट्र रहिआएको छ, त्यसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूति गरेको छ । यस विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई संकूचित गर्ने वा नियन्त्रण गर्ने अभिप्राय बोकेको देखिएकोले यसलाई परिमार्जन गरिएन भने यसले दुरगामी रुपमा सरकार, राजनीतिक दल वा कर्मचारीतन्त्रले गरेको गैरजवाफदेही कार्यलाई समेत निगरानी गर्न साथै आलोचना गर्न रोक लगाउनेछ र यस हिसाबले लोकतान्त्रिक अभ्यासलाई नियन्त्रित गर्नेछ ।

उदाहरणको लागी सामाजिक सञ्जालको परिभाषा यस विधेयकले यसरी गरेको छ-
‘सामाजिक सञ्जाल’ भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्नसक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयबस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित प्रणालीलाई सम्झनुपर्छ ।

यस्तो वृहत परिभाषाअन्तर्गत् सबै खालका सूचना तथा सञ्चारमा आधारित प्रणालीहरु जसबाट व्यक्ति वा संस्थाले एकअर्कासँग अन्तरक्रिया गर्छन् । यसमा फेसबुक, इन्स्टाग्राम, ट्विटर वा भाइबर सबै समाविष्ट हुन्छन् । यस विधेयकले अलि बढी सुरक्षित भनिएको व्हाटसप तथा वायर जस्ता प्रणालीलाई पनि आफ्नो नियमन क्षेत्रभित्र राख्दछ ।

यसैगरी यस विधेयकले अपराध भनी परिभाषित गरेका कार्यहरु पनि वहुअर्थि र अधिकारीहरुको तजविजमा निर्धारण हुने खालका देखिन्छन् । जसका लागि अति नै बढी सजायको समेत व्यवस्था गरिएको छ । जस्तो कि दफा ८८(१) मा भएको यो व्यवस्था “कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधिनता वा स्वाभिमान, वा संघीय इकाईबीचको सुसम्बन्ध खलल पर्नसक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारवाही गर्ने वा विभिन्न जात जाति बीचको सम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन ।”

यसमा प्रयुक्त भाषाहरु अन्तर्गत सामाजिक सञ्जालमा सम्प्रेषण हुने धेरै अभिव्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सक्ने देखिन्छ । विगतमा भएका अभ्यासहरुलाई हेर्दा सरकार वा सरकारी अधिकारीहरुको आलोचनामा लेखिएको जुनसुकै कुरालाई यस अन्तर्गत कारबाही चलाएको देखिन्छ ।

त्यस्तै दफा ९४ को (ग) मा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, हतोत्साहि गर्ने, हप्काउने घृणा तथा द्वेष उत्पन्न गराउने, प्रापकलाई भ्रमित पार्ने आशयले सूचना सम्प्रेषण गर्नेलाई दफा ९६ को २९ बमोजिम १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । यस्तै प्रकृतिको अपराधमा मुलुकी अपराधसंहिताले गरेको सजायँको व्यवस्था भन्दा यो अति नै बढी देखिन्छ । तसर्थ यसको उद्देश्य सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण गर्नु र यसबाट अभिव्यक्ति स्वतन्त्रतालाई संकूचित गर्नु रहेको छ ।

सरकारले यौनिकरुपमा हतोत्साहि तुल्याउने, वुलिंग गर्ने वा अरुलाई बदनाम गर्ने वा गर्ने सामग्री प्रसारण गर्ने कार्य गर्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद गर्नसक्ने व्यवस्था गरेको छ ।

यसबाहेक यो विधेयकले सूचना प्रविधि सम्बन्धि उद्योग दर्ता गर्न (दफा ६३) तथा ईजाजत नलिई तथ्यांक केन्द्र वा क्लाउड सेवा संचालन गर्न नहुने (दफा ७३) व्यवस्था गरी इन्टरनेट प्रदायक ठूलठूला कम्पनीहरुलाई हतोत्साहि गर्ने रणनीति लिएको देखिन्छ ।

नेपाल सरकारले फेसबुक, गुगल जस्ता इन्टरनेट प्रदायक कम्पनीहरुलाई नेपालमा दर्ता गर्न अनिवार्य गरेको छ । नेपाली प्रयोगकर्ताहरुबाट कमाउने रकममा कर लगाउन तथा ति कम्पनीहरुलाई जवाफदेहि बनाउन एउटा अफिस खडा गर्ने छ । तर ती ठूला अनलाईन कम्पनीहरुमाथि कसरी कर लगाउने भन्ने कुरा प्रष्ट नभई सरकारले ती इन्टरनेट प्रदायक कम्पनीहरुमाथि नियन्त्रण गर्न सफलता पाउने कम सम्भावना रहन्छ ।

यस उद्योगका विशेषज्ञहरुका अनुसार नेपालमा प्राविधिक उद्योगपतिहरुका लागी कर्मचारीको झन्झट व्यहोरेर काम संचालन गर्न अति सानो मुलुक भएको कारण कठिन छ । अधिनायकवादी प्रणाली भएका देशहरुमा यस्ता कतिपय कम्पनीहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

नेपालमा पनि यस सम्बन्धमा पहिले व्यापक गृहकार्य गरिनु आवश्यक छ । व्यापारमैंत्री नीतिदेखि लिएर आवश्यक संरचनाको आवश्यकतालाई विचार गरिनुपर्छ । यदि देशमा इन्टरनेट कम्पनीहरुको हवको रुपमा विकास गर्न खोजिएको हो भने र यसले देशलाई पनि बढ्दो सूचना प्रविधिको मद्दतले फाईदा पुग्ने विश्वास दिलाउन सक्छ भने । सरकारले पटकपटक यो भन्ने गरेको छ कि यस कानुनले वाक स्वतन्त्रतालाई आघात पार्ने छैन र यो प्रविधि कम्पनीहरुलाई नियमन गर्नमात्र ल्याइएको हो । तर यस ऐनको स्वभाव नै सामाजिक सञ्जालमा भएको अन्तरक्रियालाई अपराधीकरण गरिनु रहेको देखिन्छ ।

यसको बृहत्तर परिभाषालाई प्रयोग गरी कर्मचारी वा राजनीतिक नेतृत्वलाई मन नपर्ने पोष्टका आधारमा ति व्यक्तिहरुलाई दण्डीत गरिने डर रहन्छ ।

सरकारले विद्युतीय कारोबार ऐनलाई प्रयोग गरी अधिकारीहरुलाई कसैको पोष्ट अनुचित लागेको खण्डमा पक्राउ गरी कानुनी कारवाही गरी नै रहेको देखिन्छ । नेपाल प्रहरीको साइबर क्राइम सेलमा पछिल्लो तीन वर्षमा मात्र १०६ वटा मुद्दाहरु दर्ता भएको देखिन्छ ।

यसमा भएका व्यवस्थाहरुले नैतिकता तथा भद्रताको आधारमा वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको देखिन्छ जो कि अन्य कानुनी व्यवस्थाहरुको प्रतिकूल छ । यो विधेयक मानव अधिकार, नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको प्रतिकूल एवम् प्रतिगमनकारी रहेको छ । यसकारण समाजवादी पार्टीले सरकारकलाई सुचना प्रविधि सम्बन्धि विधेयकलाई परिमार्जन नगरी जारी नगरियोस् भनी माग गर्दछ ।

(यादव समाजवादी पार्टीका अध्यक्ष हुन्)

The post यसकारण परिमार्जन हुनैपर्छ सूचना प्रविधिसम्बन्धि विधेयक appeared first on Sajha Post.

संघीयता होइन, संघवाद

$
0
0

अंग्रेजीमा ‘इज्म’ लागेका शब्दको नेपाली अनुवाद ‘वाद’ हुन्छ । जस्तै– सोसलिज्मको समाजवाद, कम्युनिज्मको साम्यवाद, क्यापिटालिज्मको पुँजीवाद, फासिज्मको फासीवाद, अनार्किज्मको अराजकतावाद, फेमिनिज्मको महिलावाद आदि । तर, ‘फेडेरालिज्म’लाई ‘संघवाद’ नभनेर ‘संघीयता’ भनियो । किन होला ?

किन समाजवादलाई समाजीयता, साम्यवादलाई साम्यता, पुँजीवादलाई पुँजीयता, फासिवादलाई फासीयता, अराजकतावादलाई अराजकीयता र महिलावादलाई महिलायता भनिएन ? किन संघवादलाई मात्र संघीयता भनियो ? यसको कारण थियो । कारण त थियो नै, संगसंगै नेपालमा संघवादको विमर्श र यात्रालाई गलत बाटोतिर मोड्ने प्रारम्भ विन्दू पनि यही थियो ।

संघवाद कुनै राजनीतिक विचार हैन, राज्यको संरचना निर्माण गर्ने एउटा तरिका मात्र हो भन्ने बुझाईबाट नेपालमा संघवादलाई संघीयता भन्न थालिएको थियो । संघवाद संचरना त हो नै तर, संरचना मात्र हैन । संघवादका मुख्य तीनवटा आयाम हुन्छन् ।

एक– संघवाद राजनीतिक विचार हो । बहुलवादको दर्शनसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ ।
दुई– संघवाद राज्यको संरचना र प्रणाली निर्माण गर्ने एक विधि वा पद्धति हो ।
तीन– संघवाद एक मनोवैज्ञानिक मर्म, भावना र राजनीतिक संस्कृति हो । जब यी तीन चिज एक अर्कासंग अविछिन्न हुन्न, अनि मात्र संघवाद जीवन्त र परिणाममुखी हुन्छ ।

अहिले लागू गरिएको ‘संघीयता’ त्यस्तो हैन । यसको दोस्रो अर्थ– केवल संचरनाको अर्थमा मात्र बुझिएको संघीयता हो । यसले परिणाम दिएन भनेर गुनासो गर्नु नै बेकार हो । किनकी यो एकांकी छ । यस्तो संघीयताले ठीक परिणाम दिँदैन । ठीक परिणाम दिन संघवादलाई संघवाद नै हुन दिनुपर्दछ, संघीयता बनाउनु हुँदैन ।

यस्तो किन भयो त ? किनकी जो संघवादका पक्षधर थिए, उनीहरुसंग शक्ति थिएन । जो संग शक्ति थियो उनीहरु संघवादका पक्षधर थिएनन् । शक्तिशालीहरुले संघवादलाई संघीयता बनाइदिए । फ्रान्सेली दार्शनिक मिसेल फुकोको भनाई यहाँनेर चरितार्थ भयो । फुको भन्थे– शक्तिले सत्यको परिभाषा बदल्न सक्छ, त्यसैलाई ‘संकथन’ भनिन्छ ।

डम्बर खतिवडा

 

नेपालमा कांग्रेस–कम्युनिष्टको शक्तिले संघवादको सत्यलाई संघीयताको संकथनमा बदल्यो । शक्तिको ‘न्यारेटिभ’ संघवादको साटो संघीयता बन्न पुग्यो । जो विकृत र भ्रान्त धारणा थियो । उल्टो भयो । आज केही मान्छेहरु त्यही भ्रान्त धारणामा बनेको संघीयतालाई देखाएर असफल भएको तर्क गर्दैछन् जो यथार्थमा संघवाद नै हैन ।

जस्तो कि अहिले हामी कहाँ समाजवाद छैन । तर, कांग्रेस–कम्युनिष्ट दुवै आफूलाई समाजवादी भन्छन् । यदि उनीहरुको व्यवहारलाई नै समाजवाद ठानेर समाजवाद असफल भएको निष्कर्ष निकाल्ने हो भने त्यो समाजवादप्रतिको अन्याय हुन्छ ।

संघवादबारे पनि ठीक त्यस्तै कुरा हो । अहिलेको संघीयतालाई नै संघवाद ठानेर असफल भएको निष्कर्ष निकाल्ने हो भने त्यो संघवादप्रति अन्याय हुन्छ । यहाँ केही संघीयता विरोधीहरु छन नै । जस्तो कि– चित्रबहादुर केसीदेखि भीमार्जुन आचार्यसम्म, कमल थापादेखि विश्लेषक सौरभसम्म कनीकनी संघीयताको असफलता गनिरहेका हुन्छन्, यो संघवादलाई हिर्काएको भ्रममा संघीयताको पुतलामाथि जोडजोडले किक–बक्सिङ्ग हान्ने मूर्खतापूर्ण उपक्रम मात्र हो ।

प्रश्न उठ्छ अब के गर्ने त ? यस्तै भयो । मतदाताले त्यस्तै मान्छे र शक्तिलाई साथ दिए । संघीयतालाई कसरी सुल्ट्याएर संघवाद बनाउने ? यो जटिलताको उत्तर पनि दार्शनिक फुकोको एक वाक्यमा पाइन्छ । उनी भन्थे– सूचनाबाट ज्ञान, ज्ञानबाट संकथन, संकथनबाट शक्ति र शक्तिबाट सत्यको स्थापना हुन्छ । संघवादको सन्दर्भमा यो प्रक्रिया पुरा भइसकेको थिएन ।

फेरि उदाहरणमा हेरौं । जस्तो कि लोकतन्त्र । लोकतन्त्रलाई मतदाताले एकैपटक बुझेका वा स्वीकार गरेका थिए ? अवश्य थिएनन् । अहिले स्वीकार्य छ किनकी त्यसको संकथन लामो थियो । विक्रम सम्बत् १९९० देखि नेपाली समाजमा लोकतन्त्रको बहस थियो । सूचना र ज्ञान समाजमा प्रवाहित भइरहेका थिए । जस्तो कि– २००७ सालदेखि संविधानसभा र गणतन्त्रको बहस थियो ।

तर, संघवादको बहस त्यति लामो हुन पाएको छैन । अहिले नै मतदातालाई दोष लगाउने बेला भएको छैन । त्यो २०३६ सालको जनमत संग्रहमा निर्दलीय पक्ष विजयी थियो भनेर जनता लोकतन्त्र चाहदैनथे भन्ने निष्कर्ष निकाले जस्तो हुन्छ । तराई कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सद्भावना पार्टी जस्ता केही पार्टीले स्वशासन, भाषिक अधिकार, समावेशिता र आरक्षणको कुरा गरेका थिए । संघवादको कुरा गरेका थिएनन् ।

संघवादको कुरा कहिल्यै कांग्रेसले गरेन । एमालेले गरेन । मसालले गरेन । मालेले गरेन । नेमकिपाले गरेन । माओवादी र मधेशी जनअधिकार फोरमले मात्र गरेका थिए । त्यति शक्तिका आधारमा जति संघीयता आएको छ, त्यो पनि अहिलेलाई कम हैन ।

माओवादीले युद्धकालमा संघवादी ढाँचामा नै पार्टी संगठन बनाएको थियो । अन्तरिम संविधानका बेला त्यो छोडेको निक्कै ठूलो मूल्य चुकाउन पर्‍यो । त्यही ‘राजनीतिक स्पेश’मा मधेशी जनअधिकार फोरम आयो । अहिले हिजोको माओवादी ४ धारमा विभक्त छ ।

प्रचण्ड धार एमालेमा मिसिन पुगेको छ र नेकपा बनेको छ । बाबुराम धार समाजवादी बन्न पुगेको छ । विप्लव धार फेरि एकीकृत क्रान्ति र जनयुद्धको तयारी गर्दैछ । मोहन बैद्य धार जनविद्रोह उठाउने प्रयास गर्दैछ । हिजोको माओवादीको उत्तराधिकार कस्लाई मान्ने ? कम्तीमा संघवादका सन्दर्भमा ।

फेरि उदाहरणमा जाऔं, प्रचण्ड नेकपामा ओली सँगसँगै छन् । संघवादको सवालमा यी विल्कुल फरक ध्रुव थिए हिजो । प्रचण्ड सोलुखुम्बु पुगेर शेर्पाल्याण्ड घोषणा गर्थे । ओली पहिचानलाई गुन्द्रुकको झोल भन्दा पनि काम नलाग्ने चिज भन्थे । आज एकीकृत नेकपामा कुन विचार हावी छन त ? प्रचण्डको कि ओलीको ? निश्चय नै ओलीको । त्यसो भए कम्तीमा संघवादको मुद्दामा नेकपा हिजोको माओवादीको उत्तराधिकार हैन ।

विप्लव र बैध त यसै पनि त्यसको उत्तराधिकार हैनन् । उनीहरुको असन्तुष्टि नै नेपाल ‘नयाँ जनवादी गणतन्त्र’ तिर नभएर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ तिर गयो भन्ने हो । कुरा प्रष्ट छ– वर्गले सिद्धान्तलाई आधार मान्दछन् । त्यहाँ पहिचान र सीमान्तकृत समुदायको प्रश्न नै गौण भएर जान्छ । यी तथ्यहरुले माओवादी आन्दोलनभित्रको संघवादको उत्तराधिकार बाबुराम धारसंग छ भन्ने प्रष्ट गर्दछ ।

अहिलेको समाजवादी पार्टी– यसको आकार र भोटको विश्लेषण गर्न अझै केही बर्ष पर्खिनुपर्छ । कम्तीमा त्यहाँ हिजोका मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, खस समावेशी पार्टी र नयाँ शक्ति पार्टी एक ठाउँमा छन् । यसको अर्थ– संघवादको शक्तिकेन्द्र यही हो भन्ने बिषयमा कुनै भ्रम राख्न जरुरी भएन ।

तर यो पार्टी कहिले शक्तिशाली होला र वास्तविक संघवाद आउला ? यो निक्कै कठिन र चुनौतिपूर्ण प्रश्न हो । कपितयले नेकपाको शक्ति ओलीपछि प्रचण्डमा आएमा त्यो काम नेकपाबाटै सम्भव हुने धारणा राख्दछन् । त्यसो हुन सक्ला ? राजनीतिमा असम्भव भन्ने त केही हुन्न । तर, हिजोको एमाले पंक्तिले सजिलै त्यसो हुन दिने छैन ।

कांग्रेस नि ? कांग्रेसका दर्जनौं गल्ती किन नहुन्, तर यो रिजिट पार्टी भने हैन । यो पार्टीको जम्माजम्मी सिद्धान्त बहुदलीय संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्र थियो । आज नेपाल जहाँ छ कांग्रेसले आफ्ना सिद्धान्तभन्दा पर पुगेर धेरै कुरा स्वीकार गरेको छ । गणतन्त्र स्वीकार गरेको छ । संविधानसभा स्वीकार गर्‍यो । धर्मनिरपेक्षता स्वीकार गरेको छ । आरक्षण र अर्ध समानुपातिक प्रणाली स्वीकार गरेको छ ।

अर्थात् कांग्रेस आफ्नै सूचना, ज्ञान, संकथन, शक्ति र सत्यले नयाँ मुद्दाको पहलकदमी लिने पार्टी हैन । तर जब समाजमा परिवर्तनको लहर आउँछ, उसले स्वीकार गर्दिन्छ । कांग्रेसको यो चरित्र हेर्दा कुनै दिन यो पार्टीले संघवाद स्वीकार गर्ला भन्ने आशा गर्न सकिन्छ ।

अनि नेकपा नि त ? के नेकपा ओलीज्म मै अररो रहला ? यसका केही शर्त हुनेछन् । जस्तो कि आगामी दिनमा मतदाता मनोविज्ञान कस्तो बन्ला ? मत परिणामको प्रवृति कस्तो देखिएला ? आउने निर्वाचनसम्म संघवादीहरुले एउटै केन्द्र बनाउने र कम्तीमा २५ लाख ल्याउने हो भने नेपालको राजनीति आउने ३ बर्षपछि अर्कै हुन्छ ।

अन्यथा नेकपा रिजिट नै रहन्छ । किनकी नेकपा सिद्धान्तच्यूत भइसकेको संगठनात्मक शक्ति हो । यसले सबै कुरालाई पार्टीको चुनावी अस्तित्वसँग जोडेर हेर्छ । संघवादको विचार लोकप्रिय हुँदै गएमा ओलीलाई विस्तारै सबैले बिर्सने छन् । प्रचण्डले तीन हात उफ्रेर मतदातालाई हिजो सम्झाउन थाल्नेछन् । संघीयतालाई संघवादमा परिणत गर्न सकिने वा नसकने कुरा संघवादी केन्द्रले आउने दुई वर्षभित्र आर्जन गर्ने शक्तिमा भर पर्दछ ।

नेपालमा केही बुद्धिजीवीहरु छन् जसलाई कि त वामपन्थी पपुलिज्म कि त दक्षिणपन्थी पपुलिज्मले गाँजेको छ । एक्काइशौं शताब्दिको पहिलो दशकपछि विश्व राजनीतिको समस्या नै पपुलिज्म हो, चाहे त्यो वामपन्थी होस् वा दक्षिणपन्थी । ट्रम्प र मोदीजस्ता दक्षिणपन्थी हुन् वा ओली र सि जिङ पिङजस्ता वामपन्थी– यी सबैको आधार बर्चश्ववादी समुदायको मनोविज्ञानमा आधारित राष्ट्रवाद हो जसलाई हिजोआज ‘मेजोरिटारियन डेमोक्रेसी’ भन्न थालिएको छ ।

जसरी प्रकृतिमा वायुको दिशा परिवर्तन भइरहन्छन्– कहिले पश्चिमी वायु, कहिले पूर्वी वायु । यदाकदा आँधीहुरी, चक्रावत र सुनामी पनि । राजनीतिकोे पनि मौसम हुन्छ । एजेण्डमा विश्वास गर्नेहरुले ‘एन्टी–करेन्ट’ उभिनै पर्छ । विपरित दिशा वायू बगिरहेको बेला धेरै सफल यात्रा गर्न सकिन्न । तर वायुको दिशा बद्लिने मौसम पनि आउँछ भन्ने बिर्सनु हुँदैन ।

नेपालको संघीयतामा केके कमजारीहरु छन्, कसरी त्यसलाई संघवादमा बद्ल्न सकिन्छ, सायद यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो । नेपालको मनोसामाजिक सिकाईलाई कसरी ‘डि–लर्न’ गर्ने सबैभन्दा बढी चुनौति त्यहाँनेर छ । बर्चश्व (हेजिमोनी) र प्रतिबर्चश्व (काउन्टर–हेजिमोनी) को लडाईमा वि-बर्चश्व (डि–हेजिमोनी) को अवधारणा बुझाउन सजिलो छैन । अबको सूचना, ज्ञान र संकथन यहीनेर केन्द्रित गर्न जरुरी छ । अनि मात्र नयाँ शक्तिको जन्म र नयाँ सत्यको स्थापना सम्भव हुनेछ ।

जस्तो कि– झापाका केपी ओलीले कर्णालीपारीलाई ‘सुदूरपश्चिम’ देख्नु स्वभाविक थियो । झापाबाट दार्चुला, बैतडी, कञ्चनपुर सुदूर पश्चिममा नै छ । तर शेरबहादुर देउवा । भीम रावलले किन आफ्नै ठाउँलाई सुदूरपश्चिम देखे तर, झापालाई सुदूरपूर्व देख्न सकेनन् ?

पाउलो फ्रेरीले पेडागोजी अफ अप्रेष्डमा भनेका छन्–‘स्वतन्त्रता भन्ने कुनै चिज संसारमा छैन, त्यो बन्धनकारी तत्वसंग प्रतिरोध गर्ने क्षमतास्तर हो । जसले जति बढी प्रतिरोध गर्दछ, उसले उतिनै बढी स्वतन्त्रताको उपयोग गर्दछ । ठीक त्यसैगरी शोषणको मात्रा भनेको शोषकले कति शोषण गर्दछ भन्ने कुरामा मात्र निर्भर हुँदैन, शोषितले कति बराबर शोषण स्वीकार गर्दछ भन्ने कुरामा पनि निर्भर गर्दछ ।’

पहिलो- पहिचान भनेको केवल कुनै नश्ल समुदाय हैन, त्यसमा जाति, भाषा, धर्म, संस्कृति, इतिहास, सभ्यताको भौगोलिक क्षेत्र र मनोविज्ञानसमेत जोडिएको हुन्छ । २४० बर्षसम्म दमित भएको यी चिजहरु केवल १० वर्ष पुनर्ताजगी हुन सम्भव थिएन । तसर्थ, संघीयतालाई संघवादमा बदल्न परिपक्कताको समय (म्याचुरिटी पिरियड) पनि नपुगेकै हो ।

दोस्रो– समानता र समरुपताबीचको भिन्नता राजनीतिक विमर्शमा खासै बनेन । जैविक विविधताको संरक्षण हुनुपर्छ भन्नेहरु नै मानवीय विविधताको नष्ट हुनुपर्दछ भन्दै हुन्छन् । जबकी यी दुई अवधारणा बीच खासै भिन्नता छैन । विविधता प्राकृतिक हो । विविधता समस्या हैन । समस्या विविधता आधारित विभेद जन्मिएपछि हुने हो । ‘विविधता’, ‘विभेद’, ‘समरुपता’ र ‘समानता’ जस्ता शब्दहरु बीच हुने भिन्नता फेरि एकपटक राजनीतिक बहसमा ल्याउनु आवश्यक छ ।

तेस्रो– संघवादसंग क्षेत्रीय विकास र वित्तिय संघवादको प्रश्नलाई अझ बढी जोड्नु हो । सोलुखुम्बुको मान्छेले विराटनगर राजधानी हुने प्रदेश पाए भनेर किन खुशी हुनु पर्ने हो ? दार्चुलाको मान्छेले सबै स्रोत साधन र शक्ति धनगढीतिर बग्ने संघीयता पाउँदा किन खुशी हुनुपर्ने हो ? त्यसले सोलु र दार्चुलालाई के फाइदा हुन्छ वा हुँदैन ? यी प्रश्नहरु पुनर्जागित हुनुपर्दछ ।

(खतिवडा समाजवादी पार्टीका उपमहासचिव हुन्)

The post संघीयता होइन, संघवाद appeared first on Sajha Post.

‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’

$
0
0

नेपालमा सामाजिक, राजनीतिक परिवर्तनका लागि निरन्तर आन्दोलनहरु भइरहेको करिब-करिब ९० वर्ष भइसक्यो । त्यसको नेतृत्व कहिले लोकतान्त्रिक भनिने शक्तिहरुले गरे कहिले कम्युनिष्ट भनिने शक्तिहरुले । त्यसो त, अरु सानातिना सामाजिक आन्दोलनका मुद्दाहरूलाई कहिलेकाँही त एनजिओहरूले पनि नेतृत्व गरे । जस्तै- मुक्त कमैयाको आन्दोलन । नेपालमा भएका यस्ता सबै आन्दोलनहरूलाई कसले कतिबेला कसरी स्वीकारे आफ्नो ठाउँमा होला । जनयुद्ध पनि राजनीतिकरुपमा स्वीकारिएको आन्दोलन हो । ती आन्दोलनहरूले नेपाललाई ०६२/६३ को आन्दोलन सकिएर मधेस आन्दोलन पनि सकिइसक्दा एकठाउँमा लैजाने भन्ने स्पष्ट दिशानिर्देश चाहिँ भएकै हो ।

०६३ सालको अन्तरिम संविधानले संविधान कस्तो बनाउने र समाजलाई कसरी अगाडि लैजाने भन्ने बारेमा प्रष्ट धारणा बनाउन सघाउँछ । त्यहाँ केही कुरा अस्पष्ट छैन । त्यसले निर्धारण गरेका विषयहरूमध्ये पहिलो कुरा गणतन्त्र हो । नेपालमा राजतन्त्र अब बोझ भइसक्यो, राजतन्त्रले समाजलाई अगाडि लैजान सक्दैन भन्ने कुरा स्थापित भएर गणतन्त्रको मुद्दा स्थापित भयो ।

राज्य पुनर्संरचनाको औजारहरु

युग पाठक

दोस्रो मुद्दा हो राज्यको पुनर्संरचना । गोर्खालीहरूले निर्माण गरेको राज्यमा पञ्चायतको ३० वर्षको शासन अभ्यास भयो । त्यहाँसम्म आइपुग्दा यो राज्यको चरित्र नेपाली समाजमा भरिपूर्ण रहेको विविवधतालाई सम्बोधन नगर्ने असमावेशी प्रकृतिको बन्यो/बनाइयो । त्यो विविधताको शक्तिलाई राज्यको शक्तिको रुपमा सँगसँगै लिएर हिंड्न नसक्ने राज्य बनेको रहेछ भन्ने कुरा सबैले स्वीकार गरे । त्यसपछि राज्यको पुनर्संरचना गर्ने एजेन्डा प्रमुख भयो ।

राज्यको पुनर्संरचना त गर्ने तर कसरी गर्ने ? यहाँनेर राज्यको पुनर्संरचना गर्ने औजारको रुपमा संघीयतालाई स्वीकारियो जुन राजनीतिक औजार भयो । अर्को राजनीति, सामाजिक र सांस्कृतिक औजारको रुपमा समानुपातिक र समावेशीलाई स्वीकार गरियो । त्यतिबेलासम्मको समाज र राज्यले निर्धारण गरेको मुलधारले समाजमा रहेका विभिन्न उत्पीडित समुदायहरूलाई सँगसँगै लिएर हिंड्न नसक्ने ठहरसहित समानुपातिक प्रतिनिधित्व र समावेशिताको मुद्दालाई स्वीकार गरिएको थियो । नेपाली समाज इन्द्रेणी समाज हो भने यसको प्रतिबिम्ब राज्यको हरेक अंगमा देखिनुपर्छ । यही मान्यतामा आधारित भएर राज्यको पुनर्संरचनाको लागि संघीयतालाई एउटा औजार मानियो भने समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई अर्को औजार मानियो ।

सँगसँगै, राज्यको चरित्र यस्तो छ भने राज्य चलाउने अंगहरूको चरित्र पनि त्यस्तै छ । त्यसकारण सेना होस् या प्रहरी, अदालत होस् वा कर्मचारीतन्त्र सबैतिर समावेशी अनुहार देखिनुपर्छ । राज्यका संरचनाहरू पनि समावेशी र समानुपातिक हुनुपर्छ भनेर ती संरचनाहरूको पनि पुनर्संरचना हुनुपर्छ भन्ने सवाल सँगसँगै आएको हो । यति काम गरिसक्दा राज्य नयाँ चरित्रको बन्छ र नयाँ चरित्रको राज्यले नयाँ समाज निर्माणको अभ्यास सुरु गर्छ । त्यो अभ्यासभित्रबाट केही चिजहरू सकरात्मक आउलान् केही परिणामहरू नकरात्मक आउलान् । अथवा केही चिजहरू समाजलाई अगाडि बढाउने प्रकृतिका आउलान्, केही चिजहरू समाजलाई अगाडि बढाउन नसक्ने प्रकृतिका आउलान् । कार्यान्वयन पछिको विवेचनाको कुरा हुन्छ त्यो । तर, यति मुद्दाले नेपाली समाजलाई अगाडि लैजान सक्छ भन्ने कुरामा आम सहमति निर्माण भएकै हो । सबल र निर्णायक स्थानमा नरहेका बाहेकका दल र नेताहरू सबैले अन्तरिम संविधानलाई स्वीकार गरेका थिए । सबैले मानेका थिए ।

तर, जब अन्तरिम संविधान लागू भएर पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भयो । त्यसपछि अन्तरिम संविधानले बोकेको सारअनुसारको संविधानसभा बन्यो । बनेकै हो । पहिलो संविधानसभा मनग्ये इन्द्रेणी र समावेशी चरित्रको निर्माण भयो जसले परिवर्तनको एजेन्डालाई बोकेर अगाडि जाने सम्भावना देखायो । पहिलो सम्भावना त्यसले गणतन्त्रको घोषणा गरेर देखायो । त्यसपछि समावेशिताको मुद्दालाई अगाडि बढाउने हिसाबले र सबैप्रकारको असमानता र विभेदहरूलाई निर्मूल पार्दै एउटा नयाँ प्रकारको राज्य र त्यो नयाँ प्रकारको राज्यले नयाँ प्रकारकै अर्थराजनीतिक प्रणाली निर्माण गर्ने भन्ने कुरामा लगभग एउटा लक्षण देखाएको थियो । तर, त्यही संविधानसभाले अर्को एउटा कुरा के देखायो भने हाम्रो देशको स्थायी जुन सत्ता छ, त्यसमा जसको पकड छ, तिनीहरूले एउटा चुनौती महसुस गर्न थाले । जस्तै- पुनर्संरचनाको मुद्दालाई सेनाले सजिलै स्वीकार्ने अवस्थामा थिएन । त्यतिबेला रुक्माङ्गद कटुवाल त्यो कुराको नेतृत्व गरिरहेका थिए । त्यसकारण कटुवाल सेनापतिको रुपमा उनको सरोकार नै नभएको कुरामा बोल्थे । किन बोल्थे भने उनलाई संविधानसभाको दृश्य चित्त बुझिरहेको थिएन ।

त्यस्तै, काठमाडौंमा रहेको पुरानो संस्थापनमा पकड राख्ने बौद्धिकहरूको एउटा समूह, नागरिक समाजको अर्को समूहले पनि तुरुन्त त्यसको प्रतिवाद गर्न सुरु गर्न थाले । त्यो प्रतिवाद कयौं समाचारका माध्यमबाट आए होलान्, कयौं लेखका माध्यमबाट आए होलान्, कयौं कार्यक्रमहरू र पैरवीको माध्यमबाट आए होलान् । विभिन्न माध्यमबाट उनीहरूको सक्रियता सुरु भयो ।

र, त्यो संविधानसभालाई अन्तिमसम्ममा सफल हुन नदिने खेल सुरु भइहाल्यो । जसोतसो गणतन्त्र चाहिँ संस्थागत भइसकेको हुनाले त्यसलाई उल्टाउन सजिलो थिएन । तर बाँकी राज्य पुर्संरचनाका मुद्दाहरू उल्टाउने काम तत्कालै सुरु भयो । त्यसकारण त्यो संविधानसभाले संविधान निर्माण गर्न सकेन । केही केही कुरामा सहमति हुँदाहुँदै पनि सबै प्रकारका शक्तिहरूको सहमति बनेर संविधान जारी गर्ने सम्भावना हुँदाहुँदै पनि त्यसलाई विभिन्न प्रकारको लविमार्फत् अल्मल्याइयो ।

संविधानसभाको विघटनः पुनर्उत्थानको जग
त्यतिबेलाको सबैभन्दा ठूलो शक्ति माओवादी भयो । माओवादीभित्रको एकप्रकारको अहंकारलाई खेल्ने पनि त हुन्छन् नि ! त्यो अहंकारलाई खेलेर हुन्छ कि माओवादीभित्रको अन्तरद्वन्द्वलाई झन् चर्काउन मद्दत गरेर हुन्छ कि खेल्नुसम्म खेलियो । यो कुरालाई माओवादीले बुझ्न सकेन । र, पहिलो संविधानसभाको अवसानसँगै ऊल्टो यात्रा सुरु भयो । किनभने बनाउन सकिने संविधान पनि बनाएनन् । ११ वटा प्रदेशसहितको जुन स‌ंविधान बनाउने प्रयास भइरहेको थियो, आधारभूत रुपमा अहिलेको भन्दा त्यो धेरै प्रगतिशील संविधान हुनसक्थ्यो ।

त्यहाँ समाज र राज्यको चरित्र बदल्नको लागि के के गर्नुपर्छ भन्नेबारेमा विज्ञहरूको टोली पनि बनेको थियो । राज्य पुनर्संरचना गर्नको लागि बनेको विज्ञ टोलीले राम्रो काम गरेको थियो । त्यतिबेलासम्म ती मुद्दाहरूलाई कसैले इन्कार गर्न पनि सक्दैन थियो । जस्तो कि आज सजिलै इन्कार गरिन्छ । किनकी आन्दोलनको रापताप पनि बाँकी थियो । जब पहिलो संविधानसभाको अवशान भयो त्यसपछि त्यतिबेलाको परिवर्तनकारी शक्ति माओवादीसँग मात्र परिवर्तनका एजेन्डा बोक्न सक्ने ऊर्जा, शक्ति र सामर्थ्य थियो ।

हुन त नेतृत्व गिरिजाबाबुले गरेका थिए तर आन्दोलनको ऊर्जा र शक्ति माओवादीसँग थियो । सतहमा गिरिजाबाबुले गरेजस्तो देखिए पनि ती सबै माओवादीको ब्याकअपमा भइरहेको थियो । त्यसकारण नै गिरिजाबाबुलाई पनि कतिपयले माओवादीको पक्ष लागेको भन्ने आरोप लगाउँथे । त्यो शक्तिलाई कसरी कमजोर बनाउने अथवा नेपालमा स्थापित परिवर्तनका मुद्दाहरूलाई दुर्घटनातिर लैजानको लागि एकथरी कम्युनिष्ट भन्ने नामसँगै चित्त नबुझाउने अन्तर्राष्ट्रिय शक्तिहरू हुने भए । एकथरी नेपालको संस्थापनसँग पहिल्यैदेखि नाता जोडेर हिंडिरहेका अन्तर्राष्ट्रिय शक्तिहरू हुनेभए । अर्काथरी नेपालभित्रैका परिवर्तनलाई मन नपराइरहेका पुरानो संस्थापन पनि हुने भयो । त्यो संस्थापनलाई बोक्ने नेपालको त्यतिबेलाको सेनाको नेतृत्वदेखि कर्मचारीतन्त्रसम्म सबैतिरका शक्तिहरू सल्बलाउन थाले । उनीहरूका लागि संविधानसभाको विघटन उनीहरूको पुनर्उत्थानको लागि एउटा राम्रो अवसर भयो ।

यो घटनाको विवेचना गर्दा माओवादीहरूको पनि समीक्षा नगरी हुँदैन । किनभने त्यतिबेला परिवर्तनको मूल शक्ति नै माओवादी थियो । पहिलो संविधानसभा विघटन हुनुको पछाडि राज्यको पुनर्संरचनाको मुद्दा थियो, त्यसलाई जातिवादी भनेर रंग लगाउने एकाथरी थिए । माओवादी लगायत सबै कम्युनिष्ट पार्टीको आधारभूत दर्शनले पहिचानको मुद्दालाई सम्बोधन गर्दैन । मार्क्सवादले पनि गर्दैन, लेनिनवादले पनि गर्दैन र माओवादीले पनि गर्दैन । किनभने त्यो दर्शनले त मुख्यरुपमा वर्गसंघर्षलाई प्रधान हो भन्छ । यो त जातको मुद्दा थियो जुन दक्षिण एसियाको राजनीतिक सामाजिक परिवेश छ, यो परिवेशमा वर्गसंघर्षसँगसँगै जात व्यवस्थाको पनि ठूलो हात छ । तर त्यो कुराहरूलाई कम्युनिष्टहरूको आधारभूत दर्शनले सम्बोधन गरेन ।

माओवादीभित्र बाहुनवाद

त्यतिबेला हुने गरेको एउटा दार्शनिक बहस सम्झौं । बहुलवादको बारेमा भएको बहसमा मोहन वैद्यले माओवादीभित्रबाट बहस गरिरहेका थिए, माओवादी बाहिरबाट कांग्रेसीहरूले बहुलवादको चर्चा गरिरहेका थिए । त्यतिबेला संविधानमा बहुलवाद राख्ने कि नराख्ने भन्ने कुरामा भइरहेको थियो । लोकतान्त्रिक भनिने पक्षले गरिरहेको बहसमा बहुलवादको अर्थ अर्कै थियो । वैद्यले गर्नुभएको बहसमा बहुलवादको अर्थै अर्को थियो । दुईथरीले दुईवटा फरक फरक अर्थ बोकेर एउटा शब्दलाई कुदाइरहेका थिए । त्यसको अन्तर्य, सारतत्व नै फरक थियो । तर, वैद्यले गर्नुभएको बहसमा बहुलवाद भन्ने शब्द पूर्वीय दर्शनको दार्शनिक प्रणाली हुँदै पश्चिमी दर्शनको दार्शनिक प्रणाली हुँदै कसरी आएको छ र कुन शब्दलाई कसरी उल्था गरियो भन्ने कुरामा पुग्छ त्यो । त्यो बहसले एउटा कुरा के निर्माण गरिरहेको थियो भने बहुलवाद भन्ने कुराले सबै प्रकारको विचारधारालाई समेट्छ भन्ने लोकतान्त्रिक पक्षको कुरा थियो । उता वैद्यले भने बहुलवाद भनेको उत्तर आधुनिकताको कुरा हो भने । हामीलाई थाहै छ, उत्तरआधुनिकतालाई मार्क्सवादको विरोधी हो भन्ने तथ्य स्थापित गराइएको छ ।

त्यसले माओवादीभित्र पनि एउटा द्विविधा निर्माण गरिरहेको देखिन्थ्यो । खासगरी समावेशिताको सन्दर्भमा । वर्ग संघर्ष मुख्य हो पहिचान मुख्य हो ? हामीले राज्य पुनर्संरचना गर्दा त पहिचानको मात्रै कुरा गरिरहेका छौं । वर्गसंघर्ष त छुटिरहेको छ । यसदृष्टिले पनि दार्शनिक संकट माओवादीभित्र निर्माण भइसकेको थियो । माओवादीले जमेर त्यतिबेलाका मुख्य मुद्दाहरूलाई लिएर नयाँ संविधानमार्फत् राज्यको पुनर्संरचना गर्न केन्द्रित गर्नुपर्ने ध्यान विकेन्द्रित गरायो । त्यसमा केन्द्रित भएर अगाडि जान्थ्यो भने माओवादीभित्र अन्तर्द्वन्द्व हुनुपर्ने तत्काल ठूलो कारण थिएन । तर, त्यहाँ दुईटा कुरा भयो । एउटा नेतृत्वको छिनाझप्टी सुरु भयो । अर्को चाहिँ माओवादी शक्तिभित्र ब्राह्मणवादले टाउको उठायो । जब ब्राह्मणवादले टाउको उठायो, जातपात भयो भन्ने आधारमै उठाएको किन नहोस् । ब्राह्मणवादले टाउको उठाउनुको प्रमुख कारण के हो भने कम्युनिष्ट पार्टीहरूभित्र बाहुनहरूको बर्चश्व छ ।

(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीलाई हामी क्रमशः प्रस्तुत गर्नेछौं- सं.)

The post ‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’ appeared first on Sajha Post.

सिद्धान्तमा बहस गर्न चाहन्नँ, व्यवहारमा साम्यवाद असफल भयो

$
0
0

विश्व साम्यवादी आन्दोलनको चर्चा गर्दा सिद्धान्त र व्यवहार दुवै कोणबाट हेर्नुपर्छ । साम्यवादको विचार/दर्शन निक्कै बलियो थियो । कार्ल मार्क्सले कही सपनाहरु देखे । ती सपना, कल्पना सुन्दर थिए । त्यसले विश्वभरि मानिसलाई अपिल गर्‍यो । आकर्षण गर्‍यो । मान्छेको मन मष्तिष्क छायो ।

शुरुवातमा मान्छेहरु आस्था, विश्वास, निष्ठा र प्रतिवद्धतासहित नै साम्यवादी आन्दोलनमा लागेका हुन् । मेरो परिवारमा सबै कांग्रेस समर्थक थिए । बुबाआमा, दाजुभाई, मामाकाका सबै । तर मैले कम्युनिष्ट पार्टीलाई समर्थन गरे । त्यसको अरु कारण थिएन । वैचारिक अपिल नै थियो । मार्क्सले भनेजस्तो समाज बन्छ भने किन नबनाउने भन्ने भावना तीव्र थियो ।

प्रारम्भदेखि नै म अलिक फरक खालको साम्यवादी थिए । मार्क्स, लेनिन मात्र पढ्थेँ । रोजा लक्जेम्बर्ग पढ्थेँ । न्यू लेफ्टहरुको साहित्य पढ्थेँ । ल्याटिन अमेरिकी वामपन्थी आन्दोलन पढ्थेँ । फेरि मलाई के लाग्थ्यो भने म परम्परावादी, अर्थोडक्स कम्युनिष्ट हैन । कम्युनिष्ट भन्दा बढी म वामपन्थी हुँ ।

ममा यस्ता भावना सन् १९९० को दशकमा आएको हैन । पूर्वी युरोप, सोभियत संघ वा बर्लिनको पर्खाल ढलेपछि आएको हैन । त्योभन्दा धेरै अगाडिदेखि म यस्तो सोच्थेँ । मैले त्यतिखेरै माले नेताहरुलाई पार्टीको नाम बद्लौं, कम्युनिष्ट भन्न छोडौं– पार्टीको नाम ‘पार्टी अफ डेमोक्र्याटिक लेफ्ट’ राखौं । यो हाम्रो सन्दर्भमा आकर्षक र सुन्दर नाम हुने छ भनेर भनेको थिएँ । आजको विन्दूसम्म आइपुग्दा मेरो अनुभूति ठीक रहेछ भन्ने लाग्छ ।

दिनेश श्रेष्ठ

धेरै पछि मदन भण्डारीले जनताको बहुदलीय जनवाद बनाए । यो विचार त लिवरल डेकोक्रेसीतिर ढल्किएको थियो । झापा आन्दोलनबाट उठेको पार्टी, जसले माओ विचारधारा, सांस्कृतिक क्रान्ति मान्थ्यो, नयाँ जनवादी क्रान्तिको कुरा गर्थ्यो । नक्सलवादी आन्दोलनलाई आदर्श मान्थ्यो, त्यसले जनताको बहुदलीय जनवादी हुनु वैचारिक तादाम्यता मिल्ने कुरा थिएन । माओवादको कुरा छोडौं– उदार लोकतन्त्र र लेनिनवाद मिल्छ जस्तो मलाई लागेन । अहिले पनि बेलाबेला घनश्याम भुसाल लेनिनवाद हटाउनु पर्छ भन्छन् । त्यो मलाई ठीकै लाग्छ ।

मार्क्स र एंगेल्सबारे म टिप्पणी गर्न चाहन्नँ । उनीहरु दार्शनिक थिए । लेखक थिए । वैचारिक आन्दोलन गरे । उनीहरुसँग बलियो पार्टी थिएन । राज्यसत्तामा पुगेनन् । साम्यवादी अभ्यासको समीक्षा लेनिनबाट नै शुरुवात गर्नुपर्ने हुन्छ । लेनिनले जेजे भने, लेखे, बोले, उनी बाँचिरहेको भए, लामो समय सत्तामा रहेको भए गर्थे कि गर्दैनथे ? लेनिनमा सिद्धान्त र व्यवहारबीच अन्तर्विरोध आउँथ्यो कि आउँदैनथ्यो । आउने सम्भावना थियो । तर त्यो कुरा पनि छोडिदिउँ ।

लेनिनको उत्तराधिकार भनेर स्टालिन आए । मार्क्स, एंगेल्स, लेनिनले भनेजस्तो शासन स्टालिनको थिएन । साम्यवादको नाममा सबैभन्दा क्रुर, निर्दयी र अधिनायकवादी शासन त स्टालिनले नै चलाए । विस्तारै त्यो रोग विश्वभरि फैलियो । पूर्वी युरोप, युगोस्लाभिया, चोकेस्लाभिया सबैतिर त्यस्तैत्यस्तै भयो । आज त्यो मोडेलको शासन विश्वभरि समाप्त भएको छ ।

केही देशमा अझै कम्युनिष्ट पार्टीको शासन वा सरकार छ, तर मार्क्सले भनेजस्तो, लेनिनले भनेजस्तो साम्यवाद छैन । त्यो क्युवामा नै छैन । उत्तर कोरियाको त झनै कुरै नगरौं । बाँकी भनिएका कम्युनिष्ट देश चीन, लाओस् वा भियतनाम त उदार अर्थतन्त्रमै छन् । तिनीहरुलाई खै के साम्यवाद भन्नु ?

जहाँसम्म चीनमा साम्यवाद सफल भइरहेको छ भन्ने विश्लेषण गरिन्छ, त्यसमा पनि विरोधाभाष छ । नेपालमा हामी एक खालको लोकतन्त्रको कुरा गर्दछौं, चीनको चर्चा हुँदा प्रो-चाइनिज जस्तो हुन्छौं । एकातिर बहुदलीय जनवादलाई लोकतान्त्रिक सिद्धान्त भनिन्छ । अर्कोतिर चीनमा लोकतन्त्रको कुरा उठ्नु हुँदैन भन्ने ठानिन्छ ।

चीनमा पनि समस्या अवश्य छन् । सि जिङ पिङले दुई कार्यकालको प्रावधान हटाएका छन्, त्यो त अधिनायकवादतिरकै यात्रा हो नी, हैन र ? तिब्बतमाथि जे भयो, त्यो नेपालमाथि भएको भए हामी सहन्थ्यौं ? अभिव्यक्ति तथा राजनीतिक स्वतन्त्रता विनाको नेपाल हामी कल्पना गर्न सक्छौं ? उइगुरका मुस्ल्मिमाथि जे भइरहेको छ, त्यस्तो नेपालमा हुने हो भने हामी कस्तो ठानौंला ?

जतिखेर नेपालमा कम्युनिष्ट आन्दोलन शुरुवात हुँदै थियो, त्यतिखेर सोभियत संघ थियो । चीनमा क्रान्ति भएको थियो । त्यतिखेरको सोच नै अर्कै थियो । गरिबीमुक्त मानव समाज, गरिब मुक्त राज्य बन्दैन भन्ने सोच थियो । निजी सम्पति अन्त्य भए, शोषण अन्त्य हुन्छ, शोषण अन्त्य भए गरिबी अन्त्य हुन्छ भन्ने सरल शुत्र थियो । तर अर्थतन्त्रको विकास यति सरल शुत्रमा नहुँदो रहेछ ।

त्यो बेलाको सोच, त्यो बेलाको आस्था, त्यो बेलाको आर्दश, त्यो बेलाको सुत्र अब रहेन । विश्वमा पनि रहेन । नेपालमा पनि रहेन । मार्क्सले जुन सपना देखाए, जुन कल्पना गरे, व्यवहारमा त्यसको कसैले पुष्टि गरेर देखाउँछ भने मलाई अझै पनि साम्यवादी हुनुमा कुनै पश्चाताप छैन । म उसलाई मान्छु । श्रद्धा गर्छु । तर सिद्धान्त व्यवहारमा उल्था गर्दा जटिलता देखिए । ती जटिलता कसरी समाधान हुन्छन कसैले भन्न सकेको छैन । तर अझै केही मान्छे कम्युनिष्ट आस्था, निष्ठा, जीवनशैलीमा टिक्छन् भने उनीहरुप्रति मेरो सम्मान रहिरहनेछ ।

तर, कम्युनिष्ट आन्दोलनको आमप्रवृति र विशेषता भने अब त्यो रहेन । व्यवहारमा अनुवाद नहुने कल्पना जतिनै सुन्दर भए पनि के गर्ने ? जब मानिसले यो व्यवहारिक यथार्थ बुझे, अनि संसारभरि कम्युनिष्ट आन्दोलन कमजोर हुन थाल्यो । अझ र्‍याडिकल कम्युनिष्ट त झनै कमजोर भए । इन्डोनेशिया, फिलिपिन्स, कम्बोडिया, भारतको नक्सलाइट त्यसका उदाहरण हुन् । साम्यवादको सिद्धान्त राम्रो थियो कि नराम्रो, ठीक थियो कि बेठीक, त्यता बहस गर्ने मेरो रुचि छैन । मेरो निष्कर्ष के मात्र हो भने व्यवहारमा चाहिँ साम्यवाद असफल भयो ।

किन यस्तो भयो त ? कारण सरल छन । सजिलै बुझिने । मुख्य ४/५ वटा कारण प्रष्ट देखिन्छन । पहिलो, कम्युनिष्ट सत्ताले मानवीय स्वतन्त्रताको महत्व बुझेनन् । दोस्रो, विविधता र बहुलताको महत्पव नबुझ्ने एकमनावादी दृष्टिकोण देखियो । तेस्रो– निजी सम्पतिको उन्मूलन नै शोषणको अन्त्य, गरिबीको अन्त्य, सर्वहाराको मुक्ति र समृद्धिको शर्त हैन रहेछ । चौथो– आर्थिकरुपमा केन्द्रीकृत योजनाले मात्र विविधकृत बजार र उत्पादन गर्दोरहेनछ ।

राजनीतिक रुपमा अझ विशिष्ट प्रकारको समस्या देखियो । नयाँ शासक वर्गको उदय । कम्युनिष्ट सत्ताको पिरामिडमा उपल्लो तहमा पुगेकाहरुले आफूलाई, आफ्नालाई आफू वरिपरिकाको वृति विकासलाई मात्र हेर्न थाले । त्यसका लागि राज्यशक्ति र स्रोतको दोहन गर्न थालियो । कम्युनिष्ट नेताहरु पद र आर्थिक स्वार्थमा लिप्त हुन थाले । क्रान्तिकालमा यस्तो कल्पना पनि गरिंदैनथ्यो । क्रान्तिकालमा कयौं कम्युनिष्ट नेताहरुले आदर्श जीवन बाँचेका थिए, जो साँच्चै श्रद्धा गर्न लायक थियो । तर तिनै मान्छे सत्तामा पुगेपछि फरक दृष्य देखियो । यो साम्यवादको विश्वव्यापी रोग रहेछ । अहिले नेपालमा पनि त्यही भइरहेको छ ।

अहिले नेपालमा करिब दुई तिहाईको कम्युनिष्ट सरकार छ । तर व्यवहारमा साम्यवादका आर्दशहरु कहिँ पनि देखिँदैन । आदर्श एकातिर छन्, कर्म अर्कोतिर । सिद्धान्त एकातिर छन्, व्यवहार अर्कोतिर । भ्रष्टाचारका यति ठूला काण्डहरु भएका छन्, साम्यवाद त निजी सम्पति चहिन्न भन्ने आदर्श थियो । फेरि यो स्तरको भ्रष्टाचार र भ्रष्टाचारलाई संरक्षण किन गरिँदैछ ? यस्तो सरकारलाई पनि वामपन्थी भन्न मिल्छ ? यो त सरासर दक्षिणपन्थ भयो ।

अहिलेको नेकपा सरकार वामपन्थी सरकार हुँदै हैन, नत साम्यवादी सरकार नै हो । साम्यवादको कुरा छोडौं– समाजवादी सरकार पनि हैन । समाजवादको पनि कुरा छोडौं– न्यूनतम् प्रगतिशील पुँजीवादी सरकार पनि हैन । यो सरकारले समातेको बाटो प्रष्ट छ । राजनीतिकरुपमा यो सामाजिक फासीवादतिर, आर्थिक रुपमा क्रोनी क्यापिटालिज्मतिर गइरहेको छ ।

जहाँ सीमान्तकृत समुदायको अधिकार, पहिचान र समावेशिताको प्रश्न छ, त्यो मरिसक्यो जस्तो मलाई लाग्दैन । त्यो केही मत्थर भएको मात्र हो । यस बिषयमा पनि कम्युनिष्ट आन्दोलनमा विरोधाभाष रह्यो । लेनिनले आत्मनिर्णयको कुरा गरे । स्टालिनले सोभियत संघमा रुसी बर्चश्वकरण गरे । अन्ततः संघ नै पतन भयो । नेपालमा माओवादी आन्दोलनको विशेषतः प्रचण्डपथको एउटा मुद्दा पहिचान र अधिकारको प्रश्न थियो ।

साम्यवादी आन्दोलनमा यति लामो संलग्नता र संगतपछि मैले निकालेको निष्कर्ष के हो भने– हिजो हामी सिद्धान्त प्रमुख हो, सबै कुरा सिद्धान्तले निर्धारण गर्दछ भन्थ्यौं तर हैन रहेछ । सिद्धान्तभन्दा व्यवहार प्रमुख हुँदो रहेछ । सिद्धान्तमा साम्यवाद सुन्दर नै होला, तर व्यवहारमा त त्यो देखिएन । ब्राण्ड मात्र कम्युनिष्ट भएर के हुन्छ र ?

The post सिद्धान्तमा बहस गर्न चाहन्नँ, व्यवहारमा साम्यवाद असफल भयो appeared first on Sajha Post.

सडकबाट तागत दिनुस्, संसदमा ओलीलाई घुँडा टेकाउँछौं

$
0
0

२०६० माघ १९ गतेको दिन बिहान करिब ८/साढे ८ बजेतिर प्रदीप पौडेल लगायत केही साथीहरु गिरिजाप्रसाद कोइरालालाई के हुन्छ आज भनेर सोध्न महाराजगञ्ज गएका थियौं । गिरिजाबाबुलाई भेट्न पाउनुभन्दा पहिला नै त्यहाँ हामीले प्रहरीको ठूलो चहलपहल देख्यौं । केहीबेरमा राजाको सम्बोधन हुने भन्ने कुरा सुनियो । गिरिजाप्रसाद कोइरालाको निवासलाई प्रहरीले पूर्णरुपमा घेर्‍यो । हामी भित्र छिर्नै खोज्दा उल्टो प्रहरीले हामीलाई समात्न खोज्यो । हामी बाहिर आएर हाम्रो साथी रमेश रायमाझीको मोटरसाइकलमा चढेर प्रदीप र म दुवैजना त्यो ठाउँ छाडेर गयौं ।

सामाकोशीको एउटा कोठामा बस्यौं । घरको परिवारको सदस्य साथीहरुसँग कुराकानी गर्न खोज्यौं । केहीबेरमा टेलिफोन काटियो । हामीले कतै पनि कुरा गर्न पाएनौं । के भइरहेको छ बाहिर केही थाहा पाउन सकेनौं । नवीन्द्रराज जोशी २०४६ सालभन्दा अगाडि पञ्चायतकालमा नेपाल विद्यार्थी संघमा लामो समय काम गरेर आउनुभएको अग्रज दाई हुनुहुन्छ । यस्तो अवस्थाको अनुभव दाईलाई थियो ।

०४७ र ०४८ मा एसएलसी दिएको प्रदीप र मलाई वास्तवमै त्यस्तो अनुभव थिएन । माओवादीले बोल्न नदिएको ठाउँका साथीहरुको छुट्टै अनुभव थियो । हामी काठमाडौंमा हुर्किरहेका मानिसलाई साँच्चिकै बोल्न नपाउँदा, कुरा सुन्न नपाउँदा, आफ्नो कुरा सुनाउन नपाउँदा त्यो भनेको खासमा सोच्न नपाउँदा के हुँदो रहेछ भन्ने कुरा पहिलोपटक अनुभव भयो ।

हाम्रो मनमा त्यो कुरा यति दह्रोसँग बस्यो कि यो लडाईं लड्ने हो अब । हाम्रो अधिकारलाई पुनर्स्थापित गरेर छाड्ने हो । हामी लड्यौं पनि । हामी जित्यौं पनि ।

लामो राजनीतिक संक्रमणपछाडि आएको स्थिर सरकारले जब भटाभट एकपछि प्रारम्भ गर्‍यो ट्रमा सेन्टरबाट चिकित्सक उठाउने कामबाट । त्यसपछि गर्‍यो अर्को काम उपकुलपतिलाई विमानस्थलमा रोकेर । त्यसपछि पशुपति शर्मा गीत हटाउने गर्ने कुरादेखि लिएर प्रनेश गौतमलाई पक्रेर लिएर जाने कुरादेखि लिएर भिटेनको गीत हटाउन लगाउने कामसम्म, यी सबै कुराहरु जब आए, सरकारले गर्‍यो ।

त्यतिबेला म संसदमा बोल्न उभिँदै गर्दा म त्यही कुरा सम्झिन्थेँ । यो कुनै छुट्टै घटना होइन । यसलाई जोडेर हेर्नुपर्छ । यसलाई जोडेर हेर्‍यो भने घटना होइन, घटना पछाडिको नियत थाहा हुन्छ । त्यतिबेला मलाई लाग्थ्यो- यो घटनाले किन हामीलाई मात्रै पोलिरहेको छ ? त्यहीबीचमा सूचना प्रविधि विधेयक आयो । यो विधेयक आएपछाडि मैले समय मागेर संसदमा बोलेँ । संसदमा बोल्दा पनि समर्थन गर्ने खासै साथीहरु हुनुहुन्नथियो ।


संसदको समितिमा गएर फरक मत राखेँ । फरक मतका लागि लड्यौं हामीहरु । अल्पमत र बहुमत भयो । यत्रो लामो प्रक्रिया भयो । हामीले आज यो विषयमा लड्यौं भनेर बाहिर भन्दै गर्दा पनि खासै तिमीहरुले ठिकै कुरामा लड्यौ भन्ने साथीहरु पनि हामीले भेटेनौं । त्यो बेलामा मलाई लाग्यो, अरु नभए पनि कम्तिमा ०६० सालमा हाम्रो उमेरका विद्यार्थीमा रहेको विद्रोहको आगो पनि मरिसक्यो कि क्या हो ?

आज मैले जिउँदा विद्यार्थीहरुलाई माइतीघर मण्डलामा देख्दै गर्दा कम्तिमा कोही त रहेछ भन्ने मलाई लागेको छ । तपाईंहरु सबैलाई म सलाम गर्न चाहन्छु । तपाईहरुको आजको यहाँको उपस्थिति इतिहासमा लेखिनेछ । किन ? म यसको व्याख्या गर्छु ।

तपाईंहरु आज घरमा गएर संविधान पल्टाएर पढ्नुस् । धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउनेदेखि लिएर धारा ४६ देश निकालाविरुद्धको हकसम्म पुग्दा अधिकार नै अधिकारका कुरा लेखिएका छन् । त्यहाँ खान पाउने हक छ । त्यहाँ घरको हक छ । वातावरणको हक छ । पढ्न पाउने हक छ । स्वास्थ्यको हक छ । सबै कुरा लेखिएको छ ।

यो सबै कुरामा धारा १७ मा लेखिएको एउटा वाक्य हटाइदिनुस् । ‘विचार र अभिव्यक्ति स्वतन्त्रताको हक’ अर्थात् बोल्न पाउने हक । यो एउटा हकलाई माइनस गरेर संविधान एकपटक पढ्नुस् त ! यो संविधान र क्युबाको संविधान, यो संविधान र उत्तर कोरियाको संविधानमा तपाईंले एउटा फरक पनि पाउनुहुन्न ।

सबै ठाउँमा लेखिएको हुन्छ- खानाको हक, नानाको हक, छानाको हक सबै संविधानमा लेखिएको हुन्छ । सबै नेताहरुले यसको वाचा गरेका हुन्छन् । सबै राज्यले यसको सम्झौता गरेको हुन्छ । फरक यति मात्र हो- तपाईंले बोल्न पाउनुहुन्छ । तपाईंले प्रश्न गर्न पाउनुहुन्छ । तपाईंले प्रश्न गर्न पाउने हक खोसिएपछि अरु हकको केही पनि अर्थ रहँदैन । त्यसैले अघि बाबुरामजीले सुरुमा भन्नुभयो- वाक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता हक भनेको सबै अरु अधिकार, मानव अधिकारको मूल हो । स्रोत हो । आधार हो । यो नै भत्कियो भने के बाँकी रहन्छ । यो भत्कियो भने केही पनि बाँकी रहँदैन ।

यो विधेयकको धारा धारामा, दफा दफामा छलफल गर्न तयार छु । माननीय मन्त्रीजीले भन्नुभएछ- विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ? प्रत्येक स्थानमा, दफादफामा, शब्द शब्दमा छलफल गर्न तयार छु ।

नपढीकन आएको होइन । पढेर बुझेर आएको हो । हेप्नी हामीलाई । नपढीकन आयो भन्ने । हामीले बुझेर आएको हो । पढेर आएको हो । यो विधेयकको दफादफामा म जान्नँ । लेखेर तपाईंहरुलाई भन्ने कोशिस गरेका छौं ।

प्रधानमन्त्री केपी ओली यति होल्डिङ्को सीईओ हो भनेर प्रदीपजीले भन्नुभयो । प्रदीपजीले यो बोल्न पाउनुहुन्छ कि पाउनुहुन्न ? हाम्रो संविधानले भन्छ- तपाईंलाई लागेको सबै कुरा गर्न पाउनुहुन्छ । तर, तपाईंले जातजातिका बीचमा खलल पुर्‍याउने कुरा बोल्न पाउनुहुन्न । कुनै पनि धार्मिक सम्प्रदायलाई भड्काउने कुरा बोल्न पाउनु हुन्न । तपाईंले गाली बेइज्जती पनि गर्न पाउनुहुन्न । यो प्रदीपजीले बोलेको कुरा गाली बेइज्जती हो भने माइतीघर मण्डलामा बोले पनि गाली बेइज्जती हो, तल रत्नपार्कमा गएर बोले पनि गाली बेइज्जती हो । बेलुका गएर सामाजिक सञ्जालमा लेखे पनि गाली बेइज्जती हो । गाली बेइज्जती के हो र के होइन भन्ने कुरा संविधानले पनि भनेको छ । कानुनले पनि भनेको छ । हामीले बकाइदा गाली बेइज्जती भयो भने सजायँ के दिने भन्ने कुराको लागि फौजदारी संहिता भनेर कानून बनाएका छौं । यदि यो गाली बेइज्जती हो भने त्यो कानूनले प्रदीपजीलाई गाली बेइज्जतीको मुद्दा लाग्छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भने के गर्ने भन्ने कुरा पनि त्यहाँ प्रष्टसँग लेखिएको छ ।

त्यसैले सञ्चारमन्त्री वा सरकारका कसैले भनेजस्तो के बोल्न पाइन्छ र के बोल्न पाइँदैन भन्ने कुरा नबुझीकन विधेयकमा बहस गर्न आएको होइन । तर, यो सबै कुरालाई छाडेर अहिले विधेयकमा के लेखिएको छ ? तपाईले जिस्काउन पाउनुहुन्न भनेर लेखिएको छ । त्यसलाई अहिले सुधार गरेर के बनाइएको छ- तपाईंले निरन्तर जिस्काउन पाउनुहुन्न भनेर लेखिएको छ ।

त्यो भनेको के हो ? प्रदीप जीले आज बेलुकी गएर लेख्नुभयो सामाजिक सञ्जालमा । प्रधानमन्त्री जी तपाईं यति कम्पनीको सीईओ हो । एकपटक जिस्काउनु भयो । एकपटक छुट छ । फेरि लेख्नुभयो । तपाईंले निरन्तर जिस्काउनु भएको कारणले गर्दा तपाईंलाई पाँच वर्ष थुनिएको छ । यो कानूनले भनेको यही हो ।

तपाईंले बोल्न पाउनुहुन्न । तपाईंले लेख्न पाउनुहुन्न । अर्थात् तपाईं सोच्न पाउनुहुन्न । यो बोल्न पाउने, लेख्न पाउने, सोच्न पाउने हक कसलाई मात्रै रहन्छ ? सरकार संगठित अरिङ्गालहरुलाई मात्र रहन्छ । यो रातारात आएको होइन । प्रधानमन्त्री बलियो भएर आउनुभएको होइन् । प्रधानमन्त्री लुते भएर आएको हो । प्रधानमन्त्री कायर भएर आएकाे हो । अस्वस्थ प्रधानमन्त्री हुनुहुन्छ । म स्वास्थ्यलाभको कामना गर्छु । तर, तपाईं मलाई सबैलाई थाहा छ, प्रधानमन्त्री प्रत्येक दिन बेलुका दुई घण्टा, तीन घण्टा सामाजिक सञ्जाल पढ्नुहुन्छ । त्यो सामाजिक सञ्जाल पढ्दैगर्दा जब उहाँ देख्नुहुन्छ- उहाँको बारेमा बोलेको, उहाँको बारेमा टिप्पणी गरेको, उहाँलाई प्रश्न गरेको, उहाँलाई आलोचना गरेको । सहनसक्नुहुन्न । म काम गरेर उत्तर दिन्छु । आलोचना गर्नेहरुको मुखहरु म काम गरेर देखाएरै बन्द गरिदिन्छु भन्ने हिम्मत नेपालको प्रधानमन्त्रीसँग रहेन ।

त्यसैले पहिला आह्वान गर्नुभयो । अरिंगालहरु आऊ । झम्टिऊ भन्नुभयो । आएर झम्टिए । तर, स्वतन्त्र नागरिकहरु भागेनन् । डराएनन् । यो कानून आएको छ । यो कानून निर्माण गर्ने अवधारणादेखि लिएर कुनै पनि काम कसुर हो र कसुरदारले सजायँ प्राप्त गर्दछ भने त्यो दुईटाको बीचको सामञ्जस्यता के रहन्छ भन्ने अवधारणागत कुरादेखि लिएर फौजदारी कानुनसँग जोडिएका कुन कानूनको कुन ठाउँमा आउनुपर्छ भन्ने विषयदेखि लिएर विधेयक त्रुटि नै त्रुटिले भरिएको छ । तर यी सबै कुराहरुको पछाडिको नियत एउटै हो ।

गगन थापा

हामीलाई राम्रोसँग थाहा छ । तपाईंहरुले चलाउने फेसबुक, ट्वीटर, इन्टाग्राम कहीँ दर्ता गर्न जानुपर्दैन । तर, तपाईंहरु कसैले पनि कुनै कुरा लेख्नुभयो भने तपाईंले जहाँ बसेर इन्टरनेट चलाउनुभएको छ, इन्टरनेट सर्भिस प्रोभाइडरले जसलाई उहाँहरुले उत्पत्तिकर्ताको परिभाषाभित्र राख्नुभएको छ, उसलाई सिधा विभागले निर्देशन दिन सक्छ, फलोनाले लेखेको कुरा अहिले नै हटा । हटाएन भने त्यहीँबाट उठाएर ल्याउन सक्छ । हिजो उठाएको भए, गैरकानुनी भयो भन्थ्यौं हामी । तर, आज उठाउन पाउने कानून यो सरकाले बनाउँदैछ । यो सबैले के गर्छ ? यो सबैले भोलि यस्तै कार्यक्रमहरु आयोजक, सहभागी, वक्ता तपाईंहरुको सबै आस्थाले बाँधिनुभएका लडाकुहरु हुनुहुन्छ, तपाईंहरुसँग प्रेरणा छ । तपाईंहरु बोल्नुहोला तर मैले लेखेको आधारमा आज बेलुका कुनै पनि प्रहरी आएर मलाई उठाएर लिएर गएर पाँच वर्ष थुन्न सक्छ भन्ने कुरा भएपछि नागरिकले बोल्न छाड्छ । नागरिकले लेख्न छाड्छ । यो सबै जनतालाई तर्साउन खोजिएको हो । बिस्तारै बिस्तारै जनता तर्सिन थाल्छन् । बोल्न छाड्छन् । सरकारले अहिले यति होल्डिङ्सलाई गरेको जस्तो निर्णय गर्छ, गरिरहन्छ । तर, उसका विरुद्धमा बोल्ने मानिस बाँकी रहँदैनन् ।

किनकी सरकारका विरुद्ध बोल्न डराउँछन् । किनकी मैले बोलेँ भने पाँच वर्ष थुनिनुपर्छ भन्ने डर मात्रले पनि नागरिकलाई बोल्ने कुराबाट वञ्चित गराउँछ । यही गर्न खोजेको हो सरकारले । नागरिकलाई तर्साउन खोजेको हो । यो सरकार आफू कमजोर र कायर भएपछि नागरिकलाई तर्साउन खोज्दैछ । बहुमत के को लागि ? यतिधेरै अधिकार के को लागि ? नागरिकलाई बलियो बनाउनका लागि होइन । नागरिकलाई थप कमजोर बनाउनका लागि हो ।

नवजवान युवा साथीहरु, तपाईंले खोजेको देश कस्तो हो ? तपाईले खोजेको समाज र व्यवस्था कस्तो ? हामी जे गरिरहेका छौं, त्यसबाट सन्तुष्ट छैनौं । तर, सन्तुष्ट छैनौं भनेर भन्न पनि नपाउने व्यवस्था खोजेको हो ? म कांग्रेसलाई मात्रै भन्दिनँ । म नेविसंघलाई मात्रै भन्दिनँ । म अखिलका साथीहरुलाई पनि भन्छु । हामीले चाहेको व्यवस्थामा त तपाईंको केपी ओलीलाई मात्र होइन, शेरबहादुर देउवालाई पनि प्रश्न गर्न पाउने व्यवस्था हो । तपाईंले मेरो पनि आलोचना गर्न पाउने व्यवस्था हो । तपाईंले मलाई पनि प्रश्न गर्न पाउने हो । हामी सबैले सबैलाई प्रश्न गर्न पाउने, आलोचना र प्रसंशा गर्न पाउने व्यवस्था हो । आफ्नो मत राख्न पाउने व्यवस्था हो । सबैले स्वतन्त्रतापूर्वक, भयरहित वातावरणमा गर्न पाउने हो । यस्तो हक पाइन्छ कि पाइँदैन ? यो अधिकार पाइन्छ कि पाइदैन ?

म नेकपाका साथीहरुलाई पनि पटक पटक भन्दै आएको छु । तपाईं पनि सोच्नुहोला । आज यो विधेयक बन्यो भने कांग्रेसका साथीहरु थुनिएलान् भनिठान्नु भएको होला । थुनिने काम हाम्रो मात्रै होइन । भीम रावल र रामकुमारीहरु पनि थुनिन्छन् । याद गर्नुहोला- श्री ६ बडामहारानी भण्डारीकी जय, श्री ५ महाराजधिराज केपी ओलीकी जय र श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्ने मान्छे बाँच्यो । बाँकी मान्छे गयो । यही हो गर्न खोजेको । बोल्ने हो कि होइन अहिले ? हिम्मत छ कि छैन अहिले ?

विषय यति मात्र होइन । एकपटक सरकारले ल्याएका विधेयकहरुलाई सरसर्ती हेरौं । कल्पना गर्नुहोस् । सरकारले ल्याएका विधेयक कानून बन्यो भने तपाईं आज यति धेरै प्रेसका साथीहरु आउनुभएको छ । तपाईंले के लेख्ने र के नलेख्ने तपाईंले निर्धारण गर्ने होइन, अस्ति (बालुवाटारमा) मुट्ठी कस्ने पत्रकार साथीहरुले निर्धारण गर्ने हो तपाईंले के लेख्ने कि नलेख्ने । सरकारले भनेको कानून बन्यो भने लोकसेवा आयोगले परीक्षा लिने होइन, अब सरकारले लिने हो परीक्षा । सरकारले तोक्ने हो को कर्मचारी हुने र को कर्मचारी नहुने भनेर । सदन त पहिलेदेखि थुरथुर बनाएको छ । सदनको सभामुख प्रधानमन्त्रीको छायाँ बनेर लामो समयसम्म बस्नुभयो । हेर्नुहोस् त अहिले संसदको सभामुख छान्ने विषय । अब आउने तिथीमितिमा पनि छान्नेवाला छैन । पार्टीको विभागको प्रमुख छान्नेजस्तो सदनलाई बनाइएको छ । संसदलाई यस्तो बनाइयो ।

अदालतलाई पनि डराएर थुरथुर बनाइएको छ । अख्तियारको नङ्ग्रा, हात, दाँत सबै निकाल्न खोजिएको छ । मानव अधिकार आयोगलाई पंगु बनाइएको छ । यो सबै कुरा गरेर सबैतिरका अधिकार जम्मा एउटा प्रधानमन्त्रीमा लिएर बस्ने, राजाजस्तो बन्ने र नागरिकको स्वतन्त्रताको हक छिनेर नागरिकले प्रश्न गर्न नपाउने बनाउने । नागरिकले विचार गर्न नपाउने बनाउने । मत राख्न नपाउने बनाउने । सबै कानून पास भयो भने बन्ने यही हो । अनि यो कानून रोक्ने कसले हो ? यो कानून रोक्नका लागि हामी संसदमा थोरै छौं । संसदीय व्यवस्था टाउको गनेरै चल्छ । सरकारले चाहँदै गर्दाखेरी यी सबै कानूनलाई संसदबाट पारित गर्न सक्छ । किनकी ऊसँग संख्याको तागत छ ।

संख्याको तागतले उसले पारित गर्न खोज्दै गर्दा हामी थोरै भए पनि लड्छौं । हाम्रो अधिकारका लागि लड्छौं । हाम्रो स्वतन्त्रता र भविष्यका लागि लड्छौं । हाम्रो लडाईंका लागि संख्या पुग्दैन । त्यो संख्यालाई तागत सडकबाट चाहिएको छ । अब संसदमा हाम्रो लडाईं हुँदै गर्दा यी सबै सवालहरुमा तपाईंहरु सडकमा आउने हिम्मत गर्नुपर्छ । अनि सडकको तागतले संसदमा केपी ओलीलाई घुँडा टेकाउने काम हाम्रो हो । हेपेर होइन, आडम्बर गरेर होइन, प्रधानमन्त्री के कुराको लागि लड्नुभयो, त्यही कुरालाई सम्झाएर ठीक ठाउँमा ल्याउने जिम्मा हामी पूरा गर्छौं । तर, संसदको तागतले मात्रै पुग्दैन यो । सडकको तागत हामीलाई चाहिन्छ । आम जनताको साथ हामीलाई चाहिन्छ ।

त्यसैले म के कांग्रेस, केम्युनिष्ट, के अरु पार्टी म केही भन्दिनँ । म तमाम सबै नवजवान साथीहरुलाई आग्रह गर्दछु । काठमाडौंबासीलाई आग्रह गर्दछु- तपाईं अस्ति भर्खर गुठी विधेयकको बेलाको आफ्नो अवस्था सम्झनुहोस् । त्यही गुठी विधेयकमा हामी संसदमा बोल्दै गर्दा हाम्रो संख्याले पुगेन । तपाईंहरु सडकमा आउनुभयो । तपाईंहरु बोल्नुभयो । त्यही तागतले सरकार झुक्यो । सरकारले पुनः त्यही विधेयक ल्याउँदै गर्दा त्यो भन्दा पहिला यो कानून बन्यो भने यसपछि तपाईंले त्यो तागत राख्न सक्नुहुन्न । किनकी त्यो बेला तपाईं बोल्न पाउनुहुन्न । त्यो बेलामा तपाईं लेख्न पाउनुहुन्न । त्यसैले प्रत्येकको कुरा जोडिएको छ यहाँ । प्रत्येकको हक र अधिकार जोडिएको छ । यो कुनै एउटा व्यक्ति वा पार्टीको मात्रै कुरा होइन । यो आधारभूत कुरा हो ।

त्यसैले म विद्यार्थीलाई, पत्रकारलाई, फरक पार्टीका साथीहरुलाई र आम जनतालाई अपिल गर्न चाहन्छु- आउनुहोस् एकपटक सडकमा आउनुहोस् । लेख्नुहोस् । बोल्नुहोस् । भन्नुस् आफ्नो ठाउँबाट । यो विधेयक मान्दैनौं भन्नुहोस् । केही दिनमा सदन सुरु हुन्छ । सदनमा हामी यसलाई रोक्नका लागि हामी आफूले गर्नुपर्ने काम गर्छौं । तर, हामीलाई तागत दिनुहोस् । हाम्रो तागतबाट ठिक ठाउँमा सरकारलाई लेराऊँ । ठिक ठाउँमा हाम्रो कानूनहरुलाई ठिक बन्ने अवस्था बनाऔं । यसका निम्ति यहाँहरु सबैलाई हार्दिक आग्रह गर्दछु ।

(सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा गरेको विरोध कार्यक्रमलाई थापाले गरेको सम्बोधनको सम्पादित अंश)

The post सडकबाट तागत दिनुस्, संसदमा ओलीलाई घुँडा टेकाउँछौं appeared first on Sajha Post.


चीनका लागि अवसर बन्न सक्छ इरान-अमेरिका तनाव

$
0
0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शक्तिशाली सैन्य नेता कासिम सुलेमानीको हत्या गर्ने आदेश दिए । आदेशअनुसार मानवरहित ड्रोन आक्रमणमा सुलेमानीको मृत्यु भयो । भन्न सकिन्नँ यो आदेश ट्रम्पले सोचविचार गरेरै दिए वा सनकमा । सुलेमानीको मृत्यले अमेरिका-इरानबीच युद्ध हुन सक्ने सम्भावना बढाएको छ । यो युद्ध भएमा अमेरिका पनि हार्नेछ र इरान पनि । जित्ने एउटा मात्र देश हुने छ- चीन ।

ट्रम्पको यो गल्तीले इतिहास आफैं दोहोरिएको त छैन तर इतिहासको पुनरुक्ति हुन खोज्दैछ । सन् २००१ को जनवरीमा जब जर्ज डब्लु बुस आफ्नो राष्ट्रपतीय कार्यकाल प्रारम्भ गर्दै थिए- उनका नवसम्वर्द्धनवादी सल्लाहकारहरुले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो र दीर्घकालीन जोखिमका रुपमा पहिचान गरे । बुस प्रशासनले चीनलाई मुख्य रणनीतिक प्रतिस्पर्धी ठहर गर्‍यो र एशियाली प्रतिस्पर्धीहरुलाई माथ दिने योजनामा जुट्यो ।

त्यस्तो योजनाको एक महिनाभित्रै सन् २००१ को अप्रिलमा दक्षिण चिनियाँ सागरमा चिनियाँ लडाकु विमानको निगरानीमा रहेको अमेरिकी नौसेनाको जासुस विमान दुर्घटनामा पर्‍यो । तुरुन्तै अमेरिकाले ताइवानमा भइरहेका चिनियाँ पक्षधर आन्दोलनलाई लक्षित गर्दै ताइवानलाई हतियार बेच्ने घोषणा गर्‍यो । सन् १९७९ मा अमेरिका र चीन बीचको सम्बन्ध सामान्यीकरण भए यता द्विपक्षीय कुटनीतिक सम्बन्ध सबैभन्दा नाजुक विन्दूमा ओर्लियो ।

सन् २००१ को सेक्टेम्बर ११ को घटनाले सबै चिज उलटफेर गर्दियो । यो घटना अमेरिकी इतिहासकै सबैभन्दा दूर्दान्त आतंकवादी हमला थियो । यो घटनाले अमेरिकालाई अल काइदाविरुद्ध युद्ध थाल्न व्याकुल बनायो । त्यसको २ बर्षपछि एशियाली प्रतिद्वन्द्वी र दुश्मनहरु तह लगाउने उद्देश्यले इराकमाथि आक्रमण गर्‍यो । यी सबै कार्य गरिरहँदा अमेरिकाले टाढाबाट उदाइरहेको एशियाली महाशक्तिको प्रेतलाई बिर्सेको थियो ।

त्यसको ठीक ३ महिनापछि अमेरिकाले विश्व व्यापार संगठनमा चीनको प्रवेशलाई स्वीकार गर्दै हस्ताक्षर गर्‍यो । यो एउटा यस्तो कारण बन्यो जसले चीनको अर्थतन्त्रलाई सबैभन्दा द्रुत गतिको गियरमा पुर्‍यायो । सन् २००० मा चीनको कुल आर्थिक उत्पादन १.२१ ट्रिलियन अमेरिकी डलर बराबर थियो, त्यो अमेरिकाको कुल ग्राहस्थ उत्पादनको १२% भन्दा पनि कम थियो । जर्ज बुसको दोस्रो कार्यकालको अन्त्य सन् २००८ मा चीनको कुल आर्थिक उत्पादन ६ ट्रिलियन डलर पुग्यो जुन अमेरिकाको भन्दा ३१% ले बढी थियो ।

आज चीनको जिडिपी अमेरिकाको लगभग ६५% को हाराहारीमा छ । यसको अर्थ हो– चीनको आर्थिक चमत्कार अमेरिकाको सेक्टेम्बर ११ को हमलाको ऋणी छ । अझ बुस प्रशासनको गलत क्रियाकलापको आर्शिवादले अनुग्रहित । आजको दुई दशकपछि सुलेमानीको हत्याका बारेमा पनि ठीक यस्तै विश्लेषण गर्नुपर्ने दिन आउने छ । बुसजस्तै जब ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरे, उनको प्रशासनले ट्रम्पको टाउकोमा सबैभन्दा बढी चीन मार्का रिङ्ने बनायो ।

मीन छिङ पेई

ट्रम्पले तुरुन्तै चीनसंग व्यापार युद्धको घोषणा गरे । यो पहिलो चरणको कार्य बुसले चीनलाई दीर्घकालीन रणनीतिक प्रतिस्पर्धी घोषणा गरेझैं पहिलो चरणको कार्य थियो । तर यस्तो घोषणापछि लिनुपर्ने नीति वा समाधान के हो भन्ने कुनै प्रष्टता थिएन । ट्रम्पले केवल भयानक शक्ति–संघर्षको अवधारणालाई पुनर्जीवित गरे । साथै अमेरिकी विदेश नीतिलाई चीनसंगको स्पर्धाका लागि केन्द्रित गरे ।

त्यसपछि ट्रम्पले सुलेमानीको हत्या गरे । अहिले सबैको ध्यान इरानतिर फर्किएको छ । यदि यो द्वन्द्व बढ्दै गयो, यदि यो तनाब युद्ध विना नै अनुकुलन गर्ने हो भने पनि अमेरिकाले आफ्नो स्रोतसधान इस्लामिक राष्ट्र इरानतिर केन्द्रित गर्नुपर्ने हुन्छ– जसरी सेक्टेम्बर ११ को घटनापछि अलकाइदा र इराकतिर केन्द्रित भएको थियो । यसले चीनको विदेश नीतिलाई पछाडिबाट आगो झोस्ने खालको बनाउन मद्धत गर्नेछ ।

यस्तो वेलामा चिनियाँ राष्ट्रपति सि जिङ पिङले यो मोडलाई कुशलतापूर्वक उपयोग र पुँजीकरण गर्ने छन् ।

मध्यपूर्वमा हुने घटनाहरुले चीनका लागि नयाँ रणनीतिक अवसरहरु सृजना गर्नेछन् । यस्तोबेला इरानलाई समर्थन गर्नु र अमेरिकी प्रतिबन्धका बाबजुद भित्रभित्रै इरानी तल आयात गर्नु उचित हुने ठहर सि जिङ पिङले बनाइ सकेका छन् । ट्रम्पलाई ढाँटेर इरानलाई हतियार आपूर्ति गर्नु चीनको अर्को गुह्य कदम हुनेछ । इरानले सन् २०१५ को आणविक सम्झौता मुताबिक हतियार उत्पादनलाई सीमितीकरण नगर्ने घोषणा गरिसकेको छ ।

चीनले यो घटनामा आफ्नो संलग्नता र भूमिकालाई सीमित गरेजस्तो गर्ने छ तर सबै सूचनाहरु नलिइकन बस्ने छैन । देशको बढ्दो शक्ति र यसमाथि अमेरिकी रुचि र प्रतिस्पर्धाको सन्दर्भमा इरान–अमेरिका तनावका सबै पक्षमा चीनले पक्का ध्यान दिनेछ । यदि इरानी नेताहरुलाई लाग्यो कि ट्रम्प बुसले झैं कमजोर कदम चाल्दैछन्, उनीहरुले चीनसंग मिलेर प्रतिकारको कुनै साहसिक योजना बनाउन सक्दछन् । जहाँसम्म वासिङ्गटन नीतिको कुरा छ, अमेरिकी अधिकारीहरुले चीनलाई सरोकारभन्दा पूरै बाहिर राखेर इरानसँग प्रतिरोध गर्ने नीतिको पैरवी गर्न बेर छैन ।

तर, ट्रम्पको आफ्नै हिसाबकिताब भने आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा मतदाता सामू एउटा ‘कडा केटो’ को छवी बनाउनुभन्दा बढी छ जस्तो लाग्दैन । सन् २०११ मा रिपब्लिकनहरुले बाराक ओबामालाई यस्तै आरोप लगाएका थिए । ओबामका सल्लाहकारभन्दा ट्रम्पका सल्लाहकारहरु कम साइको छन् जस्तो लाग्दैन ।

बुसले १७ बर्ष अघि गरेका गल्तीहरुले अमेरिकी अर्थतन्त्र र स्पर्धाको स्थिति जसरी मोडियो, ट्रम्पले पनि त्यस्तै गल्ती दोहोर्‍याउन लागेका त हैनन् ? यदि त्यसो भएमा ट्रम्पका ट्वीटहरुले दिने आशा झनै संदिग्ध हुनेछ र नयाँ बर्षले सि जिङ पिङका लागि सोचभन्दा धेरै उत्साह थप्नेछ ।

(लेखक अमेरिका स्थित जर्मन मार्सल फण्डका अनुसन्धनकर्ता हुन । उनको यो आलेख साझापोस्टले साउथ चाइना मर्निङ पोष्टबाट भावानुवाद गरेको हो)

Illustration: Craig Stephens

The post चीनका लागि अवसर बन्न सक्छ इरान-अमेरिका तनाव appeared first on Sajha Post.

‘राष्ट्रवाद’को एकांगी राग

$
0
0

आज पुस २७, अर्थात् पृथ्वीनारायण शाहको जन्म दिन, जुन दिनलाई ‘पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस’ भनी मनाउने चलन छ। २०६२/०६३ को आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै यो दिनमा विगतमा दिईंदै आएको सार्वजनिक विदा भने कटौति गरिएको छ । यद्यपि अहिले कतिपयको माग यस दिनको सार्वजनिक विदा कायम गरियोस् भन्ने छ।

यो दिनलाई लिएर इतिहासका अध्येताहरुबीच पनि केही मतभिन्नताहरु छन् । अनि तीनै मत भिन्नताको श्रृंखला अहिले सार्वजनिक बहसमा ओर्लिएको छ । पक्ष र विपक्षमा बहस पैरवी सुरु भएको छ । यद्यपि लिखत मै सहि, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नागरिक भएका छौं । त्यसैले गणतन्त्र घोषणा कै दिन खासमा ‘राष्ट्रिय एकता दिवस’ हो नि, कुनै एक अमूक शासकको जन्मदिनलाई कसरी राष्ट्रिय एकता दिवस मान्ने ? माथिको बहसमा यो प्रश्न पनि सँगै जोडिएको छ ।

अनि लौ पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनलाई नै राष्ट्रिय एकताको आधार मान्दा पनि उनी व्यक्ति पृथ्वीनारायणलाई मान्ने कि उनको कामलाई ? यदि कामलाई मान्ने हो भने अहिलेको नेपालको भूगोल कायम हुने क्रममा गोर्खा राज्यले अन्तिम पटक विजयी प्राप्त गरेको दिनलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्नुपर्‍यो । जहाँसम्म पुस २७ को कुरा छ, यो चैं बढी व्यक्तिपूजन नै हो । इतिहासमा खास शासकीय स्वार्थ पूर्ति गर्नका लागि चलाइएको प्रचलन हो भन्दा अत्युक्ति नहोला ।

यद्यपि यो आलेखमा राष्ट्रिय एकता दिवस मुख्य चर्चाको विषय भने होइन । यसमा खासगरी लेखिएका–लेखाइएका, पढिएका–पढाइएका इतिहासहरु कति पूर्ण हुन्छन् ? ती कति सत्यतथ्यको नजिक हुन्छन् ? तिनमा कत्तिको जनविश्वास गढेको हुन्छ ? तिनले कसरी शासकीय स्वार्थ पूरा गरेका हुन्छन् ? यस्तै विषयमा केही जिज्ञासा छाड्ने प्रयत्न मात्र हो ।

मनिकर कार्की

पृथ्वी नारायण शाह को थिए, को थिएनन् ? के हुन् के हैनन् ? यो विषयमाथिको बहस इतिहासकारहरुलाई नै छाडिदिउँ । यत्ति धक फुकाएर भन्न सकिन्छ कि उनी तत्कालीन समयका एक कुशल, रणनीतिकरुपले चार्तुय योद्धा र सूरा शासक थिए । सत्ताको उत्कट महत्वाकांक्षा बोकेका एक लडाकू शासक थिए । उनको गोर्खा राज्य त्यो बेला कमजोरहरुकै प्रतिनिधित्व गर्ने राज्य थियो । आफ्नो राज्यको त्यो बेलाको गरिबी र निम्न अवस्थाबाट माथि उक्सिने अनेकन उपाय मध्ये उनले गोर्खा साम्राज्यको विस्तारलाई अंगिकार गरे । अनि त्यो बेलाको आवश्यकता पनि भूगोल विस्तार गर्ने नै थियो । भूगोल जोडेर ठूलो राज्य हुँदा शक्ति बढ्ने हुँदा सबैले आफ्नो क्षमताले भ्याएसम्म राज्य विस्तारमै ध्यान दिन्थे । अनि राज्यहरुको निर्माण र विनिर्माण, विस्तार र संकुचन केवल युद्धबाटै हुन्थ्यो । यहाँमात्र हैन संसार भर त्यसैगरी राज्यहरु बन्थे र भत्कन्थे ।

नेपालमा पनि त्यही भयो । त्यही उपक्रममा पृथ्वीनारायण शाह अब्बल प्रमाणित भए । उनले तत्कालीन गोर्खा राज्य विस्तारमा सफलता हासिल गरे । न त उनको अभियान राष्ट्रिय एकताको भावनाले नै प्रेरित थियो, न त उनले त्यसरी तत्कालीन गोर्खा साम्राज्यमा गाभिएका स-साना राज्य र त्यहाँका ‘रैती’हरुलाई नै मानवोचित व्यवहार गरे । खासमा उनको अभियानसँगै भाषा, भेष, बोली, संस्कृति इत्यादिमा ‘गोर्खानाइजेसन’ सुरु भयो र कालान्तरमा त्यसैलाई ‘नेपालीकरण’ गरियो । खास कुरा चैं यत्ति हो ।

अब इतिहास लेखन र त्यसको बजारीकरणप्रति केही जिज्ञासु दृष्टि लगाऔं ।

१. जहिल्यै पनि समाज चलाउने शासक वर्गले नै हो । सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हुँदैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जाँचपड्ताल हामी नतमस्तक भएर स्वीकार गर्छौं ।

२. अहिलेसम्मको हाम्रो नियति पनि यहि हो कि इतिहासमा हामीले कहिल्यै पनि प्रश्न गरेनौं । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिङ्गल खियाउनुपर्छ । त्यो लेठो कसले गरोस् ? जे चलेको छ, त्यसैलाई ठीक मान्यो बस् ।

३. हाम्रो परम्परा खासमा व्यक्ति पूजक हो । हामी कसै न कसैको प्रतिमान खडा नगरी बस्नै सक्दैनौं । किनकि आस्थाको विभ्रममा बाँच्ने बानी जो हामीलाई परेको छ । त्यसैले नायकहरुको निर्माण नेपाली समाजको चरित्र हो । अनि यो चरित्र हाम्रो विवेकले निर्माण भएको हैन । खासमा हामीलाई पत्तै छैन कि हामी के भन्दैछौं । किनकि हाम्रो मानसिकतामा सत्ताको राज चलेको हुन्छ । हामी सत्ताकै भाषा बोलिरहेका हुन्छौं । यो सत्ताले निर्माण गरेको सांस्कृतिक विरासत हो ।


४. इतिहास शासकहरुले नै लेख्छन् । खास उद्देश्य पूरा गर्नका लागि शासकहरुले नै इतिहास लेखाउँछन् । नेपालको इतिहासको सन्दर्भमा शाहवंशकेन्द्रित इतिहास लेखनको व्यवस्थित सुरुवात महेन्द्रले गराएका हुन् । त्यसैले त्यो इतिहास लेखनमा शासकीय स्वार्थ थियो नै । हामी त्यही इतिहास पढेर ‘जान्नेसुन्ने’ भएका पुस्ता हौं । अब हाम्रो बुझाई र ज्ञानमा सत्ताको नियन्त्रण नहुने कुरै भएन ।

५. अब पृथ्वीनारायण शाहको कुरा गरौं । पृथ्वीनारायण शाहको जसरी अहिले एकथरी मान्छेहरु महिमामण्डन गरिरहेका छन्, त्यो वीरताको व्याख्या र विश्लेषण उनको पालादेखि अर्थात् वि.सं. १८२५ देखि नै कायम थियो ? वा त्यो निकै पछि मा लेखियो ? इतिहासका अध्येताहरु भन्छन्– २००७ साल अघिका जनश्रुती, लेखौट, साहित्य, लोक कथाहरु इत्यादिमा उनका ‘दिव्योपदेश’ र ‘एकीकरण अभियान’बारे खासै उल्लेख छैन । त्यसो हो भने यी इतिहासका गाथाका आधिकारिक स्रोत के हो ? सम्भवतः सत्ता । सम्भवतः दरबार ।

६. इतिहासका अध्येताहरु भन्छन्– खासगरी १९९० को भुकम्पपश्चात् जसरी नेपालीकरणको प्रक्रिया आरम्भ भयो पृथ्वीनारायणसंगै भानुभक्त, अमरसिंह, बलभद्र, भीमसेन लगायतको योगदानबारे लिखत सुरु भयो । यसरी महानायकहरुको विम्ब पनि किन कुनै कालखण्डमा मिसनको रुपमा निर्माण गरियो ? किन त्यसलाई आमरुपमा स्वतन्त्र छाडिएन ? अनि त्यो तत्कालीन समयदेखि नै अघि बढाइएन ? किन हामीले ती वीर पुरुषहरुको गाथा सुन्न पञ्चायत नै कुर्नुपर्‍यो ? के त्यसअघि हाम्रा पुस्ताहरुलाई चैं नेपाल चाहिएको थिएन ? त्यसअघिका पुस्तालाई चैं आफ्नो इतिहास चाहिएको थिएन ? झन् मुलुक बनाउने र बचाउने पुस्ताहरुले चैं किन केही पनि लेख्नुपर्ने, भन्नुपर्ने, सिर्जना गर्नुपर्ने आवश्यकता महशुस गरेनन् ?

७. यी सबै इतिहास हेर्दा शाहवंशको इतिहासमा शासकीय मनोकांक्षा नै प्रदर्शित हुन्छ । त्यसैले यत्ति भन्न सकिन्छ कि– नेपालको इतिहास लेखिएको हैन, लेखाइएको हो । दरबारले इतिहास लेख्न केही इतिहासकारलाई खटाएको तथ्य कतैबाट लुकेको छैन । अनि सत्ताले लेखाएको इतिहासमा जहिल्यै शासकीय समुदायको महिमा मात्रै हुनु किमार्थ अनौठो हैन । नत्र किन राज्य निर्माणकै क्रममा लडेका भिडेका अन्य समुदायहरुको चर्चा छैन ?

८. पृथ्वीनारायणको तत्कालीन गोर्खा राज्य विस्तारलाई बिपीदेखि पुष्पलालसम्मले पनि ‘राष्ट्रिय एकीकरण’ भनेका छैनन् । अनि हामीलाई चैं त्यही पगरी गुथाउन किन हतारो ? यत्ति बुझौं पञ्चायतकालमा निर्माण गरिएका इतिहासका गाथा पढेर ‘राष्ट्रवादी’ कहलिएका हामीभन्दा अर्ग्यानिक इतिहास नै पढेका थिए होला, बिपी र पुष्पलालहरुले । के उनीहरु अराष्ट्रिय भएरै पृथ्वीनारायणको अभियानलाई एकीकरण नभनेका हुन् ?

९. पृथ्वीनारायण शाहको न त देवत्वकरण नै जरुरी छ, न त दानवीकरण नै उचित छ । बस् उनको पनि एउटा उद्देश्य थियो । उनी पक्कै पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि हिंडेका थिएनन् । उनी आफ्नो राज्य विस्तार गरी ठूलो राज्यको सम्राट हुने मनोकांक्षा पालेर हिंडेका थिए । उनले आफ्नो अभियान सफल पार्ने अधिकतम् प्रयत्न गरे र उनकै पदाचाप पच्छ्याउंदै उनका पुस्ताहरुले पनि गोर्खा साम्राज्यको विस्तारमा भूमिका खेले ।

इतिहास लेखन र त्यसको बजारिकरणको फलकमा हेर्दा आधुनिक नेपालका ‘राष्ट्र निर्माता’ कहलाइएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुले तत्कालीन गोर्खा साम्राज्यको विस्तारलाई नै मुख्य ध्येय बनाएका थिए । पृथ्वीनारायण शाहले युद्धमार्फत विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । ठीक छ, त्यो बेलाको आवश्यकता त्यही थियो । अनि ती गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रितिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा गोर्खा राष्ट्रियताको निर्माण भयो र त्यसैको नेपालीकरणको रुपमा अहिलेको ‘नेपाली राष्ट्रियताको डिस्कोर्स’ निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कार्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरु हुन्छन् भन्दा जिब्रो टोक्नु पर्ने अवस्था आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता भनाइयो र हामीले त्यही अनुशरण गर्दै आयौं । अहम् हामीलाई कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन ।

एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम वर्णन गर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहाँ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो । महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए, त्यो हो भूगोलको एकतामा एकल सामुदायिक वर्चस्वको सांस्कृतिक हस्तक्षेप ।

के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ ? अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको ‘उपमा’ मात्रै हो ? जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने ।

राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहुराष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक साँच्चिकै राष्ट्र बन्नेछ ।

यी प्रश्नहरुले इतिहासमा कसैको योगदानको अवमूल्यन गर्दैन, बरु थप प्रश्न गर्छन्। पुस २७ कै उदाहरण हेर्दा, जसरी पृथ्वीनारायण शाहको महिमामण्डन गरिंदैछ, त्यो चैं बढी भयो । उनी उनको समयका एक कुशल लडाकु राजा थिए । अनि त्यो बेला त्यस्तै राजा चाहिन्थ्यो, किनकि त्यो राज्यहरुको निर्माणको बेला थिए । भूगोल बढाउने बेला थियो । त्यो आज पढाइने विषयजस्तो एकीकरणको महाअभियान भने कदापि थिएन ।

हामी इतिहासको निर्माण कसरी हुन्छ र कसरी गरिखाने वर्गलाई इतिहासले पाखा लगाउँछ ? त्यसबारे घोत्लिने चेष्टै गर्दैनौं । अनि भन्छौं– ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ । अझै पनि सयौं थुंगामै छौं, हामी अहँ ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दै सोचेका छैनौं । त्यसैले यत्ति त भन्नै पर्छ, राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको साँघुरो परिभाषा मात्र होइन । यो फगत भूगोल मात्र पनि होइन । यो एउटा सभ्यता अनि देश र जनताको समृद्धि पनि हो । साँच्चै भन्नुपर्दा राष्ट्रियता जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरुको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो । त्यसकारण यत्ति चैं बुझ्नैपर्छ कि, राष्ट्रवादको एकांगी रागले हाम्रो देश साँच्चिकै अर्थमा राष्ट्र बन्न सक्दैन ।

The post ‘राष्ट्रवाद’को एकांगी राग appeared first on Sajha Post.

पहिचानको चिहानमाथि कांग्रेस–कम्युनिष्टको विजयोत्सव

$
0
0

प्रदेश–३ को प्रदेशसभाले प्रदेशको नाम ‘वागमती’ र राजधानी ‘हेटौंडा’ राख्ने तय गरेको छ । समाजवादी पार्टी बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीले यो प्रस्तावमा सहमति जनाएका छन् । यद्यपि यो प्रस्तावमा विमति राख्ने सभासद कांग्रेस–कम्युनिष्टभित्रै दर्जनौं थिए । तर, आ-आफ्नो पार्टीको ह्वीप मान्न उनीहरु बाध्य भएका छन् ।

त्यस्ता सभासदले ‘बिष पिएको’, ‘पार्टी निष्ठाका लागि आफ्नो खुट्टामा आफैं बञ्चरो हानेको ’, ‘आफ्नो मतविरुद्ध आफैंले मतदान गरेको’ जस्ता लाचार अभिव्यक्ति दिए । पार्टी ह्वीप नेपालको संसदीय प्रणालीको कठोर यथार्थ हो । विकसित लोकतान्त्रिक मुलुकमा यस्तो गरिँदैन । सामान्य संसदीय प्रक्रियासँग जोडिएका वा सरकार ढाल्ने वा टिकाउनेजस्ता बिषयमा मात्र ह्वीप हुन्छ । दीर्घकालीन नीतिगत बिषयमा स्वविवेकको स्वतन्त्रता हुन्छ ।

बेलायतमा ब्रेक्जिट हुँदा पक्ष र विपक्ष दुवैतिर टोरी नेताहरु थिए । पक्षमा अहिलेका प्रधानमन्त्री बोरिस जोन्सन र बिपक्षमा तत्कालीन प्रधानमन्त्री डेबिट क्यामरुनले प्रमुख भूमिका गरेका थिए । त्यतिखेर क्यानमरुनले जोन्सनमाथि कुनै ह्वीप लगाएनन् । बरु ब्रेक्जिटको विजयपछि आफैं प्रधानमन्त्रीबाट राजीनामा दिए ।

अहिले प्रदेशसभामा मात्र हैन, हिजो संविधानसभामा पनि त्यही गरिएको थियो । यो पद्धतिले लोकतन्त्रको मूल्यमान्यतालाई संकुचन गरेको छ छैन, संसदीय प्रणालीमा कुनै पनि निर्णय स्वतन्त्र विवेकमा आधारित हुँदैन भन्ने सन्देश पनि दिएको छ ।

पहिचान नेपाली राजनीतिमा पछिल्लो दशकको सबैभन्दा चर्चित मुद्दा थियो । उत्पीडित राष्ट्रियताहरुको मुक्ति, भाषिक/सांस्कृतिक अधिकार, आत्मनिर्णय, स्वशासन र स्वायक्तताको अधिकार, समावेशिता र सकारात्मक विभेद, सीमान्तकृत समुदायको मूलप्रवाहीकरण जस्ता शब्द राजनीतिको केन्द्रीय वृतमा घुमिरहे । यसैका नाममा ठूल्ठूला आन्दोलन र बलिदान भए ।

मधेश आन्दोलन भयो । सयौंले जीवन दिए । हज्जारौं घाइते/अपाङ्ग भए । थारु विद्रोह भयो । टिकापुर घटनाजस्तो उत्कर्षमा पुग्यो । आदिबासी/जनजाति आन्दोलन भए । १० बर्षे माओवादी जनयुद्धको एउटा प्रमुख मुद्दा उत्पीडित राष्ट्रियताहरुको मुक्ति थियो । युद्धकालीन माओवादी पार्टी संगठन नै १३ प्रदेशमा बनेको थियो । त्यो विद्रोहमा १७ हजार बढी नेपालीले जीवन गुमाएको ठान्छिन ।

संविधानसभाभित्र राज्य पुनर्संरचना समिति नै थियो । त्यसले पहिचान र सामर्थ्यको परिभाषा गर्‍यो । १४ प्रदेशको प्रस्ताव अगाडि ल्यायो । त्यसले पनि पुगेन । राज्यले आफैं राज्य पुनर्संरचना आयोग बनायो । ११ प्रदेशको मोडेल अगाडि आयो । अन्ततः यी सबै प्रक्रिया ढुस भए । कांग्रेस–कम्युनिष्टको कोठे बैठकले ६ प्रदेशमा जाने निर्णय गर्‍यो । संविधानसभामा ह्वीप लगायो । त्यसपछि पनि कर्णाली विद्रोह भयो । थरुहट विद्रोह भयो । कर्णाली विद्रोह सम्बोधन भयो । थरुहट विद्रोह सम्बोधन भएन ।

प्रदेश–३ को निर्णयसंगै कांग्रेस–कम्युनिष्ट वृतमा खुशीयाली छाएको छ । उनीहरुले हेटौडामा पहिचानको विधिवत् दाहसंस्कार भएको, त्यसको चिहानमाथि विजयोत्सव मनाएको छनक दिएका छन् । पहिचानको विपक्षमा रहेका विश्लेषकहरुले खुशीलायीमा लेखेका छन्– पहिचानको अन्त्य भयो । सबै पहिचानहरु वागमतीको पवित्र (फोहोर ?) पानीले बगायो । हेटौडामा पहिचानकोे सद्गत गरियो ।

प्रदेश ३ को नाम वागमती राख्नु कुनै नयाँ कुरा हैन । यसअघि नै खस साम्राज्यको ऐतिहासिकतामा बनेको खसान, सिन्जा वा जुम्लाले आफूलाई ‘कर्णाली’ भनिसकेको थियो । खप्तड, डोटी वा अछामले ‘महाकाली’सम्म भन्ने आँट नगरेर ‘सुदुरपश्चिम’ भनिसकेको थियो । तमुवान ‘गण्डकी’ भइसकेको थियो । यी सबै नामाकरण पञ्चायतले सृजना गरेका हुन् । पञ्चायत देशमा जम्माजम्मी ३० बर्ष रह्यो । तर त्यसको ताकत कतिसम्म रहे भने मान्छेको मष्तिष्कबाट आफ्नो ३००० बर्ष लामो इतिहास बर्साइदियो । ३ हज्जारमाथि ३० वर्षले शासन गर्दैछ अझै । वागमती यही श्रृंखलाको एक कडी हो । यो त्यत्रो उधुम विषय हैन ।

बरु स्थिति किन यस्तरी घुम्यो ? परिस्थितिले किन पाल्टा खायो ? किन देशमा सीमान्तकृत आन्दोलनहरुप्रति बर्चश्वशाली समुदाय सकारात्मक हुन सकेन ? यी प्रश्नमा गम्भीर समीक्षा जरुरी छ । यो विश्लेषणका धेरै पक्ष, पाटा र आयाम हुन सक्दछन् । केही मुख्य पक्षहरु यस्ता होलान्–

एक– पहिचान र संघीयताको अन्तर्सम्बन्धबारे समाजमा अझै विमर्श पुगेन । अझ गहन बहस, छलफल र आन्दोलन जरुरी छ । कुनै मुद्दामा जनसमुदाय आश्वस्त नहुन्जेल लागू हुन गाह्रो हुन्छ । पहिचान र संघीयता पक्षधरहरुले अझ दीगो, सघन र धैर्यवान बिमर्श समाजमा गर्नुपर्छ ।

दुई– पहिचान पक्षधरहरुमा पनि केही संर्किणता देखियो होला । जस्तो कि दुई कार्यकालको अग्राधिकार र पहिचान भनेको ‘जातीयता’ मात्रै हो भन्ने बुझाई केही हदसम्म रह्यो । पहिचानका मुख्य ३ आधार हुन्छन् । ऐतिहासिक क्षेत्रीयता, भाषिक/सांस्कृतिक र जातीय ।

जस्तो भारतमा नागालैण्ड, मिजोरम, पञ्जाव, झारखण्ड जातीय पहिचानमा बनेका राज्य हुन् । महाराष्ट्र, तमिलनाडु, गुजरात, राजस्थान, उडिसा आदि भाषिक आधारमा बनेका राज्य हुन् । बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, हिमाञ्चल आदि क्षेत्रीय आधारमा बनेका राज्य हुन् ।

नेपालमा पनि यी तीनवटै प्रकारका पहिचान सश्रिमित हुने देखिन्छ, जातीय मात्र हैन । तर रोचक के छ भने कांग्रेस– कम्युनिष्टले जातीय पहिचान अस्वीकार गर्ने नाममा जातीय मात्र हैन, भाषिक, सांस्कृतिक, ऐतिहासिक र क्षेत्रीय पहिचानसमेत अस्वीकार गरे ।

तीन– नेपालमा समाजशास्त्रीय बनौट मुख्य तीन क्लष्टरमा आधारित छ भनिन्छ । खास–आर्य, आदिवासी–जनजाति र मधेसी । यी तीन समुदायमध्ये दुई समुदायका मतदातामा आफ्ना दीर्घकालीन हितहरुप्रतिको बुझाई बलियो देखियो ।

खस समुदाय बहुल क्षेत्र कर्णालीले केही दिनको आन्दोलनमा प्रदेश रचना गर्न सक्यो । मधेशीमा प्रतिरोध गर्ने क्षमता बढी देखियो । फलतः नाम जे राखिए पनि कर्णली र मधेश दुई पहिचान आधारित प्रदेश बने । कर्णाली क्षेत्रीय ऐतिहासिक पहिचानमा आधारित प्रदेश हो । मधेश भाषिक/सांस्कृतिक पहिचानमा आधारित प्रदेश हो ।

तर आदिवासी–जनजाति आन्दोलनमा एकप्रकारको द्धिविधा रह्यो । मधेशलाई जनजातिहरुले शासकीय मनोविज्ञानबाट हेरे । पहाडी भएर हेरे, उत्पीडित राष्ट्रियता भएर हेरेनन् । यो धारमा राजनीतिक नेतृत्वमा पनि अस्थिरता र क्यारियरिज्म बढी देखियो । कुनै समय पहिचानको मसिहा नै हामी हौं जस्ता गर्ने नन्दकिशोर पुन, रामबहादुर बादल र बर्षमान पुनलाई पद भए पुग्यो ‘मरागत’ चाहिएन । परशुराम तामाङ, पासाङ शेर्पाजस्ता जनाजाति आन्दोलनका हस्तीहरु हतारमा सांसद खान ओलीको पोल्टामा पुगे, न सांसद पाए न मुद्दा जोगाए । गाँठ पनि गुमाए, बेबकुफ पनि बने ।

पृथ्बी सुब्बा गुरुङलाई मुख्यमन्त्री चाहियो, तमुवानको साटो गण्डकी भएर केही फरक परेन । विजय सुब्बा र अजम्बर काङमाङहरुलाई घरेलु ऋणले पिरोल्यो, दुईचार बर्ष पनि मुद्दामा टिक्ने धैर्यता रहेन । बिजय गच्छदार, गोपाल दहित र रामजनमहरु फर्किएर कांग्रेस मै विलिन भए ।

यी घटनाले जनजाति समुदायले कन्फ्युज भयो । संघीयता, स्वशासन, भनेको संर्किण जातिवाद नै हो कि क्या हो भन्ने भ्रम सृजना भयो ।

चार– पहिचानवादीहरुकै बीचमा अनेक ओभरल्यापिङहरु हुन थाले । प्रदेश पाउँनु कहाँ छ कहाँ छ, मेरो लिम्बुवान यति, तेरो किरात यति भन्दै आफूआफूमा मनोवैज्ञानिक छायायुद्ध लड्ने काम समेत भए । २०१८ साल अघि नेपालमा यो प्रकारको जिल्लाको अवधारणा नै थिएन । जिल्लालाई अखण्ड ठानेर यो जिल्ला मेरो, यो जिल्ला तेरो भन्ने बहस हुन थाले । उत्पीडित र आन्दोलनकारी बीचमा हुने फुट शासकहरुका लागि खुशीको कुरा हुने नै भयो । वास्तविक संघवादको प्रत्याभूति हुँदा एक गाउँ यता, अर्को गाउँ उता परेर केही हुने हैन । सीमानाको ओभरल्यापिङमा संघवादीहरु संर्किण हुन जरुरी थिएन ।

पाँच– पार्टी र मुद्दाबीचको तालेमल नहुनु ठूलो बिडम्बना बन्यो । गत निर्वाचनमा नेकपाभित्र पूर्व माओवादीहरुले आफूलाई पहिचान पक्षधर नै ठान्थे । जब की त्यो संभव नै थिएन । पार्टी एकातिर मुद्दा अर्कोतिर हुँदा अधिकांश नेता, कार्यकर्ता र मतदाताले मुद्दा छोड्ने र पार्टी समात्ने गरेका छन् । लोकतन्त्रले मुद्दामा आधारित मतदानको माग गर्दछ । त्यसो नहुन्जेल आउने परिणाम यस्तै हो ।

अब प्रश्न उठ्छ– अबको बाटो के त ? भविष्य कसरी जाला ? सबै चिज बिग्रिसकेको छैन । संघवादीहरुले नयाँस्तरबाट यो बहसलाई उठान गर्न सक्नु पर्दछ । मुद्दाका आधारमा हुने राजनीतिक ध्रुविकरणलाई प्रेरित गर्नुपर्दछ । आन्दोलनभित्रका संर्किणता र कमजोरीहरुलाई सच्याउन सक्नुपर्दछ ।

कांग्रेस–कम्युनिष्टले ठानेका छन्– पहिचान मर्‍यो । तर मर्‍यो भनी छोडिएकाहरु उठेर जुरुजुरु हिंडेका राजनीतिक मुद्दा संसारमा धेरै छन् । जताबाट नापे पनि अहिलेको स्थिति अस्थायी र क्षणिक हो । नेपालमा पहिचान, अधिकार, स्वशासन, स्वायक्तता, भाषिक, सांस्कृतिक अधिकार, समावेशिता र सीमान्तकृत समुदायको सवलीकरणको आन्दोलन अझै शसक्त भएर उठ्ने बलिया आधारहरु बाँकी नै छन् ।

(घले समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्)

The post पहिचानको चिहानमाथि कांग्रेस–कम्युनिष्टको विजयोत्सव appeared first on Sajha Post.

परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्

$
0
0

कम्युनिष्टहरुले दुई लाइन संघर्षको कुरा गर्छन् । तर, माओवादीभित्र अनौठो संघर्ष देखियो । माओवादीको विभिन्न टुक्रामा विभाजन भएको पालुङटार बैठकमा तीनवटा गुट देखा पर्‍यो । यो उनीहरुको दुईलाइन संघर्ष हुन्छ भन्ने पुरानो मान्यतासँग मिल्दैन । तीनवटा गुट भएर तीनलाइनको संघर्ष भए । हैन, वैचारिकरुपमा त दुई लाइन नै थियो भन्न सकिन्छ, प्रचण्डको त लाइन नै होइन भन्न नि सकिन्छ । तर, कुनै पनि विचारको कुराले कुनै पनि गुट निर्माण गर्छ भनेर मान्ने हो भने त तीनवटा गुट हुनै हुँदैनथ्यो नि त ! तीनवटा गुट भएपछि त लाइनको हिसाबले दुईवटा थियो कि तीनवटा थियो त ? अथवा ती तीनवटै कुनै लाइन नै थिएनन् कि ? भन्नेतिर पनि बहस हुनसक्छ ।

माओवादीमा त्यतिबेला वैचारिक संकट थियो । पार्टीले आत्मसाथ गरेको दर्शन र बोकेर आएको मुद्दाको बीचमा अन्तरविरोध देखियो । दक्षिण एसियाको हरेक समाजमा कस्तो देखिन्छ भने कम्युनिष्ट पार्टीको नाममा आएको होस् वा कांग्रेस पार्टीको नाममा आएको होस् वा अरु कुनै पार्टीको नाममा आएको होस् जुनसुकै राजनीतिक शक्तिभित्र ब्राम्हणवाद बहुतै बलियो छ । माओवादीकै इतिहासलाई केलाएर हेर्ने हो भने पनि शुद्धताका अनेक परिभाषा थिए । आफ्नै महिला कमरेडहरुले त कम्ब्याट लाउनु परेको छ । तर, गाउँघरमा केटी मानिसले पाइन्ट लगाए भनेर पाइन्ट काटिन्थ्यो । हिन्दी गीत सुन्नुहुन्न, क्रान्तिकारी गीत बाहेक सबै बुर्जुवा गीत हुन्, सुन्यो भने कानै अपवित्र हुन्छ भन्ने शुद्धतावादी धारणा माओवादीभित्र थियो ।

माओवादीमा बाहुनवाद
त्यो चाहिँ कुनै मार्क्सवाद वा माओवादीले सिकाएको कुरा होइन । त्यो चाहिँ ब्राम्हणवाद हो । त्यो माओवादीभित्र बलियो थियो भन्ने कुरा पछि प्रमाणित हुँदै आयो । अहिले आउँदा त माओवादीको एउटा खेमा एमालेमा मिसिएको छ, अर्को खेमा वैद्य समूहमा विभक्त छ । उनीहरु हामीले गर्न त खोजिएको हो तर सकिएन भनेर थाकेर बसिरहेका छन् । अर्को खेमा विप्लव भएर हिंडेको छ । अर्को खेमा नयाँ शक्ति हुँदै समाजवादी बनेको छ । आखिर विचारको लडाईं थियो कि पदको लागि लडाईं थियो भन्ने कुरा एक ठाउँमा छ, अर्को कुरा सबै पक्ष विचार गर्दा पक्का छ कि विभाजनको पछाडि ब्राम्हणवादको महत्वपूर्ण भूमिका रह्यो ।

जब समावेशिताको मुद्दामा गइन्छ, ब्राम्हणहरुले लिइरहेको र शासन गरिरहेको महत्वपूर्ण पदहरु र शक्तिको महत्वपूर्ण अंश भाग लाग्ने भयो । समानुपातिकको मुद्दाले जसरी संसदवादी शक्तिहरु र बाह्य संस्थापनमा तरंग ल्याइदियो, त्यो तरंग माओवादीभित्र पनि देखियो ।

ब्राम्हणवादको अर्को खुबी भनेको व्यक्तिगत अहम्लाई पनि सैद्धान्तिक खोल ओढाउँछ । वैद्य समूह अथवा नेकपा ड्यास माओवादीको प्रशिक्षण कार्यक्रममा संयोगवश म पनि पुगेको थिएँ । त्यहाँ मैले दर्शकदीर्घाबाट भनेको थिएँ- नेपालका कम्युनिष्टहरु चुम्बकजस्ता छन् । जति टुक्रा भएपनि त्यसमा उत्तरी र दक्षिणी ध्रुव निस्किरहन्छन् । यो तपाईंहरुले बनाउनु भएको नयाँ पार्टीमा पनि उत्तर र दक्षिण ध्रुव छिट्टै निस्कन्छ र छिट्टै तपाईंहरुको पार्टी फुट्छ । पछि फुट्यो पनि ।

माओवादीमा वैचारिक संकट

त्यसो त, माओवादीमा अगाडि बढ्न संकट चुनवाङ बैठकदेखि नै सुरु भएको थियो । विद्रोहमा जाने कि शान्ति प्रक्रियामा जाने भन्ने निर्णय त्यहीँ भएको हो । माओवादीले चुनवाङ बैठकबाट जुन राजनीतिक बाटो तय गर्‍यो, त्यो भनेको अब लडाईंबाट जित्न सकिँदैन । सिधा भाषामा भन्दा युद्धबाट जित्न सकिँदैन भन्ने नै हो । त्यसकारण शान्ति प्रक्रिया हुँदै राजनीतिको केन्द्रमा सिधै छिर्ने भन्ने निर्णय भयो ।

त्यतिबेलासम्म जुन जुन राजनीतिक पार्टीहरु संसदीय व्यवस्था अन्तर्गत थिए, उनीहरु दुश्मन थिए । चुनवाङ बैठकपछि उनीहरु मित्र भए । मित्र शक्तिसँग सहकार्य गर्ने भनेर १२ बुँदे सहमति गरेको हो । यदि विद्रोहमा जाने भन्ने कुराको स्पष्ट खाका माओवादीको कुनै पनि गुटसँग यदि थियो भने त्यो कुरा चुनवाङ बैठकमै प्रस्फुटित हुन्थ्यो भन्ने लाग्छ मलाई । जतिबेला पालुङटारको बैठकमा विद्रोहको कुरा गरिएको थियो, त्यतिबेला शान्ति प्रक्रियामा आइसकेको पार्टीले कुनै पनि प्रकारको अर्को विद्रोह गरेर कब्जा हुन सक्छ जस्तो लाग्दैन । त्यो माओवादीको गलत अनुमान थियो ।

त्यतिबेला क्रान्तिकारी देखिन नेताहरु मुखमा संविधानसभा मनमा विद्रोह हुनुपर्छ भन्दै प्रशिक्षण दिँदै हि‌ड्थे । तर विद्रोह भनेको के हो ? विद्रोहको लाइनलाई सफल बनाउन त हतियार नै उठाउनु पर्दैन नि । झ्याम्मै सेना लगाएर राज्यसत्ता कब्जा हुने मात्रै विकल्प देख्नु भुल हुन्छ । विद्रोही त भइरहन सकिन्छ फेरि पनि । म अहिले जे गरिरहेको छु त्यसलाई म विद्रोह नै ठान्छु । त्यसैले सैद्धान्तिक कलेवर लगाउन त सकिन्छ नै । तर विद्रोह गर्न सकिन्छ भन्ने विश्वास भएको भए माओवादीले चुनवाङबाट संविधानसभाको माग गरेर आउनु नै हुँदैनथ्यो ।

विद्रोह के हो, के होइन ? 

त्यसो त, त्यतिबेला चौतर्फी घेराबन्दीमा थियो माओवादी । लडाईं शाही सेनासँग मात्रै त थिएन । अन्तर्राष्ट्रिय घेराबन्दी थियो । सेनालाई पनि अमेरिका र भारतको सहयोग थियो । त्यसैले माओवादीले शाही अमेरिकन सेना भन्थ्यो । यी यथार्थलाई बुझ्दाबुझ्दै पनि शान्ति र संविधानको बाटोमार्फत् विद्रोही शक्तिलाई एउटा नयाँ शान्तिपूर्ण राजनीतिक कोर्षमा छिराउनु पर्थ्यो ।

जनताको परिवर्तनको एजेन्डालाई इमान्दारितापूर्वक उठाइरहेर विद्रोही विद्रोही भइरहन सकिन्थ्यो । जनता गइरहन सकिन्थ्यो । तर त्यो कुरा उहाँहरुले नबुझेको होला जस्तो पनि मलाई लाग्दैन । माओवादीले जसरी ७ दिने असफल विद्रोहको रिहर्सललाई म सफल वा असफल भन्दिनँ । मुखमा संविधानसभा र मनमा विद्रोह भनेर दुईथरी भाषा बोल्ने कम्युनिष्ट पार्टीमा ठूलो समस्या छ । जे कुरा गर्न चाहनुहुन्छ, तपाईंले खुल्ला भन्नुपर्छ । राजनीतिमा दुईटा कुरा हुँदैन । तपाईंले देखाउने र गर्ने कुरा दुईटा हुन्छ भनेर दुनियाँलाई बुझाउन खोज्नुभयो भने त्यो कुरा सम्भव हुँदैन । असम्भव कुरा हो ।

यसरी माओवादी शक्ति आन्तरिकरुपमा कमजोर भयो । आन्तरिक शक्ति नै कमजोर भएपछि बाहिरी शक्ति कमजोर हुन राजनीतिमा अनौठो कुरा मान्नु भएन । त्यस्तो हुनु अस्वभाविक होइन । माओवादीलाई नरुचाइरहेका यहाँको संस्थापनले आक्रमणलाई तिव्रता दिए । उनीहरुले माओवादीलाई मात्र होइन, माओवादीले ल्याएको कुनै पनि एजेण्डालाई मन पराइरहेको थिएन ।

माओवादी विरोधी भाष्य र माओवादी विरुद्ध माओवादी

चाहे गिरिजाबाबुले नै संविधानसभाको नेतृत्व गरेको किन नहुन्, त्यो सारा परिवर्तनको एजेण्डाहरु त माओवादीको भन्ने थियो । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नासाथ कृष्ण सिटौलालाई माओवादीको एजेन्ट भन्न थालेका थिए । यो सब भाष्यहरु जसले निर्माण गरिरहेका थिए नि कुनै प्रकारको राज्य पुनर्संरचनाको मुद्दा उठाउने नागरिक समाजका देवेन्द्रराज पाण्डेलाई पनि माओवादी । प्रोफेसर पिताम्बर शर्मालाई पनि माओवादी । कृष्ण खनाललाई पनि माओवादी । गिरिजाबाबुलाई पनि माओवादीलाई बोकेको भनेर माओवादीको एजेन्ट । कृष्ण सिटौलालाई पनि माओवादीको एजेन्ट ।

यो भाष्य कसले निर्माण गरिरहेको थियो ? यो भाष्य त संस्थापनले निर्माण गरिरहेको थियो । संस्थापनभित्र एउटा बलियो बौद्धिक तप्का थियो जुन राणा कालदेखि काठमाडौंमा बौद्धिक विरासत धानेर बसेको थियो पुरानो सत्ताको । कुलिनहरुको त्यस्तै अर्को तप्का सेनामा पनि छ । जुन पुनर्संरचना चाहँदै चाहँदैन । किनकी राज्यको पुनर्संरचना त सेनाको पनि लोकतान्त्रिकरणको कुरा हुन्थ्यो नि त । न्यायालय पनि पटकपटक राजनीतिमा सहभागी भइरहेको थियो पटकपटक ।

यी सबै कुराहरुले पहिलो संविधानसभा असफल नै भयो र दोस्रो संविधानसभासम्म पुग्दा माओवादी नै आफैं कमजोर बनिसकेको थियो । माओवादीको विरुद्धमा अर्को माओवादी बम पड्काएर लडिरहेको थियो । प्रचण्ड हिंडेको बाटोमा बम पड्काइरहेका थिए । आन्दोलनको रापताप पनि सेलाउँदै गइसकेको थियो । माओवादीको एउटा ठूलो शक्ति फुटिसकेको थियो । माओवादीबाट फुटेको शक्तिले पनि माओवादीलाई नै कमजोर बनाउन आक्रमण गरिरहेको थियो । स्वभाविकरुपमा यसले मत परिणामलाई प्रभावित पार्ने त भइहाल्यो ।

अभिभावकविहिन बन्दै परिवर्तनका एजेन्डा

युग पाठक

जनताले त आश गर्ने ठाउँ खोज्छ । जब मतको राजनीति गर्नुहुन्छ भने विचार र शक्तिले जनतालाई आश दिलाउन सक्नुपर्छ । आश भयो भने मात्रै जनताले भोट दिन्छन् । अब माओवादी मात्रै कमजोर भएनन् । सम्पूर्ण परिवर्तनका एजेन्डाहरु कमजोर भए । यसलाई अभिभावकत्व लिने मानिस नै भएनन् । जसले परिवर्तनका एजेन्डाहरुको अभिभावकत्व लिन सक्छन्, उनीहरु लिन सक्ने अवस्थामा छैनन् । जसले अभिभावकत्व लिन चाहन्छन् उनीहरुसँग हैसियत छैन । यसर्थ परिवर्तनका एजेन्डाहरु अहिले टुहुराजस्ता भएका छन् ।

उदाहरण हेरौं- पहिलो संविधानसभा विघटन हुने बेलामा काठमाडौंका गल्लीहरुमा एकातिर जनजातिहरुको प्रदर्शन भइरहेको थियो, अर्कोतिर बाहुन संगठन, क्षत्री संगठनहरुको पनि प्रदर्शन भइरहेको थियो । सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिमको प्रदर्शन भइरहेको थियो । यो अखण्ड सुदूरपश्चिम भन्ने थरुहटको विरुद्धमा हो भनेर प्रोजेक्ट गरिएको थियो । थारुहरुको संग्रहालय जलाइएको थियो । त्यतिबेला बाहुन संगठन र क्षेत्री संगठन बर्चश्वशाली हिसाबले काठमाडौंमा उपस्थित भइरहेको थियो । त्यो चाहिँ दोस्रो संविधानसभाको परिणामले जब राज्य पुनर्संरचनाका महत्वपूर्ण एजेन्डाहरु उल्टिने देखियो, अहिले तपाईं बाहुन संगठन, क्षत्री संगठन कतै देख्नुहुन्छ ? दृश्यमा । कहीँ छैन । किन बिलायो ? उसको मुद्दा जब संविधानसभा छिर्ने प्रतिनिधिहरुले बोकेर गइसके उनीहरु सडकमा किन चाहियो ? तर, जनजाति संगठनहरु त अहिले पनि सक्रिय छन् नि ।

पहिचानको मुद्दा बोक्नेहरु त अहिले पनि सक्रिय छन् नि । भनेपछि जसलाई चाहिएको थियो, उनीहरु अहिले पनि सक्रिय छन् । जसलाई चाहिएको थिएन, उनीहरु घर गए । किनभने ब्राम्हण संगठन, क्षत्री संगठन भन्नेमा नेतृत्वमा आउने मानिसहरु कांग्रेस र एमालेबाट थिए । अखण्ड सुदूरपश्चिमको नेतृत्व पछाडिबाट भीम रावल, शेरबहादुर देउवा, लेखराज भट्टहरुले गरिरहेका थिए । जुन पार्टीहरुले अन्तरिम संविधानमार्फत् परिवर्तनका एजेन्डाहरुलाई संस्थागत गर्छु भनेर कसम खाएका थिए, तिनै पार्टीभित्र पुरानो संस्थापन र पञ्चायतले संस्थागत गरेका राष्ट्रवाददेखि ब्राम्हणवादको विचारधारा बलियो गरी छिरिसक्यो ।

संघीयता जिन्दावाद तर जिल्ला टुक्र्याउन पाइँदैन भन्ने नारा लाग्न थाले । अखण्ड र खण्डको भाष्य कसरी आयो ? खण्ड र अखण्ड भन्ने हुन्छ कहीँ ? अखण्ड भन्ने कहीँ हुन्छ ? राजनीतिक विभाजनलाई यदि तपाईं खण्डीकरण मान्नुहुन्छ भने राजनीतिकरुपमा सीमा तोकेर ईकाईहरु विभाजन गरिने कामलाई खण्ड बनाएको मान्नुहुन्छ भने ७५ जिल्ला पनि त खण्ड हो । ७५ जिल्ला चाहिँ खण्ड होइन रे । त्यो चाहिँ अखण्ड हुनुपर्छ भन्ने । अनि पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना बनाउने र स्थानीय निकायहरु बनाउने भन्ने कुरा चाहिँ खण्डीकरण गरेको आधारमा जुन व्याख्या गरियो, त्यो व्याख्या गर्ने मानिसहरु को थिए ? कोही नागरिक समाज थिएन । ती मानिसहरु पुरानै अवस्थामा फर्कन चाहने कांग्रेस र एमालेका प्रतिनिधिहरु थिए । त्यस्ता संगठनहरुमा तीनवटै प्रमुख पार्टीका प्रतिनिधिहरु थिए ।

(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीलाई हामी क्रमशः प्रस्तुत गर्नेछौं- सं.)

यो पनि-

‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’

The post परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन् appeared first on Sajha Post.

कमरेड मोहनविक्रमले नबुझेको लेनिनको थेसिस

$
0
0

नेकपा (मसाल) का महामन्त्री कमरेड एमबी अर्थात् मोहनबिक्रम सिंह ८४ बर्ष पुगे । उनी नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ताका नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी र तुल्सीलाल अमात्यका समकालीन हुन् ।

२०१९ को तेस्रो महाधिवेशनपछि नेकपामा फुट आयो । नेतै पिच्छेका गुट र पार्टी बने । त्यसमध्ये कतिपय नेताका पार्टी नेताहरुको जीवनसंगै अस्तायो । शम्मुराम श्रेष्ठ, तुल्सीलाल अमात्य, कृष्णराज बर्मा, कृष्णदास श्रेष्ठ, बिष्णुबहादुर मानन्धरको पार्टी त्यतिकै सकिएर गयो । डा. रायममाझी त कम्युनिष्ट धार नै छोडेर राजावादी बने । सीपी मैनाली र नारायणमान बिजुक्छेको पार्टीको यही क्रममा छन् ।

तर, मोहनविक्रम सिंह भने यो उमेरमा पनि धर्म निर्वाह गरिरहेकै छन । बाग्लुङ, प्युठान र अर्घाखाँचीमा मसालको अझै सघन संगठन र जनमत छ । कसोकसो चुनावी तालमेल मिलाएर केही सीट हात पार्ने गर्दछ । नेकपा (मसाल) औपचारिक तबरले भूमिगत क्रान्तिकारी पार्टी हो । यो पार्टी निर्वाचन आयोगमा दर्ता छैन । यसको चुनावी मोर्चालाई ‘राष्ट्रिय जनमोर्चा’ भनिन्छ । चुनाव चिन्ह गिलास पाएका छन् । गिलास चिन्ह लिएर संघीय प्रतिनिधिसभामा जितेकी दुर्गा पौडेल कमरेड एमबी कि श्रीमती हुन् । ‘राष्ट्रिय जनमोर्चा’ का अध्यक्ष भने चित्रबहादुर केसी छन् । केसी सिंह कै उमेरका छन् ।

कमरेड एमबी मसाललाई क्रान्तिकारी पार्टी ठान्दछन् । उनको परिभाषामा उनी अझै भूमिगत छन् । व्यवहारमा भने सामान्य शान्तिपूर्ण जीवन बाँच्छन् । पुलिसले उनलाई खोज्दैन । भर्खरै उनको पार्टीले उनले टेलिभिजनमा अनुहार देखाएर अन्तर्वार्ता दिन पाउने निर्णय गर्‍यो । बाँकी दुनियाँलाई भने हाँसो भयो । मसाल सबैभन्दा धेरै टुटफुट हुने पार्टी मानिन्छ । यो पार्टी दर्जनभन्दा बढी पटक फुटिसकेको छ । प्रचण्ड, बाबुरामजस्ता नेताहरु यही पार्टीबाट निस्किएका थिए ।

२०४० को दशकसम्म कमरेड एमबीको पार्टी पश्चिम नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो । पूर्वमा माले, पश्चिमा मसाल । २०४६ सालको जनआन्दोलनमा यो पार्टी संयुक्त वाममोर्चामा सामेल भएन । माले भने वाममोर्चाको सबैभन्दा ठूलो र प्रभावशाली घटक बन्यो । माले मनमोहन अधिकारीको मार्क्सवादीसंग मिलेर एमाले बन्यो । अर्कोतिर मसालबाटै फुटेका प्रचण्ड, बाबुराम, मोहन बैद्य, सीपी गजुरेललगायतले माओवादी बनाए । मसाल एमाले र माओवादीको चेपारोमा पर्दै गयो । अन्ततः लगभग ३ जिल्लामा सीमित हुन पुग्यो ।

मसाल समूहको राजनीतिक उद्देश्य के हो ? यो पार्टी कस्तो खालको राजनीतिक प्रणाली चाहन्छ ? कमैलाई थाहा छ । माओत्सेतुङ विचारधारा, नयाँ जनवादी क्रान्ति, सांस्कृतिक क्रान्तिलाई सिद्धान्तमा आदर्श मान्छ भनिन्छ । सिद्धान्तमा सर्वहारा राज्य निर्माण गर्न बल प्रयोग, सशस्त्र संघर्ष र जनयुद्ध अपरिहार्य मान्दछ । तर व्यवहारमा भीषण जनयुद्ध हुँदा त्यसले विरोध गरेको थियो । २०४६ सालमा यसले संविधानसभाको माग गरेको थियो, त्यतिखेर त्यो सम्भव थिएन । जतिखेर संविधानसभा सम्भव हुने अवस्था थियो, त्यतिखेर संविधानसभा कै विरोध गरेको थियो ।

अहिले यो पार्टीको मुख्य पहिचान संघीयताको विरोध गर्नु बनेको छ । मसालको एजेण्डा के हो ? अरु केही थाहा छैन कसैलाई । तर यसले संघीयताको विरोध गर्दछ, त्यो सबैलाई थाहा छ । अझ रोचक कुरा त यो पार्टीको जनधार मगर बहुल बस्तीहरुमा छ । एकातिर पहिचान, समावेशिता, आरक्षण र मगरातको मुद्दा छ तर बागलुङ, प्युठान र अर्घाखाँचीमा यसको विरोध गर्ने मसाल कार्यकर्ताहरु अधिकांश मगर समुदायकै हुन्छन् ।

कमरेड एमबी पढन्ते नेता मानिन्छन् । उनी लेख लेख्न रुचि राख्दछन् । कम्युनिष्ट आन्दोलन र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे उनले यतिधेरै लेखेका छन्, त्यसलाई संग्रह गर्ने हो भने दर्जनौं ठेली हुन्छन् । कतिपय ठेली त संग्रहित पनि छन् । कुनै समय उनले ‘गद्दार पुष्पलाल’ लेखेका थिए । त्यसले उनलाई राजनीतिक लेखनमा चर्चित बनाएको थियो ।

त्यो पुस्तिका लेनिनको ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ पुस्तकको संरचनामा थियो । शीर्षक लेनिनको किताबकै नक्कल थियो । त्यसो त मसाल अहिले पनि लेनिनवादी पार्टी हो । लेनिनवादको एउटा महत्वपूर्ण थेसिस ‘राष्ट्रहरुको आत्मनिर्णयको सवाल’ हो । लेनिनको पुस्तिकाको शीर्षकबाट आफ्नो पुस्तिकाको शीर्षक बनाउने, लेनिनवादलाई मार्गदर्शक मान्ने, पढन्ते/लेखन्ते कमरेड एमबीले लेनिनको उक्त थेसिस पढेका छैनन् भन्ने कसैले कल्पना गर्दैन ।

तर मोहन विक्रम सिंह र मसाल पार्टीको संघीयताबारे तर्क सुन्दा भने उनीहरुले त्यो थेसिस नपढेको वा पढेर पनि नबुझेको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । लेनिनले आफ्नो थेसिसमा उत्पीडित राष्ट्रियताहरुको मुक्ति र संघवादको समर्थन गरेका छन् ।

विश्वदीप पाण्डे

सन् १९१४ पहिलोपटक लेखका रुपमा सन् १९१६मा किताबका रुपमा प्रकाशित लेनिनको उक्त थेसिसमा भनिएको छ– ‘समाजवादी क्रान्ति कुनै एउटा मोर्चाको लडाई हैन । यो सबै मोर्चाको संयृुक्त लडाईं हो । उत्पीडित राष्ट्रियताहरुको मुक्तिको मोर्चा सर्वहारा वर्गको मुक्तिको मोर्चा जस्तै महत्वपूर्ण छ । यसको अर्थ राष्ट्रहरुलाई स-साना राज्यहरुमा बाँड्नु हैन । राष्ट्रहरुको संघ निर्माण गर्दै मर्जरको प्रक्रियालाई अघि बढाउनु हो ।’ कमरेड मोहनविक्रम आफूलाई लेनिनवादी भन्न कहिल्यै छोड्दैनन, लेनिनको यो थेसिसको चर्चा पनि कहिल्यै गर्दैनन् ।

लेनिनवाद यथार्थमा सङ्घीयता र जातीय आत्मनिर्णयको पक्षधर सिद्धान्त हो । उनी भन्थे, ‘विजयी समाजवादले अनिवार्यतः पूर्ण प्रजातन्त्र स्थापित गर्नुपर्छ । फलतः उसले जातिहरूबीच पूर्ण समानता स्थापित गर्ने मात्र हैन, अपितु उत्पीडित जातिहरूलाई आत्मनिर्णायको अधिकारसमेत दिनुपर्छ ।’

लेनिनले अगाडि भनेका थिए, ‘संघवादको माग राष्ट्रको विभाजन, विखण्डन एवम् सानासाना राज्यहरूको स्थापनाको मागसँग समतुल्य छैन । यो सबै प्रकारका राष्ट्रिय उत्पीडनहरू विरुद्ध सङ्घर्षको एक सुसङ्गत अभिव्यक्ति मात्र हो । कुनै पनि जनवादी राज्य व्यवस्था विभाजनको पूर्ण स्वतन्त्रताको जति नजिक हुन्छ, व्यवहारमा विभाजनको अभिलाषा त्यतिकै कम र कमजोर हुन्छ ।’

उक्त थेसिसमा लेनिनले अझ अगाडि भनेका थिए, ‘जुन किसिमले मानवजाति उत्पीडित वर्गहरूको अधिनायकत्वको सङ्क्रमणकाल पार गरेर मात्र वर्ग–विलयनको स्थितिसम्म पुग्छ, त्यस्तै उत्पीडित जातिहरूको पूर्ण स्वतन्त्रताको सङ्क्रमणकाल पार गरेर मात्र जातिहरूको अवश्यम्भावी विलयनको स्थितिसम्म पुग्न सक्छ । विभाजनभन्दा संघ समाजवादीहरुका लागि सर्वोत्तम उपाय हो ।’

लेनिनको यही नीति अनतर्गत सोभियत संघ बनेको थियोे, जो एक संघीय राज्य थियो । लेनिनको मृत्युपछि स्टालिनले सत्ता र शक्तिको केन्द्रीकरण तीव्र बनाए । उनले रुसी वर्चश्वकरणमा जोड दिए । फलतः करिब ७२ वर्ष लामो संघीयतामा सामेल भएपछि पुनश्चः उनीहरु नयाँ राष्ट्रियताको खोजी गर्नतिर लागे । सोभियत संघ विघठन भयो ।

कमरेड मोहनविक्रम जस्तै नेपालका धेरै कम्युनिष्ट नेताहरु जस्तै सीपी मैनाली, नारायणमान बिजुक्छे, माधव नेपाल, केपी ओली आदि उत्पीडित राष्ट्रियताको मुक्ति र संघवादको सवाल आउने बित्तिकै तर्किन्छन् । अहिले त प्रचण्ड समेत त्यही धारमा पुगेका छन । तर, संघीयताको विरोध गर्ने जिम्मा भने कमरेड एमबी र मसाल पार्टीको भागमा परेको छ । लेनिनवादी नेताहरुले लेनिनको थेसिस पढेकै छैनन् भन्न सकिन्नँ । तर उनीहरुको सोचको आधार लेनिनवादी भन्दा बढी स्टालिनवादी हुनसक्दछ ।

The post कमरेड मोहनविक्रमले नबुझेको लेनिनको थेसिस appeared first on Sajha Post.

के चाहन्छन् पुटिन ?

$
0
0

बुधवार रुसी प्रधानमन्त्री दिमित्री मेद्वेदेभले राजीनामा गरेका छन् । आश्चर्यजनक भनिए पनि यो राजीनामा राष्ट्रपति ब्लादिमिर पुटिनको इच्छा र निर्देशनमा आधारित थियो ।

प्रधानमन्त्री भेद्वेदेभको राजीनामाको अर्थ सम्पूर्ण मन्त्रीमण्डल नै विघठन हुनु भन्ने बुझिन्छ । सन् २०२४ मा पुटिनको राष्ट्रपतीय काल समाप्त हुने छ । पुटिनको लामो शासनकालपछि रुसले नयाँ राजनीतिक संक्रमणबाट गुज्रिनुपर्ने छ । पुटिनले सन् १९९९ यता रुसको सत्तामा निरन्तर नियन्त्रण राखेका छन् ।

२०२४ पछिको रुसको भविष्य तय गर्न पुटिनले आजैदेखि तयारी शुरुवात गरेका हुन सक्दछन् ।

पुटिनले मेद्वेदेभको राजीनामा तत्कालै स्वीकार गरे । दिमित्री पुटिनका लामो समयदेखिका राजनीतिक साझेदार तथा मित्र हुन् । उनले सन् २००८ देखि २०१२ सम्म एक कार्यकाल रुसको राष्ट्रपति पनि चलाएका थिए । प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै उनलाई राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षमा नियुक्त गरिएको छ । यो पद नयाँ भए पनि यसले उपराष्ट्रपति सरह शक्तिको अभ्यास गर्ने ठानिएको छ ।

दिमित्री मेद्वेदेभले राजीनामा गरेको तीन घण्टा नबित्दै पुटिनले मिखाइल मिशुष्टिनलाई नयाँ प्रधानमन्त्री प्रस्तावित गरे । मिशुष्टिन कर विभागका त्यस्ता हामिक थिए, जसलाई पुटिनको विश्वास पात्र र जुनकुनै बेला राजनीतिमा आउन सक्ने व्यक्तिका रुपमा हेरिन्थ्यो ।

यो नियुक्तिसंगै पुटिनले केही नयाँ संवैधानिक परिवर्तनहरुको प्रस्ताव गरेका छन्, त्यसमध्ये एक प्रधानमन्त्री पद संसदको बहुमतले छान्ने तर राष्ट्रपतिले हटाउन सक्ने प्रावधान पनि छ । अहिलेसम्म रुसमा प्रधानमन्त्री राष्ट्रपतिले छान्ने र संसदले अनुमोदन गर्ने पद्धति छ ।

मिशुष्टिनलाई तुरुन्तै प्रधानमन्त्री नियुक्त गरेर पुटिनले उनलाई नयाँ प्रावधान लागू हुनु अगाडि नै मौका दिएक छन्, जो अहिलेसम्म रुसी राजनीतिको शीर्षतहमा थिएनन् ।

साथै पुटिनले राष्ट्रपतीय सल्लाहकार परिषदको संचरनालाई अझ बलियो स्थान र गरिमा दिने मनसाय पनि व्यक्त गरेका छन् । रुसको वर्तमान संवैधानिक व्यवस्था र दुई कार्यकालको समय सीमाका कारण पुटिन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार हुन सक्दैनन् । पुटिन यस अघिपनि दुई कार्यकाल राष्ट्रपति भइसेका थिए ।

त्यतिखेर ४ वर्षको अवधि थियो । अहिले ६ वर्षको कार्यकाल छ । निरन्तर दुई कार्यकालको प्रावधानलाई छल्न त्यतिखेर उनले एक कार्यकाल दिमित्री मेद्वेदेभलाई अघि सारेका थिए । अहिलेका उनका अभिव्यक्तिबाट लाग्दछ, उनी अब त्यस्तो नहोस् भन्ने चाहन्छन् । तसर्थ, उनी दुई कार्यकाल पुरा गरेपछि फेरि नफर्किने उत्तराधिकारी चाहन्छन् ।

इसावेली खुर्शुद्यान

मेद्वेदेभ सन् २०१२ देखि रुसको प्रधानमन्त्री पदमा कार्यरत थिए । त्यसअघि उनले राष्ट्रपतिको एक कार्यकाल समेत पुरा गरेका थिए । उनले राजीनमा दिँदा के प्रष्ट पारेका छन् भने उनको राजीनामाले संवैधानिक परिवर्तनको मार्गलाई सहज बनाउनेछ ।

साथै, त्यस्तो परिवर्तनले विधायिकी, कार्यकारी र न्यायिक शक्ति सन्तुलनमा समेत केही भिन्नता ल्याउने छ । मेद्वेदेभले जोड दिए कि त्यस्तो संवैधानिक परिवर्तन अघि देशका राष्ट्रपतिलाई सहजतापूर्वक आवश्यक कुरा सोच्ने र निर्णय लिने सुविधा दिनु नै उनको राजीनामाको मुख्य पक्ष हो ।

नयाँ प्रधानमन्त्री मिखाइल मिशुष्टिन मेद्भेदेवको तुलनमा निक्कै लो–प्रोफाइल व्यक्तित्व हुन् । मिसुुष्टिन कुनै पनि हिसाबले पुटिनसँग प्रतिस्पर्धी हुन सक्दैनन् । उनी जेजे हुने हुन्, पुटिनकै आर्शिवाद र छत्रछायामा हुने हुन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि पुटिनले आफ्नो उत्तराधिकारी मिस्तुष्टिनलाई बनाउने तर्क सजिलै पत्याउन सकिन्नँ । यति छोटो समयमा उनले आफ्नो छवि र भूमिका राष्ट्रपति उम्मेद्वारका लागि योग्य बनाउँछन् भन्ने छैन । सन् २०२४ का लागि पुटिनले अर्कैै कोही उच्च तहको राजनीतिज्ञलाई आफ्नो उत्तराधिकार छान्न पनि सक्दछन् ।

कागेर्नी अनुसन्धान केन्द्र मास्कोका निर्देशक आन्द्रेइ कोलिनिस्कोभ आजको घोषणलाई पूर्वानुमान नगरिएको र महत्वपूर्ण मान्दछन् तर भविष्यको मार्ग अनुमान गर्न कसैलाई पनि सजिलो भइसकेको छैन ।

आन्द्रेइको विचारमा– ‘सोभियत संघ वा सोभियत संघपछिको इतिहासमा पनि यस्तो घटना यस अघि भएको थिएन ।’

कतिपयले पुटिनको नयाँ बाटोलाई काजाकिस्तान मोडेलको अनुशरण भनेका छन् । कजाकिस्तानमा नुरु सुल्तान नजारयेब लामो समय राष्ट्रपति रहे । जब उनले राष्ट्रपति पद गत मार्चमा छोड्नु पर्ने भयो, राष्ट्रिय सुरक्षा परिषद बनाएर त्यसको अध्यक्ष बनाइयो । यसो गर्दा लामो समय शासनमा रहेका शासकहरुको भविष्य चिन्ता दूर हुने गर्दछ ।

नजारयेब अहिले पनि कजाकिस्तानको महत्वपूर्ण पावर ब्रोकर मानिन्छन् । बुधबारको भाषणमा उनले दुई कार्यकालको प्रावधान खारेज नगर्ने बताएका छन्, त्यसले उनले फेरि चुनाव लड्ने इच्छा नराखेको संकेत गर्दछ । संसदलाई प्रधानमन्त्री छान्ने अधिकार दिँदा सायद उनको उत्तराधिकारी उनी जति शक्तिशाली रहने छैन ।

पुटिनका कदमको संकेत आफ्नो उत्तराधिकारी धेरै शक्तिशाली नआओस्, उसले केही गल्ती, कमजोरी वा आफूप्रति दुर्भावना राखे, उसलाई रोक्ने ठाउँ होस भन्ने चाहे जस्तो देखिन्छ । विश्लेषक तात्याना स्तानाभायाको बुझाईमा पुटिनका संवैधानिक परिवर्तनहरुको उद्देश्य उनीपछि आउने राष्ट्रपतिलाई अहिलेदेखि नै कतिपय संवैधानिक तगाराहरु लगाइरहनु हो ।

सन् २००० देखि २००८ सम्ममभा पुटिनको पहिलो दुई कार्यकाल पुरा भएको थियो । त्यसपछि एक कार्यकाल भेद्वेदेभ आए । त्यतिखेर भेद्वेदेभबाट पुटिनले कुनै जोखिमको महशुश गरेनन् । उनी पुटिनका लागि कार्यकारी राष्ट्रपति जस्ता मात्र थिए, जसले २०१२ मा सजिलै पुटिनलाई बाटो छोडी दिए । मेद्वेदेभको कार्यकाल पर्दा पछाडिबाट पुटिनकै शासनकाल थियो । सन् २०१२ र सन् २०१८ को चुनाव जित्न पुटिनलाई पदमा नभएको कारण कुनै अप्ठ्यारो परेन । आउने राष्ट्रपति पनि यस्तै कमजोर होस् भन्ने पुटिनको चाहना हुन सक्दछ ।

त्यसो भए पुटिन सन् २०२४ पछि फेरि एक कार्यकाल प्रधानमन्त्री हुन्छन् त ? आन्द्रेइ र स्तानाभाया दुवै यो सम्भावनालाई कमजोर ठान्दछन् । त्यसको साटो उनको ध्यान राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षमा हुन सक्दछ, जो अहिले मेद्वेदेभलाई दिइएको छ । त्यो नभए नयाँ प्रस्ताव गरिएको राज्य काउन्सील वा राष्ट्रपतीय सल्लाहकार परिषद उनको छनौट हुन सक्दछ । जे होस्, राष्ट्रपति पुटिनमा सन् २०२४ पछिको आफ्नो भविष्यबारे अहिल्यै चिन्ता प्रारम्भ भएको प्रष्ट हुन्छ, अक्सर लामो समय सत्तामा रहेका शासकहरुमा यस्तो चिन्ता हुने गर्दछ ताकी आफूपछि त्यस्तो कुनै शक्तिशाली व्यक्तित्व नआयोस् जसले आफ्ना कार्यकालका कपितय चिजलाई खोतल्ने साहस गरोस् ।
(इसावेली खुर्शुद्यानद्वारा लिखित यो आलेख वासिङ्गटन पोष्टबाट साझापोस्टले भावानुवाद गरेको हो)

The post के चाहन्छन् पुटिन ? appeared first on Sajha Post.

‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’

$
0
0

दोस्रो संविधानसभातिरको अवस्था नियाल्दा सबै पार्टीभित्र परिवर्तनका मुद्दाहरु उल्टिइसकेका छन् । ती मुद्दाहरुको चर्को गरी आवाज उठाउनेहरु कमजोर हुन थालेका छन् । जब पार्टीभित्र मुद्दा उल्टियो, स्वभाविकरुपमा दोस्रो संविधानसभाले प्रगतिशील संविधान बनाउनेवाला थिएन । त्यही पनि मधेसले अन्तिम समयसम्म त्यसको प्रतिरोध गरिरह्यो । तर, मधेसको प्रतिरोधलाई सजिलैसँग संस्थापनले किनारा लगाइदियो ।

एक त मधेसको प्रतिरोधमा भारत छिर्‍यो । भारत छिरेपछि मधेससँग ट्याकल नै गर्नुपर्ने भएन । सिधा भारतसँग संवाद गरेर कुरा मिलाएपछि मधेस त्यसै सल्टिने भयो । मधेस आन्दोलनको रणनीति गलत थियो । मधेश आन्दोलनको रणनीतिक गल्तीलाई उनीहरुले राजनीतिकरुपमा प्रयोग गरिदिए ।

यसरी दोस्रो संविधानसभाले जसरी संविधान बनायो त्यसले आधारभूतरुपमा परिवर्तनका एजेन्डाहरुलाई उल्ट्यायो । अन्तरिम संविधानभन्दा धेरै प्रतिगमनमा गयो । केही उपलब्धिहरु कागजमा जोगिए । जे होस् अवधारणाका रुपमा समावेशी राज्य बनाउने, राज्यको पुनर्संरचना गर्ने भन्ने कुराको सिद्धान्त चाहिँ त्यहाँ जोगिएको छ तर व्यवहारमा चाहिँ केही पनि कुरा गर्नु नपर्नेगरी त्यहीँ संविधानमा सबै व्यवस्था गरिएको छ ।

पञ्चायती विचारधारा र ओली नेतृत्व

अहिले प्रदेशहरुको नाम वाग्मती, गण्डकी र लुम्बिनी बन्ने लहर चलेको छ । पहिचानमा आधारित संघीयता भनेर हजारौंको सहादत गराउने नेताहरु तैपनि मौन छन् । यो किन भइरहेछ ? मलाई लाग्छ, यो उनीहरुकै चाहना हो । उनीहरु मौन रहेको होइन, उनीहरु यही चाहन्छन् । सुरुदेखि नै मैले ब्राम्हणवादबारे कुरा गरिरहेको छु । पछिल्लो समय त पञ्चायतले निर्माण गरेको विचारधारामा न राज्य चलाउन खोजिएको छ । नेतृत्व ओलीले गरिरहेका छन् ।

हामीले जहाँनेरबाट परिवर्तनको क्रमलाई उल्टाउने क्रम सुरु भएको देख्छौं, त्यहीबाट ओलीको उदय भएको देखिन्छ । किनभने ओली त दोस्रो जनआन्दोलनलाई गाली गरेर घरमा बसिरहेको मान्छे हो । एमाले पनि त्यो आन्दोलनमा छ । तर, एमालेको पनि ओली चाहिँ आन्दोलनमा छैनन् । उनी नेपथ्यबाट आन्दोलनको विरुद्धमा आवाज उठाइरहेका भेटिन्थे । उनी आन्दोलनकै विरुद्धमा थिए । आन्दोलनले राज्य पुनर्संरचना, नयाँ गणतन्त्रतिर देशलाई डोहोर्‍याएपछि उनको काम नहुनुपर्ने हो । त्यसकारण उनी गायब पनि भए बीचमा ।

दृश्य यस्तो अन्तरविरोधी देखिन्छ कि आन्दोलनको विरुद्धमा लाग्ने मानिस नै आन्दोलनका उपलब्धिहरु जोगाउने अभियानको नेतृत्व गर्न आइपुगेका छन् । धेरै मानिसहरुलाई लाग्न सक्छ केपी ओली संयोगवश अहिलेको राजनीतिको केन्द्रमा आइपुगे भन्ने लाग्छ । त्यो संयोग होइन । परिवर्तनको एजेन्डाको विरोधमा हुँदा र परिवर्तनको एजेन्डा मुलधारमा रहँदासम्म ओली कहीँपनि छैनन् । जब परिवर्तनको मुद्दा उल्ट्याउनका लागि सम्पूर्ण शक्ति सबैतिरबाट लागे, त्यसपछि उनीहरुलाई पात्र चाहियो । पात्र कहाँ चाहियो ? राजनीतिमा चाहियो । न बौद्धिक पात्रले हुन्छ न मिडियाको पात्रले हुन्छ, सेनाको पात्रले पनि हुँदैन । पात्र त राजनीतिमा चाहियो नि । त्यो पात्रको खोजी भइरहेको बेलामा निरन्तर माओवादीलाई गाली गरेर, समावेशिता समानुपातिकको मुद्दालाई गाली गरेर, आरक्षणलाई गाली गरेर कोही मानिस अघिल्तिर आयो भने केपी ओली आयो । र, यो सबै शक्ति जो परिवर्तनका मुद्दालाई उल्ट्याउन लागिरहेका थिए, उनीहरुले नेतृत्व पायो ।

प्रचण्डदेखि बाबुरामसम्मले नेता मानेका ओली

त्यसैले पछिल्लो समय, संविधानसभालाई पनि छाडिदिउँ, यो भन्दा अगाडिको संसदीय निर्वाचनको माहोलमा के भयो ? माओवादी त ठाउँ खोजिरहेको थियो । ऊ कतै न कतै जोडिएरै चुनाव लड्ने अवस्थामा थियो । कांग्रेससँग उसको स्थानीय निर्वाचनमा गठबन्धन भएको थियो । उसलाई अब ओलीसँग गठबन्धन गर्न इच्छा भयो । त्यो इच्छा पनि आफैं निर्माण भएको होइन । ओलीले जुन शक्ति आर्जन गरिरहेका थिए, परिवर्तनका एजेन्डालाई गाली गरेर आर्जन गरेको शक्ति थियो । त्यसकारण ओली ढाकाटोपी र दौरा सुरुवालवाला एजेन्डामा नै देश जान्छ भनेर बुझिसकेपछि प्रचण्डहरुले ओलीलाई सघाउने निष्कर्षमा पुगेका हुन् ।

किनभने पछिल्लो समय त प्रतिगमनको लहर उठिरहेको छ र यसको नेतृत्व केही ओलीले गरिरहेका छन् । केपी ओलीलाई त्यसकारण अन्तर्राष्ट्रियदेखि लिएर यहाँको कुलिन वर्गले पनि समातिरहेको छ । कांग्रेसमा बसेरमा कांग्रेसभित्रबाट चुनाव लडेर केपी ओलीलाई नेता मान्ने मानिस कांग्रेसमै छन् । केपी ओलीजस्ता नेता हामीकहाँ छैनन् भनेर कांग्रेसी नेताले चोकमा चौतारामा भनेपछि नेता त केपी ओली नै रहेछ भन्ने हुन्छ नि । भनेको परिवर्तनको विरुद्धमा जे जे भाष्य निर्माण गरियो त्यसमा तीनैवटा पार्टीका मानिसहरु थिए । तीनैवटा पार्टीका बौद्धिकहरु, पत्रकारहरु सबै थिए । उनीहरु सबैले साझारुपमा मनमनै मानेको नेता केपी ओली । त्यसकारण केपी ओलीभन्दा अर्को मानिस आउने सम्भावना नै हुँदैन नि ।

जब दुई पार्टीको गठबन्धन बनाएर चुनावमा जाने बेलामा अब राजनीतिक मुद्दा सकियो, अब मुद्दा समृद्धिको मात्रै हो भन्नुको अर्थ के हो ? प्रतिगमनलाई स्वीकार गरेको हो । प्रतिगमन भएको छैन भनेको हो । राजनीतिक लडाईं अहिलेलाई सकियो, अब समृद्धिको लडाई मात्रै बाँकी छ भनेर बाबुराम भट्टराईले बारम्बार भन्नुहुन्थ्यो । त्यो कुरा त केपी ओलीलाई नेता मानेको हो घुमाएर । उनले आफूले मान्ने भएनन् तर गाली गरिरहेका थिए । तर जनताले ‘भाइब्स’ बुझ्छन् नि । ‘इन्स्टिंक्ट’ भन्ने कुरा हुन्छ जनतामा । भनेपछि बाबुरामले पनि त घुमाएर केपी ओलीलाई मानिरहेको भन्ने कुरा त जनताले बुझ्छन् । बोल्न सक्दैनन्, व्याख्या गर्न नसक्लान् र बुझ्न त बुझिरहेका हुन्छन् नि मनमनै ।

स्थिर सरकारको गलत भाष्य

युग पाठक

यदि समृद्धि नै एजेन्डा हो भने सबैभन्दा बलियो शक्तिलाई भोट दिने हो नि त जनताले । राजनीतिक मुद्दा सकिएको हो भने जो सबभन्दा बलियो छ उसलाई भोट दिँदा पो विकास हुन्छ त । समृद्धिका लागि दुई तिहाई बहुमत चाहिन्छ ।

समृद्धिका लागि बलियो र स्थिर सरकार चाहिन्छ भन्ने जुन भाष्य बनाइएको थियो । जुन विलकुल गलत कुरा हो । विकास र समृद्धि हाम्रो देशमा तथाकथित राजनीतिक स्थिरतासँग जोडिएको कुरा होइन । हुन्थ्यो भने ३० वर्षको पञ्चायतमा मनग्ये विकास भएर देश स्वर्ग हुन्थ्यो । स्वीट्जरल्याण्ड बनाउने त उनीहरुले पनि भनेका हुन् । १०४ वर्ष पनि स्थिर नै थियो मुलुक । त्यो विलकुल गलत भाष्य थियो । त्यो भाष्यलाई सबै राजनीतिक शक्तिले एउटै भाष्यलाई पछ्याएपछि नेता केपी ओली नभएर को हुन्छ ? प्रतिगमन संस्थागत नभएर के हुन्छ ?

जिल्लाले जिस्काइरहेको संघीयता

नेपाली राजनीतिमा ओलीको पुनर्जन्म प्रतिगमनको नेतृत्व गर्नको लागि थियो । उनी उपयुक्त पात्र बनेर राजनीतिक रंगमञ्चमा अगाडि आए । अहिले दूधको साक्षी बिरालो भइरहेका छन् । परिवर्तनका एजेन्डाहरु संस्थागत गर्ने ओलीको नेतृत्वमा । उनीहरुले पहिलेदेखि भनिरहेका थिए, संघीयता ठिक छैन । संघीयता भनेर जसरी ७ प्रदेश बनाइयो, त्यसको सीमांकन पहिलाको जिल्ला संरचनालाई कायम गर्ने खालको छ । जिल्लाको अवधारणालाई छाडिएकै छैन । जिल्लाप्रतिको लामो समयको आदत छाड्न सकिएको छैन । त्यो नक्सा बदल्नै चाहिएको छैन । त्यही कुरा संविधानले पनि गरिदिएपछि व्यवहारमा अब के हुन्छ ?

संविधानले नै प्रदेशलाई कुनै अधिकार नै नदिइकन एकैचोटी स्थानीय तहलाई धेरै अधिकार दिएको छ । संविधान भनेको त कागज मात्रै त होइन । पहिले नै माहौल बनाइसकिएको छ अहिलेको प्रदेशलाई पंगु बनाउने । अनि यो प्रदेशलाई पंगु बनाइएको कुरा सिडियोलाई लगेर थुपारिदिएर हुन्छ ? संविधानले तीन तहको संरचना परिकल्पना गर्छ । जिल्ला कहाँ छ ? कुन संविधानका आधारमा, कुन कानुनका आधारमा सिडियो पठाउनुहुन्छ ? संविधानले त सिडियो हटाइसक्यो । तर, कानुन बनाएर सिडियोलाई सेना समेत परिचालन गर्न सक्ने शक्तिशाली बनाउन विधेयक लगिएको छ संसदमा । भनेपछि उनीहरु संघीयताको आत्मा नष्ट गर्न लागिरहेका छन् । यसरी संघीयतालाई पंगु बनाएर पछि खारेज गर्ने तयारी भइरहेको छ ।

(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीलाई हामी क्रमशः प्रस्तुत गर्नेछौं- सं.)

यो पनि-

‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’

परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्

The post ‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’ appeared first on Sajha Post.


ह्यारी, मेघन र मार्क्स

$
0
0

कार्ल मार्क्सले पूर्वानुमान गरेका थिए– पुँजीवादले सामन्तवादका सबै अवशेषहरुलाई नष्ट गर्दछ । कम्युनिष्ट घोषणा पत्रकै भाषामा यसरी भनौं, ‘यसले सामन्तवादले बाँधेर राखेका स्वभाविक उच्चतावोधलाई धुजाधजा पारेर अलग–थलग गरिदिन्छि । धार्मिक अनुग्रह र उन्मत्त अन्धताका आनन्दहरुलाई अहंकारकेन्द्रित हिसाबकिताबको चीसो पानीमा डुबाइदिन्छ ।’
साथै, मार्क्सले यो पनि भनेका थिए कि पुँजीवादले सबै राष्ट्रिय संस्थाहरुलाई विश्व बजारको ‘क्रान्तिकारी तर्क’ को बिषयवस्तु बनाईदिन्छ । बेलातयी राजतन्त्र, जो देशको सामन्ती प्रणालीको अन्तिम अवशेष हो– यसले मार्क्सको शानदार खण्डनलाई प्रमाणित गर्दिएको छ ।

सन् १९७९ यता बेलायतको श्रीपेचले भिक्टोरियन पुँजीवादको उष्णता र बजार रुढीवादको पुनर्प्रवर्तन– दुवैलाई आफूमा जोगाएको छ । ‘द इङ्लिस कन्स्टिच्युसन’ मा वाल्टर बेगोटले भने जस्तै ‘बेलायती प्रकारको राजतन्त्रले वर्गविभाजन र वैमनस्यतामा बाँडिएको समाजलाई शक्तिको स्रोतसँग गमले झैं टाँस्ने काम गरेको छ ।’ ब्रिटिस राजतन्त्रले सर्वसाधारणबीच तमासा, रोमान्स, रहस्य र नाटकीयताको सुई दिइरहेको छ, जसले पुँजीवादको सन्नाटापूर्ण व्यवसाय–चक्रमा रस भर्ने काम गरेको छ ।

तर राजशाही शासक, शासिकाहरु भने मार्क्सकै भनाईलाई प्रमाणित गर्न तिर लागेका छन् । उनीहरु बेलायती राजतन्त्रको आधुनिकतासँगको तालमेलका लागि जोखिम उत्पन्न हुने घातक हतियार बन्दैछन् । अघिल्ला जोखिमहरु मूलतः व्यक्तिगत थिए । एडबर्ड आठौं, राजकुमारी डायना र राजकुमार एन्ड्रु । तर अहिलेको तर्क भने विल्कुलै आर्थिक प्रणालीसँग जोडिएको छ । ह्यारी र मेघन शाही पदवी यसकारण छोड्दैछन कि उनीहरु ‘पेशागत आयआर्जन गर्ने स्वतन्त्रताको मूल्य’ चुकाउन चाहन्छन् । यसरी शाहज्यादा, शाहज्यादी राजतन्त्रको पुँजीवादी आत्मालाई आवरणहीन बनाउँदैछन् ।

राजतन्त्रले पुँजीवादसँग यसप्रकारको परीक्षण गरेको यो पहिलो पटक भने हैन । राजकुमारी डायनाले राजसंस्थालाई ‘फर्म’ भनेकी थिइन्, किनकि यसको तरिका राजतन्त्रको जस्तो भन्दा बढी व्यापारिक खालको थियो । डची ब्राण्डअन्तर्गत प्रिन्स चार्ल्सले एक बर्षभित्र २६० मिलियन स्टर्लिङ पाउण्ड बराबरको अर्गानिक खाना बेच्दछन् । तर पनि अहिलेसम्म पुँजीवादले सामन्तवादको नोकरकै रुपमा काम गरिरहेको थियो । राजकुमार प्रिन्स आफ्नो डची ब्राण्डको नाफाबाट दान दिन्छन् र पुरानो युगका उच्च मूल्यहरुलाई मान्यता दिन चुक्दैनन् । सघन खेती र आधुनिक वास्तुकलाको दुरुत्साहन गर्दै व्यावसायीहरुलाई सिद्धान्तभन्दा मुनाफालाई अगाडि राख्न सन्देश दिन्छन् ।

पक्कै, शाही खान्दानियाँहरु केही नयाँ चिज गरिरहेका छन् । उनीहरु कच्चा तरिकाले पुँजीवादको आधुनिक रुपलाई अंगालो मार्दैछन् । राष्ट्रिय हैन– वैश्विक, वास्तविक हैन, भर्चुअल– पुँजीवादका अपरिहार्य तर्कहरुद्वारा उत्प्रेरित भएर नक्कली शान र सौकातको पछाडि लाग्न थालेका छन् । यसप्रकारको पुँजीवाद सामन्तवादको विपरित हो । सामन्ती समाजमा आफ्ना अनुयायीहरुको अपेक्षासंग पारस्परिक बन्धनमा बाँधिनु पर्दछ । एक्काइशौं शताब्दिको पुँजीवादमा अनुयायीहरुको संचिती मौद्रिकरण हुन्छ । सामन्ती समाजमा बन्धनहरु जग्गाको कित्ताासंग जोडिएका हुन्छन् । एक्काइशौं शताब्दिको पुँजीवादले सबैलाई विश्व बजार अर्थतन्त्रका पछिल्ला अवसरहरुतिर धकेलिरहेको हुन्छ ।

अहिलेको शाही विचलनको एउटा उपयुक्त कारण यो होला– मेघन मार्कले, मनोरन्जन व्यवसायकी उत्पादन हुन् । अरु उद्योगले भन्दा बढी यो उद्योगले मार्क्सको यो भनाईलाई परिपुष्टि गर्दिन्छ– ‘सबै अपवित्र चिजहरु पवित्र छन् र सबै ठोस चीजहरु पग्लेर हावामा विलाउँदछन् ।’ यही बुझेर हुन सक्दछ– शाही सदस्यहरु आफूलाई विश्व ब्राण्डमा बदल्न कटिबद्ध छन् ।

शुरुवातमा उनीहरुले घोषणा गरे– उनीहरु शाही कर्तव्यहरु छोड्दैछन । यो घोषणा हलिउड स्टारडममा फर्किनका लागि एक चमकपूर्ण अपिल थियो । सेप्टेम्बरदेखि उनीहरु आफ्नो नयाँ वेभसाइटमा काम गर्न थाले । उनीहरुको कोडिङ लगहरु अनुसार डिसम्बरसम्ममा उनीहरुले शाही चिन्हलाई उपयोग गर्दै मोजादेखि परामर्श सेवासम्मका सयौं ट्रेडमार्कहरु बनाए । उनीहरुले एक ब्रान्डिङ एजेन्सी नै नियुक्त गरी अनेक ब्राण्डहरु निर्माण गरे जसभित्र बच्चाको च्यानेल निकोलडेन, फेसन गृह डियान भोन फर्सुटेनबर्ग र आइस हकी टिम टोरन्टो मेपलजस्ता ग्राहक सेवाहरु समावेश छन् ।

उनीहरु डिज्ने नामको एक मनोरन्जन कम्पनीसँग सम्बन्ध बनाउने सम्भावनाको खोजी गर्दैछन् ।

ब्रान्डिङ विज्ञहरुको अनुसार ह्यारी र मेघन आफैंमा रेडिमेड ब्राण्ड हुन् । उनीहरुले व्यवसायको पहिलो वर्षमा नै ५०० मिलियन स्ट्रलिङ पाउण्ड कमाउने सम्भावना छ । मार्केटिङ हब वेभसाइटका अनुसार उनीहरुसंग इन्टाग्राममा १० मिलियिन अनुयायीहरु जसबाट प्रति प्रायोजित पोष्टका लागि ३४ हजार स्ट्रलिङ पाउण्डको आम्दानी अपेक्षा गर्न सक्दछन् ।

बोस्टनको एक विश्लेषण कम्पनी सेमरुसका अनुसार मिसेज मेघनको ‘खोजी मूल्य’ वियोन्सको भन्दा ३ गुणा बढी छ । अहिले ह्यारी र मेघन रोयल्टीका नियमहरु पुनर्लेखन गर्दैन ताकी उनीहरु सार्वजनिक सेवकको रुपमा हैन, सेलिव्रेटीका रुपमा प्रस्तुत हुन सकून् ।

उनीहरुले शाही सूचना प्रणालीसंगको सम्बन्ध तोड्दैछन् । यसले उनीहलाई आफूले इच्छाएको प्रेस कम्पनीहरुसँग सम्बन्ध निर्माण गर्न सजिलो बनाउनेछ । उनीहरु यस प्रयोजनका लागि संवाद जारी राखेका छन् । जनवरी १३ मा दरबार र उत्तराधिकारबीचको संकटबारे एक प्रेस सम्मेलन आयोजना गर्‍यो । मेघन त्यसमा सामेल भइनन् । उनी क्यानडामा थिइन् । उनले हजुरआमा, बुबा र दाजुको उत्तराधिकारबारे प्रतिरक्षा गर्न ह्यारीलाई एक्लै छोडिदिइन् । ब्राण्ड विज्ञहरुका अनुसार ह्यारी र मेघनलाई अरु कुराको भन्दा आफ्ना ब्राण्ड जोगाउने बढी छ ।

एक्काइशौं शताब्दिकोे पुँजीवाद सरल र शान्तिपूर्ण समाधानको बाटो हिंडिरहेको छैन । ह्यारीको विरासतले उनीहरुलाई विश्वका धनीहरुको सुचीमा पुर्‍याउँदैन । ह्यारीले अंशमा पाउने अनुमानित सम्पत्ति २०–३० मिलियन स्ट्रलिङ पाउण्ड मात्र हो । उनीहरु यो बुझिरहेका छन् कि राजतन्त्रको उत्तराधिकारले भन्दा राजतन्त्रसँग जोडिएको ग्लेमरको बजारीकरणले उनीहरुका ब्राण्डलाई बढी तताउने छ र उनीहरुका च्यानलबाट पस्किने विषयवस्तुको मूल्य धेरै हुनेछ चाहे ती राजतन्त्रको मुटुमा गढेर बसेका नश्लवाद र यौनिकतासम्बन्धि बिषय नै किन नहून् ।

बाल्टर बेगटको भनाई दिनको घाम जत्तिकै छर्लङ भएको छ कि एक्काइशौं शताब्दिको पुँजीवादको चमक सामू राजतन्त्रको जादू केही पनि हैन ।

(द इकोनोमिष्टको प्रिन्ट संस्करणको बेलायत सेक्सनमा ‘ह्यारी, मेघन र मार्क्स’ शिर्षकमा प्रकाशित लेखलाई साझापोस्टले गरेको भावनानुवाद भावानुवाद)

The post ह्यारी, मेघन र मार्क्स appeared first on Sajha Post.

‘एमसीसीमा राष्ट्रिय कोणबाट बहस गरौं, कुनै पार्टीभित्रको गुटको कोणबाट होइन’

$
0
0

सर्वप्रथम विश्व इतिहासकै कान्छो संविधानसभाबाट निर्मित संविधानअन्तर्गत बनेको पहिलो संसदको सभामुखजस्तो गरिमामय पदमा सर्वसम्मतिबाट चयन हुनुभएकोमा, यसपदभार ग्रहण गर्नुभएकोमा समाजवादी पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु ।

म व्यक्तिगतरुपमा पनि प्रसन्नता व्यक्त गर्न चाहन्छु । यहाँसँग २०४७/०४८ सालदेखि झण्डै २५ वर्षसम्म निरन्तर निकटतामा रहेर सहकार्य गर्ने अवसर मलाई मिलेको छ । र, यहाँका गुणहरु म राम्रोसँग सम्झन्छु । यहाँको बौद्धिकता, त्याग र समर्पणको भाव, लगनशिलताले यो गरिमामय सदनको नेतृत्व गर्ने कुशल यहाँ व्यक्ति हुनुहुन्छ भन्ने मेरो दृढ विश्वास छ । त्यसैले, ती गुणहरु यहाँ झल्किऊन् । म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

आज हामी धेरै गम्भीर विषयमा त सायद प्रवेश गर्दैनौं । तैपनि यो सदन विश्वमा लोकतान्त्रिक अभ्यासको सबैभन्दा उन्नत धरातलमा उभिएर गठन भएको सदन हुनाले यसका क्रियाकलाप र गतिविधिहरु अलि विशिष्ट प्रकृतिका होऊन् र त्यो गराउनका निम्ति यस सदनको नेताको नाताले यहाँको महत्वपूर्ण भूमिका हुन्छ भन्ने मलाई लाग्दछ । त्यसैले पनि म केही विषयमाथि यहाँको प्रारम्भमै ध्यानाकर्षण गराउन चाहन्छु ।

डा. बाबुराम भट्टराई

पहिलो विषय- जनप्रतिनिधिसभा लोकतन्त्रको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण अंग हो । हामी सबै अहिले चाहे उदारवादी लोकतन्त्र, चाहे समाजवादी लोकतन्त्रमा विश्वास गर्ने धारहरु हुन्, ती सबैले जनप्रतिनिधिसभालाई सबैभन्दा उच्च स्थानमा राख्दछौं । तर, व्यवहारमा, इतिहासमा के हुन पुग्यो भने राज्यका तीन अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्थान क्रमशः उदारवादी लोकतन्त्रले पनि आफ्नो उदारता गुमाउँदै गयो र समाजवादी लोकतन्त्रले लोकतन्त्रका कतिपय गुणहरु छोड्दै गयो । त्यसले गर्दा प्रतिनिधिसभा जनताको नीति निर्माणको सबैभन्दा उच्चतम थलोको गरिमा विश्वव्यापी रुपमा नै अलि तल परेको र त्यसमाथि हाम्रो पनि उचाईमा जान नसकेको हामीलाई अनुभूत हुन्छ ।

मर्यादाक्रमकै हिसाबले हेर्ने हो भने मेरो निजी विचारमा राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति त राज्यको मर्यादाक्रममा माथि हुनैपर्‍यो । त्यसपछिको मर्यादाक्रममा आउनुपर्ने जनप्रतिनिधिसभाको सभामुख हो । किनकी सबै नीति निर्माण हुने, सबै नीतिहरुको, लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतिनिधिसभा हो । तर, दुर्भाग्यवश हाम्रो कार्यकारिणी सायद अरुको नक्कल गरेर होला, हामीले माथि राख्यौं । त्यो हदसम्म त ठिकै थियो । किनकी कार्यकारिणी व्यवस्थापिकाबाट जन्माउने भएपछि जन्माउने आमा ठुलो कि बच्चा ठूलो ? त्यति मात्र भएन ।

हामीले जानेर नजानेर न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानूनको व्याख्या गर्छ, त्यसका प्रमुख पनि व्यवस्थापिकाका प्रमुखभन्दा माथि राखियो । यसरी सायद हामीले लोकतन्त्रको गरिमालाई अवमूल्यन गरिरहेका छौं । र, यहाँको कार्यकालमा, यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस् भन्ने मेरो आग्रह छ । हुन त, यो धेरै ठूलो कुरा अमूर्त कुरा लाग्न सक्छ । तर, सांकेतिक महत्वको विषय हो भन्ने मेरो ठम्याई छ ।

दोस्रो कुरा, लोकतन्त्र भनेको विपरितहरुको, विपरित विचारहरुको संघर्ष र एकत्वको अभिव्यक्ति हो । उदारवादी लोकतन्त्रले पनि विविधतामा एकतालाई मान्दछ । बहुलवादलाई सिद्धान्त र आर्दशै मान्दछ । र, समाजवादी लोकतन्त्र मार्क्सवादी दर्शनले त त समाजलाई नै, विश्वलाई नै एकत्व भनेर मान्दछ । त्यसैले लोकतन्त्र भनेको पनि विपरितहरुको एकत्व हो ।

सत्तापक्ष र प्रतिपक्ष यी एउटै सिक्का दुई पाटा हुन । यी दुई मिलेर मात्रै लोकतन्त्र हुन्छ । तर हामीकोमा कताकता हाम्रो सम्माननीय प्रधानमन्त्री जी त यहाँ हुनुहुन्न, सभामुख महोदयको अनुमतिले म स्मरण गर्न चाहन्छु, उहाँले नेपाली लोकतन्त्रको विकासको इतिहास कोट्याउँदै सहमतिबाटै मेलमिलापबाटै यहाँसम्म आएको भन्ने कुराहरु गर्नुभयो, त्यो आंशिक सत्य हो, पूर्ण सत्य होइन । एकता, संघर्ष, रुपान्तरण त्यो विकासको नियम हो ।

नेपालको लोकतन्त्रका सम्पु्र्ण समस्या रह्यो के भने हामीले ००७ सालदेखि ०४६ साल हुँदै ०६२/६३ र अहिलेसम्म आउँदा आन्दोलनबाट परिवर्तन त गर्‍यों, तर कहिल्यै पनि पुर्णतामा पुर्याउन सकेनौं । सापेक्ष पूर्णतामा त पुर्‍यायौं तर हाम्रो भूराजनीतिक जटिलता, देशभित्रको जटिलताका कारणले गर्दा हामीले ००७ सालमा पनि सत्ताधारीसँग सम्झौता गरेर उसैलाई अगाडि सार्‍यौं । त्यसको मार ०१७ सालमा भोग्यौं । ०४६ सालमा पनि हामीले त्योभन्दा अलि माथि गयौं ।

फेरि पनि राजतन्त्रसँग सम्झौता गयौं, त्यसको विरुद्धमा माओवादी जनयुद्ध र पछि मधेस आन्दोलन लगायतका आन्दोलनबाट त्यसलाई अन्त्य त गर्‍यौं, फेरि पनि नेतृत्वमा को पुग्यो ? आन्दोलनकारी शक्ति, परिवर्तनकामी शक्ति नेतृत्वमा होइन, परिवर्तनका विरोधीहरु नेतृत्वमा पुगे । त्यसले गर्दा हाम्रो लोकतन्त्र अधुरो र अहिले यो पीडा हामीले व्यहोर्नु परिारखेको अवस्था छ । त्यसैले मैले यहाँलाई आग्रह गर्न खोजेको के हो भने, सत्तापक्ष र प्रतिपक्ष दुबै मिलेर मात्रै लोकतन्त्र प्रर्णता हुन्छ ।

र, सत्तापक्षले प्रतिपक्षको फरक मतको विचारको दमन गर्ने र प्रतिपक्षले पनि आफ्नो भुमिका सत्तापक्षलाई घचघच्याउने हो, यसका अपूर्णतालाई पूर्णता गर्न जोड दिने हो भन्ने बिर्सिएर फेरि त्यसैको पछि लागेर त्यसैको भागवन्डा गरेर मागेर खाने, मेलमिलापको नाममा फेरि त्यो आफ्नो धर्म बिर्सने काम प्रतिपक्षले पनि गर्नुहुँदैन

सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नो दुईवटै लोकतन्त्रमा भूमिका हुन्छ । दुबै आआफ्नो धर्ममा, कर्तव्यमा बस्नुपर्दछ । त्यसैले सभामुख जस्तो गरिमामय पदमा रहनु भएको हुनाले यहाँसँग मेरो विशेष आग्रह छ, यहाँले यो सत्तापक्ष, प्रतिपक्षको आआफ्नो धर्म निर्वाह गर्नको निम्ति यहाँले उत्प्रेरणा दिनुपर्छ । र,मूलतः पूर्ववक्ताहरुले पनि भनिसक्नु भएको छ, म पनि स्मरण गर्न चाहन्छु, संसद भनेको मूलतः प्रतिपक्षकै हो ।

आदरणीय दमननाथ ढुंगानाले मात्रै होइन, मैले विभिन्न देशका सदनहरुको सञ्चालन भएको पनि देखेको छु । अचेल प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । त्यहाँका सभामुखले मूलतः प्रतिपक्षका विचारहरुलाई नै महत्व दिएको, सदनलाई बहसको थलो बनाएको हामीले देखेका छौं । त्यसैले यतापट्टि ध्यान पुगोस् ।

यसैसँग जोडेर हाम्रो सदन दुःखका साथ भन्नुपर्छ हामी गम्भीर बहसमा कहिल्यै पनि सहभागी हुँदैनौं र राष्ट्रिय मुद्दाहरुमा बहसहरुमा हाम्रो बहस हुँदैन । खाली झिनामसिना कुराहरुमा हुन्छ । त्यसले गर्दा सदनप्रति हाम्रो आकर्षण छैन । त्यसैले कुनै पनि बेला हाम्रो सदन अपूर्ण रहेको खाली, बेकामे हामी देख्छौं । यसको अर्थ यो सदन जति जीवन्त हुनुपथ्र्यो, राष्ट्रिय मुद्दाहरुमा जुन ढंगको बहस हुनुपर्थ्यो , यहाँ उठाएका प्रश्नहरुलाई सत्ताले जोड दिनुपर्थ्यो, त्यो नहुनुको कारणले पनि यो बनेको छ । त्यसैले यहाँको नेतृत्वको कार्यकालमा यता पनि विशेष ध्यान पुगोस् भन्ने म आग्रह गर्न चाहन्छु ।

उदाहरणको निम्ति नेपाल जस्तो जटिल भूराजनीतिक भएको देशमा भारत, चीन, अमेरिका यी तीनओटा मुख्य शक्ति र अन्य शक्तिहरुको बीचमा एउटा समन्वयकर्ताको नीति लिएर हामीले सन्तुलित सम्बन्ध राख्न सकेनौं भने हामीले जतिसुकै चिच्याएर कराए पनि हाम्रो सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्दै देश एकताबद्ध गरेर समृद्धितिर लिएर जान कठिन छ । यस्तो मुद्दामा हामी अनावश्यक ढंगले विभाजित हुनुहुँदैन ।

अहिले एमसीसीको जस्तो कुरा आइरहेको छ, म बुझ्छु, यसमा एउटा राष्ट्रिय कोणबाट आउनुभन्दा पनि पार्टी विशेष भित्रको गुटको गन्ध त्यसमा देखा परिरहेको छ । यो सुखद् विषय होइन । यस्तो विषयमा गहन छलफलको एउटा नीति निर्माण हुनुपर्छ ।

दोस्रो मुद्दा हामी लोकतन्त्रको उच्चतम अभ्यास गर्नेक्रमा निजी स्वतन्त्रता मात्र होइन, उदारवादी लोकतन्त्रले भनेको स्वतन्त्रता समाजवादी लोकतन्त्रले भनेको समानता मात्र होइन, त्योभन्दा माथि उठेर हामीले समावेशिता र सहभागितासहित उन्नत लोकतन्त्रको हामीले कुरा गरिरहेका छौं । त्यस अर्थमा यो लोकतन्त्रलाई अझै लोकतान्त्रिक गर्नको निम्ति हाम्रो अभ्यास यहाँ हुनुपर्छ ।

पछिल्ला जुन घटनाक्रमहरु छन् हाम्रो संविधानले अगाडि सारेका संघीयता, समावेशिता जस्ता मुद्दाहरु छन्, क्रमशः ती खोसिदै गएको हामीले देखेका छौं । संघीयता नाम मात्रैको बन्दै गइरहेको छ । पछिल्लो चरणमा जुन ढंगले कार्यान्वय हुँदै छ, प्रदेशमा नामाकरण र राजधानीहरू पिटिदै छन्, त्यो हिजोको पञ्चायतको अञ्चलहरुभन्दा कुनै पनि अर्थमा फरक हामीले देखिरहेका छैनौं । जनताको त्यति ठूलो आन्दोलन, मुख्य त माओवादी जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलनले प्राप्त गरेका उपलब्धि, जसको जगमा यो संविधान बनेको थियो, त्यसको विपरित हो । त्यसैले त्यसको रक्षाको निम्ति पनि उभिनुपर्छ । यो सदनले आवाज उठाउनै पर्छ ।

तेस्रो, सुशासनको विषय हो । भ्रष्टाचारका विषयमा जन ढंगले हामीले यो सदनमा बहस, छलफल, गरेर सरकारलाई अंकुश लगाउन सक्नुपर्थ्यो, त्यो लगाउन हामीले सकिरहेका छैनौं ।

एउटा सुखद कुरा भन्नुपर्छ, प्रेसले यी विषयलाई उधिनेर जनतालाई सजग गराइराखेको छ । यति प्रकरण, बुढीगण्डकी प्रकरण, वाइडबडी प्रकरणलगायत यस्ता धेरै प्रकरणहरु जुन छन्, यसले गर्दा देशमा भ्रष्टाचारको यति ठूलो डंगुर लाग्दै गइरहेको छ र हामी संवेदनाहिन बन्दै गइरहेका छौं । यस्तो विषयमा छलफलको थलो र सरकारलाई अंकुश लगाउने थलो यो बन्न सक्नुपर्छ । यतापट्टि पनि सभामुख महोदयको ध्यान पुग्नेछ भन्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु  ।
सुशासनपछि समृद्धिको जुन कुरा हामीले गरेका छौं, अर्थतन्त्रको स्थिति हामीले हेर्ने हो भने कुनै संरचनात्मक परिवर्तनको संकेत देखा पर्दैन । जुनप्रकारको आर्थिक वृद्धि छ, यसले दिगोपना हासिल गर्छ भन्ने कुनै पनि लक्षण छैन । कुनै वर्ष हामीले ६ प्रतिशतभन्दा बढीका वृद्धिदर हासिल गरे पनि त्यसका निम्ति मुलतः हामीले कृषि क्षेत्रमा जुनप्रकारको रुपान्तरण हुनुपर्थ्यो, त्यो हाम्रो भइराखेको छैन ।
उखु किसानका कुराहरु उठे । यो त एउटा सानो रोगको लक्षण मात्र हो । कृषि क्षेत्र डामाडोल बन्दै गइरहेको छ । कृषिप्रति कुनै आकर्षण छैन । हाम्रो श्रमशक्ति पलायन भएर गइरहेको छ । कृषि क्षेत्रको आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने, कसरी युवा जनशक्तिलाई देशभित्र राख्ने भन्ने विषयमा हाम्रो कुनै नीति छैन । भएका उद्योग धन्दाहरु हाम्रा चौपट हुँदै गएका छन् । नयाँ कुनै विदेशी लगानी र उत्पादनमुलक खालका उद्योग हाम्रा छैनन् । खाली बन्द, व्यापार र कमिशनखोरीको बलमा देखिएको वृद्धि हो यो दिगो हुनेवाला नै छैन । त्यसले यस्ता विषयहरुमा पनि हाम्रो राष्ट्रिय विकासका नीति के हुने, समृद्धिको नीति के हुने ? यो विषयमा पनि छलफल हुनुपर्छ भन्ने म ठान्दछु ।
अन्त्यमा, हामीले यति ठूलो क्रान्ति, परिवर्तनपछि वृहद शान्ति सम्झौतापछि जुन हामीले सत्य निरुपण तथा मेलिमलाप आयोग र बेपत्ता छानबिन आयोग हामीले गठन गर्‍यौं । अहिले १०-१२ वर्ष बितिसक्दा पनि त्यसको काम पूरा हुन नसक्नु गम्भीर विषय छ । अहिले यहाँ सभामुखकै विषयलाई लिएर एउटा एउटा मुद्दालाई अल्झाएर उल्झाएर त्यसलाई बल्झाउने जुन प्रयत्न भइरहेको छ, यसले कसलाई फाइदा पुग्छ ? के हामी फेरि ती द्वन्द्वका घाउहरु कोट्याएर त्यसलाई क्यान्सर बनाउन खोजेको हो ? अनि त्यसले हल गर्छ ? एउटा व्यक्ति व्यक्तिको मुद्दामा जाने हो भने १५-१७ हजार मानिसहरु मारिएका/बेपत्ता भएका छन् । त्यसको हल कसरी गर्ने ? समग्रमा हामी हल गर्ने कि अंश अंशमा हामी कोट्याएर जाने ?
यो विषयमा सभामुख महोदय स्वयम् नै यसको जानकार हुनुहुन्छ । त्यसैले यो मुद्दालाई छिटोभन्दा छिटो बृहद् शान्ति सम्झौताको स्पिरिटअनुसार त्यसअनुरुप यसलाई हल गर्न पनि हामीले यसलाई ध्यान दिनैपर्छ । त्यसक्रममा रेशम चौधरीको जुन विषय आउँछ, टिकापुर घटनाको कुरा आउँछ, त्यसलाई पनि हामीले राजनीतिक घटनाकै रुपमा लिएर हामीले समाधान गर्न सक्नुपर्छ । टिकापुरको जुन थारु विद्रोह हो, त्यसलाई राजनीतिक ढंगले हामीले ग्रहण नगरेसम्म त्यसलाई कसरी हल गर्न सकिन्छ ? अदालतमा पुगिसक्यो, अदालतले फैसला गरिसकेको छ । अब माननीय रेशम चौधरीलाई रिहा गर्नुस् भनेर कसरी गर्ने त्यहाँनेर ? जबसम्म यसलाई राजनीतिक घटनाको रुपमा लिइँदैन, र हल गरिँदैन तबसम्म यो हल हुनैसक्दैन ।
त्यसैले मेरो विनम्र आग्रह छ, यस्ता विषयमा गम्भीरतापूर्वक छलफल होस् र म समाजवादी पार्टीको तर्फबाट विशेष विश्वास के गर्न चाहन्छु भने हामीले आफूलाई एउटा एउटा वैकल्पिक शक्ति भनेर राजनीतिक शक्ति मात्र होइन, विचार, राजनीतिको नयाँ ध्रुवको रुपमा अगाडि बढाउने हाम्रो सोच भएकोले र सम्मानीय सभामुख महोदय समेत स्वयम् ठूलो क्रान्तिकारी परिवर्तनको अगुवा भएर आउनुभएको नाताले यी घटनाहरुसँग यहाँ राम्रैसँग परिचित हुनुहुन्छ । त्यसैले, यहाँको नेतृत्वमा यी सबै समस्या छिटो हल गरेर देशलाई एउटा दिगो शान्ति हुँदै समृद्धितिर लिएर जानमा यो सदनले भूमिका निर्वाह गर्न सकोस् । यो विषयमा यहाँको नेतृत्व पुगोस्, म यही हार्दिक कामना गर्दछु ।

(डा. भट्टराईले २०७६ माघ १४ गते संसदमा गर्नुभएको सम्बोधनको सम्पादित अंश)

The post ‘एमसीसीमा राष्ट्रिय कोणबाट बहस गरौं, कुनै पार्टीभित्रको गुटको कोणबाट होइन’ appeared first on Sajha Post.

बुख्याचा केन्द्रीय समिति, विचित्र दस्तावेज, निर्जीव नेताहरु

$
0
0

सत्तारुढ नेकपाको दोस्रो केन्द्रीय समिति बैठक पार्टी एकताको झण्डै २१ महिनापछि काठमाडौंमा बसिरहेको छ । यो बैठकमा पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यो प्रतिवेदनको विषयवस्तुमाथि टिप्पणी गर्नुअघि पार्टी एकताको पृष्ठभूमिलाई खोतल्नु आवश्यक हुन्छ ।

२०७४ को संसदीय निर्वाचन तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (एकिकृत माओवादी केन्द्र) ले ६०–४० को भागबण्डामा लडेका थिए तर पार्टी एकीकृत भइसेको थिएन । निर्वाचनको करिब ६ महिनापछि २०७५ जेष्ठ ३ गते यी दुई पार्टीबीच एकता भयो । केपी ओली र पुष्पकमल दाहाल एकीकृत नेकपाका दुई अध्यक्ष बन्न पुगे ।

पार्टी एकताको घोषणाका लागि जेष्ठ ३ गतेको छनौट सम्भवत् संयोग मात्र थिएन, भावी दिनमा नेकपा कस्तो विचार र कार्यदिशासहित अगाडि बढ्दछ भन्ने संकेत र सन्देश समेत त्यो दिनले गर्दथ्यो । जेष्ठ ३ मदन भण्डारी तथा जीवराज आश्रितको स्मृति दिवस हो । भण्डारी जनताको बहुदलीय जनवादका प्रणेता मानिन्छन् ।

वि.सं.२०४९ मा एमाले पाँचौं महाधिवेशनमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रस्तुत र पारित गर्दै गर्दा तत्कालीन माओवादी महामन्त्री प्रचण्डले त्यसलाई दक्षिणपन्थी विचलनका रुपमा विश्लेषण गरेका थिए । मदन भण्डारीमा संशोधनवाद केन्द्रीकृत भएको हुँदा क्रान्तिकारी कम्युनिष्टहरुको भिन्नै केन्द्र बन्नुपर्ने र क्रान्तिकारी सिद्धान्त संश्लेषण हुनुपर्ने धारणा माओवादी धारको थियो ।

त्यहीअनरुप त्यहाँ एक्काइशौं शताब्दिको जनवाद र प्रचण्डपथजस्ता अवधारणा विकास गरिएको थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने लक्ष्य राख्दै जनयुद्ध प्रारम्भ गरिएको थियो । पार्टीको नाम र मार्गदर्शक सिद्धान्तमा माओवाद थपिएको थियो । एमाले जनयुद्धको विरुद्ध मात्र थिएन, उसले मार्गदर्शक सिद्धान्तबाट माओवाद त के, माओविचारधारा हटाएको एक दशक बढी भइसकेको थियो ।

यसरी दुई फरक वैचारिक पृष्ठभूमि, कार्यदिशा र एजेण्डासहित राजनीतिको अखडामा प्रमुख पहलमान बन्न पुगेका कम्युनिष्ट पार्टीहरु एकतापछि कुन बाटो लाग्छन् भन्ने जिज्ञासा सबैमा थियो । माओवादी आन्दोलनले उठाएका केही मुद्दाहरु पूरा हुन बाँकी नै थिए ।

जस्तो कि– शासकीय स्वरुपको परिवर्तन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद, पहिचान र अधिकारमा आधारित संघीयता, सीमान्तकृत समुदायको मूल प्रवाहीकरण, आरक्षण र समावेशिता, शिक्षा र स्वास्थ्यको मौलिक हकमा रुपमा प्रत्याभूतिजस्ता विषय थाती नै थिए । माओवादीले एमालेसँग एकता गर्दा यी मुद्दाहरुको स्थिति के हुन्छ ? त्यो धेरैको रुचि र जिज्ञासाको विषय थियो ।

जसै जेष्ठ ३ गते पारेर नेकपा एकीकृत भयो, प्रचण्डले माओवादी तर्फका बाँकी एजेण्डाहरु बारे बोल्न कम गर्दै लगे । उनले आफूलाई मदन भण्डारीजस्तै एक समानान्तर व्यक्तित्व भएका नेताकारुपमा तुलना गर्न थाले । मदन भण्डारी बाँचिरहेको भए उहिल्यै पार्टी एकता हुने र देशमा जनयुद्ध पनि आवश्यक पर्ने थिएन भन्ने प्रकारको विल्कुलै नयाँ भाष्य प्रचण्डले निर्माण गरे । यदि मदन भण्डारी जिवित हुन्थे, भण्डारी र प्रचण्डको कुरा मिल्थ्यो भने राजनीतिक लाइन कसरी बन्थे, आजका उपलब्धिहरु हुन्थे कि हुँदैनथे ? संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्रको सीमाभित्रै प्रचण्ड राजी हुन्थे ? मदन भण्डारीको छिटो मृत्यु हुनु र भण्डारी–प्रचण्ड मिल्न नपाएको कारणले मात्र देशमा त्यत्रो ठूलो सशस्त्र संघर्ष र विद्रोह भएको हो त ? यस्ता प्रश्नतिर प्रचण्डले प्रवेश गर्ने रुचि देखाएनन् ।

यसको अर्थ– जेष्ठ ३ गतेको घोषणापछिको एकिकृत नेकपाको वैचारिक कार्यदिशाको संकेत प्रष्ट थियो । त्योे भनेको विस्तारै माओवादी धारको विचार र एजेण्डाको स्थगन र एमाले धारको विचार र एजेण्डाको पुनर्पुष्टि थियो । प्रचण्डले कुरा नबुझेर हैन, एमाले धारको मनोवैज्ञानिक दोहन गरी आफूलाई पार्टी शक्तिको केन्द्रमा राखिरहन सहज बनाउने उद्देश्यले नै सायद जेष्ठ ३ गते स्वीकार गरेका थिए । सायद त्यसैले उनी आज आफ्नो विचार र लाइनको औचित्यभन्दा भण्डारीका विचार र लाइनको महत्व स्थापित गर्न नयाँनयाँ भाष्य निर्माण गरिरहेका हुन्छन् ।

जारी बैठकमा प्रस्तुत प्रतिवेदनलाई यही सन्दर्भबाट हेर्न उपयुक्त हुन्छ । जस्तो कि – नेकपाको मार्गदर्शक सिद्धान्तलाई मार्क्सवाद– लेनिनवाद भनिएको छ । एमालेले यति मात्र भन्ने गर्दथ्यो । माओवादीले भने माओवाद समेत थपेर मालेमावाद भन्ने गर्दथ्यो । तत्कालीन माओवादी बैठकमा मार्क्सदेखि माओसम्मका तस्बिर राखिन्थे । जनयुद्ध र जनआन्दोलनका सहिदहरु पनि हुन्थे नै । तर नेकपाको बैठकमा माओ र सहिदहरुको तस्बिर मात्र गायब छैन अपितु मार्क्स र लेनिनको तस्बिर नै गायब छ । यो कुनै संयोग मात्रै होइन ।

यहाँनेर आकर्षित हुने बहस के हो भने नेकपा कस्तो कम्युनिष्ट पार्टी हो ? त्यसले एकातिर मार्क्सवादको कुरा गर्दछ, तर सर्वहारा क्रान्ति, राज्य र कम्युन प्रणालीको पक्षपोषण गर्ने आँट भने गर्दैन । लेनिनवादको कुराको पनि गर्दछ तर सोभियत प्रणालीको साटो संसदीय प्रणालीकै पक्षपोषण गर्दछ जो, लेनिनवादको ठीक विपरित कुरा हो ।

यदि एकदलीय कम्युनिष्ट प्रणालीप्रतिको निष्ठाभंग भएका कारण माओवाद भन्न छोडिएको हो भने लेनिनावाद भनिरहन पनि आवश्यक हुन्छ । किनकी लेनिनवाद पनि एकदलीय अधिनायकवादी शासन प्रणालीलाई आदर्श मान्ने विचार नै हो ।

पार्टीको तात्कालीक सिद्धान्तलाई ‘जनताको जनवाद’ भनिएको छ । त्यो शब्दाबली पूर्व एमालेको ‘जनताकोे बहुदलीय जनवाद’ बाट बीचको ‘बहुदलीय’ निकालेर बनाइएको छ । त्यसो भए के नेकपा बहुदलीयताप्रति प्रतिबद्ध पार्टी हैन त ? यो प्रश्न उठ्न सक्छ । एकातिर बहुदलीय लोकतन्त्रप्रति निष्ठा व्यक्त गर्न माओवाद हटाउनु अर्कोतिर मूल सिद्धान्तबाटै ‘बहुदलीय’ शब्द झिक्नुले नेकपाको वैचारिक भ्रम र द्विविधा मात्र उजागर हुन्छ ।

राजनीतिक एजेण्डका दृष्टिकोणबाट प्रतिवेदनले ‘नयाँ जनवादी क्रान्ति’ पुरा भइसकेको निष्कर्ष निकालेको छ । प्रतिवेदन भन्छ–‘नयाँ राजनीनिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदाय, आदिवासी, जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु लगायत समुदायलाई अधिकारसहित राज्यसत्तामा समावेशी र समानुपातिक सुनिश्चित गरेको छ ।’

यहाँनेर नयाँ राजनीतिक प्रणाली भनेर भन्न खोजिएको सायद वर्तमान संविधानअन्तर्गतको शासन प्रणालीलाई हो र उत्पीडित सुमदायका माग स्थापित भइसकेको छ भन्नुको अर्थ सायद संविधान संशोधनबारे थारु, मधेसी, जनजाति र आदिवासीले उठाइहेका आन्दोलनको कुनै अर्थ छैन भन्नु हो ।

यसबाट पनि प्रष्ट हुन्छ कि पहिचान, अधिकार, समावेशिता र आरक्षणको मूर्त संचरना र प्रणाली स्थापित नभइकनै नेकपाले त्यो भइसक्यो भन्ने दाबी गरेको छ, जो माओवादीको एमालेकरणलाई पुष्टि गर्ने अर्को बलियो प्रमाण हो ।

समकालिन विश्व परिस्थितिको मूल्यांकन गर्ने विषयमा भने प्रतिवेदन परम्परावादी नै छ । प्रतिवेदनले परोक्ष, प्रत्यक्ष अमेरिकालाई साम्राज्यवादको केन्द्र, भारतलाई विस्तारवादको केन्द्र र चीनलाई साम्राज्यवाद विस्तारवाद विरोधी विश्वको जनपक्षीय केन्द्रका रुपमा उभ्याउने प्रयास गर्दछ । यो विश्व कम्युनिष्ट पार्टीहरुको शीतयुद्धकालीन विश्लेषण पद्धति हो । त्यतिखेर सोभियत संघलाई त्यो विन्दूमा उभ्याउने प्रयास गरिन्थ्यो आज नेकपाको प्रतिवेदनले चीनलाई जहाँ उभ्याउँदैछ ।

यो विश्लेषण पद्धतिका पनि केही गम्भीर विरोधाभाष छन् । कस्तो राज्यलाई जनवादी राज्य र कस्तो राज्यलाई साम्राज्यवादी राज्य भन्ने ? त्यसको मानक के ? कुनै नामको पार्टीको सरकार हुनु वा नहुनु त्यसको पर्याप्त मानक हो कि आर्थिक तथ्यांकहरु हेरिनु पर्दछ ? यदि आर्थिक संरचना र तथ्यांकमा हेर्ने हो भने चीनमा धनी गरिबबीच जुन खाडल त्यो अमेरिकाको भन्दा धेरै हुँदै गइरहेको छ । चीनमा खरबपतिको संख्या अमेरिकाको हाराहारीमा पुगेको छ भने चीन विश्ललाई सबैभन्दा धेरै ऋणको पासोमा गरिब राज्यहरुलाई फसाउने साहु राज्य बन्दै गइरहेको छ ।

एकातिर चीनको राजनीतिक प्रणाली पनि बहुलवादी दृष्टिकोणबाट आर्दश राज्यको छैन । अर्कोतिर त्यसले आर्थिक दृष्टिकोणबाट पनि विश्व अर्थतन्त्रमा नयाँ साहुराज्यको भूमिका खेलिरहेको छ । श्रीलंका लगायत विश्वका कयौं अफ्रिकी राष्ट्रहरु चिनियाँ ऋणको पासोमा परिसकेका छन् । नेकपाको प्रतिवेदनले चीनलाई अनावश्यक आर्दश राज्यका रुपमा गौरवीकरण गर्दै कम्युनिष्ट–कम्युनिष्ट विशेष सम्बन्धको छनक दिन खोजेको छ, त्यो नेपालको असंलग्नता र सन्तुलित परराष्ट्र नीतिका लागि घातक हुनेछ ।

सुदर्शन खतिवडा

आफ्नै पार्टीको २ बर्षे सरकार सञ्चालनको कार्यशैली र कार्यक्रमिक उपलब्धिबारे वस्तुनिष्ठ समीक्षा गर्न सकेत प्रतिवेदनले सकेको छैन । दुई अध्यक्षको संयुक्त प्रतिवदेन हुँदा प्रधानमन्त्रीको मनोविज्ञान सुम्सुम्याउने वा मोलाहिजा राख्ने दृष्टिकोणबाट सरकारका कामहरुको मूल्यांकन गरिएको छ ।

सरकारका कामको समीक्षा र मूल्यांकन गर्दा सर्वप्रथम नेकपाले आफ्ना नीतिगत मानक र लक्ष्यहरु निर्धारण गर्न आवश्यक छ । नेकपाले चलाउन चाएको सरकार कस्तो हो ? २००६ सालमा स्थापित भएको पार्टी २०७४ को निर्वाचनमा ६८ बर्षपछि पहिलो बहुमत प्राप्त भएको छ, त्यो पनि झण्डै दुईतिहाईको प्रचण्ड बहुमत । यस्तो अवसरलाई नेकपाले कसरी उपयोग गर्न चाहेको हो ? केही मात्रात्मक काम र सुधारहरु मात्र गर्ने हो वा कुनै निर्णायक मोड लिने हो ?

यो प्रष्टतापछि मात्र सरकारका कामहरुको मूल्यांकन सहज हुन्छ । प्रतिवेदनले त्यो आँट गरेको छैन ।
यो सरकारबाट दुई चारवटा विदेशी नेताहरुको भ्रमण, दुईचार किमी बाटो वा केही राष्ट्रिय गौरवका योजनालाई सरकारको उपलब्धिका रुपमा गिनाउनु केवल मात्रात्मक बिषय हो । त्यस्ता ससाना काम त जुनसुकै सरकारले गरेकै हुन्छन् । राणा सरकारले पनि फर्पिङमा बिजुली निकाल्ने, दरबार हाइस्कुल बनाउने गरेकै थियो । पञ्चहरुले महेन्द्र राजमार्गलाई ठूलो विकासका रुपमा हल्ला गर्थे ।

नेकपाको पनि विकास र समृद्धि सम्बन्धी बुझाई त्यस्तै त्यस्तै नै हो भने भिन्नै कुरा– अन्यथा सुशासन र समृद्धिका मानकमा सरकार बितेका २ बर्षमा कहिँकतै खरो उत्रिएको छैन । अर्थतन्त्रको ढाँचामा कुनै परिवर्तन आएको छैन । बजेट संचरना र खर्च प्रणालीमा कुनै परितर्वन आएको छैन । व्यापार घाटामा कुनै परिवर्तन आएको छैन । आयात र विप्रेषणमुखी अर्थतन्त्रको स्वभावमा कुनै परिवर्तन आएको छैन । ठूल्ठूला भ्रष्टाचारका काण्ड राज्यको संलग्नता विना भएका हुन् भनेर कसैले पत्याउदैन । यी सबै सवालमा प्रतिवेदन प्रतिरक्षात्मक छ ।

सुशासन कायम गर्न र भ्रष्टाचार रोक्न नसकेको प्रतिवेदनले स्वीकार गरेको छ । तर किन ? त्यस काममा को बाधक भयो ? ऐन कानुन बाधक भए की ? राज्यको प्रणाली र संरचना बाधक भयोे कि ? कर्मचारीतन्त्रको कार्यप्रणाली र संस्कृति बाधक भयो कि ? कर, राजस्व प्रणालीहरु बाधक भए की ? दण्डाधिकारी निकायहरु कमजोर भए की ? पार्टीकै नेतृत्ववृत्त भ्रष्ट संस्कार र संस्कृतिसंग झुक्दै र मिलोमतो गर्दै छन् कि ? प्रतिवेदन मौन छ ।

समग्रमा नेकपाको दोस्रो बैठकको राजनीतिक प्रतिवेदन भ्रम र द्विविधाको सतही चित्रण गर्ने दस्तावेज मात्र बन्न पुगेको छ । न यसले नेपाली राजनीतिलाई गाँजिरहेको समस्याहरुको सही ‘डाइग्नोसिस’ गर्न सकेको छ न कुनै अचूक ‘प्रेस्क्रिप्सन’ पस्कन सकेको छ । हुन त, डाइग्नोसिस नै सही नभएपछि उपचार सही कसरी होओस् । यो पार्टीभित्रको शक्ति सन्तुलनले जन्माएको यस्तो सम्झौताको दस्तावेज बनेको छ जसमा न प्रचण्ड (माओवादी)को चित्र छ, न ओली (एमाले)को चित्र छ, बरु न हाँस न बकुल्लाजस्तो विचित्र मात्रै छ । २१ महिनापछि बसेको केन्द्रीय समिति जसरी बुख्याच्या जस्तो लाग्छ, यो दस्तावेज त्यही बुख्याचाको हातमा ‘खाली सिसी पुराना कागज’लाई दिन छुटेर चरा तर्साउन राखिएको पुरानो पत्रिकाको टुक्राहरुजस्तै लाग्छ ।

किनकि, नेकपा नेताहरु आत्मस्वाभिमान र गौरव हराएर यस्तो अवस्थामा पुगेका छन्, कार्यकर्ता र नेताहरु एमसीसीको विरोध गर्छन्, अध्यक्षद्वय त्यसलाई मन खोलेर दस्तावेजमा राख्न सक्दैनन् । राष्ट्रवादको नारा लगाएर कुर्सीमा उक्लिएका छन्, कालापानीबारे खुलेर बोल्न सक्दैनन् । किसान मजुदरको बलिदानीको जगमा कुर्सीमा उक्लिएका छन्, सत्तामा भएर पनि उखु किसानलाई माया गर्न सक्दैनन् । दलाल पुँजीवादलाई दुत्कारेर भोट बटुलेका छन्, उनीहरुबिना न चुलो बल्छ न चुनाव चल्छ ।

जस्तो कि प्रतिवेदनमा भनिएको छ– भर्खरै सम्पन्न उपनिर्वाचनमा ४०% सीटमा मतदाताले पार्टी परिवर्तन गरेका छन् । यो सानो तथ्यांकले गम्भीर अर्थ संकेत गरेका छन् । नेकपा शासनको २ बर्षभित्रै मतदातामा यति गहिरो फ्रष्टेशन किन बन्यो ? यो प्रवृति बाँकी ३ बर्ष कायम रहे सबैभन्दा धेरै नोक्सानी नेकपालाई नै हुने निश्चित छ ।

यसर्थ, परिस्थिति र परिबन्धको अदृश्य जेलमा कोचिएका नेताहरुले ल्याएको यो दस्तावेजमा वर्तमानको चित्र नै स्पष्ट छैन भने भविष्यको ‘भिजन’को अपेक्षा गर्नु मुर्खता हुन्छ । समग्रमा, एक्काइसौं शताब्दिको दोस्रो दशकमा आधुनिक लोकतान्त्रिक नेपालको नेतृत्व गर्ने पार्टीको कल्पनाशिलता यतिले मात्र पुग्दैन ।

क्रान्तिको आधारभूत चरित्र सम्झौता होइन । तर क्रान्तिका लागि कहिलेकाँही आत्मघाती सम्झौताहरुको जोखिम पनि उठाउनुपर्छ । एमाले र माओवादीको एकतालाई त्यो क्रान्तिकारी जोखिमको संक्रमणमा अल्मलिने छुट अनन्तकालसम्म हुँदैन । नेकपा के हो ? यसले के गर्छ ? यो प्रश्नको उत्तर दस्तावेजले दिनुपर्थ्यो । तर, दस्तावेजको हैसियत हेर्दा नेकपा के हो ? को जवाफ थाहा पाउन ओली र प्रचण्डको बडी ल्याङ्ग्वेज हेर्नुपर्ने अवस्थालाई निरन्तरता दिएको छ ।

यो बैठकले दस्तावेजको आधारभूत चरित्रलाई फेर्दै नेकपालाई ‘ओली-प्रचण्ड’ प्रालि भन्दा माथि उठाउन भूमिका खेल्छ कि खेल्दैन ? हनिमुन राम्रो मनाउन नपाउँदै लाहुर पसेका श्रीमान कुर्दै दुई वर्ष बिताउनुपर्ने नववधुजस्तै विधानमा रहेका कार्यकारी अधिकारका निर्जीव हरफहरुलाई सम्झिएर अर्को बैठकका लागि दुई वर्ष कुर्नुपर्ने हैसियतबाट माथि केन्द्रीय सदस्यले आफूलाई उठाउन सक्छन् कि सक्दैनन् ? केन्द्रीय समितिलाई ओली-प्रचण्डले खडा गरेको बुख्याचाबाट जिउँदो जाग्दो अधिकार सम्पन्न निकाय बनाउन सक्छन् कि सक्दैनन् ?

सपना सकिएका योद्धाहरु ज्यूँदा लासजस्ता लाग्छन् । प्रश्न सकिएका कमरेडहरु निरंकुशताका सारथी । एजेन्डाहरु लिलामीमा बिक्री भइरहँदा सहिद र बेपत्ताका सपनाहरुको भर्‍याङ चढेर आएका मानिसहरु चुपचाप बस्छन् भने उनीहरुको मौनतालाई कसरी बुझ्ने ? जिउँदो भन्ने कि निर्जीव ? आगोजस्ता असन्तुष्टिका प्रश्नहरुलाई पचाउन नसक्दा गन्हाउने वायु र डकार सामाजिक सञ्जालमा छरपष्ट बनाएर दुईबारको जिन्दगी बिताउने सम्झौता नेकपा केन्द्रीय सदस्यहरुले यसपटक पनि गरिहाले भने अनौठो भने नमाने हुने अवस्था छ ।  किनकि, उनीहरुको ‘बडि ल्याङ्ग्वेज’ले योभन्दा बढी आशा गर्ने छुट दिँदैन ।

The post बुख्याचा केन्द्रीय समिति, विचित्र दस्तावेज, निर्जीव नेताहरु appeared first on Sajha Post.

संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन

$
0
0

लामो विरासत बनाइसकेको राजतन्त्र खारेज भयो । त्यो सकारात्मक कुरा हो । किनकी हाम्रो राज्य संरचनाको एउटा महत्वपूर्ण अवरोधक शक्ति भनेको राजतन्त्र नै थियो । तर, राजतन्त्रको त्यो चरित्रलाई पहिलाको भन्दा पनि अझै परिष्कृत गरेर राष्ट्रपति र प्रधानमन्त्रीले उपभोग गरिरहेका छन् । हामीले राजतन्त्र चाहिँ खारेज गर्‍यौं । तर, गणतन्त्रले जनतालाई बलियो बनाउँछ भन्ने जुन परिकल्पना थियो, त्यो अवधारणालाई उनीहरुले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमार्फत् ध्वस्त बनाइरहेका छन् ।

जब संघीयताको कुरा गर्छौं, संघीयताको आत्माको हत्या गरेपछि पहिचानको मुद्दा नै काम नलाग्ने भइहाल्यो । दोस्रो कुरा, समानुपातिक समावेशिताको थोरै व्यवस्था छ संविधानमा त्यसमा पनि उनीहरुले बठ्याईं गर्ने, फट्याईं गर्ने र समानुपातिकताको आधारभूत सिद्धान्तसँग मेल नखाने गरेर आफ्ना मान्छे घुसाउने बहाना खोजिरहेका छन् ।

पहिचानको मुद्दाको समस्या भनेको के हो भने यसले खास उत्पीडित समुदायभित्रको सबै मानिसको भलो गर्दैन । यसमा तपाईं भ्रममा नपर्नुस् । एउटा भलो गर्छ त्यसले जस्तो भाषाको अधिकार, संस्कृतिको अधिकार, उत्पीडनविरुद्धको अधिकार, विभेदविरुद्धको अधिकार प्राप्ति भएपछि सबै समुदायको सशक्तीकरण हुन्छ । सबै समुदायले त्यसको बृहत्तर हित उपभोग गर्ने ठाउँमा पुग्छन् । तर, संरचनाहरुमा देखिने अनुहारहरु चाहिँ त्यहाँ भित्रको पनि कुलिन तप्काले नै लिने हो । तर, अहिले जुन समावेशिताको अभ्यास हाम्रोमा भइरहेको छ, यहाँ त त्यति पनि भइरहेको छैन । त्यत्ति पनि हुन नदिने प्रयास भइरहेको छ । पहिला सचिव रहेका उमेश मैनालीलाई लोकसेवाको प्रमुख बनाएर लगियो र उनले लोकसेवाको विज्ञापनमार्फत् जसरी समावेशितालाई बिगार्ने काम गरे । उनी सुरुदेखि आरक्षणको विरोधी छन् र उनलाई त्यहाँ लगियो ।


पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अवस्था पनि त्यत्तिकै दयनिय छ । केपी ओलीको दम्भ र उनका वरिपरिका मानिसहरुको दम्भका अघिल्तिर लोकतन्त्रका आधारभूत मान्यताहरु जस्तो- वाक स्वतन्त्रताको कुरा, मानिसले कुरा उठाइसकेपछि त्यसको सुनुवाइ हुने कुरा,  उनीहरुको दम्भको अघिल्तिर चकनाचुर हुन्छ ।

वाइडबडीको कुरा निस्कियो सार्वजनिकरुपमा । छानबिन हुनुपर्ने होइन । त्यही हुन दिइएन । यति ग्रुपलाई सबैका सबै सरकारी ट्रस्टका सम्पत्तिहरु जिम्मा लगाइएको कुरा निस्कियो सार्वजनिक भयो । त्यसलाई प्रधानमन्त्री निस्किएर प्रतिरक्षा गरे । यो कुनै लोकतन्त्र हो ? लोकतन्त्रमा त तपाईंले कुरा उठाइसकेपछि त्यसमा विचार गर्नु अथवा छानबिन गर्नु र दोषी देखिए कारबाही गर्नु त सरकारको दायित्वमा पर्छ ।

राजीनामा  दिएर अनुसन्धान गर्न मार्गप्रशस्त गर्नुपर्नु त सामान्य नैतिकताको कुरा हो । तर उनीहरुको दम्भको अघिल्तिर वाक स्वतन्त्रता पनि कुण्ठित हुने अवस्थामा पुग्यो । किनभने यही वाक स्वतन्त्रताले यी सबै कुरा बाहिर ल्याइदियो । सरकारको खराबी वा भइरहेका खराबी जुन सबै उनीहरुले गरेका पनि होइनन् । जस्तै- बालुवाटारको जग्गाको प्रकरण त धेरै पुरानो हो । त्यो प्रकरणमा मुछिएका मानिसहरुलाई कारबाहीको दायरामा ल्याउने कुरामा जाने त कता हो कता, यस्ता कुरा धेरै चर्चामा ल्याइदिए । हाम्रो सरकार बदनाम भयो भन्ने हिसाबले उनीहरु त बोल्ने कुरामा पनि अंकुश लगाउने कानून बनाउन लागिरहेका छन् ।

यसरी लोकतन्त्रको आधारभूत सिद्धान्तहरु पनि उनीहरुलाई पचिरहेको छैन । दुई तिहाईको दम्भले सबैलाई किचिरहेको छ । पार्टीभित्र सबै मौनप्रायः छन् । यसरी विरोधका स्वर निकाल्ने हामीजस्ता मानिसहरु धेरै छैनन् । मौनता अधिनायकवादी सत्ताको महत्वपूर्ण औजार हो । कम्युनिष्टको हो भन्छन् तर म यी सत्तारुढलाई कम्युनिष्ट मान्न तयार छैन । कम्युनिष्ट अधिनायकत्व हो भन्ने एकाथरीको आरोप छ । ब्रान्ड कम्युनिष्ट छ, नाम कम्युनिष्ट छ तर यिनीहरु कम्युनिष्ट होइनन् ।

मलाई लाग्छ, यी सबै कुराको परिणाम भयानक हुन्छ । यसले समाजलाई पुनः एकपटक विघटनतिर लैजान्छ । राजनीतिकरुपमा समाजलाई सिर्जनशिलताहिन, गतिहिन र कुण्ठित बनाउँछ । त्यो कुण्ठाभित्रबाट या त अर्को विद्रोह जन्मनुपर्‍यो अथवा भनौं न तपाईं हामीले परिकल्पना गरेका थियौं नि, गणतन्त्र आउँछ, राज्यको पुनर्संरचना हुन्छ, त्यसपछि समाज एउटाखालको प्रयोगमा जान्छ र प्रयोगमा गएपछि समाज रचनात्मक हुन्छ । त्यसपछि जहाँ समस्या वा कमजोरीहरु देखापर्छन्, त्यसलाई सुल्झाउने बाटोमा हिंड्छ । अलि समय हामी क्रान्ति अर्थात् विद्रोहतिर जानु पर्दैन भन्ने जुन हाम्रो परिकल्पना थियो, त्यो परिकल्पना अब साकार हुने भएन ।

युग पाठक

यसरी हेर्दा अब फेरि पनि समाजमा विद्रोहको बिऊ रोपिएको छ । फेरि पनि विद्रोह कुनै न कुनै रुपमा विद्रोहहरु हुन्छन् । विद्रोहदेखि विद्रोहसम्मको गोलचक्करको अवस्था पनि सिर्जना हुनसक्छ । किनभने प्रतिगमन भयो र यसले थप विद्रोहको बिऊ मात्रै रोप्ने काम गर्‍यो । समाजलाई रचनात्मक हुन दिएन । समाजलाई कल्पनाशील हुन दिएन । समाजलाई प्रयोगमा जान दिएन । समाजको नयाँ नक्सा बनाउँछौं भन्ने ध्येय थियो र त्यो नयाँ नक्साले नयाँ ढंगको परिकल्पना, नयाँ समायोजनतिर लैजान्थ्यो । अनि मानिस रचनात्मक हुन्थे, कल्पनाशील हुन्थे । त्यो हुन नदिएपछि फेरि एकपटक प्रतिगमनले निर्माण गरेको मौनतामा फसिरहेका छौं ।

समाजले निकास त खोज्छ । अहिलेको मौनता चिर्ने गरी कहाँबाट नेतृत्व जन्मिएला भन्ने प्रश्न छ । संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन । त्यहीँ भित्रैबाट रुपान्तरण वा पुनर्जागरण हुनेवाला छैन । बाहिरैबाट हुने हो । यो संस्थापनको केही आलोचना गरेर वा यो संस्थापनको अंगको रुपमा रहिरहने आलोचक शक्तिहरुबाट पनि नेतृत्व जन्मिँदैन । अर्को नयाँ राजनीतिक प्रक्रियाबाट नेतृत्व जन्मन सक्छ । सामाजिक आन्दोलनले पनि केही काम गर्लान् ।

संसारभरीका दृश्यहरु हेर्दा मेरो प्रारम्भिक निष्कर्ष भनेको संसार दार्शनिक संकटमा फसेको छ । त्यसकारण, संसारभरी विभिन्न आन्दोलनहरु उठिरहेका छन् । जस्तै- भारतकै यति ठूलो आन्दोलन भइरहेको छ मोदीले निर्माण गर्न लागिरहेको हिन्दूत्ववाला दम्भलाई राजनीतिक शक्ति बनाउने जुन दाउपेच छ, त्यसले भारतीय समाजमा संकट निम्त्यायो र उनीहरु सडकमा आए । तर, नेतृत्व कसले गर्ने ? त्यहाँको कांग्रेसले, कम्युनिष्टले वा आम आद्मी वा कसले ? कसैले सक्दैन । किनकी कुनै एउटाले नेतृत्व गर्‍यो भने सडकमा निस्किएको मध्ये आधा मानिस घर फर्किन्छन् । कसैले नेतृत्व लिनै सक्दैनन् ।

त्यसैले राजनीतिक दलहरु आफैं आन्दोलनको हिस्साको रुपमा आन्दोलनभित्र छिरिरहेका छन् । नेतृत्व गर्न सक्दैनन् तर, हिस्साको रुपमा छिरिरहेका छन् । जब त्यसको राजनीति हुँदैन, जब त्यसको नेतृत्व हुँदैन, जब त्यसको संगठन हुँदै, स्पष्ट गन्तव्य हुँदैन, त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ ?  जंगलमा लागेको आगो जस्तो हो त्यो । आगो लाग्छ, जंगल नष्ट हुन्छ, परिणाम आउँदैन । त्यो आगोलाई तपाईंले विचार, नेतृत्व, संगठन, सिद्धान्त मार्फत् एक ठाउँमा लगाउनुभयो भने पो त्यसले भात पकाउँछ ।

भारतमा मात्रै होइन, फ्रान्समा यल्लो भेष्ट आन्दोलन भइरहेको छ । अमेरिकामा वाल स्ट्रिट मुभमेन्ट भयो । बेलायतमा भइरहेको छ । आइरिसहरुको आफ्नै मुभमेन्ट छ । उता हङकङमा त्यत्रो आन्दोलन चलिरहेको छ । इटलीमा आन्दोलन छ । संसारभरि आन्दोलन छ । आजसम्म जसरी संसार चलाउन खोजिएको छ, यो शासकीय प्रणालीप्रतिको असन्तुष्टि मानिसको मनमा छ । मानिस कोही सन्तुष्ट छैन तर, एउटा नयाँ दर्शन, एउटा नयाँ विचार निर्माण नभइसकेको हुनाले कसले नेतृत्व गर्ने भन्ने यकिन छैन । वाल स्ट्रिट मुभमेन्ट भयो त्यहाँ बब अवाकिन कहिल्यै देखिएनन् । तिनले नेतृत्व गर्नै सक्दैनन् त्यसको । तिनी नेतृत्व गर्न गए भने मानिस घर फर्किन्छन् । यो संकट हाम्रोमा पनि हुनेवाला छ । यहाँ आन्दोलन हुनेवाला छ तर नेतृत्व कसले गर्ने ? त्यो संकटको निवारण संसारलाई चाहिएको छ । हामीलाई पनि चाहिएको छ । कुनै न कुनैरुपमा पाइएला । आशा गरौं ।

(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)

यो पनि-

‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्
‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’

The post संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन appeared first on Sajha Post.

आदिवासी जनजातिबाट माननीय भए, नेता भएनन्

$
0
0

नेपालका सीमान्तकृत समुदायमध्ये मधेसी समुदाय अधिकारका लागि निरन्तर विद्रोहमा जुटिरहेको जस्तो देखिन्छ । नेपालका अन्य उत्पीडित समुदायले मधेसको स्तरमा विद्रोह संगठित गर्न सकिरहेको देखिन्न । त्यसका धेरै कारणहरू छन् । पहिला सीमान्तकृत को-को हुन् ? भन्ने स्पष्ट हुनुपर्छ । नेपालको राज्य संरचनामा विभिन्न प्रकारका विभेदहरू विद्यमान छन् । लिंगको आधारमा महिलाहरू सीमान्तकृत, क्षेत्रको आधारमा कर्णाली र मधेस सीमान्तकृत, जातिको आधारमा आदिवासी जनजाति, समुदायको हिसाबले मधेसी समुदाय, धर्मको हिसाबले मुस्लिम र क्रिश्चियनहरू, सबै सीमान्तकृत हुन् । उनीहरु विभिन्न प्रकारले सीमान्तीकरणमा परेका छन् । यसर्थ, सीमान्तीकरण विभिन्न प्रकारका छन् ।

यसमध्ये मधेसी समुदायले आफूलाई राजनीतिकरुपमा संगठित गर्ने कोशिस गर्‍यो । पटकपटक विद्रोह गर्‍यो । आदिवासी जनजातिले त्यस्तो विद्रोह गर्न सकेनन् जुन मधेसी समुदायले सक्यो । दलितले सकेन । महिलाले पनि त्योरुपमा गर्न सकेन ।

मधेसीले महसुस गर्ने आफूमाथिको विभेद र उत्पीडन र आदिवासी जनजातिले महसुस गर्ने उत्पीडन र विभेदको प्रकृति नै फरक छ । मधेसीको राष्ट्रियतामाथि प्रश्न गरिन्छ । शासक समुदायलाई मधेसीलाई यो देशको नागरिक मान्न नै बडो कष्ट हुन्छ । आदिवासी जनजातिलाई नागरिक मान्नमा कष्ट होइन । उनीहरूलाई नेपाली भन्न कुनै कष्ट छैन नेपाली संस्थापनलाई । तर, उनीहरूलाई अधिकार दिन मात्रै कष्ट छ । नेपाली त नेपाली नै हो तर तिमी हाम्रो पिछलग्गु बनेर बस भन्छन् । तर, मधेसीलाई त तिमी नेपाली नै होइन, त्यसकारण मधेसीले काठमाडौंको समाजमा र राज्यसँग अन्तर्क्रियामा दैनिक जनजीवनमा विभेद महसुस गर्थ्यो, त्यस्तो विभेद र उत्पीडन आदिवासी जनजातिले भोग्नु परेको छैन ।

आदिवासीको राष्ट्रियतामाथि प्रश्न गरिन्न ?

मधेसी समुदायलाई पहिचान, पहुँच र प्रतिनिधित्व तीनवटै कुरामा समस्या छ । आदिवासी जनजातिको पहिचानमा त समस्या छ नै तर राष्ट्रियतामाथि प्रश्न गरिन्न । दलित समुदायमा जातियरुपमा विभेद गरिएको छ । त्यसकारण ऊ राज्यमा पनि राजनीतिमा पनि कमजोर अवस्थामा छ । कमसेकम पहाडको दलितलाई नेपाली नै नमान्ने समस्या छैन । त्यसैले विभेदको प्रकार र प्रकृति फरक-फरक भएको हुनाले विद्रोहको पनि प्रकार र प्रकृति फरक-फरक छ ।

अर्को कारण मधेसमा रहेको भौगोलिक सुगमता पनि हो । एकै ठाउँमा झुप्प बसेका छन् मधेसीहरू । आदिवासी जनजातिहरू पूर्वदेखि पश्चिमसम्म छिरोलिएका छन् । दलितको पनि यस्तै अवस्था छ ।

त्यस्तै मधेसमा मधेसीहरूलाई आन्दोलनको चेतना अलि छिटो आयो । त्यो सीमा वारीपारीको सम्बन्धले पनि भएको होला । सीमामा रहेको भारतीयहरूसँग संस्कृति, परिवेश मिल्छ । उनीहरूले स्वतन्त्रता संग्राम लडिरहेको मधेसीले देखेका थिए । त्यसमा साथ दिएका थिए । सामाजिक, सास्ंकृतिक, धार्मिक सम्बन्ध छ सीमा वारीपारी । मानिसहरू लेखपढ गर्न पनि त्यता जाने चलन अहिले पनि छ ।

हुन त, पहिलो र दोस्रो विश्वयुद्धमा आदिवासी जनजातिहरू लडाईं लड्न भारत नगएका होइनन् । उनीहरू त झनै बन्दुक नै बोकेर गएका हुन् । तर स्वतन्त्रता र प्रजातन्त्रको लागि होइन् ।

सामाजिक संरचना पनि फरक छ । विभेदको प्रकार पनि फरक छ । राज्यसँगको सम्बन्ध पनि फरक छ । त्यसैले विद्रोहको प्रकार र प्रकृति पनि फरक छ । मधेसमा अलि पहिलादेखि राजनीतिकरुपमा कामहरू भएको छ । २००४ मा नेपाली कांग्रेस खुल्यो, २००८ सालमा तराई कांग्रेस खुल्यो । त्यतिबेला कुनै जनजाति पार्टी खुलेको थिएन । त्यतिबेलादेखि हामी फरक छौं ।

को नेता, को कार्यकर्ता र को मतदाता ?
मूल प्रवाहका दलहरूले ‘युज एण्ड थ्रो’ गर्ने काम त मधेसमा पनि गरिरहेको छ । मधेसमा दुईटा पार्टी छन् । यसको अर्थ सबै मधेसी पार्टीहरूमा आइसके भन्ने होइन । मधेसीहरूमा नेतृत्व विकासको एउटा प्रक्रिया सुरु भएको हो । राजनीतिमा तीन प्रकारका मानिसहरू हुन्छन् । भोटर, क्याडर, लिडर अर्थात् मतदाता, कार्यकर्ता र नेता । नेपालमा रहेका तीनवटा समुदाय बाहुन क्षत्री, आदिवासी जनजाति र मधेसी । यी तीनवटा समुदायलाई मतदाता, कार्यकर्ता र नेताको हिसाबले तुलना गर्दा खस आर्य समुदायका मानिसहरू नेता छन् । त्यो समुदायलाई नै नेता समुदाय भन्न मिल्छ । अपवाद बाहेक जनजाति समुदाय कार्यकर्ता समुदायको रुपमा रहेको भन्न सकिन्छ । २०६३ सालसम्म मधेसीहरु मतदाता मात्र थिए तर मधेस जनविद्रोहबाट परिस्थिति बदलिएको हो ।

मतदाताबाट नेतामा रुपान्तरण
०६३ सालमा जब मधेस आन्दोलन भयो, मधेसीहरूले यो डाइनामिक्सलाई भत्काउन खोजे । ऊ मतदाताबाट आफूलाई नेता बनाउन खोज्यो । यो कसरी भयो ? एक तहमा मधेसमा आन्दोलन भइरहेको थियो पहिलेदेखि । दोस्रो तहमा माओवादी जनयुद्ध भयो । उसले बन्दुक बोक्न, लड्न सिकायो । तेस्रो चरणमा फोरम आयो । मधेसीले नेता पायो, संगठनात्मक आधार पाए । ०६४ चुनाव हेर्नुभयो भने हिजोसम्म मतदाता भएर बसिराखेको मानिसहरू एकैचोटि सांसद भएर निस्किए, नेता भएर निस्किए । ०६३ आन्दोलन मधेसीको लागि मतदाताबाट नेता बन्ने प्रयास थियो । तर, आदिवासी जनजातिले त्यो प्रयास गरेनन् जस्तो लाग्छ । म गलत पनि हुन सक्छु । मलाई मात्र पनि त्यस्तो लागेको हुनसक्छ ।

चुनावमा भाग लिनु, माननीय हुनु र नेता हुनु फरक कुरा हो । माननीय त केही मधेसी, जनजाति, दलित, महिलाहरु सबै पार्टीमा होलान् । तर, जातिय हिसाबले हेर्दा सबै पार्टीका नेता त बाहुन क्षत्री नै छन् । कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल । नेकपामा केपी ओली, माधव नेपाल, प्रचण्ड । अरुले त त्यहाँ दावी गर्नै सक्दैनन् । चुनाव जित्नु एउटा कुरा हो, नेता हुनु अर्को कुरा हो । मधेसीहरूले यो प्रक्रियामा अलि छिटो प्रयास गरे आफूलाई मतदाताबाट नेता बनाउन ।

मधेसमा राजनीतिक विकल्प
मधेसमा एउटा मात्र विकल्प छैन । मधेस एउटा यस्तो ब्याटल ग्राउन्ड हो, जहाँ नेपालको आधा जनसंख्या बस्छ । यदि यो देशको मधेसीको जनसंख्या ३३ प्रतिशत छ भने त्यसमध्ये ९५ प्रतिशत मधेसी मधेसमा बस्छन् । त्यसैले मधेस भनेको धेरै जनसंख्या भएको, धेरै मत खस्ने, भौगोलिकरुपमा सहज, यातायातको सुविधा, राजनीतिकरुपमा सचेत समुदाय भएको हुनाले मधेस नेपाली राजनीतिमा जहिले पनि चर्चाको केन्द्रमा रहन्छ । आजको मितिमा हामीले कुरा गर्दा राज्य पुनर्संरचनाले जसरी सीमांकन गर्‍यो, संघीयताको जसरी कार्यान्वयन भइरहेछ, त्यसले ८ जिल्लाको प्रदेश नं. २ लाई मधेसीको बहुल क्षेत्र बनाइदियो । त्यहाँ कुल मधेसीको ९० प्रतिशतभन्दा बढी उपस्थिति छ । र, कोशी पूर्व र गण्डक पश्चिमका जिल्लाहरूलाई पहाडतिर जोडिएको छ । प्रदेश नं. २ कोर मधेस रहन्छ । तर, प्रदेश नं. १ र प्रदेश नं. ७ को राजनीति त्यहाँको जुन जनसांख्यिक बनोट छ, त्यसमा धेरैपरसम्म पनि म मधेसी दलहरूको बलियो उपस्थिति हुने सम्भावना देख्दिनँ ।

आदिवासी जनजाति र निर्णायक विद्रोह
जबसम्म प्रदेश नं. १ मा जनजाति समुदाय आफूलाई राजनीतिकरुपमा रुपान्तरण गर्ने संभावना प्रचुर छ । अहिले जनजातिहरूले आफूलाई पुराना दलहरूसँगै जोडेर राखेका छन् । २०६३ सालको मधेस विद्रोहअघिसम्म मधेसीहरुको अवस्था पनि त्यस्तै थियो । तर पछि गएर उनीहरुले पुराना दलसँग सम्बन्ध तोडने कोशिस गरे । मधेसीले आफ्नै दल बनाउने प्रयास गरे । राम्रो नराम्रो जे भए पनि दल त बनिरहेको छ ।

त्यसरी नै आदिवासी जनजातिले आफ्नै दल बनाउन सकेनन् । उनीहरू पुराना दलमा छन् । यदि त्यहाँबाट उनीहरूले विद्रोह गर्ने कोशिस गरेनन् भने प्रदेश नं. १ मा पनि मधेसीहरू छुट्टै राजनीतिक समुहको रुपमा विकास गर्न तत्काललाई गाह्रो छ । प्रदेश नं. १ मा संघीयताको सीमांकनले गर्दा मधेसीहरू अब पुराना दलतिर फर्कनेछन् । तपाईं हेर्नुस्, प्रदेश नं. २ मा मधेसी दलहरूले त्यतिधेरै मत ल्याए, प्रदेश नं. १ मा एउटा पनि सीट जितेन । केवल प्रदेशसभा १ सीटमात्र जिते । प्रदेश नं. १ को संरचनामा मधेसीहरू अब कमजोर हुन्छन् । सीमांकनले सिर्जना गरेको परिस्थीति हो यो ।
प्रदेश नं. २ मा मधेसी दलहरू जति कमजोर भए पनि त्यो प्रदेशको राजनीतिमा बलियै रहन्छन् । प्रदेशसभाका लागि १०७ जनाको सिट छ । त्यसमा मधेसी दलहरू जति कमजोर भए पनि राम्रै रहन्छन् ।

सीमांकनको संकट
प्रदेश नं. ५ मा मधेसीहरूलाई कमजोर गर्न पहाडका ५ वटा जिल्लाहरू मिलाइएको छ । त्यहाँको राजनीतिक चेतना माथि छ । तर सामाजिक संरचनामा सामन्ती प्रवृति हावी छ । मधेसी समाजमा सामन्तहरुको बर्चस्व कायम छ । तुलनात्मकरुपमा पूर्वी मधेसभन्दा बलियो छ । सामन्तहरु अपवादमा मात्र परिवर्तनकामी हुने हो । तीनको मुख्य उद्देश्य आफ्नो व्यवस्था र सुरक्षा हुन्छ । यसैले पनि प्रदेश नं. ५ मा मधेसी राजनीतिले तत्काल कुनै फड्को मार्लाजस्तो लाग्दैन् ।

प्रदेश नं. ७ मा झन गाह्रो छ । यदि कैलाली र कञ्चनपुर प्रदेश नं. ५ मा जोडिदिएको भए सजिलो हुन्थ्यो । अब त्यहाँ गाह्रो छ । त्यसकारण मधेसी राजनीतिको ब्याटल ग्राउन्ड मुलरुपमा प्रदेश नं. २ र थोरै प्रदेश नं. ५ रहन्छ । निर्णायक चैँ प्रदेश नं. २ नै रहने हो ।

मधेसको ब्याटलः चारै दलको रस्साकस्सी
प्रदेश नं. २ मा सबै पार्टीले खेल्ने हो । आजको मितिमा मधेस आन्दोलनको राप तापमा संयुक्तरुपमा चुनाव लडेका फोरम र राजपा दुवै मिल्यो भने ठूलो हुन्छ, नत्र भने साना साना रहन्छ र कमजोर हुन्छन् । यहाँ एक दुई सिटले तलमाथि हुने हो, तर चारवटै पार्टीको आफ्नो आफ्नो अस्तित्व रहन्छ । यहाँ चारवटै दलहरूको रस्साकस्सी रहिरहन्छ ।

अहिले मधेसी जनता कता बढी आशावादी होलान् ? मलाई लाग्छ, मधेसी दलले खासै नयाँ काम गर्न सकेको छैन । गत निर्वाचनमा आन्दोलनको रापतापमा, केपी ओलीको विरुद्धमा एक खालको सहकार्य भयो । संविधान संशोधनको हल्ला थियो । अब आम मधेसीहरूले यो संविधान संशोधन हुनेवाला छैन बुझिसके । त्यसैले मधेसी दलहरू संविधान संशोधनको कुरा गरेर सत्तामा गए, सत्ताबाट गलहत्याएपछि निस्कने हो र फेरि अर्को जाने कुरा आम मधेसीले बुझेका छन् ।

त्यसैले आगामी दिनमा मधेसी दलको धेरै राम्रो भविष्य म प्रदेश नं. २ मा पनि देख्दिनँ । तर, मधेसी सेन्टिमेन्ट भने छ । निर्वाचनको राजनीतिमा तलमाथि भए पनि, नेतृत्वको बारेमा अनेकौँ प्रश्न उठिरहे पनि सेन्टिमेन्ट त जीवित रहन्छ । नेताहरुले त्यसलाई खनजोत गरिरहन्छन् । त्यसैले समाजवादी पार्टी र राजपाले यदि आफ्नो मुद्दालाई पुनरावलोकन गरेनन्, परिमार्जन गरेर नयाँ मुद्दाहरु खोजेनन् भने मधेसीहरूले यिनीहरूलाई साथ दिन्छन् भन्ने मलाई लाग्दैन । यिनको विकल्पमा नयाँ पार्टी पनि आउनसक्छ ।

(राजनीतिक विश्लेषक शाहसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)

यो पनि-

केपी ओली एक हिसाबले इमान्दार नेता हुन्

The post आदिवासी जनजातिबाट माननीय भए, नेता भएनन् appeared first on Sajha Post.

Viewing all 942 articles
Browse latest View live