Quantcast
Channel: विचार – Sajha Post
Viewing all 942 articles
Browse latest View live

मार्क्स अहिले नेपालमा जन्मिएका भए के गर्थे ?

$
0
0

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अत्यन्त सुन्दर छ । अत्यन्त राम्रा सपनाहरु देखाइएको छ । मैले पनि भनेको थिएँ– सपना देख्नुपर्छ । देखाउनु पर्छ । किनकी हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौं । अब हामी कछुवाको गतिले घस्रिएर हुँदैन, भ्यागूतो उफ्राईको गतिमा हामी जानुपर्छ । एउटा टेकअफ हामीले लगाउनुपर्छ, उडान भर्नुपर्छ । तदनुरुपको नीति तथा कार्यक्रम र बजेट आओस् भन्ने मैले पहिले पनि आग्रह गरेको थिएँ । त्यसतर्फका संकेतहरु छन् । त्यसको निम्ति म धन्यवाद दिन चाहन्छु । यो नीति तथा कार्यक्रम सरकारको तर्फबाट सम्माननीय राष्ट्रपतिमार्फत प्रस्तुत गरिएको छ, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।

यसका सकरात्मक पक्षहरु छन् । त्यो भनेको यसले सपना देखाएको छ । हामी नयाँ युगमा प्रवेश गरेका छौं । अब हामी गरिबी र बेरोजगारीको दुश्चक्रममा बसिरहन चाहँदैनौं । हामीले निश्चित लक्ष्यहरु राखेर त्यसलाई प्राप्त गर्ने ढंगबाट जान्छौं भन्ने कुरा गरिएको छ, त्यो सकरात्मक पाटो छ । जस्तो– पाँच वर्षमा आय दोब्बर गर्ने, कृषिको उत्पादनलाई पाँच वर्षभित्र दोब्बर गर्ने, पाँच वर्षभित्र बाध्यतावश वैदेशिक रोजगारीमा जानु नपर्ने कुराको प्रत्याभूति गराउने, कृषि उत्पादनमा धान, गहुँ, उखु आदिको समर्थन मूल्य सुरुमा नै तोक्ने, पाँच वर्षमा पाँचहजार मेगावाट बिजुली निकाल्ने, १० वर्षमा १५ हजार मेगावाट बिजुली निकाल्ने, प्रत्येक प्रदेशमा औद्योगिक केन्द्र र स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने, सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल र स्वास्थ्य बिमाको गर्ने, सबै व्यक्तिका बैंक खाता खोल्ने, प्रत्येक प्रदेशमा प्राविधिक महाविद्यालय र स्थानीय तहमा प्राविधिक पोलिटेकि निर्माण गर्ने, मदन भण्डारी विज्ञान प्रविधि प्रतिष्ठान निर्माण गर्ने, सबै स्थानीय तहमा सूचना मार्ग विस्तार गर्ने जस्ता कुराहरुसही छन् । यसलाई प्राप्त गर्ने ढंगले आएको नीति तथा कार्यक्रमलाई हामीले स्वागत गर्नुपर्छ ।

स्पष्ट भिजन, अस्पष्ट कार्यक्रम
मैले भनेको पनि थिए, हामी औद्योगिकीकरणको चरणमा प्रवेश गर्दैछौं । त्यसको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । यहाँ नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणमा ध्यान पुगेको पाएको छु । स्थानीय तहमा पाँच वर्षभित्र सडक कालोपत्र गर्ने, फाष्ट ट्र्याक, मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्गलाई पूरा गर्ने, भैरहवा विमानस्थललाई एक वर्षभित्र र पोखरा विमानस्थल तीन वर्षभित्र पूरा गर्ने, महत्वपूर्ण राजमार्गहरुलाई एक्प्रेस वेको रुपमा निर्माण गर्ने, मदन भण्डारी राजमार्ग निर्माण गर्ने कुराहरु अत्यन्त सकरात्मक छन् । यसलाई प्राप्त गर्न एउटा लक्ष्य राख्नुपर्छ । नीति तथा कार्यक्रमले जुन दिशाबोध गरेको छ, त्यो मूलरुपमा सही छ । म यसलाई समर्थन र स्वागत गर्न चाहन्छु ।

अब प्रश्न उठ्छ, यसलाई अब कसरी प्राप्त गर्ने ? हुन त भन्ने कुरा अरु पनि थिए, म भएको भए अझै धेरै भन्थेँ भन्ने मलाई लाग्छ । यहाँ के भन्ने त आयो तर कसरी भन्ने आएन । यही कुरा नै मुख्य चुनौती हो । यी लक्ष्यहरु कसरी प्राप्त गर्न सकिन्छ ? केही सुझाव र केही मेरा आशंकाहरु म प्रस्तुत गर्न चाहन्छु ।

नीति तथा कार्यक्रम एउटा भिजन डकुमेन्टको रुपमा आएको छ । एउटा पर्स्पेक्टिभ प्लानको रुपमा आयो । धेरैजसो कुराहरु पाँच वर्षभित्र गर्ने, दश वर्षभित्र गर्ने भनेर आएको छ । हामीले दिगो विकास लक्ष्य राखेका छौं- पाँच, पन्ध्र र पच्चीसको हाम्रो लक्ष्य छ, त्यसअनुसार आउनु स्वभाविक छ । यो नीति तथा कार्यक्रम हो । यो लक्ष्य हासिल गर्न प्रत्येक वर्ष के गर्छौं ? यो वर्ष के गर्छौं ? अर्को वर्ष के गर्छौं भन्ने ढंगले पनि आउनुपर्छ । हुन त यो कुरा बजेटमा पनि आउन सक्छ, आउने ठाउँ बाँकी छ । तैपनि त्यसको संकेत नभएको, सपना र भिजन मात्र देखाएको हो कि ? भन्ने अलिकति गन्ध आउँछ । सपना देखाएपछि त्यसलाई पूरा गर्न सकिएन भने मानिसमा झन ठूलो निराशा आउने खतरा हुन्छ । यसर्थ, यो भिजन डकुमेन्टको रुपमा त आयो तर कार्यक्रमको रुपमा जुन ढंगले आउनुपर्थ्यो त्यसमा जोड पुगेन कि भन्ने मलाई लागेको छ ।

अर्को, हामीले गर्दै आएको पूर्वाधारहरु जस्तै– कृषि, ऊर्जा, उद्योग, भौतिक पूर्वाधार, पर्यटन, सहरी विकास आदि । हाम्रा मूल प्राथमिकता त यिनै हुन् तर, मलाई लागेको छ, अझै यसमा प्रष्टता छैन । यो पनि गर्छु, त्यो पनि गर्छु भन्न खोजिएको छ । जस्तो– बुँदा नं. १६ मा सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सम्मान, उत्तिकै सुरक्षा भनिएको छ । यो सुन्दा त अत्यन्त मिठो लाग्ला । तर, सबैलाई उत्तिकै भन्ने हुँदैन । किनकी हाम्रो समाज र विकासको चरण जुन छ, देङ सियायो पिङले भनेजस्तै– सम सुड गेट रिचर फस्ट, अदर सुड फलो । अर्थात् पहिले केही धनी हुनुपर्छ अनि अरु । न्यूनतम् त दिनुपर्छ सबैलाई तर एकैचोटि सबैलाई बराबर भन्ने हुँदैन । यो केवल सपना मात्रै हुन्छ । सबै प्राथमिकतामा पार्छु भन्दा कुनै पनि नपर्ने भन्ने हुन्छ कि ? एउटै गोलीले सबै चरा मार्छु भन्दा एउटा पनि चरा नमर्ने हुनसक्छ । त्यसैले अझै फोकस पुगेन भन्ने मलाई लागेको छ ।

मैले भन्दै आएको छु, हाम्रो जस्तो देशमा पहिलो प्राथमिकता पूर्वाधार विकास नै हो, दोस्रो शिक्षा नै हो । विकास र समृद्धिको लागि हामीलाई दक्ष जनशक्ति चाहिन्छ । यहाँ शिक्षाको कुरा गरिएको छ, तर जोड दिइएको छैन । शिक्षामा आमूल रुपान्तरणसहितको परिवर्तन गर्ने कुरामा नीति तथा कार्यक्रममा जोड पुगेको मैले पाएको छैन ।

डा. बाबुराम भट्टराई

अब कसरी अगाडि बढ्ने त ? हामीले लक्ष्यहरु किटान गरेका छौं । दिगो विकास लक्ष्यलाई हामीले हाम्रो मौलिकतामा केही सुधार्न पनि सकिएला । तर, मुलरुपमा यसैलाई अगाडि बढाउने हो भने पनि यसलाई प्राप्त गर्ने एउटा स्पष्ट विचार श्रृंखला पनि हुनुपर्यो । कुनै पनि चिजको एउटा सैद्धान्तिक आधार हुन्छ । नीति तथा कार्यक्रममा सैद्धान्तिक आधारमा पनि म अस्पष्टता देख्छु । यसको साथै, हामीले पछ्याउने लक्ष्य प्राप्त गर्न हामीलाई साधन स्रोत चाहिन्छ । साधन स्रोत कसरी जुटाउने भन्ने पर्याप्त संकेत यहाँ छैन । बजेटले भन्ने हो मुलरुपमा तर, यसले गर्नुपर्ने संकेत गरेको छैन ।

त्यसैगरी यो लक्ष्य प्राप्त गर्न अहिले नै भएको हाम्रो संघसंस्था (इन्स्टिच्युसन)बाट मात्रै सक्दैनौं । यो लक्ष्य प्राप्त गर्न हाम्रा विद्यमान संघसंस्थाहरुमा कसरी र कस्तो गुणात्मक परिवर्तन गर्छौं भन्ने कुरा पनि यसमा स्पष्ट रुपमा आएको छैन । यसलाई लागू गर्न हामीले थुप्रै ऐन, कानुन र नियमहरु बनाउनुपर्छ । यसमा पनि पर्याप्त जोड नपुगेको म देख्छु । त्यसैगरी मुख्यरुपमा रहेको कार्यान्वयनको पाटोमा पनि म कमजोरी देख्छु । यी विषयमा ध्यान पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।

वैचारिक जमिन
यहाँनेर हामीले मुख्यतः वैचारिक कुरामा बढी जोड दिनुपर्छ । हालसालै पहिलो र तेस्रो ठूलो पार्टीहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । करिब करिब दुई तिहाई बहुमत एउटै पार्टीको छ । अरुको समर्थन प्राप्त गर्दा झण्डै तीनचौथाई पुग्ने अवस्थामा यो सदनको नेतृत्व गर्ने पार्टीहरु छन् भने यस्तो बेलामा यो पार्टीले लिने वैचारिक आधार के हो ? अरु कुरामा नजाऔं । खासगरी विकास सम्बन्धी दृष्टिकोणको कुरा गरिरहेको छु । अरु राजनीतिक, वैचारिक र दार्शनिक पक्षबारे यहाँ नजाऔं । म नयाँ बनेको कम्युनिष्ट पार्टीलाई हार्दिक शुभकामना र बधाई दिन चाहन्छु । बधाईसँगै सुझाव पनि छ । यो एकता केवल भौतिक योग जस्तो मात्रै नहोस् । फिजिकल मिक्चर अर्थात् भौतिक मिश्रण भएर मात्र हुँदैन । यसको रासायनिक कम्पाउण्ड बन्न सक्छ कि सक्दैन ? वैचारिक राजनीतिक रुपमा नै आफूलाई उन्नत बनाएर लैजान सक्छ कि सक्दैन ? त्यसमा पनि आर्थिक विकासका नीतिहरुमा विभिन्न धारहरु छन् ।

जतिबेला आधुनिक युग अर्थात् आधुनिकीकरण र इन्लाइटनको युग सुरु भयो । यहाँ अन्यथा नपरोस्, हामीले जतिसुकै भनेपनि विकास समृद्धि अनि ज्ञान र विज्ञानका जुन कुरा हामी गर्छौं, त्यतिबेला यहाँ एउटा रुढीवादी तरंग प्रवाहित हुन्छ । त्यसले विकास र समृद्धि अनि विज्ञान प्रविधिका कुरा सबै विदेशबाट आयात गरिए भनेर बद्नाम गर्ने प्रवृत्ति पनि छ । यथार्थ कुरा, मानव जातिले सबैभन्दा बढी ज्ञानको खुड्किलोमा हासिल गरेको कुरा युरोपबाट जुन इन्लाइटन्मेन्टको प्रक्रिया सुरु भयो, जसलाई प्रबोधन पनि भन्न सकिन्छ । त्यसले फ्रान्सेली क्रान्ति ल्यायो र फ्रान्सेली क्रान्तिले नै लोकतन्त्रको लहर सबैतिर ल्यायो । त्यसका तीन मान्यता थिए, लिवर्टी, इक्वालिटी एण्ड फ्राटर्निटी (अर्थात् स्वतन्त्रता, समानता र भाइचारा) यी तीनकुरा नै लोकतन्त्रका आधार हुन् भन्ने त्यहाँ उल्लेख छ, यही नै आधुनिक लोकतन्त्र निर्माणको जग हो । संसारभरी नै त्यही हो ।

जब विश्वभरी नै समानता, स्वतन्त्रता र भातृत्वका तीनवटा मध्ये एउटा तप्काले निजी स्वतन्त्रताको एउटा कुरालाई मात्रै जोड दियो । यहीँबाट उदारवादी धार अर्थात् पुँजीवादी लोकतन्त्र अगाडि आयो । त्यसले अर्को दुईवटा पाटो छाड्यो भनेर नै १९औं शताब्दीमा माक्र्सले अर्को पक्ष समानता र भातृत्वको पाटो छुट्यो भनेर यसलाई पनि जोड दिनुपर्छ भन्नुभयो । यहीँनेर समाजवादी विचार आयो । २० औं शताब्दीमा व्यक्तिगत स्वतन्त्रतालाई मात्रै जोड दिने उदारवादी विचार र सबै कुरा बजारलाई छाडिदेऊ, आफैं ठिक हुन्छ भन्ने पुँजीवादी धार एकातिर रह्यो । त्यसैगरी यसो गर्दा अत्यन्तै असमानता आउँछ, राज्यले हस्तक्षेप गर्नुपर्छ र उत्पादनका साधनमाथि राज्यको स्वामित्व हुनुपर्छ भन्ने माक्सेली समाजवादी धार यसरी प्रतिष्पर्धामा आए । २०औं शताब्दीमा हामीले यी दुईको प्रतिष्पर्धा देख्यौं ।

अहिले २१औं शताब्दीमा आउँदा यी दुवै विचारहरु फेरि संकटमा छन् । अमेरिकामा त्यही उदारवादी धारको संकटको अभिव्यक्ति डोनाल्ड ट्रम्प हुन् भने यता मार्क्सेली समाजवादी धार जसलाई स्टालिनको पालामा अत्यन्तै यान्त्रिक ढंगले प्रयोग गरियो, सबै थोक राज्यले गर्छु भन्नु खोजियो, त्यसबाट जुन खालका प्रतिक्रिया उत्पन्न भए, अहिले चीनसम्म आइपुग्दा त्यसका अवस्थाहरु हामीले देखिराखेका छौं । यी दुवै धारभन्दा माथि उठेको त्यही फ्रान्सेली क्रान्तिका तीनवटा पक्षहरु हुन्, यसलाई समन्वयात्मक रुपले जोडेर एउटा नयाँ विचार पैदा गर्नुपर्छ र नयाँ विकास नीति विकास गर्नुपर्छ भन्ने कुराहरु यहाँ आइरहेका छन् ।

चौथो ओद्योगिकीकरण र समृद्ध नेपाल
अमर्त्यसेन लगायतका विकासका अगुवाहरु र अरुले पनि यो विषयमा एउटा अध्ययन अनुसन्धान अगाडि बढाइरहेका छन् । त्यसैले मैले यहाँहरुलाई आग्रह गर्न खोजेको नेपालको विकासको बाटो अब २१औं शताब्दीको आँखाले हेर्नुपर्छ । २१ औं शताब्दीलाई अहिले हामीले चौथो औद्योगिकीकरणको युग भनिन्छ । फ्रान्सेली क्रान्ति हुँदा भर्खर त्यहाँ पहिलो औद्योगिक क्रान्ति भएको थियो । मार्क्सको पालामा दोस्रो औद्योगिक क्रान्ति भएको थियो । कम्प्युटरको युगपछाडि बल्ल २० औं शताब्दीमा तेस्रो औद्योगिक क्रान्ति भनियो । अहिले २१ औं शताब्दीमा आउँदा इन्टरनेटसँगै आर्टिफिसियल इन्टिेलिजेन्स, जेनेटिक्स लगायत भौतिक जगत, जैविक जगत र डिजिटल जगत यी तीनवटै क्षेत्रमा आएको विकासले सृजना गर्ने समष्टिको रुपमा चौथो औद्योगिक क्रान्ति भइरहेको छ भन्ने अवधारणा आएको छ । यसैले, हामी विकासको दृष्टिले पनि यसभन्दा माथि उठ्नु छ ।

उदारवाद र हिजोको राज्यकेन्द्रित समाजवादभन्दा माथि उठेको एउटा समुन्नत विचार र विकास नीति हामीले लिनुछ भने लोकतन्त्रका हिसाबले पनि नीति स्वतन्त्रता मात्र होइन, राज्यले समाजवादको नाममा सबै कुरा नियन्त्रण गर्ने मात्र होइन, त्यसभन्दा माथि उठेको स्वतन्त्रता, समानता र भातृत्व अथवा मानवता, यी तीनवटै कुरा समावेश भएको एउटा विचार आवश्यक छ भन्ने अवाधारणा पनि अगाडि आइरहेको छ ।

कस्तो थिंक ट्यांक
अहिले थिंक ट्यांकको कुरा गरिएको छ, त्यो स्वागतयोग्य छ । तर, मलाई लाग्छ, थिंक ट्यांकले केवल कर्मकाण्डी काम मात्र नगरोस् । आफ्नै झोला बोक्ने केही डिग्रीधारी मानिसहरुलाई राखेर थिंक ट्याक बनाएर केही अर्थ हुँदैन । यस्तो स्वतन्त्र हिसाबले थिंक ट्याङ्क बनोस् जसले सबै ज्ञान र विज्ञानका धाराहरु पचाएर नेपालको अहिलेको विकासको चरण अनुरुपको समाजलाई अगाडि बढाउन कस्तो नीति निर्माण हामीले गर्नुपर्ने ? भन्ने कुरा दिन सकोस् । सबै पार्टीभन्दा माथि उठेर, अहिलेको समाज र राज्यलाई केन्द्रमा राखेर विचार दिनसक्ने विचार केन्द्र निर्माण गर्न सकियो भने राम्रो होला भन्ने मलाई लाग्छ । यसमा जोड दिन आग्रह गर्दछु ।

यदि त्यसो हुन सकेन भने खासगरी नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नुभएका साथीहरुलाई मेरो आग्रह छ, हामीले अहिलेको आवश्यकता अनुसार काम गर्नुपर्छ । कम्युनिज्म भनेको मैले बुझेअनुसार पछिको आदर्श हो । मैले बुझेको मार्क्सवाद भनेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । संसारलाई ऐतिहासिक भौतिकवादी र गतिशील ढंगले बुझ्ने । भौतिक संसारलाई प्रधान मान्ने र यो निरन्तर गतिमा हुन्छ भन्ने पद्धति मान्नु नै मार्क्सवाद हो । त्यो भन्दा बाहिर मार्क्सले अरु कुनै सुत्र दिएका छैनन् । जुन साम्यवादको परिकल्पना हो, त्यो भनेको वर्ग, राज्य र राजनीति सबैको अन्त्य भइसकेको एउटा उदात्त प्रकारको स्वरै कल्पना अथवा एउटा रामराज्य अर्थात् स्वर्गको परिकल्पना हो । साम्यवाद आफैंमा कार्यक्रम होइन । कार्यक्रम भनेको त यी विभिन्न चरणहरु हुन् । हामी जहाँ छौं, त्यो चरणबाट पार गर्दै, समाजवादका विभिन्न चरणहरु हुँदै राज्यको विलोपीकरण भएको अन्तिम अवस्थालाई साम्यवाद भनिएको हो ।

तर, हामीले अहिले भर्खर एउटा पुँजीवादी चरणमा प्रवेश गरेका छौं । हाम्रो संविधानले पनि लोकतन्त्रका मूल्य र मान्यतामा आधारित समाजवादको निर्माण गर्ने र समृद्धितिर जाने भनेको छ । यस्तो अवस्थामा साथीहरुले भन्नुभएको साम्यवाद राम्रो आदर्श हो तर, २०औं शताब्दीमा कम्युनिज्मको नाममा राज्यले सबै कुरा नियन्त्रणमा लिएर एकदलीय चलाउने भन्ने जुन अधिनायकवादको रुपमा चिनिनपुग्यो, त्यसलाई हामीले जतिसुकै होइन भने पनि आम मानिसको विमति त्यसैमा बन्छ । त्यसैले यहाँनेर अन्तरविरोध के होला ? मैले यहाँहरुलाई विचार गरिदिन अनुरोध गरेँ ।

हाम्रो कार्यक्रम चाहिँ अहिले पुँजीवादको विकास गर्दै उत्पादक शक्तिको निर्माण गरेर अगाडि जाने भनेका छौं । समृद्धि भनेको त्यही हो । यसलाई नै समाजवाद उन्मुख भनिरहेका छौं तर, हामीले चाहिँ कम्युनिष्ट पार्टी र हिजोको उही २० औं शताब्दीका कम्युनिष्टहरुको जुन प्रयोग छ, त्यसको गन्ध आउने ढाँचा अपनायौं भने बाहिरबाट आउने निजी लगानी पनि नआउने र हामीले चाहेजस्तो विकास र समृद्धि पनि नहुने र मुलुक समाजवादतिर नजाने खतरा रहन्छ ।

म गाउँठाउँमा हुर्किएको मान्छे, शहरको मेलाजात्रा त धेरैपछि देखेँ । यहाँको लाखे र कालभैरवको मकुन्डो लगाएको देख्दा बडो झस्याङ्ग डरलाग्दो हुने । त्यस्तै, कम्युनिज्म भन्नासाथ सबै कुरा राज्यले नियन्त्रण गर्छ, सबै राष्ट्रियकरण गर्छ भन्ने बिम्ब निजी क्षेत्रलाई परेको छ । यसरी लाखे र कालभैरवको मकुन्डोजस्तो लगाइदिएपछि बालबच्चा तर्सिएजस्तो निजी क्षेत्र तर्सिने नै भइहाल्यो । यसबाट लगानी नआउने र तपाईले चाहेजस्तो अवस्था सिर्जना नहुनसक्छ । त्यसैले यो अन्तरविरोध कसरी हल हुन्छ ? विचार पुर्‍याउन म अनुरोध गर्दछु ।

विकासको तगारो जातपात
यसरी नै वैचारिक पक्षमा हामीले हल नगरी नहुने अर्को कुरा हो– आदरणीय डोरबहादुर विष्टले फ्याटालिज्म एण्ड डेभलपमेन्ट पनि लेख्नुभएको छ । हाम्रो देशमा यो भाग्यवाद र ब्राम्हणवादमा आधारित अन्धविश्वास र चिन्तन पनि बाधक हो भनेर उहाँले भन्नुभएको थियो । यहाँनेर गम्भीररुपले सोच्नुपर्ने एउटा विषय छ भन्ने मलाई लाग्छ । हामीले पुँजीवादको विकास गर्दै त्यसैमा टेकेर समाजवाद जाने कुरा गरेका छौं । हाम्रो जातपातमा आधारित र विभाजित धर्म र संस्कार छ, यसले एउटा जातमा जन्मिएपछि अर्को पेशामा जान नपाउनेगरी परम्परागतरुपमा बाधा हालिरहेको छ । हाम्रो संस्कार भनेको बाहुन भनेको खाली चिन्तन मनन र पुरेत्याईं गर्ने, क्षत्रीहरु लड्ने भिड्ने गर्ने र वैश्यहरुले व्यापार गर्ने र श्रमिकहरुले शुद्रहरुले अपहेलित भएर बस्ने भन्ने जुन हजारौं वर्षदेखिको मनुवादी चिन्तन छ, यो जातपातको प्रणाली हाम्रो निम्ति अत्यन्त ठूलो बाधक छ । जबसम्म यस्तो जातपात प्रथा र श्रमलाई यसरी विभाजित गर्ने परम्परा व्यवहारतः अन्त गर्न सक्दैनौं, त्यतिबेलासम्म हामीले देशको विकास गर्न सक्दैनौं ।

मैले यो कुरा सामान्य अर्थमा भनिरहेको छैन । यूरोप किन विकास भयो ? १५औं शताब्दीमा मार्टिन लुथर किंगले त्यहाँको क्याथोलिक चर्च हाम्रो हिन्दू धर्मजस्तै अत्यन्तै जड थियो । त्यसलाई उनले सुधार गरे र त्यहाँबाट सुरु भएको पुनर्जागरण औद्योगिक क्रान्ति हुँदै प्रबोधनतर्फ अगाडि बढेको थियो । तर हामीले यो जातपात प्रथालाई अहिलेसम्म अन्त्य गर्न सकेका छैनौं । अम्बेडकरमले जातपातको विनाश भन्ने जुन ग्रन्थ विकास गरे, त्यो ग्रन्थ म सबैलाई पढ्न आग्रह गर्दछु । कमला हेम्चुरीजीले त्यसलाई नेपालीमा रुपान्तरण गर्नुभएको छ । त्यसको निष्कर्ष रहेको छ– जबसम्म जातपातलाई जरैदेखि उन्मुलन गरिँदैन, त्यतिबेलासम्म हामीले हिन्दू धर्मलाई मात्रै अँगालेर देश विकास हुँदैन । यो निष्कर्षसँग म सहमत छु । यसर्थ, वैचारिक परिवर्तनसँगै सामाजिक र सांस्कृतिक परिवर्तनमा पनि जोड दिनुपर्छ भन्ने मेरो आग्रह हो ।

हामीले हाम्रो युवामा उद्यमशीलता विकास गर्नुपर्छ । हाम्रो शिक्षा अब घोतन्ते होइन, सीपमुलक र व्यावसायमुलक शिक्षा दिने र जुनसुकै जात, समुदाय र लिंगमा जन्मिएका भए पनि सबैले श्रमको सम्मान गरेर उद्यमशील बन्ने संस्कृति विकास गर्न सक्यौं भने मात्र हामीले विकास गर्न सक्छौं । त्यसो भएन भने राज्यले जतिसुकै मिठा कुरा गरे पनि केही हुँदैन । विकास गर्ने भनेको आखिर जनताले हो । जनस्तरमा नै विकासको नयाँ अवधारणासँगै श्रमको सम्मान गर्ने संस्कृति र उद्यमशीलताको विकास गरेर मात्रै बल्ल विकास गर्न सकिन्छ । यतातिर पनि म ध्यानाकृष्ट गर्न चाहन्छु ।

बाबुराम र बिप्ता
अर्को कुरा, अहिलेको युगमा अन्तर्राष्ट्रियरुपमा जोडिएको वित्तिय भूमण्डलीकरणबाट हामी पूरै अलग भएर रहन सक्दैनौं । ऐतिहासिकरुपमा हामी भारत र चिनको चेपुवामा परेर बस्यौं, यी दुई देशहरु उदीयमान अर्थतन्त्रको रुपमा आउँदैछन् । उनीहरुसँग नजोडिईकन विकास गर्छु भनेर त्यो सम्भव हुँदैन । यी दुई राष्ट्रसँग भूराजनीतिक सन्तुलन मिलाएर बाह्य पुँजी राष्ट्रिय हितअनुरुप ल्याएर अगाडि बढ्न हामीले उपयुक्त नीति ल्याउनुपर्छ । यहाँ संकेत त छन्, तर भन्न हिच्किचाएको जस्तो मैले पाएको छु । मैले पहिले पनि भनेको थिएँ, बाहिरएको पुँजी नल्याईकन पूर्वाधार मुस्किल गर्न गाह्रो छ । राष्ट्रिय हित हुनेगरी दुवै देशबाट लगानी भित्र्याएर वस्तु निर्यात नगरेसम्म देशको विकास हुँदैन । बाह्य पुँजीको लागि सुरक्षा र संरक्षण हुने नीति हाम्रो हुनैपर्छ । त्यसको लागि बिप्पा सम्झौता गर्नैपर्छ, मैले भनेको थिएँ । तर त्यो बिप्पा शब्दले किन यस्तो संकोच पैदा गरिरहेको छ, मैले बुझिरहेको छैन । यदि बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उठाएको भन्ने लागेको हो भने त्यसप्रति मेरो कुनै कपि राइट छैन । म यही मञ्चबाट त्यस्तो कपिराइटको खारेज र अन्त्य गरेको घोषणा गर्दछु । हामीले बुझ्नै पर्छ, बिप्ता सम्झौता नगरी बाह्य पुँजी भित्रिँदैन, त्यसो नभई दुई अंकको आर्थिक वृद्धिदर सम्भव छैन ।

सामान्य अर्थमा अहिले हामीले तीस खर्बको हाम्रो कुल ग्राहस्थ उत्पादन छ । ४० प्रतिशत अथवा करिब १२ खर्ब रुपैयाँ हामीलाई चाहिन्छ । त्यसको आधा हामीले बाहिरबाट नल्याई हुँदैहुँदैन । पाँच वर्षभित्र हामीले डबल गर्ने भनेका छौं, त्यो भनेको ६० खर्ब गर्ने भनेको हो । जनसंख्याको अनुपात फरक पर्ला तर कुल ग्राहस्थ उत्पादन करिब करिब त्यता पुग्छ । त्यो भनेको करिब २५ खर्ब प्रतिबर्ष खर्च गर्नुपर्ने हुन्छ । त्यो पुँजी हामीबाट मात्र सम्भव छैन । हो, आन्तरिक पुँजी पनि संकलन गर्ने हो, बाहिरको रेमिट्यान्स पनि केही ल्याउने हो । यसर्थ, हामीलाई चाहिने २५ खर्बजति विदेशी पूँजी ल्याउने गरी नीति बनाउन सक्नुभएन भने यो लक्ष्य पूरा गर्न सकिँदैन । यसमा नहिच्किचाईकन जानुपर्छ । कम्युनिष्ट पार्टी भनिहालियो, अब बाहिरबाट पुँजी ल्याउन हुँदैन, हिजो साम्राज्यवादी पुँजीको विरोध गरियो, भन्न थाल्नुभयो भने आफूले खनेको खाडलमा आफैं परिन्छ । आफैंले बुनेको जालमा आफैं फसिन्छ । यसो गर्न आवश्यक छैन । समयानुकूल अगाडि बढ्ने, आज मार्क्स भएका भए के गर्थे ? हामीले हेर्ने त्यो हो । १९ औं शताब्दीका मार्क्सले के भन्थे भन्ने होइन, २१औं शताब्दीका मार्क्सले के भन्थे ? उनी अहिले यहाँ भएको भए के गर्थे ? नेपालमा जन्मिएका भए के गर्थे ? यसलाई ध्यानमा राखेर अगाडि बढौं । यो विषयमा पनि ध्यान पुगोस् भन्ने म चाहन्छु ।

ब्यूरोक्रेसीको बाधा
त्यसरी नै संस्थागत संरचनामा केही परिवर्तन नल्याई हुँदैन । हाम्रो अहिलेको जुन कर्मचारीतन्त्रको ढाँचा छ, यसलाई रुपान्तरण गर्नेगरी जुन जोडका साथ नीति तथा कार्यक्रम आउनुपर्थ्यो, त्यसो भएको छैन । हाम्रो ब्युरोक्रेसी प्रक्रियामुखी छ । फाइल बढुवा गरेर १० ठाउँमा हस्ताक्षर गर्दै समय बित्ने अवस्था छ । कर्मचारीहरु पनि राजाको काम कहिले जाला घाम भन्ने हिजोको ढाँचा छ, त्यसरी हुँदैन । त्यसैले ब्यूरोक्रेसीलाई आमूल परिवर्तन गर्ने ढंगले हामी जानुपर्छ । अन्यथा पर्दैन भने सकेजति राम्रो सुविधा दिऊँ कर्मचारीलाई । राम्रोसँग तालिम पनि दिउँ । तलब पनि आवश्यकताअनुसार बढाइदिऊँ । तर, उनीहरुलाई पर्फमान्स (कार्यदक्षता)को आधारमा सम्झौता गरेर काम गराऔं । जस्तो पाँच वर्षको कन्ट्र्याक दिऊँ उनीहरुलाई । उनीहरुको कार्यकुशलता र नतिजा हेरेर स्थायी र बढुवा गर्ने काम गरौं । तर, यस्तो जागिरे र हिजोको मानसिकता बोकेको कर्मचारीतन्त्र पालेर विकास हुनेवाला छैन । यसलाई ब्रेक लगाउने गरेर नीति तथा कार्यक्रमले कुनै कार्यक्रम ल्याएको मैले पाएको छैन ।

संघीयताबाट पछि हट्यो सरकार
संघीयताबारे सरकारको अष्पष्टता रहेको नीति तथा कार्यक्रमबाट प्रष्ट हुन्छ । भुलवश हो कि जानीबुझिकनै हो संविधानको मर्मविपरित गर्नुभएको हो, मलाई त्यहाँनेर चिन्ता लागेको छ । नेपालको जुन जातीय, भाषिक र सांस्कृतिक बनौट छ, त्यसले गर्दा अहिलेको विविधता मात्रै होइन, यहाँ विविधता मात्रै भन्न खोजिएको छ । हाम्रो नेपालको जातिय संरचना, नेपाल भन्ने जुन समष्टिगत राष्ट्रियता छ, जसलाई हामी नेपाली भन्छौं, त्यो आफैंमा एउटा इन्द्रधनुषी राष्ट्रियता हो । खसआर्य समुदाय, आदिवासी जनजाति भन्ने किराँती समुदाय । अन्यथा नपरोस्, यो आदिवासी जनजाति भनेको एउटा चरण हो । त्यो एउटा समुदाय होइन । हाम्रो नेपालको सन्दर्भमा त्यसलाई किराँती समुदाय भन्नुपर्थ्यो । किराँत समुदायसँगै मधेसी थारु समुदाय, यी तीनवटा क्लष्टर मिलेर नेपालको जुन एउटा इन्द्रधनुषी राष्ट्रिय चरित्र बनेको छ, यो ऐतिहासिक ढंगले बनेको हो । यो विषयलाई हामीले केवल विविधता भनेर मात्रै हुँदैन । उनीहरुको त बनौट, भाषा, संस्कृति र अरु धेरै कुरामा त्यहाँनेर अन्तर छ । यसर्थ, उनीहरुलाई एउटा फरक राष्ट्रियताको रुपमा हामीले ग्रहण गर्नुपर्छ । उनीहरुलाई त्यही पहिचान र अधिकारसहितको संघीय ढाँचामा जाने भनेर लामो बहसपछि हामी संघीयतामा गएका हौं । भलै सबै कुरामा सहमति भएन । तैपनि मुल कुरामा हामी सहमत भएका थियौं । तर यो दस्तावेज हेर्दा त्यो भन्दा पछाडि फर्किएको हो कि भन्ने लाग्छ । हाम्रो संविधानले नै बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक राज्य भनिसके पनि यी शब्दहरु नीति तथा कार्यक्रममा प्रयोग गरिएको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द पनि परेको छैन ।

‘विविधता कुनै थियोमिचो र आक्रमणको परिणाम होइन, सभ्यता, भाषा, संस्कृतिको विकास एवम् राष्ट्र निर्माणको प्रक्रियामा हाम्रो भूगोल, इतिहास र विकासक्रमले दिएको यथार्थ हो’ भनेर छ । यो संविधानको मर्म र भावनाविपरितको विषय छ । किनकी लामो समयदेखि यी तीनवटा समुदायले नेपालको इतिहासका कालखण्डमा गोपालवंशी, महिषपाल वंशी र लिच्छविहरु, जो आजका मधेसी हुन्, उनीहरुले नेपालमा राज्य गरेकै हुन् । पछिल्लो समयमा किराँतहरुले गरेका हुन् र पछिल्लो दुई सय वर्ष मात्रै खसहरुले यहाँ राज्य गरेका हुन् । त्यसैले पछिल्लो दुई सय वर्ष खसहरुको नेतृत्वमा राज्य चलेको हुनाले यो समुदाय अगाडि आयो । आफ्नो भाषा संस्कृतिम ाथि भयो र ब्यूरोक्रेसी, शिक्षादिक्षा सबै क्षेत्रमा उनीहरुकै एकाधिकार बन्यो र अरु दुईटा समुदाय पछाडि परेकै हुन् । यो यथार्थ हो, त्यसकारण पछाडि पारिएको होइन, परेको होइन, सबै उस्तैउस्तै हो भनेर भन्नु उपयुक्त हुँदैन । त्यसैले संविधानको बुझाईअनुरुपको संघीयताविपरित यो दस्तावेज आएको छ । त्यहाँ दिन म आग्रह गर्न चाहन्छु ।

विकास र संघीयताको सम्बन्ध
सँगसँगै, सबैको स्वामित्व हुनेगरी संविधान संशोधन गर्ने जुन विषय छ, सबै जाति समुदाय खासगरी मधेसी थारु, आदिवासी जनजाति, दलित र महिलाको आफ्नो अधिकारमा केही पूर्णता नभएको भन्ने जुन विषय छ, त्यसलाई संशोधन गरेर सबैको स्वीकार्य बनाउँछौं भन्ने एउटा सहमति हामीले बनाउनै पर्छ । यो कुरा कार्यक्रममा आउनुपर्थ्यो, नआउनु कमजोरी भयो भन्ने मेरो ठहर हो । यो विषय विशुद्ध राजनीतिक विषय मात्र होइन र मैले राजनीतिक विषयलाई गिजोल्न खोजेको पनि होइन । विकासकै निम्ति पनि जबसम्म नेपालको हिमाल, पहाड र तराईमा बस्ने हाम्रा तीनवटा जातीय क्लस्टर छन्, महिला र दलित समुदायहरु छन्, उनीहरुको पूर्ण सहभागिता सुनिश्चित गर्न सकिएन भने विकास र समृद्धि हुँदैन । किनकी विकास भनेको जनताले गर्ने हो । जनताकै बीचमा त्यो सन्तुष्टि आएर र राज्यसत्तामा उनीहरुको बराबरी सहभागिता भएन, साधन स्रोतमाथिको पहुँच भएन भने विकास हुँदैन । त्यसर्थमा पनि संघीयताको प्रवद्र्धन भनेको विकाससँग सिधै जोडिएको कुरा हो ।

अब हामी संघ, प्रदेश र स्थानीय गरी तीन तहमा अधिकार, सत्ता र साधन स्रोत पनि बाँडफाँड गरिसक्यौं । त्यसलाई गएर एउटै नेपाल सरकार भनिएको छ । त्यस्तो होइन । ८ नम्बर बुँदा एउटै नेपाल सरकार हो भन्न खोजिएको छ, यी त तीन तहका सरकारहरु हुन् । यी तीन तहका सरकारको समष्टि नै नेपाल सरकार हो । संघ मात्रै नेपाल सरकार होइन । तीनै तह सरकारका फरक फरक तहहरु हुन्, यी तीनवटा तह मिलेर मात्र नेपाल सरकार बन्ने हो । उनीहरुको आफ्नै स्वायत्त अधिकार छ । स्वायत्तरुपमा साधन स्रोतको प्रयोग गर्ने उनीहरुको हक छ । र, त्यसको बाँडफाँडमा पनि त्यहीअनुसार ध्यान दिनुपर्छ । त्यो जोड यहाँनेर पुगेको छैन । गम्भीर त्रुटि हुनसक्ने संकेत मैले यहाँनेर देखेको छु । यसलाई सच्याइनुपर्छ ।

यसबीचम म केही प्रदेशहरुमा पुगेँ । स्थानीय तहमा कर्मचारी र उनीहरुको साधनस्रोतको व्यवस्थापन अत्यन्त अल्प र न्यून भएको भन्ने आइरहेको छ । त्यसैले पनि बजेट ल्याउनेक्रममा यसलाई सच्याइयोस् भन्न म चाहन्छु । त्यसरी नै शान्ति प्रक्रियाका केही बाँकी कामहरु, खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग र बहिर्गमित लडाकुहरुको समस्या हो, त्यसलाई पनि हामीले टुंग्याइदिऊँ । यसलाई ढिलो हामीले नगरौं । जति यसलाई ढिलो गर्छौं, बाँदरको घाउजस्तो बनाइराख्छौं, यसले हामीलाई अल्झाइराख्छ । छ्यास्स पर्न त परेको छ, तर उपयुक्त जोड दिन पुगेको छैन ।

मौलिक हक बिर्सँदै सरकार

अर्को कुरा, नीति तथा कार्यक्रममा थोरै र मलिनो मलिनोरुपमा भनिएको छ तर, हामीले जुन मौलिक हकको प्रावधान हाम्रो संविधानमा गरेका छौं, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवासलाई मौलिक अधिकार भनेका छौं भने दलित, महिलालाई एउटा विशिष्ट अधिकार दिने कुरा हामीले गरेका छौं, अन्य समुदायहरु जस्तै लैंगिक अल्पसंख्यकहरु छन्, अपांगता भएका व्यक्तिहरु छन्, उनीहरुका लागि विशेष व्यवस्था गर्ने कुरा त्यहाँ भनिएको छ । त्यो पनि तीन वर्ष कानुन बनाएरै गरिनेछ भनिएको छ । यो भनेको आउँदो असोज हो । अब तीन चार महिना पनि समय हामीलाई छैन । यी सबै कानुनहरु बन्न बाँकी छ । यदि ती कानुनहरु नबन्ने हो भने संविधानमा व्यवस्था गरिएका अधिकारहरु कार्यान्वयनमा आउन सक्दैनन् । यसलाई सबैभन्दा बढी प्राथमिकता दिएर सरकारले ल्याउनुपर्दथ्यो । नीति तथा कानुनमा यी कुराहरु नआउँदा संविधानमा लेखिएका कुरा कार्यान्वयन हुँदैनन् कि भन्ने गम्भीर आशंका छ । त्यतातिर पनि ध्यान पुगोस् ।

अन्त्यमा, यी सबै कुराहरु आउँदो बजेटले समेट्नेछन् भन्ने मेरो विश्वास छ । हामीले अब एउटा ठूलो फड्को हान्नै पर्छ । हामीले एउटा सपना देख्नैपर्छ । एकजना विद्वान लेस ब्राउनले भनेका छन्– सुट फर द मुन, इभन इफ यु मिस, यु विल ल्याण्ड एमङ द स्टार्स् । अथवा तपाईंले चन्द्रमा उडान भर्नुस्, यदि त्यहाँ पुग्न सक्नुभएन भने तारामा त पुग्नुहुन्छ । त्यतिबेला सायद चन्द्रमा ताराभन्दा टाढा छ भन्ने बुझिएको थियो । ठूलो भएकोले चन्द्रमा टाढा छ भन्ने बुझिएको थियो होला । अलि पुरानै भनाई हो । यसलाई उल्ट्याएर बुझ्दा तपाईं टाढालाई नै लक्ष्य राख्नुस् । तारामा नपुगिए पनि कम्तिमा चन्द्रमा भने पनि पुग्न सकिन्छ । लक्ष्य ठूलै राखौं । बजेटमा ठिक व्यवस्थापन गरौं । नजिक नजिक पुग्न सके पनि ठूलो उपलब्धि हुन्छ । त्यसैले हामीले अब एउटा ठूलो फड्को हान्नैपर्छ । त्यसको निम्ति आधार तयार होस् । यही शुभकामना दिँदै राम्रो काम गर्दा ताली र कमजोरी गर्दा गाली गर्ने वचनवद्धता व्यक्त गर्दछु ।

(नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रममाथि संसदमा टिप्पणी गर्दै डा. भट्टराईले राखेको विचारको सम्पादित अंश)

The post मार्क्स अहिले नेपालमा जन्मिएका भए के गर्थे ? appeared first on Sajha Post.

भर्जिन खप्तडको मनोरम दृष्य, सुदूरपश्चिमको भविष्य : यात्रा संस्मरण

$
0
0

हरिशरण न्यौपाने, खप्तड, ११ जेठ । २०७५ वैशाख ३० गते सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनको शिलशिलामा त्यसक्षेत्र र भारतको उत्तराखण्डअन्तर्गत पर्ने विभिन्न गन्तव्यको भ्रमणमा निस्कियो । सोट्टो नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्को नेतृत्वमा दर्जनबढी पर्यटन व्यवसायीहरु, राजनीतिकर्मी, पर्यटन अभियन्ता, पर्यटन पत्रकारहरु लगायतको प्रतिनिधिहरुले त्यस क्षेत्रको अध्ययन अवलोकन गरेको थियो । भारतको उत्तराखण्डअन्तर्गत गर्ने आधा दर्जन बढी गन्तव्य र नेपालको सुदूरपश्चिमका दर्जनबढी गन्तव्यमा पुगेर उक्त समूहले त्यहाँका भर्जिन गन्तव्यहरुको अध्ययन अवलोकन गरेर अब पर्यटन प्याकेज नै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

यहि पर्यटन प्रवद्र्धनको अध्ययनकाक्रममा सुदूरपश्चिमका विभिन्न गन्तव्य हुँदै एउटै यात्रामा खप्तड पुगेका एघार जनाको आँखाले सुदूरपश्चिमलाई कस्तो देख्यो ?

पूर्वाधारको व्यवस्थापन गरिदिने हो भने खप्तड एकदमै सुन्दर र भर्जिन ठाउँ हो

यमबहादुर खड्का, निवर्तमान अध्यक्ष, सोट्टो नेपाल

हामीले यसअघि लुम्बिनी देखि स्वर्गद्धारी र राराबास देखि रारासम्मको जुन अभियान सफलतापूर्वक सम्पन्न गर्‍याै‌ं,  त्यही सफलताबाट उत्साहित भएर सात नम्बर प्रदेश अन्तर्गत पर्ने शुक्लाफाँटादेखि खप्तडसम्म त्यहि खालको अभियान संचालन गर्ने सोचका साथ अगाडि बढेका थियौं । अभियानकै क्रममा शुक्लाफाँटा, नालापानी, अमरगढी हुँदै खप्तड पुग्यौं । यसबीचमा सुदूरपश्चिमका सबै जिल्लाका अन्य गन्तव्यहरुसम्म पुग्यौं । यहाँको मुख्य आकर्षकीय गन्तव्य खप्तड हो । तर खप्तड जान त्यति सहज छैन भन्ने हामीले बुझेका थियौं । तापनि स्थानीय व्यवसायीलाई घच्घच्याउनु पर्ने मुख्य उदेश्य बोकेर हामीले यहाँको यात्रा तय गरेका हौं । मैले सबै दृष्यहरुलाई नियाल्दा खप्तड जाँदा बझाङको बाटो सहज छ, त्यसको व्यवस्थापन गर्नुपर्ने खाँचो छ । सुदूरपश्चिमका अभियन्ताकाअनुसार खपतड पुग्ने ५ वटा बाटोहरु छन्, अब उहाँहरुको सल्लाहअनुसार जुन बाटोबाट सहज हुन्छ त्यहाँबाट हामीले पर्यटकलाई त्यहाँ पठाउने काम गर्नेछौं ।

हामीले छिट्टै यसको पर्यटन प्याकेज सार्वजनिक गर्नेछौं । विभिन्न वेभसाइटहरुमा हाम्रा प्याकेजहरु राख्नेछौं । हामी त्यसलाई उचित मूल्य तय गरेर बिक्रीमा राख्नेछौं । हामीले दिने सेवा, सुबिधाअनुसारको प्याकेजिङ लागत जोडिनेछ । हामी यो भन्छौं कि पूर्वाधारको व्यवस्थापन गरिदिने हो भने खप्तड एकदमै सुन्दर र भर्जिन ठाउँ हो । यहाँ आउने पर्यटकलाई आयातित सामाग्रीहरुले स्वागत गर्नु भन्दा पनि स्थानीय खाद्यान्न देखि अन्य वस्तुले स्वागतसत्कार गर्नुपर्ने खाँचो देखिन्छ ।

सुदूरपश्चिम पर्यटकीय सम्भावनाका हकमा प्रचुर छ, गर्नपर्ने धेरै छ

उदय भट्टराई, प्रबन्धक, नेपाल पर्यटन बोर्ड

सुदूरपश्चिम एउटा भर्जिन गन्तव्य हो । अधिकाँश मानिसहरुले यहाँका गन्तव्य देखेका छैनन् । सम्पदाका हिसाबले यो निकै धनी छ, समृद्ध छ । त्यै भएर सुदूरपश्चिम गएर एकपटक हेर्नुपर्छ । नितान्त नौलो किसिमको अनुभव पाउन सकिन्छ भनेर प्रचार गर्न सकिन्छ ।

हामी गन्तव्य प्रवद्र्धन गर्ने संस्था हौं । नेपालमा पर्यटनका केहि सिमित गन्तव्य र गतिबिधि मात्रै छैनन् । पर्यटनका स्रोतका हिसाबले सुदूरपश्चिम निकै समृद्ध लाग्यो । तर स्रोतलाई बजारसम्म लगेर जोडिदिने काम नभएको देखिन्छ । पर्यटकलाई चाहिने र पर्यटनजन्य सेवाहरुमा लगानी गर्न व्यवसायीहरुलाई उत्प्रेरित गर्नुपर्ने र सम्भावना बोकेका मुख्य स्थानहरुमा पूर्वाधार पहुँचमा कमि भएको देखिन्छ ।

यात्राकोक्रममा भन्नुपर्छ मलाई यहाँको मौलिकताले निकै आकर्षित गर्यो । यहाँको जुन प्राकृतिक पक्षका साथै धेरै चिज गर्न र हेर्न बाँकी पनि छ । सम्भावनाका हकमा प्रचुर छ, गर्नपर्ने धेरै छ ।

हामीले के बुझ्नुपर्छ भनेकाे पर्यटकको जातजाती, भाषा, वर्ण केहिपनि हुँदैन । सर्वप्रथम हामीले गर्नुपर्ने कामहरु स्थानीय तहले र पर्यटन क्षेत्रले कुन थरीका पर्यटक, कहाँ–कहाँ, कुन भूगोलका, कस्ता किसिमका उदेश्य बोकेका, कति खर्च गर्नसक्ने लगायत पाँच/छ वटा आधारभुत मान्यताहरुलाई यकिन गरेर के-कस्ता सेवाहरुको विकास गर्नुपर्छ, पहुँच र कहाँ बाटो राखिदिने, कस्ता किसिमका पर्यटकीय गतिबिधि सिर्जना गरिदिने आदी/इत्यादी कुराको निर्णय लिनुपर्छ ।

हामीलाई यहाँको वस्तुगत विष्लेषण गर्ने मौका मिल्यो । पूर्वाधारको अवस्था के छ भन्ने ज्ञानको दायरा फराकिलो भएको छ । यो क्षेत्रको मानव शंसाधन विकास, योजनाबद्ध विकास, स्थानीय समुदायलाई बजारसम्म कसरी जोड्ने, पर्यटनमार्फत स्थानीयको क्षमता कसरी बढाउने र बढीभन्दा बढी स्थानीयलाई पर्यटनजन्य सेवा सुबिधामा जोड्ने कार्य जुन साना लगानीमार्फत पनि सम्भव छन् भन्ने लागेको छ । मैले नेपाल पर्यटन बोर्डमा त्यस किसिमको सुझाव प्रस्तुत गर्नेछु ।

सुदूरपश्चिमको मुख्य गन्तव्य खप्तडमा धार्मिक, अध्यात्मिक पर्यटनको प्रचुर सम्भावना छ । त्यसैको एउटा पाटोकोरुपमा ध्यान, मेडिटेसनजस्ता पर्यटकीय गतिबिधिहरु हुनसक्छ । अहिलेकै पूर्बाधारले पनि त्यस्ता गतिबिधि गर्न सकिन्छ । तरपनि पर्यटकलाई खाने, बस्ने लगायत न्यूनतम सेवाहरु भने दिनैपर्छ । यसमा विकास निर्माण, पूर्वाधार तयार गर्न प्रादेशिक सरकार, स्थानीय तह लगायतले पर्यटनलाई एक महत्वपूर्ण पक्षकोरुपमा लिनुपर्छ । त्यसमा नेपाल पर्यटन बोर्डले सहकार्य गर्नेछ, पछि हट्दैन ।

खप्तडको जुन दृष्य देखियो त्यो दृष्य साँच्चै स्वर्गकै टुक्रा जस्तो छ

नारायण पराजुली, महासचिव, सोट्टो नेपाल

सुदूरपश्चिम घुम्न असाध्यै रमाइलो छ । धार्मिक पर्यटक नेपाल भित्र्याउन सकियोस भनेर हामी भारतको हरिद्धार, ऋषिकेश, देहरादुन पनि गयौं र सुदूरपश्चिमको खप्तड पदयात्रा गर्यौं । पदयात्राकाक्रममा खप्तडको जुन दृष्य देखियो त्यो दृष्य साँच्चै भन्ने हो भने स्वर्गकै टुक्रा जस्तो लाग्छ ।

बाटोको अप्ठ्यारा कठिनाई त त्यो आफ्नो ठाउँमा छँदै छ । तापनि खप्तडको दृष्यले बाटोमा भोग्नुपरेका कठिनाई सबै बिर्साईदियो । मेरो सबैलाई सझुाव छ जन्मेपछि सबैले एकचोटी खप्तडको मनोरम दृष्य र आसपासका धार्मिक गन्तव्यहरुमा पुग्नैपर्छ । भर्जिन सुदूरपश्चिम भ्रमण गरौं भन्न चाहन्छु ।

निराश भएकालाई नयाँ जीवन जीउने ज्ञान दिने भूमि सुदूरपश्चिममा छ

महेश भट्टराई, अध्यक्ष, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश ७

सुदूरपश्चिम पर्यटनको एक भर्जिन गन्तव्य हो । पर्यटन व्यवसायीहरु भर्खर ब्यूँझेजस्तो भएका छन् । यसलाई पर्यटनकोक्षेत्रमा दौडाउन पर्ने र सरकारको ध्यान पूर्वाधार विकासमा जानुपर्ने देखिन्छ । सरकारले पूर्वाधार निर्माण गरिसकेपछि निजी क्षेत्रका मानिसहरुले त्यहाँ आफैं व्यवसायीक क्रियाकलाप गर्न थाल्नेछन् ।

नेपालका अधिकाँश पर्यटकीय गन्तव्य पुराना भईसकेका छन् । मानिसहरु नयाँ चिज चाहन्छन् । नयाँ चिजको खोजी गर्न चाहन्छन् । सुदूरपश्चिममा त्यस्ता नयाँ भर्जिन ठाउँहरु शुक्लाफाँटा, अमरगढी, खप्तड, बडीमालिका, रामारोशन, सुर्मा सरोवर, अपि हिमाल, शैपाल हिमाल अादी छन् । धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक, प्राकृतिक थुप्रै चिजहरु छन् । त्यसैले आन्तरिक र बाह्य पर्यटकका लागि धेरै महत्वपूर्ण गन्तव्यहरु यहाँ छन् । तर पर्यटकका पूर्वाधार र पर्यटककाबारेमा चेतनाको कमि छ ।

मैले भन्नुपर्दा अहिलेकै पूर्वाधारमा पनि अध्ययन, अवलोकन, ध्यान, योगा गर्ने, माइन्ड फ्रेस गर्ने पर्यटकका लागि खप्तड एकदमै उत्कृष्ट गन्तव्य हो, जानुस् भन्छु । तनाव डिप्रेशन भएका लागि जानुस्, सुन्दर छ । धर्तीका स्वर्गका टुक्रा जस्ता गन्तव्यहरु छन् । ती गन्तव्य जीवन देखि आतिएका, निराश भएकालाई नयाँ जीवन बन्न सक्छ, यस्तो ज्ञान दिने भूमि सुदूरपश्चिममा छ भन्न चाहन्छु ।

कष्ट सहेरै मनोरम खप्तडको दृष्य हेर्न पुग्छु भन्नेलाई मात्र जानुस भन्न सक्छुु

मानबहादुर शाही, कोषाध्यक्ष, सोट्टो नेपाल

सुदूरपश्चिम अहिलेको भर्जिन पर्यटकीय गन्तव्य हो । तर यसको प्रवद्र्धन प्रचार प्रसार गर्न नसकिएको अवस्था छ । राज्य र व्यवसायीहरु मिलेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न आवश्यक छ ।

विशेषतः खप्तड, बडिमालिका, शुक्लाफाँटा, रामारोशन र अरु धेरै उत्कृष्ट गन्तव्यहरु यहाँ छन् । ती सबै गन्तव्यको स्वदेश र विदेशमा प्रचारप्रसार गर्नु आवश्यक छ । म व्यवसायी भएको हिसाबले पर्यटकलाई सुदूरपश्चिम जानैपर्ने गन्तव्य हो भन्दछु ।

तर सबैभन्दा पहिले यहाँको पर्यटकीय पूर्वाधार तयार नभएसम्म पर्यटकलाई पठाउन सकिने अवस्था छैन । एड्भेन्चर टूर गर्न सकिने पर्यटक आउँदा हुन्छ । पूर्वाधार बन्दा मात्र जानसकिन्छ भनेर अरुलाई सुझाव दिन सकिन्छ । जोखिम उठाएर यात्रा गर्नु ठिक हुन्न भन्न चाहन्छु ।

कष्ट गरेरै मनोरम दृष्य हेर्न पुग्छु भन्नेलाई मात्र अहिले तत्काल खप्तड जान सकिन्छ भन्न सक्छु । पर्यटनसँग सम्बन्धी सबै सरोकार वालाले पर्यटकलाई त्यहाँ सहजरुपमा पुर्याउनेतर्फ ध्यान दिनसके यहाँ पर्यटकको ओईरो लाग्नेछ । सूदूरपश्चिमको भविष्य उज्वल छ ।

पूर्वाधार तयार नगरीकन पर्यटकलाई खप्तड पठाउन ठिक जस्तो मलाई लाग्दैन

भुवन महर्जन, ट्राभल व्यवसायी

सुदूरपश्चिमका गन्तव्यहरु घुम्न त साह्रै रामाईलो हो । पहिले घुम्न जानुभन्दा अगाडि खप्तड त एकदमै राम्रो भन्ने लागेको थियो । त्यहाँ पुग्दा त्यस्तो लागेन । त्यहाँ कुनै पूर्वाधार एवं संरचनाको विकास नै भएको रहेनछ । बाटोहरु नै बनेको छैन । जान त गएँ तर धेरै कठिन छ । खप्तडको पाटनमा पुग्दा त साह्रै रमाइलो हुन्छ । तर फर्किंदा बाटोमा कष्ट भएकोले ट्राभल व्यवसायीले तत्काल त्यो ठाउँमा जान र व्यापार गर्न कठिन छ ।

खप्तड साह्रै सुन्दर छ । तर पर्यटकीय पूर्वाधार तयार भएमा मात्र जान सकिन्छ । एकदम चिसो, खुल्ला पाटन(घाँसेमैदान) त रमाईलो हो । हामी त दुःख कष्ट गरेर फर्कियौं । अरुले पनि त्यस्तो दुःखकष्ट गरेर फर्किनु राम्रो हुँदैन । हामीले पर्यटकलाई यो तरिकाले जाउ भनेर भन्नुपर्छ, बुझाएर पठाउनुपर्छ । अहिले पर्यटकलाई बुझाएर पठाउने अवस्था नै छैन । कष्ट भएपनि सुन्दर ठाउँ हेर्नलाई जान्छु भन्नेलाई मात्र पठाउन सकिन्छ ।

पहिले पूर्वाधार तयार नभइकन पर्यटकलाई पठाउन ठिक जस्तो मलाई लाग्दैन । यहाँको गन्तव्यहरुको भविष्य त छ तर अहिले त्यहाँ पहिले त पूर्वाधार नै तयार गर्नुपर्दछ ।

व्यवस्थापन गर्ने हो भने सुदूरपश्चिम सबैको आकर्षक गन्तव्य बनाउन सकिन्छ

किशोर खड्का, सचिव, नेपाल पर्वतारोहण संघ शैपाल हिमाल शाखा

हामीले छिमेकी मुलुकका पर्यटकीय गन्तव्यसँग तुलना गर्दा सुदूरपश्चिमले धेरै सम्भावना बोकेको छ । त्यसको व्यवस्थापन गर्न सक्यौं भने कुनैपनि ठाउँको पर्यटकीय गन्तव्य भन्दा यहाँको गन्तव्यमा कुनै कमि छैन । यसलाई आकर्षक गन्तव्य बनाउन सक्छौं ।

दुई कुरा गतिबिधि केन्द्रित पर्यटन र प्राकृतिक केन्द्रित पर्यटन जहाँ पदयात्रा र दृष्यहरु हेर्नका लागि मानिसहरु पुग्छन् । प्राकृतिक सुन्दरता हेर्न यहाँ संरचना र पूर्वाधारको कमि लाग्छ । सुदूरपश्चिमको पर्यटकीय मुटु खप्तडलाई मानिन्छ । त्यहाँ जाने पाहुनालाई राम्रोसँग सेवा, सुविधा दिने अवस्था अहिले छैन । व्यवसायिक ढंगले हामी अगाडि बढ्न सकेका छैनौं ।

गतिबिधि केन्द्रित पर्यटन हेर्ने हो भने कर्णाली चिसापानीमा र्याफ्टिङ गराउन सक्ने अवस्था छ । त्यसैगरी अरु साँस्कृतिक गतिबिधिहरु छन् । केहि शहरी क्षेत्रमा पूर्वाधार भएपनि ग्रामिण क्षेत्रमा क्रियाशिल र व्यवसायीक बनाउन सकेका छैनौं ।
पर्यटकीय पूर्वाधार निर्माण गर्नु अत्यन्तै जरुरी छ । राज्यले वातावरण तयार गरिदिनुपर्‍याे। खप्तडमा निजीक्षेत्र जान चाहन्छ । त्यहाँ संरचना बनाउन दिनुपर्‍याे । व्यवसायीलाई आकर्षित गर्न करमा छुट र अनुदान लगायत प्रोत्साहित गर्ने काम गर्नुपर्छ । केहि समयपछि यो क्षेत्रको पर्यटन आफैं विकास हुनसक्छ।

पर्यटकलाई तान्नसक्ने क्षमता भएको खप्तड दुनियाँमै त्यति राम्रो गन्तव्य अन्त कँहि छैन

इन्दिरा गौत्तम, पर्यटन व्यवसायी

सूदूरपश्चिमको खप्तड पुग्दा साह्रै रमाईलो छ । तर जान त्यति सहज छैन । त्यहाँ पुग्दाखेरी मनमा आनन्द र धार्मिक हिसाबले भनिन्छ नि स्वर्ग जाने भनेजस्तै अनुभव हुन्छ ।

धार्मिक हिसाबले पनि सुदूरपश्चिममा धेरै महत्वपूर्ण भूमि रहेछन् । खप्तडमै त्रिवेणीधाम, सहस्रलिङ्ग लगायत धार्मिक गन्तव्य छ । अन्य धेरै जिल्लाहरुमा धार्मिक गन्तव्यहरु छन् । मुख्य पर्यटकीय गन्तव्य खप्तडमा ताल पनि छ । २२ वटा पाटन(घाँसे मैदान) सँगै थुम्का थुम्का परेका जंगलहरु एकदमै आकर्षक छन् । जता हेर्‍याे त्यतै हरियाली एकदमै आनन्ददायक छ ।  प्राकृतिक हिसाबले एकदमै राम्रो छ । पर्यटकलाई तान्नसक्ने क्षमता भएको खप्तड दुनियाँमै त्यति राम्रो गन्तव्य अन्त कँहि छैन । तर जानलाई त्यति सहज छैन ।

सम्बन्धित निकायले भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएर सबै पर्यटकलाई सहज र सजिलो तरिकाले पुर्‍याउन सक्ने वातावरण बनाईदिनुपर्छ । मानिसहरु पैसा खर्च गरेर त्यहाँ जान चाहन्छन् । उनीहरुलाई सुबिधा त दिनुपर्यो नि ! खान, बस्न, बाटोको सुबिधा, सरसफाईमा सम्बन्धित निकायले ध्यान दिनसकेमात्र यहाँको पर्यटन फस्टाउनेछ ।

सुदूरपश्चिम साह्रै सुन्दर छ, तर सबैभन्दा पहिले पर्यटक पुर्‍याउनसक्ने पूर्वाधार बन्नैपर्छ

सुशिल नेपाल, पर्यटन व्यवसायी

धेरै रमाईलो छ । सुदूरपश्चिम सुन्दर छ । त्यसमा खप्तड क्षेत्र त धेरै राम्रो छ । तर बाटोघाटोको कारणले गर्दा रमाईलोको साथसाथै कष्ट पनि छ ।

मेरो अरुलाई सुझाव भनेको कष्ट भएपनि नेपालको रमणीय ठाउँ घुम्नुपर्छ भन्ने रहन्छ । खप्तड जाने हो भने हिंड्नसक्ने पर्यटक मात्र जान सक्छन् । होइनभने लरतरो मान्छे जान सक्दैन । मुख्यत खप्तड जाने र आउने सहज बाटो बनाउनुपर्‍याे । बाटो त्यति राम्रो छैन । लामो बाटो हिंड्नुपर्छ । विभिन्न रुटका बाटोमा १६/१७ घण्टासम्म पनि हिंड्नुपर्ने अवस्था देख्यौं । सके बाटोलाई छोट्याउने कोशिस गर्नुपर्‍याे, यदि सकिन्न भने बीचमा बास बसेर जानसक्ने व्यवस्था मिलाउनुपर्‍यो । सुदूरपश्चिमका सुन्दर पर्यटकीय गन्तव्यहरुमा पुग्नका लागि सबैभन्दा पहिले पर्यटकलाई त्यहाँसम्म सहजरुपमा पुग्ने व्यवस्था गर्नैपर्छ । पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान दिनैपर्छ ।

सुदूपश्चिमका पर्यटकीय गन्तव्यको भविष्य छ

विन्दु प्रधान, पर्यटन व्यवसायी

सुदूरपश्चिम घुम्न त साह्रै रमाईलो छ । सँगसँगै यहाँ मन्दिरहरु र शक्तिपिठहरुको दर्शन गर्‍याै‌ं । धार्मिक हिसाबले देहरादुन, ऋषिकेश लगायतका भारतका धार्मिक स्थलहरु पनि घुम्यौं । त्यस्तै सुदूरपश्चिमका अनेकौं स्थानमा रहेका धार्मिक स्थानमा रमाईलो र यहाँको प्राकृतिक दृष्यले मनमा शान्तिको अनुभव भयो । खप्तडको प्रवद्र्धनको लागि गएका थियौं । स्थान त साह्रै सुन्दर छ ।

तर पर्यटक पुर्‍याउन अहिलेका पूर्वाधारले पुग्दैन । सजिलो बाटोहरुबाट पर्यटकलाई घुमाउने र खानपानको व्यवस्था गर्नुपर्छ । हामी बझाङबाट जाँदा घोडाको पनि व्यवस्था थियो । तर अछामतर्फबाट फर्किदा साह्रै गाह्रो भयो । पर्यटकलाई त्यो अप्ठेरो बाटो पठाउन सकिन्न । जुन बाटो सहज छ त्यताबाट पर्यटक पठाउने कार्य गर्नुपर्छ । पदयात्रा कठिन त हुन्छ । कठिन भएपनि धेरै रमाइलो यात्रा थियो । स्थानीय निकायले पर्यटकीय पूर्वाधारको निर्माण, खानपानको व्यवस्था, सरसफाईदेखि सुरक्षाको प्रबन्धमा ध्यान दिनुपर्‍याे । यहाँका पर्यटकीय गन्तव्यको भविष्य छ ।

खप्तड पुगेपछि जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ

जनार्दन अर्याल, फोटो पत्रकार

नेपाल अधिकाँश पहाडले भरिएको देश हो । सुदूरपश्चिम पनि त्यसबाट अछुतो छैन । यो घुमाई जीवनको अविष्मरणीय क्षण बन्यो । यात्राकाक्रममा गाह्रो अप्ठेरो त भयो नै तर यहाँका रमणीय पहाड घुम्दा धेरै आनन्द लिएँ । एकदमै रमाईलो भयो ।

सुदूरपश्चिम जानुपर्छ, त्यसमा पनि खप्तड एकचोटी पुग्नैपर्छ भन्दछु। खप्तड पुगेपछि जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ । बाटोमा पर्ने जति धार्मिक, प्राकृतिक सम्पदाहरु  साह्रै हेर्न लायक छन् । केहि नभएपनि खप्तड जानैपर्छ, पुग्नैपर्छ भनेर अरुलाई सुझाव दिन चाहन्छु ।

The post भर्जिन खप्तडको मनोरम दृष्य, सुदूरपश्चिमको भविष्य : यात्रा संस्मरण appeared first on Sajha Post.

कम्प्युटर भाषाविज्ञान, जान्नैपर्ने केही सवालहरु

$
0
0

कम्प्युटेसनल लिङ्ग्विस्टिक्स अर्थात् नेपालीकरण गर्दा कम्प्युटर भाषाविज्ञान भनेको भाषाका विभिन्न तत्वहरूलाई वर्गीकरण र विश्लेषण गरेर कम्प्युटर, इन्टरनेट सञ्जाल पृष्ट, आइटी वा आइसिटीमा भाषाका माध्यमबाट काम गर्न सक्षम बनाउने भाषा र प्रविधिको सम्मिश्रण वा अन्तरमिश्त्रित ज्ञानको विधा हो । विषयशास्त्रीय क्षेत्रका रुपमा यो भाषाविज्ञान र कम्प्युटर इन्जिनियरिङ दुबै विषय मिसाइएको अध्ययन पद्धति हो । कम्प्युटर भाषाविज्ञान साङ्ख्यिकीय पद्धति वा नियममा आधारित पद्धति प्रयोग गरेर प्राकृतिक भाषाको एउटा मोडेल वा प्राकृतिक भाषा अध्याहार सूत्रसँग निर्माण गर्ने कामसँग सम्बन्धित हुन्छ ।

परम्परागत पद्धति वा प्रचलन अनुसार कम्प्युटर विज्ञान भन्नाले वैज्ञानिक वा कम्प्युटर इन्जिनियरहरूले अल्गोरिदमका माध्यमबाट भाषाका ससाना एकाइहरुलाई कृत्रिम बुद्धिद्वारा प्रदर्शन गरिएको कम्प्युटरको प्रोग्राम वा अनुप्रयोगमा प्राकृतिक भाषाको प्रशोधन भन्ने बुझिन्थ्यो । हिजोआज चाहिँ कम्प्युटर इन्जिनियर वा भाषाविद्हरू जसले भएपनि मानव भाषाका माध्यमबाट मानिसको दिमागभन्दा फरक धातुबाट निर्मित मेसिन, कम्प्युटर वा यस्तै पकेट डिजिटल एसेसरिज वा सहायक सामग्रीलाई लाए अह्राएको काम गर्न सक्षम बनाउने विज्ञानलाई कम्प्युटर भाषाविज्ञान भन्ने गरिन्छ । सामान्यतया, कम्प्युटेसनल भाषाविज्ञान (कम्प्युटर भाषाविज्ञान) ले भाषाविद्, कम्प्युटर वैज्ञानिक वा कम्प्युटर इन्जिनियर, कृत्रिम बुद्धिका विशेषज्ञहरू, गणितज्ञहरू, दार्शनिकहरू, संज्ञानात्मक वैज्ञानिकहरू, संज्ञानात्मक मनोवैज्ञानिकहरू, मानवविज्ञानका विशेषज्ञहरू र सञ्चारविद्हरुको क्षेत्र आकर्षित गर्दछ ।

भाषाप्रविधिको प्रयोग गरेर कम्प्युटर भाषा र नियमित मानव भाषा बीच समन्वय गर्नका लागि ससाना सिरियल बस र माइक्रो चिप्सलाई मानव भाषा सिकाउने काम पनि भएको छ । कृत्रिम बुद्धि वा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट विद्युतीय संयन्त्रलाई मानव भाषा बुझ्न सक्षम बनाउने काम भइरहेको छ । समग्र इन्टरनेट सञ्जाललाई कर्पस वा पाठसङ्ग्रहको रुपमा प्रयोग गरी त्यस पाठसङ्ग्रहबाट बहुभाषिक चेतना भएका सहायक सामग्रीको निर्माण गर्ने कामले पनि गति लिन थालेको छ। यस्तो कृयाकलापलाई अवलोकन गर्दा अबका दिनमा कुनै राष्ट्रभाषा वा मातृभाषा मानिसको दिमागले बुझेरमात्र पुग्दैन भन्ने निश्चित भइसक्यो ।

डा. लक्ष्मीप्रसाद खतिवडा

लिखित भाषा मात्र होइन, यदि कम्प्युटर वा अन्य सहायक यन्त्रलाई मानव बोली इन्टरफेसको प्रयोगमा लैजानुपर्छ भने वा कहिलेकाहीँ इन्टरनेट सर्च इन्जिनद्वारा मौखिक प्रश्नको जवाफ खोज्नु पर्छ भने कम्प्युटर भाषाप्रविधिको गहिरो अनुसन्धान आवश्यक हुन्छ । कम्प्युटर विज्ञानले मात्र यी समस्याहरू समाधान गर्न सक्दैन । कम्प्युटर त एउटा धातुको प्लेट मात्र हो । त्यसले आफै काम गर्न सक्दैन । त्यसलाई त मानव भाषा सिकाएर लाए अह्राएको काम गर्न सक्षम बनाइएको हो । र त्यो ज्ञान भाषाकै सहायताले दिइएको हो । खासगरी अङ्ग्रेजी भाषाका सहायताले । त्यो पनि बेलायत र अमेरिकाको राजश्व (पैसा) खर्च गरेर होइन, सन्सारभरका गरिब तर जेहेन्दार विद्यार्थीहरुले गरेका हुन् । ती विद्यार्थीलाई पनि उनीहरूका आमाबुबाले पेट काटेर खर्च जुटाएर पढ्न पठाएका थिए ।

वास्तवमा कम्प्युटरमा भाषाको काम गर्न यसलाई निर्देशित गरिएको मातृभाषा बुझ्न सक्ने बनाउनु पर्ने हुन्छ । अत: कम्प्युटर भाषाविज्ञान भनेको कम्प्युटर विज्ञान र बोली विज्ञानसहितको भाषाविज्ञानको समीकरण पनि हो । कम्प्युटर भाषाविज्ञानका सहायताले मेसिन प्रशोधनका माध्यमबाट गर्न सकिने कार्यका केही उदाहरणहरू यस प्रकार छन् ।

१. ठुलाठुला डेटाबेस वा लगत बैँक (ज्ञान भण्डार) जहाँ कृत्रिम बुद्धिका सहायताले मानव ज्ञान सङ्कलन गरिएको हुन्छ ।
२. लिखित वा बोली निर्देशन सुनेर मेसिनले आदेशहरू कार्यान्वयन गर्ने बनाइएको हुन्छ ।
३. मानव बोलीका बहुभाषिक कर्पस वा पाठसङ्ग्रह उपलब्ध गराइएको हुन्छ ।
४. एक भाषाबाट अर्को भाषामा लिखित पाठ वा बोलीपाठलाई स्वत: अनुवाद गराउने ।
५. निर्धारित पाठको अध्ययन गरी मानिसको (नेता, विशिष्ट व्यक्ति, आपराधिक मनोवृत्ति आदि) को सोचाइको स्थिराकृति वा मनोगत अवधारणा पत्ता लगाउने अनुप्रयोग आदि ।
६. रोबोटलाई कुनै मातृभाषा सिकाएर सोही भाषाको निर्देशन अनुसार काम गराउने ।

कम्प्युटेसनल भाषाविज्ञान (कम्प्युटर भाषाविज्ञान) सैद्धान्तिक र व्यावहारिक दुबै विज्ञान हो । मानिसको व्यवहारमा भाषाले कसरी काम गरेको हुन्छ भनेर भाषाप्रविधिका माध्यमबाट प्रयोगशालामा परीक्षण गरे जस्तै वैज्ञानिक तरिकाले टेस्ट गर्न सकिन्छ । कम्प्युटेसनल भाषाविज्ञान (कम्प्युटर भाषाविज्ञान) विश्वविद्यालयको शिक्षामा समेत समावेश भइसकेको विधा हो । विभिन्न समस्याहरू कम्प्युटर प्रविधिमार्फत प्रसोधन गरेर त्यसको समाधान निकाल्न विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहहरूमा पढाइ हुनथालेको पनि दशकौँ भइसक्यो । तर नेपालको हकमा यो विधा ओझेलमा परेको छ । बीए सीएससीआई वा बीए सिएसआइटी जस्ता विषय त पढाइ हुन्छ तर ती विषय पढाउँदा क्प्युटरले नेपाली वा नेपालका अन्य राष्ट्रभाषा बुझ्न सक्दैन र अङ्ग्रेजी बाहेक अन्य भाषामा कम्प्युटरलाई सक्षम गर्न सकिँदैन भन्ने भ्रमलाई अझ बलियो बनाउने गरी विद्यार्थिको दिमागमा जरो गाढ्ने किसिमको ज्ञान प्रशारण गर्दछ । यस्ता विद्यार्थीहरूमा बीए तह समाप्त गर्दानगर्दै विदेशको जागिर खोज्ने वा पलायन हुने मानसिकता विकास भइसकेको हुन्छ ।

कम्प्युटर भाषाविज्ञानको कुरा गर्दा विशुद्ध भाषाविज्ञानको कुरा स्वत: जोडिएर आउँछ । कम्प्युटर भाषाविज्ञानमा विशुद्ध भाषाविज्ञानको सूत्रलाई नै गणितीय व्याकरण विश्लेषणका विभिन्न मानक सिद्धान्तमा ढालेर भाषा सूत्रको विकास भएको छ । विभिन्न मानक सिद्धान्तहरूमध्ये हालसम्म पनि संरचनात्मक ब्याकरणको प्रभाव मात्रात्मक र क्षेत्रगत आधारबाट बढी व्यापक देखिन्छ । यो सिद्धान्त विशुद्ध भाषा विश्लेषणमा मात्र सिमित नभएर कम्प्युटरबाट भाषाको विश्लेषण गर्ने अनुप्रयुक्त पद्धतिमा पनि कैयौँ दशकदेखि मूलधारमा रहँदै आएको छ । संरचनात्मक ब्याकरणको विकास शब्दस्थानको निश्चित सोपानक्रम भएका भाषाको विश्लेषणलाई ध्यानमा राखेर बनाइएको हो । अङ्ग्रेजीलाई केन्द्रमा राखेर गरिएको संरचनात्मक ब्याकरण अङ्ग्रेजी भाषाको व्यापकतासँगै सिद्धान्तका रूपमा पनि सन्सारभर फैलियो। अङ्ग्रेजी स्थानक्रमको सोपानक्रम मिलाउनु पर्ने भाषा हो । अङ्ग्रेजी भाषाको स्थानक्रम भङ्ग भयो भने अर्थमा फरक पर्छ । तर नेपाली, मैथिली वा बङ्गाली आदि भाषामा स्थानक्रम भङ्ग गर्दा पनि अर्थमा फरक नपर्न सक्छ । त्यसैले स्थानक्रमको सोपानक्रम मिलाउनु नपर्ने भाषाका लागि ‘अधीनस्थ व्याकरण’ को विकास भयो । हाल जापानी, चाइनिज, कोरियन उर्दू र हिन्दी, तेलेगु आदिमा अधीनस्थ व्याकरणको प्रभाव बढ्न थालेको छ र नेपालीमा पनि यो सिद्धान्तको अनुशरण गर्दा सजिलो हुने देखिन्छ ।

भाषाका प्रत्येक शब्दलाई एउटा एकाइ वा अणुको रुपमा लिएर प्रत्येक अणुको मालालाई एउटा वाक्य र वाक्य वाक्यको मालालाई एउटा अनुच्छेद वा पाठका रुपमा व्यवस्थित गर्ने गरिन्छ । भाषाका यस्ता एकाइलाई वृक्षरेखामा ढालेर त्यही वृक्षरेखाका हाँगा (नोड) लाई निश्चित सूत्रमा आवद्ध गरेर त्यसले दिएको परिणामलाई मानकीकरण गरी सिद्धान्तको रूपमा स्थापना गर्ने चलन भाषा विज्ञानमा चलिआएको हो ।

भाषा एउटा लेखाइ वा बोलीको पद्धति मात्र नभएर मानव इतिहासको एउटा संज्ञानात्मक कौशल पनि हो जसले व्यक्तिको सम्पूर्ण जीवनलाई अन्य प्राणीभन्दा उत्कृष्ट बनाएको छ । मानव भाषा विकासले केही विधिहरू प्रदान गर्दछ । वालकले भाषा अधिग्रहण गरे जस्तै कम्प्युटेसनल तरिका प्रयोग गरेर मेसिनले भाषा अधिग्रहण गर्दछ । भाषा जटिल प्रकृया हो । जटिलतालाई सरल परिकल्पनामा ढालेर परीक्षण गरी मेसिनले भाषा अधिग्रहण गर्ने खाका वा मोडेलिङको विकास गरिएको हुन्छ । यस्तो प्रणालीले मानिसले बोल्ने भाषा बुझेर मानिसकै निर्देशन अनुसार कम्प्युटरले काम गर्ने गर्दछ ।

केही दशक यता साङ्ख्यिकीय व्याकरणको विकास भएर भाषालाई कम्प्युटरमा प्रविष्टि गराउन सहज पनि भएको छ । यस क्षेत्रमा कार्य गर्न भाषाका विभिन्न मोडेलहरूको प्रस्ताव गरिएको छ। यसलाई ध्यानमा राखेर ‘सन्दर्भ स्वतन्त्र व्याकरण’ को अवधारणा कम्प्युटर भाषाविज्ञानमा उपयुक्त हुने विचार कम्प्युटर इन्जिनियरले गरे । सामान्य भाषाविज्ञानमा ‘सन्दर्भ स्वतन्त्र व्याकरण’ को विकास पहिले देखिनै भए तापनि प्रविधिको विकास अङ्ग्रेजीमा सिमित रहेको र अङ्ग्रेजी व्याकरणले विज्ञान र प्रविधिमा सहजै प्रविष्टि पाएको हुनाले अङ्ग्रेजीभन्दा अन्य भाषालाई विश्लेषण गर्दा पनि अङ्ग्रेजीसँगै तुलना गरेर आधार अङ्रेजीलाई लिनुपर्ने अवस्था थियो । विस्तारै विस्तारै अङ्ग्रेजी मातृभाषा नभएका वा अङ्ग्रेजीका विमातृ विद्वत समुदायबाट ‘सन्दर्भ स्वतन्त्र व्याकरण’ का अलावा ‘अधीनस्थ व्याकरण’ लाई कम्प्युटर भाषाविज्ञानका क्षेत्रमा प्रविष्टि गराइयो । यस्तो विकासले एसिया , अफ्रिका र दक्षिणी अमेरिकाका विभिन्न भाषामा अधीनस्थ ब्याकरणमा मनग्गे काम गर्न सकिने भयो । हाल जापानी, चाइनिज, कोरियन उर्दू र हिन्दी, तेलेगु आदिमा अधीनस्थ व्याकरण र प्रविधिका सहायताले कम्प्युटर भाषाविज्ञानमार्फत यो सिद्धान्तको प्रयोगमा ब्यपकता बढ्दै गएको छ ।

अधीनस्थ व्याकरण सिद्धान्तमा शब्द र वाक्यको आपसी सम्बन्ध अधिशासन र अधिशासित शृङ्खलामा आवद्ध हुन्छ । अधिशासनलाई मुख्यरूपमा दुई तहमा विभाजित गरिएको हुन्छ । शब्दात्मक आधिशासन र वाक्यात्मक अधिशासन । अधीनस्थ व्याकरण सिद्धान्तमा एउटा वाक्य एउटा खेल बराबर हुन्छ । जसरी खेलमा खेलाडी र खेल्ने प्रक्रिया हुन्छ त्यसरी नै वाक्यमा प्रक्रियाका रूपमा क्रियापदले काम गरेको हुन्छ र खेलाडीका रूपमा नाम वा अन्य नामवत पदावलीले काम गरेको हुन्छ । वाक्यमा क्रियाले केही पदको माग गर्छ र नामवत पदले त्यस्ता पदको आपूर्ति गर्छ । वाक्यमा एउटा समापिका क्रियापदले एउटा प्रक्रिया पूरा गरिसके पछि एक गोल बराबर हुन्छ र दोस्रो वाक्यमा दोस्रो खेल सुरु हुन्छ । वाक्यमा विस्तारक वा विशेषक पदहरू शब्द समूहको तहका सहयोगी हुन्छन् भने नामवत पदहरू वाक्यात्मक केन्द्र वा क्रियामूलसँग आवद्ध हुन्छन । त्यसैले वाक्यको केन्द्र जहिले पनि क्रिया हुन्छ र अन्य नामवत शीर्ष पद वा शब्दहरू केन्द्रबाट अधिशासित हुन्छन् ।

वाक्यात्मक तहको संरचना शब्द शब्दको शृङ्खलामा नभएर केन्द्रको आधारमा निहित हुन्छ । एउटा वाक्यको एउटै मात्र केन्द्र हुन्छ र त्यो क्रियापद नै हुन्छ । शब्दलाई निश्चित सोपानक्रममा मिलाउनु जरुरी छैन । जुन शब्द जहाँ छ उसले त्यहीबाटै केन्दसँग आफ्नो आबद्धता जनाएको हुन्छ । त्यसैले यो सिद्धान्त वाक्यमा शब्दको निश्चित सोपानक्रम नभएका भाषालाई बढी उपयोगी साबित भएको छ ।
अङ्ग्रेजी भाषा स्थान सोपानक्रममा आधारित भाषा हो । कतिपय युरोपियन र अफ्रिकन एवम् एसियन भाषाहरू स्थान सोपानक्रममा आधारित भाषा होइनन् । जस्तै अङ्ग्रेजीमा राम किल्ड रावण र रावण किल्ड राम भन्दा उल्टो अर्थ लाग्छ । तर नेपाली वा बङ्गालीमा यस्तो हुँदैन । रामले रावणलाई मार्‌यो वा रावणले रामलाई मार्‌यो वा रामले मार्‌यो रावणलाई वा मार्यो रावणलाई रामले भन्दा हुन्छ । अर्थात नामपद जहाँ राखे पनि हुन्छ । अङ्ग्रेजी र नेपाली वा स्थान सोपानक्रम फरक भएका भाषाको फरक प्रकृतिलाई ध्यनमा राखेर गणित र कम्प्यूटर विज्ञानको डाइरेक्टेड एसिक्लिक ग्राफ (डिएजी) वा निर्देशित अचक्रीय ग्राफ पद्धतिलाई कम्प्युटर भाषाविज्ञानमा पनि भित्र्याइयो । माथि भनिसकियो जसरी एउटा वाक्य भनेको मानिलिउँ फुटबल खेलको एक गोल हो । यस्तो गोल गर्दा बलले एउटा तोकिएको चक्र पूरा गर्छ । त्यो चक्रलाई विच्छेद नगरी अर्को चक्र पूरा भएपछि मात्र अर्को गोल हुन्छ । त्यस्तै भाषामा पनि कृया पद र नापपदको चक्र हुन्छ । यस्ता नामपद र कृयापदको चक्र विच्छेद नगरी वाक्यका नोडहरूलाई साङ्ख्यिकीय पद्धतिबाट गणना गरेर परिणाम निकाल्नु पर्छ । अनिमात्र कम्प्युटरले एउटा वाक्य र अर्को वाक्यको फरक थाहा पाउन सक्छ ।

कम्प्युटर विज्ञान वा गणितमा प्रयोग हुने डाइरेक्टेड एसिक्लिक ग्राफ (डिएजी) वा निर्देशित अचक्रीय ग्राफ पद्धतिलाई कम्प्युटर भाषाविज्ञानमा भित्र्याएपछि यसलाई अधीनस्थ व्याकरणका नामले परिचित गराइयो ।

डाइरेक्टेड एसिक्लिक ग्राफले धेरै प्रकारका जानकारी प्रशोधन गर्न सक्छन् । एउटा वाक्यका हरेक टुक्रालाई किनाराको विन्दु मान्ने र कृया पदलाई मियो मानेर ती विन्दु र मियोका रेखालाई गणितीय सूत्रबाट कुनै पनि वाक्यलाई गणितको सूत्रमा बाँध्न सकिन्छ । इलेक्ट्रोनिक सर्किट डिजाइनमासमेत प्रयोग गर्न सकिने प्रोग्रामिङ भाषाका तत्वहरूको एसाइक्लिक सञ्जालले प्रभावकारी ढङ्गले डेटा वा लगत प्रशोधन गर्न मद्दत गर्दछ । मूल शब्द र विभक्ति वा नामयोगी जोडेर अचक्रीय शब्द ग्राफ, वा बाइनरी आरेख बनाउन सकिने हुनाले यसले भाषाको स्पेलिङ वा हिज्जेदेखि व्याकरणसम्मको अभिविन्यास गर्न सक्दछ ।

वाक्यमा भएका प्रत्येक एकाइहरू एउटा निश्चित आबद्धतामा रहेका हुन्छन् र आपसी रूपमा एक अर्कासँग अधीनस्थ हुन्छन् भन्ने अधीनस्थ व्याकरण परम्पराको मान्यता हो। अधीनस्थ व्याकरणमा आबद्धता शृङ्खलामा आउने एकाइहरूलाई तर्कशास्त्रअनुसार सूत्रात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यता पाणिनिले र फ्रान्सका तेस्निएरेले पनि प्रमाणित गरेकाछन् । यस्तै कम्प्युटर इन्जिनियर एवम् भाषावैज्ञानिक हेज र गफमैन जस्ता मानिसले पनि अधीनस्थ व्याकरणका बारेमा प्रकास पारेका छन् । क्रुजेफको भनाइअनुसार त अधीनस्थ व्याकरणको आधार पाणिनिको संस्कृत व्याकरणमा नै फेला परेको हो । यो परम्पराको प्रयोग अरेबियन ब्यारणकार इब्न अल सराफले उनको किताब ‘अल उसुल’ मा पनि गरेका छन् ।

पासी तपेइनिन् १९९९ का अनुसार अधीनस्थ व्याकरण भाषाका एकाइहरूलाई स्थानका आधारमा होइन प्रकार्यका आधारमा पहिचान तथा विश्लेषण गर्नुपर्छ भन्ने मान्यतामा आधारित सिद्धान्त हो । वाक्यमा शब्दका टुक्रा वा भाषिक एकाइहरू कहाँ छन् भनेर होइन तिनीहरूको विशेषता के हो भनेर पहिचान हुने हुनाले शब्द यता उति पर्दैमा संरचनाको अध्ययनमा बाधा हुँदैन र व्याकरण विश्लेषणमा केही फरक पर्दैन भन्ने यसको मान्यता हो । यो मान्यतालाई स्थापित गर्दा एसियाका स्थान सोपानक्रम निश्चित नभएका संस्कृतलगायत सम्पूर्ण भाषामा कम्प्युटरमा काम गर्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

The post कम्प्युटर भाषाविज्ञान, जान्नैपर्ने केही सवालहरु appeared first on Sajha Post.

सरकारको बजेटः स्वर्ग जाने ठेगाना खल्तीमा बोकेर नर्कको बाटो

$
0
0

अपेक्षाका आधारः
एकीकृत नेकपा सरकारले आफ्नो पहिलो बजेट पेश गरेको छ । यो बजेट सामान्य निरन्तरताको बजेट नभएर अलिक भिन्न र नयाँपनसहितको बजेट हुने अपेक्षा थियो । यस्तो अपेक्षा गर्नुपर्ने मुख्य ४ वटा कारण थिए-

पहिलो– यो संविधानसभाले बनाएको नयाँ संविधानअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भई बनेको नयाँ सरकारको बजेट थियो । तसर्थ, यसले नयाँ युगको वैचारिक तथा कार्यक्रमिक नेतृत्व गर्ने अपेक्षा स्वभाविक हुन्थ्यो ।
दोस्रो– यो प्रदेश सरकारको समेत गठन भइसकेको अवस्थामा संघीय नेपालको पहिलो बजेट थियो । तसर्थ, बजेट निर्माणको ढाँचामा त्यसको अभिव्यक्ति हुने अपेक्षा स्वभाविक हुन्थ्यो ।
तेस्रो– देशमा पहिलोपटक बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको थियो । आफूलाई जनवादी, समाजवादी भन्न रुचाउने कम्युनिष्ट सरकारले सोही अनुरुपको कार्यक्रम ल्याउला भन्ने अपेक्षा हुने नै भयो ।
चौथो– वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय यता तीव्र आर्थिक विकास र समृद्धिको बेजोड होहल्ला सृजना गरेका थिए । त्यसलाई उनको सरकारले कसरी कार्यक्रमिक ढंगले सम्पुष्टि गर्ला भन्ने जिज्ञासा सबैमा थियो । बजेट बनाउँदा वाम गठबन्धनको चुनावी घोषणपत्रलाई समेत ध्यान दिइने अपेक्षा पनि उत्तिकै स्वभाविक हुन्थ्यो ।

शंकाको घेरामा प्रधानमन्त्रीको अर्थशास्त्रीय सारक्षता
दुई अनौपचारिक प्रसंगबाट विषय उठान गर्न चाहन्छु ।
पहिलो– आफ्नै बाल्यकालको स्मरण हो । तीसको दशकमा प्राविको विद्यार्थी हुँदा राजारानीको जन्मोत्सवको दिन स्कूलदेखि पंक्तिबद्ध भई पञ्चायत घरसम्म जुलुस हिड्नु पर्थ्यो । त्यतिखेरको प्रावि स्कूल तीन कक्षासम्मको मात्र हुन्थ्यो । विद्यार्थीको औसत उमेर ७ वर्षभन्दा मुनि । स्कुलदेखि पञ्चायत घरसम्म जुलुस हिडेर जान डेढघण्टा लाग्थ्यो र फर्किन त्यति नै समय । अरु केही घण्टा पञ्चायतघरमा स्थानीय पञ्चले भाषण गर्थे । कलिला बच्चाहरुले भोकभोकै एक दिन बिताउन पर्थ्यो । तर जुलुस हिंड्दाको नारा भने जोसिलै थिए । ‘श्री ५ महाधिराज सरकार– चिरायु रहून्, बडामहारानी सरकारकी– जय’ त छँदै थियो । अझै रोचक नारा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘विकासको मूल– फुटाउनै पर्छ’ भन्ने हुन्थ्यो ।

दोस्रो- प्रसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत नेपाल भ्रमणभन्दा केही दिन अघिको मात्र हो । केही पत्रकार र बुद्धिजिवी साथीहरुको बीचमा नेपालको भावी राजनीतिक परिदृष्य कसरी अगाडि बढला भन्ने छलफल हुँदै थियो । त्यहाँ धेरै प्रकारका मत थिए । तर जोडदार दुईवटा मतहरु थिए ।

पहिलो– नेपालको कम्युनिष्ट आन्दोलनभित्र अनेकन बेथितीहरु छन् । एमाले–माओवादी एकता प्रक्रिया अनेकन संकटमा बीचबाट गुज्रिनेछ । त्यसले वाममोर्चालाई ५ वर्ष पुग्दा नपुग्दै अलोकप्रिय बनाउँनेछ । कम्युनिष्टहरुका लागि यो अन्तिम अवसरजस्तै हो ।

दोस्रो मत पनि कमजोर थिएन– प्रधानमन्त्री ओलीले जुनस्तरको मनोवैज्ञानिक ‘क्याम्पेन’ गरिरहेका छन्, त्यसले नेपालमा कम्युनिष्ट पार्टीको शासनलाई कम्तीमा दुई दशकसम्म लम्ब्याउन सक्छ । त्यसपछि भारतको पश्चिम बंगालझैं नेपाल झनै खराब आर्थिक हालतमा पुग्नसक्छ । तर पार्टीको संगठनात्मक क्षमता, ‘क्याम्पेन’ र ‘न्यारेटिभ’ ओलीको फेभरमा भएको हुँदा दुई दशकपछि आउने परिणाम आफ्नो ठाउँमा छ तर आज उनलाई रोक्न सक्ने ताकत अरु कसैसँग छैन । एमाले–माओवादी एकतापछि एउटै मात्र ‘डिफिसेन्सी’ बाँकी रहन्छ, त्यो हो– प्रधानमन्त्री ओलीको ‘इकोनमिक लिट्रेसी’ अर्थात् अर्थशास्त्रीय साक्षरता । जुन स्तर र उचाईमा प्रधानमन्त्री ओली विकास र समृद्धिका योजनाहरु बाँडिरहेका छन्, के उनले त्यही स्तरमा अर्थशास्त्रीय जटिलताहरु बुझ्छन् ? संरचनात्मक सुधार र व्यवस्थापन क्षमता विकास गर्ने योग्यता राख्छन् ? ती चिजहरु उनले सरकारको नीति तथा कार्यक्रम र बजेटमा कसरी अभिव्यक्त गर्लान् ?

डम्बर खतिवडा

दृष्टान्तहरुको व्याख्या
माथिका दुई प्रसंगबीच गहिरो सम्बन्ध छ । राज्यका तर्फबाट नेपालको आक्रामक विकास प्रयास राजा महेन्द्रकै शासनकालमा प्रारम्भ भइसकेको थियो । ‘विकासको मूल– फुटाउनै पर्छ’ नारा त्यतिखेरै कम आकर्षक थिएन । ‘शिक्षाको उज्यालो घामबाट कसैले बञ्चित हुन नपरोस्’ वा ‘कुनै पनि नेपालीको चुल्हो चिसो रहनु हुँदैन’ जस्ता ‘महावाणी’ कम मर्मस्पर्शी थिएनन् । तर पञ्चायतको तीन दशक लामो शासनपछि हामीले देख्यौं–देश झनै रित्तो, नाङ्गो, भोको, रोगी र कंगाल भयो । अल्पविकसितको अल्पविकसित नै रह्यो ? किन त ? शासकहरुले लिने संकल्प र आक्रामक अभियानहरु पनि किन अन्ततः असफल हुन्छन् ? यदि प्रधानमन्त्री ओलीका यावत प्रयासहरुलाई सकारात्मक अर्थमा लिने हो भने पनि अन्ततः त्यो एक दुःखद परिणाममा पुग्दैन भन्ने के ग्यारेन्टी छ ?

यस्तो प्रश्न गर्नेहरुको मुख बुझो लगाउने ताकत बजेटले राख्न सक्नु पर्दथ्यो । तर, बजेटपछि लाग्छ कि प्रधानमन्त्री र अर्थमन्त्रीको सोचमा खासै तालमेल छैन । प्रधानमन्त्री वक्तृत्वकलामा सपनाको महल ठड्याउँदैछन र अर्थमन्त्रीको सोच टेक्नोक्र्याटसको भन्दा माथि छैन । समृद्धिका लागि चाहिने मुख्य कुरा नै सोच, कार्यक्रम र कार्यान्वयन संरचनाबीचको प्रभावकारी तालमेल हो । माथि शंका गरिएझैं मानौं कि भाषणकला र संगठनको बर्चश्वको आधारमा कम्युनिष्टहरुले देशमा लामो शासन गर्ने अवसर पाए, अन्ततः देश टाट पल्टिएपछि मात्र मतादाताले कुरा बुझ्ने दिन आए भने त्यो कति ठूलो दुर्भाग्य होला ।

पाखण्ड किन ?
लोकतन्त्रका अनेक गुण हुन्छन, त्यसमध्ये एक उत्तरदायित्व र जवाफदेहिता हो । लोकतन्त्रमा सत्तारुढ पार्टी र नेताहरुलाई चुनावमा एउटा गफ गरेर भोट माग्ने र सरकारमा पुगेर भिन्नै सिद्धान्त, नीति, योजना र कार्यक्रम लागू गर्ने नैतिक अधिकार हुँदैन । त्यस्तो गर्नु मतदाताको अपमान मात्र हैन, राजनीतिक बेइमानी पनि हो । गत चुनावमा वामगठबन्धनले अनेक पपुलिष्ट नाराहरु लगाएका थिए, जुन उनीहरुको मत संकलन क्षमताको मुख्य कारण थियो, बजेटमा अधिकांश प्रतिबिम्बित छैन । वस्तुतः यो पाखण्ड नै हो ।

केही उदाहरणहरु हेरौं– वाम गठबन्धनको चुनावी घोषणपत्रमा ५ वर्षभित्र प्रतिव्यक्ति आय ५,००० डलर पुर्‍याउने थियो । अहिले २००० डलरमा झारिएको छ । दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने कुरा थियो । अहिले ८% अनुमान छ । त्यो पनि यथार्थमा ५% भन्दा माथि छैन । वृद्धभत्ता प्रतिमहिना ५००० पुर्‍याउने भनिएको थियो । अहिले त्यसको कुरै छैन । शिक्षामा बजेटको २०% लगानी गर्ने कुरा थियो । बजेटमा १०.२% छ, त्यो पनि विज्ञान-प्रविधिको बजेटसमेत जोडेर । प्रत्येक गाउँ/नगरपालिकामा १०० वेडसम्मका सिटी हस्पिटल बनाउने योजना हराएको छ । स्वास्थ्य क्षेत्रको बजेट ४.३% मा झारिएको छ ।

घरघरमा ग्याँस पाइप, हिन्द महासागरमा नेपाली ध्वजाबहाक पानी जहाजको कुरै नगरौं । शीतलहरमा मान्छे नमर्ने र जनवादी सरकारको शासनकालमा एकजना पनि नेपाली भोकले नपर्ने प्रधानमन्त्री ओलीका आश्वासनहरु प्रत्याभूत गर्ने मेकानिज्म के हो ? कहिँकतै उल्लेख छैन । यस्तो चरित्रलाई राजनीतिक पाखण्ड किन नभन्ने ? भोटको राजनीतिका लागि जेष्ठ नागरिकलाई समेत ढाँट्न सक्नेहरुले कसरी नैतिक राजनीति गर्लान् ?

चुनावमा एक्ला बादशाहझैं बेतहास हुँइकिएका ओली मोदीको नेपाल भ्रमण र बजेटसम्म आइपुग्दा निक्कै रक्षात्मक बनेका छन् । विस्तारै नेपालको कम्युनिष्ट वृत्तलाई यो अनुभूति हुन थालेको हुन पर्छ कि ‘काम गर्न गफ गर्न जति सजिलो छैन ।’

स्वर्ग जाने ठेगाना खल्तीमा बोकेर नर्कको बाटो
अक्सर राजनीति गर्ने सबैको चाहना राम्रो गरौं, लोकप्रिय बनौं भन्ने नै हुन्छ । प्रधानमन्त्री ओलीमा पनि यो चाहना होला । उनको नियतमा शंका नगरौं । तर नियत मात्र समृद्धि र असल शासनका लागि पर्याप्त हैन । सोही बमोजिमको संयन्त्र, व्यवस्थापकीय क्षमता र इच्छाशक्ति हुनु पर्दछ ।

नेपालमा मात्र हैन, संसारका धेरै देशहरुमा यस्ता उदाहरण भेटिन्छन् । चीनमा कम्युनिष्ट शासन स्थापना गर्न सफल भएका माओत्से तुङ्ग देशको आर्थिक विकास चाहँदैनथे भन्न सकिन्न । तर उनका प्रयासहरु सन् १९७० को दशक पुग्दा नपुग्दै समष्टिगतरुपमा नै असफल भए । प्रकारान्तले उनी आफ्नै विरोधी गुटमा बन्दी नेता देङ्ग सिआयो पिङ्गलाई सत्ता हस्तान्तरण गर्न बाध्य भए । देङ्ग र माओका नीतिमा के त्यस्तो गम्भीर अन्तर्य थियो जसले माओलाई असफल र देङ्गलाई सफल बनायो ? भारतमा जवाहरलाल नेहरु र सिंगापुरमा लि क्वान युको शासनकाल झण्डै एउटै अवधि हो । स्वतन्त्रता संग्रामका त्यति ठूलो योद्धा तथा विद्वान नेहरुको नियतमा शंका गर्नुपर्ने कुनै ठाउँ रहँदैन । तर के कारण थियो कि लिक्वान यु सफल र नेहरु देशको आर्थिक विकासका दृष्टिकोणले असफल भए ?

यी उदाहरणहरुले के प्रष्ट गर्दछन भने राजनीतिक प्रतिवद्धता मात्र आर्थिक विकासका लागि पर्याप्त शर्त हैन, त्यो त माओ र नेहरुमा पनि थियो नै । तर उनीहरुमा के त्यस्तो चिज थिएन जो देङ्ग र लि क्वान युमा थियो ? संभवत् त्यो भनेकै देशको विशिष्टि परिस्थितिबारे गहिरो ज्ञान, आर्थिक नीतिमा हुने उपयुक्तता, संरचनात्मक सुधार र व्यवस्थापकीय क्षमतास्तर नै हो । नेपालमा वर्तमान प्रधानमन्त्रीको आर्थिक सारक्षताको कुरा गर्दा यी सबै पक्षहरुको समग्रतालाई नै बुझ्नुपर्दछ । यो बजेटले प्रष्ट संकेत गरेको छ कि प्रधानमन्त्री ओली त्यो स्तरको क्षमता राख्दैनन् । उनकै शब्द उनैलाई फिर्ता गर्ने हो भने ‘मुखले ट्याउँ ट्याउँ’ गर्नु मात्र पर्याप्त छैन ।

बजेटका कमजोर पक्ष
यो बजेटको पहिलो कमजोरी वैचारिक अस्पष्टता हो । बजेटलाई समाजवादउन्मुख भनिएको छ । के हो यो समाजवाद भनेको ? समाजवादी बजेट गैरसमाजवादी भन्दा किन र कसरी फरक हुन्छ ? त्यसको मुख्य अभिमुखीकरण के हो ? यो कुरा प्रधानमन्त्री र अर्थमन्त्रीले फेला पार्न नसकेको मुख्य कडी हो ।

एक्काइसौं शताब्दिको समाजवाद निःसन्देह कम्युनिष्ट समाजवाद हैन । कसैले नेपालमा सोभियत संघ, क्युवा वा उत्तर कोरियाको जस्तो समाजवाद चाहेको पनि छैन । त्यस्तो समाजवाद नेपालमा अनावश्यक मात्र हैन, असम्भव पनि छ । मूलतः नेपाललाई चाहिएको समाजवाद भनेको सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजनिक अवसरको वितरण र रणनीतिक क्षेत्रको लगानीमा राज्यको बलियो उपस्थिति हो । यो बजेटले पूर्वाधार विकासका पक्षमा भने केही महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । त्यो सकारात्मक छ । बाँकी सबै क्षेत्रमा बजेट निरासाजनक छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले निजीकरणलाई झनै प्रोत्साहन दिएको छ । त्यसको प्रष्ट उदाहरण शिक्षा तथा स्वास्थ्य सेवा कर खारेज गर्नु हो । कतिपयले कुरा नबुझेर बिमारी र विद्यार्थीलाई करको मारबाट जोगाएको भने पनि यो प्रावधानको वास्तविक उद्देश्य शिक्षा र स्वास्थ्य माफियाहरुको लगानी बजार र प्रतिफललाई सुनिश्चित गर्नु हो ।

बजेटको अर्को कमजोर पक्ष सुशासन हो । कर्मचारीतन्त्रको पुनर्गठन, पर्याप्त तलब भन्दा दण्डाधिकारी निकायको सवलीकरण र दलीय ट्रेड युनियनहरुको खारेजी जस्ता विषयमा बजेट मौन छ । दलीय प्रणालीमा राजनीतिक लागतको आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउने ऐन बनाउने तदारुकता बजेटमा छैन । यस्ता दर्जनौं पक्षहरु देखाउन सकिन्छ, जसलाई यो सानो लेखमा चर्चा गरेर सम्भव छैन ।

के हुनु पर्दथ्यो ?
बजेटको सबैभन्दा ठूलो क्रमिकता वा परम्परावादी दोष भनेको बजेट संचरना नै हो । चालु खर्च ६४.३% भएको बजेटले कसरी समाजवाद ल्याउँछ ? वैदेशिक तथा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ११.८% व्ययभार देखिन्छ । यसरी हेर्दा ७६.१% बजेटमा गैरपुँजीगत खर्च देखिन्छ । यसको अर्थ हो राज्यको १०० रुपैयाँ आमदानीमध्ये मुस्किलले २४ रुपैयाँमा मात्र विकास, निर्माणमा खर्च हुन्छ ? हुन त यो नयाँ कुरा हैन, तर कहिलेसम्म यो निरन्तरता कायम राख्ने ?

चालु खर्च यतिधेरै बढ्नुको कारण के हो ? के प्रशासन ठूलो भएर हो ? राजनीतिक संचरना ठूलो भएर हो ? अर्कोतिर सरकारले राष्ट्रसेवकहरुको तलब-भन्दा बढाएको छैन । बजारमूल्य र तलब-भत्ताबीच तालमेल छैन । घुस नखाइकन कर्मचारी बाँच्न सक्ने बनाइएको छैन । कर्मचारी, सेना र पुलिसको संख्यासमेत पर्याप्त छैन । सरकारको पहिलो ‘एसेसमेन्ट’ चालु खर्चको अनुपातलाई घटाउँदै र विकास खर्चको अनुपातलाई बढाउँदै लैजाने हुनुपर्दथ्यो ।

दोस्रो कुरा– शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको बेथिति, अराजकता, मनपरीतन्त्र र माफियागिरीलाई रोक्नु पर्थ्यो । त्यसका लागि शिक्षा क्षेत्रमा कम्तीमा १५% र स्वास्थ्य क्षेत्रमा कम्तीमा ८ % बजेट व्यवस्था गर्न आवश्यक थियो । असाध्यै महंगो हुँदै गएको चिकित्सा शिक्षा र त्यसले स्वास्थ्य सेवाको लागत आकासिएको यथार्थलाई सरकारले किञ्चित ध्यान दिएको छैन ।

सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न, निजी र सार्वजनिक स्कुलको शिक्षा प्रणालीमा भएको विभेद अन्त्य गर्न सरकार उदासिन छ मात्र हैन, सार्वजनिक शिक्षालाई झनै कमजोर बनाएर निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने नीति लिएको छ । यो कम्युनिष्ट सरकारको क्रोनी क्यापिटालिष्ट चरित्रको नङ्गन अभिव्यक्ति हो ।

तेस्रो कुरा– नेपालका कृषि उत्पादन घटनुको कारण के हो ? त्यस विषयमा कुनै लेखाजोखा नगरिकन ५ वर्षमा कृषि उत्पादन दोब्बर गर्ने भनेको छ । कृषिमा केही अनुदान नीति छ । तर नेपालमा कृषि क्षेत्रको मुख्य समस्या यो तुलनात्मक लाभको क्षेत्र नरहनु हो भन्ने कुरा पूरै बिर्सिएको छ । गाउँघरमा बिगहौं जमिन बाँझो छोडेर उत्पादक श्रमशक्ति किन खाडी मुलुकतिर पलायन भइरहेको छ ? आधुनिक बजारमूल्य प्रणालीमा कृषि तुलनात्मक लाभको क्षेत्र नहुन्जेल दुई-चार रुपैयाँ अनुदान बढाएर युवा जनशक्ति कृषि पेशाका लागि आकर्षित हुँदैन ।

चौथो– कम्युनिष्टहरुले लामो समयदेखि भन्दै आएको क्रान्तिकारी भूमिसुधार र सुकुम्बासी समस्याबारे ठोस योजना प्रस्तावित नहुनु हो । एकपटकलाई सुकुम्बासी समस्या हल गर्ने भनिए पनि मोडालिटी दिइएको छैन । नेपालमा यो एउटा ठूलो बहसको विषय हो । सुकुम्बासी समस्या कसरी हल गर्ने ? जग्गा दिएर, पैसा दिएर वा हाउजिङ्ग मार्फत् ? भू-उपयोग नीतिको सामान्य मागदर्शन के हो ? यस्ता विषयलाई प्रष्ट पार्न सक्नु पर्दथ्यो ।

पाँचौं– व्यापार घाटाको प्रश्न हो । नेपालमा औद्योगिक उत्पादन लागतस्तर किन माथि छ ? किन नेपालमा भएका उद्योगहरु पनि बन्द हुँदै गए ? औद्योगिक क्षेत्रमा वैदेशिक लगानी किन आकर्षित भएन ? भएका राजकीय उद्योगहरु कांग्रेसले निजीकरणसँग कौडीको मोलमा बेची खायो भन्ने कम्युनिष्टहरुको औद्योगिक नीति के हो ? के अब राजकीय उद्योगहरु पुनर्स्थापित हुने हुन् ? यदि हैन भने वैदेशिक लगानीका लागि सम्भाव्य देशहरुसँग बिप्पा किन नगर्ने ?

अन्त्यमा,
बजेटको रक्षात्मक प्रस्तुतिसँगै केही सत्तारुढ नेता कार्यकर्ताले तीन वर्ष उत्पादन बढाएर सञ्चिति गर्ने अर्को चुनावको मुखमा बाँढेर फेरि लोकप्रिय भई अर्को चुनाव पनि जित्ने रणनीतिको अंगका रुपमा नरम बजेट आएको अभिव्यक्ति दिन थालेका छन् । प्रतिरक्षा गर्ने कुनै तर्क नपाएर यस्तो भनिएको हो भने केही भन्नु छैन । अन्यथा, यस्तो तर्क अज्ञानताको पराकाष्ठा हो । राज्यकोष कहिल्यै भरिभराउँ वा खाली हुने चरित्रको हुँदैन । स्रोत परिचालन वा राजस्व संकलन शासनकलाकै एक अंश हो । राज्य कोष सञ्चित पनि हुँदैन । राज्य सञ्चालनमा खर्च गर्ने क्षमताको उत्तिकै महत्व हुन्छ । मुख्य कुरा आर्थिक मेरुदण्ड कस्तो छ भन्ने हो । अर्थतन्त्र सवल र फराकिलो भने स्रोत परिचालन कुनै ठूलो कुरा हैन । अर्थतन्त्र नै टाक्सिएको छ भने कसैले चाहेर सञ्चित हुने हैन । अर्थनीति सञ्चालनको यतिखेरको जोड भनेको उत्पादनमा जोड र वितरणमा न्याय हो । यी दुवै कुरालाई बजेटले पर्याप्त ध्यान दिएको छैन । चुनावी वर्षमा पुगेर बृद्धभत्ता ५ हजार पुर्‍याउने छौं भन्ने तर्क हद दर्जाको उपयोगितावादी तर्क हो । यस्तो तर्कले मानवीय संवेदना र गरिमाको सीमा नाघिरहेको हुन्छ भनेर बुझ्न आवश्यक छ ।

The post सरकारको बजेटः स्वर्ग जाने ठेगाना खल्तीमा बोकेर नर्कको बाटो appeared first on Sajha Post.

भाषा र इकोलोजिकल साइन्स अर्थात् पारिस्थितिकीय भाषाविज्ञान

$
0
0

हालैका दशकहरुमा भाषाको अध्ययन विभिन्न पक्षबाट भइरहेको छ । त्यसमध्ये भाषा पारिस्थितिकीय विश्लेषण भाषाको व्यावहारिक प्रयोग सम्बन्धी अध्ययन गर्ने महत्त्वपूर्ण विधा हो । पारिस्थितिकीय भाषाविज्ञान भाषाको एउटा नयाँ शाखा हो जसले पारिस्थितिक वा पर्यावरणीय समस्याहरूको समाधानमा भाषाको भूमिकाको अन्वेषण गर्दछ । यसका लागि भाषाले कसरी पारिस्थितिकीय प्रणालीको अवधारणा प्रयोग गर्दछ भन्ने कुराको अवलोकन गरिन्छ । अर्थात् पारिस्थितिकीय भाषाविज्ञानले जैविक पारिस्थितिसँग सम्बन्धित अवधारणाहरूको मद्दतमा भाषाको विश्लेषण गर्दछ ।

मानिसको जीवन पारिस्थितिकीय परिवेशसँग जोडिएको हुन्छ । पारिस्थितिकीय भाषाविज्ञान वा इकोलिन्ग्विस्टिक्स पारिस्थितिक विश्लेषणका लागि भाषाको सहयोग लिनुपर्छ भन्ने मान्यता राख्दछ । अङ्ग्रेजीमा इकोलिन्ग्विसटिक्स भनिने भाषा अध्ययनको यो क्षेत्र नयाँ विधाका रुपमा चिनिन्छ । यस विधाको अवधारणा मानिसले उपभोग गर्ने वस्तु र भाषा एक अर्कासँग जोडिएको हुन्छ भन्ने विश्लेषण हो । आरेन स्टिबले हालसालै “हामी बाँचेको धर्ती” मा भाषा र परिपरिको वातावरणको राम्रो व्याख्या गरेकाछन् ।

अर्थशास्त्रले उपभोक्तावादलाई प्रोत्साहित गर्दछ । उपभोक्तावादले विनाशकारी व्यवहारलाई प्रोत्साहन गर्दछ । अर्थात प्राकृतिक संरचनाको सम्मानको सम्बन्धलाई प्रोत्साहन गर्दैन । भाषाविज्ञान, सांस्कृतिक शास्त्र, पर्यावरण शास्त्र, समाजशास्त्र, नैतिकता र सामाजिक दर्शनशास्त्रको बीचमा गहिरो सम्बन्ध हुन्छ । वातावरणीय चेतना व्यक्तिगत र सामाजिक दुबै हुन्छ र यस्तो चेतनालाई सकारात्मक बनाउन भाषाले महत्वपूर्ण खेलेको हुन्छ ।

भाषा एक सामाजिक परिघटना हो । भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषाले विचार आदान प्रदान गर्छ । स्थानीय भाषामा त्यहाँको मौलिक, रैथाने परम्परागत ज्ञान लुकेको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदान प्रदान सतही हुनजान्छ । जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन वा खालि शब्दार्थ मात्र बुझ्ने भयो भने त्यस्तो संवाद समाजको वातावरणसँग भिज्न सक्दैन । संस्कृतिसँग नभिजी गरिएको संवादले सकारात्मक वा आत्मीय परिस्थिति सिर्जना गर्दैन । अर्थात संवादमा पूर्वाग्रह मिसिएर संवादले सही सन्दर्भ उजागर गर्न सक्दैन । मिडिया र नागरिक बीचको सम्बन्ध; लेखक र पाठक बीचको सम्बन्ध; मानिस र वातावरण बीचको सम्बन्धमा आत्मीयपन सिर्जना गर्ने तत्व भाषानै हो । समकालीन समाजले आफ्नो वरिपरिको वातावरणमा कसरी जीवन बिताएको छ भन्ने सन्दर्भ त्यहीँको रैथाने भाषामा हुन्छ । संवादले भाषाका तत्वहरु र पर्यावरणीय तत्वहरू बीचको सम्बन्ध जोड्न सकेन भने मानवीय व्यवहारको गहिराइ छुन सक्दैन ।

डा. लक्ष्मीप्रसाद खतिवडा

माइकल ह्यालिडेका अनुसार भाषा व्यवहारलाई दुइटा केन्द्रीय दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो आर्थिक, सामाजिक, सांस्कृतिक प्रणालीको रूपमा; र दोस्रो भाषिक प्रणालीको रूपमा । माइकल हेलिडेको भाषाको पहिलो अर्थात पारिस्थितिक सन्दर्भलाई विचार गर्दा भाषाले विचार आदान प्रचार मात्र गर्दैन । व्यवहारिक उत्तेजना पनि सिर्जना गर्छ । मानिसका व्यवहारका धेरै पहलुहरू भाषाभित्र लुकेका हुनाले भाषाको सतही बुझाइ वा शाब्दिक अनुवादले मात्र मानिसको आन्तरिक भावना उजागर गर्न सक्दैन ।

पारिस्थितिकीय भाषाविज्ञान उपयोगिताको दृष्टिकोणबाट भन्दा प्रकृतिको प्रतिनिधित्व गर्ने विस्तृत समझदारीमा बाँधिएको हुन्छ । पारिस्थितिकीविद् वा वातावरणविद् र जैविक विविधता बीचको सम्बन्ध पारिस्थिकीय भाषाविज्ञानको अनुसन्धानको क्षेत्र हो । यी दुइटा सन्दर्भ होइनन् । भाषा र परिस्थिति वा वातावरण एउटै वस्तुका दुईपाटामात्र हुन् । एउटै मोहोरका दुइ पाटामात्र हुन् । वातावरणविदले मानव र अन्य जीवको शारीरिक वा पारिस्थितिकीय अध्ययन गरेरमात्र पुग्दैन । त्यस्तै भाषाविदले पनि व्याकरण बुझाएरमात्र पुग्दैन । वातावरण र जीवनबीचको सम्बन्धमा भाषाको भूमिकाको अन्वेषण गर्नुपर्दछ ।
पारिस्थितिकीय परिवेशभित्र जैविक विविधता मात्र होइन भाषिक व्यवहार पनि पर्दछ । जैविक विविधताको परिवर्तनसँगै भाषामा पनि परिवर्तन भइरह्छ । यस्तो परिवेशमा भाषाले कसरी महत्वपूर्ण समस्याहरू समाधान गर्न सक्छ भनेर खोजिनुपर्छ । भौतिक वातावरणको सन्दर्भ आउँदा भाषात्मक पारिस्थितिकी, सञ्चार पारिस्थितिकी पनि समावेश हुनुपर्छ ।

भाषिक सूचना सङ्केतन पद्धतिले स्थानीय भाषा र जैविक विविधता बीचको सम्बन्धलाई जीवन्त बनाउँछ । तर हालको अवस्था भनेको सांस्कृतिक वैश्वीकरण र भाषा साम्राज्यवादको जमाना हो र यसले स्थानीय संस्कृति र भाषामा निहित महत्त्वपूर्ण पारिस्थितिक ज्ञानलाई समाप्त पार्दैछ ।

पारिस्थितिकीय भाषाविज्ञानका लक्ष्यहरूमध्ये एउटा लक्ष्य सांस्कृतिक विविधता र भाषिक विविधताको रक्षा गर्नु हो । किनभने जैविक विविधतामा सांस्कृतिक विविधता समावेश हुन्छ । हालको उपभोक्तावादी संस्कृतिमा जैविक विविधता अङ्ग्रेजी भाषामा सङ्केतन गर्ने गरिन्छ । तेस्रो विश्व वा गरिब देशको भाषिक विविधतालाई विल्कुलै महत्व दिइँदैन । त्यसैले गरिब देशका रैथाने भाषामा तीव्र गिरावट भइरहेको छ । यस्तो परिस्थिति अझ बढ्दै गएमा भाषिक र जैविक विविधता बीचको दूरी अझ बढाउँछ । एउटा भाषा, एउटा संस्कृति मर्‍यो भने मानव समुदायको एउटा ज्ञान एउटा भावना मर्दछ ।

भाषाको पारिस्थितिक विश्लेषण संज्ञानात्मक हुन्छ । त्यहाँको भाषामा परिपरिका विविध वस्तु र सन्दर्भको पहिचान, परम्परागत जीवन्त कथाहरू, संज्ञानात्मक ढाँचाहरू हुन्छन् जहाँ शब्द, वाक्य, व्याकरण र पुरै सङ्कथनले एकअर्काको व्यवहारलाई प्रभाव पारेको हुन्छ । जनावरहरू, बिरुवाहरू, वनहरू, नदीहरू र भौगोलिक वातावरणबीच सम्बन्धका कथाहरू बुनिएका हुन्छन् । पारिस्थितिक प्रणालीमा मानिसहरूको सुरक्षा गर्नेदेखि जीवन निर्वाहका विधि विधान कोरिएको हुन्छ । त्यस्तो भाषिक संज्ञान मासिँदै जाँदा सामुदायिक र पारिवारिक प्रणालीलाई क्षति पुर्‍याउँछ ।

उपभोक्तावादी कथाहरू, असीमित आर्थिक विकासका कथाहरू, विज्ञापनका कथाहरू र मेसिनका कथाहरूले स्थानीय भाषाका संज्ञानका कथालाई नामेट पार्छ । प्रकृतिको प्रतिनिधित्व गर्ने वा मानिस र प्रकृतिबीच सकारात्मक प्रभाव पार्ने प्राकृतिक लेखन, प्रकृतिका कविता, पर्यावरणीय लेखन, परम्परागत र स्वदेशी शैलीहरू मौलिक जीवन जिउने ज्ञानका साधन हुन् । त्यस्ता कथालाई पाप, पुण्य र अन्धविश्वासी वा धर्मभीरु ग्रन्थका नाममा छिँडीकोठाको भर्याङमुनि थन्क्याउनु भनेको आफ्नै इतिहास समाप्त पार्नु हो । अहिलेको स्थानीय भाषाको अवमूल्यन गरेर लेखिएको शिक्षाले रैथाने भाषा र संस्कृति क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यस्तो शिक्षाले सन्सारलाई कता डोहोर्‌याउँदैछ ?

मौखिक संस्कृति ‘जसलाई लोकवार्ता पनि भनिन्छ’ मा जीवनका महत्वपूर्ण कडी गुँथिएका हुन्छन् । मौखिक संस्कृतिमा आसपासको परिस्थितिप्रति सहनशीलतादेखि विभिन्न प्रकारका संस्कृतिहरूको जीवन्त उदाहरण पाइन्छ । पारिस्थितिकीय भाषाविज्ञानले भाषा, सचेतना र अन्य जीवन्त प्रणालीहरू बीच द्विभाषी, बहुभाषी सम्बन्धलाई जोड दिने हुनाले लोकवार्ता पनि यसको एउटा घटक हो ।

पारिस्थितिकीय भाषाविज्ञानले जीवनका विविध आयामहरुको विश्लेषण गर्छ । जीवाणु, फङ्गसदेखि बोटबिरुवा, जनावर र मानवीय व्यवहारका सङ्केतहरूलाई समेत ध्यानमा राखेर सांस्कृतिक विरासत भित्र जीवन र पर्यावरणका सम्बन्धहरु पुनरुत्थान कसरी गर्ने भनेर अवलोकन गर्दछ । स्थानीय जनजीवनका कथालाई भाषाको मोडेल मानेर परिस्थितिको पाठसङ्ग्रह सङ्कलन गरी भाषाविद्हरू र वातावरणविद, इकोलोजिस्टहरु मानव संस्कृति र अन्य प्रजातिबिचका सम्बन्ध केलाउछन् ।

प्रकृतिको आकस्मिकताको परिवर्तन क्रमिक हुन्छ । यस धर्तीमा मानवले भन्दा प्रकृतिले कम गल्ती गर्छ भन्ने कुरा यसले पुष्टि गर्छ । भाषाले गतिविधि मात्र वर्णन गर्न सकिन्छ भन्ने होइन विविधतामा बाँचेका प्राणी र वनस्पतिसँग कसरी सम्बन्ध कायम गर्ने भन्ने अवधारणा सहितको व्याख्या गर्न सक्छ । नैतिकता, राजनीति, धर्म, संस्कृति, अर्थ संरचना हालका विश्वका गहन तत्वहरू हुन् ।

उपभोक्तावादी व्यक्तिवाद, आर्थिक उपयोगितावाद र सामाजिक नियन्त्रणवादले पारिस्थितिकीय प्रणालीमा विनाशकारी असर पारेका सङ्केत भेटिएका छन् । मौलिक, रैथाने वा परम्परागत संस्कृति बिना कुनै आत्मा, कुनै सौंदर्यशास्त्र वा कुनै नैतिकता जिउँदो रहँदैन । त्यसैले भाषाका माध्यमबाट मानवीय व्यवहारको जीवन्तताको रक्षा सम्भव छ । लिखित, मौखिक, शाब्दिक, गैरशाब्दिक भाषा र सञ्चार पढाइ, सुनाइ, बुझाइ, चेतना जस्ता शिक्षाले मौलिक रैथाने सौन्दर्यको रक्षा गरेको हुन्छ । घर, परिवार, बिबाह, मृत्यु जस्ता कुराले सामाजिकीकरण प्रकृयामा असर पार्छ । सामाजिक चालचलन, आदर, सम्मान, सोमत, पूर्खादेखि चलिआएका सामाजिक मूल्यमान्यता, विश्वास, सान्सारिक ज्ञान, धर्म र परम्परागत ज्ञान, जडीबुटी, औषधी, धामीझाँक्री, प्राकृतिक एवम् मानवीय सम्पदा, भीर, पाखा, खोला, ढुङ्गा, वनस्पति आदि समाजभन्दा फरक कुरा होइनन् ।

उदाहरणका लागि नेपालमा मनाइने विविध प्रकारका चाडपर्वमा विभिन्न बाली तथा बीउबिजनको उपयोग गरिन्छ । असार पन्ध्रमा दहीचिउरा र जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । यसैगरी, दशैंमा जौ तथा मकैको जमरा लगाउने, मङ्सिरे पूर्णिमामा दिवङ्गत पितृहरूलाई सतबिजको रूपमा बिउबिजन चढाउने गरिन्छ । माघेसक्रान्तिमा तिलको लड्डू र तरुल खाने कथामा सांस्कृतिक विविधतासँगै राष्ट्रियताका कथोपकथन गुँथिएका हुन्छन् ।

भाषात्मक पारिस्थितिकी वा पारिस्थितिकीय भाषाविज्ञानले भाषालाई सामाजिक विज्ञानको रूपमा लिन्छ र मानव प्रजाति, भाषा प्रजाति र भूभौतिक वातावरणको व्याख्या गर्दछ । विविध जैविक वनस्पति, बहुजाति, बहुभाषा र बहुसंस्कृति, भाषिक, सांस्कृतिक र जातीय विविधता, उद्योग, ब्यापार र कृषि प्रणाली जस्ता कुरा रैथाने भाषा र संस्कृतिभन्दा बाहिर हुँदैनन् । उद्योग, ब्यापार र आयात निर्यातदेखि डब्लुटिओ अथवा विश्व ब्यापार सङ्गठन जस्ता अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा समेत भौतिक वस्तुमाथि लेनदेनको व्यवहार मात्र गरेर पुग्दैन । त्यहाँको मौलिक रैथाने वनस्पति, त्यसको स्थानीय नाम, त्यसबाट उत्पादन हुने वस्तु र त्यो वस्तु तयार गर्ने विधि उल्लेख गरेर राष्ट्रिय ज्ञान भण्डारमा दर्ता गरेर मात्र सन्धि, सम्झौता र ब्यापार गर्नुपर्छ । राष्ट्रिय मानक ऐन बनाएर प्रकृतिले निशुल्क उत्पादन गरेका हरित सम्पत्तिको रक्षा गर्दै नेपालीको बौद्धिक सम्पत्तिमा दर्ता गर्नुपर्छ । यसो गर्नाले नेपालको हरित अर्थतन्त्रमाथि मडारिएको कालो बादल जस्तो जैविक वस्तुको पाइरेसी (चोरी) रोक्न सक्छ र हाम्रा गुन्द्रुक, कसार, योमरी, बारा, क्वाँटी, सेलरोटी बनाउन चाहिने वनस्पति के के हुन् ती वनस्पतिको बिउबिजनमाथि दातृसंस्था, विश्व ब्यापार सङ्गठन, विश्व बौद्धिक अधिकार सङ्गठन जस्ता सङ्घसंस्थाले खेलबाड गर्ने सम्भावनालाई न्यून गर्न वा बन्द गर्न सकिन्छ ।

पारिस्थितिकीय भाषा अध्ययन पद्धतिले पारिस्थितिक वा पर्यावरणीय समस्याहरूको समाधानमा महत्वपूर्ण योगदान दिनसक्छ । पारिस्थितिकीय प्रणालीको अवधारणा सामेल भएका मौलिक रैथाने कथा वा पाठसङ्ग्रहको रक्षा गर्न इकोलोजिकल लिन्ग्विस्टिक्सलाई बलियो हतियारको रुपमा प्रयोग गर्न सकिने हुनाले पारिस्थितिकीय भाषा अध्ययनलाई नीति बनाएर नियमन गर्नु राज्यको पनि दायित्व हो ।
नास्ट, नार्क, प्रज्ञाप्रतिष्ठषन, संस्कृति मन्त्रालय, भाषा आयोग जस्ता निकायले भाषाको पारिस्थितिकीय पाठसङ्ग्रह निर्माण विधि बनाएर, प्रविधि मन्त्रालयमा ज्ञान भण्डार बनाएर भाषा र वातावरणको ज्ञान (पारिस्थिकीय कर्पस) एकै ठाउँमा राख्न सकिन्छ ।

The post भाषा र इकोलोजिकल साइन्स अर्थात् पारिस्थितिकीय भाषाविज्ञान appeared first on Sajha Post.

सातै प्रदेशको बजेट सार्वजनिक, सबै प्रदेशको प्राथमिकतामा सडक तथा भौतिक निर्माण

$
0
0

पुष्पा महरा

आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि सातै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकहरुमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट सार्वजनिक गरेका हुन् । प्रदेश नम्बर १ ले सबैभन्दा ठूलो बजेट ल्याएको छ भने प्रदेश नम्बर ४ ले सबैभन्दा कम बजेट ल्याएको छ । सबै प्रदेशले सडक तथा भौतिक निर्माणलाई प्राथमिकतामा राखेका छन् । त्यस्तै कृषि, पशुपालन, पर्यटन, शिक्षा, जलस्रोतका शीर्षकमा पनि प्राथमिकताका साथ बजेट छुट्याका छन् ।

कुन प्रदेशमा कति बजेट विनियोजन
प्रदेश १ : ३५ अर्ब
प्रदेश २ : २९ अर्ब
प्रदेश ३ : ३५ अर्ब
प्रदेश ४ : २४ अर्ब
प्रदेश ५ : २८ अर्ब
प्रदेश ६ : २८ अर्ब
प्रदेश ७ : २५ अर्ब

प्रदेश १ : ३५ अर्ब

विराटनगर । प्रदेश नम्बर १ ले आर्थिक वर्ष २०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रतिनिधिसभा संसदमा प्रस्तुत गरेको उक्त बजेटमा सबैभन्दा बढी रकम भौतिक पूर्वाधारमा बजेट विनियोजन गरिएको छ । ९ अर्ब ५० करोड रुपैयाँ भौतिक पूर्वाधारमा छुट्याएको छ भने सबैभन्दा कम ४३ करोड बजेट युवा तथा खेलकुदमा विनियोजना गरिएको छ ।

त्यस्तै जलश्रोत तथा उर्जामा ७१ करोड, पर्यटनमा ८९ करोड, कृषिका लागि भनेर ८५ करोडको बजेट विनियोजन गरेको छ । त्यस्तै उद्योग क्षेत्रको लागि १ अर्ब ३० करोड, शिक्षा क्षेत्रको लागि १ अर्ब ३५ करोड, स्वास्थ्य क्षेत्रको लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश २ : २९ अर्ब

जनकपुर । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशसभा हलमा शुक्रबार सो रकम सार्वजनिक गरेका हुन् । प्रदेश नम्बर २ ले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै प्रदेशभित्र रहेको सडक निर्माणका लागि मात्रै १ अर्ब २६ करोड रकम छुट्याएको छ । त्यस्तै कृषिमा आत्मनिर्भर बनाउन ५२ करोड बजेट विनियोजन गरेको छ भने युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पेश गर्नुभएको बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै मुख्यमन्त्री राहत र पुनःस्थापना कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने निःशुल्क दलित शिक्षा र छात्रावास निर्माणको लागि ८ जिल्लामा ८ करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेश ३ : ३५ अर्ब

हेटौंडा । प्रदेश ३ सरकारले ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले पेश गरेको उक्त बजेटमा कृषि, पर्यटन र पूर्वाधार, स्वरोजगार लगायतका कार्यक्रमलाई जोड दिएको छ ।

प्रदेश सरकारकाले प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । त्यस्तै, विपद् व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरेको छ । स्थानीय तहको लागि समानीकरण अनुदान १ अर्ब, सशर्त अनुदान ३ अर्ब ६३ करोड ८२ लाख, समपुरक अनुदान ६५ र विशेष अनुदान ५ अर्ब २८ करोड ८२ लाख विनियोजन गरेको छ।

प्रदेश ४ : २४ अर्ब

पोखरा । प्रदेश ४ सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि शुक्रबार उक्त बजेट रकम संसदमा प्रस्तुत गरेका हुन् ।

केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड, सशर्त अनुदान ६ अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट प्राप्त ६ अर्ब ५७ करोडसहित प्रस्तुत गरिएको उक्त बजेटमा सरकारले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई आर्थिक समृद्धिको इञ्जिनको रुपमा विकास गर्न आवश्यक बजेट तर्जुमा गरेको छ । बजेटमा ११ जिल्ला नै समेट्ने गरी गरिबी निवारण, सुखी र समृद्ध प्रदेशको लक्ष्यसहित बजेट ल्याइएको अर्थमन्त्री गुरुङले जानकारी दिए ।

प्रदेश ५ : २८ अर्ब

रूपन्देही । प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । आगामी प्रदेशलाई ५ वर्षभित्रमा २६ प्रतिशतबाट १० मा झार्ने लक्ष्य लिएको छ ।

सडक निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश क्षेत्रस्तरका १ सय ४१ सडकका लागि ७० करोड ५० लाख र प्रदेश स्तरका अन्य ९४ सडकका लागि १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ । सडक र पुलका योजनामा बजेट खर्च गर्न पाउने गरी प्रदेश सांसदले आफ्नो क्षेत्रमा दुईवटा भौतिक पूर्वाधार निर्माण गर्न ७० करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै खानेपानीका लागि ४७ करोड ५३ लाख विनियोजन गरेको छ । त्यस्तै भण्डारका लागि ५० करोड शिक्षा क्षेत्रका लागि २७ करोड छुट्याइएको छ ।

प्रदेश ६ : २८ अर्ब

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६ को बजेटमा प्रदेश सरकारले भौतिक पूर्वाधारको विकास, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिएको छ । कर्णालीलाई समृद्ध गराउनका लागि कर्णाली लगानी सम्मेलनको आयोजना गर्ने र कर्णाली प्रदेशका व्यापारी, गैर आवासीय नेपालीहरु, विभिन्न देशमा गएका प्रदेशबासीहरुलाई लगानी गर्न प्रेरित गर्ने योजना बजेटमा समेटिएको छ ।

बजेटमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेको छ । सडक यातायातको पहुँचबाट टाढा कर्णाली प्रदेशका डोल्पा, हुम्ला लगायतका जिल्लाहरुमा ज्येष्ठ नागरिकहरु तथा अपंगता भएका व्यक्तिहरुलाई तोकिएको हवाई भाडामा सहयोग स्वरुप एक हजार अनुदान दिने भएको छ ।

प्रदेश ७ : २५ अर्ब
धनगढी । प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा सरकारले आव २०७५÷०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको उक्त बजेट चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात ५३ दशमलब २६ प्रतिशत र पुँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६ दशमलब ७४ प्रतिशत विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रदेश सरकारले सडक, खानेपानी, सिँचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासको लागि ५ अर्ब ३ करोड ५१ लाख बजेट छुट्याएको छ । प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम अघि सार्दै १९ करोड बजेट विनियोजना गरेको छ ।

‘प्रदेश गौरवका आयोजना’का लागि २५ करोड, प्रदेश बस सेवा सञ्चालन गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ । उर्जा क्षेत्रका योजनाहरु अगाडी बढाउन प्रदेश जलविद्युत विकास बोर्ड गठन गरिने र त्यसका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

The post सातै प्रदेशको बजेट सार्वजनिक, सबै प्रदेशको प्राथमिकतामा सडक तथा भौतिक निर्माण appeared first on Sajha Post.

ओलीको समाजवाद- जहाँ शिक्षा बिक्रीमा छ

$
0
0

समस्याको सहि ढङ्गले हल गर्न त्यसको कारणको पनि कारणमा जान जरुरी छ । किन हाम्रो जस्तो पिछडिएको मुलुकमा शिक्षा यति महङ्गो भयो ? स्वास्थ्यजस्तो संवदनशील क्षेत्र यस्तो कमिसनखोर चरित्रमा किन परिणत भयो ? यस्तो विकराल स्थिति हुँदा पनि राज्य र राजनीतिक पाटी किन बेखबर बसे त ? यो हाम्रो पुस्ता र पछाडि हुर्कंदै गरेको पुस्ताको लागि निकै चिन्ताको बिषय भएको छ । समस्या कहाँबाट हो ? यसको राजनीतिक प्रभाव कहाँबाट छ ? राम्रोसँग पहिचान नगरी समाधान गर्ने निकै कठिन हुनेछ । यहाँ पंक्तिकारले केही ‘रुट कज’लाई केलाउने प्रयास गर्नेछ ।

समाज एमालेकरण, शिक्षा माफियाकरण
०६३/६४ तिर नेपाली समाज विभिन्न कारणले माओवादीमय भयो । १० वर्ष लामो युद्धको प्रक्रियाबाट आमूल परिवर्तनको नारा लगाउँदै बलिदानीपूर्ण संघर्षबाट आएको शक्तिप्रति विभिन्न कारणबाट आशाको नजरले हेरियो । गाउँदेखि शहरसम्म एउटा लहर पैदा भयो । पुराना शक्तिबाट वाक्कदिक्क भएका नागरिकले एकपटक माओवादीलाई अवसर दिए । तर, ‘मुखमा संविधानसभा, मनमा विद्रोह’को छद्म नारा पछ्याएको माओवादीले जनताको हृदयको ढुकढुकी छाम्न सकेन । पार्टीभित्र विद्रोहको धङधङी बोकेको शक्ति हावी भयो । प्रचण्डले त्यही बाटो रोज्यो र माओवादी पतनको बाटोमा यात्रा गर्न थाल्यो ।

अब विकल्प के ? व्यापक संगठनात्मक सञ्जालको अभ्यास गरिरहेको एमाले र त्यहाँभित्र राष्ट्रवादको नारा लगाउँदै आएका केपी ओली नेपाली समाजमा बिस्तारै हावी हुँदै गए । त्यसो त, यो नेपालमा मात्रै नभएर दक्षिणपन्थको विश्वव्यापी हुरीको प्रभाव पनि थियो । ह्यामलिन शहरको पाइप पाइपरले मुसालाई नदीमा बगाएजस्तै प्रचण्डले विद्रोहको चेतना सकिएका माओवादी नेता कार्यकर्तालाई एमालेमा लगेर मिसाइदिएपछि मुलुक एमालेकरणको उत्कर्षमा छ । नाम जे दिए पनि चरित्रका हिसाबले पूर्व एमाले प्रवृत्ति हावी भएको छ यतिबेला ।

नेत्र चापागाईं

एमाले कार्यकर्ताकेन्द्रित पार्टी हो । उसको लागि पहिलो र अन्तिम स्वार्थ भनेको कार्यकर्ता पोष्ने र कार्यकर्ता बढाउने हो । यसको लागि ऊ जस्तो सुकै निर्णय गर्न पनि पछि पर्दैन । मुलुकमा संस्थागत भ्रष्टाचार दक्षिण एसियाका रेकर्डहरुलाई पनि भत्काउने गरी बढिरहेको छ । यत्रतत्र सर्वत्र भ्रष्टाचार मौलाएको छ । बालुवाटारदेखि गिटी बालुवा निकाल्ने नदीकिनारसम्म भ्रष्टाचार छ । कहिलेकाँही लाग्छ, बालकोट नै विलौचिया धन्दामा सक्रिय छ । कर्मचारीभित्र एमालेको भातृ संगठनको दुई तिहाई छ । त्यहाँको भ्रष्टाचारको कुरै नगरौं । लाग्छ, सिंहदरबार भ्रष्टाचारको इपिसेन्टर हो । गरिब जनताको अनुहार देखाएर अरबौंको कारोबार हुने एनजिओ/आइएनजिओको गतिविधि पनि एमाले नियन्त्रित छ ।

यहाँभित्रको नांगो भ्रष्टाचारको त हजार जिब्रो भएका शेष नागले पनि वर्णन गर्न सक्दैनन् । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरुमा पनि व्यापक निजीकरण, व्यापारीकरण र माफियाकरण छ । यसमा अधिकांशतः एमाले चरित्र प्रधान भएको नेकपाका नेता कार्यकर्ताहरुको संलग्नता छ ।

शिक्षा- घाटा नलाग्ने व्यापार
संविधानमा मौलिक हकको रुपमा स्थापित शिक्षा आज घाटा नलाग्ने व्यापारमा परिणत भएको छ । नक्कली समाजवादीहरुको नांगो व्यापापरीकरण शिक्षा क्षेत्रमा देखिन्छ । के समाजवादी मोडेल भनेको शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरण हो ? यस्तो कदापि हुन सक्दैन । देशका मुख्य शहरका निजी शिक्षालयहरु नेकपाका नेता कार्यकर्ताको कब्जामा छ । गत निर्वाचनमा एमालेका उम्मेदवारहरुको चुनावी खर्च निजी शिक्षालयका मालिकहरुले धानिदिएका थिए भन्दा धेरैलाई अचम्म लाग्ला, तर तथ्य तथ्यांकहरुलाई खोतल्दै जाने हो भने यो यथार्थलाई विश्वास नगरी सुखै छैन ।

अरु त अरु, हिजो जनवादी शिक्षाको नारा लगाएर हजारौं स्कूले विद्यार्थीहरुलाई सैनिक बर्दी भिराउँदै युद्ध मैदानमा बलिदानी दिन बाध्य बनाउने प्रचण्ड र उनका नेताहरु सहभागी वर्तमान सरकारले बजेटमा शिक्षालाई दिएको स्थान हेर्न लाजै लाग्छ । पूर्वमाओवादीहरु पनि यतिबेला शिक्षालाई घाटा नलाग्ने व्यापारिक वस्तु बनाउने एमालेपथमा बिनाशर्त पछि लागिरहेका छन् । संविधानमा व्यवस्था भएको शिक्षालाई मौलिक हकको रुपमा स्थापित गर्दै यस क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्न नेकपाको समाजवादको नक्कली नाराको यथार्थ सार्वजनिक गर्न ढिला गर्नु हुँदैन ।

एमालेको ओलीकरण
तपाईंलाई थाहै छ, देशमा जनयुद्ध हुँदा ओलीका अभिव्यक्ति कस्ता थिए ? उनी कुन स्थानमा थिए ? बृहत शान्ति सम्झौतापछि माओवादीको बिरोध गरेर खाना पचाउने ओली एमालेभित्र पनि पर्दा पछाडि थिए । उनका लागि परिवर्तनका एजेन्डाहरु ‘नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाको अनुहार’ भन्दा बढी छैन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका कुरा ओलीले आफ्नो एजेन्डा नभएको बेलाबखत स्वीकार्दै आएका छन् । गणतन्त्रलाई बयलगाढा चढेर अमेरिका यात्राको संज्ञा दिनेदेखि महिलाको ३३ प्रतिशत आरक्षणलाई एनजिओको ट्याउँट्याउँ भन्ने अभिव्यक्ति होस् वा मधेसीलाई बिहारी देख्ने उनको दृष्टिकोण होस्, ओली कति पनि अस्पष्ट छैनन् । तर, स्पष्ट ओलीले सिंगो पार्टी पंक्ति र देशलाई अस्पष्टतातिर डोहोर्‍याइरहेका छन् । त्यो भनेको नारा समाजवाद- काम उदारीकरण, नारा लोकतन्त्र- कामकारबाही राजतन्त्रको जस्तो, नारा संघीयता- स्थानीय तहलाई पनि केन्द्रकै मातहत राख्ने जस्ता उनका गतिविधिहरु शंकास्पद छन् ।

माओवादीपीडितको सेन्टिमेन्ट क्याच गरेर माओवादी नेतृत्वको हेलचेक्र्याईं र असक्षमताको चरबाट जन्मिएका ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि संविधानले व्याख्या गरेजस्तो रुपान्तरण गर्न दिने पक्षमा छैनन् । उनको व्यवस्थामा गुण्डागर्दी मौलाउँछ । अष्टलक्ष्मी आउट हुन्छिन्, महेश बस्नेत इन हुन्छन् । योगेश भट्टराई आउट गरेर गोकुल बास्कोटालाई इन गर्दाको परिणाम हामीले भोगिरहेकै छौं । उनले सिंगो पार्टीलाई नै केपी एन्ड कम्पनीमा रुपान्तरण गरेका छन् । यसको निरिह साक्षी बन्न अहिले प्रचण्ड पुगेका छन् ।

लोकतन्त्रको लागि राजतन्त्र ढाल्ने आन्दोलन गरेका नेपालीले अहिले ओलीलाई नै निरंकुशताको चुचुरो चढिरहेको पाइरहेका छन् । शक्तिको केन्द्रीकरण, विधिभन्दा व्यक्ति हावी हुने, व्यक्तिको मातहत प्रणाली राख्ने उनको अभ्यास र उद्देशले हामीलाई कहाँ लैजान्छ, त्यसको नतिजा थाहा पाउन धेरै समय कुर्नुपर्छ जस्तो लाग्दैन ।

समाजवाद र निजी शिक्षा
समाजवाद राजनीतिक प्रणालीमा निकै उन्नत र उत्कृष्ट प्रणाली मानिन्छ । यो पनि देश, काल, परिवेशअनुसार फरक फरक ढंगले अभ्यास हुने गरेको पाइन्छ । यद्यपिका यसका आधारभूत चरित्रहरुमा समानता पाउन सकिन्छ । समाजवादका आम आयामलाई छाडेर शिक्षाबारे मात्र चर्चा गर्नु यो आलेखको उद्देश्य हो ।

हाम्रो संविधानले समाजवादको परिकल्पना गरेको छ । शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । तर संविधानमा मौलिक अधिकार र समाजवादी शिक्षा भनिए पनि यो फगत नारा र भाषणमा मात्र सीमित छ कि संविधानका निर्जीव पानामा मात्र । नागरिक जसलाई शिक्षाको अधिकार चाहिएको छ, उनीहरुको लागि यो आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ ।

जहाँ सरकारी पार्टीका नेताहरु नै शिक्षामा व्यापारीकरण, निजीकरण र माफियाकरणका चालक शक्ति छन् र यस्तो गतिविधिको सरकारले नै खुलम्खुला संरक्षण गरिरहेको छ, त्यहाँका नागरिकको अवस्था कस्तो होला ? तपाईं हामी सजिलै कल्पन गर्न सक्छौं । जसरी ओली राष्ट्रवादको नारा लगाएर कुर्सीमा पुगे र राष्ट्रघाती विरासतलाई निरन्तरता दिए, त्यसरी नै शिक्षामा पनि मौलिक अधिकार र समाजवादको गुलियो नारा दिएर व्यापारीकरण र माफियाकरणलाई मलजल गरिरहेका छन् । होइन भने शिक्षामा तथाकथित समाजवादी सरकारले किन बजेट घटायो ? नीतिगत र संरचनागतरुपमा किन विकृत यथास्थितिलाई निरन्तरता दिन तयार भयो ?

विकल्पबारे
हरेक समस्याका समाधान हुन्छन् । यो समस्याको पनि समाधान छ । सरकारी पार्टीका तथाकथित क्रान्तिकारीहरु अहिले शालिकमा रुपान्तरण भएका छन् । शालिकहरु बोल्दैनन् । उनीहरु पनि यी यावत कुराहरु बुझ्दाबुझ्दै र जान्दाजान्दै पनि केही बोल्दैनन् । बोल्न सक्दैनन् ।

स्वाभिमान बन्दकी राखेर बाँचिरहेका उनीहरुसँग नागरिकले आशा गर्नु पनि मुर्खता शिवाय केही हुनेछैन । नागरिकको लागि अब साँघुरा विकल्पहरु छन्- त्यो भनेको सरकारको गलत अभ्यासबाट क्षतविक्षत भइसकेपछि र धेरै समय बितिसकेपछि मात्रै ब्युँझने कि अहिले नै सचेततापूर्वक ब्युँझने ? अहिले नै ब्युँझने हो भने धेरै ठूलो विद्रोही बनिरहन आवश्यक छैन । कम्तिमा संविधानले मौलिक हकका रुपमा ग्यारेन्टी गरेका अधिकार कार्यान्वयनका लागि जुटौं । ओली भ्रमबाट मुक्त भएर सबैका लागि समान शिक्षाको व्यवस्था गर्न रचनात्मक आन्दोलनमा जुट्नुको विकल्प छैन । जसरी ओलीको चुनावी राष्ट्रवादको मोदी भ्रमणको बेला पटाक्षेप भयो, त्यसरी नै ओली समाजवादको पनि शिक्षाको निजीकरण, व्यापापारीकरण र माफियाकरणबाट पटाक्षेप भइसकेको छ । ढिलो बुझ्ने कि छिटै बुझ्ने हाम्रो क्षमतामा भर पर्छ । बुझेपछि बदल्न लाग्ने कि नलाग्ने हाम्रो स्वाभिमान र हिम्मतमा भरपर्छ ।

आज पनि देशका निजी शिक्षालयमा ओली-प्रचण्ड कम्पनिको सामूहिक लगानी छ । उनीहरुको उठबस, खानपान र लगानी यिनै शैक्षिक माफियाहरुसँग छ । यिनीहरुकै लगानीमा यिनी र यिनका आसेपासेहरुले चुनाव जितेका छन् । यदि वास्तविकता यही हो भने उनीहरुले यो कुरुप व्यवस्था बदल्लान् र सबैका लागि समान शिक्षाको नीति लागू होला भनेर हामी कहिलेसम्म भ्रममा बाँचिरहने ?

परिवर्तनका एजेन्डाहरु ओलीले स्वामित्व ग्रहण गर्नै नसक्ने हुन् भने दूधको साक्षी बिरालो राखेर स्वर्णिम भविष्यको पर्खाईमा निदाईरहनु मूर्खता शिवाय अरु केही हुन सक्दैन । यी सबै तथ्यहरुलाई दृष्टिगत गर्दा ओली-प्रचण्ड नेतृत्वको यो सरकारले सबैका लागि निःशुल्क र समान शिक्षा लागू गर्ने तागत राख्दैनन् । त्यसैले, सरकारी भ्रममा नपरी विद्यार्थी, अभिभावक र सरोकारवाला सडक आन्दोलनबाट यसलाई बदल्ने तागत पैदा गर्न लाग्नुपर्ने छ । ओली भ्रम अन्त्य गरौं । सबैका लागि समान शिक्षा लागू गर्न सशक्त आन्दोलनमा जुटौं ।
(चापागाईं नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव हुन्)

The post ओलीको समाजवाद- जहाँ शिक्षा बिक्रीमा छ appeared first on Sajha Post.

‘कार्यकर्ता’को देशमा ‘नागरिक अभिनन्दन’ ?

$
0
0

नेता भनेका अग्रचेतना हुनुपर्ने हो । तर, नेपालले अहिले यस्तो नेता व्यहोर्नु परिरहेको छ, जसको चेतना जनताको भन्दा अग्रगामी होइन, पश्चगामी छ । भविष्यमुखीभन्दा अतितमुखी आदत भएका यस्तो नेता जसले जनताले स्वीकारिसकेको अग्रगामी चेतना धेरै ढिला मात्र स्वीकार्दै आइरहेको छ । भीड हेरेर धारणा बनाउने र भीडले जे बोल्दा ताली पिट्छ, त्यही बोल्ने सस्ता नेताहरु व्यहोर्नुपर्दा अपार सम्भावना बोकेको देश गरिबी र बेरोजगारीको भुमरीमा जाकिनुपरिरहेको छ ।

कुनै बेला मुलुकमा एकात्मक राजतन्त्रात्मक व्यवस्था थियो । गणतन्त्रको नाम लिनु पनि राज्यद्रोह मानिन्थ्यो । नागरिकले सडकमा उत्रिएर गणतन्त्रको नारा लगाउन थाल्दा पनि केही नेताहरु तर्सिन्थे । सडकमा रगत बगाइरहेका नागरिकको प्रयास र सपनालाई ‘बयल गाडा चढेर अमेरिका जाने’ भन्दै हतोत्साहित गरिरहेका भेटिन्थे केपी ओली । जनताले आफ्नो संविधान आफैं बनाउन पाउनुपर्छ भन्ने नारा लगाउनु हुँदैन भन्थे उनी । तर, माओवादी आन्दोलन र तत्कालीन संसदवादी दलभित्रका प्रगतिशील शक्तिहरुको नेतृत्वमा मुलुकमा गणतन्त्र आइछाड्यो । गणतन्त्रले बोकेर ल्याएका हरेक एजेन्डाको विरुद्धमा अभिव्यक्ति दिनु ओलीको दिनचर्या हुन्थ्यो । गणतन्त्रका नायकहरुका कतिपय गल्ती र अपरिपक्वताका कारण ओली अहिले गणतन्त्रको संरक्षकको भूमिकामा आइपुगेका छन् । ओली सुरु सुरुमा हरेक परिवर्तनका एजेन्डाको विरोध गर्छन्, पछि बाध्यतावश स्वीकार्दै जान्छन् । त्यसको लागि मुलुकले लामो समय मात्र होइन, स्वाभिमानी नेपालीको अमूल्य रगत र पसिना पनि बगिसकेको हुन्छ । ०५७ सालमा माओवादीले संविधानसभा माग्दा १७०० नागरिक मारिएका थिए, संविधानसभा सम्पन्न गर्दासम्म १७ हजार नेपालीको ज्यान गयो । कल्पना गरौं, संसदवादी दलका नेताहरु ०५७ सालतिरै संविधानसभा र गणतन्त्रको अभियानमा सहभागी हुन मानेका भए के हुन्थ्यो होला ?

प्रतिभा पराजुली

जे होस्, मुलुकमा ढिलो चाँडो गणतन्त्र आयो । जनताका छोराछोरी सर्वोच्च स्थानमा पुग्न सके । तर, बिडम्बना भन्नुपर्छ, कुर्सीमा पुगेकाहरु राजतन्त्रात्मक मानसिकताबाट अगाडि बढ्न सकेका छैनन् । गणतन्त्र भनेको राष्ट्र प्रमुखको कार्यालय र कुर्सी फेर्नु मात्रै होइन, यो त व्यवस्थाका यावत अंगहरुमा बहुआयामिक ढंगले लोकतान्त्रिकीकरण हो । यहाँ त लोकतन्त्रको हल्लाबीच निरंकुशता हुर्किरहेको छ । वाम गठबन्धन भनेर चुनावमा गएका दलहरु मिल्न सकिरहेका छैनन् । पछिल्लो समय ओलीको नेतृत्वमा भइरहेका गतिविधिले सहकर्मी दल माओवादी झस्किरहेको छ । शक्ति पृथकीकरणमा आधारित लोकतन्त्रको नारा चर्को स्वरमा लगाउने र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नेपाली अगुवाको दावी गर्ने एमाले र उसको नेतृत्वमा पुगेका ओलीको गतिविधिले प्रचण्ड पनि झस्किएका छन् ।

त्यसो त, ४ दशकदेखि निरन्तर राजनीतिक सत्ताको केन्द्रमा बसेका प्रचण्ड आफू भनेको पार्टी र पार्टी भनेको आफू भन्ने अवधारणामा पार्टी चलाइरहेका छन् । बाबुराम, वैद्य र विप्लवको बहिर्गमनपछि प्रचण्डलाई पार्टीभित्र च्यालेन्ज गर्न सक्ने कोही छैनन् । सिंगो पार्टी नै भजनमण्डलीमा रुपान्तरण भएको छ । वाम एकतापछि पनि त्यही अवस्थालाई निरन्तरता दिन सकिने अपेक्षा बोकेर वाम एकतालाई आदर्श सैद्धान्तिकरण गरिरहेका प्रचण्ड ओलीको सामन्ती हर्कतका कारण हच्किएका हुन् । यो लोकतन्त्र वा पार्टी जनवादको माया लागेर भन्दा एउटा जंगलमा दुई राजाको शीतयुद्ध हो । जहाँ दुई नेताको स्वार्थका अगाडि सिद्धान्त, विचार र सिंगो पार्टी नै निरिह देखिन्छ ।

अरस्तुले कुनै बेला नागरिकलाई तीन तहमा बाँडेका थिए । भोट हाल्न नपाउने अनागरिक, चुन्न पाउने चुनिन नपाउने अर्धनागरिक र चुन्न चुनिन दुवै पाउने नागरिक भनेर । सयौं वर्ष पछाडि आउँदा परिस्थिति बदलिएको छ । अरस्तुको व्याख्यालाई केही संशोधन भने गर्न सकिन्छ । निर्वाचनमा टिकट पाउने र अकूत खर्च गर्न सक्ने कार्यकर्तालाई नागरिक भन्न सकिएला । टिकट पाए पनि नजित्ने ठाउँमा टिकट पाउने तर अकूत खर्च गर्न नसक्दा चुनाव हार्नेलाई पनि जसोतसो नागरिककै तहमा राखिदिऊँ । टिकट नपाउने, सधैं नेताको जयजयकार गरेर हिड्ने आदर्शविहिन हनुमानहरु अर्धनागरिक हुन् । उनीहरुलाई कुनै दलका निरिह कार्यकर्ता भन्न मिल्ला । कुनै पनि दलका कार्यकर्ता नबनेका, क्षमता भएर पनि अवसर नपाउने ‘अभागी’ मान्छेहरुको भिडलाई अनागरिक भन्न सकिन्छ ।

यो किन भनिएको हो भने हाम्रो देश अब कार्यकर्ताको देश भइसक्यो । नागरिकको बीउ भेट्टाउन पनि मुस्किल छ । कुनै न कुनै राजनीतिक दलसँगको संगठनात्मक आवद्धताले बाँधिएका आदेशपालकहरुको भीडभित्र एउटा नागरिक निसास्सिरहेको देश हो यो । ओलीले भारतीय नाकाबन्दी मुर्दावाद भन्छन् । कार्यकर्ताहरु जिन्दावाद भन्छन् । ओलीले मोदीलाई नागरिक अभिनन्दन गरौं भन्छन् । कार्यकर्ताहरु जिन्दावाद भन्छन् । मोदी सच्चिएका हुन् कि ओली ? कार्यकर्ताहरु प्रश्न गर्दैनन् । किनकी कार्यकर्ताहरु आफ्नो मष्तिष्कको प्रयोग गर्न चाहँदैनन् । केवल आदेशको शिरोधार्य गर्छन् । विवेकको प्रयोग गर्ने नागरिक पनि यो देशमा छन् र ? अवश्य छन् तर, यति कम छन् कि उनीहरुको सानो आवाज कार्यकर्ताहरुको भिडमा सुनिँदैन ।

यस्तै उदाहरण अर्को दल माओवादीतिर हेरौं । प्रचण्डले कांग्रेससँग सहकार्य गरौं भन्छन् । कार्यकर्ता जिन्दावाद भनिरहन्छन् । प्रचण्डले एमालेसँग एकता गरौं भन्छन् । जनयुद्धको हिसाबकिताब उधारोमा महाधिवेशनलाई सुम्पिएर प्रधानमन्त्रीको लागि हाताहाती सम्झौता हुन्छ । कार्यकर्ताहरु जिन्दावाद नै भनिरहेका हुन्छन् । कार्यकर्ता रोबोटजस्तै जिन्दावादकै नारा लगाइरहेका हुन्छन् । केन्द्रीय समिति भजनमण्डलमा परिणत छ । यो यस्तो राजतन्त्र तपाईं हामी व्यहोर्दै छौं जहाँ राजा श्रीपेच लगाउँदैनन् तर, श्रीपेच लगाउनेभन्दा कम निरंकुश छैनन् । तपाईं कल्पना गर्न सक्नुहुन्छ- लोकतन्त्र/जनवादको व्यापक बजारीकरण गरिएको व्यवस्थाका हिमायती भनिनेहरुले आफ्नो तस्बिर बेचिरहेको हेर्दाहेर्दै पनि केही गर्न नसक्दा स्वर्गमा मार्क्स, लेनिन र माओहरु कति छट्पटाइरहेका होलान् !

यातायात क्षेत्रको सिन्डिकेटको विरोध गरिरहँदा यहाँ राजनीतिक सिन्डिकेट भुल्नु हात्ती छाडेर पुच्छर सुम्सुम्याउनु जस्तै हुन्छ । लोभीपापी, छट्टु, धुर्तहरुको संगठित झूण्डको यस्तो सिन्डिकेट छ, जसबाट बाहिर निस्किएर नागरिकले आफ्नो अस्तित्व नै देख्न सक्दैनन् । राजनीतिक पार्टी यस्तो थाँक्रो भएको छ, जसले कार्यकर्तारुपी कांक्रोलाई सजिलै स्थान दिन्छ । तर, सांगठनिक थाँक्रो नसमाउने काँक्राका बेर्नाहरु जमिनमा लतारिएर क्षणभंगुर अस्तित्व माटामा मिसाउन बाध्य हुन्छन् । कथित विचारको भ्रम छरेर नागरिकलाई बेवकुफ बनाइरहन सक्ने सर्वहारा वर्गको वकालत गर्ने यी नवधनाढ्यहरुको स्वामित्व रहेको राजनीतिक सिन्डिकेट रहेसम्म यो देशमा असमानहरुबीचको समान प्रतिस्पर्धाको मत्स्य न्याय मौलाइरहन्छ । योग्य र सक्षमहरुले स्थान नपाउने अयोग्यहरुको यस्तो शासन व्यवस्थामा समृद्धि र समाजवाद केवल मृगतृष्णा बनिरहन्छ ।

यदि हाम्रो देश नेपालमा कार्यकर्ताको मात्र नभएर विवेकशील नागरिकको पनि देश हुन्थ्यो भने कसैले प्रश्न गर्थ्यो होला- सम्माननीय/माननीय अध्यक्षज्यूहरु, नाकाबन्दीको घाउ ठिक नहुँदै मोदीको आतिथ्यका नाममा यो दुःखलाग्दो नौटङ्की किन भइरहेको छ ? हामीलाई यस्तो लाज लागिरहेछ कि घाँगर उठाएर मुख छोप्ने बालिकाको अवस्थामा किन पुर्‍याइरहनुभएको छ अध्यक्षज्यूहरु ?

इतिहासमा प्रतिगमन ‘आधा सच्चिएको’ घटना सायदै कसैले भुलेका छैनन् । सत्ताको स्वाद चाखिराख्न यहाँ कहिले प्रतिगमन आधा सच्चिन्छ । कहिले मोदी ‘पूरै सच्चिन्छन्’ । कसैले हिजो ज्ञानेन्द्रको पाउमा दाम राखे, कसैले आज मोदी चरणमा दाम राख्लान् । पात्रहरु निमित्त हुन् । प्रवृत्ति र संस्कार उही हो ।

मलाई विश्वास छ, सबै नेताहरुलाई, सबै कार्यकर्तालाई चित्त बुझेको छैन । तर चित्त नबुझेर पनि किन चुपचाप छन् ? मोदी जता गुड्छन् त्यही बाटो बन्द, मोदी जहाँ उड्छन् आकाश पनि बन्द । मोदीका लागि दर्शनार्थीले दुई दिनसम्म ‘भगवान’लाई पनि भेट्न नपाउने अवस्थालाई हेरेर पनि बोल्न नसक्ने चित्त नबुझेका नेताहरुको अस्तित्वलाई नागरिकले कसरी बुझ्ने ? अतिथीलाई देउता मान्नेसम्म त ठिकै हो, अतिथीकै दास बन्नु कहाँसम्म ठिक हो भनेर यहाँ कसले प्रश्न उठाउने ?

पंक्तिकारको बुझाई के हो भने पाहुनालाई पाहुनाकै रुपमा हेरौं । जस्तोसुकै भए पनि घरमा निम्ता गरेर अपमान गर्नु नेपाली संस्कार र सभ्यता होइन । तर, अतिशयोक्तिपूर्ण ढंगले चाकरी गर्ने शासकको असली चरित्र बुझ्न भने ढिला गर्नु हुँदैन । कालापानी बुझाउने महेन्द्र राष्ट्रवादी, महाकाली बुझाउन दौडधुप गर्ने ओली राष्ट्रवादी भन्दै भ्रममा बाँचिरहेका हामी नागरिक, अर्धनागरिक र अनागरिक जुन दर्जामा भए पनि ब्युँझन आवश्यक छ । आफ्ना राष्ट्रिय हितका मामिलामा अडान नछाडौं । आफ्ना खराब शासक चिनौं । राजनीतिक परिवर्तनका लागि ध्रुवीकृत हाम्रो राजनीतिक मानसिकता बदलौं । आदेशपालक कार्यकर्ता भन्दा आलोचनात्मक चेत भएको नागरिक बनौं । अन्तत्वगत्वा आलोचनात्मक चेत भएका नागरिकहरुले नै देश बनाउन सक्छन् ।

अवश्य हो, नाकाबन्दीको घाउ बल्झिन सक्छन् । तर, छिमेकी फेर्न सक्दैनौं । हामीले फेर्न सक्ने हाम्रो अवस्था हो, अवस्थिति होइन । कार्यकर्ताबाट नागरिक बनेपछि हामी आफ्नै मष्तिष्क प्रयोग गरेर निर्णय गरौंला- कार्यकर्ताको देशमा ‘नागरिक अभिनन्दन’ भन्ने कि ‘सरकारी अभिनन्दन’ भन्ने कि ‘पार्टी अभिनन्दन’ भन्ने कि ‘कार्यकर्ता अभिनन्दन’ भन्ने निर्णय गर्दै गरौंला ।

The post ‘कार्यकर्ता’को देशमा ‘नागरिक अभिनन्दन’ ? appeared first on Sajha Post.

टिम्सको कारण पर्यटन व्यवसायी गैरजिम्मेवार बन्दै, विदेशीलाई ठग्ने काममात्र

$
0
0

काठमाडौं, ८ असार । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) आज भन्दा १० वर्ष पहिले देखि ट्रेकिङ क्षेत्रमा लगाईंदै आइरहिएको छ । विशेषत: टिम्स लागू गर्दा श्रमिक संगठनले पारदर्शीता र कानूनसम्वत् रुपमा लागू गर्नुपर्छ भनेर त्यतिबेला नै आवाज उठाएका थिए ।

तत्कालिन अवस्थामा ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल(टान) कार्यसमितिसँग हाम्रो यसै विषयमा सम्वाद पनि भएको थियो । त्यस्तै टान, नेपाल पर्यटन बोर्ड र त्यति बेलाको पर्यटन महाशाखासँग नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) र अखिल नेपाल पर्यटन श्रमिक सगंठनबीच वृहत् छलफलपछि टान–पर्यटन बोर्डका साथै सरकारले यो टिम्स श्रमिकको उद्धार, राहत, तालिम, पर्यटन प्रमोशनको साथै नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि खर्च गर्ने भनिएको थियो । त्यसरी ल्याएको टिम्स अवधारणा आजको दिनमा हेर्ने हो भने नत श्रमिकले राम्रोसँग राहत नै पाएका छन्, नत यसबाट श्रमिकले तालिम नै पाएका छन् । नत समयमा श्रमिकका पीडित परिवारले बीमा बापतको रकम समयमै पाएका छन् ।

यस्तो भद्रगोल अवस्थामा रहेको टिम्सको बारेमा पछिल्लो समय यूनिट्राभ एउटा निस्कर्षमा पुगेको छ, त्यो के हो भने कित टिम्स रकमलाई श्रमिक राहत कोष भनेर स्थापना गर्नु पर्‍याे, कित यसलाई बन्द गर्नुपर्‍याे । अहिले त यतिसम्मकी यो टिम्स भनेको विदेशीलाई ठग्ने, पर्यटन बोर्डकालाई विदेश घुम्ने र टिम्सको नाममा आफ्नो मान्छे भर्नागरी कोषको रकम सिध्याउने काम मात्रै भएको हाम्रो संगठनको ठहर छ ।

टिम्स सिष्टम आउनुभन्दा पहिला ट्रेकिङ कम्पनीहरुले आफैंले श्रमिकको बीमा, हेलि रेस्कयू देखि सबै जिम्मेवारी स्वयं बहन गरिरहेका थिए । आजका दिनमा भने सबै व्यवसायीहरु टिम्स कोषबाट बीमा लगायत श्रमिकको सबै काम हुन्छ भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन् । टिम्सबारे श्रम मन्त्रालयमा वार्ता बस्दासमेत श्रमिकको नाममा उठेको रकम श्रमिककै हितका लागि खर्च हुनुपर्छ भनेर स्पष्ट भनिएको छ । तर यसको बारेमा पर्यटन बोर्ड र टानले थाहा नपाएझैं गर्दै आएकोले हामी श्रमिकहरु साह्रै पिडामा छौं । अबको दिनमा कि त टिम्सको रकम पुरै श्रमिक कोष बनाएर त्यसमा राख्नुपर्‍याे या त बन्द गर्नुपर्‍याे । यस विषयमा मुद्दा हाल्नका लागि यूनिट्राभले कानूनी परामर्श थालेको छ र श्रमिकले एक निष्कर्ष निकालेरै छाेड्नेछाै‌ं।

(पराजुली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदूर संगठन यूनिट्राभका केन्द्रिय अध्यक्ष हुन् ।)

The post टिम्सको कारण पर्यटन व्यवसायी गैरजिम्मेवार बन्दै, विदेशीलाई ठग्ने काममात्र appeared first on Sajha Post.

‘थर्ड पोल’ किन र कसरी ?

$
0
0

क्रान्तिः एक निरन्तर प्रक्रिया
सामान्यतया राजनीति दुई प्रकारको हुन्छ– सत्ताराजनीति (पावर पोलिटिक्स) र रुपान्तरणकारी राजनीति (ट्रान्सफरमेटिभ पोलिटिक्स) । विद्यमान संवैधानिक सोच, सत्ता संरचना, आर्थिक ढाँचा, प्रशासनिक प्रणाली र आमसंस्कृतिअन्तर्गत सत्तामा पुगेर केही गर्न चाहने राजनीतिलाई सत्ताराजनीति भनिन्छ ।

दोस्रो प्रकारको राजनीतिले विद्यमान सोच र संरचनामा त्रुटि देख्छ । त्यसमा परिवर्तन, सुधार वा क्रान्तिकारी हस्तक्षेप विना चाहेर पनि अपेक्षित परिणाम प्राप्त नहुने हुँदा संरचनागत रुपान्तरणको पैरवी गर्दछ । यसरी राजनीति संस्थापनवादी र क्रान्तिकारी वा मूलधार र वैकल्पिक कित्तामा विभक्त हुन पुग्दछ ।

प्रकारान्तले क्रान्तिकारीहरु संस्थापन बन्न पुग्छन, संस्थापन अतित बन्न पुग्छ । वैकल्पिकहरु मूलधार बन्न पुग्दछन् । मूलधारहरु इतिहासको कुनामा थन्किन बाध्य हुन्छन् । कार्ल मेन्हेमका शब्दमा ‘हिजोका युटोपियाहरु आजका यथार्थहरु हुन । आजका युटोपियाहरु भोलिका यथार्थ हुनेछन् ।’

समय र सन्दर्भ फरक हुन सक्दछ । एजेण्डा र आधार फरक हुन सक्दछ । तर यो राजनीतिक ध्रुविकरणको प्रक्रिया कहिल्यै रोकिँदैन । हरेक युगमा सत्ताधारी हुन्छन्, हरेक युगमा सत्ताविरोधी हुन्छन् । हरेक युगमा संस्थापनवादी हुन्छन्, हरेक युगमा विद्रोहीहरु हुन्छन् । हरेक युगमा ‘अब क्रान्ति पुग्यो’ भन्नेहरु हुन्छन्, हरेक युगमा ‘क्रान्ति जारी छ’ भन्नेहरु हुन्छन् । यो कुरा कुनै व्यक्ति वा संस्थाको दोषले मात्र लागू हुने हैन । यो सृष्टिकै नियम हो । सृष्टि सधै गतिमा हुन्छ । समाज सधैँ गतिमा हुन्छ ।

डम्बर खतिवडा

हरेक युगका सत्ताधारीहरुलाई लाग्छ कि मै ठीक छु । ‘हामी आफैं ठीक छौं’ फेरि यी ‘क्रान्तिकारीहरु किन जन्मिएका होलान ?।’ हिजो आफू क्रान्तिकारी थिए भन्ने कुरा उनीहरुले बिर्सिसकेका हुन्छन् । उनीहरुलाई लाग्छ कि उनीहरु सत्तामा नहुन्जेलसम्म क्रान्ति ठीक थियो, अब उनीहरु सत्तामा छन्, अब क्रान्ति बेठीक छ । एउटा भनाइ छ- ‘संसारका अधिकांश क्रान्तिकारीहरु क्रान्ति भएको रातको भोलिपल्ट सबैभन्दा ठूला प्रतिक्रान्तिकारी भइसकेका हुन्छन् ।’

सत्तासँग अधिकांश नयाँ क्रान्तिकारीहरुलाई सहवरण गरी पुराना बनाइदिने संरचनात्मक क्षमता हुन्छ । राज्य आफैंमा एक ‘रेजिष्टिङ्ग पावर’ हो । विपक्षमा हुँदा तीनै मान्छेहरुको एउटा कुरा हुन्छ । सत्तामा पुग्दा नपुग्दा उनीहरु कुरा फेर्न थालिसकेका हुन्छन् । समाजको गति मूलतः सत्तासंचरनामा देखा पर्ने दोषहरुको मात्रा र क्रान्तिकारीहरुको हस्तक्षेपकारी भूमिकामा निर्भर गर्दछ । संसारमा विरलै त्यस्ता व्यक्ति वा शासकहरु जन्मिन्छन् जसले यो प्रक्रियालाई चुनौति दिन सक्छन् ।

सत्ता मनोविज्ञानको चित्रः
हरेका युगको सत्ताधारी वर्गलाई लाग्दछ कि उसले ठीकै गर्दैछ । बेफ्वाँकमा क्रान्तिकारीहरु निहुँ खोज्दैछन् । नेपालकै दृष्टान्तमा हेर्ने हो भने शाहराजाहरुलाई आफ्नो शासन राम्रै लागेको थियो । सत्ताराजनीतिको चास्नीमा दरबारीया राजनीति भित्रभित्रै कति भ्रष्ट, पतित, पाखण्डपूर्ण भएको थियो, त्यो विरलै ज्ञान थियो । वा ज्ञान भएर पनि उनीहरुले त्यसलाई स्वभाविक वा उनीहरुको विशेषाधिकार ठानेका थिए । जंगबहादुरलाई लागेको थियो होला- शाहराजाहरुको त्यही घिनौना दरबारिया जालझेल र षडयन्त्रबाट देशलाई जोगाउन उनले ‘कोतपर्व’ जस्तो जोखिमपूर्ण घटना रच्नु पर्‍यो ।

राणाहरुलाई आफ्नो शासन राम्रै लागेको थियो । कांग्रेस जन्मियो । नेपाली कांग्रेसले ३ पटक बहुमत पायो । २००७ सालदेखि अहिलेसम्म कांग्रेसले दशक लामो शासन गर्‍यो देशमा, उनीहरुलाई आफ्नो गल्ती कहाँनेर भयो र कम्युनिष्ट्हरु फैलिए भन्ने कहिल्यै रियलाइजेशन छैन । सत्ता थियो, कांग्रेसका लागि सबै ठीक थियो, अहिले कम्युनिष्टहरुले सत्ता लगे;  भुटभुटिनु, विलाप गर्नु बाहेक कहिँकतै रचनात्मक सोच छैन ।

२०४६ पछि कांग्रेस–एमालेले आफूलाई विकल्पहीन सत्ताधारी दल ठानेका थिए । अहिले पनि यिनै दुई दल निकटस्थ बुद्धिजिवीहरु देश ‘दुई दलीय लोकतन्त्र’ तिर उदत्त भएको तर्क गर्छन् । २०४६ पछि पनि कांग्रेस–एमालेले यस्तै तर्क गरेका थिए । फेरि माओवादी आए । फेरि मधेसवादी आए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको एउटा प्रक्रिया पूरा भयो । कांग्रेस–एमालेको मात्र भर परेर बसेको भए यी चीज केही पनि हुने थिएनन् । आज नेकपा जसरी चल्दैछ, उनीहरुलाई त्यही लाग्दैछ कि उनीहरु ठीक छन्, तर उनीहरुले नबुझेको यथार्थ उनीहरुको सत्ता राजनीतिको सीमा समाजमा छ्याल्लब्याल्ल् हुन थालिसकेका छन् ।

नेकपा शासनका सीमाहरुः

२००६ सालमा गठन भएको नेकपा ६८ वर्षमा पहिलोपटक एकल बहुमतमा आएको छ । यद्यपि उसले सत्तासाझेदारका रुपमा देशमा बारम्बार सत्ताको नेतृत्व गरिसकेको छ । करिब ७ दशक लामो इतिहास भएको दलले पहिलोपटक बहुमत ल्याउनु कुनै आश्चर्य हैन । उसका समर्थकहरुको मनमा एउटा खुनखुन थियो–एकपटक त नेकपाले बहुमत ल्याए उसले कस्तो शासन गर्दो हो ? मान्छेको जात हो, आशा त हुन्छ नै । तर आशा गर्नु र आशा यथार्थमा परिणत हुनु भिन्नै कुरा हो । नेकपाका केही सीमाहरु छन, ती प्रकट हुन थालिसकेका छन । भरखरै सरकार बनेको हुनाले जनसाधारणले ती सबै कुरा बुझ्न समय लाग्छ । तर संकेत त आइसके ।

एक– नेकपा बीसौं शताब्दिसम्मको विश्वसाम्यवादी आन्दोलनको नेपाल प्रतिनिधि हो । उसले आफूलाई ‘मार्क्सवादी–लेनिनवादी’ भन्न छोडेको छैन । तर उसको व्यवहार यी सिद्धान्तसँग कहीनेर पनि सादृष्य छैन । लेनिनवादी सत्ता र बहुदलीय व्यवस्थाबीच कुनै सम्बन्ध छैन । नेकपा नेताहरु एकतिर अब आफूहरु लोकतन्त्रवादी भइसकेको कुरा गर्दछन् । अर्कोतिर उत्तर कोरिया, चीन र भियतनामका कम्युनिष्टहरुको गौरवीकरण गर्न छाडेका छैनन् । स्टालिन र माओको फोटो राख्ने नराख्ने कुरामा उनीहरुको रस्साकस्की हुन्छ । यी चिन्तकहरु र बहुदलीय लोकतन्त्रबीच कुनै सम्बन्ध छैन भन्ने कुरामा अझै उनीहरुलाई ज्ञान छैन । हुँदाहुँदा उनीहरु अब ‘नियन्त्रित र अनुकूल समाज’ को कुरा गर्न थालेका छन् । यसले के देखाउँछ भने उनीहरु ठूलो वैचारिक भ्रमका बीच सत्ता चलाउँदैछन्, यो यात्रा गन्तव्यहीन ड्राइभिङ्गजस्तो भइरहेको छ ।

दुई–सिद्धान्तमा साम्यवादको लिगेसी वा मोह छोडन नसके पनि अर्थ–राजनीतिक व्यवहार विल्कुल उल्टो छ । ‘कृषिप्रधान अर्थतन्त्र’ बाट देश ‘रेमिटेन्सप्रधान अर्थतन्त्र’मा फेरिएको छ । शिक्षा र स्वास्थ्यको चरम निजीकरण, व्यापारिकरण र माफियाकरण गरिएको छ । कर्मचारीतन्त्रमा नेकपाको बलियो ट्रेड युनियन छ जसले सरुवा, बढुवामा विचौलिया र कमिसनखोरको काम गर्दछ । देशमा ठूला योजनाहरुमा हुने कमिसनको खेलमा उच्च राजनीतिक नेतृत्वको भूमिका देखिन्छ । सम्पति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको कार्यालयको मातहत राखी भूमिकाहीन र पंगु बनाइएका छन् । अजय सुमार्गी लगायतको कालोधन प्रकरणमा सत्तारुढ पार्टीका उच्चपदस्थ नेताहरुको रुचि र भूमिका प्रष्ट छ । देशमा कुनै उत्पादन छैन । आयात र व्यापार घाटा बढ्दो छ । देशमा करिब ९०% आयात र १०% मात्र निर्यात हुने गरेको भयावह आर्थिक तथ्यांक सामुन्ने आएको छ । यसलाई घटाउने नेकपासँग कुनै योजना छैन । सिद्धान्तमा देश साम्यवादीहरुको नेतृत्वमा भए पनि व्यवहारतः देश क्रोनी क्यापिटालिष्टहरुको हातमा गएको छ ।

तीन– नयाँ संविधान निर्माण प्रक्रियामा नेकपाका अनेक घटकहरुले फरक-फरक दृष्टिकोण अबलम्बन गरेका थिए । संविधान संशोधनलाई राष्ट्रवादसँग जोड्नेहरु पनि कम्युनिष्ट नै थिए । संविधान संशोधन गर्नुपर्छ भन्नेहरु पनि कम्युनिष्ट नै थिए । संघीयता नै खारेज गर्नुपर्छ भन्ने पनि कम्युनिष्ट नै थिए । आज नेकपाकै मुख्यमन्त्री, प्रादेशिक मन्त्री र सांसदहरु प्रदेश तह खारेज गरे हुने भाषणबाजी गर्दैछन् । अधिकांश प्रदेशसभामा बहुमत जमाएर पनि प्रदेश नामाकरण र राजधानी टुंगो गर्न समेत सकिरहेका छैनन् ।

स्थानीय तहमा भ्रष्टचार व्यापक भएर गएको छ । संविधान संशोधन गर्ने फर्जी तमसुक गरेर दुई तिहाई पुर्‍याउन फोरमलाई सरकारमा लगिएको छ । तर संविधान संशोधन के के कुरामा हुने ? कहिले हुने ? वा हुने कि नहुने ? भन्ने नै प्रष्ट छैन । लोकतन्त्रको एक फरक, विशिष्ट, मौलिक र नेपाल अनुकुल ढाँचा निर्माण गर्न नेकपा चुकेको छ । एमाले, माओवादी र फोरमको घोषित अघोषित गठजोड पछि नेकपा सरकारले लिने राजनीतिक कार्यदिशा बिल्कुल अन्यौलपूर्ण छ ।

चार– दुईतिहाई वाला सरकारको जुन बजेट आएको छ, त्यसले नेकपाकै नेता, सांसद र समर्थकहरुलाई निरास बनाएको छ । सपना समृद्धिको बजेट सामान्य निरन्तरताको बनाएर ओली सरकारले ‘झुठको राजनीति’ गरेको छ । उनीहरुले ‘जेष्ठ नागरिकहरुलाई झुक्याउने’ सम्मको अनैतिक राजनीति गरेका छन् । ओलीले भाषणमा बारम्बार भनेका ‘घरघरमा ग्याँस पाइप’, ‘हिन्द महासागरमा पानी जहाज’ जस्ता कुनै पनि योजना बजेटमा छैनन् । शिक्षा बजेट १०% मा झारिएको छ, जबकी चुनावी घोषणापत्रमा २०% पुर्‍याउने कुरा थियो । चुनावी घोषणपत्रमा प्रतिव्यक्ति आए ५००० डलर पुर्‍याउने  भनिएको मुस्किलले २००० डलर लक्ष्य राखिएको छ । अलिकति सकारात्मक भनेको केरुङ्ग–काठमाण्डौं रेलको कुरा त्यो पनि चीनले पुरै अनुदानमा बनाइदिओस् भन्ने चाहना देखिन्छ । त्यो अर्को मगन्ते सोच हो। मगन्ते सोचले समृद्धि सम्भव छैन ।

कांग्रेस वैधानिक प्रतिपक्ष हो, राजनीतिक प्रतिपक्ष हैन
कांग्रेसलाई लाग्दो हो, नेकपा असफल हुँदैछ । छिटै उनीहरुको दिन फिर्नेछन् । त्यो निरन्तरताको सोच अभिव्यक्त भएको मात्र हो । नेपाली समाजको गर्भमा हुर्किंदै गएका असन्तुष्टिका लाभाहरु भयानक छन् । त्यसले आउँदो चुनावसम्ममा विल्कुल फरक प्रकारको राजनीतिक उभार र ध्रुविकरणलाई प्रेरित गर्ने देखिन्छ । यथार्थमा कांग्रेस यतिखेर वैधानिक प्रतिपक्ष मात्र हो, वास्तविक राजनीतिक प्रतिपक्ष हैन । राजनीति प्रतिपक्ष हुन नीतिगत, कार्यक्रमिक तथा संस्कृतिगत भिन्नता चाहिन्छ । अहिले देश नेकपाले जसरी चलाईरहेको छ । त्यो कांग्रेसले बनाएकै जगमा चलाइरहेको छ । अर्कोप्रकारले कांग्रेसकै सोच र संस्कारलाई निरन्तरता दिइरहेको छ । २०४६ पछि कांग्रेसले शुरुवात गरेको नवउदारवादी आर्थिक नीतिबाट अहिलेको सरकार र बजेट एक इञ्च पनि यताउति भएको छैन । पार्टीगत रुपमा नभएपनि नीति तथा कार्यक्रम त कांग्रेस नै सत्तारुढ छ ।

थर्ड पोल किन ?
देशलाई उपरोक्त बर्बादीको दुश्चक्रबाट बाहिर निकाल्न तेस्रो ध्रुव अनिवार्य छ । यदि आउँदा केही वर्षभित्र शक्तिशाली तेस्रो ध्रुव बनेन् भने देशले समृद्धिको बाटो बिराउनेछ । तर प्रश्न उठ्छ- कस्तो तेस्रो ध्रुव ? कहाँबाट कसरी आउँछ त्यो ?

राजनीतिक सिद्धान्तका मूलतः ५ अंग हुन्छन् । दार्शनिक सोच, राजनीतिक विचारधारा र प्रणाली, अर्थशास्त्रीय ढाँचा, समाजशास्त्रीय चिन्तन र आम–मनोविज्ञान । यी ५ वटै पक्षमा विकल्प दिने गरी थर्डपोल आउनु पर्छ । तेस्रो ध्रुव लहडको विषय हुनु हुँदैन । यो सुविचारित राजनीतिक दृष्टिकोण र अभियानका रुपमा आउनु पर्छ ।

तेस्रो ध्रुवको दाबी राप्रपावादी, राजावादी वा सम्वर्द्धनवादी रुढीवादी धारले पनि गर्न सक्छ । तर त्यो निरर्थक हुन्छ । समाज कहिल्यै पछाडि फर्किएर ठीक बाटोमा जान सक्दैन । यो चरम दक्षिणपन्थी धारको आधुनिक तेस्रो ध्रुव उद्देश्यसँग कहिँकतै तादाम्यता छैन । तेस्रो ध्रुवको दावी अवैधानिक संघर्षमा रहेका वैद्य–बिप्लब लगायतका समूहले पनि गर्न सक्दछन् । यो एक फरक परिप्रेक्ष्य हो । यसलाई पनि थर्डपोलको अभियानसंग जोड्न मिल्दैन ।

त्यसपछि रहन्छन् क्षेत्रीय दलहरु, विशेषतः मधेसकेन्द्रित दलहरु । उनीहरुको आफ्नै सीमा छ । फोरम सत्तामा गएसँगै उसको प्रतिपक्षीय भूमिका संदिग्ध हुन्छ । बाँकी मधेसवादी दल मधेसबाहेकका प्रदेशमा फैलिने गुण राख्दैनन् । नेपालमा थर्डपोल त्यसबाहेकका शक्तिहरुले बनाउनु पर्छ र अरुलाई रुपान्तरण गरेर थर्डपोलको मिसनमा तान्नु पर्छ ।

वैचारिक हिसाबले तेस्रो ध्रुव समाजवादी हुनु पर्छ । कांग्रेसको नवउदारवाद र नेकपाको ठिमाहा साम्यवादको हविगत हामीले देखिसकेका छौं । राजनीतिक प्रणालीका हिसाबले थर्डपोलले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदसहितको समानुपातिक–समावेशि सहभागितामुलक लोकतन्त्रको पक्षमा हुनु पर्दछ । आर्थिक ढाँचाका हिसाबले त्यसले समातामूलक समृद्धिलाई सम्भव तुल्याउने गरी सामाजिक बजार अर्थतन्त्रको अबलम्बन गर्नु पर्दछ । समाजशास्त्रीय हिसाबले त्यसले इन्द्रेणी राष्ट्रवादको अवधारणालाई नेपाली सन्दर्भमा मूर्त र ठोस ढंगले लागू गर्न सक्नु पर्दछ । आमसंस्कृतिका हिसाबले त्यसले पादरर्शीता, सुशासन, सदाचार, नैतिक पद्धतिमा आधारित राजनीतिलाई प्रवर्द्धन गर्न सक्नु पर्दछ ।

बन्छ त ‘थर्ड पोल’ ?
मलाई लाग्छ, नेपाली राजनीतिमा बलियो थर्डपोल बन्ने प्रक्रिया शुरुवात भइसकेको छ । नयाँ शक्ति पार्टी नेपालले वैचारिकरुपमा त्यसको नेतृत्व लिइसकेको छ । नयाँ शक्ति पार्टीको लुम्बिनी संकल्पमा थर्ड पोलको अवधारणालाई ठोस र मूर्तरुपमा व्यक्त गरिएको छ । व्यवहारिक रुपमा केही कमजोर भएका हुनसक्छन । विश्वासको वातावरण पैदा गर्नु पर्ने चुनौति छ । तर प्रगतिशील, लोकतान्त्रिक, अग्रगामी र समाजवादी थर्ड पोलको निर्माणमा आउँदा केही वर्षभित्रै अझ ठोस, मूर्त र जिवन्त हुने कुरामा शतप्रतिशत विश्वस्त हुन सकिन्छ ।

(नयाँ शक्ति पार्टीका प्रवक्ता खतिवडासँग गरिएको कुराकानीमा आधारित )

The post ‘थर्ड पोल’ किन र कसरी ? appeared first on Sajha Post.

हामीलाई नुन भुटुन चाहिएको छ, छिमेकी फर्सी लिएर आउँछ

$
0
0

विकास भनेको मान्छेको आधारभूत स्वतन्त्रता प्राप्ति गर्ने एउटा प्रक्रिया हो । अमत्र्यसेनले एउटा किताब लेखेका छन्– डेभलपमेन्ट एस ए फ्रिडम । उक्त पुस्तकमा विकास के हो भन्ने कुरालाई उनले राम्ररी अर्थ्याएका छन् ।

अब समाजवादी कोणबाट हेर्दा खासगरी श्रमजिवी वर्गको श्रम र सीप उसको भौतिक अस्तित्व बचाउने बेजो पनि हुँदै हो त्यो, त्यसबाहेक त्यो नै साधन बनेर असमानता, अभाव, शोषणमा विस्तार हुन्छ । त्यसैले यसलाई कसरी मुक्त गर्न सकिन्छ ? समाजवादको मुख्य लक्ष्य भनेको त्यो श्रमिक वर्ग हुन् । समाजवाद भन्नासाथ मार्क्सको कुरा आउँछ । मार्क्सले मान्छेको जो अलगाव हो अर्थात् कुनै कुरा सिर्जना गर्दा त्यसबाट लिने जुन आनन्द हो, त्यो आनन्दबाट मान्छे अलग्गिनु हुँदैन । श्रमिक आफ्नो श्रम र सिर्जनाको आनन्दबाट कट्नु हुँदैन । यो नै मार्क्सको आधारभूत सिद्धान्त हो ।

राम कार्की

त्यस्तै देशको हकमा, कुनै पनि देशले आफ्नो अर्थराजनीतिक विकल्प लिन वा छनौट गर्न देश स्वतन्त्र छ कि छैन ? हामी आफ्नो विकास रणनीति तय गर्न स्वतन्त्र छौं कि छैनौं ? यो प्रमुख कुरा हो । हामीलाई नुन भुटुनको जरुरी छ, छिमेकी फर्सी लिएर आइपुग्छ । उसको बारीमा फर्सी धेरै फल्यो । तिमीहरुको अहिलेको आवश्यकता फर्सी हो भनेर हामीलाई फर्सीको फाइदा पढाउँछ हामीलाई । अनि भन्छ– यो उधारै दिउँला तिमीहरुलाई, आधा त अनुदानमै । हाम्रो यस्तो स्थिति छ ।

अब प्रश्न आउँछ, प्राथमिकता छनौट गर्ने तरिका के हो ? नेपालले आफ्नो विकास रणनीति आफैं छनौट गर्ने तरिका के हो ? हामीले नियोजनको सिद्धान्त त लिएका छौं, कतिपयले त यसलाई पनि फ्याँकिसके । जस्तो भारतमा नीति आयोग बनाएर योजना आयोग नै चैट पारेका छन् । हामी नियोजनको सिद्धान्तमा त जानुपर्छ तर, महत्वपूर्ण कुरा भनेको छनौट गर्दा कतिलाई सहभागी बनायौं, कति जनता सहभागी भए ? नेपालको कृषि कस्तो हुनुपर्छ, नेपालको शिक्षा कस्तो हुनुपर्छ ? नेपालको विकास रणनीति के हुनुपर्छ ? यसबारे बहस कहाँ भयो ? यो केवल अर्थमन्त्रीको जिम्माको कुरा होइन । यो राजनीतिक पार्टीहरुकै जिम्मेवारी हो । हाम्रा गाउँ–शहरका टोल–टोलसम्म नेपालले कुन बाटो लिने भनेर कहिँकतै छलफल भयो ?

नेपालको प्राथमिकता के हो ? एकजना फ्याट्ट बोलिदिन्छ- नेपालको प्राथमिकता यो हो भनेर । ब्रम्हज्ञान पाएजस्तो । माथि आकाशबाट झरेर बोलेजस्तो । नेपालको प्राथमिकता त नेपाली जनताले तय गर्ने होला नि ? समाजवाद भनेको त सार्वजनिक छलफल हुनुपर्‍यो । विभिन्न फोरममा जनताले बहस गर्न पाउनुपर्‍यो विकास रणनीतिबारेमा । र, सँगसँगै उनीहरुको त्यसमा स्वामित्व पनि हुनुपर्‍यो । अनि, उनीहरुबाट अनुगमन पनि हुनुपर्‍यो ।

हामीले सोभियत संघमा देख्यौं । त्यहाँ पछिल्लो समय अर्थतन्त्र र प्रविधिलाई नै सबैभन्दा महान भनियो । मार्क्सवादलाई लगेर खुम्च्याइयो । मार्क्सवाद के हो ? यो भनेको आर्थिक विकास र प्रविधि हो भनियो । यसै मान्यतामा रुसले न्यूक्लियर बम त बनायो तर, १९७९ मा त्यहाँका कम्युनिष्ट भेट्रानहरुलाई जनताले कठालोमा समातेर धकेलेको बेला त्यो न्यूक्लियर बलमे काम दिएन । न्यूक्लियर बम आफ्नै ठाउँमा बस्यो, कम्युनिष्टहरु लज्जित भएर हानुपर्‍यो ।

यसर्थ, समाजवाद मान्छेले बनाउने कुरा हो । यो मान्छेको कुरा हो । मान्छेमध्ये पनि श्रमिक वर्गलाई कति स्वतन्त्र राख्न सक्छौं ? हाम्रो देशबाट ३०/४० मानिस विदेश गइरहेका छन्, उनीहरुलाई स्वदेशमा नै भूमिका दिने हाम्रो सोच हुनुपर्छ । अहिले नै हामीले ४० लाखलाई ल्याउन नसकौंला तर, हामी उनीहरुलाई कसरी ल्याउन सक्छौं ? नेपालमै कसरी भूमिका दिन सक्छौं ? त्यतातिर जानुपर्छ ।

नेपालमा धेरै वर्ष नेपाली कांग्रेसले शासन गर्‍यो । २/४ वर्ष यसो विदेश घुमेर आएका मानिसहरुले यहाँ निजीकरण गरेपछि सबैकुरा ठिक हुन्छ भने । यसको जवाफ चाहिएन ? निजीकरणले आज हामीलाई कहाँ पुर्यायो । के भयो निजीकरणको परिणाम ? मुख्यकुरा त्यो दर्शन वैचारिकरुपमै गलत धारणा थियो । पुँजीवादमा पुँजी अर्थात् आर्थिक भनेको नाफाको लागि दौडिन्छ । जहाँ नाफा पाउँछ, त्यहीँ जान्छ । त्यो नाफा बटुल्नेक्रममा केहीगरी जनताको हित भएछ भने त्यो बाइप्रोडक्ट (सह-उत्पादन) हो । यता समाजवादले जनताले चिन्नुपर्‍यो । हाम्रो न्यून तहको जनतालाई माथिल्लो तहमा कसरी ल्याउन सक्छौं ? नत्र भने हाम्रो हालत भारतकै जस्तो हुन्छ । एउटा स्टेशनबाट मंगल ग्रहको निम्ति स्याटेलाइट छोडिराखेको छ तर, ६७ करोड जनता सडकको पेटीमा सुत्छन् । कहिलेकाँही रक्सी खाएर मच्चिएर आउने गाडीले हिर्काउँदै एकैठाउँमा सात–आठ जना मानिस मारिएको खबर सुन्न पाउँछौं । के हामीले पनि त्यही चाहेको हो ? त्यही हो हाम्रो मोडेल ? अब हामी नयाँ प्रक्रियामा जानुपर्छ । राजनीतिक दलहरुले जनताको बीचमा सार्वजनिक छलफल, बहस गराउने काममा जानुपर्छ । हामी कता जाँदैछौं ? हाम्रो प्राथमिकता के हो ? आखिर जनता नै गुरु हुन् । उनीहरुले हामीलाई सिकाउँछन् ।

जस्तो, अहिले हाम्रो प्राथमिकता के हो छलफल गरौं । हुनसक्छ कि कृषिमा आधुनिकीकरण । अहिले वित्तीय पुँजीले हाम्रो जमिन सिध्याइरहेको छ । जमिनको जनन् क्षमता अर्थात् फर्टाइल क्यापासिटीलाई पनि खत्तम गरिराखेको छ । दोस्रो कुरा, वित्त पुँजीलाई औद्योगिक पुँजीमा रुपान्तरण गर्न सक्छौं कि सक्दैनौं ? हाम्रो आगामी २०/३० वर्षको लागि बाटो हो, त्यसको बारेमा अहिलेको हाम्रो विनियोजन सिद्धान्तले कम्तिमा त्यतातिर संकेत गरेको हुनुपर्छ । अहिले नै सबैकुरा पूर्ण हुन्छ भन्ने त होइन तर, त्यता जानुपर्छ ।

अर्को महत्वपूर्ण कुरा शिक्षा र स्वास्थ्य । अघि प्रदीप गिरीजीले भन्नुभयो कि हामीले पश्चिमतिरबाट सिद्धान्त ल्यायौं । पश्चिमबाट अनुकरण गर्यौं । पश्चिम जहाँ राज्य बलियो थियो, त्यहाँबाट निजीकरण ल्याएर देशको यो हालत भयो । तर, पूर्वमै सिद्धान्त जन्माउनको निम्ति शिक्षा र स्वास्थ्य त आफ्नो हुनुपर्‍यो नि त । स्वास्थ्य भनेको शरीर हो र शिक्षा भनेको मष्तिष्क । खोइ हाम्रो शिक्षा प्रणाली ? हाम्रो पाठ्यक्रम पनि अरुले तयार गरिदिन्छन् । नेपालीले अहिले के पढ्ने हो भन्ने पनि अरुले तय गरिदिन्छन् । अरुलाई कोड गर्छौं हामी । नेपाललाई कस्तो शिक्षित जनशक्ति चाहिएको हो ? आगामी २० वर्षमा कस्तो शिक्षित जनशक्ति चाहिन्छ ? हामीलाई डाक्टर, इन्जिनियर, कृषि विशेषज्ञ कति कति चाहिने हो ? त्यो कुरा त अब हामीले ल्याउन सक्नुपर्‍यो । बाहिर देखाउन सक्नुपर्‍यो । हामी त भीडमा, मेलामा वा पशुपतिको जात्रामा हिंडिरहेको जस्तो हिंडिरहेका छौं । त्यसरी हिंडेर पुगिन्छ कहीँ ? हाम्रो लक्ष्य निर्धारण हुनुपरेन ?

यसर्थ, अब हामीले कतिपनि अबेर नगरीकन सबै केन्द्रीय नेताहरु र कर्मचारीका प्रथम श्रेणीका अफिसरहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्न बन्द गर्नुपर्छ ।

(प्रतिनिधिसभाको बैठकमा विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कार्कीले राखेको विचारको सम्पादित अंश)

The post हामीलाई नुन भुटुन चाहिएको छ, छिमेकी फर्सी लिएर आउँछ appeared first on Sajha Post.

नेपाल यसरी बनिरहेछ सूचना प्रविधिको परजीवी समाज

$
0
0

आइसिटी समाजमा सार्थक सहभागिताको लागि स्थानीय सामग्रीको विकास प्रमुख आधार हो । अहिलेको नेपाली समाज केवल विश्वव्यापी सञ्जाल सामग्री डाउनलोड गर्ने वैश्विक ग्राहकको रुपमा छ । हाम्रो समाज केवल डाउनलोड समाज हो । आइसिटीको विश्व परिवेशमा यस्तो समाज इ-दासत्वको समाज हो । इ-दासत्वबाट बच्नका लागि आइसिटीमा स्थानीय सामग्री विकास गर्नु भन्दा अर्को विकल्प छैन ।

नेपाल सरकारले एक दशक पहिले नै इ-सरकार, इ-हेल्थ, इ-कृषि, इ-शिक्षा, इ-प्रशासनजस्ता महत्वाकाङ्क्षी योजना बनाएको थियो । तर आइसिटीमा सरकारी कामकाजको भाषा मानकीकरण गरेको छैन । जब भाषाकै मानकीकरण गरेको छैन भने कम्प्युटरमा कस्तो काम हुन्छ ? सवारी साधनमा इम्बोस्ड नम्बर भित्र्याउने खेल त्यति कमजोर छैन ।

आइसिटीमा स्थानीय सामग्री विकासका लागि राष्ट्रिय भाषाप्रविधि नीति आवश्यक हुन्छ । भाषाप्रविधिको मानक बनाउन ऐन कानुन वा कम्तीमा निर्देशिका बनाउनु पर्छ । यस्तो कानुन बनाउन आइजिसी (इन्टर गभर्न्मेन्टल कमिटी) मा नेपालको सौदाबाजी कमजोर हुन्छ । किनभने नेपालको कम्प्युटर सञ्चालन पद्धति र कम्प्युटर मानव इन्टरफेस दुवै छैन । त्यसैले सूचना प्रविधिमा काम गर्न विदेशीको स्वीकृति लिनुपर्ने अवस्था छ । अन्य देशले बनाइदिएका उनीहरूकै भाषाका मानक प्रयोग गर्ने ग्राहक मात्रै हो नेपाली समाज ।

कम्प्युटरमा काम गर्नका लागि भाषा मानकीकरण अनिवार्य सर्त हो । आइसिटी वा वेब सामग्री उपभोक्ताको आफ्नै भाषामा विस्तार गर्न उपभोक्ताको भाषामा प्राविधिक नियमको खाँचो पर्छ । भाषाप्रविधि नीति भाषा कम्प्युटिङको लागि डिजाइन गरिएको हुन्छ जसले सफ्टवेयर घटकहरूमा नीतिहरू निर्दिष्ट गर्दछ । भाषा कम्प्युटिङमा भाषाका प्रत्येक शब्दलाई एउटा एकाइ वा अणुको रुपमा लिएर प्रत्येक अणुको मालालाई एउटा वाक्य र वाक्य वाक्यको मालालाई एउटा अनुच्छेद वा पाठका रुपमा व्यवस्थित गर्ने गरिन्छ जुन मेसिनले पढ्नसक्ने हुन्छ ।

डा. लक्ष्मीप्रसाद खतिवडा

अङ्ग्रेजीलाई केन्द्रमा राखेर गरिएको कम्प्युटर पहुँच योग्य संरचनात्मक व्याकरण अङ्ग्रेजी भाषाको व्यापकतासँगै सिद्धान्तका रूपमा सन्सारभर फैलियो । यो सिद्धान्त विशुद्ध भाषा विश्लेषणमा मात्र सिमित नभएर कम्प्युटरबाट भाषाको विश्लेषण गर्ने अनुप्रयुक्त पद्धतिमा पनि कैयौँ दशकदेखि मूलधारमा रहँदै आएको छ । कम्प्युटरको मातृभाषा अङ्ग्रेजी हो भनेर नेपालीमा भाषाप्रविधिको विकास जरोमै निमोठियो । डिजिटल प्रविधि जस्तो सर्भर, व्यक्तिगत कम्प्युटर र मोबाइल उपकरणहरूबाट समेत इन्टरनेटमार्फत नागरिक समक्ष सूचनामा सहज पहुँच पुर्‍याउने काम सरकारी नीतिले व्यवस्था गरेको हुनुपर्छ । त्यसका लागि स्वदेशी भाषामै इन्टरफेसको निर्माण गर्नुपर्छ र परम्परागत संस्कृतिका जानकारी भण्डारण प्रक्रियाको राम्रो व्यवस्था हुनु जरुरी हुन्छ ।

नेपाली भाषामा प्राविधिक पहुँचको लागि राष्ट्रिय स्रोतहरू उपलब्ध छैनन् भने अन्य राष्ट्र भाषामा त सम्भव नै भएन । नेपाल सरकारले नेपाली भाषालाई प्रविधि र डिजिटल इन्टरफेसको संसारमा पहुँचयोग्य बनाउनको लागि धेरै काम गर्न बाँकी छ । जस्तै इनपुट प्रणाली, वर्ण पहिचान र ती वर्णहरूको सङ्केतन (डिकोडिङ), डिजिटल सामग्रीलाई टोकनाइज गर्न, सञ्जाल सामग्री पढ्न मेसिनले पढन सक्ने शब्दकोश निर्माण गरेर मानकसहित कम्प्युटरलाई बुझाउन जरुरी हुन्छ ।

समग्र भाषाप्रविधिका लागि निम्नलिखित मानक अत्यावस्यक हुन्छन् ।
– इनपुट वा प्रविष्टि मानक, सङ्केतन वा एन्कोडिङ मानक
– सामग्री भण्डारण मानक, प्लेटफर्म र समान डेटाको पुनःप्रयोगको मानक
– शब्दकोश मानक, मेसिन अनुवाद मानक, विद्युतीय सामग्रीको प्रतिलिपि अधिकार
– आइसिटी मिडियामा सङ्गीत सामग्री ढाँचा मानक

विद्युतीय सञ्जालमा स्थानीय सामग्री आश्चर्यजनक रुपमा बढ्दैछ। तर नेपाली भाषामा यस्तो जानकारी अपेक्षाकृत सीमित छ । स्थानीय भाषामा जानकारी पहुँच त्यस देशका नागरिकको अधिकार हो । कम्प्युटरमा स्थानीय भाषा र संस्कृतिलाई स्थिर राख्न वा सक्षम बनाउन भाषाप्रविधि एक शक्तिशाली उपकरण हो । नीति निर्माताहरूले स्थानीय भाषाहरूमा सूचना पहुँचको संरक्षण गर्ने तरिकाहरू खोज्नुपर्ने हो ।
भाषाप्रविधि भनेको कम्प्युटेशनल भाषाको इन्जिनियरिङ कार्य हो । भाषाप्रविधिले सामूहिक विधि अपनाएर कम्प्युटर प्रोग्रामहरू गर्दछ जुन पाठ र भाषण विश्लेषण वा उत्पादन वा परिमार्जन गर्दछ । वर्णको पहिचान, वर्णको विभाजन, वर्णमालाको डिकोडिङ, डिजिटल ढाँचामा सामग्रीको टोकन गर्न, सन्देश वा मेसेज पढ्न, शब्द र वाक्यांशहरूमा दिइएको वाक्य पार्स गरेर वाक्यहरूको विश्लेषण गर्न स्थानीय भाषाको व्याकरणिक औपचारिकता प्रदान गर्नुपर्छ । नेपाली भाषामा यी सबै सिर्जनाहरू उत्पादन गर्न नेपाली कम्प्युटिङको विकास गर्नुपर्छ ।

भाषा कोडहरू भाषा कम्प्युटिङ मानकीकरण प्रक्रियासँग सम्बन्धित हुन्छन् । तिनीहरू विभिन्न सन्दर्भमा प्रयोग गरिन्छन् । साधारणतया, भाषा ट्यागहरू आईएसओमा आधारित हुन्छन् । भाषा इन्जिनियरिङमा भाषाकोडहरू र ट्यागहरू सामान्यतया गणना गरेर परिभाषित गरिन्छ । भाषाकोडका लागि उपलब्ध बहुभाषा ट्याग प्रणालीहरू विश्वव्यापी वर्णसेटमा सङ्केतन गरिन्छ । डिजिटल सामग्री विश्लेषणको सन्दर्भमा वर्ण पहिचान महत्त्वपूर्ण कार्य हो । कम्प्युटरमा भाषा पाठ प्रोसेसिङ उचित मानकसँग उचित एन्कोडिङमा हुनुपर्छ, अन्यथा कम्प्युटर स्क्रिन वा ब्राउजरले पाठ ठीकसँग प्रदर्शन गर्न सक्दैन ।

लोक्याल एक अन्तर्राष्ट्रिय भाषाकोड सेट हो जहाँ साधारणतया भाषा र सांस्कृतिक जानकारी उपलब्ध हुन्छ । लोक्यालले भाषा कम्प्युटिङ वातावरणलाई व्यवस्थित गर्दछ जुन भौगोलिक स्थानहरू, भाषा र सांस्कृतिक जानकारीहरू, राष्ट्रिय पहिचान जस्तै क्रमबद्धता, मिति र समय ढाँचाहरू, मुद्रा ढाँचाहरू, किबोर्ड लेआउटहरू र अन्य स्थानीय सांस्कृतिक पहिचान समावेश हुन्छन् । भाषा नामहरू, नम्बरका ढाँचाहरू, अङ्क चिन्हहरू, सङ्ख्यात्मक भाषा लिपि नामहरू, स्थानीय समय र क्षेत्रहरू, मिति र समयका ढाँचाहरू, गाउँ र शहरका नामहरू, गल्ली र बाटाका नामहरू, मुद्रा नाम, मुद्रा प्रतीक, सकारात्मक मुद्रा ढाँचा, नकारात्मक मुद्रा ढाँचा, दशमलव प्रतीक, अङ्क समूहको प्रतीक, रुपैयाँ समूहबद्धता जस्तै सय, हजार, लाख, करोड छुट्याउने तरिका मानक स्पष्ट हुनुपर्छ ।
कम्प्युटरमा प्रविष्टि वा किबोर्ड लेआउटले स्थानीय प्रणालीमा असर गर्दछ । अङ्ग्रेजको बच्चाले एक पटक किबोर्डमा हात बसाएपछि जिन्दगीभर पुग्छ । तर नेपालीको बच्चाले ३२ वटा किबोर्ड चलाउनु पर्छ । कहिले एउटा कहिले अर्को । कहिले प्रीति, कहिले कान्तिपुर, कहिले हिमाली, कहिले अशोक, कहिले मदन, कहिले मङ्गल के के के के । फन्ट जे जे प्रयोग गरे पनि प्रविष्टि एकैखाले हुनुपर्छ । एक पटक किबोर्डमा हात बसेपछि दश थरि किबोर्ड सिक्नु नपरोस् ।

फरक फरक देशको मिति र समयको ढाँचा विशिष्ट हुन्छ । वाइवाइ एमएम डिडि, डिडि एमएम वाइवाइ वा एमएम डिडि वाइवाइ (YYYY-MM-DD, DD-MM-YYYY वा MM-DD –YYYY) जस्ता स्थानीय संस्कृति अनुसारका ढाँचाहरु हुन्छन् । उदाहरणका लागि, ग्रेगोरी पात्रो अनुसार ०१/०१/२०१८ हुन्छ । तर विक्रम पात्रो अनुसार २०१८/०१/०१ हुन्छ । नेपाली इन्टरफेस स्थानीय भाषामा हुनुपर्छ र स्वचालित मिति रुपान्तरण गर्ने व्यवस्था हुनुपर्छ ।

नेपाली कर्मचारीले सरकारी कामको दैनिक सात घण्टामध्ये मिति परिवर्तनमा मात्र तीन घण्टा समय बिताउँछ । त्यसमा पनि नेपाल सरकारको आफ्नो मिति रुपान्तरण मानक छैन । कम्तीमा एक लाख कर्मचारीले प्रतिदिन तीन घण्टाका दररले महिनाको पचहत्तर लाख घण्टा र वार्षिक नौ करोड घण्टा त मिति परिवर्तनमा बिताउने रहेछ । अनि कर्मचारीको उत्पादकत्व भएन भनेर तिनै कर्मचारीले गाली खनुपर्छ ।

नेपालमा भएका बैङ्किङ अपराधमध्ये आफ्नो इन्टरफेस नहुनु, पाइरेटेड कम्प्युटर चलाउने पद्धति हुनु, पासवर्डको सुरक्षा गर्न नसक्नु, अर्काको सर्भरमा भर पर्नु जस्ता कमजोरी औँल्याएको छ । कम्प्युटर चलाउने बारे नेपालको एउटा पनि मानक छैन । जिओभी डट एनपी प्राइभेट कम्पनीको जिम्मा दिएको छ । सरकारमा बस्ने मन्त्रीहरू सांसद हुँदा कम्प्युटर चलाउन सिक्छन् त्यो पनि सरकारी खर्चमा । अनि नीति बनाउने कुर्सीमा पुग्छन् । सञ्जाल अपराध विज्ञान कुन चराको नाम हो सुनेको पनि हुँदैन । त्यस्तालाई कसरी कुरा बुझाउनु ? तैपनि आवाज उनीहरूकै सुन्नुपर्ने विचरा नेपालीहरूको नियति ।
कम्प्युटर इन्टरफेसमा मुद्रा प्रदर्शन गर्दा, लेनदेन गणना गर्दा स्थानीय मुद्रा सङ्केतको प्रयोग गर्नुपर्ने हो । विभिन्न देशहरूको राष्ट्रिय वा अन्तर्राष्ट्रिय मुद्रा सङ्केतक वा निर्देशक चिन्ह हुन्छ । जस्तै यूरो वा पाउन्ड वा रुबल, दिनार वा भाट लाई कम्प्युटरमा परिचित गराएर स्वचालित मुद्रा परिवर्तकको व्यवस्था गरेको हुन्छ । यस्तो कुरा कम्प्युटर खोल्दा नै स्वदेशी मानकमा कम्प्युटर खुल्नुपर्छ । कम्प्युटर खोल्दा नेपाली लोक्यालमा खुल्नु पर्ने हो तर नेपालको हकमा कि इएनजिबी वा ग्रेट ब्रिटेनको अथवा इएनयुएस वा अमेरिकाको लोक्यालमा खुल्छ । अनि उरन्ठेउला नेता गफ हाँक्छन्- नेपालको सरकार अब इ-सरकारका माध्यमबाट चलाउँछौँ । सरकारी कामकाजको भाषाको कम्प्युटरमा प्रविष्टि विधि र कसरी डाटा भण्डारण गर्ने भन्ने सम्म पनि थाहा छैन । कति दयनीय अवस्था छ यो देशको ।
नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ वा प्राकृतिक भाषा अध्याहार स्कुल कलेजमा पढाएर आफ्नो देशका सांस्कृतिक अवधारणाहरूको प्रतिनिधित्व हुनेगरी कम्प्युटरलाई बुझाउनु पर्छ अनिमात्र स्वदेशी भाषा संस्कृतिको रक्षा गर्न सकिन्छ भनेर कसरी बुझाउने ?

प्राकृतिक भाषा अध्याहारका माध्यमबाट भाषा र व्याकरणको अनुशासनद्वारा कम्प्युटरलाई स्थानीयकरण गर्न सकिन्छ । नेपाली भाषा मानकीकरण गर्न सके नेपाली भाषामा सफ्टवेयर उत्पादन गर्न सकिन्छ । नेपालको विकासमा स्वदेशी सोचको अभाबले गर्दा डिजिटल डाटा भण्डारण वा स्थानान्तरणमा सरकारको नियन्त्रण छैन । डाटा स्थानीयकरण नीतिमा डाटाको परिभाषादेखि स्थानीयकरण पूर्वाधार विकास हुनसकेको छैन । यस्तो काम गरिएन भने सूचना प्रविधिका माध्यमबाट हुने विदेशी भाषा र संस्कृतिको हस्तक्षेपले नजानिदो रुपले आइसिटि उपनिवेशतिर धकेल्छ ।

नेपाली भाषा कम्प्युटिङ, मानकीकरणको चुनौतीहरू पत्ता लगाएर आइसिटी एकीकरणमा काम गर्नसके अन्य राष्ट्रभाषा भाषी विद्यार्थी पनि आफ्नै मातृभाषामा काम गर्न प्रेरित हुन्छन् । यसबाट दबाब सिर्जना हुन्छ र फलस्वरुप नेपाललाई सूचना प्रविधिको क्षेत्रमा उपनिवेशबाट बाहिर निकाल्न नागरिक पहलमै राम्रा काम हुनसक्छन् ।

नेपाललाई आइसिटीमा सार्थक सहभागिता गराउन उचित नीतिको आवश्यक हुनु जरुरी छ । यसकाका लागि स्थानीय सामग्री प्रमुख आधार हो । भाषाप्रविधि बेगर यो सम्भव हुँदैन । विश्वव्यापी सञ्जाल सामग्री डाउनलोड गरेर मात्र इदासत्वबाट मुक्ति मिल्दैन । आइसिटीको परजीवी समाजका रुपमा नेपाललाई कहिलेसम्म फसाइराख्ने ?

The post नेपाल यसरी बनिरहेछ सूचना प्रविधिको परजीवी समाज appeared first on Sajha Post.

‘क्रोनी क्यापिटालिज्म‘ भर्सेज् ‘सामाजिक फासीवाद’

$
0
0

गत महिनाको मध्यतिर सानो कामले लाहान पुगेको थिए । मित्र विनोद विशुंखेले भने– ‘प्रदीप अंकल आश्रम आउनु भएको छ, भेटन जाने हो ?’ कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरी बौद्धिकवृतका लागि सर्वथा आदर, स्नेह र आकर्षणका पात्र रहे । मेरा लागि पनि यो कुरा उत्तिकै लागू हुन्थ्यो । नेपाली कांग्रेसका लागि सहज नरहेको गत संसदीय निर्वाचनमा उनले जिते, त्यो पनि लाहानजस्तो निर्वाचन क्षेत्रबाट । सिराहामा उनको बस्तीपुर आश्रमको चर्चा यदाकदा सुनेको थिए । त्यो हेर्ने इच्छा थियो । भने– ‘हुन्छ, जाऔं ।’

अघिल्लो साँझ ठूलो हावाहुरी आएको थियो । जताजतै रुखका हाँगाहरु लछारिएका थिए । झुप्राका छानाहरु उजाडिएका थिए । खोला किनारको अनुप्जाउँ जमिनमा आँप बगैचा लगाएका रहेछन्, उनले । ठूलै आँप बगैंचा । तर हुन्डरीले सबै टिकलाहरु झारेर आँपका बोटलाई सिट्टा/सिक्रा बनाएको थियो । भेट भयो । अरु अनौपचारिक कुरा छोडौं अहिले ।

उनको सोचको पछिल्लो जिष्ट थियो, ‘पुँजीवाद र साम्यवादभन्दा प्रजातान्त्रिक समाजवाद विश्वव्यापीरुपमा नै कमजोर वैचारिक परम्परा र आन्दोलन हो । त्यसमाथि हाम्रा कांग्रेसीहरु छलफल गर्न अल्छी मान्छन् । कांग्रेस अहिले पनि बलियो संगठन हो । नेपाली समाजको व्यवहारिक यथार्थसँग राजनीतिलाई कसरी म्यानेज गर्नुपर्छ, कांग्रेसीहरुलाई राम्रो थाहा छ । त्यही भएर बढो असहज अवस्थामा यसपटक ७१ वर्षको उमेरमा चुनाव जिते । तर व्यवहारिक राजनीति म्यानेज गर्दागर्दै कांग्रेसीहरु नेता हैन, म्यानेजरजस्तो भएका छन् । जति नै बलियो र व्यवहारिक संगठन भए पनि राजनीतिको सारतत्व अन्ततः एजेण्डासँग जोडिएको हुन्छ । एजेण्डा दृष्टिकोणसँग र दृष्टिकोण आइडोलजीसँग जोडिएको हुन्छ । नेतृत्वसँग कुनै आइडोलजी नै नभएपछि के हुन्छ ?’

त्यसको केही दिनपछि कांग्रेस केन्द्रीय समिति बैठकमा गगन थापासहित सात भाइ युवाले ५१ पृष्ठ लामो भिन्नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको सुनेँ । पढन मन लाग्यो, खोजेर पढेँ । कम्युनिष्ट पार्टीहरुमा यस्तो दस्तावेजलाई ‘फरक मत’ भन्ने गरिन्छ । कांग्रेसमा यस्तो प्रचलन छ कि छैन थाहा भएन । दस्तावेजको ‘औपचारिक हैसियत’ आधुनिक लोकतान्त्रिक युगमा खासै रुचि र महत्वको विषय हैन । महत्वको विषय हो कस्ता मान्छेहरुले के कुरा उठाए ? त्यसको ‘कन्टेन्ट’ कस्तो छ ?

डम्बर खतिवडा

भनिरहनु परेन कि यो दस्तावेजसँग जोडिएका कांग्रेसी युवाहरुको ‘पब्लिक इमेज’ तुलनात्मकरुपमा अहिले पनि राम्रो छ । उनीहरु कांग्रेसजस्तो परम्परावादी र जड संगठनभित्र अनेक जनसरोकारका सवाल फरक कोणबाट उठान गरिरहेका हुन्छन् । त्यो सकारात्मक पक्ष हो । तर एउटा भनाई यहाँनेर सान्दर्भिक हुन्छ । त्यो के भने– ‘बेइमानहरुको अवसरवादभन्दा इमान्दारहरुको अवसरवाद बढी हानीकारक हुन्छ ।’ बेइमानहरुको सार्जजनिक छवी राम्रो हुँदैन । उनीहरुको पछाडि कमै मान्छे लाग्छन र क्षती पनि कमै हुन्छ । तर इमान्दारहरुसँग धेरैको विश्वास हुन्छ । उनीहरुले गलत बाटो रोजे भने क्षती पनि धेरै हुन्छ ।

यहाँनेर मेरो आसय यो हैन कि सात भाइ कांग्रेसीहरु पूर्णतः ‘इमान्दार अवसरवादी’ हुन । कति मात्र हो भने– कांग्रेसको भविष्य मूलतः यही पुस्ता र धारकोसँग जोडिएको छ । आज कांग्रेसको संस्थापन पक्षसँग जेजस्ता व्यक्ति/व्यक्तित्व जोडिएका छन्, ती उमेर, उद्देश्य र अनेक नियतिले संकुचित हुँदै गइरहेका छन् । ती केही दिनका पाहुना मात्र हुन् । यदि यी नयाँ भनिएकाहरुले पनि दृष्टिकोण र आइडोजलीका हिसाबले ठीक बाटो समात्न सकेनन् भने फेरि पनि कांग्रेसले बाटो बिराउने नै हो । कांग्रेसले बाटो बिराउनु न बिराउनु खासै सरोकारको विषय हैन । तर कुनै न कुनै रुपमा जनमतलाई प्रभावित गर्ने उसको जुन क्षमता छ, त्यसले बाटो बिराउँदा देशले दुःख पाउँछ । त्यहाँनेर सबैको सरोकार हुन्छ ।

प्रदीप गिरीकै भनाईलाई प्रस्थानविन्दू बनाएर हेर्दा सात भाइ कांग्रेसीहरुको मुख्य समस्या फेरि पनि वैचारिक नै हो । उनीहरु कांग्रेसलाई ‘उदार लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता’ को पैरवीकर्ता र संरक्षक दलका रुपमा चित्रित गर्दछन । त्यसो गर्दा उनीहरु कुन ‘आइडोलोजिकल स्पेश’ मा प्रवेश गर्दछन् भन्ने कुरामा कुनै वास्ता गरेको देखिन्न ।

विश्वमा मूलतः यतिखेर मुख्य तीन वैचारिक धारहरु छन्– पुँजीवाद, साम्यवाद र समाजवाद । राजनीतिक विचारधाराको जन्ममा ‘व्यक्तिवाद’ र ‘सामूहिकता’, ‘स्वतन्त्रता’ र ‘समानता’ मुख्य विभाजक तत्वहरु हुन । स्वतन्त्रता र व्यक्तिवाद मूलतः उदारवाद/पुँजीवादको पैरवी हो । सामूहकिता र समानता मूलतः साम्यवादको पैरवी हो । समाजवाद यी विचारधाराभन्दा फरक किन हुन्छ भने त्यसले ‘व्यक्तिवाद’ र ‘सामूहिकता’ लाई, ‘स्वतन्त्रता’ र ‘समानता’ लाई ‘निषेधको निषेध’ मा नभएर ‘गतिशील सन्तुलन’ मा हुने अविभाज्य प्रवर्गका रुपमा हेर्दछ । सात भाइ कांग्रेसीहरु एकातिर आफूलाई कम्युनिष्टहरुले ‘पुँजीवादी’ भनेकोमा दुःख मनाउँ पनि गर्दछन्, पुनश्च आफै त्यही वैचारिक स्पेशमा पुग्दछन् ।

संसारमा कुनै समाज निजी मात्र वा सामूहिक मात्र हुँदैन । नत स्वतन्त्रता र समानतामध्ये एकको मूल्यमा अर्कोलाई छान्न नै सकिन्छ । व्यक्ति स्वयं सामूहिकताको उपज हो । मातापिता र परिवारको जैविक, शारीरिक तथा पारिवारिक योगदान विना व्यक्ति अस्तित्वमा आउँदैन । त्यो सामूहिकताको अनिवार्य उपस्थिति हो । तर व्यक्ति मातापिताबाट जन्मिए पनि त्यो स्वयं मातापिता नै हैन । त्यो अलग व्यक्तित्व हो । अर्थतन्त्रमा श्रम र पुँजीको अन्तर्सम्बन्ध पनि त्यही हो । पुँजी श्रमबाटै जन्मिएको हुन्छ तर पुँजी श्रमभन्दा अलग व्यक्तित्व पनि हो । दार्शनिक तहमा यो यथार्थलाई स्वीकार गर्नु नै मूलतः पुँजीवादी वा साम्यवादी भन्दा फरक समाजवादी हुनु हो ।

नेपालमा कांग्रेसले यही कुरा बुझ्न नसक्दा सन् १९९० पछि पुँजीवादी बाटोमा लाग्यो । त्यसका विकृतिहरुको दोष आज कांग्रेसले पाइरहेको छ । कांग्रेसका दोषहरुको चाङमा कम्युनिष्टहरु उदित भएका छन् । तर उनीहरु अर्को कोणबाट एकांकी छन् । आज पनि उनीहरु लेनिनवाद, स्टालिनवाद माओवाद, क्यास्त्रोवादजस्ता सोचलाई गौरवीकरण गर्दछन्, जसको अबको लोकतान्त्रिक युगमा कुनै सान्दर्भिकता नै बाँकी छैन । मार्क्सवादको कुरा भने भिन्नै हो । दार्शनिक रुपमा त्यसबाट थुप्रै कुराहरु सिक्न सकिन्छ । यसर्थमा कांग्रेस चिन्तक वीपी कोइराला, सीके प्रसाई र प्रदीप गिरी मार्क्सवादका कयौं प्रस्तावनाहरुप्रति सकारात्मक धारणा राख्दछन् । सात भाइ कांग्रेसीहरुले आफ्नो दस्तावेजमा समाजवादीहरु मार्क्सवादबाट सिकेको कुरा के हुन् र कम्युनिष्टहरुको विरोध गरेको कुरा के हो, त्यसको प्रष्ट सीमारेखा कोर्न सकेजस्तो लाग्दैन ।

व्यक्ति विनाको समाज वा समाज विनाको व्यक्ति जति असम्भव कुरा हो, स्वतन्त्रता विनाको समानता वा समानता विनाको स्वतन्त्रता पनि त्यतिकै असम्भव कुरा हो । आजको चीन, उत्तरकोरिया क्युवालाई साम्यवाद, अमेरिका, बेलायत भारतलगायतलाई पुँजीवाद र नोर्डिक मुलुकहरुलाई समाजवादको मानक मानेर हेर्ने हो भन्ने तथ्यांकहरुले यो भेदलाई व्यवहारिकरुपमा पुष्टि गर्दछन् । यी तीन ब्लकहरुमध्ये मानवीय स्वतन्त्रता, आर्थिक समृद्धि, लोकतन्त्रको शुद्धता र प्रभावकारिता, मानवीय खुशी कहाँ बढी प्रत्याभूत छ, प्रष्टै देखिन्छ । आफ्नो वैचारिक प्रस्थानविन्दूमा नै पुँजीवादी स्पेशलाई स्वीकार गरिसकेपछि कम्युनिष्टहरुले कांग्रेसलाई ‘सन् १९९० पछिको उदारवादी अर्थतन्त्रको नकारात्मक पक्षको जिम्मेवार पात्र’ का रुपमा चित्रित गरे भनेर गुनासो गर्नुको कुनै तुक रहँदैन ।

सात भाइ समूहले २०१५ सालको पहिलो संसदीय आम निर्वाचनदेखि २०७४ को संघीय, प्रादेशिक र स्थानीय निर्वाचनसम्म आइपुग्दा कांग्रेसको भोट कसरी स्थिर रह्यो वा घट्यो र कम्युनिष्टहरुको भोट कसरी निरन्तर बढ्दै गयो भन्ने कुरालाई प्रतिवेदनको मुख्य चुरो बनाएको देखिन्छ । यसरी हेर्दा यो प्रतिवेदनको सारतत्व फेरि पनि राजनीतिक परिदृष्यको विहंगम विश्लेषण नभएर प्रकारान्तले हारको मनोवैज्ञानिक पीडा नै बन्न पुग्छ । यहाँनेर उनीहरु नेपालमा कम्युनिष्टहरु विशेषतः एमालले क्रोनी क्यापिटाज्मिका रुपमा समाजको सबै पक्षमा कब्जा जमाएको कुरालाई जोडदार ढंगले चित्रण गर्न खोजिएको छ ।

वस्तुतः यो कोणमा नेपाली कांग्रेसका खराबी वा कमजोरीहरुको वैचारिक प्रवृति चाहिँ के थियो त? ‘क्रोनी क्यापिटाज्मि’ भनेको के हो ? राज्यशक्तिको बर्चश्वलाई आफू र आफ्नाका लागि मात्र पहुँच हुने गरी सीमितिकरण गर्नु नै मूलतः क्रोनी क्यापिटालिज्म हो । २०४७–२०६३ अवधिको मुख्य राजनीतिक प्रवृति विशेषतः गिरिजाप्रसाद कोइरालाको शासनका प्रारम्भिक वर्षहरुबाट नै नेपालमा क्रोनी क्यापिटालिज्म शुरुवात भइसकेको थियो । यो अवधिमा एमाले तुलनात्मक रुपमा बढी प्रतिपक्षी दल र संयुक्त सरकारमा पनि कांग्रेस कै नेतृत्वमा रह्यो । यस अवधिमा कांग्रेसले दुई पटक बहुमत प्राप्त गरेर पनि म सदुपयोग गर्न नसकेको यथार्थ सबैका सामु छँदैछ ।

यहाँनेर पनि ७ भाइ कांग्रेसीहरु वैचारिक रुपमा नै झुक्किएका छन् । नेपालमा ‘क्रोनी क्यापिटाज्मि’ को वास्तविक प्रतिनिधि राजनीतिक संस्था नेपाली कांग्रेस नै हो, एमाले वा कम्युनिष्टहरुले त ‘सामाजिक फासीवादी’ चिन्तनलाई संस्थागत गरेका हुन् । त्यसो भए क्रोनी क्यापिटाज्मि र सामाजिक फासीवाद किन कसरी फरक छ त ? ‘क्रोनी क्यापिटालिष्ट’ भनेको आर्थिक उदारीकरणको युगमा नियमक संस्थाहरुको कमजोरी वा अनुपस्थितिलाई उपयोग गरेर सीमित व्यक्ति र उसका आसेपासेहरुले ‘बर्चश्वको दुस्चक्र’ निर्माण गर्ने प्रवृति र अर्थव्यवस्थामा त्यसको दुस्प्रभाव हो । यस्तो प्रवृति नेपालका नेपाली कांग्रेसले नै शुरुवात गरेको हो । सात भाइ कांग्रेसहरु यदि कांग्रेसको आधुनिकीकरण, अझ बढी लोकतान्त्रिकरण गर्न चाहन्छन् भने स्वयं कांग्रेसभित्र उनीहरुले यो प्रवृतिसँग लडन सक्नु पर्दछ ।

उनीहरुले ठीकै चित्रण गरेका हुन– आर्थिक उदारीकरण तथा निजीकरणको नीति कांग्रेसले ल्यायो । त्यसको व्यवहारिक फाइदा भने नेपालका कम्युनिष्ट कार्यकर्ताहरुले बढी उठाए । कम्युनिष्ट कार्यकर्ताहरु निजी शिक्षा र स्वास्थ्य, सहकारी, गैसस, मेनपावर कम्पनी, घरजग्गा कारोवारजस्ता क्षेत्रहरुमार्फत् आर्थिक रुप बलियो बने । त्यही बर्चश्वको विस्तरमार्फत् स्थानीय सामाजिक जीवनका हरेक पक्षहरुमा कब्जा जमाउँदै गए । आज सामुदायिक वन उपभोक्ता समूहदेखि आमा समूहसम्म, टोल विकास संस्थादेखि विभिन्न सामाजिक संघसंस्थासम्म उनीहरुको ठूलो कब्जा छ ।

तर त्यो क्रोनी क्यापिटालिज्म थिएन । मूलतः नेपालमा गिरिजाप्रसाद कोइरालाको उदयपछि कांग्रेसहरु वंशगत राजनीति, परम्परागत स्थानीय जिमिन्दारी वर्चश्व, ठेक्कापट्टा, कमिसन र पवार ब्रोकरिङ्गतिर सीमित हुँदै गए । जुन क्षेत्र कम्युनिष्ट कार्यकर्ताहरुले रोजे, त्यो पञ्चायतकालमा राम्ररी विकसित भइनसकेको ब्लान्क क्षेत्र थियो । अर्थात् कांग्रेसीहरुले इग्नोर गरेका नयाँ आर्थिक क्षेत्रहरु नै विगत दुई दशकमा झनै प्रभावशाली क्षेत्रका रुपमा विकास भए । आज त्यही बर्चश्वले कम्युनिष्टहरुलाई शक्तिशाली बनाइदिएको छ भने कांग्रेसलाई संकटमा पारिदिएको छ ।

कांग्रेस कमजोर हुँदै जानुको एउटा कारण आर्थिक वर्चश्वका परम्परागत आधारमा बढी विश्वास गर्नु हो । तर कम्युनिष्टहरुले समाजमा आफ्नो आर्थिक वर्चश्व मात्र निर्माण गरेनन्, कांग्रेस सामाजिक, राजनीतिक, संगठनात्मक परिचालनमा अल्छी देखियो । कम्युनिष्टहरुले आर्थिक बर्चश्वलाई सामाजिक बर्चश्व विस्तारको माध्यम बनाए । एकातिर उदारीकरणले उलपब्ध गराएका नयाँ आर्थिक क्षेत्रहरुमाथि कब्जा, अर्कोतिर बलियो संगठनात्मक परिचालन र सामाजिक जीवनका सबै अवयवहरुको पार्टीकरण समाजिक फासीवादको परिचायक हो ।

लोकतन्त्रले क्रिटिकल मास माग गर्दछ, जनमतलाई पार्टीकरण गर्दैन । सवाल र एजेण्डा आधारित मतदानका लागि जनसमुदायलाई प्रेरित गर्दछ । तर कम्युनिष्ट स्कुलिङ्गले ‘पार्टी संस्था’ को अतिआदर्शीकरण गर्दछ । एकपटक कुनै पार्टीको संगतमा परेपछि जिन्दगीभरि त्यहीसँग रहनु पर्दछ, त्यसलाई छोडनु, भोट नदिनु धार्मिक आस्थाबाट च्यूत भएजस्तै हो भन्ने जब्बर मनोविज्ञान निर्माण गर्दछ । औसत नेपालीहरु १४–१८ वर्षको उमेरमा राजनीतिक सँगतमा आउँछन् । एकातिर उनीहरुको मातापिताको राजनीतिक आस्थालाई पछ्याउने प्रवृति रहन्छ नै । अर्कोतिर त्यो कलिलो उमेरमा छानेको पार्टी वा विचारलाई जिन्दगीभर साथ दिनु पर्ने नैतिक प्रश्न बनाएपछि एजेण्डा गौण हुन पुग्दछन् ।

वास्तवमा नेपाली मतदाताबीच एजेण्डाको खासै छलफल नै हुँदैन । आफ्नो पार्टीले जे भने पनि ठीक, अर्को पार्टी जे भने पनि गलत भन्ने मनोविज्ञान नेपाली समाजमा कम्युनिष्टहरुले निर्माण गरेका छन् । त्यो मूलतः समाजिक फासीवाद हो । तसर्थ, आज कांग्रेस भर्सेज कम्युनिष्टको लडाई भनेको क्रोनी क्यापिटालिज्म भर्सेज समाजिक फासीवादको लडाई हो । कांग्रेसले लोकतान्त्रिक तथा प्रगतिशील तप्काको नेतृत्व गर्दागर्दै कम्युनिष्टहरुको आकस्मिक उदय भएको हैन ।

यहाँनेर सात भाइ कांग्रेससँग प्रश्न गर्न सकिन्छ– के तपाईहरु कांग्रेसको आधुनिकीकरण, लोकतान्त्रिकरण गर्न तयार हुनुहुन्छ कि कम्युनिष्टहरुले जिते भन्ने कुन्ठा र हिनताभाष मात्र हो ? जब मुख्य दुवै पार्टीहरु उत्तिकै यथास्थितिवादी चरित्रको प्रतीकका रुपमा उभिन्छन कांग्रेसलाई भोट दिइरहनु पर्ने औचित्य कहाँनेर रहन्छ ? क्रोनी क्यापिटालिज्म भर्सेज सामाजिक फासीवाद नेपाली नागरिकका लागि तावा र भुंग्रोबीचको खेल मात्र हो । तावामा जलेपनि भुंग्रोमा जले पनि हुने परिणाम एउटै हो ।

यसरी बहस गर्न सकिने विषय थुप्रै छन् । सानो लेखमा सबै कुरा उठाउन संभव हुँदैन । तथापि सात भाइ कांग्रेस मित्रहरुसँग निम्न प्रश्न गर्न चाहन्छु-

एक– के तपाईहरु लोकतन्त्रको आम संसदीय र प्रतिनिधिमुलक चरित्रभन्दा फरक कांग्रेसलाई सहभागितामुलक लोकतन्त्रको पक्षधर पार्टी बनाउन सहमत हुनुहुन्छ ?

दुई– कांग्रेस साँच्चै समाजवादी पार्टी हो भने हिजो जे भयौं छोडौं, अब शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्न वा निजी र सार्वजनिक शिक्षा/स्वास्थ्यबीचको विभेद अन्त्य गर्न सहमत हुनुहुन्छ ?

तीन– कांग्रेसलाई परम्परागत वंशवाद, स्थानीय जिमिन्दारी वर्चश्व, ठेक्केदार, पावरब्रोकर र डनहरुको प्रभावबाट मुक्त उदात्त प्रतिभाहरुको पार्टी बनाउन प्रतिवद्ध हुनुहुन्छ ? कम्युनिष्टहरुले कर्मचारी लगायत सरकारी वेतनधारी क्षेत्रहरुमा त्यति बलिया ट्रेड युनियन बनाए, उनीहरुको वर्चश्वको एउटा आधार त्यो पनि हो, तपाईहरु ती क्षेत्रमा आफ्ना ट्रेड युनियनहरु खारेज गरेर उनीहरु नैतिक दबाब सृजना गर्न सक्नु होला ?

चार– के नेपाली कांग्रसभित्र राजनीतिक लागतको आर्थिक पारदर्शिता अपनाउन सम्भव छ ? वा कांग्रेसभित्र तपाईहरु त्यसको पक्षमा पैरवी गर्न सक्नुहुन्छ ? प्रभावशाली भनिएका कांग्रेस उम्मेद्वारहरुले चुनावमा कति खर्च गर्छन् र निर्वाचन आयोगमा कसरी फर्जी विवरण बुझाउँछन्, त्यो तपाईहरुलाई थाहा नभएको हो र ? पारदर्शी राजनीतिक लागत प्रणालीसँग सम्बन्धित ऐन, कानुन, संस्कार र संस्कृति निर्माण गर्न किन कांग्रेसको ध्यान कहिल्यै गएन ?

पाँच– नेतृत्वले मधेशलाई समेटन नसकेको जुन तपाईहरुको गुनासो छ, त्यहँनेर कांग्रेस चुक्नुमा संघीयतालाई जातीयता बुझ्ने वा मधेस आन्दोलनलाई केवल भारतीय हितसँग मात्र जोडेर हेर्ने तपाईहरु भित्रकै केही युवा नेताहरुको दृष्टिकोण जिम्मेवार छैनर ? चन्द्र भण्डारी लगायतका मित्रहरुले ५ नं. प्रदेशका बेला जुन भूमिका गर्नु भो, के त्यस्तो दृष्टिकोणले मधेश समेटिन्थ्यो ? भाषिक, साँस्कृतिक, सामाजिक आन्दोलनलाई केवल जातीयता मात्र बुझ्दा नेपालमा संघीयताको मोडल नै भ्रान्त र विकृत भएजस्तो तपाईहरुलाई लाग्दैन ? ओली उदयको प्रस्थानविन्दू यही हैन र ? संविधान निर्माणमा सुशिल कोइरालाको भूमिका ओलीको छायाजस्तो बन्न पुग्नु वा अखण्ड सुदुरपश्चिमजस्ता आवेगी आन्दोलनलाई मद्दत गर्न देउवाका लागि ओली ढाल सरह बन्न पुग्नु यो पक्षलाई तपाईहरुले खै देखेको ? आज सीमांकन सम्बन्धी बाँकी विवादमा तपाईहरुको धारणा के ?

भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा देशमा जुन विभाजित मनोविज्ञान देखियो, त्यसले मधेशलाई मनोवैज्ञानिक रुपमा कसरी क्रिमिया वा क्याटोलोनियाको बाटोतिर धकेलिरहेको छ भन्ने पीडा वा भय तपाईहरुको मनमा उत्पन्न हुँदैन ? विशेषतः चन्द्र भण्डारी र धनराज गुरुङ्गले संघीयता निर्धारणका सन्दर्भमा जुन प्रकारको अभिव्यक्ति गर्नु भो, आज ओलीज्मको उदयको एउटा आधार त्यो पनि हो भन्ने बुझ्न चाहनुहुन्छ वा हुन्न ? संभवत् यी प्रश्नहरुको उत्तर विना कांग्रेसको फिर्ती सहज छैन ।

The post ‘क्रोनी क्यापिटालिज्म‘ भर्सेज् ‘सामाजिक फासीवाद’ appeared first on Sajha Post.