अमेरिकी राष्ट्रपति बाराक ओबामाले २००८ ताका चुनावमा आफ्नै साथी डिभल प्याट्रिक, मार्टिन लुथर किङ्ग र जोन एफ केनेडिको राजनीतिक विचार हुबहु प्रयोग गरेको मिडियाले समातेपछि ओबामाले साथीलाई क्रेडिट नदिएर गल्ती गरेको स्वीकारेका थिए । त्यस्तै प्रकारको अभिव्यक्ति केहि हप्ताअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिए । नयाँ शक्तिले उठाएका मुद्दाको हुबहु भाषण दिएर । ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि नयाँ शक्तिको कतिपय मुद्दाहरु बोल्ने गरेका थिए आर्थिक समृद्धिको । प्रचण्डले पनि लड्ने, ठोक्ने, जसले माग्यो त्यसलाई राज्य दिने भन्ने लाइन छोडेर आर्थिक समृद्धिको त्यहि भाषा कपि गरे ।
स्मरण रहोस्, यहाँ आर्थिक समृद्धिको सबै मुद्दा नयाँ शक्तिको भन्न खोजिएको हैन । कुन नेताले अहिलेसम्म दिएको भिजन र उसको वैचारिक धरातल र अध्ययनको पृष्ठभूमिअनुसार बजारमा सुनेका हल्लाबाट प्रेरित भएर दिएको फरक किसिमको भाषणलाई मध्यनजर गरिएको हो । हो, विगत केहि वर्षदेखि निरन्तररुपमा बाबुराम भट्टराई र नयाँ शक्ति गठनपश्चात उक्त पार्टीका अभियन्ताहरुले निरन्तर आर्थिक समृद्धिका मुद्दालाई उठान गर्दै यो नै अबको प्रमुख कार्ययोजना हुनुपर्ने बताउँदै आएको छ र तदनुरुप माहोल सृजना गरेको कुरा भन्दा कसैले हिच्किचाउनु पर्छजस्तो लाग्दैन ।

कांग्रेसले उठाएको संविधानसभाको माग माओवादीले उठायो । माओवादीले उठाएको गणतन्त्रको मुद्दा कांग्रेस एमालेले बोके, मधेसवादी दलको संघीय माघ सबैले अङ्गीकार गरे । त्यस्तै जनजाति अन्दोलनले ल्याएको समानुपातिक र आरक्षणका मुद्दा अहिले सबैका भाषणमा बोलिने विषय भएका छन् । नेपालमा आफुले जे बोले पनि आफ्नै असल अरुले सुरुवात गरेको भन्ने चलन छैन । हुनत पी.एच.डी.को थेसिस किनबेच हुने हाम्रो मुलुकमा राजनीतिक एजेन्डा नक्कल गर्नु सामान्य मानिन्छ ।
राजनीतिक मुद्दा उठाउँदा दलको नियत र त्यसको नेतृत्व कति इमान्दार छ भन्ने कुराले ठूलो महत्व राख्ने कुरा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जनताले दिएको म्यान्डेट र दलहरुले त्यसलाई लागू नगरेको अवस्थाले छर्लंग पारेको छ ।
कुनैपनि दल र आन्दोलनले उठाएका मुद्दा कति सहि र कति गलत भन्ने कुरा कुन दृस्टिकोणमा कसले गरेको निर्णय हो भन्ने कुराले महत्व राख्दोरहेछ । एउटा दलले सफल भनेको मुद्दा अर्को दलले घोर असफल भनिरहेका हुन्छन् । सफल र असफलताको कसी भनेको ति मुद्दाले देश र जनताको जीवनमा पारेको सकारात्मक परिवर्तनबाट मापन गर्नुपर्ने हुन्छ ।
आजका दिनसम्म देशको अर्थतन्त्र, जनताको स्तर, प्रशासनको रवैया, बिना योजनाका अनियन्त्रित विकास र सहरीकरणले केवल भूमण्डलीय विश्वको बजार बिस्तार र योसँगै जटिल बन्दै गरेका सामाजिक, सांस्कृतिक, राजनैतिक व्यवस्थाहरुदेखि विदेशी डलरे निकायहरुको प्रयोगशाला बन्नु बाहेक अरु उपलब्धि नाम मात्रका भएका छन् । यहाँ परिणामका दृष्टिले मापन गर्ने आधार के छ ?
कुनै पनि मुद्दाको जित वा हार भन्दापनि अब अधिकार र वा कानुनका लागि भन्दै चलाइने आन्दोलनहरुको औचित्य समाप्त भएको छ । कसैले माग्ने कसैले दिने भन्दा सहअस्तित्व र समभावबिना कुनै वाद नटिक्ने प्रस्ट भएको छ । यो कुरा पुराना राजनीतिक शक्तिहरुले अहिलेसम्म महसुस नगरेको वा महसुस गरेर पनि सत्ताको हानथापको खेल सम्झेर अल्झाई रहेको पुरानै परिवेश छ ।
संविधान संशोधन गरेर सबैका मुद्दा समेट्ने कुरा, आम निर्वाचन, संघीय सीमा निर्धारणका कुरा ओझेलमा पर्नु र प्रत्येक सत्ता परिवर्तनसंगै सम्झौता चाहिँ प्रमुख रहनुले नियत प्रस्ट पारेको छ ।
मुलुक केहि ठालूहरुले कोठामा बसेर निर्णय गर्ने र त्यस गल्तीको परिणाम सारा देशले झेल्दै एक प्रकारको असफलताको यात्रामा लम्किएको आभास भइरहेको यो अवस्थामा सत्ताबाहिर रहेर संगठन बिस्तारकै क्रममा पनि राष्ट्र हितमा विचारको नेतृत्व लिइसकेको छ, नयाँ शक्तिले ।
पुरातन असफल मान्यताहरु, निषेध र अवरोधको राजनीतिलाई विस्थापित गर्ने लक्ष्यसहित नवगठित नयाँ शक्ति नेपालले स्थापनाकालमा विद्यमान विभिन्न चुनौतीहरू सामना गर्दैगर्दा अहिलेको राजनीतिक परिवेशमा देशमा विद्यमान परिस्थितिमा विभिन्न राजनीतिक दलहरु र तिनका नेतृत्वको सत्ता र स्वार्थमुखी राजनीतिलाई चुनौती दिन आर्थिक समृद्धि र जनजीविकाका सवालहरुलाई बिशेष महत्व दिँदै जोडदार आवाज उठाउँदै आएको छ ।
नयाँ शक्तिले स्थापना कालसँगै सुरुगरेको आर्थिक समृद्धिको मार्ग नै अबको मार्ग हुनुपर्ने सबै दलका नेता तथा कार्यकर्ताहरु सहमत भएका पाइन्छ र आर्थिक समृद्धिका कुरा उच्चारणसम्म गर्न नजान्ने पुराना दलका नेताहरु यस बिषयमा चर्को भाषण गर्न थालेको पाइन्छ । यति भन्दै गर्दा नयाँ सोच र विचार राख्ने , राजनीतिलाई समाज सेवाको अमूल्य कडी नै ठान्ने अन्य दलका निस्वार्थ कार्यकर्ता र नेतृत्वको क्षमतालाई नजर अन्दाज गर्न खोजिएको हैन ।
केही मुद्दाहरुको मुल्यांकनतर्फ लागौं
बाबुराम भट्टराईले संविधान जारी गर्ने अन्तिम ताकातिर थारु, मधेशी, आदिवासीका माग सम्बोधन गरेर केही ढिलो नै भएपनि संविधान जारी गरौँ भनेर निस्वार्थ भावले देश र जनताको पक्षमा अडान राख्दा जसरी पनि संविधान जारी गर्ने तातै खाने र जलेर मर्ने भनेझैँ गरी पेलेर संविधान ल्याउन दबाब दिइयो र ल्याइयो, तर त्यसको भयाभव परिणाम भोग्यो मुलुकले ।
आन्तरिक कलह, मधेश, जनजाति र थारुका मुद्दा सडकमा छोडेर मुलुकलाई नाकाबन्दीसम्म खेप्न बाध्य पारियो । के यो अवस्था ल्याउने प्रमुख राजनीतिक दलका मुख्य नेता हैनन् र ? हो, छिमेकीले हेपेको र नाजायज नाकाबन्दी लगाएको सत्य हो तर कमजोरी त हाम्रा नेताहरुका धेरै थिए । कसले दिँदैन थियो यिनलाई संविधान ल्याउनलाई ? दुई दिन ढिलो गरेको भए संविधान नै आउँदैन थियो । फलानोको अडानले आएको रे, ढिस्कानोको त्यागले संविधान बन्यो ! यिनको अभिमान र अहंकारले जबर्जस्ती थोपरेको संविधान आएर के भयो त ? हामीले उनीहरुको कमजोरीको भार भारतलाई मात्र दोष बोकाईदिएर राष्ट्रवादको धोती लगाइदिन मिल्छ ?
केही मुद्दाबारे बहस गरौँ
हालको परिवेशमा संविधान लेखन अघिसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा समातेको माओवादी र एमाले दुवैले छोडेर संसदीय प्रणालीमा सहमत गरेर जानु र सत्ताको ९ महिने सिन्डिकेट चलाउनुले देशलाई अस्थिर सरकार आर्थिक समृद्धिको बाधक बनेको स्पष्ट छ । यसका विरुद्ध हालका दिनहरुमा नयाँ शक्तिले एकल रुपमा उठाउँदै आएको छ ।
आजका दिनमा जनमत संग्रह गरेको खण्डमा पानि बहुमत जनताको चाहना प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै रहेको छ । यस मुद्दामा नयाँ शक्ति नम्बर एकमा देखिन्छ ।
नस्लवादी, जातिवादी, क्षेत्रवादी,अतिवादी, दलाल तथा मण्डले राष्ट्रवादको विरुद्ध प्रगतिशील इन्द्रेणी राष्ट्रवादको परिकल्पना मण्डलेहरुको दौरासुरुवाल लगाएर देश बेच्ने, कुर्सीसँग खोलानाला साट्ने आफ्नो स्वार्थ अनुकूलको राष्ट्रियताको जामा लगाउने प्रवृति देशको विकास र उन्नतिको बाधक ठान्दै ल्याइएको अवधारणा विचार, वाद र सिद्धान्तको बन्दी हैन समयानुकुल परिमार्जनमा जोड दिँदै सुरु गरेको वाम, लोकतान्त्रिक, जातिय, क्षेत्रीय, लैंगिक, उत्पीडित, मधेशी सबै अटाउने इन्द्रेणी राष्ट्रियताको परिकल्पना युग सुहाउँदो प्रगतिशील रहेको छ ।
नयाँ शक्ति यसकारण पनि परिवर्तनको बाहक हो
‘संसारलाई परिवर्तन गर्नुछ भने सुरु आफैंबाट गर्नुपर्छ’ भन्ने महात्मा गान्धीको भनाइलाई आत्मासात् गर्दै आफुले बोकेका पुराना वाद, झन्डा, धंगधंगी, रवाफ, शक्ति सारा चटक्क छोडेर समृद्धिको मार्गमा भट्टराईको आफ्नै रुपान्तरणसंगै यसका पाँच लाख कार्यकर्ताले समृद्ध नेपालको निम्ति रंगशाला साथै विश्वव्यापीरुपमा कसम खाएका छन् । यसको ठूलो महत्व र अर्थ रहेको छ । हिजोका दिनमा अधिकारका लागि लड्ने दल बने । लड्ने नै भूमिका भयो । पुरानो सत्तालाई असहयोग गर्ने विनाश गर्ने । नयाँ शक्तिले यसलाई मध्यनजर गरेर नै हरेक कार्यकर्तालाई विकास र समृद्धिका स्वयम्सेवक दस्ताको रुपमा हुर्काउने प्रण गरेको छ र शिक्षा दिक्षा र उद्देश्य नै आर्थिक समृद्धि रहने भएपछि यो दल नेपालको समृद्धिको सपना पूरा गर्ने एकमात्र दल बन्ने निश्चित छ । माओवाद, उग्रवाद, दक्षिणपन्थी, धार्मिक अतिवादी, संसदीय भ्रस्ट प्रणाली, जनयुद्धको विकृति विसंगति सबैलाई सुधार गर्दै समृद्धि-मार्गमा लैजाने अभियानको विकास गर्ने लक्ष्य नै यसले विकास गरेको मध्यमार्गी दूरदर्शी धार हो ।
नेतृत्व र सांगठनिक तुलना
एमाले- केपी ओली- विचारमा अस्पष्ट ढुलमुले नीति । शक्तिको लागि जुनसुकै हत्कण्डा मच्चाउन सक्ने । प्रष्टवक्ता- समयानूकुल बदलिन सक्ने । जनताको बहुदलीय जनवादलाई डनवाद र धनवादका भ्रस्ट जनवादमा परिणत गरेको आरोप ।
कर्मचारी प्रशासन राजनीति, विद्यार्थी, युवा डनवाद र एनजीओमार्फत सबैतिर अनावस्यक राजनीतिक हस्तक्षेप बढाएर विकास, प्रशासन, सामाजिक सेवाको क्षेत्रमा बढेको भ्रस्टाचारप्रति अधिक जिम्मेवार ।
कांग्रेस- शेरबहादुर देउवा- लोकतन्त्रक मूल्यमान्यता भन्ने तर मुलुक बनाउने स्पष्ट भिजन अहिलेसम्म दिन नसकेको । संसदीय खेलमा मात्र रमाउने । संसद खरिद-बिक्रीदेखि सुरा-सुन्दरी काण्डका जननी भनी आरोपित् ।
लामो समयसम्म सत्ता राजनीतिमा रहेर पनि बीपीको समाजवाद आत्मसाथ गर्न नसकेको, भ्रष्टाचार, संसदीय फोहोरी खेल एमालेलगायत सबै दललाई सिकाउने जननी ।
माओवादी केन्द्र– प्रचण्ड- नेतृत्व क्षमता भएता पनि भिजन र विचारको अभावमा क्षय हुँदै गएको एक पात्र र पार्टी । स्पष्टवक्ता – करिस्मेटिक ।
क्यान्टोन्मेन्टदेखि युद्धको, सहिदको व्यापार चलाउन मलजल गरेको आरोप । अनवरत आफैं मात्र नेतृत्वमा बसेर व्यक्तिवाद हावीले क्षय हुँदै गएको संगठनका मुख्य जिम्मेवार ।
नयाँ शक्ति– बाबुराम भट्टराई- पुराना मान्यता, शक्ति सबै त्यागेर शून्यबाट सुरु गर्ने साहस गर्न सक्ने । स्पष्ट वैचारिक र आर्थिक भिजन भएका । कमजोर नेतृत्व भनिए पनि खारिँदै आएका ।
पढेलेखेको भएर पनि जनयुद्ध मलजल गरेको । अन्तरमुखी भएको आरोप भएता पनि जिम्मेवार पदमा पुग्दा त्यतिसाह्रो भ्रष्ट संरचना र दलहरुका अवरोध बीचपनि केही काम गर्न सफल भएको र पूर्णरुपमा अवसर पाए देशको समृद्धि हाँक्ने अत्यधिक सम्भावना बोकेका व्यक्तित्व ।
पार्टी घोषणा गर्दा सुरु गरेको आर्थिक पारदर्शिता, घोषणाको दिन कुनै यातायात, सडक बन्द हुन नदिएको, आफूले रंगशालामा गरेको फोहोर आफैं उठाएको, भित्तेलेखन, पर्चा पम्प्लेट निषेध, कुनै प्राकृतिक विपद, दुर्घटनामा तत्काल सहयोगमा उत्रिने प्रधानमन्त्रीहरुका भ्रमणमा निष्पक्ष देशको हितमा यसले दिने गरेको सुझावजस्ता कामहरु पक्कै पनि सकारात्मक संकेत हुन् ।
यसका बाबजुद यसलाई विभिन्न विचार र परिवेशबाट आएका समूहहरुलाई मिलाएर आफैलाई स्थापित र व्यवस्थित गर्ने केहि चुनौती पार गर्नु त छँदै छ, जुन स्वभाविक प्रक्रिया पनि हो । अरु दल जस्तो पुरानो तोड्न नसक्ने जन्जिरहरु जस्ता संगठन र नेताका मनस्थितिहरु भन्दा नयाँ आवस्यकता अनुसार बनाउने सु-अवसर हो यो । यो अवसर पाउने पनि नयाँ शक्ति अहिलेको पहिलो दल हो भन्ने कुरा यसको नेतृत्वले महसुस गर्न जरुरी देखिन्छ ।
The post समृद्धिको गोरेटो खन्दै नयाँ शक्ति, पछ्याउँदै पुराना शक्तिहरु appeared first on Sajha Post.