Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

हे आजका युवा! राजनीतिलाई सराप्ने कि काँध थाप्ने ?

$
0
0

मलाई लेख्न पनि लज्जा अनुभूति भइरहेको छ, संसारकै उत्तम व्यवस्था लोकतन्त्रमा ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर कलम चलाउने तथा आवाज उठाउने सामाजिक अभियन्ता रविन्द्र मिश्रले आफूले जानाजान एक पैसा भ्रष्टाचार गरेको छैन भनेर विश्वास दिलाउन आमा भाकेर सबैभन्दा कठोर कसम खाईरहँदा संवैधानिक निकायले भ्रष्टाचारी ठहराएका दोषीहरु झिनो सजाँय भोगेर क़ैद मुक्त हुँदै फूल मालाले सजिएर बग्गीमा शहर परिक्रमा गर्छन् । त्यसै गरी डाक्टर गोविन्द के.सी.ले स्वास्थ्य क्षेत्रका विसंगति हटाउन पटक-पटक आमरण अनशन बस्नु परेको छ । संवैधानिक निकाय अख़्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘लोकमानतन्त्र’ हावी छ ।

एउटा व्यक्तिले देश बदल्न सक्दैन, देश बदल्ने राजनीतिले नै हो । राजनीति गर्नेले आफ्नो काजनीति अर्थात काम गर्ने तरिका जनताको मन जित्ने गरी गरेनन् भने आम जनताको राजनीतिप्रतिको वितृष्णा बढ्छ, अहिले हामीले भोगेको नियति यहि हो ।

krishna-bhattarai-sargamराजनीतिलाई घृणा गर्छु त भनिएला तर एकपटक सरसर्ती हेरौँ न राजनीति कता-कता जोडिएको हुन्छ भनेर! कलेज पढ्ने मेरो एउटा भाइ ‘आई हेट डर्टी पोलिटिक्स’ भन्दै घर बाहिर निस्कन्छ । बाटोमा विरोध प्रदर्शन छ: गाडी चलेका छैनन्, खाजा खान जान्छ: ग्यास छैन, सरकारी कार्यालय जान्छ: कर्मचारी घुस नलिई काम गर्दैनन्, मन्दिर जान्छ: सात्विकता देख्दैन, मज़दूर, कलाकार, पत्रकारदेखि सबैतिर त्यहि राजनीति नै राजनीति देख्छ । जात, धर्म, पेशा र विचार सबैमा राजनीति मिसिएको सत्यता उसलाई थाहै हुँदैन । त्यही राजनीति सही ट्र्याकमा नहिँड्दा पाएको सास्तीलाई ‘आई हेट डर्टी पोलिटिक्स’ भने पन्छाउँदैमा किन हुन्थ्यो र ? नशा-नशामा बगेको राजनीतिले उसले घृणा गरेपनि उसकै शिरदेखि पाउसम्म पछ्याईरहेको सायद उसले चाल पाएन ।

विशेषगरी राजनीति यति साह्रो बिग्रेको हामीजस्तै पढेलेखेका युवाहरुले चासो नदिएरै हो । एकथरी डिग्रीको सर्टिफ़िकेट बोकेर सक्नेजति युरोप, अमेरिका र नसक्नेहरु अरबतिर हानिने, अनि देशमा राजनीति बिग्रियो भनेर बिग्रेको राजनीतिलाई सत्तेसराप गरिरहन्छौँ भने अर्काथरी पेढेलेखेकै युवा भए पनि अनपढ़ नेतृत्वको चाकरी गरेर बिताउँछौँ, उनैले फालेका हाडहरुमा रमाउँछौ र नथाक्ने गरी भजन गाउँछौ अनि देवकरण गर्छौँ । यतिमात्रै कहाँ हो र सत्यलाई तोड़मोड गरेर अर्को पक्षलाई न्वारानदेखिको बल लगाएर नाङ्गेझार पार्छौँ । अनि यहाँ पत्रकार र कर्मचारीले दलगत राजनीति गरिरहेका छन् ।

यो संसार र यो समाज राजनीतिले नै बन्छ भन्ने कुरामा हामी संशय गरिरहेका छौँ, तर सत्य के हो भने राजनीतिले गरेको परिवर्तन दीगो हुन्छ, सबैलाई स्वीकार्य हुन्छ, तर यसको कार्यान्वयनकर्ताहरुमा तपाई हाम्रो पहूँच हुनुपर्छ । त्यो पहूँचका लागि तपाई हामीले राजनीतिलाई घृणा गरिरहने हो भने देश बन्दैन, जब अयोग्य र भ्रष्ट मान्छेहरु राजनीतिमा आउँछन्, तब तिनीहरुको मात्रै जीवनशैली परिवर्तन हुन्छ । अविकसित देशहरुमा नेताहरु मोटाउने र जनताहरु कंगाल हुने यही कारणले गर्दा हो । कुरा प्रष्ट छन्, सबैतिर भ्रष्ट छन् ।

शासदेखि गाँससम्म जोडिएको राजनीतिलाई लोकतन्त्र जस्तो विश्वको सर्वोत्तम व्यवस्थामा आमयुवाहरुको चासो नहुनुमा देश र परिवेशमा घटेका घटनाहरु जनमुखी नहुनु पक्कै होला तर यसैबेला युवाहरु कसैको गोटी या हतियार भएर आफ्नो विद्वता नेतृत्वको चाकरी गर्न मात्र प्रयोग गर्ने हो भने हाम्रो राजनीति कहिल्यै माथि उठ्ने छैन । जति राम्रो संविधान भए पनि त्यसले काम गर्ने छैन ।

विश्वबाटै जातीयता उन्मुलन भइरहेको बेलामा जातीय पहिचान भन्दै दूरदराजका ढाक्रे बाहुन-क्षेत्रीहरुलाई शासक वा एलिट देख्दै जाने र युरोप अमेरिकामा पढेर नेपालमा आई मधेसी जनजातिहरु र दलितको नाममा आरक्षणको भाग खानेहरुले जातियता भजाएर राजनीति गर्ने हो भने हाम्रो राजनीति हाम्रै पतनमा गएर टुंगिने छ, अनि हामीलाई मात्र हैन हाम्रा सन्ततिहरुलाई पनि राजनीति मन पर्ने छैन । तर यहि राजनीतिमा जन्मे हुर्केका ती सन्तानहरु हामीभन्दा अझ निरीह हुनेछन् ।

अझ दु:खको कुरा राज्यको चौथों अंग मानिने कतिपय पत्रकारहरु नै विभिन्न दलमा आवद्ध भएर ती दलकै भक्तिगान गाईरहने र स्थायी सरकार राष्ट्रसेवक कर्मचारीहरु समेत विभिन्न दलको फेरो समातेर ट्रेड यूनियन बनाउँदै सरुवा बढुवाको खेलमा माथिल्लो निकायलाई दवाव दिने काम भइरहने हो भने त देश कहिल्यै उँभो लाग्ने छैन । एउटा लाजमर्दों कुरा के हो भने कर्मचारीहरुले आफूलाई राष्ट्रसेवक भने पनि उनीहरु र जनताबीचको सम्बन्ध अझै पनि मालिक र नोकरको जस्तो छ । नपत्याए कुनै पनि सरकारी कार्यालयमा एकदिन आफ्नो काम लिएर जानुस्, सबै थाहा हुन्छ ।

देशको राजनीतिले दिक्क भएर स्वदेश छाडेर विदेश भासिए पनि नेपालीहरुले विदेशमा बसेर नेपालकै राजनीति गरेर आफ्नो पारा देखाएकै छन् । राजनीतिक दलका भ्रातृ संगठनका रुपमा प्रवासी नेपालीहरुले सबैजसो देशहरुमा संगठनको स्थापना गर्ने र पद ओगटेर नेपालका दलहरुका नेतासम्म पहुँच बनाइरहेका छन् । त्यतिमात्र होइन, भूकम्पपीडितलाई भनेर प्रवासी नेपालीहरुले गरेको सहयोगसमेत पीडितलाई नदिएर दुरुपयोग गरेका लज्जाजनक खबर आइरहनु बिडम्वनाबाहेक केही होइन । प्रवासमा कुनै एउटा छाता संगठनभित्र आफू जन्मेको देश र जनताको लागि केही गर्न आवद्ध हुनु त राम्रै हो तर दल र दलका नेताहरु जनताबाट आलोचित हुँदै गएको बेला उनीहरुकै कुकृत्यको पक्षपोषण गरिरहनु कसरी राम्रो हुन सक्छ ? दलको झण्डा हैन राष्ट्रिय झण्डा बोकेर देशको नाम चिनाउनेहरु नभएकोले प्रवासमा पनि राजनीति फोहोरी खेल बनिरहेकै छ । विदेशमा बसेर नेपालको राजनीतिको टिका टिप्पणी तथा गुटतन्त्रको पक्षपोषण गर्नु अझ बढी घातकसिद्ध भएको छ ।

राजनीति फोहोरी खेल हुनुमा दलका नेतृत्वहरुको अस्वाभाविक जीवनशैली, काम भन्दा कुरा बढि गर्ने, कर्मचारीतन्त्रसंग मिलेर भ्रष्टाचारमा डुब्ने, नीति र नियम आफू अनुकूल बदल्ने, परिवर्तनका सपना देखाउने तर पूरा नगर्ने र नागरिकले पनि खबरदारी नगर्ने आदि कारणहरु जिम्मेवार छन् ।

राजनीति राम्रो बनाउन के गर्ने त ?

– कुनै दल आफैँमा भ्रष्ट हुँदैनन्, यसको नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ताहरु भ्रष्ट भएकोले यो अवस्था आएको हो । तिनीहरुको पहिचान गरी नाङ्गेझार पार्ने ।

– निश्चित समयसम्म जननिर्वाचित सरकार ढाल्न नमिल्ने व्यवस्था गर्ने र कार्यकारी प्रमुख प्रत्यक्ष जनताबाट निर्वाचित हुनुपर्ने ।

– नेतृत्व छनोट गर्दा विवेकशील भइ तेरो मेरो दलभन्दा पनि स्वच्छ छवि भएका शिक्षित व्यक्तिहरु छनोट गर्ने, व्यवस्थापिका सदस्य तथा मन्त्री परिषद् सदस्य हुन निश्चित योग्यता तोकिनुपर्ने ।

– जुनसुकै दलका पनि राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने ।

– कुनै न कुनै व्यवसायमा आवद्ध भएको मान्छेलाई मात्र राजनीतिमा आउन प्रेरित गर्ने । नेपालमा धेरै जसो राजनीतिकर्मीहरुको पेशा या व्यवसाय छैन, विभिन्न ठेक्कापट्टा, कमिशन, विदेश भ्रमण, विकास बजेट, राजनैतिक नियुक्ति, पदको आडमा तस्करी, कालोबजारी तथा तिनीहरुको पक्षपोषण, उद्योगी व्यवसायीसंग मिलेर करछली गरी रातारात करोडौँ कमाउने गरेका छन् ।

-प्रमाणित भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने । भ्रष्टाचारीलाई कम्तिमा जन्मकैद वा मृत्युदण्डजस्तो कडा भन्दा कडा कानुनका लागि लविङ गर्ने ।

– संगठित गुण्डागर्दीको समूल नष्ट गरी समुदायमा भयरहित वातावरण बनाउने ।

– नीतिगत तथा कागजी भ्रष्टाचार कम गर्न सबै संवद्ध निकायले अनुगमन गर्ने, सार्वजनिक लेखा परीक्षणलाई प्रभावकारी बनाउने, संवैधानिक निकायहरु जनमैत्री भएर काम गर्ने ।

– राष्ट्रिय हितको लागि सबै दलका नेतृत्वहरु एक ठाउँमा आउने अवस्था सिर्जना गर्ने ।

– राजनैतिक तथा सामाजिक उत्तरदायित्व बहन गर्न नसक्नेहरुलाई क़ानूनत: राजनीतिमा आउन बन्देज गर्ने।

– दलीय भागवन्डामा आधारित सरुवा, बढुवा र नियुक्ति निस्तेज गर्ने, सबै खाले नातावाद कृपावाद निरुत्साहित गर्ने ।

– कर्मचारी, शिक्षक तथा पत्रकार दलको सदस्य बन्न नपाईने । शिक्षक संगठन, संस्थानका कर्मचारीका संगठन र ट्रेड यूनियन खारेज गर्ने ।

– जाति र धर्मको आडमा गरिने सबै खाले राजनीति निश्तेज पारी वास्तविक उत्पिडित वर्गका जनताहरुको लागि काम गर्ने ।

– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा एक अर्काको हस्तक्षेप नभई समन्वयमात्र हुनुपर्ने ।

– सामाजिक संजाललाई रचनात्मक छलफलको चौतारी बनाउने ।

अहिले के भइरहेको छ त ?

राजनीतिमा आम युवाहरुको रुची नहुनुको मुख्य कारण कर्मचारीतन्त्र देखि कार्यपालिकासम्म अदृष्य रुपमा संस्थागत भएको भ्रष्टाचारको कारणले नै हो । अहिले पनि लोकतन्त्रको नाम भजाएर देशको ढुकुटी रित्याउनेहरु हरेक क्षेत्रमा कृयाशील छन् । भर्खरैमात्र प्रधानमन्त्रीको भारत भ्रमणमा गएको एक सय पच्चिस सदस्यीय भ्रमणदल यसको ताजा उदाहरण हो। त्यसैगरी अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी काग़ज़ात भूकम्पको बेला हरायो भन्नु पनि निर्लज्जता र बेईमानीको पराकाष्ठा तथा लोकतन्त्रप्रतिको उपहास हो । नेता, कर्मचारी, न्यायालय र पत्रकार सबैमा पूर्वाग्रह भरिएको छ, दलका नेता तथा कर्मचारीहरु आफ्नो सुविधा बढाउन जुनसुकै बेला एक हुन्छन् तर देश र जनताको लागि दीर्घकालीन महत्व राख्ने योजनाहरु राजनीतिक खिचातानीको शिकार भइरहेका छन् । त्यसैले जबसम्म राजनीतिमा राम्रा मान्छेहरु आउदैनन् तबसम्म राजनीति फोहोरी खेल नै हुनेछ । त्यसैले राजनीतिलाई घृणा होईन तपाई हाम्रो सरोकार र सदासयताको खाँचो छ, यसलाई सफा बनाउन तपाइँ-हामी पनि लाग्नुपर्छ । अरुलाई दोष दिएर मात्रै राजनीति सफा हुँदैन । अबका पिंडीलाई राम्रो राजनीतिज्ञ बन्नु भन्ने आशिर्वाद दिने अवस्था नआएसम्म निश्चित शासकहरुले मात्र राजनीतिमा पकड जमाउने छन् ।

त्यसैले आउनुहोस् खुला बहस गरौँ: पोलिटिक्स इज नट ए डर्टी गेम, इट इज मेड विकज अफ डर्टी पोलिटिसियन । लोकतन्त्र बदनाम गराएको राजनीतिले होईन, खराब मान्छेहरुको प्रवेशले हो । खराब मान्छेलाई राजनीतिबाट बहिर्गमन गर्न विवेकशील शिक्षित युवाहरु राजनीतिमा आउनै पर्छ र भ्रष्टहरुलाई प्रवेश निषेध गर्नुपर्छ । त्यो दिन असम्भव छैन । नयाँ कार्य योजनाका साथ देश विदेसका युवाहरु घर फर्केर हातेमालो गर्नुपर्छ । अनि बल्ल बन्नेछ नयाँ नेपाल हाम्रै पालामा । विवेकशील बन्ने कि भ्रष्टको गोटी मात्रै रोजाई त हाम्रै हो नि !

The post हे आजका युवा! राजनीतिलाई सराप्ने कि काँध थाप्ने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles