मित्र मुमाराम खनालबाट भर्खरै (सन् २०२१, जनवरी) मा प्रकाशित पुस्तक ‘द न्यू पार्टी च्यालेन्जः चेन्जिङ साइकल अफ पार्टी बर्थ एण्ड डेथ इन सेन्ट्रल युरोप एण्ड वियोन्ड’ को नाम सुनेँ । नामैले आकर्षण गर्यो । नेटमा खोजेँ, भेटिनँ । पुस्तकबारे समीक्षा लेख र भिडियो भने पाइने रहेछन् । स्वयं लेखकद्वयका करिब एकघन्टा लामो प्रवचन सुनेँ । हाइलाइट्हरू सुनेँ ।
प्राध्यापन र अनुसन्धानमा संलग्न दुई राजनीतिशास्त्रीले लामो खोज र अध्ययनबाट यो किताब तयार गरेका रहेछन् । विर्मिङ्घम विश्वविद्यालयका टिम हगस्टन र वेने विश्वविद्यालयका केभिन डिगन क्राउसले । उनीहरूको अध्ययनको मुख्य क्षेत्रमध्ये युरोपका ११ ‘पूर्व कम्युनिष्ट मुलुक’ रहेछन् । सोभियत संघ र युगोस्लाभियाबाट टुक्रिएर बनेका नयाँ देशलाई महत्वका साथ सन्दर्भभित्र लिएका रहेछन् । किताब लेख्ने क्रममा उनीहरूले १०० बढी देशका २०० बढी पार्टी नेताहरूसँग भेटघाट र अन्तर्वार्ता गरेका रहेछन् ।
अनुसन्धानको केन्द्रीय प्रश्न भने किन कतिपय राजनीति दल जन्मिएको छोटो समयमै मर्दछन् र कतिपय दलहरू लामो समयसम्म टिकिरहन्छन् भन्ने रहेछ । राजनीतिक दलहरूको उत्थान र पतनमा पूर्व–कम्युनिष्ट मुलुकहरूको आफ्नै पृष्ठभूमि छ । पहिलो विश्वयुद्धको पूर्वसन्ध्यादेखि दोस्रो विश्वयुद्धको अन्त्यसम्म ती देशको राजनीतिक प्रवृत्ति पश्चिम युरोपको भन्दा खासै भिन्न थिएन ।
सन् १९१७ को ‘फेब्रुअरी क्रान्ति’ अघि रुस राजतन्त्रात्मक मुलुक थियो । तर, त्यहाँ राजनीतिक दलहरू भने सन् १८८० को दशकमै जन्मिसकेका थिए । त्यहाँ दर्जनौं राजनीतिक दलहरू थिए । तीमध्ये लेनिन नेतृत्वको रुसी सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेभिक) एक थियो । करिब २१ वर्ष जर्मनी, फिनल्याण्डलगायतका देशमा निर्वासित जीवन बिताएका बोल्सेभिक नेता लेनिन ‘फेब्रुअरी क्रान्ति’ पछि रुस फर्किए ।
उनले ९ महिनाभित्रै रुसमा विश्वलाई हल्लाउने अर्को क्रान्तिको नेतृत्व गरे । त्यो पनि जम्माजम्मी १० दिनको सशस्त्र जनविद्रोहबाट । ‘अक्टोबर क्रान्ति’ नामले चिनिने यो क्रान्तिका दर्जनौं सकारात्मक पक्षहरू थिए । यसको सबैभन्दा नकारात्मक पक्ष भने ‘एकदलीयता’ थियो । यही एकदलीयताले प्रकारान्तले विश्वमा स्टालिन, टिटो, होक्जा, चाउचेस्कु, होनेकर, मङगेत्स्कु, मुगाबे, नेरेरे, नाजिबुल्लाह, सद्दाम हुसेन, असद, किम वंशजस्ता सयौं तानाशाह जन्मायो । ‘नर्क जाने बाटो पनि असल मनसायले नै खनिएको हुन्छ’ भन्ने उखान लेनिनले स्थापना गरेको सोभियत प्रणालीका लागि हुबहु मिल्यो ।
सन् १८८० को दशकमा जन्मिएको युरोपको राजनीतिक तथा दलीय प्रवृत्तिमा अक्टोबर क्रान्तिले जबरजस्त हमला गर्यो । जब दोस्रो विश्वयुद्धमा सोभियत सेना विजेता बन्यो, पूर्वी तथा मध्य युरोपको शताब्दि लामो दलीय राजनीतिक प्रवृत्ति नै ‘कोल्याप्स’ भयो ।
उल्लेखित पुस्तकमा चर्चा गरिएका देशको पृष्ठभूमि हो यो ।
सन् १९८९ पछि फेरि त्यस्ता देशमा नयाँ क्रान्ति भयो । एकदलीयता विरोधी क्रान्ति । सोभियत साम्यवादी शासन प्रणाली विरुद्धको क्रान्ति । फेरि नयाँ दलहरू उदित हुन थाले । तर, पश्चिम र पूर्वी तथा मध्य युरोप बीचको भिन्नता के भयो भने पश्चिममा शताब्दिऔं पुराना दलहरू थिए, ती देशमा नयाँ दलहरू भटाभाट बन्न थाले ।
तर, सोभियत संघको पतनपछि विगत ३० वर्षको रुसको राजनीति प्रवृत्तिलाई हेर्ने हो भने पुटिनको ‘युनाइटेट रसिया’ पार्टीको निर्वाचित तानाशाही स्थापित भएको छ । बहुदलीय लोकतन्त्रमा त्यो कसरी सम्भव भयो ? पुराना स्थापित लोकतन्त्रमा यस्तो कल्पना सायदै गर्न सकिन्छ । पश्चिम युरोप र अमेरिकी क्षेत्रमा यस्तो अहिलेसम्म भएको छैन । विगत करिब तीस वर्षदेखि किन त्यहाँ सत्ता परिवर्तन हुन सकेको छैन ? पुटिनले राज्ययन्त्रलाई बलियो पकडमा लिएका छन् भन्ने एउटा विश्लेषण हो । बुझाईको एउटा पाटो, मुख्य पक्ष हो ।
सत्यको अर्को पाटो पनि छ, त्यहाँ ‘लोकतान्त्रिक विकल्प’ थिएन । पश्चिम युरोपमा जस्तो शताब्दिऔं लामो सक्रियता र विश्वासनियता भएका अन्य दल थिएनन् । एकदलीय प्रणाली पतनपछिको शून्यतालाई बोरिस यल्तसिन र उनका उत्तराधिकार भ्लादिमिर पुटिनले कब्जा गरे । तर, विपक्षमा भने दोस्रो ठूलो पार्टीका रुपमा कम्युनिष्ट पार्टी नै पुनर्गठित भयो । पुरानो सोभियत कम्युनिष्ट पार्टीका कार्यकर्ता गेन्नाडी ज्युगानेभले रुसी कम्युनिष्ट पार्टी पुनर्गठित गरे । विगत ३० वर्षदेखि त्यो निरन्तर दोस्रो पार्टी छ ।
‘युनाटेड रसिया’ ले बारम्बार जित्नुको रहस्य यो पनि हो कि दोस्रो स्थानमा रहेको कम्युनिष्ट पार्टीले जिते, फेरि एकदलीय प्रणाली फर्किने हो कि भन्ने भय जनतामा छ । नेपालमा पञ्चायत गएको ३० वर्ष भयो । तर, यहाँ राप्रपा अझै राजतन्त्र फर्काउने र महेन्द्रपथ स्थापित गर्ने इच्छा राख्दछ । रुसीको दोस्रो स्थानमा रहेको कम्युनिष्ट पार्टी जनताको आँखामा त्यस्तै प्रतीत हुन्छ । कतै त्यसले एकदलीयता फर्काउने र स्टालिनवाद स्थापित गर्ने त हैन भनेर मानिस डराउँछन् ।
विश्लेषकहरू भन्दछन्– ‘युनाटेड रसिया’ त्यतिन्जेल हार्ने छैन, जतिन्जेल विपक्षमा अर्को कुनै लोकतान्त्रिक पार्टी बलियो भएर आउने छैन । कतिपयले अलेक्सेइ नोभाल्नी नेतृत्वको ‘रसिया अफ द फ्युचर’ त्यस्तो विपक्षी पार्टी हुन सक्ने आशा गरेका छन् ।
७४ वर्ष कम्युनिष्ट शासन चलेर ठूलो जनविद्रोह र क्रान्तिले पतन भएको देशमा किन नयाँ लोकतान्त्रिक विकल्प जन्मेनन्, बरु कम्युनिष्ट पार्टी नै लामो समय बलियो विपक्षी दल बन्न सक्यो ? उल्लेखित सन्दर्भमा यो प्रश्न पनि आकर्षित हुने रहेछ ।
रिभ्युहरू पढ्दा र लेखकहरूको प्रवचन सुन्दा मुख्य तीनवटा निष्कर्ष निकालिएको रहेछ ।
एक– नयाँ दलहरू विचार, दर्शनभन्दा एजेण्डा केन्द्रित हुन्छ । भ्रष्टाचार, अन्याय र असमानता विरुद्ध शुद्धताको राजनीति नयाँ दलहरूको मुख्य एजेण्डा हुन्छ । तर, पुराना दलहरू विचार, दर्शन र स्कुलिङ केन्द्रित हुन्छन् । एजेण्डा केन्द्रित दलहरूको भन्दा विचार र दर्शनकेन्द्रित दलहरूको जीवन लामो र दीगो हुन्छ ।
नयाँ पार्टीसँग पर्याप्त संगठन सञ्जाल हुँदैन । तसर्थ आर्थिक तथा व्यवस्थापकीय क्षमता कम हुन्छ । पुराना पार्टीहरूको आर्थिक र व्यवस्थापकीय भार संगठन र सञ्जालले शेयरिङ गर्दछ । तर, नयाँ पार्टीहरू संस्थापक सदस्यमाथि अत्याधिक निर्भर हुन्छन् । संस्थापकले लामो समय पार्टीको बोझ थाम्न सक्दैनन् ।
दुई– नयाँ दलहरूले सहानुभूतिको भोट प्राप्त गर्दछन् । त्यो दीगो हुँदैन । त्यस्तो भोट चुनावपिच्छे स्वीङ हुन्छ । कुनै एक चुनावमा नयाँ दल राम्रो गरी आउँन सक्दछन् । तर, अर्को चुनावमा उसरी नै हराउन पनि सक्दछन् । प्रचार, एजेण्डा र सहभानुभूतिको भोट दिने मतदाता चुनावैपिच्छे नयाँनयाँ दल र उम्मेद्वार खोजिरहेका हुन्छन् । नयाँ पार्टीले पहिलो पटक भाग लिएको चुनावमा राम्रै भोट पाउँछन्, तर दोस्रो र तेस्रो चुनावमा पुगेर तिनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।
तर, पुराना दलका मतदातामा यस्तो प्रवृत्ति हुँदैन । उनीहरू पार्टी परिवर्तन नगरिकन निरन्तर भोट दिइरहन्छन् जसले गर्दा पुराना पार्टी अलोकप्रियता र अप्ठ्यारो अवस्थामा पनि अस्तित्व रक्षा गर्न सफल हुन्छन् ।
तीन– नयाँ दलहरूमा पुराना दलहरूको जस्तो स्थापित नेता–कार्यकर्ता पंक्ति, लामो सहकार्य, प्रेम र विश्वासको भावना हुँदैन । नेताहरू समकालीन र छोटो संगतबाट बनेका हुन्छन् । उनीहरू एकअर्काका लागि सहयोगी कम र प्रतिस्पर्धी धेरै हुन्छन् । पार्टी प्रवेश गर्ने र छोड्ने प्रवृत्ति छिटोछिटो दोहरिन्छ । फुट र गुटको भावना छिटोछिटो देखा पर्दछ । पुराना पार्टीका कार्यकर्ताहरू आफ्नो राजनीतिक क्यरिअरबारे त्यतिधेरै अधैर्य हुँदैनन्, नयाँ पार्टीका अभियन्तामा व्यक्तिगत राजनीतिक भविष्यको चिन्ता र अधैर्यता धेरै हुन्छ ।
नयाँ पार्टीमा पुराना पार्टीमा जस्तो ‘पपुलिज्म’ र ‘डेमागग’ हरू हुँदैनन् तर, एक प्रकारको ‘निर्दोषिता’, ‘अनुभवहीनता’ र ‘बचकनापन’ हुन्छ । राजनीतिलाई ‘ग्लेमर’ ठान्ने र ‘सेलिब्रेटी’ जस्तो कार्यशैली हुन्छ । व्यक्तित्वको ग्लेमर र सेलिब्रेटी लोकप्रियतापछि हरेकले पार्टी खोल्ने इच्छा राख्दछ । फलतः नयाँ पार्टीहरू च्याउजस्तै उम्रिन्छन् । कुन विश्वासयोग्य नयाँ दल हो वा हैन भन्ने छुुट्याउन मतदातालाई गाह्रो हुन्छ ।
पुराना दलहरूमा लामो संघर्ष, योगदान र अनुभवबाट बनेको नेतृत्व पंक्ति हुन्छ । लामो स्कुलिङबाट बनेको कार्यकर्ता, शुभेच्छुक र समर्थक पंक्ति हुन्छ । एकाध व्यक्तिले पार्टी छोडेर, स–साना समूहले विद्रोह गरेर पुराना पार्टीहरूलाई खासै फरक पर्दैन । तर, नयाँ पार्टीहरूको माहौल ठीक त्यति नै कारणले पनि बिग्रन सक्दछ ।
लेखकहरूको अध्ययनभित्र नेपाल छैन । तर, नेपालमा यी निष्कर्षहरू नमिलेको भन्न मिल्दैन । बरु धेरै हदसम्म मिलेको देखिन्छ । नेपालमा पनि ठीक यस्तै समस्या छ ।
यहाँ मुख्य ३ वटा पुराना दलहरू छन् । कांग्रेस, कम्युनिष्ट र राप्रपा । नयाँ दल जन्माउने हज्जारौं प्रयत्न भएका छन् तर अहिलेसम्म यो प्रयास खासै सफल भएको छैन । २०४८ सालको आम निर्वाचनमा थुप्रै नयाँ दल जन्माउने प्रयत्न भएका थिए । ती मध्ये गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टी, गोरे बहादुर खपाङ्गी नेतृत्वको जनमुक्ति पार्टी, डा. देवेन्द्रराज पाण्डे नेतृत्वको लोक दल र कुवेर शर्मा नेतृत्वको नेपाल हरियाली पार्टी मुख्य थियो । यी दलहरू एक हदसम्म चर्चामा आए, तर स्थापित हुन सकेनन, आफैं हराएर गए ।
वि.सं. २०५०–२०६० को बीचमा कुनै उल्लेखनीय नयाँ दल निर्वाचनको माध्यमबाट उदित हुन सकेन । संयुक्त जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमोचा, नेकपा (संयुक्त) जस्ता अन्य दल थिए, तर यी साना दल थिए, नयाँ हैन । किनकी यी कम्युनिष्ट धारभित्र कै समूह थिए ।
पहिलो संविधानसभामा माओवादी, मधेसी जनाधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी नयाँ दलका रुपमा आए । संविधानसभा निर्वाचनको अबधिमा दलहरूको संख्या ह्वात्तै बढ्यो । तर, कुनै पनि नयाँ दल दीगो भएनन् । यहाँसम्म कि त्यति ठूलो संघर्षबाट आएको, चुनावमा पहिलोपटक भाग लिँदा नै पहिलो भएको माओवादी आज नेपाली कांग्रेस र एमालेभन्दा निक्कै कमजोर बनेको छ ।
टिम–क्राउसको अध्ययनको दोस्रो निष्कर्ष पनि नेपालमा पनि मिलेकै देखिन्छ । पहिलो संविधानसभा निर्वाचनमा स्वीङ भोट माओवादीतिर गयो । तर, दोस्रो संविधानसभा निर्वाचनमा ती मतदाताले माओवादी छोडे र राप्रपाको कमल थापा समूहलाई भोट थिए । त्यसपछि लगत्तै २०७४ को निर्वाचनमा राप्रपाले थ्रेसहोल्ड पनि कटाउन सकेन र विवेकशील–साझा पार्टीतिर त्यो भोट स्वीङ भयो ।
यसरी चुनावैपिच्छे काठमाण्डौं उपत्यका र ठूला शहरका मतदाताको एउटा हिस्साले भोट फेरेको पाइन्छ । माओवादी, राप्रपा र विकेकशील–साझा यी तीन पार्टीमा भोट स्वीङ हुनु पर्ने कुनै वैचारिक आधार छैन । यी बिल्कुलै फरकफरक धाराका पार्टी हुन । तिनै मतदाताले कहिले माओवादीजस्तो क्रान्तिकारी, कहिले राप्रपाजस्तो चरम दक्षिणपन्थी र कहिले विवेकशील–साझाजस्तो नयाँ र मध्यमार्गी दललाई किन भोट स्वीङ गरे, गराए ? यसको वैचारिक रहस्य छैन ।
टिम–क्राउसको निष्कर्षलाई विश्वास गर्ने हो भने आउने चुनावले नयाँ दल विवेकशील–साझाको राजनीतिक भविष्य निर्धारण गर्ने छ । तीन चुनाव लगातार बढेको बढ्यै गर्यो भने मात्र विवेकशील–साझा बलियो र दीगो हुन सक्ने छ । पहिलोभन्दा दोस्रो, दोस्रोभन्दा तेस्रो चुनावमा घट्यो भने यो दल हराएर जान सक्दछ ।
जसपाको स्थिति विवेकशील–साझाको भन्दा थोरै फरक हो । यसको केही संगठनात्मक र स्थिर भोट पनि छ । कुनै एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन । तथापि आउने चुनावमा यो हिजोको भन्दा बढ्न सक्नु पर्दछ । जसपाको पृष्ठभागमा भएका दलहरू संघीयता, समावेशिता, आरक्षण, सामाजिक विभेदको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक निर्वाचन प्रणाली र मधेश÷जनजाति विद्रोहजस्ता एजेन्डाबाट आएका हुन, लामो विचार, दर्शन र स्कुलिङबाट हैन ।
यद्यपि यसले वैचारिक रुपमा समाजवादी धार पक्रिने खोजेको छ । साम्यवादी र पुँजीवादीभन्दा समाजवादी चिन्तन किन र कसरी फरक हो ? नेपाली जनमत धेरै प्रष्ट नभएको विषय हो यो ।
जसपा र विवेकशील साझा दुवै दलहरूको संगठन र सञ्जाल अहिले पनि कांग्रेस, कम्युनिष्टको भन्दा कमजोर नै छ । कम्युनिष्टहरू फुटेको फाइदा हुनु एउटा कुरा हो । तर, उनीहरू जुनकुनै बेला मिल्न सक्दछन् । विचारधारा केन्द्रित दलको दीगोपनको ज्वलन्त उदाहरण रुसी कम्युनिष्ट पार्टीलाई मान्न सकिन्छ, जो त्यही विचार र प्रणाली विरुद्धको त्यत्रो ठूलो विश्व क्रान्तिपछि पनि निरन्तर दोस्रो ठूलो दल छ ।
ठीक यही कुरा नेपालमा पनि छ । सन् १९९० को दशकको विश्व हलचलपछि पनि कम्युनिष्टहरू बलियो नै छन् । कम्युनिष्टहरू एक हदसम्म बदनाम भइसकेका छन् । तर, यो विचारधारा केन्द्रित पुरानो दल भएको हुँदा जतिसुकै असफल र बदनाम भए पनि सजिलै मर्ने आशा गर्न सकिन्न । कमजोर हुन सक्दछ, तर, अस्तित्व संकट नै सायद नआउन सक्दछ ।
नेपाली कांग्रेसको बारेमा पनि यो निष्कर्ष अहिलेसम्म लागू भएकै छ । कांग्रेसका हजार कमजोरी छन् । तथापि यो अझै दीगो जनमत भएको पार्टी हो ।
गुट, टुट र फुटको अन्तहीन श्रृंखला मधेशकेन्द्रित दल, विशेषतः मधेशी जनाधिकार फोरममा देखिएकै हो । पछिल्लो समय ठाकुर–महतो समूहमार्फत् फेरि त्यो दोहोरिएको छ । हुन त नेकपामा पनि यो प्रवृत्ति व्यापक छ । तर, टिम–क्राउस निष्कर्षमा विश्वास गर्ने हो भने पुराना दललाई फुट, गुटको प्रभाव कम पर्दछ भने नयाँ दलले त्यसको धेरै मूल्य चुकाउनु पर्ने हुन सक्दछ । मात्रामा हेर्दा नेकपाको टुट, फुट गुट ठूलो हो तर मूल्यमा हेर्दा जसपाको फुट महंगो हो ।
‘सेलिब्रेटी’ कार्यशैली र ‘अधैर्यता’ सबैभन्दा बढी नयाँ शक्तिमा थियो, यो प्रवृत्ति विवेकशील–साझामा पनि हुन सक्दछ । नयाँ शक्तिमा छोटो समयमा यतिधेरै मानिस जम्मा भए, मैले त त्यत्रो आशा नै राखेको थिइन । त्यहाँ एक से एक सेलिब्रेटीहरू थिए ।
सिने नायक नायिक करिष्मा मानन्धर, सरोज खनाल, अशोक शर्मा आदि थिए । पूर्वप्रशासक रामेश्वर खनाल, गणेश राई, डा. प्रविण मिश्र, अशोक श्रेष्ठ आदि थिए । संगीतकार, गायक लक्षण शेष, प्रदीप देवान आदि थिए । जनजाति अभियन्ता परशुराम तामाङ, पासाङ शेर्पा, डा. चैतन्य सुब्बा आदि थिए ।
तर, जब भागदौड मच्चियो, आश्चर्यजनक ढंगले मच्चियो । पुराना पार्टीमा विरलै त्यस्तो भागदौड हुन्छ । टिम–क्राउसको निष्कर्ष यहाँनेर लागू भएकै छ । विवेकशील–साझाबाट मुमाराम खनाल, डा. सूर्यराज आचार्यको बहिर्गमनलाई यसै अर्थमा लिन सकिन्छ ।
यसको अर्थ के नयाँ दलको जन्म, विकास, विस्तार र दीगोपन असम्भव हो त ? बिल्कुलै हैन । टिम–क्राउसले यस्तो अर्थ निकालेका छैनन् । बरु, उनीहरू यो भन्छन् कि नयाँ पार्टी बनाउन चाहनेहरू निर्दोषिता, बचकनापन र सेलिब्रेटी शैलीबाट मुक्त हुन सक्नु पर्दछ । धैर्यता हुनु पर्दछ । व्यवस्थापकीय भार बोक्न सघाउने संगठन र सञ्जाल विकासमा तीव्रता दिन सक्नु पर्दछ ।
अझ उनीहरू यो सिफारिस गर्दछन् कि एजेण्डालाई विचारको लेपान चाहिन्छ । अन्यथा एजेण्डा पुरा भएको दिन पार्टीको औचित्य समाप्त भएको प्रतीत हुन्छ । नयाँ दलका कतिपय एजेण्डा पुरानै दलले पनि ‘एडप्ट’ गर्न सक्दछन् । जस्तो कि नेपालमा कांग्रेस–एमालेले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, आरक्षण र समानुपातिक निर्वाचन प्रणाली स्वीकार गरे, जो हिजो उनीहरूका एजेण्डा थिएनन् ।
यदि नयाँ दल एजेण्डमा मात्र केन्द्र्रित हुने हो भने पुराना दलले ती एजेण्डा स्वीकार गर्ने बित्तिकै नयाँ दल अर्थहीन जस्तो देखिनेछन् । तर, विचार, दर्शन भएको दलमा त्यो रिक्तता र खालीपन हुँदैन । एजेण्डा समाजको विकासक्रम अनुरुप फेरिँदै जान्छन् तर, विचारको मनोवैज्ञानिक आडले दललाई दीगो बनाउँछ ।
The post टिम–क्राउस निष्कर्ष, नयाँ दलका चुनौति र हाम्रा अनुभवहरू appeared first on Sajha Post.