आगामी भाद्र ३१ गते नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औं कार्यकारिणी समितिको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । इन्जिनीयरहरुको पेशागत हक-हित र प्रवर्द्धनको लागि भन्दै यो संस्था सन् १९६२ मा गैर-नाफामुलक संस्थाको रुपमा दर्ता भएको हो । हालसम्म करिब १९-२० हजार इन्जिनियरहरु यस संस्थाअन्तर्गत दर्ता भएको देखिन्छ । यद्यपि, नेपालमा पचासौं हजार इन्जिनियरहरु रहेको तथ्य भेटिन्छन् । तर ती सबैलाई एसोसिएसनले समेट्न सकेको देखिन्न । तथापि स्थापनाकालदेखि हालसम्म यसका विविध सकारात्मक उपलब्धिहरु देख्न सकिन्छ ।

पछिल्लो कार्यसमितिको गतिविधिहरुलाई मात्र नियाल्ने हो भने पनि हरेक हप्ता आयोजना गरिने अन्तरक्रिया, भूकम्पपछि इन्जिनियरहरुको परिचालन, व्यवसाय प्रवर्द्धन केन्द्रको स्थापना जस्ता बिषयहरु सह्रानीय छन् । तर पनि कार्यक्रमहरुको विकेन्द्रीकरण, पुरस्कार वितरणमा राजनीतिकरण तथा इन्जिनियर दिवस लगायतका कार्यक्रममा पहुँच इत्यादि बिषय आलोचित बन्दै आएका छन् । अघिल्लो चुनावबहरुमा जस्तै अहिले पनि विभिन्न राजनीतिक पार्टी आबद्ध इन्जिनियरहरु प्यानल नै बनाएर चुनावमा होमिएका छन् । इन्जिनियर र इन्जिनियरिङ्ग क्षेत्रका विभिन्न एजेन्डा लिएर चुनाव जित्ने अनि फेरी अर्को चुनावको लागि तिनै बुँदा साँचेर राख्ने चलन बनेको छ, नेपाल इन्जिनियर्स एसोसियसनको चुनावमा । यसै सन्दर्भमा यो लेखमार्फत यसका विविध बिषय खोतल्ने प्रयास गरिदैंछ ।
आफैं मूल्य तोक्ने, आफैं मत किन्ने
नेपाल इन्जिनियर्स एसोसियसनको चुनावी सेरोफेरोको इतिहास हेर्ने हो भने यो विशुद्ध पेशागत हक-हितको लागि र लोकतान्त्रिक छ भन्न गाह्रो छ । कार्यकारिणी समितिको बैठकबाट नयाँ दर्ता र नवीकरण शुल्क तोक्ने गरिन्छ । एकाध अपवाद इन्जिनियरबाहेक सबैका आवश्यक कागजात र फोटो संकलन गरी विभिन्न राजनीतिक संगठनहरुले ती शुल्कहरु आफै तिर्छन्, आफै फारम भर्छन र इन्जिनियरहरुको नाम दर्ता र नवीकरण गराउँछन् । अनि भोट हाल्ने दिन उसको आउने-जाने-खाने खर्च तिनै संगठनले बेहोर्छन् । अनि यसबाट उठ्ने गरेको यक्ष प्रश्न यो हो, इन्जिनियरहरुको चुनावमा इन्जिनियरहरुले आफ्नो हितको लागि मतदान गर्छन या पैसामा मत राजनीतिक दललाई बेच्छन् ?
इन्जिनियरिंग शिक्षामा गुणस्तर: बिरालोलाई दूधको जिम्मा
इन्जिनियरिंग शिक्षालाई विश्व जगतमै सबैभन्दा बढी प्रयोगात्मक र व्यवहारिक शिक्षा मानिन्छ । आधुनिक समाज नवीनतम् निर्माणबाट मात्र सम्भव छ । अनुसन्धानात्मक इन्जिनियरिङ्ग शिक्षा नै त्यो नविन निर्माणको स्रोत हुन सक्छ । उपलब्ध स्रोत र साधनबाट समयसापेक्ष कसरी अधिक लाभ लिन सकिन्छ भन्ने कुरा इन्जिनियरिङ्ग शिक्षाले दिने कुरा हो । तर हामीकहाँ एउटा निश्चित ढाँचा रटाएर इन्जिनियर उत्पादन गर्ने चलन बढेको छ । अनुसन्धान र प्रयोग हाम्रा विश्वविध्यालयिय गतिविधिबाट बहिष्कृत छन् । इन्जिनियरिङ्गमा गुणस्तरको ठेक्का लिनेहरु नै इन्जिनियरिङ्ग शिक्षालाई व्यापार बनाउँदै छन् । अनि तिनै मध्येका व्यक्ति आएर मैले पठनपाठन प्रणालीमा यो, त्यो परिवर्तन गर्छु भन्छ, अनि हामी चोर बिरालोलाई दूधको पाले राखेर मख्ख ।
न्युनतम तलब: चुनाव जित्नको लागि हात्तीको देखाउने दाँत
सामान्य आर्थिक स्थितिको बीच इन्जिनियर बन्नेहरुको इन्जिनियर बनिसकेपछि यसो गर्छु, त्यसो गर्छु भनेर विविध सपनाहरु मनमा सजिनु नौलो कुरा होइन । उच्च सामाजिक पेशा हो इन्जिनियर भनेर परिवार र समाजले पनि कम्ता पुल्पुल्याएको हुँदैन । तर जब इन्जिनियर बनिसक्छ, यथार्थ फरक छ । निर्माण र विकास ठप्प प्राय: रहेको हाम्रो समाजमा उत्पादन अनुसारको माग छैन । अनि माग हुने ठाउँमा सुरु हुन्छ, रिले दौड । सपना र सोचाई पुरा गर्ने त परै जाओस्, ५/७ हजारबाटै सुरु हुन्छ– इन्जिनियरको मोलतोलाई । ति फार्महरुलाई के को चिन्ता, एउटा डिप्रेसन भएर जाओस्– अर्को आइहाल्छ । त्यहि छिन्नभिन्न मनस्थितिको फुच्चे इन्जिनियरलाई ब्लाकमेल गर्दै एउटाले भन्छ, हामी इन्जिनियरको न्यूनतम तलब तोक्छौं, हामीलाई भोट दिनुस् । ऊ जितेर त गयो तर त्यो निर्दोष फुच्चेलाई के थाहा– त्यहि थियो नयाँ इन्जिनियरलाई माछो-माछो भ्यागुतो बनाउने माफिया ।
इन्जिनियरिंग शिक्षा: पलायनको सजिलो बाटो
कयौं सपनाको बिच अनेकौं चुनौती पार गर्दै एक युवक जब तनाब र डिप्रेसनको शिकार बन्छ, ऊ र उसलाई नियाल्ने उसका जुनियरहरुमा अब राष्ट्रियताको पर्दा च्यातिन्छन्, अनि देशभक्ति मोनालिसाको सुन्दरता जस्तै बन्न थाल्छन्– खाली वर्णन गर्ने चिज । यसैको परिणाम हो आज– कोलिन्स र त्रिभुवन विमानस्थलमा इन्जिनियरहरुको लाइन । न त व्यवसाय गर्नको लागि उत्प्रेरक वातावरण, न त सम्मानजनक जागिर । अनि अहिलेसम्मका तीसवटा कार्यसमितिको घोषणापत्रमा लेखिएको सम्मानजनक सामाजिक पहिचान, व्यावसायिक तालिम, रोजगारी आदि-इत्यादि केका लागि लेखिएका थिए ?
कालो बादलबीचका सुनौला किरणहरु
फेरी पनि तिनै पुराना एजेन्डाका साथ नयाँ कार्यसमितिको लागि चुनाव नजिकिंदै गर्दा चुनौतिहरु नयाँ कमिटितिर भन्दा पनि निर्वाचित गराउने भोटर इन्जिनियारहरुतिर तेर्सिएका छन् । अब फेरी इन्जिनियरहरुको नीति निर्माणको जिम्मा भोट किन्ने तिनै माफियालाई नै सुम्पने हो वा शोषण-पीडा भोगेको तर संघर्षशील नेता चुन्ने हो ? चुनाव चाहिएको भ्रष्टहरुको भ्रष्टीकरणलाई प्रवर्द्धन गराउन र ढाकछोप गराउन हो या हजारौं इन्जिनियरको सारथी खोज्नलाई हो ? आज भ्रष्टाचार, मदिरा र चुरोट इन्जिनियरको पर्यायजस्तै बनेका छन् । के गरे आजसम्मका कमिटीले, इन्जिनियरलाई पेशागत आचारसंहिता र सामाजिक नैतिकता सिकाउनलाई ?
यी प्रश्नहरुसहित निर्वाचित कमिटीले न्युनतम तलब तोकेर लागू गराउने कुरा, इन्जिनियरिङ्ग शिक्षामा गुणस्तरको लागि अहम् बहससहित बाध्यात्मक स्थिति निर्माण गराउने कुरा, नयाँ इन्जिनियरहरुलाई नयाँ व्यवसाय संचालनको लागि तालिम दिने कुरा, देशभित्र विद्यमान सम्भावनाहरु पहिचान गरी परिचित गराइदिने कुरा, आचारसंहिता र सामाजिक मर्यादाबोध गराउने कुरा र इन्जिनियरहरुलाई दुःख पर्दा इन्जिनियर्स एसोसियसन सारथी छ भन्ने अनुभूति गराउने कुरालाई आफ्नो अहम् कर्तव्य ठान्न सकेमात्र यो चुनाव सार्थक रहन्छ । यसका लागि गुणस्तरमा विश्वव्यापिकारण, इन्जिनियरहरुको एकता, नेपाली इन्जिनियरहरुको अन्तर्राष्ट्रियकरण, विश्वविद्यालय अनुदान आयोग या अन्य स्रोतबाट स्नातक, स्नातकोत्तर एवं विद्यावारिधिमा थेसिसको लागि छुट्टै कोषको वयवस्था गराई अनुसन्धानात्मक शिक्षामा जोड र जागिर खोज्नेभन्दा व्यवसायमार्फत जागिर पहिचान गराउने दिशातर्फ हामी अगाडी बढ्न सक्नुपर्छ । यसका लागि नेपाल इन्जिनियर्स एसोसियसनलाई गैर-राजनीतिकरण गर्नु मुख्य जिम्मेवारी हो । यो राजनैतिक मुद्दाहरु मोचन हुने स्थान होइन, पेशागत हक-हित र जिम्मेवारीबोधको फोरम बन्न सक्नुपर्छ ।
(हाल : काठमाडौं विश्वविद्यालय)
The post इन्जिनियरहरुको चुनाव: विरासत र आवश्यकता appeared first on Sajha Post.