१. महाभारतको प्रसंग
कुनै एकान्त स्थानमा महर्षि बेदव्यास महाभारत लेखिरहेका थिए । दरबारदेखि पर वनमा विचरण गर्दै जाँदा राजकुमारी द्रौपदी उनै महर्षि भएको ठाउँमा पुगिछिन् । महर्षिको दृष्टि द्रौपदीतर्फ सोझियो । दुवैको एक आपसमा परिचय र केहीबेरको सम्वादपश्चात् महर्षिले भने, ‘राजकुमारी आउने समयमा भारतवर्षमा एउटा ठूलो युद्ध हुनेछ । त्यो युद्धमा करोडौं मानिसहरु मारिनेछन् । र, ती मानिसहरुको मृत्युको दोषी इतिहासले तिमीलाई बनाउनेछ ।’
राजकुमारी भयभित भइन । उनलाई लाग्यो- आफ्नो दोषको भागिदार केवल उनी मात्र हुनेछैनन्, पिता, कुल, आफ्नो राष्ट्र सबैमाथि कलंकको टीका लाग्नेछ । उनी झन् आत्तिइन् ।
‘हरेक समस्याको समाधान पनि त हुन्छ, परिस्थितिलाई बदल्न पनि त सकिन्छ, के यसरी करोडौं मानिसहरुको मृत्युहुने परिस्थितिलाई रोक्न सकिँदैन ?,’ राजकुमारीले महर्षिलाई प्रश्न गरिन् ।
महर्षि केहीबेर गम्भीर बने र भने, ‘सम्भव छ यदि तिमीले मैले भनेका तीन कुरा मान्यौ भने ।’
उनले भने-
१. तिमीले जीवनमा कसैको अपमान नगर ।
२. यदि कसैले तिम्रो अपमान गर्यो भने पनि तिमी अरुप्रति क्रोधित नबन ।
३. यदि क्रोधित भयौ, तिम्रो मनमा क्रोध उत्पन्न भयो भने पनि प्रतिशोध नराख ।
यदि यी ३ कुरालाई तिमीले अपनाउन सक्यौ भने यो युद्ध टर्नेछ । युद्धको कारणबाट मर्ने करोडौं मानिसहरुको ज्यान जोगिनेछ र तिमीमाथि कुनै दोषको सम्भावना रहनेछैन । मैले लेख्दै गरेको महाभारत प्रतिशोध, युद्ध र नरसंहारको सट्टा करुणा, प्रेम र ज्ञानको महाकथा हुनेछ ।
तर, समय महर्षि व्यासले अपेक्षा गरेजस्तो भएन । हस्तिनापुरको आन्तरिक कलहसँगै उत्पन्न अपमान, क्रोध र प्रतिशोधको विष समग्र भारतवर्षभरी फैलन पुग्यो र अन्तत्ः व्यासले युद्ध, नरसंहार र पाखण्डताको महाभारत लेख्नुपर्यो ।
त्यसो त आज हामी २१ औं शताब्दीमा छौं । बेदव्यासको महाभारतकालीन समाज र आजको समाजमा ज्यादै ठुलो अन्तर पनि छ । तथापि, कतिपय हाम्रा मानवीय स्वभाव, धारणा र विचारहरु हजारौं वर्षदेखि निरन्तर जीवन्त छन् । आजका सबैखाले घरपरिवारहरु, सामाजिक सम्बन्धहरु तथा संगठन र राज्यहरु हस्तिनापुरकै साना ठूला रुपहरु हुन् भन्दा त्यति फरक पर्दैन । त्यहाँ जहिलेसुकै ममता, करुणा, प्रेम र सद्भावको अपेक्षा गरिन्छ तर भेटिन्छ- अपमान, घृणा, क्रोध, प्रतिशोध र द्वन्द्व ! यहाँ प्रस्तुत् द्रौपदीको दृष्टान्तमा उनको लैगिंकता भन्दा पनि आम मानिसहरुको रुग्ढ सामाजिक र मनोवैज्ञानिक अवस्थाका प्रति सचेत भइदिन म पाठकहरुसँग आग्रह गर्दछु ।
२. प्रतिशोधको राजनीति र राजनीतिक ‘तमासा’
०७२ को नयाँ संविधान निर्माण र यसको घोषणासँगै बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेस र माओवादीलाई पछाडि पार्दै देशको सबै भन्दा ठूलो र शक्तिशाली पार्टी बनिरहेको अवस्थामा चुनावको सम्मुखमा जब माओवादी समेतको एकतालाई हासिल गर्न ओली प्रचण्ड सफल भएका थिए । तत्पश्चात् बनेको नेकपाबाट धेरै अपेक्षा आम कार्यकर्ता र पार्टी बाहिरको ठूलो वृत्तले पनि गरिरहेको थियो । यतिसम्मकी दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी, एक नयाँ शक्ति, अबको वास्तविक वैकल्पिक शक्ति, आम सीमान्तकृत वर्गको नेतृत्वदायी दल र समाजवादको मुख्य संवाहक आदि बिम्ब र व्याख्याहरु एक भेल बनेर नेकपा गठनको भाष्य तयार हुँदै थियो ।
केपी र प्रचण्डको सम्बन्धमा नयाँ नयाँ किस्साहरु थपिइरहेका थिए; एउटै जेटका दुई पाइलटहरु, एकअर्काको विचारलाई नजिकबाट बुझ्नसक्ने विशिष्ट मित्रहरु आदि ।
तर, जब देशको लोकतान्त्रिक भनिने दल, लोकतान्त्रिक वा स्वतन्त्र बौद्धिक पेशाकर्मी, चिन्तक र लेखकहरु नै यसप्रकारको निर्लज्ज घृणा, अपमान र प्रतिशोधको भावनाबाट ग्रसित र रुग्ण बन्न पुग्छन् भने त्यस्तो समाजमा प्रजातन्त्र वा लोकतन्त्रको चित्र पनि ज्यादै कुरुप हुन्छ ।
केपी प्रचण्डले सँगसँगै खाना खाएका तस्विरहरु, प्रचण्ड र राष्ट्रपति विद्यादेवीसँगका पारिवारिक भेटहरु लगायतको विवरण यति प्रचुर बनिरहेको थियो की तात्कालीन अवस्थाका पूर्व एमाले र पूर्व माओवादीका कार्यकर्ताहरुसम्मको तहमा समेत लाग्थ्यो एक नयाँ र बलियो केमेष्ट्री उत्पन्न भइरहेको छ र अब पछाडि फर्कनसक्ने सबै सम्भावनाहरुको अन्त्य भैसकेको छ ।
तर, परिस्थिति त्यस्तो भएन । ३ वर्ष पनि पुग्दानपुग्दै त्यो एकतामा गडबढीहरु उत्पन्न हुने अवस्था बन्दै गयो । सरकार र पार्टी दुवैमा ओलीको लगभगपूर्ण नियन्त्रण भइरहेको अवस्थामा तनाव ओली प्रचण्डका बीचमा त थियो नै तर यसभन्दा बढी पूर्व एमाले वृतमानै ओलीको एकल नियन्त्रणप्रति गहिरा असहमति र मतभेदहरु विभिन्न तवरले प्रकट भइरहेका थिए । त्यस्तै विगतमा नेपाल खनाल समुहले पार्टी र राज्यसञ्चाल गरिरहँदा केपी-विद्या समूहमाथि भएका अनेक आरोप, अपमान र घृणाको बदला लिने समयको प्रतिक्षा पनि भइरहेको थियो ।
पछिल्लो पार्टी अधिवेशन र ०७४ को आम चुनावपश्चात् नेकपाको भारी बहुमतका साथ राज्यको बागडोर समेत आफ्नो पक्षमा आयो, तब केपी-विद्या समूहले आफ्नो समयको सदुपयोग यसरी गर्दै गयो कि पार्टी भित्रका आफ्ना सम्पूर्ण विरोधीहरुका विरुद्धमा प्रतिशोधपूर्ण राजनीतिको एउटा महाजल नै तयार हुने परिस्थिति बन्यो ।
चिहानतर्फ लग्नुपर्ने अपमान र प्रतिशोधको विचारलाई ओली संरक्षित एउटा सानो गुटले उचाल्यो र विस्तारै त्यसलाई एउटा समूह भित्र, आफ्नो दल भित्र र हुँदाहुदा समग्र देशकै मुलधारको राजनीतिमा प्रवाहित गर्न सफल भयो । परिणाम के भयो भने, ओली पक्षले आफ्नो पार्टी भित्रका प्रतिस्पर्धी/विपक्षीहरुले आफूमाथि विगतमा गरेका तमाम् खाले वञ्चितीकरण, अपमान र घृणाको सारा हिसाब-किताबको साँवा, ब्याज र स्याज समेत नेपाल–खनाल पक्षबाट असुल्न कम्मर कसेर लाग्यो ।
केन्द्रीय सरकारको गठन, प्रदेशतहका संरचना र राज्यका उपल्ला तहहरुमा गरिएका नियुक्तिहरु र खास खास पक्षका व्यक्तिहरु र तिनीहरुबाट यो समूहले गरेका अपेक्षाहरुले अर्को समूहलाई प्रताडित र दण्डित गरिरहेको जस्तो परिस्थिति स्पष्ट देखिन्थ्यो । बस्ने कुर्चीको आकार र रंगमा विभेद, अक्षरको साइजमा गरिएको विभेद, उच्च र तल्लो आसनको विभाजन, विशिष्ट नेताहरुको महत्वलाई एक मामुली नेता सरहको जिम्मेवारीसहित गरिएका पार्टी व्यवस्थापनहरु केपी-विद्या समूहले अपनाएका त्यस प्रकारका क्रोध र प्रतिशोधका विशिष्ट औजार र उपकरणहरु थिए जो कुनै समय सञ्चार माध्ययममा निरन्तरजसो समाचार बनिरहेका हुन्थे ।
स्वतन्त्र र निभर्यतापूर्वक आफ्नो अभिमत र विचार प्रकट गर्ने अवस्था नागरिकमा भएन र नागरिक खास खास नेता वा समूहका भोटिङ रोबोट भन्दा भिन्न बन्न सक्ने र बनाउने संयन्त्रहरु भएनन् भने लोकतान्त्रिक नेतृत्वमा अलोकतान्त्रिक महत्वाकांक्षा र अभ्यासहरु विकास हुनपुग्छन् र त्यसले अन्ततः यसैगरी घृणा, अपमान र प्रतिशोधको राजनीतिलाई मूलधारमा स्थापित गर्नपुग्छ ।
सतहमा झगडा केपी र प्रचण्डको देखाइन्थ्यो तर गहिराइमा पूर्व एमाले भित्रकै नेपाल-खनाल पक्षले सामना गर्नुपरिरहेको तिरस्कार र घृणा प्रधान रहन्थ्यो । नेकपाभित्रका प्रतिस्पर्धी समूहहरुको परस्पर हित, सद्भाव र समन्वयको अभावमा फैलिएको घृणा, द्वेष र प्रतिशोधको मारमा कोषौं परको र भर्खरै एकताबद्ध हुँदै गरेको जनता समाजवादी पार्टी पनि पर्न गयो र सरकारी अरन खटनमा त्यस सँगठनमाथि विभाजनको बीउ रोप्ने गैरराजनीतिक काम भयो । नेकपा भित्र बढिरहेको प्रतिशोधको राजनीतिले पूर्ण आकार ग्रहण गर्दैजाँदा मुलुकमा विभाजनको राजनीति कसरी हुर्कंदै जानेछ भन्ने कुराको यो स्पष्ट संकेत थियो ।
०७८ को नयाँ वर्षमा आइपुग्दा विश्वभरी फैलिएको कोरोना महामारीको चपेटामा गत एक वर्षभन्दा लामो समयदेखि शिथिल बनिरहेको देशको दुरावस्थाको आजको बीचमा सारा विपत्तिलाई एउटा कुनामा थन्क्याएर विघटनपछि ब्युँतिएको संसदलाई फेरी विघटन गर्दै प्रधानमन्त्री र उनको समूहले आफ्ना प्रतिस्पर्धीहरुका विरुद्धमा प्रतिशोधको कठोर बदला लिएको छ ।
परिणाम प्रधानमन्त्रीको दल नेकपा त रहन सकेन नै अन्डु गरेर पुगेको एमालेको आँगनमा पनि प्रधानमन्त्रीले दह्रो गरी खुट्टा टेक्नसक्ने परिस्थिति बनिरहेको छैन । प्रधानमन्त्रीले खुलेआम पटकपटक संविधानका धाराहरुमा अचम्मको राजहठ प्रकट गरिरहेका छन् र विधिको शासनको खिल्ली उडाइरहेका छन् । घृणा, अपमान र प्रतिशोधको विचारमा बशिमूत प्रधानमन्त्री, उनको कोटरी र विगत केही वर्षको अन्तरालमा विकास भएको उनको भजनमण्डली ओलीको हठलाई नै परमज्ञान र परमसत्यको रुपमा मन्त्रजस्तै जप्दैछ र देशमा नयाँखाले अस्थिरता र द्वन्द्वको आवश्यकताको भाष्यमाथि साँद लगाउने धृष्टता गर्दैछ ।
अपमान, क्रोध र प्रतिशोधको बीचमा एमाले, माओवादी, मधेसवादीका नाममा पक्ष र विपक्ष समूहहरु कौरव र पाण्डव जस्तै दुई दुई समुहमा स्पष्ट विभाजित बनेका छन् । प्रधानमन्त्रीकै शब्दलाई सापटी लिने हो भने देशमा एउटा विचित्रको राजनीतिक ‘तमासा’ को मञ्चन भइरहेको छ । उनीहरुको कल्पनामा देशले नयाँ कुरुक्षेत्रको आकार ग्रहण गर्दैछ । यो वा त्यो प्रकारले देशको सम्पूर्ण राजनीतिक सामर्थ्य यो तमासाको पात्र वा दर्शक बन्न अभिशप्त छ ।
३. प्रतिशोध र पतन
२००७ सालदेखि हामीसम्म आइपुग्दा राजनीतिक संघर्षको मुख्य तारो तात्कालीन राज्य व्यवस्थाहरु रहे । त्यो चरणमा हामीले राज्यको आधारभूत शक्ति संरचना र शक्ति सम्बन्धहरुलाई भत्काउनुपर्ने र त्यहाँ नयाँ तवरको व्यवस्थापन गर्नुपर्ने थियो जसले स्वतन्त्र नागरिकको अभिमत र विचारलाई आफ्नो शक्तिको मूल आधारको रुपमा स्वीकार गरोस् ।
लोकतन्त्रिक व्यवस्था यही मान्यताको ठोस रुप हो । यस अर्थमा २०४६ साल र ०६२/६३ का जनसंघर्षहरुपश्चात् हामीले शक्तिको आधारभूत मान्यतामा परिवर्तन हासिल गरेका छौं । खास व्यक्ति, खास वंश वा खास धर्म वा लिङ्गसँग मात्र शक्तिको सम्बन्ध स्थापित गर्ने परम्परागत प्रणाली र मान्यतालाई विर्निमाण गरेका छौं ।
तर, यति हुँदैमा लोकतन्त्र बलियो भइहाल्ने होइन । किनभने खासमा लोकतन्त्र अमूक वा निर्जीव संरचना होइन । यो त एक जीवन्त सामाजिक राजनीतिक अभ्यास हो जुन खास तवरका लोकतान्त्रिक मूल्य र मान्यता र त्यसप्रति सचेत नागरिकहरुको अन्तरसम्बन्धबाट गतिशील बन्दछ । स्वतन्त्र र निभर्यतापूर्वक आफ्नो अभिमत र विचार प्रकट गर्ने अवस्था नागरिकमा भएन र नागरिक खास खास नेता वा समूहका भोटिङ रोबोट भन्दा भिन्न बन्न सक्ने र बनाउने संयन्त्रहरु भएनन् भने लोकतान्त्रिक नेतृत्वमा अलोकतान्त्रिक महत्वाकांक्षा र अभ्यासहरु विकास हुनपुग्छन् र त्यसले अन्ततः यसैगरी घृणा, अपमान र प्रतिशोधको राजनीतिलाई मूलधारमा स्थापित गर्नपुग्छ ।
प्रधानमन्त्री ओलीका अभिव्यक्ति र व्यवहारहरुलाई लिएर यतिबेलाको नेपाली समाजको एउटा वृतमा फेरी अर्को घृणा र प्रतिशोधको जबरजस्त लहर फैलिइरहेको छ । हिजो प्रधानमन्त्रीलाई जसले देवत्वकरण गर्यो, आज त्यही वृतबाट नै यसप्रकारको घृणा र प्रतिशोधपूर्ण विचारहरु प्रकट हुनु त्यति अस्वभाविक होइन ।
किनभने, यस प्रकारका विचारहरुमा वस्तुगत परिस्थितिप्रति कम र आफ्ना खासखास आग्रहहरुप्रति ज्यादा लगाव प्रकट हुन्छन् । तर, जब देशको लोकतान्त्रिक भनिने दल, लोकतान्त्रिक वा स्वतन्त्र बौद्धिक पेशाकर्मी, चिन्तक र लेखकहरु नै यसप्रकारको निर्लज्ज घृणा, अपमान र प्रतिशोधको भावनाबाट ग्रसित र रुग्ण बन्न पुग्छन् भने त्यस्तो समाजमा प्रजातन्त्र वा लोकतन्त्रको चित्र पनि ज्यादै कुरुप हुन्छ ।
समग्रमा लोकतन्त्र स्वतन्त्र र निर्भिक नागरिकहरुको स्वन्तत्र र उद्दात्त भावनाको समग्रता त हो नै सँगसँगै हरेक व्यक्तिको स्वन्त्रता, उसको अधिकार र नैसर्गिकतालाई सम्मान गर्ने एक जीवन्त संस्कृति पनि हो भन्ने कुरामा हामीले सदा हेक्का राख्नै पर्दछ । अतः लोकतन्त्र स्वतन्त्रता मात्र होइन, एक कठोर जिम्मेवारी पनि हो । जस्तोसुकै कठोर दुश्मन किन नहोस् यदि उसको स्वन्त्रता र नैसर्गिकताको हेक्का हामीलाई हुँदैन भने हामी लोकतान्त्रिक होइनौं ।
प्रधानमन्त्री ओली वा राष्ट्रपति पक्षधर रहेका, विभिन्न दलमा वा पदमा रहेका कुनै क्षेत्र वा वर्गलाई प्रतिनिधित्व गर्ने व्यक्ति वा पदाधिकारीहरुका सम्बन्धमा जसरी व्यक्तिगत तहमा उत्रिएर हलुका टिप्पणी र व्याख्याहरु समाजको सचेत भनिने वर्गबाट यतिबेला भइरहेका छन्, यो लोकतन्त्रको विरोधी संस्कृति हो । यो पनि प्रतिशोधपूर्ण राजनीति हो । ओली–विद्या समूहले नेपाल-खनाल समूह विरुद्ध अवलम्बन गरेजस्तै । यस माथी सख्त पूर्नविचारको खाँचो छ । तमाम् लोकतन्त्रका पक्षधरहरुले, प्रतिशोधपूर्ण होइन कि प्रतिरोधपूर्ण, चौतर्फी प्रतिरोधी राजनीतिलाई अंगाल्नु अहिलो आवश्यकता हो ।
जब हामी लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिको विकासको कुरा गरिरहन्छौं तब यहाँ के स्मरण गर्न आवश्यक छ भने, हिजो लगभग खासकुनै आधारभूत राजनीतिक परिवर्तनको सुनिश्चितता र विगतका यावत कमजोरीहरुलाई सच्याउने प्रतिबद्धता बिनानै प्रचण्ड र बाबुरामले ओलीसँगसँगै हात उठाएकै थिए । उपेन्द्र यादवजीले स्वयं प्रधानमन्त्री ओलीबाट नै सफथ लिएर मन्त्री बनेकै हुन् ।
०७४ को नयाँ चुनाबपश्चात् पनि ओलीले पटक पटक संविधानका धाराहरु र मान्यताहरुमा प्रहार गरे । यतिसम्म संबैधानिक परिषद सम्बन्धि विधेयक त धेरै पछिको कुरा हो ओलीले संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेतालाई आमन्त्रण गर्न पटकपटक आनाकानी गरिरहेको अवस्था त धेरै पहिल्यै देखि थियो ।
सँगसँगै गुठी सम्बन्धि, प्रेस स्वतन्न्त्रा सम्बन्धि आदि विधेयकहरु ओली सरकारले अगाडि बढाइरहेको अवस्थामा र आम नागरिकले विभिन्न कोणबाट त्यसप्रकारका प्रयत्नहरुमाथि नागरिक प्रतिरोध भइरहँदा हाल प्रधानमन्त्रीको विपक्षमा उभिएको ठूलो पंक्ति त उनको भजनमा सम्मोहित भइनैरहेको अवस्थाप्रति पनि हामीले अन्देखा गर्नु र ओली विपक्षको शक्ति र समूहहरुलाई सम्पूर्ण रुपले दूधले नुहाइदिन किमार्थ आवश्यक छैन । आवश्यक के छ भने, यो समग्र जटिलताबाट राजनीतिलाई सम्भव भएसम्मको नयाँ र उन्नत अवस्थातर्फ लग्ने ।
अन्त्यमा,
अबको मूल कुरा के हो भने- यही घृणा, अपमान र प्रतिशोधको राजनीतिलाई नयाँ नयाँ तवरले उत्पादन गर्ने हाम्रो विकृत संस्कृतिमाथि कसरी धावा बोल्ने ? यो प्रश्नको उत्तर सटिक छैन । किनभने साँस्कृतिक परिवर्तनको कुरा संरचनागत परिवर्तन जस्तो स्पष्ट दुस्मन वा विरोधी कित्तालाई किटान गरेर त्यसमाथि प्रहार गर्ने रणनीतिहरु तय गर्ने जस्तो स्पष्ट र रेखीय हुँदैन । यस सम्बन्धमा हामीले फरक कोणबाट लामो बहस छेड्न आवश्यक छ ।
तर, यहाँनेर के दोहोर्याउन आवश्यक छ भने आजको दिनमा जसरी आम नगरिक विचार समूह र मूलधारको चिन्तन ओली–विद्या व्यक्ति वा समूहमाथि खनिएको छ यो नितान्त गलत छ । पूर्वाग्रही, प्रतिशोधपूर्ण विचारबाट निर्देशित र अलोकतान्त्रिक छ । अब यो प्रतिशोधपूण राजनीतिक वातावरण कसरी र कुन रुपमा मत्थर हुनेछ वा अझै पेचिलो बन्दै जानेछ, यो आउँदा दिनहरुले देखाउने नै छ । तर, के चाहिँ स्पष्ट भन्न सकिन्छ भने, यो प्रतिशोधपूर्ण परिस्थितिलाई सहजतातर्फ लग्न अहिलेकै दलहरु र तिनीहरुकै उच्च नेतृत्वको बीचमानै आत्म समीक्षा, देश र जनताप्रतिको पूर्ण जिम्मेवारीबोध, र नयाँ र उन्नत राजनीतिक मान्यताहरुको विकास र प्रवर्द्धनतर्फ अगाडि बढ्ने एउटा नयाँ समझदारी र सम्बन्धलाई पुनः हासिल हुन आवश्यक छ ।
यसविपरित प्रतिशोधपूर्ण तमासे राजनीतिको वर्तमान परिस्थितिलाई अरु जटिल बनाउनमै सबै उद्यत भइरहने हो भने दलहरु र समग्र नेतृत्वको पतन र विनासको नियतिलाई बाहिरबाट अरु कसैले टार्न सक्दैन ।
२०७८ जेष्ठ १२ गते, पोखरा
The post अपमान, क्रोध, प्रतिशोध र पतन appeared first on Sajha Post.