Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

माधवजीको त्यो कुराले म भावुक र स्तब्ध भएँ

$
0
0

हामीले असल नियतका साथ एमालेसँग पार्टी एकता गरियो । यो एकता कम्युनिष्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुङ्ग पार्ने काम गरे । माधवजी र हामीहरू मिलेर लडिरहेका थियौं । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे, हामीले लड्यौं । सर्वोच्चले पुनःस्थापना गर्‍यो । फेरि सर्वोच्चले अर्को फैसल्ला गर्‍यो । त्यसले एमाले र माओवादी छुट्याइदिने गरेर विल्कुल राजनीतिक निर्णय गरेको थियो ।

अदालतको त्यस्तो राजनीतिक निर्णयको प्रतिवाद कसरी गर्ने ? हामी छलफलमा थियौं । हाम्रै संसदीय दलको कार्यालयमा पार्टीका बरिष्ठ नेतादेखि कानुन व्यवसायीसँग कुराकानी गरेका थियौं । यो अदालतको राजनीतिक निर्णय भयो । यस्तोमा राजनीतिक प्रतिवाद गर्ने कुरा भयो । वरिष्ठ अभिवक्ता शम्भु थापादेखि सबैले राजनीतिकरुपमा प्रतिवाद गर्ने कुरा गर्नुभएको थियो । शम्भुजीले भन्नुभएको थियो, ‘तपाईहरू ढुढतापूर्वक एकताबद्ध भएर जानुभयो भने लडाईं जितिन्छ ।’

त्यसपछि अधिवक्ताहरूलाई बिदाई गरेपछि माधव, झलनाथ, नारायाणकाजीलगायतका हामी सचिवालयका साथीहरू त्यहीँ छलफलमा बस्यौं । अब के गर्ने ? तुरुन्तै बाहिर प्रतिवाद कसरी गर्ने भन्नेमा स्थायी कमिटिको बैठक बस्यौं, त्यहाँ अध्याधिक बहुमत छ । जहाँसुकै केपीलाई परास्त गरेकै थियौं । भोलि ११ बजे स्थायी समितिको बैठक बस्यौं, त्यहाँ छलफल गरेर व्यवस्थित ढंगले एउटा प्रस्ताव पारित गरौं, वक्तव्य दिऔं, र जनताका बीचमा जाऔं भन्ने भयो ।

त्यही अनुसार ११ बजेको बैठक र बक्तव्यको तयारी चलिरहेकै बेला बिहान ८ बजेतिर माधव जीको फोन आयो– हाम्रो भित्र विभिन्न मत देखा परे, जटिलता देखा पर्‍यो, मैले केही साथीहरूसँग छलफल गर्नुपर्ने भयो, यतापट्टीको स्थायी समितिको बैठक बस्नुपर्ने भयो, त्यसकारण ११ बजे स्थायी समितिको बैठक नभ्याइने भयो ।

त्यसमा मैले धेरै आशंका गरिनँ, सायद कसरी जाने भन्ने बारेमा होमवर्क गरेर आउन खोज्नुभयो होला भन्ने लाग्यो ।

माधवजी पार्टीको अर्को अध्यक्ष भईसक्नुभएको थियो । उहाँले एक दुई घण्टा समय भनेपछि १, २ भन्दै ३ बजे पुर्‍याइयो । त्यसपछि उहाँहरू छलफल गर्नुभयो र आउनुभयो । माधवजीले मलाई अलग्गै भन्नुभयो– अदालतले निर्णय गरिसक्यो, यसलाई मान्दैनौं भन्दा झन् जटिलता पैदा हुन्छ, माओवादी केन्द्र पनि भईसक्यो, एमाले पनि भईसक्यो । हामी अहिलेलाई एमाले नै भएर जाने, त्यहीँभित्र संर्घष गर्ने भयौं ।’

माधवजीले मलाई तल अलग्गै यस्तो सुनाईसकेपछि म भावुक भएँ, अलिक स्तब्ध पनि भए ।

‘तपाईहरूको यो फाइनल हो ?’ मैले उहाँलाई सोधेँ । उहाँले भन्नुभयो, ‘फाइनल हो । यसमा सबैको सर्वसम्मत कुरा भयो ।’

त्यसपछि त्यही कुरा राख्नुस् न त बैठकमा भनियो, उहाँहरूसहित बैठकमा गइयो । त्यहाँ माधवजीले त्यही कुरा राख्नुभयो । खासगरी नारायणकाजी कमरेडले यो गर्नै हुन्न । एक दुई दिन पर्खौं, अहिले यसरी जानै हुँदैन भनेर अलिक जोड दिइरहनु भएको । अरु साथीले पनि भनिरहनु भएको थियो । तर उहाँहरूले सोचे/सल्लाह गरेर अब हामी एमाले नै हुनुपर्छ, यता पट्टी भयो भने माओवादी भए भन्दिन्छन्, झन अप्ठ्यारो पर्ने हुन्छ भन्ने निश्कर्षसहित आएपछि स्थिति अर्कै ठाउँमा गयो ।

माओवादी मात्रै मिल्ने त ?

त्यसपछि हामी माओवादी केन्द्रकै रुपमा अगाडी बढ्नुपर्ने अवस्था रह्यो । तर पनि माधव कमरेडहरूसँग सहकार्य गरिराख्ने नै हो, छलफल गरिराख्ने हो, मिल्ने विषयमा मिल्दै जाने हो र भोलि फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र पार्टीलाई एकताबद्ध गर्न वातावरण बनाउने हो भन्ने खालको समझदारी त्यहाँ थियो । त्यसपछि हामी माओवादी संगठन तिरै फर्कियौं । उहाँहरू एमालेमै जानुभयो । त्यहाँ पनि उहाँहरू आफ्नै ढंगले संर्घषमै हुनुहुन्छ । त्यो स्थिति देखिन्छ । तर यहाँ हामीले गल्ती गर्‍यौं भनेर पश्चाताप गर्नुपर्ने काँही पनि ठाउँ म देख्दिनँ । हामीले कमजोरी गर्‍यौं । पहिलो त, कहाँकहाँ कमजोरी गर्‍यौं र आउँदा दिनमा सच्चाएर कसरी जाने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मेरो निश्कर्ष छ ।

दोस्रो, अब यो हुँदो रहेनछ, एमालेसँग एकता गरेर टिकेन । माधवजीहरूले पछि राजीनामा दिने भनेपनि के–के भयो, नहुने रहेछ । अब माओवादी मात्र मिल्नु पर्ने रहेछ । जनयुद्धमा सहभागी भएकालाई छिटो मिलाउनु पर्ने रहेछ । उनीहरूसँग मिल्न केही कमरेडहरूले अलिक बढी त्यस्ता सुझाव मलाई पठाउने पनि गर्नुभएको छ । बाहिर मिडियामा धेरै समर्थक/शुभचिन्तकहरूको पनि हेछु, सुनिरहेको छु, अब माओवादी मात्र एकताबद्ध हुनुपर्छ । अझ त्यसमा पनि जनयुद्धमा सहभागी भएकाहरू पहिला एक हुनुपर्छ भन्ने टिप्पणी आएका छन् ।

मेरो विचारमा त्यो सोचाई जो साथीहरूको इमान्दारीपूर्वक, एउटा पृष्ठभूमिलाई आधार बनाएर, भावनात्मक विचार गरेर, भावनामा आएर इमान्दारितापूवर्क भन्नुभएको छ, उहाँहरूप्रति म कुनै टिप्पणी गर्दिनँ ।

हो, हामीले सबैलाई साथ लिने हो । तर आजको वर्गसंर्घष, आजको वैचारिक राजनीतिक संर्घषको आवश्यकता, परिमार्जनको आवश्यकता जे भन्नुस्, त्यसलाई हेर्दा माओवादी मात्र एक भन्यौं भने त्यो त्रुटीपूर्ण रगल्ती हुन्छ भन्ने छ मेरो । हामीले त्यसो भन्नु हुँदैन । माओवादी हिजो जनयुद्धमा सहभागी भएकै मध्ये आज एकथरी साथीहरू ७ जना मन्त्री तपाई हामीले देखेकै छौं ! माओवादी नै थिएनन् र ? थिए । अझ माओवादीका पनि चानचुने खालका भएका भए पनि हुन्थ्यो । धेरै वरिष्ठ खालकै थिए । के हुँदो रहेछ त ? के भयो त ?

हिजो हामीले जति उपलब्धि छन्, तिनलाई संस्थागत गरौं । र, बाँकी अरु उपलब्धिका लागि लड्यौं भन्दा हामी विभाजित भएका हौं । के कारणले गर्दा भयो ? को प्रमुख दोषी हो ? कसको कारणले विभाजित भयौं ? कुन विचार र प्रवृत्तिले गर्दा ?

हामीले नजिकबाट हेरेका छौं । त्यसकारण माओवादी एक हुनुपर्छ भन्ने भावना राख्ने साथीहरूप्रति मेरो कुनै गुनासो छैन । टिप्पणी आलोचना पनि होइन । तर मार्क्सवादी दृष्टिकोण, वर्गसंर्घषको आजको आवश्यकताको दृष्टिकोण र आजको देशको राजनीतिक आवश्यकताको दृष्टिकोणले हेर्दा त्यो सोचाई साहैं सानो र संकीर्ण सोचाई हुन जान्छ । हामीले एकताको झण्डा उठाउनैपर्छ, त्यो ठिक छ । हामीले कम्युनिष्ट आन्दोलनकै झण्डा, एकताको उठाउनुपर्छ । हामीले बृहत कम्युनिष्ट आन्दोलन निर्माणकै झण्डा उठाउने हो । यो वा त्यो गुटसँग एकता गरेपछि हुन्छ भन्ने ठान्ने सोचाईले हामीलाई काम दिँदैन । त्यसकारण मैले के भन्ने गरेको छु भने हामीले कम्युनिष्ट आन्दोलनको एकताको कुरा गर्ने हो । त्यसमा जो हामीसँग ‘इस्यु’मा नजिक छन्, तिनीहरूसँग अलिक छिटो सहज ढंगले एकता होला । अहिले पनि केपीको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदमको विरुद्ध एक हुने, सबै कम्युनिष्ट आन्दोलनका समूहलाई कोहीसँग कार्यगत एकता, कोहीसँग मोर्चा, कोहीसँग पार्टी एकताको अधार बनाउने गरी जानु सही हुन्छ ।

राष्ट्रिय स्वाधिनताका लागि वृहद् एकता

त्यसकारण हामीले कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । माओवादी मात्रको एकता होइन । आजको परिस्थितिले त्यसलाई मान्दैन । ठिक छ, माओवादी आन्दोलनमा लागेकाहरू एकतामा आउने, प्रतिक्रियावादीहरूका विरुद्ध संर्घषमा आउने र मिलेर जाने कुरा हुँदा खुसीको कुरा हो । मैले जहिले पनि त्यो अपिल गर्ने गरेको छु । तर कम्युनिष्ट आन्दोलनको नेतृत्वको हैसियतले र आजको दिनको वर्गसंर्घषको क्रान्ति, संर्घषको कुर्सीमा म बसेको छु र त्यसको पीडाको स्थितिबाट हामी गुज्रिएका छौं । यसरी हेर्दा हामीले कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । यो वा त्यो गुटसँग मात्र एकताको कुरा होइन ।

त्यसो गर्दा माधव नेपाल, झलनाथ खनालसँग मात्र होइन, केपी ओलीको भ्रममा भएका अरु थुप्रै साथीहरू त्यहाँ छन्, तिनीहरूलाई पनि हामीले एकतामा ल्याउने कोसिस गरिरहनु पर्छ । र, माओवादी आन्दोलनको पृष्ठभूमि भएका साथीहरूसँग पनि हामीले एकताको कोसिस गरिरहनु पर्छ । हामीले ठूलो छाती बनाएर मार्क्सवादी दृष्टिकोण अनुसार, ठूलै एकता र ठूलै आकांक्षा, ठूलै झण्डा एकताको उठाउने हो, सानो होइन ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख वाहकको रुपमा भूमिका खेल्यौं । सबै उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग जसको समावेशिता र समानुपातिकताका निम्ति सबैभन्दा वढी हामी लड्यौं, उनीहरू सबै र हिजो शान्तिसम्झौता पक्षधर र गणतन्त्र पक्षधर सबै शक्तिलाई एकतावद्ध गर्ने कुरालाई विल्कुलै हामीले नजरअन्दाज गर्न हुँदैन । उनीहरूलाई राष्ट्रिय एकताको निम्ति हामीले के नेपाली काँग्रेस, के जनता समाजवादी पार्टी, के अरु साना ठूला पार्टी/शक्तिहरू, सबै जाति, क्षेत्र, समुदाय सबैलाई एकताबद्ध गर्ने गरी राष्ट्रिय एकताको झण्डा नै हामीले उठाउनुपर्छ । राष्ट्रिय स्वाधिनताकै झण्डा उठाउनुपर्छ ।

हामीले जनवादी क्रान्तिका मूलभूत कार्यभार, आधारभूत पक्ष पूरा भए भन्दै गर्दा राष्ट्रिय स्वाधिनताको पक्ष चुनौतिपूर्ण छ भन्ने बिर्सन हुँदैन । हामीले सामन्तवादमाथि राजनीतिक रुपले, अन्यरुपले आधारभूत रुपमा विजय हासिल गरेपनि हामीले वैदेशिक हस्तक्षेपका विरुद्ध विजय हासिल गरिसकेका छैनौं । त्यसकारण राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनताको पक्षमा सबै जातिको एकताको पक्षमा पनि हामीले अगाडी बढेर झण्डा उठाउनै पर्छ । हामीले सानो चित्त गरेर यसले हामीलाई यसो भन्यो, उसले यसो भन्यो भन्ने आधारमा वा एकछिन यो नेता रिसायो, ऊ रिसायो, कुन नेताले के टिप्पणी गर्‍यो भन्ने आधारमा निर्णय गर्नु हुँदैन । हामीले त बृहत्तर राष्ट्रिय हितलाई हेरेर अहिले संविधानको पक्षमा उभिने, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने, शान्ति सम्झौताको पक्षमा उभिने, समानुपातिक समावेशिताको पक्षमा उभिने र केपी प्रवृत्ति निरंकुश छ, प्रतिगमनकारी छ भन्ने सबै शक्तिलाई लिएर जानुपर्छ । त्यसपछि मात्र हामी कम्युनिष्ट आन्दोलनको पनि नेतृत्व गर्न सकिन्छ । उतारचढावहरू जतिसुकै आए पनि ।

अब आफ्नै खुट्टामा उभिनुपर्छ

त्यसो भए, अब हाम्रा प्राथमिकता के ? भन्ने आउँछ । अहिले घटनाक्रमले के देखायो भने हामीले आफ्नो विचार, आफ्नो राजनीतिक मूल्य/मान्यतालाई, आफ्नो संगठनलाई, आफ्नो संस्कार र आचरणलाई राम्रो बनाउनुपर्छ । आफ्नो विचारलाई अझ परिमार्जन गर्न मेहनत गर्ने, राजनीतिक कार्यदिशा विकसित गर्न मेहनत गर्ने, संगठनलाई व्यापक र सुदृढ गर्न बल गर्ने, अनि जनयुद्ध या जनआन्दोलनको बेलामा हामीलाई साथ दिएका शक्तिहरूसँगको सम्बन्धलाई विशेषरुपले लिने, हाम्रा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते, अपांगहरूसँगको सामिप्यता, उनीहरूलाई सहयोग गर्ने कुरालाई प्राथमिकतामा राख्ने, हाम्रो जनाधारलाई सुढृढ गर्ने र आफ्नै खुटटामा उभिने गरी सोच्नुपर्छ । आफनो संगठनलाई बलियो बनाउने, आफ्नै जनाधारलाई सुढृढ बनाउने, हामीलाई यहाँसम्म ल्याउन त्याग, बलिदानको किर्तिमान कायम गरेका जनसमुदाय र आन्दोलनका सहभागीहरूको सम्बन्धलाई सुदृढ बनाउने कुरालाई पहिलो प्राथमिकता दिनैपर्छ । अहिले हामीले निकाल्ने निश्कर्ष यही हो ।

फागुन २३ को सर्वोच्चको निर्णय आएपछि मैले कुनै न कुनै रुपमा अब तल नफर्किएसम्म हुँदैन भनेर एउटा संकल्पसहित साथीहरूलाई अपिल पनि गरिरहेको छु । म आफैं पनि जनताका कुराहरू सुन्ने कोसिस गरिरहेको छु । मैले सहिद परिवार, बेपत्ता परिवारको योद्धाहरूको बीचमा जाने कोसिस पनि योबीचमा गरिरहेको छु । म दौडिरहेकै पनि थिएँ । तपाईहरूले देखिरहनु भएको पनि थियो । तर अहिले कोभिडका कारण जान सम्भव भईरहेको छैन । तर पनि त्यो कोसिस भईरहेको छ ।

ठूलै त्रुटि भए, म त्याग्न तयार छु

त्यसकारण हाम्रो पहिलो प्राथमिकता आफ्नै विचार, आफ्नै राजनीति, आफ्नै संगठन र जनआधारलाई सुढृढ गर्ने कुरामा हामीले प्राथमिकता दिएर लाग्नै पर्छ । जनतातिर फर्किनैपर्छ । योबीचमा हाम्रो त्रुटि भएको क्षेत्र भनेको यही हो । हामीले कामठमाडौंमा विभन्नि दलहरूसँग अन्तरक्रिया, छलफल गर्दागर्दै सरकार बनाउने, सरकार ढाल्ने, ढल्ने के–के यस्तै यस्तैबाट पहल लिन सकिन्छ की ? भने जस्तो गरी अलिक बढी नेतृत्वको तागत, हामी केन्द्रीय सदस्यहरूको तागत बढी यता खर्च भयो ।

आफ्नो संगठन बनाउने, आफ्नो सहिद परिवार, बेपत्ता परिवारलाई राहत उपलब्ध गराउने, उनीहरूका गुनासो के छन् ? त्यसलाई सुन्नेतिर हामीले त्रुटी गरेकै हो । सायद यो ठूलै त्रुटी गर्‍यौं । यसो गर्ने छुट हामीलाई थिएन । जसले हामीलाई यहाँसम्म ल्याउन योगदान गरे, तिनै जनता, गाउँघरका उत्पीडित वर्ग, टोलटोलका, काठमाडौं उपत्यकाभित्र पनि कस्तो जटिल स्थितिमा पनि हामीलाई साथ दिने जनता, कार्यकर्ता, सहिद, बेपत्ता परिवार र देशभरका ग्रामिण इलाकामा हजारौं-हजारौंमा रहेकाहरू हाम्रो प्राथमिकताबाट छुटे यो बीचमा ।

हामीले तिनलाई प्राथमिकता दिएर, तिनलाई बलियो बनाउने र तिनको आधारमा जाली फटाहसँग लडिरहने, प्रतिक्रियावादीको षड्यन्त्रका विरुद्ध लडिरहने कुरालाई, कार्यसूचि जुनस्तरको बनाउनु पर्ने हो, हामीले त्यो बनाउन सकेनौं । त्यसको निम्ति अब प्रमुख नेता र अध्यक्ष हुनुको नाताले मैले कति जिम्मा लिनुपर्ने हो ? अथवा मैले के त्याग गर्नुपर्ने हो त्यसका लागि म तयार छु ।

तपाईहरूमध्ये कतिलाई लाग्न सक्छ– भनेको मात्र होला । त्यस्तो होइन । मेरो अब केही छैन, यही पार्टी, यही आन्दोलन, यही देश, यही जनता, यही समाजवादको निर्माण बाहेक मेरो केही पनि छैन । त्यसकारण तपाईहरू सबैले भन्नुहुन्छ भने तैँले यति गरिस्, सहिद परिवारलाई पनि तैँले गरेर हामीले पनि ध्यान दिएनौं, तपाईहरूले पनि दिनुभएन, हिस्सा त तपाईहरूलाई पनि छ । तर तपाई हरूलाई मुख्य भन्दिनँ । म आफैं हो ।

मैले के त्याग गर्नुपर्ने हो ? आउने बैठकमा तपाईहरूले भने हुन्छ । म खुसीसाथ त्याग गर्न तयार छु । हामीले त्रुटी गरेकै हो । अब सच्चाउनुपर्ने त्यही नै छ । जनता, वर्गतिर फर्किने । प्राथमिकता अब आफ्नै खुट्टामा उभिने हो, आफ्नै वर्गमा फर्किने हो । विचार राजनीतिमा भर पर्ने हो, आफ्नै जनाधार सुढृढ बनाउने हो । त्यसो गरेमा अझै पनि हाम्रो भविष्य उज्जवल हुन्छ । किनकी एजेण्डाका हिसाबले, इतिहासको आवश्यकतालाई सम्बोधन गर्ने कुरामा हाम्रो तुलना अरुसँग हुन सक्दैन ।

त्यसो गरेनौं भने हामी भईराख्ने किन ? भन्ने दिन आउन पनि सक्छ । तर जनतालाई बलियो बनाइयो भने हामीलाई कसैले पनि सिध्याउन सक्दैन । हिजो हामी कसैले दयामाया गरेर बनेको होइन । हामीले लडेर नै लिएको हो । त्यहीँनेर हाम्रो ठूलो त्रुटी भयो ।

यसो भन्दैमा फेरि अर्को अतिवादमा जाने खतरा पनि हुन्छ । त्यसो भए, अरु सबै छोडौं, सबैले काठमाडौं छोडिदिऊँ, साथीहरूले अन्य पक्षसँग कुरा गर्न पनि छोडिदिऊँ । अब इस्युभित्र, संसदभित्र संर्घष गर्न पनि छोडिदिऊँ भन्नेतिर गयो भने त्यो अर्को अतिवाद हुन्छ । त्यसले पनि हामीलाई सही ठाउँमा पुर्‍याउँदैन । यसलाई प्राथमिकता दिँदै हाम्रो शक्तिको ठूलो शक्ति आफ्नै जनाधारतिर परिचालित गर्दै राष्ट्रिय एकता गर्ने, राजनीतिक आन्दोलनको नेतृत्व गर्ने, संविधानको रक्षा गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, समानुपातिक समावेशिक मूल्य मान्यताको रक्षा गर्नुपर्ने आवश्यकता र त्यसको जिम्मेवारी बहन गर्नुपर्ने दायित्वबाट हामी पर जान सक्देनौं ।

(यसैसाता आयोजित माओवादी केन्द्रको भर्चुअल बैठकमा प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश)

The post माधवजीको त्यो कुराले म भावुक र स्तब्ध भएँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles