Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

इजरायल–प्यालेष्टाइन द्वन्द्वमा अमेरिकी भूमिका

$
0
0

राष्ट्रपति जो बाइडेन प्रशासनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा पूर्ववर्तीहरूको भन्दा कम सक्रिय दृष्टिविन्दू अबलम्बन गर्ने अपेक्षासहित पदारम्भ गर्‍यो । इजरायल–हमास युद्धको ४ दिनपछि गत बुधवार कोभिड–१९ महाव्याधीबारेको एक प्रेस सम्मेलनमा यो दृष्टिविन्दू प्रष्टै प्रदर्शन भयो ।

यो द्वन्द्वबारे एक प्रश्नको अस्पष्ट उत्तर दिँदै बाइडेनले भने कि इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग कुरा गरिसकेँ । साथै उनले यो पनि भने कि इजरायललाई आफ्नो प्रतिरक्षा गर्ने अधिकार छ । उनले आशा व्यक्त गरे कि ‘युद्ध छिटोभन्दा छिटो अन्त्य’ हुने छ ।

फरक प्रसङ्गमा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले यो उद्घोष गरे कि उनी आफ्ना इजरायली समकक्षी र प्यालेष्टिनी राष्ट्रपति महबुद अब्बासको निरन्तर सम्पर्कमा छन् । साथै उनले यो पनि उल्लेख गरे कि उनी एक मध्यम तहको अनुभवी अधिकारीहरूको समूह दुवै पक्षसँग सम्पर्क बनाउन इजरायल पठाउँदैछन्।

यसबीच गाजापट्टीको जमिन भने चलिरहेको छ । इजरायली शहरहरूमा रात्रीकालीन रकेट आक्रमणको हाहाकार साथै इतिहासमै नदेखिएको यहुदी–अरबी अन्तर्सामुदायिक हिंसा मच्चिएको छ । दुवैतर्फ बालबालिकासहित नागरिक मृत्युको संख्या बढिरहेको छ । बाइडेनको लोकतान्त्रिक–प्रगतिशील आधारबाट हेर्दा वासिङ्टनलाई लडाईं रोक्न मात्र हैन, समग्र द्वन्द्व अन्त्यका लागि प्रयास बढाउन आव्हान गरिरहेको छ ।

इजरायल–हमास युद्ध हामीले यसअघि पनि देखेकै हौं । पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो । हामीलाई यो पनि थाहा छ कि उनीहरू कसरी हिंड्छन् । केके गर्दछन् । हमास–इरानी जिहादको समर्थन र सहायताले चल्छ । यसले जथाभावी रकेट आक्रमण गर्दछ । इजरायलले उत्तिकै निर्मम बदला लिने गर्दछ ।

अमेरिकाले इजरायलको प्रतिरक्षा अधिकारको समर्थन गर्ने गर्दछ । युरोपले आफ्नो इजरायलतिर लेपाउँछ । अन्ततः हमासले आफ्ना कुरा स्पष्ट राखेर निर्णय गर्दछ । कतार र इजिप्टले ‘शान्तिका लागि शान्ति’ मा आधारित युद्धविरामका लागि मध्यस्थता गर्दछन् । दुवै पक्षले आफ्ना मृतकहरू गाड्दछन् । भग्नावशेषहरू सफा गर्दछन् । इजरायलको प्रतिरक्षा सैन्य बल र हमासको इएक्यु ब्रिगेड आआफ्नो काममा फर्किन्छन् र अर्को चरणको युद्धका लागि तयारी गर्न थाल्दछन् ।

बाइडेन प्रशासनको दृष्टिकोणले यस्तै एक बेखुश अन्त्यको सुझाव गर्दछ । वासिङ्टनका लागि यस्तो नीति निक्कै सुविधाजनक हुन्छ । वासिङ्टनका अरु नै महत्वपूर्ण प्राथमिकताहरू छन् । कोरोना महाव्याधी, आर्थिक पुनरुत्थान, जलवायु परिवर्तन, चीनको उदय, इरानको आणविक महत्वाकांक्षा यी प्रष्टै देखिन बुँदाहरू हुन् ।

नेतान्याहुको समयतालिकाप्रति राष्ट्रपति बाइडेनको भिन्नता थोरै बदलाबको संकेत अवश्य हो । यो विधिमा दुवै पक्षलाई द्वन्द्वबारे कुरा गर्न आमुन्नेसामुन्ने गरिनेछ । अमेरिका यहाँबाट निस्कनेछ । तर, दुर्भाग्यको कुरा युद्धको अझ सघनीकरण हुने सम्भावना कायमै रहन्छ । के बाइडेनले यसभन्दा धेरै केही गर्लान् ? आखिर हरेक संटकले अवसर सृजना गर्दछ । अमेरिकाले अलिकति मात्र आफ्नो प्रयास बढाएमा यसपटकको परिस्थतिले इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई–राज्य राजकीय समाधानको लक्ष्यतर्फ प्रगति गर्न सक्थ्यो कि ?

दुर्भाग्यको कुरा यो प्रश्नको उत्तर नकारात्मक हुनेछ । दुवै पक्षलाई अहिले यथास्थितिमा रहनु नै फाइदाजनक छ । स्थितिलाई परिवर्तन गर्ने कुनै इच्छा छैन । प्यालेस्टाइनी निर्वाचन रद्द भएकोमा हमास खिन्न छ । चुनावमार्फत् हमास पश्चिम किनारामा आफ्नो प्रभाव बढाउन चाहन्थ्यो । त्यसले पूर्वी जेरुसेलममा यहुदी–अरबी मुठभेठको फाइदा उठाएर पश्चिमी किनारामा प्रभाव विस्तार गर्ने र जरा गाड्ने सोचेको थियो ।

हमासले अहिलेसम्म नभएको यो अकल्पनीय काम गर्दैछ । त्यसैले जेरुसेलमतिर रकेट प्रहार गरेको गर्‍यै छ । बेञ्जामिन नेतान्याहु रिसले चुर भएका छन् । उनी गाजापट्टीमा हमास शासनको सामना गर्न राजी थिए तर पश्चिम किनारा र पूर्वी जेरुसेलममा हैन । यद्यपि यस चरणमा दुवै पक्षका उद्देश्य एकदमै सीमित छन् । हमास यो युद्धबाट प्यालेष्टिनीबीच आफ्नो अडानको आकर्षण बढ्ने ठान्दछ । इजरायल हमासको आक्रमणप्रति प्रतिरोध गर्ने आफ्ना नागरिकको भावनालाई पुनःस्थापित गर्न चाहन्छ ।

मार्टिन इन्डिक

दुवै पक्ष दुई–राज्य समाधानका लागि अमेरिकालाई बिचौलिया बनाउन तयार छैनन् । हमास एक राज्य समाधनको पक्षमा समर्पित छ, यसमा इजरायलको अस्तित्व नै हुँदैन । नेतान्याहू तीन राज्य समाधानको पक्षमा छन्, यसमा हमासको शासन गाजामा सीमित हुनु पर्दछ र पश्चिमी किनारा परिक्षेत्रमा प्यालेस्टाइनी प्राधिकारको उपस्थिति हुनेछ ।

यस द्वन्द्वको तेस्रो पक्ष महबुद अब्बास अमेरिकाको पुनःसंलग्नता मन पराउँछन् । किनकी त्यसले उनलाई फेरि प्रासंगिक बनाउन मद्दत गर्दछ । राष्ट्रपति बाइडेनको फोनको आशा गर्दै उनले ४ महिना व्यर्थमा बिताए । हालको संकटले कम्तिमा विदेशमन्त्रीले फोन गर्नेसम्म बनायो ।

तर, महबुद अब्बाससँग अमेरिकी मध्यस्थकर्ताहरूको पर्याप्त अनुभव छ कि उनी दुई–राज्य समाधान हासिल गर्न अनिवार्य हुने सम्झौताहरू स्वीकार गर्न सक्ने अवस्थामा छैनन् । ८५ वर्षको उमेरमा, ४ वर्षे राष्ट्रपतीय कार्यकाल हुने प्रावधानबीच पदमा रहेको १७ औं वर्षमा राजनीतिक विभाजनको गहिरोपना बढ्दै जाँदा यदि उनले इजरायलाई कुनै छुट हुने सम्झौता स्वीकार गरे उनलाई हमासले गद्दारको आरोपमा बदनाम गर्न सक्दछ । उनले प्यालिष्टिन अधिकारमाथि कुनै कटौती, छुट र सम्झौता नगर्ने नेताका रुपमा इतिहासको किताबमा आफ्ना नाम लेखाउन चाहेका छन् ।

यो पछिल्लो युद्ध भट्किनु अघि इजरायलमा नयाँ सरकार बन्ने र नेतान्याहु शासनको अन्त्य हुने आशा थियो । यस आदित पार्टी प्रमुख याइर लापिड, यामिन पार्टी प्रमुख नाफ्टाली बेनेटले वाम–मध्यमार्गी र दक्षिणपन्थीको गठबन्धन बनाउन खोजेका थिए, जसको बहुमत प्राप्त गर्ने सम्भावना अरबी पार्टीहरूको समर्थनमा निर्भर हुने थियो । त्यतिखेरै यहुदी र अरबीबीच हिंसा शुरु भयो । यो जेरुसेलमबाट अन्य इजरायली शहरमा फैलियो । यी लडाईहरूले कम्तीमा नयाँ सरकार बनाउनलाई जटिलता ल्यायो । अहिले इजरायल २ वर्षभित्र ५ औं निर्वाचनमा जाने सम्भावना छ । अहिलको अवस्था नै कुनै पनि नरम चिज झन कडा हुने खालको छ ।

यो पूर्वानुमान सही सावित होस् वा गलत– यदि संयुक्त सकारको उदय भयो भने त्यसको प्रधानमन्त्रीत्वका लागि प्रथम व्यक्ति नाफ्टाली बेनेट हुनेछन् । इजरायली नेताहरूमध्ये उनी स्वतन्त्र प्यालेष्टिनी राज्यको सबैभन्दा प्रतिवद्ध विरोधी र पश्चिमी तटलाई अधिनस्थ गर्ने कुराको सबैभन्दा समर्पित समर्थक हुन् ।

अर्को शब्दमा भन्दा बाइडेन प्रशासनका अन्तर्ज्ञान सही छन् । द्वन्द्वले अहिले पनि व्यवस्थापन खोजिरहेको छ, समाधन सहज छैन । दुःखद कुरा, वासिङ्टनका लागि यो प्राथमिकता हैन, वास्तविकता मात्र हो । पूर्व विदेशमन्त्री जोन केरीले अमेरिकी इच्छाशक्तिको प्रयोगले यो वास्तविकतामा छोटो समयमै कुनै परिवर्तन आउँछ भन्ने प्रस्तावनाको परीक्षण गरे । राष्ट्रपति ट्रम्पका बरिष्ठ सल्लाहकार जारेड कुश्चनरले प्यालेस्टाइनलाई स्वीकृति र इजरायललाई खाली चेक दिने प्रयत्न गरे, तर त्यो पार लागेन ।

गाजा क्षेत्रमा इजरायली हवाई हमला, मे २०२१ इब्राहिम अबु मुस्ताफा/रोयटर्स 

 

द्वन्द्व व्यवस्थापन गर्नुको अर्थ त्यसबाट टाढै रहनु हैन, बाइडेन प्रशासनले शुरुदेखि नै गर्न चाहेको संकेत त्यही हो । वासिङटनले अहिलेसम्म चाहे त्यो अन्तरिम नै किन नहोस् राजदूतसम्म पठाएको छैन न त प्यालेस्टाइनसँग कुरा गर्न जेरुसेलममा महावाणिज्यदूत नै नियुक्त गरेको छ । यदि यी काम गरेको भए हिंसा रोक्न अहिलेको भन्दा राम्रो स्थिति हुने थियो । त्यसको साटो विचरा कर्मचारी, मध्यमस्तरका अधिकारीलाई यो व्यवस्थापनको जिम्मेवारी दिइयो ।

पूर्वी जेरुसेलममा भएको इजरायली प्रहरीको बेदखली, मार्चपास र हिंसा रोक्न अमेरिकाले बेञ्जामिन नेतान्याहुलाई उच्चस्तरको हस्तक्षेप गरेकोमा बाइडेन प्रशासनले जस पाएकै छ । यद्यपि त्यो हस्तक्षेप निक्कै ढिलो गरी भएको थियो, तर त्यसले सामयिक प्रभावकारिता र उच्चस्तरको संलग्नता देखायो । अब दुवै पक्षलाई जहिको त्यही रोक्न अझ उच्चस्तरीय हस्तक्षेप जरुरी छ । हमास त्यसो गर्न इच्छुक देखिएको छ । आउँदा केही दिनमा इजरायली प्रतिरक्षा बलले हमासका पूर्वाधार विध्वंश र यसका सैन्य हाँगोका नेताहरूको सफाया गरेपछि सायद नेतान्याहू पनि त्यसका लागि राजी हुनेछन् । साधारणतया युद्ध चर्किरहेकै अवस्थामा उनी ५ औं निर्वाचनमा जान सक्दैनन्, इजरायली जीवनलाई तहसनहस पारेको आरोप उनीमाथि लाग्न थालिसकेको छ ।

तर, हालै दन्किएको आगो निभेपछि, बाइडेन प्रशासनले यो द्वन्द्वलाई यसरी व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ जसले प्यालेस्टिनीहरूका लागि राजनीतिक क्षितिज सृजना गर्न मद्दत गरोस् । त्यसले आशा दिन सकोस् कि इजराइलीहरूले जस्तै उनीहरूले पनि ‘लोकतन्त्र, सुरक्षा र समृद्धिका समान र स्वतन्त्र मानक’ आनन्द उठाउन सकून् जो अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनको वचन पनि हो । विशेषतः इजरायली बस्ती बिस्तारलाई रोक्नु त्यसको शुरुवात हुनेछ । पूर्वी जेरुसेलममा मानिसका घर भत्काउने र ठाउँ छोडेर हिंड्न बाध्य गर्ने कार्य छोड्न इजराइललाई दबाब दिनु धेरै महत्वपूर्ण काम हुनेछ ।

प्यालिस्टाइनी पक्षमा महबुद अब्बासलाई निर्वाचनको नयाँ तालिका बनाउन प्रेरित गर्नुपर्ने हुन्छ । १५ वर्षमा पहिलोपटक भोटबाट आफ्नो नेतृत्व छान्ने अवसरका लागि प्यालेस्टाइनीहरू अत्यन्त उत्साहित छन् । निर्वाचन खारेज गरिएको असन्तुष्टिले हिंसाको बिष्फोट हुनमा योगदान गरेको छ । निर्वाचनको तयारीका अघिल्लो अवधिमा बाइडेन प्रशासनले अज्ञेयवादी अडान लियो । यसपटक निर्वाचन आयोगलाई ओस्लो सम्झौता मुताविक हिंसामा संलग्न नभएका मात्र चुनावमा उम्मेद्वार हुन सक्ने छन् भनेर स्पष्ट पार्न आग्रह गर्नु पर्दछ । त्यसै गरी इजरायललाई अरबी जनतालाई पूर्वी जेरुसेलममा मतदानको अधिकार दिने प्रतिवद्धतामा कायमै राख्न सक्नु पर्दछ ।

हिंसाको यो नवीनतम विष्फोटले के देखाएको छ भने इजरायल–प्यालेस्टाइन द्वन्द्वको व्यवस्थापन गर्नु भनेको साइकल चढ्नु जस्तै हो, कि त अगाडि बढ्नु पर्दछ कि त लडिन्छ । यो संकटबाट बाहिर निस्कनका लागि बाइडेन प्रशासनले एउटा त्यस्तो प्रक्रिया प्रवर्द्धन गर्नु पर्दछ, जसले विश्वासको पुनःस्थापना र दुई–राज्य समाधानका लागि सबैलाई तयार गर्दै लगोस् । उबडखाबडपूर्ण धरातललाई ध्यान दिँदै त्यसको बाटो सुस्त र चरणगत प्रगति गर्ने खालको हुनु पर्दछ । अहिलेको स्थितिमा अन्तिम शान्तिको चर्को साइरन–गीत बजाउनु र त्यसलाई पछ्याउनु भन्दा कदमकदम गर्दै प्रक्रिया अगाडि बढाउने वचनबद्धता प्राप्त गर्नु बढी महत्वपूर्ण हुन्छ ।

फरेन अफेयर्सबाट ।

The post इजरायल–प्यालेष्टाइन द्वन्द्वमा अमेरिकी भूमिका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles