कुनै ‘आत्मज्ञान’ भएको वा ‘छैठौं इन्द्रिय खुलेको’ हैन, तर यदाकदा आफ्ना बुझाई र विश्लेषण निकट भविष्यमै व्यवहारमा प्रतिफलित हुँदा आफैंलाई आश्चर्य लाग्दछ । त्यसमध्ये कतिपय त ननिको लाग्ने खालका हुन्छन् । ‘त्यस्तो नभइदिओस्’ भनेर कामना गरिएका कुरा भइदिन्छन् । यस्ता क्षण साँच्चै नमिठो लाग्दछ । भित्र कतै हृदयमा एक प्रकारको गाँठो पर्दछ । मन भक्कानिन्छ ।
गत श्रावण २६ गते कान्तिपुर दैनिकमा प्रकाशित कमरेड घनश्याम भुसालको एउटा लेख खुबै चर्चित भएको थियो । शीर्षक थियो– नेकपाः बाँच्नका लागि एक मात्र बाटो । त्यो बेला उनी ओली सरकारका मन्त्री थिए । तथापि नेकपा विवादको अन्तर्य र सम्भावित दुष्परिणामको साहसिक चित्रण गरेका थिए ।
नेकपा विवादले ‘नेपालको कम्युनिष्ट आन्दोलनले संगालेका लोकतान्त्रिक–सांस्कृतिक मूल्यहरूको सर्वनाश’ हुने निष्कर्ष निकालेका थिए । नेकपामा सबैथोक भएको तर विधिपद्धति नभएको हुँदा ‘केही पनि नभएजस्तो’ भएको चर्चा गरेका थिए । ‘दलाल पुँजीवाद’ को विद्यमान चरित्र र संकटको चर्चा गरेका थिए । ‘क्रान्तिको कार्यक्रम’ र ‘सामान्य कार्यजोजना’ प्रस्तुत गरेका थिए । ओली नेतृत्वको पार्टीबाटै ‘क्रान्तिको कार्यभार’ पुरा हुने अपेक्षा गरेका थिए ।
भुसालको त्यो लेखप्रति ममा गहिरो अविश्वास थियो । मैले किञ्चित पत्याउन सकिनँ कि ओली नेतृत्वको नेकपा त्यस्तो कुनै क्रान्तिका लागि हो । एक त भुसाल ओली सरकारमा मन्त्री हुने बिषयमै आम सार्वजनिक विमति थिए । कमरेड भुसालले ओली सरकारको कृषिमन्त्रीको सपथ लिँदै गर्दा सरकार पर्याप्त बदनाम भइसकेको थियो । ओली अभिष्टहरू जताततै छताछुल्ल थिए । जनता निरास थिए । नेकपाभित्रको प्रगतिशील, क्रान्तिकारी र अग्रगामी पंक्तिको भलो चाहनेहरू ओलीप्रतिको उनीहरूको विश्वास र भक्तिमा कुनै संगति देखिरहेका थिएनन ।
त्यही असंगतिलाई मैले यही अग्रपथ स्तम्भको २४ औं श्रृंखालमा कमरेड घनश्याम भुसालको बुखारिन–छटपटी लेखमा चित्रण गर्न खोजेको थिए । मेरो लेखमा छोटो टिप्पणी गर्दै भुसालले भनेका थिए कि ‘मलाई बुखारिन हुने कुनै छुट छैन’ । त्यो लेखमा ओली ‘स्टालिन’ र भुसाल ‘बुखारिन’ को बिम्बमा अभिव्यक्ति भएका थिए । मेरो दृढ विश्वास थियो कि भुसाल जे भनिरहेका छन्, त्यो ओली नेतृत्वमा असम्भव कुरा हो । चाहे सरकारको नेतृत्वको रुपमा होस् वा पार्टीको । ओलीका स्टालिनवादी अभिष्टहरू दिनप्रतिदिन मुखर थिए ।
ओलीको म एक सदावहार आलोचक हुँ । २०५४ सालपछि म कहिल्यै उनको विचार, गुट र कार्यदिशाबाट प्रभावित भइनँ । करिब २५ वर्षदेखि उनको विचार, दृष्टिकोण र व्यवहारमा म उस्तै र एकै प्रकारको दक्षिणपन्थ देख्छु । तर मानिसहरू किन झुक्किन्छन्, छक्क पर्छु । ओलीले आफ्ना अभिष्टहरू कहिल्यै लुकाएनन् । उनी आफ्नो बुझाई र कार्यदिशामा सर्वथा दृढ र ज्याद्रो रहे । यो ओलीको सकारात्मक पाटो हो ।
ओली आफ्नो बुझाई र कार्यदिशामा ज्याद्रो हुन सक्ने, अरु एकपछि अर्को गर्दै झुक्किने, त्यसरी ओलीपन्थको सामना हुन सक्दैनन्थ्यो । त्यही दक्षिणपन्थी दृढता, त्यही ज्याद्रोपनले गर्दा ओलीले एकपछि अर्कोलाई लतार्दै गए । अरु हेरेको हेर्यै भए । फलतः देश नै ओलीपन्थमा लतारियो । अन्ततः आज यस्तो संकट, बर्बादी र सत्यानासको अवस्थामा पुग्यो ।
एमाले नवौं महाधिवेशनमा ५४ भोटले मात्र ओलीले माधव नेपाललाई पराजित गर्नुमा झलनाथ खनाल समूहको गद्दारी प्रमुख कारण थियो । खनाललाई ओलीले ‘राष्ट्रपति दिने’ आश्वासनमा भुलाए, खनाल निकटहरूले अन्तिम क्षणमा माधव नेपाललाई अन्तर्घात गर्दै ओलीलाई साथ दिए, एमालेमा ओली उदयको वास्तविक रहस्य यो हो, जो लुकाउन खोजिन्छ । आज भुसाल लगायतका कामरेडहरू बारम्बार भन्दै छन् कि नवौं महाधिवेशनमा ओलीको विजय नै ‘एउटा ठूलो ऐतिहासिक भूल’ थियो ।
‘आधा-आधा प्रधानमन्त्री खाने’ जाली तमासुक गरेर ओलीले झलनाथ खनाललाई जस्तै प्रचण्डलाई पनि फसाई दिए । खनालको राष्ट्रपति खाने लोभ र दाहलको आधा प्रधानमन्त्री खाने लोभ उस्तैउस्तै हुन् । तर, यी दुवै घटनामा ओली अभिष्ट भने प्रष्ट थियो । जसरी ओलीले खनाललाई राष्ट्रपति नदिएर झुक्याए, त्यसरी नै दाहाललाई ‘आधा प्रधानमन्त्री’ नदिएर झुक्याउने छन् भन्ने प्रष्ट थियो । व्यक्तिगत रुपमा ओलीले प्रचण्डसँगको त्यो सम्झौता लागू गर्दछन् भन्ने मलाई एक कंचो पनि विश्वास थिएन । प्रचण्डले ‘मैले त्यो दावी नै छोडिदिए’ भन्नु त उही ‘नत्र चिसो पानीले नुहाउँछु’ भने जस्तो मात्र हो ।
खनाललाई नझुक्याइकन ओली पार्टी अध्यक्ष नै हुने थिएनन्, थोरै भोटले हार्थे । दाहाललाई नझुक्याइकन ओली प्रधानमन्त्री नै हुने थिएनन्, आज उनको यत्रो रजगज र दुष्टताको साम्राज्य नै हुने थिएन । भुसालको मन्त्री खाने लोभ पनि यही श्रृङ्खलाको अर्को सानो कडी हो भन्ने मेरो बुझाई थियो । किनकी भुसाललाई माया गरेर, टिममा मिलेर काम गर्ने गरी, विश्वास गर्ने गरी ओलीले मन्त्री बनाउने कुनै सम्भावना थिएन ।
भुसाल नेपालको कम्युनिष्ट आन्दोलनमा एक नयाँ वैचारिक नेताका रुपमा उदित हुँदै थिए, ओलीलाई भुसालको त्यो छवी सिध्याउनु थियो । कम्युनिष्ट आन्दोलनको नयाँ पुस्ताले भुसाललाई विश्वास गर्न थालेकोमा ओली चिन्तित थिए । मेरो बुझाई ठीक त्यहीँनेर थियो कि भुसाल नेपालको कम्युनिष्ट आन्दोलनका ‘बुखारिन’ हुन् । र उनको नियति भनेको ‘कुमुर्नाका ब्याटल ग्राउन्ड’ हो । यो स्टालिनको सोभियत संघ हैन, भौतिक सफायाको युग हैन, अन्यथा ओलीले भुसालको ‘राजनीतिक हत्या’ त गरेकै हुन् ।
भुसालले मन्त्री छोडेपछिको एक लेख ‘मैले बुझेको कृषि र चिनेको प्रधानमन्त्री’मा मन्त्री हुँदा प्रधानमन्त्री ओली र उनको सल्लाहकारको समूहले उनीसँग कस्तो व्यवहार गर्थे भनेर आफैं लेखेका छन् । त्यसबाट प्रष्ट हुन्छ कि भुसाल प्रकरणमा ओलीको अभिष्ट के थियो ।
आज ओलीसँग झुक्किने पालो अब शेरबहादुर देउवा र महन्थ ठाकुरको भागमा छ । देउवालाई त एक हदसम्म उनले लतारी सके, ठाकुरको नियति के हुने हो केही दिन पर्खेर हेर्नु पर्छ ।
संवैधानिक निकायमा गैरसंवैधानिक नियुक्ति गर्दा भाग दिएर उनले प्रतिपक्षी दलको नेताको भूमिकाबाट देउवालाई च्युत गराइसके । कांग्रेस निकट सबै राजदूतहरू फिर्ता हुनु, देउवाले नियुक्त गरेका सबै प्रदेश प्रमुखहरू हटाइनु तर देउवाकी सासुआमा प्रतिभा राणा फिर्ता नहुनु यो श्रृङ्खलाको प्रारम्भविन्दू थियो ।
देउवाको यो लोभ खनालको राष्ट्रपति, दाहालको आधा प्रधानमन्त्री र भुसालको कृषिमन्त्री भन्दा भिन्न हैन । सफल होलान वा नहोलान त्यो आफ्नो ठाउँमा छ, मानिस जतिसुकै चतुर वा धूर्त किन नहोस्, समयले उसको नियतिको सीमा निर्धारण गरेको हुन्छ । तर, ओलीको अभिष्ट ‘हुन सेन पथ’ भन्ने कुरा म घाम जत्तिकै छर्लङ्गै देख्छु, फेरि मान्छेहरू किन झुक्किन्छन् वा ओलीको वरिपरि आफैं धोकोको आमन्त्रण गर्दै पुग्छन् ? खै कुन्नी ?
खनाल, दाहाल, भुसाल र देउवापछि ओली अहिले जसपा नेता महन्थ ठाकुरलाई झुक्याउने खेलमा छन् । त्यसको पहिलो प्रकरण त देखिसकियो । जसपा कार्यकारिणी समितिको बैठक अकारण जबरजस्त स्थगित हुनु र ओलीले थरुहट संघर्ष समितिसँग भिन्नै वार्ताको रुचि बढाउनुले घटनाक्रम प्रष्टै हुन्छ ।
जसपा ‘हन्ट’ गर्नु ओलीको आजको उद्देश्य हैन । त्यो त्यतिखेरको ‘सपा’ केन्द्रित मात्र थिएन, एक चरणको सफलतापछि अर्को चरणको प्रयास उनले राजपातिर गर्ने थिए । गत वैशाखमै ओलीले यही उद्देश्यका लागि अध्यादेश ल्याएका थिए । कोरोना लकडाउनबीच महेश बस्नेत र सर्वेन्द्र खनाललाई महोत्तरी पठाएका थिए । मेरियट होटल प्रकरण गराएका थिए ।
ओलीले राम्रै हिसाब-किताबसहित यो काम शुरुवात गरेका थिए । जसपाबाट केही सांसद चोर्न सकियो भने दाहाल–नेपाल समूहको समर्थन बिनै एकल बहुमतमा हुन सकिन्छ भन्ने उनको गणित थियो । ओलीको यो हदसम्मको निकृष्टतापछि पनि कोही झुक्किन्छ भने ‘रामराम भन्न’ सकिएला ‘काँध हाल्न’ सकिन्न । आजको विन्दूमा राजनीतिक र नैतिक तवरले जसपाका लागि ओलीपन्थसँग सबै प्रकारका सहकार्यका सम्भावनाहरू बर्जित छन्, त्यो प्राविधिक बिषय मात्र हुनै सक्दैन ।
ओली नेपालको राजनीतिमा चाणक्य र म्याकियाभेली नीति बढो राम्रो गरी अभ्यास गर्न खोज्दैछन् । सन् १९९० पछि कम्बोडियाका हुन सेनले साम, दाम, दण्ड, भेद नीतिको अनुसरण गरी बढो विचित्रको सफलता पाएका छन् । निकटस्थहरूसँग अन्तरङ्ग छलफल गर्दा ओलीले भन्छन् पनि रे कि उनको रणनीति हुन सेन पथ हो ।
हुन सेन र ओलीबीच धेरै समानता छन् । हुन सेनको राजनीति जीवन खमेरुज छापामारबाट शुरुवात भएको थियो, ओलीको राजनीतिक जीवन नक्सलवादी छापामारबाट शुरुवात भएजस्तै । भियतनामको समर्थनमा जर्नेल लोन नोलको विद्रोहपछि उनी त्यतैतिर लागेर खमेरुजहरूमाथि चर्को दमन गरे । उनी भियतनामको बढो नजिकको पात्र बने तर देशभित्र राष्ट्रवादको कृत्रिम माहौल बनाइरहे । महाकाली सन्धिपछि भारतको नजिक पुगेका र माओवादी आन्दोलनप्रति सर्वथा असहिष्णु ओलीको चरित्र यहाँनेर पनि मिल्दोजुल्दो नै छ ।
खमेरुज आन्दोलनले बनाएको कम्युनिष्ट भोट र कार्यकर्ता उनले कब्जा गरे तर बुढ्यौलीमा पुगेका खमेरुज नेताहरूलाई चर्को अपमान र कारबाही गरे । प्रचण्ड–माधव–झलनाथसँग ओलीको व्यवहारको सार त्यही हो । सन् १९९० यताका कम्बोडियाका घटनाक्रमहरू सबैको सामुन्ने छन्, चर्चा गर्नै परेन ।
ओलीले एमाले पार्टी, राज्यको स्रोत साधन र शक्ति कब्जा गरेको अवस्था छ अहिले । संवैधानिक निकायहरूको निष्पक्षता र तटस्थता समाप्त भइसकेकेको छ । विपक्षी दल र नेताहरूले अझै कुरा नबुझ्ने र आगामी चुनावी सरकारको नेतृत्व ओलीलाई नै दिने हो भने कम्बोडियाको दुर्भाग्य नेपालमा नदोहोरिएला भन्न सकिन्न ।
खनाल, दाहाल, भुसाल र देउवाले गरेकै गल्ती ठाकुरले पनि गर्ने हो भने त्यो हुनेवाला छ । ओली अर्को हुन सेन र नेपाल अर्को कम्बोडिया हुन सम्भव छ । त्यसो नहोस् भन्नका लागि ओलीलाई अबिलम्ब सत्ताबाट हटाउन, आगामी चुनावी सरकारको नेतृत्व नदिने वातावरण बनाउन अत्यन्त जरुरी छ । त्यो बाटो भनेको कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त वैकल्पिक सरकार नै हो, जो आगामी चुनावसम्म जान सकोस् ।

नेपालका समकालीन नेताहरूमा ओली मात्र ‘नराम्रा’ अरु ‘राम्रा’ भन्ने मेरो मनसाय हैन । ओलीसँग कुनै व्यक्तिगत रिसको कुरा पनि हैन । बिषय अहिले पनि ओलीपन्थको विचार, उद्देश्यसँगको लडाई नै हो । तर, धेरैले ओलीको उदयलाई प्राविधिक विषय माने, वैचारिक हैन, त्यो दूर्भाग्य थियो । संसदीय लोकतन्त्रको कमजोरी नै यही हो कि यसले हरेक वैचारिक प्रश्नलाई गणितको खेल मात्र बनाइदिन्छ । ओलीको उदयपछाडि एक जबरजस्त वैचारिकी थियो, जो धेरैले अनदेखा गरे वा उनैको सहयोगीजस्तो बने ।
ओलीलाई ‘राजतन्त्र समाप्त हुनुको मुख्य कारण माओवादीलाई मात्र देख्ने, प्रचण्ड–बाबुरामसंग प्रतिशोध लिन चाहने’ राजावादीहरूको समर्थन छ । ओलीलाई ‘संघीयता, समावेशिता र आरक्षण’ शुरुवात भएपछि असन्तुष्ट भएको परम्परागत बर्चश्ववादी सोच भएका व्यक्ति, शक्ति र समुदायको समर्थन छ । ओलीलाई ७० वर्ष लगाएर बनेको ‘कम्युनिष्ट मातृपार्टी भावना राख्ने’ जनमतको समर्थन छ । ओलीलाई राज्यशक्तिको दोहन गरेर अकुत सम्पति आर्जन गरेका नवधनाढ्य र कर्पोरेट हाउसहरूको समर्थन छ ।
यहाँसम्म कि उनले भूराजनीतिक जटिलताबीच पनि बढो राम्रो खेल खेलिरहेका छन् । कहिले भारत विरुद्ध ‘चाइना कार्ड’ खेल्ने र कहिले ‘गोयल मन्त्रणा’ गर्ने दुवै सुविधा उनी प्रयोग गरिरहेका छन् । ओलीसँग राज्यशक्तिको दुरुपयोग, भ्रष्टाचार र कमिसनबाट जम्मा गरेको ठूलो ‘राजनीतिक कोष’ छ जो उनलाई चुनावको बेला राम्रै काम लाग्छ, जो अरु कुनै पार्टी र नेतासंग हुने कुरै भएन ।
यी सहजता उनीसँग रहुन्जेल उनलाई कसैले कम नआँके हुन्छ । तसर्थ ओलीतन्त्रसँगको संघर्ष कुनै चनचुने संघर्ष हैन । यो एक प्रकारले जीवन र मरणकै लडाई हो । जीवन मरणको लडाइँ भइरहेको युद्ध मैदानमा कोही आफैंलाई बाण हानेर घायल बनाउँछ, भने त्यस्तो मुर्खताको के औषधि हुन्छ ?
तर, दुर्भाग्य के छ भने हाम्रा ‘त्रोतस्की’ र ‘बुखारिन’ हरू अझै पनि ओलीपन्थको धङधङीबाट मुक्त छैनन् । ओली–स्टालिनवादको अचानोमा रेटिँदा पनि उनीहरूले ओली वैचारिकीकै प्रतिरक्षा गरिरहेको देख्दा उदेक लाग्दछ ।
भीम रावल आज पनि त्यही ‘राष्ट्रवाद’ को प्रवक्ता जस्तो कुरा गर्दछन् जुन राष्ट्रवादले ओलीको उदय गरायो, जुन राष्ट्रवाद ओलीको अझ लामो शासनको आधार बन्न सक्दछ ।
घनश्याम भुसालको स्पष्टिकरण पत्र पढ्दापढ्दै मलाई लाग्यो कि ‘क्रान्तिका सुनौला युवाहरू’ अझै स्टालिनवादमै आफ्नो भाग्य खोज्दैछन् । भुसाल आफ्नो स्पष्टिकरण पत्रमा ‘ओलीले कम्युनिष्ट पार्टीलाई कमजोर पारेर जातीय पार्टीहरूलाई हुर्किने अवसर दिएको’ लेख्छन्, जो ओलीपन्थकै वैचारिकी हो ।
राष्ट्रपति पदको आश्वासन र नवौं महाधिवेशनको अन्तर्घातले झलनाथ खनालको समग्र व्यक्तित्वलाई अर्थहीन बनाइदिएको छ । आठौं महाधिवेशनको राजनीतिक दस्तावेजमा उल्लेख भएका प्रस्तावनाबाट खनाललाई ओलीतन्त्रले रुक्माङ्गत कटवाल प्रकरणको बेला कसरी लतार्यो र खनालको वैचारिक सान्दर्भिकता कसरी शुन्यमा पुग्यो, बुझ्नेले बुझेकै छन् । माधव नेपालसँग कोअर्डिनेसन केन्द्र आफूले बनाएको ‘इतिहासको दम्भ’ छ तर भविष्यको कुनै सुखद कल्पना छैन ।
ओलीसँगको अन्तिम मोहभङ्गपछि प्रचण्ड फेरि पुराना मुद्दाहरू उठाउने प्रयत्न गर्दैछन्, जसको स्वामित्व माओवादी केन्द्रले गुमाइसकेको छ । माओवादी केन्द्र अब माओवादी केन्द्रका रुपमा जीवित रहन सक्दैसक्दैन, यदि त्यस्तो प्रयत्न भएमा त्यो २०४८ सालको संयुक्त जनमोर्चाभन्दा पनि कमजोर हुने निश्चित छ । प्रचण्डलाई यो पनि थाहा हुनुपर्ने हो कि उनले जति बढी माओवादी आन्दोलन र एजेण्डाको कुरा गर्ने छन्, माधव–झलनाथ–रावल–पाण्डे–भुसाल उनीबाट झनझन टाढा र ओलीको झनझन नजिक हुनेछन् । ‘कम्युनिष्ट–कम्युनिष्ट’ भन्ने रसायनले मात्रै माओवादी र एमालेलाई बाँध्न सजिलो रहेनछ भनेर बुझ्न प्रचण्ड अझै ढिला गर्दैछन् ।
आज नेपालको कम्युनिष्ट आन्दोलनमा जे भएको छ, त्यो सबै लोभले लाभ, लाभले हरिविलाप भएको हो । ओलीपन्थको वैचारिकी, अभिष्ट र ज्याद्रोपनलाई कम आँकेर ससाना लोभहरूमा फस्दा ओलीपन्थले सबैलाई लतार्ने र ‘जो जिता वही सिकन्दर’ बन्ने अवस्था आएको हो । ओलीपन्थसँग सम्झौताहीन संघर्ष गर्नेहरूको संख्या सानो भयो । फलतः देश, जनता, लोकतन्त्र, संविधान, शासनप्रशासन, अर्थतन्त्र र आमनैतिक मूल्यहरूले आज यो दुर्गति भोग्न पर्यो ।
अचानोमा घाँटी राखेर रुने राजनीति अब सबैले छोडौं । ओलीतन्त्रको भ्रमबाट पनि सबै मुक्त हौं । ओलीतन्त्र विरुद्ध एक निर्णायक मोर्चाबन्दी गरौं, अबिलम्ब यो सधैंका लागि पराजित हुनेछ । ओरोलोमा अलिकति धकेल्न मात्र बाँकी हो, ओलीतन्त्रका खुटटाहरू आफैं चिप्लिएर खुर्मुरिने छन् । त्रोतस्की र बुखारिनहरूको अन्तिम नियति के हो, सोभियत संघको इतिहासबाटै प्रष्ट छ, नेपालमा फेरि त्यसैलाई किन पुनरावृत्ति गर्ने ?
The post ओली–स्टालिनवादको अचानोमा त्रोतस्की–बुखारिनहरूको रोदन appeared first on Sajha Post.