प्रिय कमरेडहरू !
मैले ‘कमरेड’ शब्द प्रयोग गर्दा तपाईहरूलाई आश्चर्य लाग्ला– गैरकम्युनिष्टहरूले पनि यति प्रेमले ‘कमरेड’ भन्छन् र ? आश्चर्य मान्नु पर्दैन । एक जमाना मैले पनि केही समय तपाईहरूको कम्युनिष्ट पार्टीमा काम गरेको थिए । तपाईहरूजस्तै यो शब्दसँग बानी परेको छु ।
मलाई व्यक्तिगत रुपमा चिन्ने वा ती पुराना दिन अझै सम्झना राख्नेहरू (यद्यपि अब त्यो बिर्सिए हुने हो, धेरै पुरानो भयो, १२ वर्षभन्दा धेरै ) यदाकदा ‘पूर्व कमरेड’ भन्ने गर्दछन् । मलाई लाग्छ– ‘पूर्व’ भनिरहन जरुरी छैन । ‘कमरेड’ शब्दप्रति मलाई अहिले पनि कुनै विद्वेष वा आपत्ति छैन ।
मैले बुझेसम्म यो नेपालीको ‘साथी’, संस्कृतको ‘मित्र’, हिन्दीको ‘दोस्त’ वा अंग्रेजीको ‘फ्रेन्ड’ भने जस्तै जर्मन भाषाको सामान्य शब्द हो । जर्मन भाषी समाजमा कम्युनिष्टले कम्युनिष्टलाई मात्र हैन, सबैले सबैलाई कमरेड भन्दछ ।
कम्युनिष्ट घोषणापत्रका लेखक तथा कम्युनिष्ट अन्तर्राष्ट्रियका संस्थापक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स दुवै जर्मन थिए । जर्मन भाषाको यो शब्दलाई उनीहरूले अन्तर्राष्ट्रियकरण गरिदिए । जर्मनीमा त हिटलरको नाजी पार्टीका समर्थकले पनि एकअर्कालाई ‘कमरेड’ नै भन्थे । तर विश्वमा भने कमरेड भनेको कम्युनिष्ट हो भन्ने भ्रम सृजना भयो । त्यो भ्रम नेपालमा झनै बाक्लो छ । त्यही भ्रमले यदाकदा हामीलाई ‘पूर्व कमरेड’ बनाउँछ । यथार्थमा त म अहिले पनि कमरेड नै हो भन्ने लाग्छ । कमरेड अर्थात् साथी, सहकर्मी । एकअर्कालाई सहकार्य र प्रतिस्पर्धा गर्ने मान्छे ।
खैर, ठीकै छ– कमरेड भन्न मन नलागे साथी वा मित्र भने भयो, ‘पूर्व कमरेड’ भनिरहन जरुरी छैन ।
यो आलेखमा मैले ‘कम्युनिष्ट समथर्कहरू’ भन्नुका दुई अर्थ छन् । पहिलो त यो गुट निरपेक्ष शब्दाबली हो । ‘कम्युनिष्ट समथर्कहरू’ भनेर कम्युनिष्टको कुनै एक पार्टी, समूह वा गुटलाई भनिएको हैन । मलाई थाहा भएसम्म अहिले पनि नेपालमा कम्तीमा एक दर्जन कम्युनिष्ट समूहहरू छन् ।
नेकपा (प्रचण्ड–माधव), नेकपा (ओली), नेकपा (वैद्य), नेकपा (विप्लव), नेकपा (कट्टेल), नेकपा (माले), नेकपा (मसाल), नेकपा (किराँती), नेकपा (आहुती), नेकपा (मार्क्सवादी) र नेमकिपाबारे मलाई जानकारी छ । यी सबै समूहबारे थोरबहुत सूचना लिने र बुझ्ने प्रयत्न गरिरहेकै हुन्छु ।
Clik here to view.

यी सबैको राजनीतिक भाष्य, दस्तावेज वा विचारधारामा के समानता वा भिन्नता छ भनेर बुझ्ने प्रयत्न गर्ने गर्छु । यी सबैको साझा विशेषतालाई फरकफरक संज्ञा दिनुभन्दा एकमुष्ठ गर्न यो शब्दावली सजिलो लाग्यो ।
दोस्रो कुरा– यो पदसोपान निरपेक्ष शब्दावली हो । यसले नेता, कार्यकर्ता, संगठित सदस्य, साधारण सदस्य, समर्थक, शुभेच्छुक तथा मतदाता भनेर भेद गर्दैन । ती सबैलाई समेट्छ जो यी जुनकुनै भूमिकाबाट कम्युनिष्ट आन्दोलनमा योगदान गरिरहनु भएको छ । नेपाललाई चीन, भियतनामजस्ता केही अपवाद छोडेर समकालीन विश्वकै सर्वाधिक कम्युनिष्टहरू भएको देश बनाउन योगदान गरिरहनु भएको छ ।
तपाईहरूका सपना र योगदानबारे म जानकार छु भन्ने लाग्दछ । मैले पनि नवकिशोर वयमा ‘चम्किलो रातो राता’, ‘बाल सिपाही’, ‘युवाहरूको गीत’, ‘अग्निदीक्षा’, ‘आमा’ र ‘थ्याङ्क्यु मिस्टर र ग्लाड’ जस्ता उपन्यास पढेको थिए । हाम्रो पुस्तामा नेपालका ‘देवासुर संग्राम’, ‘नारी बन्धन र मुक्ति’, ‘नयाँ घर’ जस्ता साहित्य नपढेका किशोर कम्युनिष्टहरू कमै हुन्थे ।
मेरो पुस्ताको कम्युनिष्ट शिक्षा ‘ननफिक्सन’ भन्दा बढी ‘फिक्सन’ थियो । मलाई अहिले पनि के लाग्छ भने कार्ल मार्क्सको ‘पुँजी’ का सबै खण्डहरू राम्ररी छिचोलेका कम्युनिष्टहरू नेपालमा मुश्किलले १०० जना पनि छैनन् होला । कम्युनिष्ट विचारधारा नेपालमा बढ्नुको एउटा कारण चिनियाँ र सोभियत साहित्यको व्यापक अनुवाद र उपलब्धता थियो भन्ने लाग्दछ । साम्यवादी फिक्सनहरूले किशोर उमेरमा बलियो छाप निर्माण गर्न सक्दछन् ।
प्रगति र रादुगा जस्ता प्रकाशन तथा सोभियत दुतावास र पुस्तकालयले २०४६ अगाडिसम्म नेपालमा व्यापक रुपमा साम्यवादी साहित्यको आपुर्ति गर्दथे । खगेन्द्र संग्रौला, निरन्जन गोविन्द वैद्यलगायतले चिनियाँ अनुवादहरूको पनि राम्रै आपूर्ति गर्नु, गराउनु भयो ।
दोस्रो कारण कम्युनिष्ट आन्दोलनको व्यवहारिक संघर्षको पक्ष थियो । कम्युनिष्ट आन्दोलन हरेक पुस्तामा निक्कै निर्मम, उत्साही र बलिदानी आन्दोलन रह्यो । नेपालजस्तो विश्वको सर्वाधिक गरिबमध्येको एक मुलुक, निम्न मध्यम वर्गीय भावुकता तीव्र भएको समाज, राणा, शाह र पञ्चजस्ता निर्दयी शोषक/सामन्त शासकहरू, पुष्पलालदेखि जनयुद्धका सिपाहीहरूसम्म कम्युनिष्ट कार्यकर्ताहरूको त्याग र बलिदानका महागाथाले हाम्रो देशमा कम्युनिष्ट आन्दोलनलाई निक्कै लोकप्रिय बनायो भन्ने कुरामा कुनै सन्देह छैन ।
तपाईंहरूका यी संघर्षहरूप्रति, दुःखहरूप्रति, बलिदान र योगदानका महागाथाहरूप्रति म सधै नतमस्तक छु । तपाईहरूको पार्टी र आन्दोलनको फैलाव विचार र सिद्धान्तको संगतिभन्दा बढी यिनै महागाथाहरूको प्रतिफल हो । मलाई यो पनि थाहा छ– अधिकांश कम्युनिष्ट समर्थकहरूलाई आज आफ्नो त्यही सघर्षशील जीवन र इतिहासको मोह छ । वर्तमान र वास्तविकतामा थुप्रै वितृष्णाहरू छन् । अविश्वास र आंशकाहरू छन् । मनभित्र कतैबाट मरेर आएको छ । तर, ‘लागी हालियो, होस् मरोस्, एकबारको जुनीमा कति वटा विचार र पार्टी फेर्दै हिंड्ने ?’ भन्ने मनोविज्ञान बनाएर आफ्ना असन्तुष्टि र अपर्याप्तताहरूलाई दबाउनु हुन्छ भन्ने पनि थाहा छ ।
नेपालको कम्युनिष्ट आन्दोलनभित्र टुटफुट, संघर्ष र ध्वंसका पनि अनेक कथाहरू बने । मलाई सबैभन्दा रमाइलो भन्नुस् वा आश्यर्च लाग्ने कुरा के हो भने यहाँ सबै गुट, समूह वा नेताले ‘खाँटी कम्युनिष्ट’, ‘सही मार्क्सवादी’, ‘वास्तविक क्रान्तिकारी’ ठनिरहेका हुन्छन् । तपाईहरूका सबै गुट वा समूहहरू अरु सबै गुट वा समूहलाई कुनै न कुनै प्रकारको शब्द जस्तै– भड्काउवादी, संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी, सही मार्क्सवाद नबुझेको, आदि आरोप लगाइरहेका हुन्छन् ।
तपाईहरूको आँखाबाट हामीलाई गरिने गाली, निन्दा वा आलोचना के हो भन्ने पनि मलाई थोर बहुत ज्ञान र अनुमान छ । ‘कम्युनिष्ट आन्दोलनबाट भागेका भगौडा’, ‘सर्वहारा क्रान्तिको मार्गबाट विचलित वा पलायन भएका मान्छे’, ‘पुँजीवाद वा लोकतन्त्रतिर ढल्केका’, ‘निम्न मध्यम वर्गीय अवसरवादी’, ‘संशोधनवादी’, ‘विश्व पुँजीवादका नयाँ दलालहरू’ आदि तपाईहरूले भन्ने साझा शब्द हुन् ।
यी कुनै पनि शब्दले गाली गर्दा मलाई कुनै आपत्ति छैन । दुःख पनि लाग्दैन । किनकी गाली भन्ने बित्तिकै त्यो सही हुन्छ भन्ने छैन । गाली भनेकै त त्यस्तो कुनै पूर्वअवधारणा वा आग्रहमा आधारित आरोप हो, जो ठीक, सही, सत्य हुन्छ भन्ने छैन । गाउँघरमा मान्छेहरू रिसाउँदा एकअर्का विरुद्ध अनेक आमाचकारी गाली गरिरहेका हुन्छन् । गालीमा जे शब्द भनिन्छ, त्यस्ता कर्महरू सायदै मान्छे गरेका हुन्छन् ।
मेरो विचारमा गाली त्यति महत्वपूर्ण हैन, जो कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण हतियार मध्ये एक हो । यस्तो प्रचलन मार्क्सको पालामा कमै थियो । विशेषतः यो लेनिनको पालादेखि हुर्किएको संस्कृति हो । मार्क्सले आलोचनात्मक तर्क पद्धतिलाई स्थापित गर्न चाहेका थिए । आलोचना फरक बिषय हो र गाली फरक ।
दैनन्दिनी राजनीतिमा एकाध गाली नहुने हैन । प्रवृत्तिलाई नाकारात्मक चित्रण वा मिथकीकरण गर्दा तीव्र राजनीतिक संघर्षका बेला गाली स्वभाविक पनि हुन्छ होला । तर, त्यसले वस्तुगत, ऐतिहासिक र सैद्धान्तिक प्रश्नहरूलाई भने हल गर्दैन ।
एकसाथ यतिधेरै कम्युनिष्ट समूहहरू मध्ये भनिएजस्तो कुनै एक सच्चा मार्क्सवादी र बाँकी गैरमार्क्सवादी वा अवसरवादी हुन सम्भव नै छैन । त्यो आफैंमा दृष्टिदोष हो । आफूलाई ठीक र अरुलाई गलत ठान्नु सामान्यतः मानवीय मनोविज्ञानकै एक विशेषता हो, त्यो कम्युनिष्टहरूको मात्र चरित्र हैन । तर, कम्युनिष्टहरूमा अरुको भन्दा फरक आफ्नो कुरालाई अतिशयोक्तिकरण गर्ने विशेष क्षमता हुन्छ, जो अरुमा हुँदैन ।
‘राज्य सत्ता नै राजनीतिको केन्द्रीय प्रश्न हो’ भन्ने मान्यताको अतिशयोक्तिकरण हुँदा अस्तित्व र सत्ताको लडाईमा कुनै दार्शनिक, राजनीतिक र नैतिक मानकभित्र नबसे पनि हुन्छ भन्ने सोच अरुमा भन्दा बढी कम्युनिष्टहरूमा हुने गर्दछ । अथवा यसो भनौं तुलना गरिहेर्दा मैले त्यो पाए ।
यथार्थमा यो प्रवृतिको सार जीवनदर्शनको महत्तालाई राजनीतिक व्यवहारको आवश्यकताले अधिनस्थ गर्नु हो । मार्क्सवादी दर्शनमा सम्भवत् यसैलाई ‘डग्मा’ को उल्टो ‘प्रग्मा’ भन्ने गरिन्छ । दार्शनिक प्रश्नहरू जब राजनीतिमा विचलन गर्छन्, त्यो वैचारिक आन्दोलन, प्रणाली, एजेण्डा, अर्थतन्त्र र समाजव्यवस्थाको गुह्यसम्म जाने गम्भीर आन्दोलन नभएर केवल शक्ति, पद र अस्तित्वको संघर्ष मात्र बन्ने गर्दछ ।
नेपालको कम्युनिष्ट आन्दोलन अहिले कुनै वैचारिक, सैद्धान्तिक, दार्शनिक आन्दोलन नभएर केवल राजनीतिक आन्दोलनजस्तो मात्र देखिन्छ । यो आन्दोलनका एक प्रभावशाली व्यक्ति केपी शर्मा ओलीले केही वर्ष अघि पत्रकार विजय कुमारसँगको अन्तर्वार्तामा यो यथार्थ स्वीकार गरेका थिए । उनले भनेका थिए कि हामी ‘आइडोलजिकल’ वा ‘फिलोसोफिकल’ कम्युनिष्ट हैनौं केवल ‘पोलिटिकल’ कम्युनिष्ट मात्र हौं । ओलीको यो भनाई मलाई इमान्दार लाग्दछ ।
इमान्दार यो अर्थमा कि उनले जे हो, त्यही भने । नेपालका लगभग सबै कम्युनिष्ट समूहहरूको यथार्थ यही हो । ओलीले स्वीकार गरे, अरु स्वीकार गर्दैनन् । सत्य चाहे त्यो आफ्नो विरुद्धमा किन नहोस् स्वीकार गर्नु नै मार्क्सवादी ज्ञान पद्धतिको सार मानिन्थ्यो कुनै समय । संसारका सबै दर्शनहरूको उद्धेश्य आ-आफ्नो तरिकाले सत्यहरूको खोजी गर्नु हो । राजनीतिक पूर्वाग्रहको कारणले सत्यनिष्ठालाई गुमाएपछि कुनै पनि विचारप्रतिको निष्ठा उत्तिकै गम्भीर रहँदैन ।
मलाई के लाग्दछ भने आज नेपालको कम्युनिष्ट आन्दोलनमा जनु विचलन छ, जुन समस्या छन्, करिब ७० वर्ष लामो संघर्ष र बलिदानपछि उपलब्धिको तहमा जुन न्युनता छ, त्यो केवल ओली र ओली समूहको दोष हैन । ओली निमित्त पात्र हुन् । अहिलेको विसंगति, विचलन, अव्यवस्थाका लागि उनी पक्कै दोषी छन् । तर, उनी एक्ला दोषी हुन् र अरु चोखा छन् भनियो भने त्यो निक्कै ठूलो भ्रम वा पूर्वाग्रह हुनेछ ।
म ओली शैली, ओली विचार र ओलीतन्त्रको सर्वथा आलोचक रहेँ । अझै छु । ओलीतन्त्रले आजित बनाएको बेला यदाकदा मैले पनि यसलाई दुईचार वटा गाली गरेको छु । ‘बौद्धिक मान्छेले यस्तो कुरा गर्ने’ भनेर केही कमरेडहरूले च्यापच्याप्ती पार्ने गर्नु हुन्छ । तपाईहरूको जस्तै यो मेरो पनि रहर नभएर बाध्यता हो । राजनीतिक संघर्षको पराकाष्ठामा दिनहरू यो भलाद्मी र बौद्धिक हुने कुरा खासै सान्दर्भिक रहँदैन ।
तर तपाई हामी सबैले यो पक्ष पनि सोच्न जरुरी छ कि ओली एक्लै जन्मिएका हैनन् । आज पनि ओलीको मञ्च अगाडि बसेर जोडजोडले ताली बजाउनेहरूको ठूलो संख्या छ । त्यस्ता मानिसको यत्रो ठूलो पंक्ति तयार गर्ने कम्युनिष्ट आन्दोलनको शिक्षा वा स्कुलिङ कस्तो रहेछ ? के त्यो ओलीको मात्र दोष हो ? पक्कै हैन ।
इतिहासले दोषभागिताका लागि ओलीलाई अगाडि सार्यो । तर यसमा प्रचण्डदेखि माधवसम्म, वैद्यदेखि विप्लवसम्म, मोहनविक्रमदेखि बिजुक्छेसम्म, सीपी मैनालीदेखि आहुतिसम्म सबैको उत्तिकै दोष छ । मात्रामा भिन्नता होला, गुण उस्तै दोष । भूमिकामा थोर बहुत होला, शिक्षा र स्कुलिङमा उस्तै दोष ।
त्यो दोष के हो भने– हरेक कम्युनिष्ट चिन्तकले विचारधारालाई दुई भागमा बाँड्दछन् । कि त साम्यवादी कि त पुँजीवादी । जो कम्युनिष्ट हो, कम्युनिष्ट हो, जो कम्युनिष्ट हैन, ऊ पुँजीवादी हो । साम्यवाद र पुँजीवाद बाहेक संसारमा कुनै दर्शन, विचारधारा, समाजव्यवस्था वा अर्थतन्त्रको प्रणाली हुनै सक्दैन भन्ने सबै कम्युनिष्टहरूको साझा सोच हुन्छ । यही सोच प्रकारान्तले ‘म कम्युनिष्ट हो, त्यसैले म ठीक हो’ भन्ने स्व–धारणामा रुपान्तरण हुने हो ।
यानेकी तपाईहरू समाज विज्ञानलाई पदार्थ विज्ञानसँग, त्यो पनि स्थुल पदार्थ विज्ञानसँग सादृष्य ठान्नु हुन्छ । तपाईहरूले हामीलाई ‘पुँजीवादी’ देख्नुको अर्थ वास्तविकतामा हामी पुँजीवादी भएर हैन, हामी कम्युनिष्ट नभएर वा छोडेर हो । पुँजीवाद भन्ने प्रणाली र व्यवस्थामा त त्यति नै खराबी देख्छु जति साम्यवादी अभ्यास र प्रणालीमा देख्छु । तर, तपाईहरू यसरी आलोचनात्मक हुनै सक्नु हुन्न ।
किनकी तपाईहरू साम्यवाद र पुँजीवादभन्दा पर पनि सृष्टि, पदार्थ र चेतनाको अस्तित्व हुन्छ भन्ने विश्वास नै गर्नु हुन्न । जबसम्म यो विश्वास तपाईहरूमा आउँदैन तबसम्म सत्य देख्न सकिन्न । सत्य भन्नाले यहाँ मैले कुनै परम वा निरपेक्ष सत्यको कुरा गरिरहेको छैन । काल र स्थिति सम्बन्धमा ज्ञानको पुनर्भाष्यिकरणको कुरा गर्दैछु । जबसम्म यो अनुभूति तपाईहरूमा आउँदै हजार संघर्ष, बलिदान र योगदानको बाबजुद उपलब्धि शून्य बराबर हुनेछ । जस्तो कि अधिकांश विश्व कम्युनिष्ट आन्दोलनमा भयो । जस्तो कि अहिले नेपालमा भइरहेको छ ।
यो नेपालका कम्युनिष्टहरूको मात्र हैन, विश्वभरिकै कम्युनिष्टहरूको मनोवृत्ति हो । मेरो गणनामा विश्वमा ४६ देशमा स्थापित भएको कम्युनिष्ट शासन आज ५ वटा देशमा खुम्चिएको छ । अझ खुल्ला बजार अर्थतन्त्रमा फर्किसकेका चीन, भियतनाम र लाओसलाई समेत त्यो सुचीबाट हटाइदिने हो भने समकालीन विश्वमा २ वटा मात्र कम्युनिष्ट देशहरू छन्– उत्तर कोरिया र क्युवा भन्नुपर्ने हुन्छ ।
विश्वमा अहिले देश, स्वायत्त क्षेत्र वा टेरिटरीहरूलाई एकमुष्ट जोड्दा करिब २२५ राजनीतिक एकाइहरू छन् । ४६ सम्म पुगेर घट्न थालेको र २ मा खुम्चिएको विचार प्रणाली चाहिँ सफल र ठीक, अरु सबै गलत यस्तो निष्कर्ष कदापी सही हुन सक्दैन ।
Image may be NSFW.
Clik here to view.
आखिर किन यस्तो भयो ? एक विशद विश्वविवेचनाको आवश्यकता थियो । अझै छ । यस्तो विवेचना प्रेम र घृणाभन्दा, मोह र वितृष्णाभन्दा, समर्थन र विरोधभन्दा, आग्रह र पूर्वाग्रहभन्दा राग र वैरागभन्दा बाहिरको बिषय हो । यो वितराग, सम्बोधी, साक्षी वा प्रबोधनको विषय हो । यस्तो विशद र व्यापक बिषयलाई जब तपाईहरू राजनीतिक स्वार्थका लागि हुने समर्थन र विरोधमा सीमित गर्नु हुन्छ, कम्युनिष्ट आन्दोलन र मानवीय ज्ञानको विकासबीच अन्तर्विरोध सृजना हुन्छ । विकसित ज्ञानविज्ञान र जीवन अनुभवले जब कम्युनिष्ट तर्कहरूको सीमा नाघ्छ वा अपर्याप्त देख्छ तब कम्युनिज्म अर्थहीन हुन्छ । संसारभरि भएको त्यही हो । नेपालमा हुन थालेको पनि त्यही हो ।
नेपालका कुनै कम्युनिष्ट नेता वा समूहले व्यक्तिगत वा सामुहिकरुपमा यो काम गरेको मैले देखिन । जहाँसम्म मदन भण्डारीले जनताको बहुदलीय जनवादमा गरे भनियो, मूलतः त्यो सोभियत संघको पतनपछि कम्युनिष्टहरू एकदलीयको साटो बहुदलीय नै हुनुपर्छ भन्ने निष्कर्ष मात्र हो, तर, कम्युनिष्ट आन्दोलनको समस्या त्यति मात्र हैन ।
मदन भण्डारीले जे जनताको बहुदलीय जनवादमार्फत् भनेका थिए, त्यो त सन् १९७० को दशककै युरो कम्युनिज्मवादीहरूले भनिसकेका थिए । कम्युनिष्ट आन्दोलनको समस्या त्यो भन्दा धेरै गहिरो र व्यापक थियो ।
पहिलो– यसको समस्या यसको दर्शनशास्त्रको सीमिततामा थियो । ‘द्वन्द्वात्मक भौतिकवाद’ को कम्युनिष्ट भर्सन न्युटनीय विज्ञानको जगमा बनेको थियो । त्यो मूलतः हिगेलीय र वायरबाखीय विश्लेषण पद्धतिको पुनर्संस्करण थियो ।
त्यसले रेने देकार्तको हरेक एकलाई दुईमा विभाजन गर्ने कार्टिसियन पद्धति अबलम्बन गर्दथ्यो । त्यसले पदार्थ र चेतनालाई प्रथम र द्वितीय भनेर विभाजित गर्दथ्यो । सृष्टिको परमसत्तामा पदार्थ र चेतनाको अविभाज्यताबारे यो दर्शन अनविज्ञ थियो ।
आइस्टाइनको सापेक्षता, अनिश्चितता र गैरएकलरेखीयता, माक्स प्लांक र निल्स बोहोरको क्वान्टा र इनर्जी डान्स, स्टेफेन हकिङ्सको बहुब्रह्माण्ड, ब्लाकहोल र क्वान्टम नियमहरूको सन्दर्भमा भौतिकवादी दर्शनशास्त्रको पुनर्परिभाषा गर्ने दायित्वबाट कम्युनिष्ट आन्दोलन चुकेको थियो ।
कम्युनिष्ट आन्दोलनले लाँकीयन अनुभववादी तथा लेनिनीय प्रतिबिम्बनबादी ज्ञानमिमांसालाई पक्रिरह्यो तर संज्ञान विज्ञान (कोग्नेटिभ विज्ञान) बारे कुनै भेउ पाएन । इतिहासले व्यक्तित्व निर्माण गर्दछ भन्ने ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा सत्यको आधा पाटो छुट्छ, त्यो अर्धसत्य बन्न पुग्दछ । सत्यको अर्को पाटो व्यक्तित्वले इतिहासको निर्माण गर्दछ भन्ने कुरा छुट्छ । अर्थात् कम्युनिष्ट दर्शन ‘डाइलेक्टिकल’ थियो, ‘डायोलोजिकल’ हैन, यो सत्य आज पनि कुनै कम्युनिष्ट नेता र समूह स्वीकार गर्दैनन् ।
दोस्रो– कम्युनिष्ट सिद्धान्तले ‘वर्ग र धन’ लाई आधारतत्व मान्यो, अरु सबै चिजलाई अधिरचना । यसले गर्दा कम्युनिष्ट दर्शनमा मानवको पूर्ण व्यक्तित्व देखिएन र साम्यवादी शासन भएका देशमा मानवताको बहुआयामिक विकास हुन सकेन । मानव व्यक्तित्वको पूर्ण चित्र नदेखिनु र बहुआयामिक विकास हुन नसक्नु कम्युनिष्ट शासनहरू ढल्नुको एउटा महत्वपूर्ण कारण थियो ।
धन वा वर्गको सत्ता मान्छेभित्रको एउटा सत्ता हो । मान्छे व्यक्तिसत्ता, प्रेमसत्ता, ज्ञानसत्ता, पहिचानसत्ता, धनसत्ता, संगठनसत्ता र परमसत्ताको बहुआयामिक समिश्रण हो । केवल धन र वर्गको कुरा गर्दा समाज विज्ञानका अन्य पक्षहरू त छुटेछुटे, अन्ततः कम्युनिष्ट शासनले त्यही एउटा प्रमुख भनिएको आर्थिक समानता पनि दिन सकेन । आर्थिक समानता पाएर पनि मान्छे सन्तुष्ट हुने प्राणी हैन, तर कम्युनिष्टहरूले त्यही एउटा दिन्छु भनेको आर्थिक समानता पनि दुनियाँमा कहि दिन सकेनन् ।
तेस्रो– कम्युनिष्ट दर्शनमा अर्थशास्त्रीय द्विविधा थियो । उत्पादन साधनको राष्ट्रियकरण, निजी स्वामित्वको उन्मुलन र अतिरिक्त मूल्यको अन्त्य भए उत्पादक शक्तिले आफैं विकास गर्छ र अर्थतन्त्र बलियो हुन्छ भन्ने कम्युनिष्टहरूको अर्थशास्त्रीय एप्रोच झुठको पुलिन्दा शिवाय केही बनेन । वास्तवमा त्यो कुनै संगतिपूर्ण अर्थशास्त्रीय सोच नभएर अर्थतन्त्रमाथि दर्शनशास्त्रीय जबरजस्ती मात्र थियो । अर्थविज्ञानलाई कहाँनेर कसरी विकास गर्ने भन्ने कुनै बहस कम्युनिष्ट आन्दोलनमा थिएन, छैन । अन्ततः कम्युनिष्टहरू, नेप र मिश्रित अर्थतन्त्रको कुरा गरे, जो अर्को भ्रान्ति थियो ।
चौथो– कम्युनिष्टहरूको वैचारिक जिन बहुदलीय वा संसदीय लोकतन्त्र विरोधी थियो । उनीहरू बल प्रयोगको सिद्धान्त, समाजवादी क्रान्ति, सर्वहारा अधिनायकत्व, कम्युन/सोभियत प्रणाली, एकदलीयता वा जनवादी अधिनायकत्वजस्ता सिद्धान्तमा विश्वास गर्थे ।
आज पनि नेपालका आधाभन्दा धेरै कम्युनिष्ट समूहहरू यिनै थोत्रा सिद्धान्तमा विश्वास गर्दछन् । जसले यी सिद्धान्तमा विश्वास गुमाएका छन्, उनीहरू बहुदलीय जनवादी भएका छन् र संसदीय लोकतन्त्रको विकृत अभ्यासमा निर्लज्जतापूर्वक सामेल छन् । राजनीतिक प्रणालीको प्रश्नलाई कसरी हल गर्ने भन्ने चिन्ता कम्युनिष्ट आन्दोलनमा विल्कुलै छैन ।
कम्युनिष्ट दर्शनमा लोकतन्त्र एक संदिग्ध अवधारणाका रुपमा संकुचन हुन्छ । तसर्थ कम्युनिष्ट आन्दोलनले बारम्बार गैरलोकतान्त्रिक विचलन गर्दछ । ओलीको अहिलेको एक प्रमुख समस्या यो पनि हो । प्रतिनिधिसभा विघठनको घटनामा लोकतन्त्र, संविधानवाद, शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको बिषय कसरी खण्डित हुन्छ भन्नेतिर ओली समर्थकहरूमा कुनै चासो र मतलब देखिन्न । यसको अर्थ लोकतन्त्रको विकास र सघनीकरणको दायित्वबाट विश्वकम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलन बारम्बार च्युत हुने गरेको छ ।
पाँचौं– कम्युनिष्टहरूमाथि साँस्कृतिक असंगति, दोहारो मापदण्डयुक्त जीवन र पाखण्डको आरोप छ । यो कुरा आरोपजस्तो मात्र नभएर कयौं दृष्टान्तद्धारा पुष्टि हुने ठाउँ बनेको छ । तपाईहरू एकातिर आफूलाई आर्थिक समानताका पक्षधर, सर्वहारा जीवन र संस्कृतिका संवाहक ठान्नुहुन्छ, अर्कोतिर निजी धन र सुख सुविधाप्रतिको मोह, उच्च तथा विलासी जीवनशैलीको चाह कुनै बुर्जुवा नेता वा राजनीतिकर्मीमा भन्दा कम देखिन्न । भ्रष्टाचारजन्य घटनामा समेत कम्युनिष्टहरूको ठूलो संलग्नता छ ।
प्रिय कमरेडहरू !
मेरो विचारमा तपाईहरूको मुख्य समस्या यी ५ वटा कुरा हुन् । जबसम्म यी चिजलाई ठीक ठाउँमा ल्याउनु हुन्न तपाईहरूले कम्युनिष्ट उपलब्धि हासिल गर्नु हुनेछैन । एकपछि अर्को पतन, एकपछि अर्को वितृष्णा, एकपछि अर्को निराशा मात्र हात लाग्ने छ ।
तपाईहरूको दौड ‘मौतका कुवा’ भित्रको दौडजस्तो हुनेछ । यस्तो दौड निक्कै जोखिमपूर्ण हुन्छ । तर कहिँ पुग्दैन । कुवाको कुवाभित्रै रहन्छ ।
आज ओलीलाई गाली गर्नु हुन्छ । भोलि प्रचण्डलाई गाली गर्ने दिन आउँछ । पर्सी वैद्य र विप्लवलाई गाली गर्ने दिन आउन बेर छैन । मान्नुस् नमान्नुस्, तपाईंहरूको यो दौड वा दुश्चक्रले नेपाललाई कहिँ पुर्याउँदैन । त्यही अर्को एउटा पश्चिम बंगाल मात्र बनाउँछ ।
हामी यो दुश्चक्रबाट निस्कन चाहन्छौं । सफल हुन्छौ, असफल हुन्छौं, कुनै निश्चितता छैन । किनकी स्वयं सृष्टिमै अनिश्चितता पनि अस्तित्वमा हुन्छ भने कुनै मानवीय कर्मपूर्ण सफल हुने निश्चितता हुँदैन । तथापि त्यसको उद्देश्य कतातिर छ, त्यो मुख्य कुरा हो ।
आजको युग उत्तरपुँजीवादी मात्र हैन, यो उत्तरसाम्यवादी वा उत्तरमार्क्सवादी युग पनि हो । के यो यथार्थ स्वीकार गर्ने आँट नेपालका कुनै कम्युनिष्ट समूह र नेतासँग छ ? मलाई लाग्दछ छैन ।
तसर्थ कम्युनिष्ट समर्थकहरूलाई मेरो सविनय आग्रह छ– कृपया एकपटक ठन्डा दिमागले सबै चिजलाई पुनर्विचार गर्नुस् । केवल एकअर्कालाई गाली गरेर मात्र कतिन्जेल तपाईंहरूको व्यवहार चल्छ ?
The post कम्युनिष्ट समर्थकहरूको नाममा एक सविनय आग्रह appeared first on Sajha Post.