Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुः हिजो कस्ता थिए ? आज हामी कस्ता छौं ?

$
0
0

तिनीहरू जसले १०० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए र ती जो पार्टी स्थापनाका प्रारम्भिक वर्षहरूमा प्रवेश गरे, अब कोही पनि जीवित छैनन् । आजको सबै पार्टी सदस्यहरू पछि आएकाहरू हुन् ।

म आफैं पनि एक पार्टी सदस्य हुँ । तर, मलाई थाहा छ कि म ती पार्टी सदस्यहरूजस्तो छैन । म ती पार्टी सदस्यहरूलाई साँच्चै नै आदर गर्दछु जो नानचिङ विद्रोह र शरद फसल विद्रोहमा सहभागी भएका थिए । म ती पार्टी सदस्यहरूलाई सम्झेर हार्दिक अभिनन्दन गर्न चाहन्छु जो लम्बे अभियानमा सामेल भएका थिए र घातक लडाइँहरूमा मुश्किलले बाँचेका थिए ।

म ती पार्टी सदस्यहरूलाई सलाम गर्न चाहन्छु, जो शत्रुहरूको इलाकामा भूमिगत बसेर चर्को जोखिमबीच पार्टी काम गर्दथे । विशेषतः ती पार्टी सदस्यहरू झनै अभिनन्दनीय छन् जसले आफ्नो अमूल्य जीवन बलिदान गरे । यी सबै पार्टी सदस्यहरू पछि पार्टी प्रवेश गरेकाको लागि आदर्श पार्टी सदस्य थिए ।

जब सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भयो, करिब ४४ लाख ८० हजार पार्टी सदस्य थिए । अहिले ९ करोड पार्टी सदस्य छन् । अहिलेको शान्तिपूर्ण अवस्थामा यो पार्टी सदस्य संख्या धेरै नै हो । तर यो यस कारणले मात्र भएको हैन कि पार्टी बलियो भयो, ठूलो भयो, सत्तामा आयो, पार्टीले आज पनि चिनियाँ राष्ट्रको आत्मलाई कायाकल्प गर्न, यसका अन्तिम उद्देश्यहरू हासिल गर्न जनतालाई परिचालित गरिरहेकै छ ।

यी लक्ष्यहरू संस्थापक तथा प्रारम्भीक पार्टी सदस्यहरूको वीरता र पराक्रमपूर्ण संघर्षका लक्ष्य अनुरुप नै छन् । यी लक्ष्यहरू पुरा गर्न समाजका समग्र पक्षहरूको सहभागिता र सबैतिर अदम्य भावना र धैर्यशक्तिको आवश्यकता छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले आज यी कामहरूलाई असाधारण तरिकाले अगाडि बढाउनु छ । पार्टी सदस्य र पदाधिकारीहरूले राजनीतिक प्रणालीसँग तादात्म्यता कायम गर्दै उपलब्धीहरू हासिल गर्न सक्रिय हुनु परेको छ ।

यदि पार्टीका सबै सदस्यहरूले आफ्नो दायित्व ठीक ढंगले पुरा गर्ने हो भने चीनको कायाकल्प अरु एक कदम अगाडि बढ्ने छ । पार्टी सदस्यका रुपमा मेरो बुझाई के छ भने विशेषतः पार्टी पदाधिकारीहरूको काँधमा धेरै जिम्मेवारी छ, उनीहरू त्यो दैनिक र साधारण तरिकाले सम्पन्न गर्न सक्नु पर्दछ ।

तर यति लामो शान्ति र स्थायित्वपछि पनि पार्टीका केही सदस्य र पदाधिकारीहरूमा राजनीतिक दुर्घटनाहरूको भय र कामप्रति डरको भावना छ । यसलाई अझै हटाउन सकिएको छैन । म प्रष्टै देख्छु कि यस्तो छ र यो चिन्ताको विषय बनेको छ ।

हु सिजिन

तर हामीले यो विश्वास गर्नु पर्ने हुन्छ कि यदि हामीले इमान्दारितापूर्वक पार्टी काम गर्दर्छौं र राष्ट्रका हितहरूको पक्षमा दृढतापूर्वक उभिन्छौं भने के त्यस्तो दुर्घटना होला र ? पार्टीको आव्हान नै यही हो । यदि हाम्रो काँधमा ठूलो जिम्मेवारी छ र त्यसलाई हामी असल तरिकाले पुरा गर्न सक्दैनौं भने पद गुमाउनु कुन ठूलो कुरा भयो र ?

यस्तो अवस्थालाई घटुवा भएको वा पद गुमाएको अवस्था भनेर चिन्तित हुन जरुरी छ र ? यस्तो कुरालाई ती संस्थापक तथा प्रारम्भिक पार्टी सदस्यहरूले सामना गरेको जोखिमसँग कसरी तुलनीय मान्न सकिएला, जसले आफ्नो जीवन नै जोखिममा राखेका थिए ?

म यो मान्छु कि आज हामी एक महान कार्यमा संलग्न छौं । तर त्यस्तो पनि एउटा समय थियो कि एउटा सानो पार्टीमा थोरै पार्टी सदस्यहरूले धेरै ठूलो व्यक्तिगत जोखिम उठाउनु पर्दथ्यो । एक क्षणलाई यो स्मरण गरौं कि सन् १९२७ देखि १९३७ सम्म चलेको गृहयुद्धको समयमा कोमिन्ताङ इलाकामा बन्दी बनाइएका लाल सेनाका अग्रदुतहरूको हालत के थियो होला ? आज हामी तथाकथित जोखिमहरूको कुरा गर्न किन लाज मान्दैनौं ?

निश्चय नै आज चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले कडा काम गरिरहेका छन् । चीन तीव्र दवाबबीच उबड–खाबड सडकमा हिडिरहेको छ । आज हामीले हाम्रा फोकसहरूमा ध्यान केन्द्रित गर्नु परेको छ । व्यक्तिगत चिन्ताका कारण हामी यी दायित्वबाट उम्किन सक्दैनौं ।

मलाई यो पनि थाहा छ कि यस्तो कुरा अलिक आर्दशवादीजस्तो लाग्न सक्दछ । जस्तै शान्तिपूर्ण समयमा पनि चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले आफ्नो निष्पक्ष भावलाई स्वार्थजन्य परित्याग गर्न मिल्दैन । यो वर्ष हामीले हाम्रा अग्रजहरूको स्मरण र तुलना गर्ने वर्ष पनि हो । हामीले उनीहरूको बलिदानबारे सोच्नै पर्दछ । उनीहरूको बीरता र पराक्रमबारे चिन्तन गर्नै पर्दछ ।

पार्टीका सदस्य र विशेषतः यसका पदाधिकारीहरूले आफ्ना काँधमा उत्तरदायित्वको बोझ उठाउँनै पर्दछ । जनतालाई उत्तरदायी अधिकारीहरू चाहिएको छ । आज हामीले हिजाको भन्दा फरक नयाँ प्रकारको बलिदान गर्न पर्दछ । पार्टी सदस्यका रुपमा हामीले व्यक्तिगत हित र सुरक्षालाई प्राथमिकतामा राख्ने सुविधा पाउँदैनौं ।

क्रान्तिकारी अबधिमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले आफूलाई सधैं अगाडि राखेका थिए । ती हाम्रा भावना–नायकका रुपमा हामीभित्र अझै जिवित छन् । हामीले आफूलाई सुधार गर्नु नै उनीहरूलाई सही श्रद्धान्जली दिनु हो । हामीले आफूलाई अगाडि बढाउँन सक्नु पर्दछ, उनीहरूलाई तल गिराउने हैन ।

(लेखक चिनियाँ कम्युनिष्ट पार्टी निकट द ग्लोबल टाइम्सका सम्पादक हुन्)

The post चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुः हिजो कस्ता थिए ? आज हामी कस्ता छौं ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles