नयाँ शक्ति नेपालको सांगठानिक संरचना तृणमूल तहसम्म निरन्तर विस्तार भईरहेछ । जनतामा नयाँ शक्तिप्रतिको आकर्षण त्यत्तिकै बढिरहेको छ एकातिर भने अर्कातिर आज देशका लागि आर्थिक समृद्धि नै मुख्य एजेण्डा हो भन्ने सर्वत्र महसुस गरिँदैछ । जनताले म्याद नाघेको औषधी जस्तै भएका क्लीष्ट वादहरुबारे पट्यारलाग्दा भाषणभन्दा आर्थिक समृद्धिको लागि योजनाबद्ध कामको आशा गरेका छन् । त्यसकारण छोटो समयमा जनताको आशा भरोसाको केन्द्र बन्दै गरेको नयाँ शक्तिले तत्काल गर्नु पर्ने केही काम यस्ता हुन सक्छन् ।
१) राष्ट्रिय समस्याहरुको प्राथमिकीकरण
देशमा अनगिन्ती समस्याहरु छन् । शासनमा अस्थिरता, अनुत्तरदायी शासन, गरिबी, बेरोजगारी, युवा पलायन, भ्रष्टाचार, अव्यवस्थित शहरीकरण, वैदेशिक हस्तक्षेप, जातीय क्षेत्रिय समस्या, वातावरणीय असन्तुलन आदि समस्यामध्ये कुन समस्या सबभन्दा प्रमुख हो ? समस्याको पहिचान र प्राथमिकीकरण गरेर अगाडि बढ्नु पर्दछ । यस प्रयोजनका लागि सबै क्षेत्रका विज्ञहरुको राष्टिय परामर्श भेलाको आयोजना गर्न सकिन्छ ।
शासनमा अस्थिरता आज सबैको चासोको विषय बनेको छ । शासनमा अस्थिरता हटाउन विगतमा वामपन्थी पार्टीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थाको नारा त घन्काए तर संविधान बनाउने बेलामा सो मुद्दा छोडियो । र, नेपाली कांग्रेसकै एजेण्डामा सबैले ल्याप्चे लगाए । यो जनतालाई दिएको ठूलो धोखा थियो ।
संविधान जारी भएको एक बर्ष बितिसक्दा देखियो- विगतकै विकृत शासन व्यवस्थाको शिकार देश भइरहेछ । संविधान संशोधन गरेर पाँच बर्ष स्थायी सरकार चल्नसक्ने पद्धतिमा जानुको उत्तम विकल्प अरु देखिदैन । आज यो मुद्दा नयाँ शक्तिले जोडले उठाएको छ । प्रत्यक्ष कार्यकारी निरङ्कुश बन्नसक्छ भन्ने तर्क पनि हिजोदेखिनै गरिदै आएको छ । त्यसबाट बच्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई व्यवस्थापिका–संसदको दुई तिहाई बहुमतले नियन्त्रण गर्न सक्ने प्रावधान काफी हुन्छ ।
जहाँसम्म अहिलेको जस्तो अनुत्तरदायी शासनको सवाल छ, जनताप्रति पूर्णरुपेण बफादार एवम् ईमान्दार नेतृत्व नभई हुँदैन । आफ्नो पार्टी र आफ्ना आसे पासेको हितभन्दा धेरै माथि उठेर देशको सेवा गर्ने राजनेता देशले जन्माउन सक्नुपर्दछ । ‘प्रधानमन्त्रीको सल्लाहकार भईसकेपछि पनि तपाईं त पुरानै मोटरसाईकल चलाउनु हुँदोरहेछ । एउटा गाडी किन्ने पैसा पनि उठाउन सक्नुभएन ?’ यो पङ्तिकारलाई कैयौं पटक सोधिएको प्रश्न हो यो । मानौं म सिंहदरवार पैसा उठाउन गएको थिएँ, नसकेर फर्कें । नेपाली समाजको यो बुझाइ परिवर्तन हुन आउँदा दिनमा सत्तासीनहरुले जनताले प्रष्ट अनुभूत गर्ने गरी त्याग, पारदर्शिता र सदाचार देखाउन सक्नु पर्दछ ।
समस्याहरुको पहिचान र प्राथमिकीकरण गर्ने सवालमा मुख्य राजनीतिक शक्तिका बीचमा समान धारणा बनाउन नयाँ शक्तिले विशेष पहल गर्न शुरु गरेको छ । राजनीतिक सम्वाद समितिको संयोजनमा यो काम विधिवत् शुरु भएको छ । यो अभियानलाई राष्ट्रव्यापी बनाउँदै यसमा जनताको अधिकतम सहभागिता जुटाउनु पर्दछ ।
२) नेता कार्यकर्ताको सोचाइमा परिवर्तन
पुरानो सामन्ती व्यवस्था ध्वंश गर्न विगतमा विभिन्न तवरले संघर्ष गरेका नेता कार्यकर्ताको समुच्चयबाट नयाँ शक्ति बनेको छ । विगतमा कसैले रेलिङ् भाँचे, कसैले पुल उडाए, कसैले ज्यान उडाए । स्वभावतः उनीहरुको सोचाइ अझै ध्वंसात्मक छ, निषेधकारी छ । उनीहरुको त्यो सोचाइमा आमूल परिवर्तन नगरी नयाँ शक्ति बन्दैन । सबै नेता कार्यकर्ता र पार्टी सदस्यलाई ध्वंशात्मक र निषेधकारी सोचाईबाट मुक्त गरी सौम्य, समन्वयकारी र सिर्जनात्मक बनाउन जरुरी छ । समाजमा विद्यमान जातीय क्षेत्रिय विद्वेष नयाँ शक्तिभित्र नआउने कुरा भएन । क्लस्टरल समावेशीकरणको अभ्यास पार्टीमा शुरु भइसकेको सन्दर्भमा यस्ता विद्वेषलाई न्यूनीकरण गर्न विशेष पहलको थालनी अविलम्ब गरिनु पर्दछ । सद्भाव अभिवृद्धि गर्न घनीभूत प्रशिक्षण चलाउनुपर्छ ।
३) नेता कार्यकर्ताको स्थानीयकरण
नयाँ शक्ति नेपाल जनताको सेवक पार्टी हो । जनसेवा आफ्नो स्थायी बसोबास भएको ठाउँमा गर्न धेरै सजिलो हुन्छ । हिजो जनआन्दोलन वा जनयुद्ध सञ्चालन गर्दा कञ्चनपुरको कार्यकर्ताले झापामा काम गर्न सक्थ्यो । मुगुका योद्धाले पाँचथरको चौकी उडाउन सक्थे । तर अबको चुनावी राजनीति यसरी चलाउन सकिँदैन । टुरिष्ट नेता वा उम्मेद्वार बनाउँदा तत्कालीन एमाओवादीको हविगत सबै देखेकै छन् । तसर्थ नयाँ शक्तिले आफ्ना सबै नेता कार्यकर्तालाई आफू मतदाता रहेको भूगोलमा सक्रिय गराउन विशेष भूमिका निर्वाह गर्नुपर्छ ।
४) व्यवस्थापकीय दक्षता
केही अपवादलाई छोडेर नयाँ शक्ति नेपालले आयोजना गरेका राष्टिय र प्रादेशिक कार्यक्रम व्यवस्थापकीय दृष्टिले कमजोर देखिएका छन् । केन्द्रीय, प्रादेशिक र जिल्ला कार्यालयको व्यवस्थापन त्यतिकै चुनौतिपूर्ण छ । नयाँ शक्ति नेपालले सम्पन्न गरेका कपिपय कामहरु ‘पुजाभन्दा दण्डवत् ठूलो’ भनेझैं भएका छन् । एउटा दक्ष व्यवस्थापकको टीम बनाई यस क्षेत्रमा अविलम्ब काम अगाडि बढाइनु पर्दछ । नत्र समयले कसैलाई पर्खंदैन । जनतालाई नयाँ सुनाएरमात्र हुँदैन, नयाँ देखाउन सक्नु पर्दछ ।
The post के नयाँ शक्तिले यी कामहरु तत्काल गर्न सक्छ ? appeared first on Sajha Post.