बीसौं शताब्दिसम्म अरुणाञ्चल प्रदेशका अधिकांश पहाडी क्षेत्रहरु सबैजसो नक्सामा खाली देखाइएका थिए । त्यहाँ के थियो भन्नेबारे अनेक जंगली अनुमानहरु गरिन्थे । तिब्बती बुद्धिष्टहरुले सियाङ नदी उपत्यकाको माथिल्लो भागमा ‘पेमाको’ नामको जादुगरी ठाउँ छ भनेर कथा हाल्थे । पश्चिमा विज्ञहरुले उपत्यकाको दक्षिणतिर नरभंक्षी कविलाहरु बस्छन् भन्ने अभिलेख गरेका थिए । वास्तविकता कसैलाई थाहा थिएन, किनकी त्यहाँ कोही पुगेकै थिएन ।
अहिले पनि ती ठाउँहरुमा पुग्न सजिलो छैन । पासीघाट नगरदेखि दुईवटा नागबेली सडकहरु सियाङ नदी उपत्यकाको उकालोतिर लाग्दछन् । अग्ला पहाडहरुको काखलाई काटेर बनाइएका ती खराब कच्ची सडकहरु फन्फन्ती घुमेका छन् । ती पहाडहरु लद्दाखको उजाड भूमिको ठीक विपरित जङ्गली बोटविरुवा र घाँसले गाँजिएका छन् । यात्रा निक्कै गाह्रो छ ।
केही वर्षअघि म र मेरो एकजना साथी त्यहाँ भएका थियौं । हामीसँग फोरह्वील जिप थियो । सिधा दुरीमा मुस्किलले ४० किमी हुने त्यो बाटो काट्न हामीलाई बिहानदेखि बेलुकासम्म पुरै दिन लाग्यो । हामीले पक्रेको बाटो ठूल्ठूला खाल्डाखुल्टी भएको सिङ्गल लेन हिले बाटो थियो, त्यो पनि बन्द । बाटो चौंडा गर्ने काम भइरहेको थियो । हामी थाहै नपाइकन पहाड फोड्न डाइनामाइट विस्फोटन गर्न लागेको छेउसम्म पुगेका थियौं । त्यहाँबाट हामी फर्किएका थियौं र नदीको अर्को किरानाबाट वैकल्पिक मार्ग पक्रेका थियौं ।
हामी गन्तव्यमा नपुग्दै रात परेको थियो । वास्तविक नियन्त्रण रेखाको भारततिरको अन्तिम बस्ती ‘यिनकिओङ’ भन्ने ठाउँ थियो । त्यहाँ कुनै होटल वा सडक किनारमा पसलहरु थिएनन् । न त सडक बिजुली बत्ती र मोबाइल सिंग्नल नै थियो । एउटा पुरानो गाउँ बाहेक त्यहाँ अर्थोक केही थिएन । हामी पानगिन भन्ने ठाउँमा बास बसेका थियौं ।
भोलिपल्ट बिहान, काठे फल्याकहरुले बारिएको गाउँको एक मात्र चियापसलको क्याबिनमा मुड्कोमा बसेर मैले योआर गाओलाई भेटेको थिए । गाओ अदी कविला जातिका एक स्थानीय किसान हुन् । उनले सियोङ नदीमा बाँध बाध्ने कार्यको दशकौंदेखि विरोध गरिरहेका छन् । उनको भनाईमा यहाँका सबै भारतीय पार्टीहरुले बाँधलाई समर्थन गर्दछन् । राज्यका प्रत्येक मुख्यमन्त्रीले सन् १९८० को अवस्थामा फर्किने प्रस्ताव गरे तर स्थानीय विपक्षीहरुको आक्रोशको कारण ती यो प्रस्ताव सफल भएनन् ।

गाओले भने, ‘यो ठाउँ सधैं नो मेन्स ल्याण्ड जस्तो रह्यो । यहाँका आदि कविलाहरु उत्तरतिर तिब्बतसँग व्यापार गर्थे । दक्षिणतिर ब्रह्मपुत्र भ्यालीसम्म आइजाइ गर्थे तर दुवैतिरको राज्यमा सामेल थिएनन् । त्यतिखेरको संसार नै अर्कै थियो । न बाटो थियो, न गाडी थिए, न बिजुली थियो न कोही कुद्थ्यो । यसको कुनै नक्सा थिएन, कुनै लिखित दस्तावेज थिएन यहाँ कुनै राष्ट्र वा राज्य थिएन ।’
बीसौं शताब्दिका प्रारम्भिक वर्षहरुमा अदी कविलाहरुको भूमिमाथि अतिक्रमण शुरु भयो । अदिसहरुले साँचो अर्थमा त्यसको प्रतिरोध गरे । सन् १९११ मा ब्रिटिस– भारत अभियानको एक टोलीका केही सदस्यलाई यहाँका अदिबासीले मारिदिएका थिए । त्यसको बदला लिन ब्रिटिस अफिसरहरुको नेतृत्वमा गोर्खा सैनिकहरु यहाँ पठाइएको थियो । यो पटक उनीहरुले आफ्नो अभियान पुरा गरेका थिए । यो धनुषतिरको विरुद्ध मेसिन गनको लडाइ थियो । तर त्यो पनि सजिलो थिएन ।
एंगस हेल्टिन जो त्यो दोस्रो अभियानमा सामेल थिए, उनले लेखेका छन्, ‘मार्गहरु केवल पशुहरु हिड्न सक्ने ट्रयाक थिए । राम्रो बाटो भनेको नदी बग्ने खोचहरु मानिन्थ्यो । जब यात्रीहरु ती खोंच तर्न सक्दैनथे, साँघुरो किनाराबाट घिस्रिएर अग्ला पहाडका डाँडा काट्नु पर्दथ्यो । ठाउँठाउँमा ठाडा पहाडहरु सिधै चिउडोमा ठोकिन आउँथे, त्यस्ता ठाउँहरु डोरीमा झुन्डिएर पार गर्नुपर्दथ्यो ।’
जे जसरी होस्, ब्रिटिस–इन्डिया सरकारका मानिसहरु सशस्त्र सिपाही र भरियाहरुको पथप्रदर्शनमा ती क्षेत्रतिर घुस्न थाले । त्यतिखेर तिब्बतको भविष्यको निर्णय भइरहेको थियो । ब्रिटिस–इन्डिया र तिब्बत बीचको सम्भावित सीमारेखा कहाँनेर हो भनेर स्थापित गर्न अत्यावश्यक थियो ।
चीनमा क्वीङ वंशको पतन भयो । १३ औं दलाई लामा चिनियाँ सैन्य टुकडीद्वारा ल्हासाबाट धपाइए । सन् १९१४ मा ब्रिटिस–इन्डिया सरकारका प्रतिनिधि, दलाई लामा र भर्खरै स्थापित भएको चीन गणतन्त्रका प्रतिनिधि भारतीय पहाडी बजार सिमलामा भेट भए । सिमाला त्यो समय ब्रिटिश शासनको ग्रिष्मकालीन राजधानी थियो ।
सिमला सम्मेलनले एक विवादास्पद सम्झौतामा हस्ताक्षर गर्यो । त्यसमा भारत र तिब्बतको बीचमा जलाधार क्षेत्र पत्ता लगाई सीमा निर्धारण गर्ने सहमति थियो । हिमालयमा जलाधार र सीमारेखाको काल्पनिक निर्धारण गरियो । त्यो बैठकमा ब्रिटिस–इन्डिया सरकारका प्रतिनिधि थिए–हेनरी म्याकमोहन । उनले तय गरेको सीमारेखालाई म्याकमोहन लाइन भनिन्छ तर चीनले यसलाई स्वीकार गर्दैन । म्याकमोहन लाइनअनुसार पूर्वमा भारत र चीनबीचको सीमारेखाको अर्थ भुटानको त्यो पूर्वी विन्दू जहाँ अरुणाञ्चल प्रदेश र तिब्बत भेटिन्छन्, त्यही हुन्छ ।
जब हामी त्यो काल्पनिक रेखाको नजिक पुग्यौं, भारतीय राज्यको सुरक्षा संयन्त्रले गहिरो असुरक्षाको संकेत देखायो । त्यहाँबाट हामीले टिटुङ जाने एक जीपको टिकट काट्यौं, जुन सीमाना भेट्नुअघि भारततिरको अन्तिम प्रशासनिक पोष्ट थियो ।
हाम्रो जिप ड्राइभरसँग एक अमूर्त विश्वास यो थियो कि ऊ मानव शरीरमा असीमित लोचदार क्षमता हुन्छ भन्ने ठान्दथ्यो । उबडखाबड सडकमा हुने उछलकुद रोक्न उसले सकेसम्म धेरै मान्छे जीपमा खाँद्यो । मेरो सीट छेउको मान्छे लगभग मेरो काखमा थियो । ऊ हामीलाई प्रश्न सोध्न थाल्यो । कहाँबाट आउनु भएको ? के काम गर्नु हुन्छ ? टिटुङ किन जाँदै हुनुहुन्छ ? पछि यो थाहा भयो कि उनी भारतीय गुप्तचर ब्युरोका कर्मचारी थिए । उसको अनुहारको भाव हेर्दा मैले दिएका उत्तरहरु उसले पत्याई रहेको थियो वा थिएन, बुझ्न गाह्रो हुन्थ्यो ।
थप दुई दिन र दुई रातहरु जब हामी एक सानो तिब्बती बजारको गल्ली पसलमा बिहान, दिउँसो वा बेलुकाको खाजा, खाना खाएर बाहिर निस्कन्थ्यौं, मानिसले बारम्बार हामीलाई तिनै प्रश्न सोधिरह्यो । ऊ हामीलाई आँखा नहटाइन नियालीरहेको हुन्थ्यो । यो प्रष्ट भयो कि ऊ स्थानीय गुप्तचर ब्यूरोको सदस्य रहेछ । टिटुङमा उत्रिएर जेलिङ गाउँतिर लाग्दा बाटोमा हामीलाई फेरि तिनै प्रश्नहरु सोधिएका थिए ।
उसलाई हामीले उसको अफिस घरको छेऊमा छोडिदिऔं र म्याकमोहन सीमारेखातिर आफ्नो यात्रा जारी राख्यौं । त्यहाँ सवारी साधन विरलै देखिन्थे । सीमा सडक संगठनको एक सैनिक ट्रकले दाहिनेतिर पारेर हामीलाई जाने बाटो दियो । त्यसको पछाडि रोकिएको अर्को डम्परको चेपबाट हामी छिर्यौं । यो डम्परले बौद्ध भिक्षुहरुसँगै बालुवा र सिमेन्ट सीमाक्षेत्रतिर लग्दै थियो ।
जेलिङ नजिक एक बौद्ध विहार बन्दै थियो । सियाङ उपत्यकामाथिको हाम्रो लामो र कठिन यात्रा अचानक जेलिङ गाउँअगाडि पुगेर रोकियो । अगाडिको बाटो भारतीय सैन्य ट्रकहरुको लाइनले गर्दा बन्द थियो । हामीलाई तत्क्षण युद्ध मनस्थितिमा रहेका सैनिकहरुले युद्ध मैदानमा जस्तै घेरा हाले ।
हाम्रो दुर्भाग्य, हामी त्यस्तो दिन यहाँ आइपुगेका थियौं कि कमाण्डिङ अफिसरले यो क्षेत्रको स्थलगत अभिलेखन गर्दै थिए । उनीहरुले हामीलाई तिनै प्रश्नहरु सोधे जुन प्रश्नहरु गुप्तचर विभागका कर्मचारीले बारम्बार सोधेका थिए । तर हाम्रो उत्तर भने सैनिकहरु कमै पत्याइरहेका थिए ।
अरुणाञ्चल प्रदेश सरकारको नागरिक प्रशासनले जारी गरेको हाम्रो भित्री रेखासम्म जाने अनुमति पत्रलाई बेवास्ता गरियो । हाम्रो परिचय पत्र र प्रेस आइडीको हालत पनि त्यस्तै भयो । ट्रकहरुले मालसामान उतारी नसकुन्जेलसम्म हामी किनारामा सैन्य गार्डहरुको घेरामा उभिरह्यौं ।
हामी उभिएको मुस्किलले २ फिट पछाडीबाट सियाङ भ्यालीको ओरालो शुरु हुन्थ्यो । भ्याली तल देखिइरहेको थियो । त्यसपछि हामीलाई ट्रकको पछाडि बस्न भनियो र त्यतै फर्काइयो जताबाट हामी आएका थियौं ।
अब हाम्रो सामुन्ने उभिएको पहाडको टुप्पो नै म्याकमोहन लाइन थियो । त्यो पहाडको अर्को पट्टीको किनारा चीन थियो ।
भारत स्वतन्त्र हुन्जेलसम्म पनि यहाँ कुनै स्थायी सैन्य चेकपोष्ट थिएन । भारत होस् वा चीन दुवैले यही म्याकमोहन लाइनको भर थियो । लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोल । बोर्डर नामको यहाँ कुनै चिज थिएन केवल एक अन्यौलपूर्ण संक्रमण क्षेत्र बाहेक । यो संक्रमण क्षेत्र पनि भारत वा चीन जस्तो हैन, आफ्नै स्थानीय बिशेषताको थियो ।
यी क्षेत्रहरुको अधिकांश भागमा विशेषतः अरुणाञ्चल प्रदेशका यी इलाकामा भारत वा चीन दुवैको कुनै प्रशासन थिएन । न सरकार थिए, न अफिस थिए न स्कुल थिए । राष्ट्र–राज्यहरुको प्रवेश, नक्सा सिमानाहरु कागजमा कोरिएका थिए । त्यसलाई अब वास्तविकता बनाउनु थियो । यी चिजहरु यहाँ आइपुगेको मुस्किलले सय वर्ष भयो होला । राष्ट्रिय राज्यहरुले यो क्षेत्र फेला पारेपछिका अधिकांश पहिचानहरु त्यसभन्दा पुराना हैनन् ।
सन् १९४० पछि, भारत र चीन दुवै देश आधुनिक राष्ट्रिय–राज्यका रुपमा उदाएपछि आआफ्नो शासन विवादस्पद नक्साको अन्तिम किनारसम्म विस्तार गर्ने तयारीमा लागे । उनीहरुले खाम्पा र मेम्बा, अदिश र मिससिम वा अन्य त्यस्ता धेरै आदिबासीहरु जसको कुनै राष्ट्रियता र सिमाना थिएन, ती दुवैतिरको भूभागमा स्वतन्त्रपूर्वक घुमफिर गर्दै जीवन बिताउँथे उनीहरुलाई असल भारतीय वा असल चिनियाँ बनाउने प्रयासमा लागे । ती मानिसहरु इतिहासमा पहिलोपटक राष्ट्रियता र नक्साद्वारा विभाजित भए ।
स्थानीय संस्कृति र पहिचानहरुको रुपान्तरण एउटा पाटो थियो, त्यसबाहेक अर्को सह–उत्पादन दुई देशबीचको तनाब देखापर्यो । यो द्वन्द्व दशकौं लगाएर बिस्तारै निर्माण गरियो । राष्ट्रिय–राज्यहरुको पखेटा फिँजाउने यो चरित्रले दूरीको अवसान (डेथ अफ डिस्टेन्स)लाई टार्नै नसकिने यथार्थ बनाइदियो ।
क्रमशः
(चौधरी वरिष्ठ भारतीय पत्रकार हुन् । यो अनुवाद उनको ग्रान्ट म्यागजिनको अनलाईन संस्करणमा प्रकाशित लामो लेख ‘द डेथ अफ डिस्न्ट्यान्स’ को एक अंश हो । भारत–चीन तनावको अन्तर्य र समकालीन विश्वमा त्यसको प्रभावलाई बुझ्न सजिलो हुने ठानी साझापोष्टले चौधरीको यो लेखको श्रृंखलाबद्ध अनुवाद गर्न लागेको हो)
Image © Intrepid Wanderer
यो पनि-
The post हिमालयमा भारत–चीन संघर्षको अन्तर्कथा-२ appeared first on Sajha Post.