नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई काठमाण्डौं बोलाएरै अति गोप्य भेट गरेको कुरा बाहिर आयो । प्रधानमन्त्रीले विदेशी पाहुनालाई भेट्नु नौलो कुरा होईन । तर, प्रोटोकल नै बिर्सेर त्यो पनि भारतीय गुप्तचर संस्थाका प्रमुखलाई लुकिछिपी भेट गर्नु रहस्यमयी छ ।
भारतले नाकाबन्दी गरेर ग्याँस, डिजेललगायत उपभोग्य वस्तु नदिएको समयमा राज्यले नै दाउरा बेचेर ‘भाइरल राष्ट्रवादी’ नेता बनेका ओलीले पछिल्लो समय नक्सा प्रकरण र राम जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको मुखुण्डो सामन्तीसँगको गोप्य भेटले नराम्ररी च्यातिएको छ । छिमेकको एउटा कर्मचारीसँग लुकिछिपी गरिएको यो भलाकुसारीपछी राष्ट्रवादी कमरेडको लङ्गौटी यसरी च्यातियो की अब त्यसलाई जनताको करबाट बालुवाटारमा पालिएका सल्लाहकार र फेसबुक, ट्विटरमा परिचालित अरिङ्गाल सेनाले पनि सिलाउन गाह्रो छ ।

भारतसँग सिधा कुरा गर्न सक्ने ‘म मात्रै हुँ’ अरु सबै नेता भारतीय एजेण्ट हुन् भनेर बोल्ने कमरेड केपी ओलीले आफ्नो असली रुप यो भेटमा प्रकट गरेका छन् । अरुलाई चोर देखाएर आफुले कुखुरा च्यापेर दौडने छट्टु जस्तै कमरेड ओलीले यसपटक ‘रअ’ प्रमुख सामन्त गोयलसँगको भेटमा भारतको चाहनामा काम गर्ने ‘आफु नै खास मान्छे हुँ’ भन्ने सन्देश दिएका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले एक्लै विदेशी गुप्तचरको प्रमुखलाई बोलाएरै भेट गर्नुले झण्डै–झण्डै सिक्किमलाई भारतमा विलय गराउने लेण्डुप दोर्जेको नेपाली अवतारको झल्को दिएको छ ।
भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्दै आफ्नो राष्ट्रियता बलियो बनाउने बेलामा अनेक बखेडा झिकेर जनतालाई दुःख दिने, आफूबाहेक सबै भारतीय दलाल, एजेण्ट र गुलाम हुन् भन्ने भ्रम छर्दै हिँड्ने तर भित्र–भित्रै आफैं एजेण्टसँग सहकार्य गरेर देश र जनतालाई धोका दिने हर्कत ओलीले गरेका छन् । यो भेट आकस्मिक वा अनौपचारिक मात्रै भनेर बुझ्ने अवस्था छैन ।
गुप्तचर प्रमुख समेत ९ जना, जासुसी विमान चार्टर, विमानस्थलबाट भोटर कार्ड मात्रै देखाएर शंकास्पद बर्हिगमन, नेपाली निकायलाई ढिलो मात्रै जानकारी, नेपाल सरकारको तर्फबाट भेटघाट तालिका गोप्य राख्नु जस्ता कारणले नै स्पष्ट गर्दछ कि सामन्तीको नेपाल आगमन अप्रत्याशित होइन स्वयं प्रधानमन्त्री ओलीको धेरै अघिको डिजाइनमा यो भेटघाटको तार्तम्य मिलाईएको छ ।
नक्सा प्रकरण र अयोध्या प्रकरणपछि प्रधानमन्त्री ओलीका भित्रियाहरुको राती–राती भारतीय दुतावास लैनचौर आउजाउको पछिल्लो परिणाम हो यो । दिनभरि मिडियामा भारतको विरोध गर्दै राष्ट्रवादी भजन गाउने र राती लैनचौर पुगेर त्वंमशरणम गर्ने नक्कली राष्ट्रवादीको मुखुण्डो यो गोप्य भेटले उदाङ्गो पारिदिएको छ । कोरोना महामारीमा केही गर्न नसक्ने, जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने, विकास र समृद्धिको खोक्रो सपना देखाएर अर्बौं रुपैयाँ भ्रष्टचार गर्नेबाट यस्ता अवाञ्छित भेटघाट हुनु दुःखद मात्रै होइन भत्सर्ना योग्य छ ।
नक्कली कम्युनिष्टको नाममा जनता झुक्याउन सिपालु ओली र उनको समूहले नक्कली राष्ट्रवादको पगरी गुथेर जनताको आँखामा पटक–पटक धुलो फ्याँकिरहेको कुराबाट नेपाली जनता अब बेखबर छैनन् । नाकाबन्दीको बेला तराईवासीलाई भारतीय भन्दै आफु खाँटी राष्ट्रवादी बन्न दाउरा बेच्ने नीति ल्याएका ओलीले त्यही समयमा भारतीय नेतासँग टेलिफोन संवाद तीब्र पारेकै थिए । उनै ओलीले राष्ट्रवादी मुखुण्डो लगाएर पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा छापेर जनता ढाँट्न सफल भए । छापेको नक्सा वितरण नगर्ने, पाठ्यपुस्तकमा नराख्ने, अन्तराष्ट्रियकरण गर्न नसक्ने तर, नाकाबन्दी लगत्तै भारतीय शासकसँगको उठबस र नक्सा छपाईपछि आफ्ना विश्वासपात्र गोकुल बाँस्कोटालाई भारतीय दुतावास पठाएर गल्ती भए माफी पाउँ भन्न लगाउने कमरेड ओली नै होईन र ?
राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउने, छिमेकीलाई चिढ्याउने, जनताको दुःखलाई उखानले उडाईदिने अनि बेढङ्ग र बेतुकका कुरा गरेर जहिले जनता अल्मल्याउने ओलीले पछिल्लो पटक गरेको हर्कत माफीयोग्य छैन । देशको प्रधानमन्त्रीले विदेशी नेता वा प्रतिनिधिसँग गरेको भेट सार्वजनिक हुनुपर्ने हो । अझै भेटमा कुन प्रोटोकलको आधारमा कसलाई भेट गरेको ? के–के कुरा भएको ? भेटपछि राष्ट्रहितमा के फाईदा पुगेको र भेटगर्नुको मुख्य कारण के हो ? अनी को–को सहभागी थिए ? एक्लै हो भने किन एक्लै भेट गरेको ? यो जान्ने अधिकार जनताको हो कि होईन ?
एउटा सार्वभौम सम्पन्न देशका प्रधानमन्त्रीले विदेशी जासुसी संयन्त्रका प्रमुखसँग भेट गर्दा मर्यादाको ख्याल गर्न जरुरी छ कि छैन ? देश ठूलो होस् या सानो, धनी होस् वा गरिब तर त्यो देशको नागरिक सर्वोच्चतामा कुनै विदेशीले औंला उठायो भने त्यसको प्रतिवाद स्वयं प्रधानमन्त्री र सरकारले गर्नुपर्ने हो । यहाँ त प्रधानमन्त्री आफैं मर्यादाको ख्याल नै नगरी विदेशी गुप्तचरसँग गोप्य भेट गर्दै हिँड्नुले हाम्रो स्वाभिमान कहाँ पुग्ला ?
कुनैपनि देशको आफ्नै नीति, नियम,कानुन र सर्वोच्चता हुन्छ । राष्ट्रपतिले राष्ट्रपतिसँग, प्रधानमन्त्रीले प्रधानमन्त्रीसँग र मन्त्री वा विशिष्ट कर्मचारीले सोही प्रोटोकलमा भेटघाट गर्नुपर्ने हो तर प्रधानमन्त्री ओलीले नजानेर यो गल्ती गरेको होइन । उनको दम्भ र घमण्डले नेपाली जनता केही होईनन् भन्न खोजेको हो । जंगेले बोलेपछी कानुन पनि त्यही हो राष्ट्रियता र नागरिक सर्वोच्चता पनि त्यही हो भन्ने भ्रम र दम्भ ओलीमा छ । तर, उनको पार्टीका नेतालाई जस्तो नेपाली जनतालाई दबाउन खोज्नु वा जनताको भावनालाई कुल्चेर अगाडी बढ्नु ओलीको मुर्खता हो ।
यसर्थ, सामन्तसँगको भेटले ओलीलाई उनले भनेजस्तो राष्ट्रवादी नेताको रुपमा नभई विदेशी गुप्तचरको सूचनास्रोतको रुपमा मात्रै चिन्ने अवस्था आउन सक्छ । सधैं राष्ट्रवादी लेपन लगाएर जनता झुक्याउने ओलीको यो गल्तीमा राष्ट्रको शीर निहुरिएको छ । ओलीको यो अक्षम्य गल्तीले नेकपाको भविष्य के होला यसमा प्रचण्ड, माधव नेपाल वा झलनाथ खनालले सोच्ने हो । तर, सार्बभौम सम्पन्न जनताको लागि यो ठुलो दुर्भाग्य हो ।
यसमा प्रधानमन्त्रीले अहिलेसम्म क्षमा माग्न नसक्नु वा नखोज्नु भनेको जनतालाई रैती ठान्नु हो । जहिले भावनामा बगेर जनताको अगाडि नाटक मञ्चन गरेजस्तो हलुका विषय यो होइन । यसमा ओलीले आफुलाई स्पष्ट गर्न जरुरी छ कि सधैं नक्कली कम्युनिष्ट, नक्कली राष्ट्रवाद, नक्कली विकास र नक्कली कुरा मात्रै गर्ने कि आफ्नो सक्कली अनुहार पनि जनतालाई चिनाउने ?
The post सामन्तसँग ओलीको राष्ट्रवादी साईनो ! appeared first on Sajha Post.