Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कृपया प्रधानमन्त्रीलाई अरु कुनै प्रश्न नगर्नु होला

$
0
0

यस्ता केही तथ्यहरु पनि हुन्छन्, जसमा केवल कुनै विरोधाभाष हुँदैनन् । जस्तै-

–‘श्री ४२०’ को राज कपुर-नर्गिसको युगल गीत ‘प्यार हुवा, इकरार हुवा’ हिन्दी सिनेमामा मनमोहक रोमान्टिक गीतको रुपमा कायमै छ ।

–‘मुगल–ए–आजम’ मा मधुवालाको ‘प्यार किया तो डरना क्याँ’ जस्तो अनौठो नृत्यगानमा उनको नाँचजस्तो अद्भूत सौन्दर्यको निखार भएकी महिला त्यसअघि वा पछि देखिएन ।

–राहुल द्रविड जस्तो भव्य ‘कभर–ड्राइभ’ खेल्न सक्ने ब्याट्सम्यान भारत वा अरु कुनै देशमा कहिल्यै कतै भएनन् ।

ठीक त्यस्तै– नरेन्द्र मोदी स्वतन्त्र भारतले जन्माएको सबैभन्दा ठूला ‘डेमागग’ मात्र हैनन्, लर्ड क्रुनेजपछि भारतले पाएका सबैभन्दा शक्तिशाली शासक पनि हुन् ।

यो कुरामा कुनै आशंका वा विरोधाभाष हुनै सक्दैन । जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी, पिभी नरसिंह राव र निश्चय नै मनमोहन सिंहले पनि, कसैले आज नरेन्द्र मोदीले पाएजस्तो शक्ति र संवैधानिक समीकरणको अभ्यासमाथि पूर्णारोहणको आनन्द पाएका थिएनन् ।

हाम्रो जस्तो संसदीय लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री शक्तिका तत्वहरुलाई पहिला गणना गरौं ।

पहिलो र प्रमुखः क्याबिनेटमा प्रधानमन्त्री मोदीको प्रभुत्व हो । मोदीको जत्तिको अरु कुनै पनि प्रधानमन्त्री क्याबिनेटमा एकछत्र थिएनन् । नेहरुले सरदार बल्लभ भाई पटेलसँग शक्ति र अधिकार बाँडफाँड गर्नु पर्थ्यो । उनीसँग मौलाना आजाद थिए, जसले नेहरुलाई चेक गरिरहेका हुन्थे । पछि त्यहाँ गोविन्द बल्लभ पन्त भए जसको आफ्नै प्रकारको सोच र तौल थियो ।

इन्दिरा गान्धीले मुराजी देसाईसँग झगडा गर्नु पर्थ्यो । जगजीवन राम र वाइवी चावनबाट प्रतिरक्षित गर्नु पर्थ्यो । आर बैकटरमण, कमलापति त्रिपाठी आदिको सम्मान र खातिरदारी गर्नुपर्थ्यो ।

राजिव गान्धी आफैंले अर्जुन नेहरुको छत्रछाया स्वीकार गरेका थिए । पिभी नरसिंह रावलाई अर्जुन सिंहले कहिल्यै प्रधानमन्त्रीय उच्चताबोधको अवसर दिएनन् । अटल बिहारी बाजपेयीसँग उनको खुट्टामा नत्थी लगाउन लालकृष्ण अडवानी थिए । मनमोहन सिंहसँग प्रणव मुखर्जी र ए.के. एन्टोनीजस्ता प्रतिस्थापन गर्नै नमिल्ने सहकर्मीहरु थिए ।

हरिश खरे

 

यसको ठीक उल्टो- नरेन्द्र मोदीले कुनै पनि क्याबिनेट सहकर्मीलाई यस्तो सोच्न दिएका छैनन् कि उनीहरु प्रधानमन्त्रीको संरक्षकत्वभन्दा बाहिर स्वतन्त्र प्रोफाइल भएका व्यक्तित्व हुन् । शंकालु सुष्मा स्वराजलाई ६ महिनाभित्रै उनको साइजमा झारियो । विचरा राजनाथ सिंह, उनलाई सधैं यो भ्रम परेको छ कि उनी मन्त्रीमण्डलभित्रका सबैभन्दा वरिष्ठ सदस्य हुन्, तर उनको वरिष्ठता नाम मात्रको छ ।

अरुण जेटली र सुष्मा स्वराजको निधनपछि त्यहाँ त्यस्तो कुनै क्याबिनेट मन्त्री छैन जसले मन्त्रीमण्डलबाट निस्केर एक हप्ता पनि आफूलाई राजनीतिक रुपमा जीवन्त राख्न सकोस् । नरेन्द्र मोदी आफ्नो क्याबिनेटभित्र जेजस्तो मठाधीश बनेका छन्, त्यस्तो अरु कोही प्रधानमन्त्री थिएनन् ।

क्याबिनेटपछि अरु दुई महत्वपूर्ण राजनीतिक एकाई हुन्छन् । पार्टी संसदीय दल र सत्तारुढ पार्टीको संगठनभित्रको संस्थापन पक्ष, जसले प्रधानमन्त्रीको पखेटा उखाड्न सक्दछन् । मोदी अगाडिका सबै प्रधानमन्त्रीहरुले पार्टी प्रमुखसँगको सहकार्य र सहज सम्बन्धका लागि अनेक तालतिकडम गर्नु पर्थ्यो । सबै प्रधानमन्त्रीहरुले संसदीय दलको बथान असन्तुष्ट नहोस् र शान्त रहोस् भन्नाका लागि पापड पेलिरहनु पर्दथ्यो ।

यी दुवै मामिलामा मोदी निर्धक्क भएर बेवास्ता गर्न सक्दछन् । बरु भाजपा प्रधानमन्त्रीका रुपमा मोदीले नागपुर आरएसएस संस्थापन पक्षको झन्झट सामना गर्नुपर्ने हुन्छ । मोदीले उनीहरुलाई पनि सजिलैसित मिलाउने र साइजमा राख्ने गरेका छन् ।

अल्झो हाल्न सक्ने अन्य अर्को संवैधानिक संस्थाहरु विवेकपूर्ण निगरानी गर्ने राष्ट्रपति भवन, संसदप्रतिको जवाफदेहिता, बाटो बिराएको नबिराएको हेर्ने न्यायपालिका र निष्पक्ष नियमभित्र बसेर खेल्न लगाउने स्वतन्त्र निर्वाचन आयोग हुन् । यी सबैलाई शक्ति र प्राधिकारको सन्तुलनमा राखिएको छ ।

प्रधानमन्त्री एक्लै दौडिने अधिनायक बन्न पाउँदैनन् भनिन्छ । तर, राजनीतिक अनुशासनहीन उद्देश्य पुरा गर्न अनुशासनयुक्त भएर, राजनीतिक पराक्रम र निर्ममताका साथ प्रधानमन्त्री मोदीले संवैधानिक संस्थाका सम्भावित अवरोधहरुलाई सीमित गरिदिएका छन् । मुख्यतः उच्च न्यायलयबाट हुन सक्ने अनुपालना र अप्ठ्यारोबाट बाहिर निस्कन मोदी असाधारण रुपमा प्रविण छन् ।

प्रधानमन्त्री मोदीले मिडियालाई ‘शक्ति सामु सत्य बोल्नु’ पर्ने संस्थागत दायित्वबाट मुक्त गर्दिएका छन् । जब मिडिया विरुद्धमा जान्थ्यो, यसअघिका कुनै पनि प्रधानमन्त्रीलाई अघि बढ्न अहिलेजस्तो सजिलो हुँदैनन्थ्यो । हामीले यो पनि बिर्सन हुँदैन कि कुनै पनि प्रधानमन्त्रीले अहिलेको जस्तो दृढनिश्चयहीन विपक्षी नेता भएको अवसर पाउँदैनथे । यी सबै पक्षबाट मोदी एक पूर्ण प्रधानमन्त्री हुन् ।

देशभित्र मात्र हैन बाहिर पनि मोदी आफ्ना लोकतान्त्रिक समकक्षीभन्दा माथि छन् । डोनाल्ड ट्रम्पलाई नै हेरौं, ती मान्छेले हप्तैपिच्छे आफ्नोबारेमा आफैं बखान गर्नु पर्दछ । मिडियासँग झगडा गर्नु पर्दछ । सामाजिक सञ्जालसँग डराउनु पर्दछ ।

यहाँ भारतमा मोदीको विरुद्धमा अमैत्रीपूर्ण ट्वीट गर्ने साहस कसैले गर्दैन । गरे कम्तीमा राजद्रोहको मुद्दामा जेल जानुपर्ने हुन्छ । मोदीले नियमित पत्रकार सम्मेलनको सामना गर्नुपर्छ भन्ने आँट यहाँ कसैले गर्दैन । ट्रम्पले बारम्बार पत्रकार सम्मेलनको सामना गर्नुपर्दछ । ट्रम्पलाई जस्तो मोदीलाई उनका नीति र नेतृत्वबारे प्रश्न गर्ने सहजता छैन ।

यो कुरामा कुनै शंका छैन कि समकालीन विश्वमा मोदी लोकतान्त्रिक तरिकाले निर्वाचित भएका सबैभन्दा शक्तिशाली नेता हुन् । दृश्य, अदृश्य दुश्मनहरुले सृजना गर्ने अनिश्चितता र उपद्रोको युगमा भारतका लागि यो एउटा ठूलो वरदान हो । अहिले हामीलाई यो भनिँदैछ कि उनले हाम्रा लागि ६ दशकमा हुन नसकेका उपलब्धिहरु केवल ६ वर्षमा उपलब्ध गराएको छन् भनेर पत्याउन जरुरी छ । ६ वर्षभित्र, पटरीबाट उत्रिएका हाम्रा राष्ट्रिय गौरवको यात्रा र महानता फेरि फर्केको छ ।

यो स्वभाविक र तर्कसंगत कुरा हो कि यस्तो सर्वाधिक शक्तिशाली प्रधानमन्त्री ‘सर्वैसर्वा शासक’ भएर आउँछ । यस्ता शासकहरुले इतिहासमा महान परिवर्तनकारी नेताको स्थान पाउन सक्दछन् । स्वभाविक हो कि यस्ता नेताहरुले केही गल्ती पनि गर्दछन् । इतिहासमा त्यस्तो कुनै शासक देखिन्न जसले कुनै गल्ती नगरेको होस् । जस्तो कि हाम्रो पुरानो भनाई छ– यदि अम्लेट बनाउनु छ भने अण्डाहरु त फुटाउनु नै पर्छ, कति वटा अण्डा फुटाइयो कसले गनी बसोस् ?

यहाँ प्रधानमन्त्रीय निरंकुशताको बहस अथक छ । यस्तो बेला मोदी शासनप्रति प्रश्न गर्ने व्यक्ति र संस्था निरुत्साहन हुनु अस्वभाविक हैन । जस्तो कि केही मन्त्रीहरु भन्दैछन्– कांग्रेस नेताहरुले कोरोना भाइसरसँगको युद्धबारे मोदी सरकारको असजहताबारे प्रश्न उठाएर राष्ट्रिय संकल्पलाई कमजोर बनाइरहेका छन् ।

जबसम्म हाम्रा नेहरुवादी उदारवादीहरुले प्रधानमन्त्रीको निरंकुशतालाई फिर्ता गर्ने कल्पनाशीलता र साधन प्राप्त गर्दैनन्, हामीसँग हाम्रा वरदानहरुको गणना गर्नु बाहेक अरु उपाय नै के छ । हामीले हाम्रो बलियो नेतृत्व लाभांशका लागि कृतज्ञ हुनै पर्छ ।

कृपया, अरु कुनै प्रश्न नगर्नु होला ।

(द वायरको अंग्रेजी संस्करणबाट अनुवाद)

The post कृपया प्रधानमन्त्रीलाई अरु कुनै प्रश्न नगर्नु होला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles