Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपाल असल कृषि अभ्यास (NepalGAP): स्वच्छता र गुणस्तरका लागि प्रशंसनीय फड्को

$
0
0

खाद्यान्नको गुणस्तर तथा स्वच्छता नेपाली खाद्य प्रणालीमा धेरै समय अघिदेखि चर्चाको विषय रहिआएको छ । हुन त वि.सं. २०२३ सालमा नै बनेको खाद्य ऐन तथा त्यससँगै बनेका खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी नीति, निर्देशिका र मापदण्ड अति नै प्रशंसनीय काम थियो । यसबाट त्यस बेलामा पनि नेपालमा खाद्य गुणस्तरका लागि सरकारी स्तरबाट के कस्ता प्रयासहरु भएका रहेछन् र राज्यले खाद्य प्रणालीको स्वच्छता र गुणस्तर कायम राख्न कति संवेदनशील भएको रहेछ भन्ने कुराको आंकलन गर्न सकिन्छ ।

समयसँगै खाद्यान्‍नमा नयाँ-नयाँ विषयहरु, सम्भावनाहरु तथा विकासहरु भएसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार बढ्दै गए भने उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा पनि व्यापक परिवर्तनहरु आए । पहिलेको एकापसमा साटासाट गर्ने पद्धति क्रमशः पैसामा किनबेचको पद्धतिमा परिणत भयो । बजारमा आश्रित उपभोक्ताको संख्या पनि क्रमश: बढ्दै गयो ।

यससँगै बजारमा व्यापारीहरुमा नाफा कमाउनका लागि खाद्य वस्तुको स्वच्छता तथा गुणस्तरमा भन्दा पनि नाफाका लागि केही अनुचित व्यवहार गर्ने प्रचलन पनि बढ्यो । यसले बजारमा पनि खाद्य सामग्रीको गुणस्तर तथा अन्य पक्षहरुको नियमनको आवश्यकता पनि बढायो । यसले समयक्रममा स्वच्छता, गुणस्तर तथा यसका लागि मूल्य तिर्ने परिपाटीको पनि विकास हुँदै गयो ।

कृषि उपजहरुको स्वच्छता तथा गुणस्तर यसको उत्पादन, प्रशोधन, तथा वितरण प्रणालीले निर्धारण गर्दछ । खासमा कृषि उपजहरुको उत्पादन तथा त्यसपछि गरिने व्यवहार स्वच्छता र गुणस्तरका लागि अहम तथा महत्वपूर्ण पक्ष हो । त्यसैले खाद्यान्‍न उत्पादनको क्रममा असल तथा सुरक्षित उत्पादन तथा व्यवस्थापन अति नै महत्वपूर्ण हुन्छ । असल कृषि अभ्यास एउटा कृषि उत्पादन पद्धती हो जसमा विभिन्‍न विधि तथा प्रक्रियाहरु द्धारा गुणस्तरीय उपज उत्पादन तथा बजारीकरण गरिन्छ ।

यसका लागि विभिन्न नियन्त्रण विन्दुहरुको पहिचान तथा यसको अनुसरण विभिन्न मापदण्डहरुको पालना गरी गरिन्छ । असल कृषि अभ्यास भन्नाले खाद्यवस्तुहरुको उत्पादन तथा त्यसपछिको क्रममा गरिने विभिन्न कृषि कर्महरु तथा विविध प्रक्रियाहरुको संगालो हो । असल कृषि अभ्यासले उत्पादनको आधार माटो, हावा, पानी जस्ता पर्यावरणीय पक्षहरुका साथै उत्पादनको लागत, आम्दानी, खर्च, दिगोपना लाई पनि उत्तिकै महत्वका साथ लिएको हुन्छ । यसले खाद्य सुरक्षा, मानव स्वास्थ्य तथा कृषि क्षेत्रको दिगोपनाका लागि विभिन्‍न पक्षहरुको सटिक तथा संवेदनशील विश्लेषण गरी सफल उपायहरुको अवलम्वन गर्ने नीति लिएको हुन्छ ।


अन्तराष्ट्रिय खाद्य प्रणालीहरुमा असल कृषि अभ्यास लागू भएको केही दशक भइसकेको छ र बजार तथा उपभोक्ताको खाद्य गुणस्तर तथा स्वच्छताप्रतिको चासो तथा मागलाई ध्यान दिँदै यसलाई थप परिमार्जन गर्ने लगायतका कामहरु पनि भइरहेका छन् । यसका अलावा विभिन्न कम्पनी तथा व्यवसायहरुले आआफ्नै प्रकारका मापदण्डहरु प्रयोग गर्ने काम पनि सँगसँगै भइरहेको छ ।

हालैका दिनहरुमा भने अन्तराष्ट्रिय व्यापारको क्रममा आउन सक्ने स्वच्छता तथा गुणस्तरको चासोमा एकरुपता ल्याउनका लागि धेरै जसो मापदण्डहरुलाई एकापसको समन्वयमा एकनाशको बनाउने काम पनि भइरहेको पाइन्छ ।

असल कृषि अभ्यासबाट उत्पादित कृषि उपजहरुको गुणस्तरीयताको कारणले गर्दा पछिल्लो समय नेपालमा पनि यसप्रतिको चासो बढेको छ । उपभोक्ताहरुले स्वच्छ तथा गुणस्तरीय उत्पादनको माग गर्ने भएकोले यसप्रति नेपाल सरकारले पनि समयसापेक्ष रुपमा असल कृषि अभ्यासको प्रयोगका लागि आवश्यक जग निर्माण गरेको छ । सार्क राष्ट्रका लागि बनाइएको SAARC-GAP लाई मुख्य आधार मानेर नेपाल असल कृषि Nepal Good Agricultural Practices (NepalGAP) बनाइएको छ ।

यसमा निम्‍न अनुसारका पाँचवटा विभिन्‍न पक्षहरुलाई समेटेर विभिन्‍न मापदण्डहरु बनाइएको छ ।

खाद्य स्वच्छता (Food Safety), पर्यावरण व्यवस्थापन (Environment Management), उत्पादन गुणस्तर (Product Quality), कामदारको स्वास्थ्य, सुरक्षा तथा हित (orker health, safety and welfare), सामान्य आवश्यकता (General Requirement) को मोडयुलहरु यसमा समावेश रहेका छन । यसको अक्षरश: पालना गर्नका लागि र सहज रुपमा कार्यान्वयन गर्न तथा सुनिश्चित कार्यान्वयन भएको यकिन गर्नका लागि चेकलिष्टहरु तयार गरिएका हुन्छन् जसमा आवश्यक मापदण्डहरु, रुजु गर्ने प्रक्रिया, अनुपालनताको अवस्था तथा सुझावहरु दिने व्यवस्था गरिएको हुन्छ ।

खाद्य स्वच्छताको मोडयुलमा उत्पादन स्थल खेतबारीको इतिहास तथा यसको व्यवस्थापनका पक्षहरु, बिउ तथा बेर्ना जस्ता उत्पादनका वस्तुहरुको गुणस्तरका कागज तथा अभिलेखहरु, मल तथा माटोमा प्रयोग गरिएका रसायनहरु, सिँचाइ व्यवस्थापन तथा कृषि उपजहरु सफा गर्ने पानीको गुणस्तरको अवस्था लगायतका पक्षहरुलाई समेटछ ।

यसका साथै बाली संरक्षणका लागि प्रयोग गरिने उपायहरु, बाली उत्पादन लिने तथा त्यसपछिको बजारका लागि तयारी गर्ने अवस्था का साथै भण्डारण आदिको व्यवस्था पनि यसै मोडयुलले समेटछ । यस मोडयुलमा उत्पादनको अनुरेखता (traceability) तथा आवश्यकता परेमा फिर्ता गर्ने (product recall) सम्मको व्यवस्था गरेको छ । यसको मुख्य जोड कागजात तथा अभिलेखहरुको सुरक्षित अभिलेखीकरण तथा आवश्यक परेको समयमा तथा प्रमाणीकरण निकायले हेर्न खोजेको समयमा पाउन सकिने अनिवार्य व्यवस्था गरेको हुन्छ ।

पर्यावरणीय व्यवस्थापनको मोड्युलमा खासगरी उत्पादनको आधारहरु जमिन, वातावरण तथा पानीको दिगोपनाको पक्षलाई जोड दिइन्छ । यसले गर्दा दिगो कृषि उत्पादनका लागि सुनिश्चितता प्रदान गर्दछ । यस पक्षमा फोहोरको व्यवस्थापन, उर्जाको मितव्ययीता, जैविक विविधताको दिगो संरक्षण, तथा माटो तथा पानीमा प्रयोग गरिने विभिन्‍न रसायनहरुको बारेमा पनि नियमन गरेको हुन्छ ।

कामदारको स्वास्थ्य, सुरक्षा तथा हित मोड्युल: नेपाली कृषि क्षेत्रमा कामदार कृषि श्रमिकहरुको पेशागत स्वास्थ्य, भौतिक सुरक्षा तथा पेशागत हितको बारेमा विरलै चर्चा हुने गरेको छ । कृषि रसायनहरु खासगरी हानिकारक रासायनिक विषादीको प्रयोगको बारेमा होस वा कति समयसम्म काममा लगाएबापत कति रकम पाउने भन्ने बारेमा होस, कामदारको हितमा निकै नै कम काम भएको छ ।

अझै कृषि उपजहरुको लोड अनलोड गर्ने श्रमिकहरुका हकमा त झन एक क्‍विन्टलसम्मको बोरालाई ढाडमा राखेर बोक्ने बोकाउने अमानवीय काम पनि भइरहेका छन जसले गर्दा श्रमिकहरुको शारीरिक स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ । यस पक्षमा नेपाली कृषिमा कम चासो राखिन्छ । त्यसैले कामदारको स्वास्थ्य, सुरक्षा तथा हित मोडयुलमा भने कृषि रसायनहरुको सुरक्षित प्रयोग, कार्यस्थलको जोखिम रहित अवस्थाको सुनिश्चितता, व्यक्तिगत सरसफाई, कामदारप्रतिको सम्मानीत व्यवहार, भेदभाव नगर्ने, न्यूनतम पूर्वाधारहरु, तथा देशको नियम अनुसारको ज्याला तथा पारिश्रमीकको व्यवस्था गर्ने सम्बन्धी पक्षहरु समेटेको छ ।

उत्पादन गुणस्तरको मोडयुलमा भने गुणस्तरको लागि योजना तयार गर्ने, बीउबेर्नाको गुणस्तर निश्‍चित गर्ने, रासायनिक मलका साथै स्थानीय रुपमा उपलब्ध माटोको गुणस्तर तथा उर्वराशक्ति बढाउने रसायनहरुको गुणस्तर सुनिश्‍चित गर्ने, सिँचाई तथा कृषि उपजको लागि धुन प्रयोग गरिने वा सबै प्रकारका पानीहरुको पिउने पानी सरहको गुणस्तर सुनिश्चित गर्ने, कृषि उपजको टिपाई, तथा भित्र्याउने क्रममा परिपक्वताको सुचक, टिप्‍ने समय, तथा उत्पादन टिप्‍न तथा राख्‍नका लागि प्रयोग गरिने उपकरण तथा यन्त्र एवं भाँडाकुँडाहरुको सरसफाई आदिमा ध्यान दिइन्छ ।

कृषि उपजको ओसारपसार, भण्डारण व्यवस्थापन तथा ढुवानीको क्रममा पनि आवश्यक तापक्रमको व्यवस्थापनमा पनि यस मोडयुलले समेटेको छ ।

सामान्य आवश्यकताको मोडयुलमा भने कानुनी पक्षहरु, आगन्तुक तथा पाहुनाका लागि गरिने व्यवस्थापन, गुनासा तथा उजुरीको सुनुवाइ तथा व्यवस्थापन, अभिलेखीकरण तथा आन्तरिक नियन्त्रणका पक्षहरु, तथा समुहगत रुपमा आवश्यक पर्ने लिखीत सम्झौता, उत्पादकको दर्ता, संस्थाको सांगठनिक संरचनाको पक्षहरु समेटेको हुन्छ । यसमा गुणस्तरको मापदण्ड निर्माण तथा म्यानुअल प्रकाशन, कागजात नियन्त्रण, तथा कर्मचारी र सदस्यहरुको तालिम तथा क्षमता अभिवृद्धिका पक्षहरु समेटिएको छ ।

समग्रमा नेपाली कृषि उत्पादनको स्वच्छता तथा गुणस्तर व्यवस्थापनका लागि अग्रगामी कामको रुपमा नेपाल असल कृषि अभ्यासको निमार्ण तथा लागू गरिने कार्य अत्यन्त सराहनीय कदम हो । यसअन्तर्गत काठमाडौं उपत्यकामा करिब २०० रोपनीजति जग्गा तथा बालीहरु प्रमाणीकरण पनि भइसकेको छ ।

हाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट यस प्रणालीबाट प्रमाणीकरणका लागि आवेदन लिने र आवश्यक चेकजाँच पछि प्रमाणीकरणको काम पनि भइरहेको छ । यसको लागू गर्ने क्रममा आएका व्यवहारिक व्यवधानहरु छन् भने समयानकुल सुधार गर्दै धेरै भन्दा धेरै किसानहरुमाझ यस असल अभ्यास पुर्‍याउनुपर्ने आवश्यकता रहेको छ ।

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

कृषिमा मौरीको महिमा

व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी

किसानका लागि उन्नत कृषि प्रविधिमा पहुँचः कहिले र कसरी ?

नेपाली कृषि क्षेत्रमा लगानीको अवसर विश्लेषण

कृषिप्रधान देशमा रासायनिक मलको सधैं हाहाकारः यसरी खोजौं स्थायी समाधान

तुलनात्मक लाभका कृषि व्यवसायहरु

The post नेपाल असल कृषि अभ्यास (NepalGAP): स्वच्छता र गुणस्तरका लागि प्रशंसनीय फड्को appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles